Friday, November 1, 2013

गल्तीबाट सिकौं

हामीले भोलिपल्ट बिहान आयोजकहरुसँग कुरा गर्यौँ । उनीहरुले पनि समय मिलाउने सहमति दिए । बिहानको खाना अलि चाँडै खाएर हामी निस्क्यौँ । बालाई मैले क्लबमा लिएर गएँ । कार्यक्रम निर्धारित समयमा शुरु भयो ।  
बाको पालो पहिले नै थियो । राजनीति भन्दा दर्शन र अध्यात्ममा नै बा कहिलेृकहीँ बोल्नुहुन्थ्यो । अनौपचारिक छलफलमा भाग लिइरहनु हुन्थ्यो । जनकपुर आएपछि अलि बोल्ने क्रम बढेको थियो । कहिलेकहीँ माउ पर्टी पीडितहरुले बोलाइरहन्थे । काठमाडौँ आएदेखि आज पहिलोपटक हो बाले बोल्ने कुरा गर्नु भएको । आयोजकलाई सम्बोधन गर्दै बाले बिस्तारै कुरा शुरु गर्नु भयो । 
“सर्वप्रथम म यहाँहरुसँग ०४७ सालको परिवर्तनपछि भएका राजनीतिक गतिविधिको संक्षिप्त समीक्षा गर्न चाहन्छु” भन्दै अनुमति माग्नु भयो । सभापतिले अनुमति दिए । बाले विस्तारै सबैतिर हेर्नुभयो । अनेक भद्रभलाद्मी जस्ता देखिने मानिसहरु थिए । नेताहरु थिए । अनेक कार्यालयका हाकिमहरु थिए । ती सबै हेरिसकेपछि बाले भन्नु भयो– तपाईहरु सबैका अगाडि म एउटा गाउँमा बसेको मान्छेले के गतिला कुरा गरुँला र ! तैपनि सुन्ने धैर्य राखिदिनु भयो भने आफूलाई लागेका कुरा गर्नेछु ।” बाले सबैको ध्यान आफूतिर तान्न खोज्नु भयो । विस्तारै प्रसङ्ग कोट्याउनु भयो । 
“०४७ पछिको राजनीतिबाट हामीले के देख्यौ ? जसलिने होडबाजी र शासन टिकाउने चालबाजी । त्योभन्दा बढी हामीले अरुधेरै काम गर्नसक्थ्यौ । तर गरेनौ । किन गर्न सकेनौ ? मेरा केही निष्कर्षहरु छन् । ती निष्कर्षहरुमा विमती भए पछि फेरि कुरा गरौँला ।” एउटा साधारण मान्छे यसरी सबैलाई झंकृत गर्ने ओजपूर्ण भाषामा बोलेको सुनेपछि सबै मानिसहरु बातिर आश्चर्यजनक नजरले हेर्न थाले । सबैको केन्द्र हुनु भयो बा । म बाका कुरा र दर्शकतिर नजर लगाइरहेँ ।
“मेरो बुझाइमा राजा सैनिकको भरमा अरुलाई भित्रभित्रै परास्त गर्ने ध्याउन्नमा रहे । दलका नेताहरु सबैले जित्ने समाधान खोज्न र देशहितलाई केन्द्रमा राख्न तयार भएनन् । कसैले ब्यक्तिगत हित र जस केन्द्रमा राखे । कसैले पार्टीलाई केन्द्रमा राखे । कसैले गुटलाई अनि कसैले स्वयंको प्रतिष्ठा र परिवारका स्वार्थलाई केन्द्रबिन्दू बनाए । त्यसलेगर्दा ब्यक्ति–ब्यक्तिले आपूm मात्र जितौं अरु हारुन र मेरो कुरामा सहमत होउन भन्ने भावना प्रबल भयो । यो कुरा परिवर्तन भएन । सरकारको कार्यशैली पारदर्शी र न्यायिक कसरी बनाउने भन्नेमा कसैले पनि ध्यान दिएनन् । समाजका सबै कुरालाई राजनीतिक रंगको आधारमा हेर्ने दृष्टि बनाइयो । त्यसले सर्बसाधारणदेखि कर्मचारी सबै पीडित भए । कसरी भोट र नोट बटुल्ने भन्ने मात्रै ध्याउन्न भयो । जायज कुरामा खुल्ला बहस र स्वतन्त्र निर्णय हुनै सकेन । आफूभित्रको भय र असुरक्षा, अनाचार  अनि जस लिने लोभ कसैले पनि त्याग्न सकेनन् ।” बाका चोटिला प्रहारले मानिसहरु सबैका कान ठाडा भए । हलमा सन्नाटा देखियो । सबैका आँखा बातिरै थिए । 
“मूल्यविहीन रुपमा आफू सत्तामा भए ठीक अर्को भए बेठीक भन्ने ठानियो । यसले बदला र षड्यन्त्रलाई अझ मलजल प्रदान गर्यो । राष्ट्रिय मूल्य, नैतिक मूल्य र राजनीतिक संस्कार विकास गर्ने काम पटक्कै भएनन् । शक्ति हत्याउनका लागि र भीड जम्मा गरेर प्रभावशाली हुनका लागि पुग्ने, नपुग्ने, सक्ने, नसक्ने सबै खाले आश्वासन जनसमक्ष बाँडियो । जनताहरु नेताका कुरा सुनेर पछि लागे । समयक्रममा आश्वासन दिएका केही पनि काम नभएको देखेर उनीहहरु पनि निराशा हुँदै गए । यो निराशालाई आफ्नो अनुकूल हुने गरी स्वायत्तता र जातीय मुक्तिको नारामा लगेर माउ पार्टीले जोड्यो । विनासको वास्तै नगरी, राष्ट्रिय चरित्र र देशभित्रको सामाजिक बनोटलाई दीर्घकालीन असर के पर्छ भन्ने अन्तिम सामाधानको सोचाइ र समाधानको अन्तिम स्वरुप नै नठम्याई गरेको आन्दोलन थियो त्यो । बदला र उन्मादको भरमा धेरै दिन राजनीति चलाउन सकिँदैन । भीडको मानिसलाई उन्माद र आवेगमा ल्याउन सजिलो हुन्छ तर त्यसलाई टिकाएर असल परिणाम निकाल्न सकिँदैन । सकियो भने पनि निकै कठिन हुन्छ ।” बाका कुरा धाराप्रवाह निस्किरहेका थिए । स्रोताहरु मन्त्रमुग्ध हुँदै थिए । 
फेरि बाले प्रसङ्ग अगाडि बढउनु भयो– “आवेग, उन्माद र दमनले अन्त्यमा बदलाको भावना र विद्रोह नै बढाउँछ । सदभाव बढाउन सक्दैन । त्यसैले माउ पार्टी सम्झौतामा आउनु स्वाभाविक थियो । समयमै यो कुरा बुझेको भए समाधान सहज थियो । कृष्ण प्रसाद भट्टराईले यसलाई गोप्य रुपमा हल गर्ने प्रयत्न शुरु गरेका थिए । परिणाम आउन लागेको थियो । राजालाई पनि सुचित गर्ने शालिनता उनले देखाए । तर मौकाको मर्खाइमा रहेका राजाले उनको शालिनताको दुरुपयोग गरे । उनकै दलका अर्का प्रतिस्पर्धी काइरालालाई सुटुक्क सुनाइ दिए । उनलाई के खोज्छस् काना आँखो भनेजस्तो भयो । आफूले त्यसको जस लिने लालसामा राजा र तारे पार्टीका नेता दुवै पक्ष भट्टराई विरुद्ध लागे । त्यसपछि सैनिक समाधान र वर्ताको अन्यौल र प्रयोगको चक्करमा देशमा विद्रोह बढिरह्यो । देश विद्रोह र द्वन्द्वको भुमरीमा नराम्ररी फस्यो । हाम्रो देशको खुल्ला राजनीतिको दुर्भाग्य पनि त्यही दिनदेखि शुरु भयो ।” बाका राजनीतिक द्वन्द्वको गहिरो विश्लेषण सुनेर मानिसहरु अझ ध्यान दिएर बातिर एकोहोरिए । 
बाले फेरि आफ्ना कुरा जोड्दै भन्नु भयो– “सहज र स्वतन्त्र निकासका लागि राष्ट्रिय पहल गर्नु पर्ने बिषय थियो । कसले समाधानमा ल्याउने भनेर सबैले आ–आफ्नो बुद्धि र विवेक प्रयोग गर्नुपर्ने थियो । त्यो भएन । कसले जस लिने भन्ने अल्पकालिन होडबाजी चल्यो । जसले गर्दा यो समस्याले नियन्त्रण गुमायो । धेरै ठूलो जन, धनको क्षति भयो । त्यसैले शासकीय जिम्मेवारी भएका मानिसले जसलिने होड होइन राष्ट्रिय स्वार्थ, मानवीय हित अनि सद्भाव र उन्नतिलाई सधैं ख्याल गनुपर्छ । त्यसैमा उसको महानता पनि देखिन्छ । जस अपजस भन्ने कुरा निकृष्ट, क्षणिक र अल्पकालीन कुरा हुन् । १०÷२० वर्षमा नै मानिसले सबैकुरा भुलिसक्छ । त्यसपछि के जस, के अपजस ? यस कुरालाई सधैं विचार गर्न आवश्यक हुन्छ । ब्यक्तिको अहंकार तुष्टी राजनीतिमा जहिले पनि हानिकारक हुन्छ । द्वन्द्व र भ्रष्टताको अनि अस्थिरताको जरो त्यही व्यक्तिगत अहहंकार हो ।” बा आफ्ना कुरा भनेर केहीबेर अडिनु भयो । उद्घोषकलाई आफ्नो समय बारे जिज्ञाशा राख्नु भयो । सभापतिले अरुको समय काटेर भएपनि तपाईंलाई समय दिन्छु भने । बाले आफ्नो भनाइ फेरि जोड्नु भयो ।  
“नेपालको राजनीतिको अर्को अझ महत्वपूर्ण पक्ष छ त्यो हो– अर्काको भूमिमा बसेर एक अर्काका शक्तिभित्र चलखेल गर्ने काम । अर्काको भूमिमा बसेर आफ्नो राजनीतिक शक्ति र समाधान खोज्ने । राणाकाल अघिका शासन प्रणालीको परिवर्तनमा अरुको भूमि र अरुको सहयोग छिटफूट भएपनि खासै निर्णायक थिएन । जब राणहरुले कोतपर्व मार्फत् शासन हत्याए उनीहरुले विदेशी सहयोग र सद्भावको अपेक्षा गरेको र आन्तरिक सहयोग लिएको देखिन्छ । तर त्यस्तो सहयोग अति प्रच्छन्न र गोप्य हुन्थ्यो । निर्णायक उनीहरु स्वयं थिए । सहयोगीहरु निर्णायक थिएनन् । त्यसपछिको नेपाली राजनीतिमा विदेशी भूमि र विदेशी शक्तिको आडलिने प्रचलन बढेर गयो । जुन देशले उसको भूमि कुनै शक्तिलाई चलखेल गर्न सहयोग पु¥याउँन प्रयोग गर्न मागिन्छ र दिन्छ भने स्वाभाविक रुपमा उसले त्यसबाट आफ्नो हित रक्षा गर्न खोज्छ।  शक्तिकालागि सहयोग गर्ने र त्यसबाट कुनै फाइदै लिने मनशाय नबनाउने मान्छे र राज्य संसारमा विरलै भेटिन्छ । ००७ सालदेखि  हालसम्म हाम्रो देशमा भएका आन्दोलन र शासकीय परिवर्तनमा छिमेकी मुलुकको सहयोग र छिमेकी मुलुकका नेताहरुको दवाव र प्रभाव निर्णायक रहेको पाइन्छ । चाहे ००७ होस् वा ०१७ साल वा ०४७ वा ०६३ साल, माउपार्टीको विद्रोह र सहमतिका प्रयास वा त्यसपछिका वारम्बारको सरकारहरुको परिवर्तन । सबैमा निर्णायक उक्साहट, वातावरण निर्माण र सहमति सब छिमेकी निर्देशित छन् । त्यसमा एउटा महत्वपूर्ण आन्तरिक राजनीतिक मनोविज्ञानले काम गरेको छ । म तपाईहरुलाई हाम्रै गाउँघरको उदाहरण दिन चाहन्छु ।” बाले ड्यासमा भएको गिलासको पानी एक घुट्की लिँदै आफ्नो विश्लेषण अगाडि बढाउनु भयो ।  
“हाम्रो गाउँघरमा पनि कुनै छिमेकीको घरमा कुटाकुट, काटमार र भैmझगडा भयो भने वरिपरिका छिमेकी रमिते मात्रै भएर बसिरहँदैनन् । समाधानका अनेक दवाव र प्रभाव प्रयोग गर्न थाल्छन् । प्रभावशाली छिमेकी रहेछ भने आफ्नो दवाव प्रयोग गरेर मिल्न, मिलाउन बाध्य नै बनाउँछन् । घर घरायसमा त यस्तो हुन्छ भने देशहरु पनि त्यसकै विस्तारित रुप  हुन् । त्यसो हुनु स्वाभाविक हुन्छ । त्यसो गरेन भने अनेक किसिमले छिमेकीलाई हैरानी हुन्छ । अझ यो संचारको विकास उच्च भएको बेलामा त त्यसको प्रभाव अलि छिटो परिहाल्छ । २००७ सालमा सबै राजनीतिक पार्टी र राजाले दक्षिणे छिमेकीलाई हारगुहार गरे । हारगुहारमा गएपछि उनले मिलाईदिए । मिलाए वापत दस्तुर केही लिनु स्वभाविक थियो । त्यसको पारिश्रमिकस्वरुप कोशी, गण्डकी जस्ता सम्झौता र सुरक्षा निगरानी आफ्नो हातमा लिए । त्यसबाट आजित हुँदै गएका राजाले आफ्नो शक्ति हत्याउन तत्कालीन रुपमा बलियो हुँदै गएको नवोदिन उत्तरी छिमेकी रोजे । तर त्यो गोप्य र आन्तरिक थियो । निर्णायक आफैं देखिएका थिए । त्यसैले त्यसको दवाव र प्रभाव कम पर्यो । स्वतन्त्र रुपले आफूले नै राजाले निर्णय गरे । अनेक आन्तरिक समावेशीकरणका प्रयत्न गरे । त्यही कारण ३० वर्ष चलाए ।” बाका कुरा सकिएका थिएनन् । स्रोताहरु मक्ख परेर सुनिरहेका थिए ।  
“राजाको शासनको विकल्पका लागि फेरि विरोधी पक्षले विदेशी भूमि र उनीहरुकै सहयोग खोजे । आफ्नै देशमा रहेर जनतालाई प्रशिक्षित गरेर आन्दोलन गर्ने काममा भन्दा दवाव र प्रभावमा आफ्नो ठाउँ र सत्ता सुरक्षित गर्न चाहे । २०३३ सालमा वी.पी.ले केही ऐतिहासिक कारणले त्यो कुराको भित्री आसा त बुझे तर बुझाएर देशको शक्ति सन्तुलन मिलाउन र राष्ट्रिय विचारको स्वरुप बनाउन सकेनन् । २०३६ को जनमत संग्रहमा बन्न लागेको राष्ट्रिय सहमतिको आधारमा गहिरिएर बहस र चिन्तन गर्न उनको ध्यान पुगेन । तर पनि त्यो आन्दोलन दवाव र प्रभाव कम भएको स्वाभाविक राष्ट्रिय आन्दोलन थियो । त्यसपछि नेपालको सत्ता परिवर्तनको आन्दोलनमा छिमेकी शक्ति त्यसमा पनि दणिक निर्णायक छ भन्ने मानसिक पक्ष हावी हुँदै गयो । उसको साथ र सहयोगबिना न सत्ता टिकाउन सकिन्छ न परिवर्तन गर्न सकिन्छ भन्ने कमजोर मनोविज्ञान राजनीतिक तहका नेतृत्वमा पस्यो । यही कारण आन्दोलन गर्न होस वा सरकार परिवर्तन हरेक बेलामा काठमाडौंभन्दा दिल्ली अनि सिंहदरबारभन्दा लैनचौर निर्णायक हुन थाल्यो । दासताको मनोबैज्ञानिक राजनीति हरेक नेतृत्वकारी ब्यक्तिका नशामा दौडिन थाल्यो ।” बाका भनाइले अझ गति लिँदै थियो । माउ पार्टीका नेताहरु पनि भित्रिए । 
माउ पार्टीको विद्रोहतिर आफ्नो विश्लेषण मोड्दै बाले आफ्नो विश्लेषण राख्नु भयो– “माउपार्टीको विद्रोह पनि जबसम्म शुरुशुरुमा नेताहरु देश भित्रैबाट आफ्नो शक्ति र सामथ्र्यको बलमा आफ्नै अन्तरहृदयबाट निर्णय गरेर संचालन गरिरहेका थिए त्यतिबेलासम्म न ध्वंसात्मक थियो न हिंसात्मक । जब नेताहरुजति दक्षिणे काजीको शरमामा गएर सहयोगको खोजी गर्न थाले अनि आन्दोलन आफ्नो वशमा पनि रहेन र सृजनात्मक पनि रहेन । सत्ता र शक्ति हत्याउने खेल मात्रै भयो । फेरि छिमेकी दवाव र प्रभावको ऐतिहासिक सन्दर्भ उनीहरुसँगै पनि जोडियो । स्वतन्त्र निर्णय गर्न सक्ने सामथ्र्य हराएर तीन हात उफ्रेर विरोध गर्ने उनीहरुको आवेग भीक्षापत्र फैलाएर ढोकामा दान माग्न नतमस्तक भएपछि नटिक्नु स्वाभाविक थियो । हिजोको आलोचना र बदनामी खेपेका छिमकीले उनीहरुलाई पनि मुसो खेलाएझैं गरी सत्ता र विद्रोही दुबै पक्षलाई खेलाए । १२ बुँदे सम्झौता गराए । अनेक दवाव दिएर आफ्नो अनुकूल केही काम गर्ने प्रयत्न गरिरहे ।” 
बाले आफ्नो भनाइ अब छोट्याउनेतिर जाने संकेत गर्दै भन्नु भयो– “संसारमा भएका आन्दोलनहरुको निर्णायक वार्ता र सहमति आफ्नै बल, बर्कत र भूमिमा टेकेर भएका सम्झौता र परिवर्तनले देशलाई विकास, अग्रगमन र प्रगतितिर लगेको छ । गान्धी, मण्डेला, माओ, लेलिन, होचिमन्हि, किमइल सुङ, मार्टिन लुथर किङ जुनियर सबैले आफ्नो देशको परिवर्तनको निर्णायक आन्दोलन आफ्नै देशमा बसेर चलाए । निर्णायक सहमति र सम्झौता पनि आफ्नै भूमिमा बसेर गरे । सहमति भएर परिवर्तन भइसकेपछि उदारता र समावेशीकरणको नीति अवलम्बन गरे । वैरभाव र बदलाभन्दा क्षमादान र समावेशीकरणलाई जोड दिए । राजा महेन्द्रलाई नै हेर्ने हो भने पनि यो बुझ्न सक्छौं ।” 
आफ्नो भूमिमा रहेर आन्दोलन र सहमति गर्दाका फाइदा बारे प्रष्ट पार्ने प्रयास गर्नुभयो र भन्नु भयो– “आफ्नो वर्कत र भूमिमा आधारित भएर गरिएका संवादले विवादित बिषयमा सहमतिको वातावरण बन्दै जान्छ । देशका साझा समस्या पहिचान गरेर आमसहमति जुटाउन पनि यसले ठूलो सहयोग पु¥याउँछ । त्यसै हुनाले आज जुन देशले असाधारण प्रगति गरेका छन् त्यहाँ साझा समस्याहरुमा कसैको पनि मतभेद छैन । देशको प्रणालीबाट पाउने सेवा, सुविधा र अधिकारमा भेदभाव र राजनीतिकरण छैन । अवसरको पारदर्शिता, सक्षम न्याय प्रणाली र खुल्ला र पूर्वाग्रहरहित संवाद संयन्त्र जुनसुकै प्रजातान्त्रिक प्रणालीका अंग हुन् । त्यसको अभावमा नाम जे सुकै दिए पनि र जसले कानुन र संविधान बनाए पनि त्यसले काम गर्न सक्दैन । जनता र नागरिकको मन जित्न सक्दैन । देशभित्रको राजनीतिमा देशको हितरक्षा र नागरिकको हकमा मानवीय न्यायमा आधारित न्याय जहिले पनि केन्द्रमा राखिंनै पर्छ । अन्यथा जसले शासन चलाएपनि जे नामको ब्यवस्था परिवर्तन गरेपनि त्यसले देश र जनताको विकास र उन्नतिमा कुनै तात्विक फरक ल्याउँदैन । प्रगति र उन्नतिका आकांक्षा जहिले पनि पछि परिरहन्छन् । राजनीतिको पछि लाग्नेहरुले दुःख र ब्यथा भोगिरहनै पर्छ । भ्रष्टाचार र अनाचारको पीडा सहनै पर्छ ।” 
“प्रश्न आउँछ अब यी सबै कुरा गर्न के गर्ने त ?” 
“यसका लागि आवश्यक छ शिक्षाको ब्यवस्थित प्रणाली । जुन शिक्षा आर्जन गर्ने मान्छेलmे मानिसलाई अन्धता र रुढीवादी संस्कारबाट बाहिर निकालोस् । आफ्नो मानवीय चेतना, विवेक र प्रज्ञालाई जागृत गरोस् । वैज्ञानिक कसीमा आफ्नो ज्ञानलाई पारख गर्न समर्थ होओस् । आफ्नो अहंकारलाई सार्वजनिक हित र न्यायका लागि चेतनाको मातहतमा राखेर प्रयोग गर्न सकोस् । यदि त्यसो गर्न सकिएन भने शासनको प्रणाली मात्रै फेरेर केही काम हुन सक्दैन । जबसम्म ब्यक्तिको चित्तवृति नै नकारात्मक पक्षबाट घेरिरहन्छ तबसम्म मानवीयपन र उच्चतामा आधारित क्षमाशिल, भावनामय प्रज्ञायुक्त र आत्मगौरवलेयुक्त मानिस जन्मिँदैन । हरेक ब्यक्ति अहंकारले घेरिएर शक्ति हत्याउन लालायित भइरहन्छ । बेइमानी र भ्रष्ट आचरण गरिरहन्छ । जहाँ अधिकांश मानिसको चेतना बेइमानी, अनाचार र अनैतिक कार्यतिर तानिरहन्छ, त्यतिबेलासम्म राज्यप्रणालीमा आएको परिवर्तनले मात्रै समाजलाई उन्नत बनाउँन सकिंदैन । शक्तिले ल्याउने परिवर्तनभन्दा विचार र भावनाको शक्तिले ल्याउने परिवर्तन कैयौं गुणा शक्तिशाली हुन्छ । त्यो चेतनाको विकास शिक्षा प्रणालीलमा परिवर्तन गरेर ब्यक्तिलाई आत्मवान बनाएर मात्रै सम्भव हुन्छ । जहाँ अधिंकांश शिक्षित मान्छे आफ्नो गहिरो अन्तस्करण र आत्मसचेतताबाट संचालित हुन्छ, त्यहाँ यस्ता कलह, द्वन्द्व र अनाचारहरु स्वतः न्यून हुन थाल्छन् । यिनले फैलिन पाउँदैनन् । त्यसैले देशको परिवर्तनका यी दुबैका राजनीतिक र शैक्षिक (चेतना विकास) परिवर्तन सँगैसँगै जानु आवश्यक छ । हामीहरुले राजनीतिमा त परिवर्तन ग¥यौं तर शिक्षा उही छ । त्यसैले अब यसतर्फ लाग्नु आवश्यक छ ।”
एकछिन रोकिएर बाले फेरि थप्नु भयो – यसका लागि बाटो सजिलो छ । हरेक मान्छेलाई आफ्नो पुस्तक, आफूले लेखेको पुस्तक पढाउने । आपूmले लेखेको पुस्तके हरेकले पल्टाउन थाल्यो भने मान्छे आफैंबाट आफू प्रशिक्षित हुन थाल्छ । त्यसका लागि केही विेकवान् मान्छेहरु आवश्यक हुन सक्छन् । तर ती ज्यादै थोरै संख्यामा भएपनि काम चल्छ । आजका जस्ता स्कूलैपिच्छे ती चाहिँदैनन् । आज म यहाँहरुलाई यति मात्रै निवेदन गर्दछु । आगामी दिनमा केही बाँकी विषयहरुमा छलफल गर्न आवश्यक भएमा मलाई सम्झनु होला ।” यति भन्दै बाले आफ्नो भनाइ टुंग्याउनु भयो । दर्शकहरुले कर्तल ध्वनिका साथ तालिले विदाइ गरे । 


No comments:

Post a Comment