Sunday, May 12, 2013

भूमिका तथा लक्ष्यको तालमेल

मानिसको जीवन नाटकघरमा बनाइएको नाट्यमञ्च जस्तै हो । मञ्चमा एउटै व्यक्ति पनि अनेक भूमिकामा अभिनयका लागि देखापर्छ । अभिनय गर्छ, बहिरिन्छ । फेरि अर्को पात्र आउँछ अभिनय गर्छ, आफ्नो भूमिका निर्वाह गर्छ अनि फेरि बाहिरिन्छ । यसरी अभिनयको भूमिका अर्थात् “रोल” र अभिनय अर्थात् “गोल” नाट्यमञ्चमा चलिरहन्छ । तर ती भूमिका निर्वाह गर्ने अभिनयकर्ताहरु मध्ये एक वा दुई पात्रको भूमिका भने प्रमुख हुन्छ । त्यही पात्रको चरित्रलाई पुष्टि गर्ने वा खण्डनमण्डन गर्ने गरी अरु चरित्रहरुले अभिनय गरिरहेका हुन्छन् । 

मानिसको जीवनमा पनि त्यही कुरा लागू हुन्छ । हामी जीवन बाँच्नका लागि स्थान, समय, परिवेश र परिस्थिति अनुसार विभिन्न भूमिका निर्वाह गर्दछौँ । एउटा कर्मचारी कर्मचारी मात्र हुँदैन । ऊ कार्यालयमा रहँदा कर्मचारी हुन्छ । घरमा रहँदा पुरुष भए एउटा अभिभावक, छोरा, नाति, बाबु आदि होला महिला भए सोही अनुसार अभिभावक, आमा, दिदी, बहिनी, छोरी आदि होला । समाजमा रहँदा एक छिमेकी, समाजको सदस्य होला । संस्थाहरुमा भए कुनै पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तक केही होला । देशभित्र एक नागरिक होला । ती विभिन्न भूमिका निर्वाह गर्ने व्यक्ति त एउटै हुन्छ तर उसका भूमिका भने फरकफरक हुन्छन् । ती सबै भूमिकाको स्थान, परिवेश अनुसार आफ्नै महत्व र मूल्य पनि हुन्छ । ती भूमिकाहरु निर्वाह नगर्ने हो भने जीवन संचालन पनि गर्न सकिँदैन । आफ्नो भूमिका समग्र रुपमा थाहा पाउन सकियो भने ती भूमिकामा म आफू स्वयं कस्तो बन्नचाहेको हो त्यसको यकिन गरी आफूलाई सोही अनुरुप ढाल्न र परिवर्तन गर्न सजिलो हुन्छ । यदि ती भूमिकाहरु नै देख्न सकिएन भने मानिस लक्ष्यविहीन, मूल्यविहीन हुन्छ । सबै मानिस यस्तो भूमिका त निर्वाह गरिरहेका हुन्छन् तर त्यस भूमिकामा म कस्तो मानिस बन्न चाहेको हो भन्न्ो सचेतता चाहिँ धेरै कम मानिसलाई हुन्छ । राजनीति गर्नेले राजनीति त गरिरहेको हुन्छ तर मेरो राजनीतिमा गरिरहेको भूमिकाको लक्ष्य के हो ? म कतातिर जान यस भूमिकामा लागिरहेको छु ? भन्न्ो प्रष्टता भने धेरै कमलाई हुने गर्दछ । कुनै कार्यालयमा काम गर्ने कर्मचारी छ उसलाई मेरो भूमिकाका अरु पक्षहरु पनि छन्, म नागरिक पनि हुँ, समाजको सदस्य पनि हुँ भन्न्ो होस नै हुँदैन । विद्यार्थी छ तर म कस्तो विद्यार्थी बन्ने हो ? मेरा अरु भूमिका कस्ता छन् ? ती भूमिका कसरी निर्वाह गर्ने ? यस्तो बिषयमा कुनै चिन्तन नै गरेको हुँदैन । अनेक भूमिका सन्तुलन मिलाएर बाँच्नु पर्ने जीवनमा एउटा मात्र भूमिका निर्वाह गरेर बाँच्न खोज्छ अनि जीवनमा कहिल्यै सन्तुलन देख्दैन । असन्तुष्टि र खण्डितपनको पीडा महसुस गरिरहन्छ । अनेक भूमिकाहरु निर्वाह गर्ने कामको आधारभूत तहमा एक सामान्य मानिस हुन्छ । कुनै पद, कुनै प्रतिष्ठा, कुनै पहिचान नभएको विशुद्ध मान्छे । त्यो आधार मानिस एकदमै सरल, निष्कपट, निश्छल छ । हरेकभित्र त्यो मानिस अन्तरमा बसेको छ । त्यो सधैँ कमजोर, निरिह, असक्त बनाएका छौँ हामीले । हाम्रा सामाजिक अवधारणाको भारीले त्यो सरल, निष्कपट र आधारभूत मानिस थिचिएको छ । तर वास्तवमा मानिसलाई मानिस बनाउने त्यही भूमिकाविहीन मानिस, त्यही कपटरहित मानिस, त्यही अहंकाररहित मानिस नै हो । त्यसैले व्यक्ति स्वयंमा कुनै भूमिका नहुँदाको अवस्थामा जति सरल, जति निष्कपट, जति शान्त हुनसक्छ त्यति नै बढी आफनो सही लक्ष्य, सिद्धान्त र आदर्शमा अडिग रहन सक्दछ । त्यो भूमिका नै नभएको विशुद्ध मानिस देख्ने, चिन्न, आत्मसचेतता बनाइरहने र त्यसलाई बेलाबेलामा उपयोगमा ल्याइरहने कार्य गरेर हामीलाई अनेक भूमिकामा बाँडिएको जीवनलाई ठीक प्राथमिकतामा हिँडाउन सक्दछौँ । यदि भूमिकाहरु मात्र देखेका छौँ तर भूमिकारहित मानिस देख्न सकेका छैनौँ भने जगबिनाको घर जस्तै हुन्छ हाम्रो जीवन पनि । लक्ष्यविहीन रुपमा यताउता अभिनयमा हल्लिरहने अभिनयकर्ता जस्तै । अभिनय गरुन्जेल भूमिका छ, अभिनय हराएपछि त मानिस आधारभूत मानिस नै हो भन्ने हामीलाई ख्याल भएन भने जीवनका प्रथमिकताहरु कहिल्यै सही ठाउँमा आउन सक्दैनन् । अभिनयका लागि आफूलाई दिइएको जोकर, नायक, नायिका, खलनायक यस्तैयस्तै भूमिका निर्वाह गर्ने पात्र मात्र आफूलाई ठानिरहन्छौँ र पात्रकै रुपमा बाँचिरहन्छौँ । तर के पात्रको रुपमा भूमिका निर्वाह गर्ने अभिनयकर्ता नै तपाईंभित्रको वास्तविक मानिस हो त ? गहिरिएर बिचार गरेर हेर्यौँ भने बल्ल थाहा हुन्छ हामी भूमिका निर्वाह गर्ने पात्र होइन वास्तविक मानिस त भूमिका नभएको विशुद्ध व्यक्ति पो रहेछ । यो थाहा पाइयो भने बल्ल जीवनका वास्तविक प्राथमिकता थाहा पाउन सकिन्छ ।   

परिवर्तनका लागि चिन्तन प्रणालीको विस्थापन र प्रतिस्थापन

सामाजिक, आर्थिक वा वैज्ञानिक जुनसुकै क्षेत्रको परिवर्तन मानिसहरुमा प्रचलित सामाजिक विश्वास, सोच र चिन्तन प्रणालीको परिवर्तनबाट शुरुआत हुन्छ । संसारमा जति पनि सामाजिक, राजनीतिक र वैज्ञानिक परिवर्तनहरु भएका छन् तिनलाई हेर्दा परम्परागत रुपमा चलिरहेका स्थापित मान्यताहरुका स्थानमा नयाँ मान्यताको चिन्तनले त्यसको जग हल्लाइदिएपछि मात्र नयाँ परिवर्तनको जग बनेको देखिन्छ ।
हामी जहिले पनि एकै किसिमको विश्वास–प्रणाली, चिन्तन, सोच र व्यवहारका साथ जीवन बाँचिरहन्छौँ, कहिल्यै पनि सोच, चिन्तन र व्यवहारमा व्यापक झड्का महसुस गर्दैनौँ र पुरानाका ठाउँमा नयाँलाई प्रतिस्थापन गर्न आफूलाई खुल्ला पनि राख्दैनौ भने न त समाज न त जीवन दुवैमा व्यापक र उन्नतस्तरको परिवर्तन सम्भव हुँदैन ।
पुरानाको बदलामा नयाँ अवधारणा चर्चामा आउनासाथ एक प्रकारले हरेक मानिसको चिन्तन प्रणालीमा गहिरो झट्का लाग्ने गर्दछ । त्यतिबेला पुरानो मान्यताका स्थानमा नयाँ स्थापित पनि नभएको र पुरानो पनि धरमराएको एक किसिमको रिक्तताको अवस्था सिर्जना हुन्छ । त्यही रिक्तताले व्यक्तिको सोच, चिन्तन र कार्यशैलीमा व्यापक मात्रामा विकासका नयाँ संभावनाहरु तयार पार्दछ । परिणामतः व्यक्ति र समाज दुवैमा त्यसले एक प्रकारको आमुल परिवर्तन ल्याइदिन्छ । व्यक्तिको होस् वा समाजको हरेक परिवर्तन अघि एक प्रकारको अवधारणाबाट अर्को अवधारणाका बीचमा रिक्तता आउन जरुरी छ । त्यसले मात्र पूर्णतः नयाँ परिवर्तन ल्याउन सक्दछ । चिन्तन प्रणालीको व्यापक रिक्तताको अनुभव नगरेको समाजमा आएको परिवर्तनले फेरि पुरानै अवस्थातिर फर्कने बलियो संभावना रहिरहन्छ ।
उन्नाइसौँ र बीशौँ शताब्दीमा राजनीतिक रुपमा माक्र्स, वैज्ञानिक रुपमा आइन्स्टाइन र आध्यात्मिक रुपमा ओशोका अवधारणाले यी तीनै पक्षमा हरेक व्यक्तिका सोच, चिन्तन र व्यवहारलाई एक किसिमले जरैदेखि हल्लाइदिए । त्यसै हल्लाइले नै वास्तवमा तत्कालीन अवस्थामा प्रचलित तीनवटै पक्षमा परम्परागत रुपमा स्थापित भएर बसेको पुरानो अवधारणालाई प्रतिस्थापन गरी व्यापक रुपमा परिवर्तन ल्याइदियो । परिणामतः सबैमा बिजुलीको करेन्टको झट्का लागेझैँ चिन्तनमा एक प्रकारको झट्का लाग्यो । पछिल्ला दिनमा ती महापुरुषहरुका अवधारणाले ल्याएको परिणाम हामी सबैले महसुस गरिरहेकै छौँ ।

कार्लमाक्र्स र राजनीति

कार्लमाक्र्सको राजनीतिक दर्शनले पुरानो राजनीतिक अवधारणामा प्रहार गरी नवीन चिन्तनको शुरुआत गरेपछि विश्वव्यापी रुपमा शोषितपीडित र श्रमिकहरुले आफ्नो हक, अधिकार खोज्ने, राज्यको शासन प्रणालीमा परिवर्तन ल्याउने काम शुरु गरे । श्रमिकहरुलाई पनि मानिसका रुपमा स्थान दिन थालियो । मानवीय व्यवहार गर्न शुरुआत गरियो । राजनीतिक अधिकार बढाइयो । एक प्रकारले तत्कालीन अवस्थामा चलिरहेको सामाजिक, आर्थिक, राजनीतिक ढाँचामा यस अवधारणाको शुरुआतले व्यापक राजनीतिक र सामाजिक परिवर्तन ल्याइदियो । धार्मिक व्यक्तित्वहरु र सामन्तहरुको पकडमा रहेको राजनीतिलाई सर्वसाधारणमा त्यो शक्ति हस्तान्तरण हुनुपर्छ भन्ने सचेतता व्यापक फैलिन थाल्यो । परिणामतः एक जबर्जस्त परिवर्तनको लहर संसारमा सबैतिर देखापर्यो ।

आइन्स्टाइन र विज्ञान

आइन्सटाइन अघि पदार्थलाई हेर्ने वैज्ञानिकहरुको दृष्टिकोण एक प्रकारको थियो । त्यसबेलासम्म पदार्थहरु सबै जड हुन्, तिनमा चेतनतत्व हुँदैन, गतिहीन हुन्छन् भन्ने मान्यता थियो तर जब आइन्स्टाइनको प्रयोगले हरेक वस्तुमा गति र चेतना हुन्छ भन्ने देखाइ दियो त्यसपछिको विज्ञानका क्षेत्रमा जति कामहरु भए त्यसको मोड नै अर्कै ढंगले आयो । अणुअणुमा चेतना र गति हुन्छ, ठोस देखिएका वस्तुहरु त्यही गति र चेतनाका सघन रुपहुन् भन्ने उनको प्रयोगले सिद्ध गरिदियो । अहिलेसम्म उनको यो अवधारणामाथि चुनौती आएको छैन । चुनौती दिनसक्ने नयाँ अवधारणा आयो भने त्यसले फेरि यो अवधारणालाई हल्लाइदिनेछ र पुनः नयाँ अवधारणा साथ अझ उन्नतस्तरको विकास फेरि विज्ञानले प्राप्त गर्नेछ ।

ओशो र अध्यात्म

अध्यात्मका क्षेत्रमा ओशोका प्रयोगहरु त्यस्तै हुन् । ध्यानलाई नृत्य, उत्सव र सँगीतसँग गाँसेर शुष्क, निरश र अनाकर्षक बनिरहेको अध्यात्मलाई नयाँ किसिमले जीवन्त रुप प्रदान गर्ने ओशोको प्रयत्न रह्यो । त्यस प्रयत्नका कारण मानिसको अन्तरतम गहिराइमा परम्परागत रुपमा जरो गाडेर बसेका अध्यात्मका विविध पक्षलाई स्वीकार गरे पनि वा नगरे पनि भित्रभित्रै जरैदेखि हल्लाइदियो । परिणामतः ओशोपछिका अध्यात्म साधनाका क्षेत्रमा संगीत र नृत्यजस्ता मनोरञ्जक पक्ष पनि अनिवार्य अङ्ग बन्दै गए । अध्यात्मको साधना अब रुखो र निरश होइन, उत्सवमय, संगीतमय बन्न पुग्यो ।
यसरी कुनैपनि परिवर्तित नयाँ अवधारणाको प्रादुर्भावले त्यस बिषयका स्थापित सामाजिक–साँस्कृतिक चिन्तनपद्धति र अवधारणालाई नै हल्लाई एक प्रकारले झट्का दिन्छ अनि क्रमशः विस्थापित गरिदिन्छ । यस्ता प्रभावकारी नयाँ अवधारणाहरुले पुराना अवधारणालाई प्रतिस्थापित गर्दा विश्वलाई, व्यक्तिलाई, घटना विशेषलाई हेर्ने व्यक्तिको दृष्टिकोणमा पनि केही न केही अग्रगामी, विकासमूलक परिवर्तन आउँछ । पुरानाका बदलामा नयाँ दृष्टिकोण बन्दछन् । व्यक्तिको व्यवहार, चरित्र, अवधारणा सबै क्षेत्रमा व्यापक परिवर्तन देखापर्छ । यसको अन्तिम परिणामको रुपमा एकअर्काको सम्बन्धको दृष्टिकोण नै बदलिन्छ । पहिले चलिरहेको भन्दा नयाँ यथार्थ प्रकट हुन्छ । यो नयाँ यथार्थ अघिल्लोभन्दा भिन्न र नयाँ हुन्छ । नयाँ किसिमले यसले समाज र व्यक्तिलाई गतिमान् बनाइदिन्छ ।
यस्ता व्यापक परिवर्तनकारी अवधारणाहरुले कहिलेकाहीँ अल्पकालमा अत्यन्त सकारात्मक नतिजा ल्याउने र दीर्घकालमा परिणाम हेर्दा केही नकारात्मक असर पारेको पनि देखिन्छ । इतिहासलाई विश्लेषण गरेर हेर्दा द्वितीय विश्वयुद्ध अघिसम्म व्यक्तिभित्रको चारित्रिक पक्षको विकासलाई जोड दिइन्थ्यो र मानिसको सफलता र प्रभावकारितालाई त्यसैसँग गाँसेर हेरिन्थ्यो । तर जब द्वितीय विश्वयुद्ध पछि व्यक्तित्व विकास र मस्तिष्क क्षमता सम्बन्धी अवधारणाहरुले त्यसलाई प्रतिस्थापित गरिदिए व्यक्तिको प्रभावकारिता उसको प्रदर्शनकारी वाह्य व्यक्तित्वमा आधारित हुन्छ भन्ने अवधारणा स्थापित भयो । यसले व्यक्तिलाई आफ्नो व्यक्तित्व तात्कालिक रुपमा प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका पनि प्रदान गर्यो । व्यक्तिले आर्जन गर्नसक्ने उपलब्धिहरुमा यस चिन्तन प्रणालीले व्यापक रुपमा प्रभावकारिता पनि ल्यायो । तर यसको परिणामस्वरुप व्यक्ति नितान्त व्यक्तिगत, स्वार्थी र अनाचारी पनि बन्दै गयो । भौतिक उपलब्धि हासिल गरेर जीवनलाई उपलब्धिमूलक र प्रभावकारी बनाउनका लागि यो अवधारणा यद्यपि ठीक नै देखिन्छ तर व्यक्तिको आन्तरिक सचेतता विस्तार गरी सन्तुलित, सचेत र मानवीय भावनायुक्त मनिस तयार गर्नका लागि भने यो अवधारणा असफल नै भयो । यसका दुष्परिणामहरु वर्तमान विश्वमा आतंक, युद्ध, कलह, हिंसा, कुलत र भ्रष्टताका रुपमा  देखापरिरहेका छन् ।