Wednesday, August 31, 2016

मरुभूमि गुल्जार गर्दै चीन

मरुभूमि शब्द सुन्नासाथ हाम्रो मनमा कस्तो शब्दचित्र आउला ? स्वाभाविक छ, बञ्जर, रुखो, हरियालीरहित, सुख्खा हावा चल्ने, मानवबस्तीविहीन भूभाग, जहाँ मानव जीवनका लागि आवश्यक पर्ने प्राकृतिक वातावरण पाउन कठिन छ । तर त्यसको ठीक विपरित त्यही मरुभूमि गुल्जार गरेर संसारलाई नै आश्चर्यमा पार्ने गरी खेतीपाती, औद्योगिक विकास अनि मानव विकास सूचकांकमा निकै अगाडि रहेको भौतिक र सामाजिक विकाससहितको मानव बस्ती र संरचनाहरु मरुभूमिमा देखिए भने तपाईंहामीलाई लाग्छ, यो त आश्चर्य नै हो, कसरी गरेहोलान् यस्तो काम ? यही आश्चर्य र विस्मयले भरिएको यात्रा रह्यो यस पटकको मेरो चीनयात्रा । 

चीनका अपेक्षकृत विकसित र उन्नत मानिने पूर्वी र मध्यचीनका धेरै भूभाग घुम्ने र बुझ्ने अवसर पाइसकेकाले यस पटकको मेरो रोजाइ रह्यो चीनको उत्तर–पश्चिमी प्रान्त सिन्ज्याङ–उइघुर स्वायत्त क्षेत्र । दक्षिणमा चीनकै तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा निङजिया र गान्सु प्रदेश अनि मंगोलिया, पश्चिममा पाकिस्तान, ताजिकिस्तान, कजाकस्तान र किर्गिजिस्तानबाट घेरिएको यो प्रान्त करिब १६ लाख वर्ग किलोमिटमा फैलिएको छ । कूल चीनियाँ भूभागको ६ प्रतिशत भूभाग ओट्ने यो प्रान्त संसारकै ठूला प्रशासनिक एकाइमा पर्दछ । चीनको राजधानी बेइजिङबाट करिब ३००० किलोमिटर पश्चिममा रहेको यो प्रान्त भौतिक विकासका दृष्टिले चीनको पूर्वी र मध्य भागमा अवस्थित प्रान्तहरुभन्दा अपेक्षाकृत पछाडि परेका प्रान्तहरुमध्ये कै मानिन्छ । चीनीयाँ विकास सूचांकमा गान्सु, निङजिया, इनर मंगोलिया र सिन्ज्याङ अपेक्षकृत कमजोर पूर्वाधार र भौतिक विकासका दृष्टिले पछाडि परेका मानिन्छन् । तर हालैका वर्षहरुमा यी प्रदेशहरुको विकासलाई चीनले प्राथमिकतामा राखेपछि भने यी क्षेत्रहरु तीव्र गतिले विकासमा लम्किरहेका छन् । 

यसै वर्षको श्रावण १८ (अगस्त २) देखि भाद्र ७ (अगस्त २३) सम्म सिन्ज्याङ प्रान्तको राजधानी उरुम्चिनजिकैको अर्को शहर सेहेजीस्थित राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्रको निमन्त्रणामा त्यस क्षेत्रको कृषि विकासका लागि चीनले प्रयोगमा ल्याएको अत्याधुनिक सिंचाइ प्रविधि र खेति प्रणालीबारे जान्ने, बुझ्ने, निरीक्षण गर्ने तथा त्यसबारे विचारविमर्श गर्ने अवसर मिल्यो । 

नेपालबाट जुलाई महिनाको ३० तारिख थाइल्याण्डको राजधानी बैंकक हुँदै चार जनाको नेपाली टोली त्यसतर्फ प्रस्थान गरी अगस्त २ तारिख बिहान उरुम्ची पुग्यो । बेइजिङसम्म विमानबाट र बेइजिङबाट उरुम्चीसम्म रेलबाट जाने कार्यक्रम बनाएका थियौँ हामीले । हवाइ यात्रामा जाँदा चीनको त्यो भूभागमा भइरहेका उन्नतिको अवलोकन गर्ने अवसर नपाइने भएकाले रेलयात्रा हाम्रो रोजाइमा परेको थियो ।

विदेशबाट चिनीयाँ रेलको टिकट लिन नमिल्ने भएकाले सुरुमा निकै हैरानी खेप्नुपर्यो टिकट किन्न । तर पछि आयोजक समूहले नै टिकटको व्यवस्था गरिदिएपछि भने हामीले करिब दुई दिनको रेल यात्रामा चीनलाई बुझ्ने र नियाल्ने अवसर पायौँ । सुख्खा पहाडका फेदीबाट छेडिएका सुरुङभित्र लुसुक्क छिर्दै निस्कँदै गर्ने रेलमार्ग, घुम्ति र डाँडाहरुमा नागबेली आकारमा आफूलाई लमतन्न पारेर तन्किँदै गरेको भारवाहक रेल, करिब २०००जनाभन्दा बढी यात्रुलाई सुत्ने र बस्ने आरामदायक सुविधायुक्त कम्पार्टमेन्टहरुमा राखेर तान्दै अघि बढिरहेको यात्रुवाहक रेल अनि सुख्खा मरुभूमिका बीचबीचमा देख्न पाइने सीमित हरियाली, भेडाका बथान र खर्कहरु, निर्जन सुख्खा फाँट हुँदै हुइँकिएका बडेमाका भारवाहक सवारी साधनहरु आदिको अवलोकन, अनुभव र अनुभूतिको मिश्रित रोमाञ्चक यात्रा रह्यो यसपटकको बेइजिङ–सिन्ज्याङ यात्रा । 

करिब डेढ किलोमिटरको एउटा सानो सुरङ बनाउन दश वर्ष बित्दा पनि अत्तो न पत्तो भएर अल्मलिएको देशका अन्यमनस्क नागरिकलाई पहाडैपिच्छे किलोमिटरका किलोमिटर चट्टानी भूभागभित्र लुकामारी खेलेझैँ गरी कुदेको रेल देख्दा आश्चर्य मात्रै लागेन घरिघरि त देशको अवस्था सम्झेर आँखा समेत रसाए । २४ वर्षमा २६ कार्यकारी प्रमुख बदलिने देशका हामीलाई पचास वर्षमा पाँचजनाको नेतृत्वले रहस्यमय विकासपथमा दौडाएको चीन हेर्नु, बुझ्नु र देखेर जिब्रो टोक्नु आफैँले आफैँलाई खिज्याइरहेझैँ पनि लाग्थ्यो घरिघरि । 

अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य डिल्लीराम शर्मा अधिकारी सँगै यात्रारत थिए हाम्रो समूहमा । घरिघरि सम्म परेका मरुभूमिलाई गुल्जार गरेर हरिया फाँटमा परिणत गरेको देख्ता अमिलो मुखा पार्दै आफ्ना सहकर्मी नेताई एक पटक भ्रमण गराएर त्यो सब देखाउन पाए केही सिक्थे कि भनेर थकथकिन्थे भने अर्की महिला सदस्य लक्ष्मी उप्रेती देश सम्झेर घरिघरि आँशु नै झारौँ झैँ गर्थिन् । अर्का युवा शौनकचन्द्र पोखरेल भने आफ्नो टुटेफुटेको अंग्रेजी बोलचालमा चिनीयाँ यात्रीहरुसँग बात मार्दै तिमीहरु धन्य रहेछौ भनेर खुसी साट्थे र घरिघरि क्यामरा निकालेर बाहिर देखिने दृश्यलाई सकेसम्म क्यामरामा कैद गर्न हतारिन्थे । म भने पटकपटक चीनयात्रामा गएको भए पनि मरुभूमि जस्तो उजाड ठाउँमा त्यति भव्य संरचना र विकासको लहर ल्याउन सकेका चिनीयाँहरुप्रति नतमस्तक हुँदै त्यो सब हेर्ने र बुझ्ने अवसर जुटाइदिएकोमा आयोजकलाई मनमनै धन्यवाद दिन्थेँ र आफैँभित्र गम खान्थेँ– आखिर अरुको देखेर सिकिएन र केही गरिएन भने देखेको के काम लाग्यो र ? घरिघरि आफैँप्रति हीनता, घरिघरि आशा र संभावना अनि घरिघरि एक दिन त कसो हामी पनि यस्तौ नहोउँला र भन्दै हाम्रो दुईदिने रेलयात्रा चलिरह्यो । 

गान्सु प्रान्त छिरेपछि रेलमार्गका दुवैतिर अलि भिन्न दृश्यहरु सुरु भए । सुख्खा फाँटैफाँट भएर गएको रेल मार्गको दुवैतिर भने हरियालीको लागि प्रशस्त मिहिनेत गरेको देखिन थाल्यो । काला रंगका पाइप जताततै देखिन थाले । ठाउँठाउँमा पानीका अलि ठूला पाइपहरुबाट पानी निकालेर रुख–विरुवाहरुमा लगाइरहेको पनि देखियो । हामी आँखा तन्काएर हेर्न थाल्यौँ ती दृश्यहरु । भोलिपल्ट दिउँसोदेखि दृश्यहरु अझ बदलिन थाले । कहीँ बडेमाका हावाबाट बिजुली निकाल्ने विन्ड मिलहरु देखिन्थे त कहीँ भने किलोमिटरका किलोमिटर सोलार प्यानलहरु । निर्जन मरुभूमिमा लाग्ने घाम र चल्ने हावाको प्रयोग गर्ने कला र बुद्धि सिकाइरहेका थिए हामीलाई ती बडेमाका विन्ड मिल र सोलार प्यानलहरुले । हामी भने दिनमा १६ घण्टा लोडसेडिङ खेपिरहेको देशको दृश्य मनभरि फिँजाएर ती दृश्य अवलोकन गरिहेका थियौँ अनि निरन्तर रुपमा केही मिटर तलबाट बगिरहेको खोला हेरेर मनसुनको पर्खाइमा बारी बाँझै राखेर आकाश ताकिरहेका किसान झलझली सम्झिरहेका थियौँ । 

यसरी नै बित्यो हाम्रो दुइदिने चिनीयाँ रेल यात्रा । करिब ४० घण्टाको रेलयात्रापछि हाम्रो टोली पुग्यो सिन्जियाङको राजधानी उरुम्ची । त्यसपछि सुरु भयो मरुभूमिमा गरिएको उन्नत खेती प्रविधि सम्बन्धी करिब तीन हप्ते कार्यक्रम । जसको शब्दचित्र आगामी ब्लगहरुमा क्रमशः आउने छ ।