Thursday, July 4, 2013

असीम आनन्द


“आज सबै गाइवस्तु लिएर खेत जानुपर्छ । सबै जना छिटोछिटो गरी भात खाएर तयार होऊ । कसैले पाडाबाछा, कसैले गोठका पाटा, कसैले किला, दाम्ला बोक्नु पर्छ । अलि छिटो गर ।” हजुरबाले उर्दी लाउनु भो । हतारहतार भात खाएर हजुरबाको आदेश पर्खेर हामी केटाकेटीहरु जति खाटमा बसिरह्यौँ । आमा हतारहतार खाना खाएर चुलाको धन्दा सकेर बाहिर निस्कनु भो । बा पनि गोठतिर तयारीमा लाग्नु भो ।
भर्खर धान काटेर खेत खालि भएको थियो । दौँतरी साथी भेटियो कि खुल्ला खेतबारीमा डण्डीबियो र कपर्दी खेल्न खुबै मजा आउँथ्यो । खेतका गरामा खुल्ला आकास मुनि छरपष्ट पारेर गाइवस्तु बाँध्यो अनि बीचमा पारेर एउटा सानो छाप्रोजस्तो लाग्ने गोठ । आधुनिक रुपमा घुमन्तेहरुले प्रयोग गर्ने टेन्ट जस्तै लाग्थ्यो त्यो गोड । शायद त्यस्रबाट सिकेका होलान् ती टेन्टवालाहरुले पनि । त्यसमा सुत्दा अर्कै आनन्द आउँथ्यो । स–साना बाच्छाबाच्छीहरु र बाख्रापाठाहरु राति त्यस गोठमा आश्रय लिन पाउँथे । दिउँसोभरि बाहिरै हुन्थे । पराल ओछ्याएर घुमन्ते पर्यटक झैँ एकजना रुँगालो त्यही गोठको भुइँमा राति गोठ सुत्थे । मलाई घरमाभन्दा त्यस्ता गोठमा सुत्न रमाइलो लाग्थ्यो ।
गोठ पनि बिचित्रले बनाइन्थ्यो । विशुद्ध घुमन्तेकै जस्तो हुन्थ्यो त्यो गोठ । बाँसका लामालामा भाटाहरुलाई टाडो र तेर्सो गरी बाँध्यो र एउटा नरकङ्काल जस्तो आकार दियो । त्यसलाई पानी पर्दा पानी भित्र नछिरोस् भनेर भोर्लाका ठूलाठूला पात एक आपसमा उनेर बडो मेहनतसाथ छाइन्थ्यो । ठीक बीचमा तेर्सो पारेर बोक्न मिल्ने गरी सन्तुलन मिलाएर एउटा बाँस बाँधिएको हुन्थ्यो । बीचको त्यही बाँस काँधमा अड्याएर आकार र तौल हेरेर एक वा दुइजना मिलेर कोसौ टाढा बोकेर लैजाने गरिन्थ्यो । अहिलेका जस्ता प्लाष्टिकका सजिला पालहरु आइसकेका थिएनन् । त्यो दुर्गम गाउँमा पुस्तौँदेखि ती भोर्लाका पाटा बनाइन्थे । गोठ बनाइन्थ्यो । खेतबारीमा गाइवस्तु त्यसरी नै बाँध्ने र मलिलो बनाउने चलन थियो । यसले स्थानीय बासिन्दालाई भोर्लो जोगाइराख्ने, जंगल जोगाइराख्ने अनि बाँसको पनि संरक्षण गरिराख्न झक्झक्याइरहन्थ्यो । प्रकृतिका सबै पक्ष बचाउन र सन्तुलन मिलाउन यस्ता प्रविधिले गाउलेहरुलाई सम्झाइरहन्थे ।
“ल अब छिटो गर । म गाइवस्तु बोलाउँदै अघि लाग्छु । तिमीहरु गाइवस्तु खेद्दै पछिपछि आओ ।” हजुरबा हतार गर्दै निस्कनु भो । हामी पनि सँगैसँगै पछि लाग्यौँ ।
“काहाँ लाने हजुरबा यिनलाई ?” मैले अबोध प्रश्न गरेँ ।
“च्याङ्ग्रे ।” हजुरबाले उत्तर दिनु भो ।
“किन हजुरबा च्याङ्ग्रे लाने ? अब त्यो सानो बाच्छी पनि च्याङ्ग्रे नै बस्छ त ? त्यल्लाई जाडो हँदैन ?” मैले हजुरबालाई फेरि प्रश्न थपेँ ।
“अब सँगै हिँड्न देखिहाल्छस् नि ।” हजुरबाले उत्तर दिनु भो ।
हाम्रो घर अलि माथि डाँडामा थियो । तल खोला किनारमा खेत । पूर्वतिर भालुखोला अनि पश्चिमतिर च्याङ्ग्रे खोला । च्याङ्ग्रे खोलाको किनारमा ठूला, लामा गरा भएको खेत थियो । नाम पनि चाङ्ग्रे खेत । खोलाकै नाममा थियो खेतको नाम पनि । अति रमाइलो थियो त्यो खेत । कलिलो हरियो धानमा हावाले तरेली पाथ्र्यो । हामी डाँडामा बसेर खुब मज्जासँग हेथ्र्यौँ । हावाको वहावसँगै तरेली पनि सर्दै हिँडेजस्तो देखिन्थ्यो । निकै परदेखि क्रमशः सर्दै आउने तरेली रमाइलो हुन्थ्यो । धान हावामा नाचेको जस्तो लाग्थ्यो हामीलाई । त्यो लहर हाम्रा लागि कम्ती खुसीको बिषय हँुदैनथ्यो । त्यो देखेर हामी कल्पनाको कुन लोकमा पुग्थ्याँै कुन्नि भित्रभित्रै आनन्दले गदगद हुन्थ्यौँ । त्यो आनन्द शब्दमा अहिले म भन्न पनि सक्दिन । के हुन्थ्यो त्यो बेला मलाई थाहा छैन । तर भित्र चाहिँ बर्णनै गर्न नसकिने खालको आनन्द आउँथ्यो ।
अहिलेका बच्चाहरुले त्यो तरेलीको प्राकृतिक मनोरम दृश्य कहाँ देख्न पाउनु ? त्यो खुसी र आनन्दको अनुभव कहाँ गर्न पाउलान् ? प्रकृतिक सुन्दरताको त्यो मादकताले न हामीलाई भोकलाग्न दिन्थ्यो न तीर्खा । ध्यानमग्न योगी जस्तै हामी ती दृश्यलाई हेरिरहन्थ्यौँैँ । घाम लागेको बेला चल्ने हावाले त झन् अर्कै चमक ल्याउँथ्यो । रुखको शियालमा बसेर माथि डाँडाबाट हामी त्यो दृश्य नियालिरहन्थ्यौँ । मनै लठ्याउने कति रमाइला थिए ती दृश्यहरु !
मानिसको स्मृतिले यस्ता क्षणहरु भुल्दो रहेनछ । अहिले पनि ती दिनको उन्मुक्त खुसी र आनन्द पछिल्ला दिनमा पैसाले किनेर लिएका खुसी र आनन्दभन्दा बढी नै मूल्यवान् लाग्छन् मलाई । सम्पत्तीमा साटिने खुसी र आनन्द प्रकृतिले सित्तैमा दिने खुसी र आनन्दको तुलनामा किन हो किन निकै फिक्का नै हुँदो रहेछ । वस्तुमा साटेको सुखले मानिसलाई त्यो असीम प्राकृतिक प्रवाहबाट मिल्ने सुखको सानो अंश पनि दिनसक्दो रहेनछ ।
च्याङ्ग्रे खेतले हामीलाई बेलाबेलामा सितैँमा त्यही खुसी र आनन्द दिन्थ्यो । त्यस दिन म त्यही खेतमा गाइवस्तु लिएर मलिलो बनाउन जाँदै थिएँ । मनमा हर्ष, उमंग, उल्लास र उन्मुक्ति लिएर म ती अबोध पशुहरुसँगको यात्रामा थिएँ । मेरो त्यो यात्रा कहाँ वर्णन गर्न सकिन्छ र ? त्यसलाई अनुभूत गर्न भोग्नै पर्छ । अनुभूतिमा ल्याउनै पर्छ । सकिँदैन शब्दमा उतार्न । नजिकै स्वाँऽऽऽऽऽऽ गरेर सुसाउने च्याङ्ग्रे खोला अनि माथितिर भिरालो खरबारी भएको डाँडाको फेदीमा घरभन्दा अन्दाजी ३ किलोमिटर जतिको दूरीमा थियो त्यो खेत ।
हिउँदमा धान काटेपछि खेतमै गाइवस्तु बाँधेर खेत मलिलो बनाउने चलन थियो । आज त्यही काम वर्षदिन पछि फेरि दोहोरिएको छ । तर मलाई भने त्यो जीवनकै पहिलो अनुभव थियो । म लुरुलुरु गाइवस्तुको जेरमा उनीहरुकै साथी बनेर यात्रा गर्दै थिएँ । म त्यहाँ थिइनँ । हराइसकेको थियो म भित्रको म । खुसी मात्र थियो । म त्यस दिन तिनै गाइवस्तुसँगको खुसीमा विलाएको थिएँ । कुन्नि के भयो मलाई त्यो दिन ।
हजुरबा सानो एउटा बाच्छो डोर्याउँदै गाइ डाक्तै सबैभन्दा अगाडि लाग्नुभयो । त्यसको पछाडि लस्करै अनुशासित भएर भखैरभर्खर लहिनो भएको पातली गाई पछि लाग्यो । उसलाई पछ्याउँदै बाच्छाबाच्छी र अरु माउ गाईहरु पछि लागे । बाच्छाबच्छीहरु लरखराउँदै बाटामुनि बाटामाथि धरमराउँदै ठेल्लिँदै थिए । भैँसीहरु अलि अलमलिए । चारैतिर छरिए । शायद भैँसीहरु जेरमा डिँड्न र चर्न बानी परेका थिएनन् क्यार । लस्करै गाइभँैसी अनि बीचबीचमा हामी केटाकेटीहरु, यताउता सहयोग गर्ने । आमाबाहरु चाहिँ गाइवस्तु बाँध्ने किला, दाम्लाहरु डोकामा भारी हालेर पछिपछि लाग्नु भो । मेरो शरीरमा लामो घुँडाभन्दा मुनिसम्म झुण्डिएको दौरा अनि शिरमा खद्दरे टोपी । खालि खुट्टै, ढुङ्ग्यान बाटामा गाइवस्तुसँग हिँड्दा अलिअलि दुखेजस्तो त लाग्दै थियो । तर त्यो पीडा भन्दा पनि रमाइलो बढी थियो । अबोध र खुसीमा रमाइरहेका पशुसँगको त्यो यात्रामा दुखाइभन्दा उमङ्ग र रोमाञ्च नै ज्यादा थियो ।
त्यसदिन मैले साँच्चै नै त्यसअघि कहिल्यै अनुभव नगरेको खुसीको अनुभव गरेँ । पछाडि छोडिएका बाच्छाबाच्छीहरु डयाँडयाँ र डुँडुँ गरिरहेका छन् । पाठाहरु म्याआऽऽऽ गर्दै माउ खोज्दै माउको दूध खान बाटाबाटामा रोक्दै कुदिरहेका छन् । अरुअरु आफ्नो क्षमता अनुसार के के न पाइने भो भनेझैँ उछिनपाछिन गरेर कुदिरहेका छन् । भीडमा तँछाड्मछाड् गरेर कुदिरहेका ती पशुहरुको अबोधपनको आनन्दमा म त्यसैत्यसै हराएँ । एउटा विचित्रको दृश्य थियो त्यो ।
हजुरबा अगाडिलागेर ओऽऽऽऽऽऽजी भन्दै गाइवस्तु डाक्ने आफ्नै खाले लयबद्ध भाषामा गाइभैँसीलाई बोलाउँदै हुनुहुन्थ्यो । भिरालो पाखामा छरपष्ट भएर गाई, बाख्रा, भैँसीहरु एक से एक प्रतिस्पर्धा गर्दै कोही कराउँदै, कोही उफ्रँदै तलतिर भलर्दै अगाडि बढिरहेका छन । कोही पुच्छर ठाडो पारेर बुर्कसी मार्दैछन् । विचित्रको तमासा जस्तो लाग्यो मलाई त्यो दिनको दृश्य । पहिलो पटक मैले पशुहरुसँग मानिसको त्यो रमाइलो यात्रामा सहभागी हुने मौका पाएँको थिएँ । उन्मुक्ति, स्वतन्त्रता र स्वच्छन्दतामा दौडिरहेका पशुहरुको त्यो दृश्यसम्झँदा अहिले पनि मनलाई रोमाञ्चित बनाइरहन्छ । कस्तो निर्दोष र अबोध आनन्दको क्षण अनुभव गरेको होला मैले त्यसदिन ?
(आफ्नै नयाँ उपन्यान सिर्कनो देखि समाधिसम्म बाट)