Monday, December 21, 2015

योगः शरीर, मन र चेतनाको मिलन

यस वर्षदेखि संयुक्त राष्ट्र संघले विश्व योग दिवस मनाउने निर्णय गरेको छ । संसारभर योगका विविध आयामबारे चर्चा परिचर्चा भइरहेका छन् । शास्त्र, प्रचलन, आध्यात्मिक सबै कोणबाट चर्चा चलिरहेका छन् । संचार माध्यमहरु पनि त्यसबाट अछुतो हुन सक्ने कुरै भएन । रेडियो, टिभी देखि पत्रपत्रिकासम्ममा योगबारेका चर्चा सुन्न, हेर्न र देख्न पाइएको छ । योगको साधना गर्ने र अध्ययन गर्नेहरुका लागि यो एउटा अवसर पनि हो र गौरव पनि । 

संसारभर चाहे शरीर घटाउन होस् वा तरोताजा हुन वा तनाव व्यवस्थापन गर्न योग एउटा उपाय हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । शरीरको मोटाइ घटाउन, रोग हटाउन अनि तनाव व्यवस्थापन गर्नका लागि शरीरलाई  आकार र भाव भंगीमामा तन्काउनु, मोड्नु, बटार्नु र श्वास तान्ने र छाड्ने विभिन्न कलाको प्रयोग गर्नु नै योग हो भन्ने बुझाइ छ आम मानिसमा । संक्षेपमा भन्दा योगासन र प्राणायम नै योग का पर्याय भएका छन् । 

खास गरी भारतमा योग गुरु रामदेवले स्वास्थ्य रक्षाका लागि योग अभियानलाई तीव्र बनाएपछि संसारभर योगले पुनः चर्चा पायो । हाम्रो देशका कुनाकुनामा पनि टेलिभिजन हेरेर वा रामदेवको अभियानमा लागेका अभियन्ताहरुले चलाउने योग शिविरमा गएर योगासन र प्राणयाम सिक्नेहरु ह्वात्तै बढे । तर यहाँनेर एउटा गम्भीर प्रश्न छ के हाम्रो योग सम्बन्धी बुझाइ पूर्ण छ ? के शरीर मर्काउनाले र प्राणयामको अभ्यासले मात्र योगको पूर्णावस्था प्राप्त हुन्छ ? के योगले दिने महत् अर्थ र गरिमा त्यति मात्रै हो त ? यसबारे गम्भीर बहस हुनु जरुरी छ योग दिवसको यो घडीमा । 
........................  
आजभन्दा करिव २००० वर्ष पहिले महर्षि पतञ्जलीले भनि दिए– योगश्चित्तवृत्ति निरोध ः । (चित्तका बृत्तिहरु निरोध भएको अवस्था नै योग हो ।) गीतामा कृष्णका मुखबाट वेदव्यासले भने– योगः कर्मसुकौशलम् (कर्मको कुसलता नै योग हो ।)  आचार्यश्री पथिकका शब्दमा– योग चेतनाको विज्ञान हो । अखण्ड जागरणको अवस्था प्राप्ति नै योगको परम लक्ष्य हो ।

योगलाई विविध आयामबाट अथ्र्याउने काम भएको पाइन्छ विभिन्न समयमा । माथि उल्लिखित तीन मनिषीहरुको योगको शाब्दिक पक्ष पनि विविध किसिमको छ । किन भिन्नभिन्न ढंगले परिभाषा गरियो योगको ? जिज्ञाशा उठ्नु स्वाभाविक छ । प्रस्तुत लेखमा यसैबारे चर्चा गर्ने प्रयास हुनेछ । 

के हो योग ?

योग शारीरिक, मानसिक क्रिया मात्र होइन । यो अभ्यास र साधना मात्र पनि होइन । यो परिणाम हो ती सबै क्रियाकलापहरुको । योगको अन्तिम लक्ष्य हो– शरीर, मन र चेतनाको एकीकृत प्रयत्न मार्फत् परिपूर्ण शान्ति र आनन्दावस्था प्राप्त गर्नु । जुन अवस्थामा पुगेपछि मानिस एउटा व्यक्ति मात्र रहँदैन ऊ स्वयं विराट् अस्तित्वको महासागरमा विलय हुन्छ र परमानन्द प्राप्त गर्दछ । यसैलाई आध्यत्मिक भाषामा परमात्मा प्राप्ति भनियो । कसैले यसैलाई पितापुत्रको मिलन पनि भने । कसैले परमानन्द भनेर काम चलाए । यी सबै प्रयत्न त्यो परम अवस्थामा पुग्दा व्यक्त गरिएका काम चलाउ अभिव्यक्ति मात्र हुन् । समग्रमा अनुभूत गर्न त्यसको अनुभूति गर्नै पर्छ । अरुले व्यक्त गरेका कुरा पढेर मात्रै यसलाई बुझ्न र बुझाउन कठिन छ । त्यसैले योगीहरुले आफूले प्राप्त गरेका कुरालाई ‘त्यो’ भनेर अथ्र्याए । नाम दिन सकेनन् । नाम दिने र व्यख्या गर्ने काम शास्त्रहरुका लेखकले गरे । अनुभोक्ताले त्यसलाई व्यर्थ ठान्यो । त्यसैले योग कसैका लागि शारीरिक क्रिया भयो भने कसैका लागि प्राणको अभ्यास अनि कसैका लागि ध्यानको अवस्थामा अनुभूत हुने शुन्यावस्था । त्यसैले अनुभव व्यक्त गर्दा पनि आफू पुगेको अवस्थाको आधारमा व्यख्या गरियो । अन्तिम प्राप्तिमा पुग्नेहरु भने हाँसिरहे । मुस्कुराए । मौन भए । वास्तवमा योग भन्नु त्यही पूर्ण मौनको अवस्था हो जुन अवस्थामा व्यक्ति अनभिव्यक्त आश्चर्यको अवस्थामा उपलब्ध हुन्छ । अभिव्यक्ति गर्ने बाटो र शब्द नै उसले पाउँदैन । 

दुईओटा बाटाहरु

सत्यको खोजका लागि संसारमा दुईओटा बाटाहरु प्रचलित छन्– जीवन र जगत्को बृहत् अध्ययन, अनुभव र चिन्तनद्वारा आफूलाई उच्चतम जागृतिमा पुर्याउने र आफ्नै निजी अनुभव र अनुभूतिद्वारा आफ्नो चेतनाको विस्तार र विकास गर्दै विराटताको अनुभूति मार्फत् सत्यबोध गर्ने र आनन्दावस्थामा स्थिर रहने । पहिलो पक्ष पाश्चात्य फिलोसोफीले अंगिकार गरेको बाटो हो भने दोस्रो चाहिँ पूर्वीय योगको । फिलोसोफीमा चिन्तनको प्रधानता रहन्छ, बुद्धिको प्रधानता रहन्छ भने योगमा चाहिँ स्वयंको खोजको । आफ्नै अनुभूतिबाट सत्य पत्ता लगाउने काम हुन्छ योगमा । जबसम्म व्यक्तिले आफ्नै साधना र अनुभूति मार्फत् परम सत्यको बोध गर्दैन तबसम्म उसका तर्क, अनुभव र बुद्धिको सीमितता रहिरहन्छ भन्ने योगले मान्दछ । त्यसैले पूर्वीय उपनिषद्हरुले व्यक्ति चरम जागृति वा सत्यबोधको अवस्थामा पुगेपछि आश्चर्यको अवस्थामा पुग्छ र मौन हुन्छ भनिदिए । बृहत् तत्वसँग एकाकार भएर विलय हुने अवस्थामा पुर्याउने बाटो नै वास्तवमा योग हो । यस अर्थमा यो सत्यसम्म पुग्ने र सत्यको अनुभूतिगर्ने एउटा माध्यम हो, आत्मासाक्षत्कारको एउटा विज्ञान हो ।

त्यसो हो भने सत्यबोधको यात्रा कसरी हुन्छ त योगमा ? योगको सुरुआत हुन्छ जिज्ञाशाबाट । जब म जान्दिनँ भन्ने ठानिन्छ तब नै खोज हुन्छ । जब जान्नुपर्छ भन्ने बोध हुन्छ तब नै जान्नु पर्ने चीजको खोजी हुन्छ । खोज्नका लागि आवश्यक हुन्छ जिज्ञाशा । जिज्ञाशा उठेपछि या त आफैँले अनुसन्धान शुरु गर्नु पर्यो या त अरु कसैको निर्देशनमा खोज गर्न थाल्नु पर्यो । त्यसका लागि केही अनुशासित अभ्यास आरम्भ गर्नु पर्दछ चित्तबृत्ति सुधारका लागि । त्यसैले पहिलो खुट्किलो हो आत्मानुशासनको आरम्भ । यसको सुरुआत हुन्छ यम  र नियमबाट । यस चरणमा व्यक्ति के सही हो के गलत हो भन्ने कुरा खोज्दै, जान्दै आफैँभित्रको चेतना विकसित गर्न सुरु गर्दछ । के गर्ने, के नगर्ने, के खाने के नखाने आदि कुराहरु आफ्नै अनुभूति र अनुभवबाट छुट्याउँदै जान्छ । मानसिक रुपमा आफूलाई तयार गर्दै जान्छ । यसो गर्दा प्रथम चरणमा उसलाई आफ्नो शरीरबारे ज्ञान हुन थाल्छ । शरीरलाई कस्तो भोजन, आराम र व्यायाम दियो भने यसले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सहयोग पुर्याउँदो रहेछ भन्ने बुझ्दै जान्छ । त्यसका लागि उसले शुरु गर्नुपर्छ योगासनको अभ्यास ।

शुरुमा शरीरबारे नै आफूलाई थाहा रहेनछ भन्ने ज्ञान पाउँछ साधकले । शारीरिक शुद्धि र स्थिरताका अभ्यासहरु सुरु गर्दछ । यो योगको तेस्रो चरण हो । शरीर धर्म र गुण अनुसार भोजन, आहार र व्यामको व्यवस्थापनको कला मार्फत् ऊ योगको यात्रामा बढ्दै जान्छ । त्यतिबेला उसले गहिरोसँग शरीरको संरचना, भोजन र सोचाइले कसरी सत्यबोधको यात्रामा असर पार्दा रहेछन् भन्ने थाहा पाउन थाल्छ । 

अहिले योग केन्द्रहरुले मानिसलाई शरीर मर्काउन र श्वासको व्यायाम गर्न त सिकाएका छन् तर योगानुशासन कसरी कायम राख्ने, आहारविहार र आत्मचेतनाको विकासको यात्रा कसरी भइरहेको छ भनेर कसरी जान्ने यो कला भने कमैले प्राप्त गरेको देखिन्छ । आत्मानुभूति र आत्मनिरीक्षणको कलाबिनाको शारीरिक व्यायामले योगको यात्रा अघि बढ्न सक्तैन । त्यसका लागि फेरि आवश्यक हुन्छ प्राणशक्तिको विकास । प्राण शक्ति हाम्रो श्वाससँग मिलेर रहेको हुन्छ । त्यसैले योग साधनाको अर्को महत्वपूर्ण पक्ष हो प्राणायाम । 

शारीरिक अभ्यासद्वारा शरीर त शुद्ध भयो तर भाव र भावनामा परिष्कार भएन भने त्यसले हाम्रो चित्तवृत्तिलाई परिष्कार गर्न र निरोध गर्न सघाउ पुर्याउँदैन । मानसिक शान्तिको अवस्थातिर बढ्न सकिँदैन । मानसिक छटपटीको अनुभव साधकमा भइरहन्छ । जबसम्म प्राणशक्ति बलियो हुँदैन तबसम्म हाम्रा तनाव र छटपटी चलि नै रहन्छन् । श्वासको अवस्था र मानसिक अवस्थाको गहिरो सम्बन्ध छ । धिमा श्वासले शान्ति दिन्छ भने तीव्र श्वासले अशान्तिको संकेत गर्छ । त्यसैले मनको स्थिरताको लागि प्राणशक्ति साधनाको आविष्कार गर्यो योग विज्ञानले । 

योगको चौथो चरण हो प्राणयाम । श्वासलाई गहिरोसँग तान्ने, रोक्ने र छोड्ने अभ्यासबाट मनलाई नियन्त्रण गर्न सजिलो हुन्छ । श्वासमा ध्यान केन्द्रित गर्नासाथ मन अन्यत्र भाग्न पाउँदैन । यसले सजगतामा पनि बृद्धि गर्दै लैजान्छ । मन सकारात्मक कुरातिर केन्द्रित हुन थाल्छ, नकारात्मक सोच र चिन्तन घट्तै जान्छ र चित्तवृत्ति स्थिर हुन थाल्छ । प्राणयामको गहिरो अभ्यासबाट शारीरिक रोग र विकारहरु हट्तै जान्छन् । भावनात्मक रुपमा आफू, आफू बसेको समाज र संसारप्रति क्रमशः संवेदनशीलतामा बृद्धि हुनथाल्छ । संवेदनशील हृदयमा दया, प्रेम र करुणा बढ्दै जान्छ । यसपछि आवश्यक हुन्छ आत्मचिन्तन । 

आत्मचिन्तन र आत्मनिरीक्षणबाट जतिजति मानिस सत्यको नजिक पुग्छ त्यतित्यति आवश्यक र साश्वतलाई अँगाल्छ र क्षणिक र अनावश्यक कुरालाई त्याग्ने शक्ति आर्जन गर्छ । निरर्थक र क्षणिक रमाइलोमा उसको ध्यान जान छोड्छ । परम सत्यको नजिक भएकाले साश्वत कुरातर्फ नै ऊ केन्द्रित हुन्छ । यही अवस्थामा घटित हुन्छ प्रत्याहार । प्रत्याहार वास्तवमा त्याग्नु वा त्याग गर्नु होइन । प्रयत्नवश त्याग्नाले व्यक्तिमा पश्चातापको भावना पलाउन सक्छ तर सचेतता बढ्दै जाँदा र निरर्थकतबाोध हुँदा भने केही कुराहरु छुट्छन् । स्वतः अलग हुन्छन् । व्यर्थका कुराहरु स्वतः छुटेको अवस्था नै प्रत्याहार हो । यस अवस्थामा योग साधना गर्ने व्यक्तिमा गहिरो आत्मबोधको प्यास जागृत हुन्छ । यसले व्यक्तिलाई सत्यनिष्ठा धारण गर्न समर्थ बनाउँछ । त्यसपछि साधक उक्लन्छ धारणाको अवस्थामा ।    

आत्मनिरीक्षण र आत्मचिन्तनले व्यक्तिलाई क्रमिक रुपमा सत्यको नजिक लैजान्छ । त्यसका लागि आवश्यक हुन्छ चिन्तन, मनन र निधिध्यासन । यसबाट धारणाशक्तिको विकास हुन्छ । धैर्य बढ्दै जान्छ । सिर्जनात्मकता थपिन्छ । जीवनमा सुन्दरताको खोजी बढ्न थाल्छ । यस चरणको गहिरो अभ्यासबाट मानिस आफैँप्रति र आफूबाँचेको संसारप्रति प्रेममय बन्न थाल्छ । प्रेममय नभई करुणा प्रकट हुँदैन । करुणाले नै मानिस मानिसको श्रेणीमा चढ्न सुरु गर्दछ । त्यसपछि आवश्यक हुन्छ ध्यान । 

ध्यानले मन, शरीर र चेतनालाई एकै ठाउँमा ल्याएर मानसिक र शरीरिक शान्ति र आनन्द प्रदान गर्ने भएकाले यसले चेतना विस्तारमा पनि सहयोग पुर्याउँछ । चिन्तन, मनन र बौद्धिक अभ्यसले मानिसलाई सिर्जनात्मक र बौद्धिक त बनाउँछ साथसाथै अहंकारको अग्नि पनि प्रज्वलित हुँदै जान्छ । अहंकारले व्यक्तिको चेतनामा तगारो हालिदिन्छ । आध्यात्मिक यात्रा अवरुद्ध हुन्छ । ध्यानको गहिरो अभ्यासबाट स्वयं आफू, आफू बाँचेको संसारप्रति अझ बढी होसपूर्ण, सचेत र संवेदनशील हुन मद्दत मिल्छ । भनाइ र गराइमा एकरुपता आउन थाल्छ । एकाग्रता र सकारात्मक चित्तका कारण व्यक्तिको सिर्जनात्मकता उजागर हुन थाल्छ । संगीत, नृत्य, गीत, कविता र साहित्यमा रुचि गहिरिन थाल्छ । आफू जन्मनु, बाँच्नु र संसारमा आउनुको अर्थ खोज्न थाल्छ हृदयले । सार्थक र निरर्थक कार्यको बोध गहिरो हुन थाल्छ । यस्तो अवस्थाको साधक बल्ल ध्यानस्थ हुन सक्दछ । ध्यानको गहन अवस्थामा व्यक्ति सही र गलतबाट टाढा, राग र विरागबाट पर वित्तरागको अवस्थातिर लाग्दछ । त्यसपछि समाधिमा लिन हुन्छ साधनारत व्यक्ति । 

समाधिको अवस्थामा व्यक्ति समष्टिमा विलय हुन्छ । जीवन र मृत्यको बोध गर्दछ । सार्थक र निरर्थक कुराको आत्मबोधबाट चरम जागृतिको अवस्थामा प्रवेश गर्दछ । आफू जन्मनुको अर्थ थाहा पाउँछ र आफूले जीवनमा के गर्नु पर्ने रहेछ त्यो पनि ठम्याउँछ । अब उसमा न भय रहन्छ न असुरक्षा । यही अवस्था हो अखण्ड जागरणको अवस्था । यस अवस्थामा पुगेपछि बल्ल योग घटित हुन्छ । कर्ममा निष्काम भाव आउन थाल्छ, अकर्ता भावमा हुने कर्म निष्काम हुन्छ । चित्तका वृत्तिबाट निरोध भइसकेकाले आकांक्षले यसबेला व्यक्तिलाई निर्देशित गर्न सक्नैन । त्यतिबेला कर्ता लोप हुन्छ, केवल कर्म मात्र रहन्छ स्वचालित रुपमा । यस्तो अवस्थामा नै कर्मको कुसलता प्राप्त हुन्छ ।

वास्तवमा योग गर्ने र गरिने बिषय होइन यो त घटित हुने बिषय हो । क्रमिक साधना र अभ्यासद्वारा आफूलाई आत्म निरीक्षण र योगाभ्यासका विभिन्न विधिहरुबाट आफूलाई खार्दै लैजाँदा प्राप्त हुने चरम जागरणको अवस्था हो योग । शरीर शुद्धि र रोग मुक्तिका लागि गरिने प्रयत्नहरु योगको पूर्वाधार हुन् यसले हामीलाई योगावस्थासम्म पुग्न सहयोग अवश्य गर्दछन् तर तीभन्दा निकै धेरै कुराको अभ्यासपछि बल्ल घटित हुनसक्छ योगको अवस्था । 

Saturday, December 19, 2015

चिनियाँ चियाः सत्कारदेखि सत्यसम्म

चिया भन्नासाथ हाम्रो दिमागमा आउँछ, खास किसिमको वासना भएको कालो वा खैरो रंगको दानादार वा धुलो वस्तु जसलाई दूध, चिनी र पानीको घोलमा मिसाएर उमाल्ने र कप वा गिलासमा हालेर पिउने गरिन्छ । पाहुनालाई तत्काल सत्कार गर्न होओस् वा बिहानबेलुका तरोताजा हुन प्रायजसो घर, अफिस र कार्यालयमा चिया हाम्रो जीवनको एक हिस्सा नै बनिसकिेको छ । कोही आफन्तकहाँ जानुभयो वा कुनै कार्यालयमा भेटघाटका लागि जानुभयो भने स्वागत र सत्कारका लागि प्रयोग गरिने बहुप्रचलित पेयमा पर्दछ चिया । तर हामीले खाने गरेको चिया के मानव स्वास्थ्यका लागि हितकर छ ? के यसमा शरीरलाई चाहिने गुणकारी तत्वहरु हुन्छन् ? यसको प्रयोगबाट हुने फाइदा हामीले लिन सकेका छौँ ? यस्ता प्रश्नमा गहिरिएर हेर्यो भने चाहिँ शायद सकारात्मक जवाफ पाउन गाह्रै होला ।
यसै वर्षको अक्टोवर ८ देखि २८ सम्म चीन सरकारद्वारा फुजियान प्रान्तको झाङझाउ विज्ञान तथा प्रविधि कलेजमा आयोजित कार्यक्रममा नेपालबाट तीन जनाको टोली सहभागी थियो त्यसमा एक जना सदस्य थिएँ म पनि । अन्य दुई जना थिए चिया उद्यममा लागेका साथीहरु । भारतीय नाकाबन्दीले गर्दा चाइना साउदर्नले नेपालमा हुने उडान रद्द गरेपछि हवाइ टिकटको कठिनाइले हामी निर्धारितभन्दा तीन दिन ढिलो कार्याक्रममा सहभागी हुन सक्यौँ । अक्टोवर १० का दिन मध्यरातमा काठमाडौँ, ढाका, हङकङ हुँदै अक्टोवर ११ का दिन बिहन करिब ११ बजे हामी चिनको सियामेन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियौँ । आयोजक संस्थाका स्वयम्सेवकहरु मिस्टर झाङ र एमी हामीलाई लिन सियामेन अन्तर्राष्ट्रि विमानस्थलमा आइसकेका थिए । कार्यक्रमको नाम र नेपालको राष्ट्रिय झण्डा अंकित प्ले कार्ड बोकेर उनीहरु हामीलाई पर्खिरहेका थिए । विमानस्थलको बाहिरपट्टी उभिएर फोटो खिचेपछि हामी सानो कारमा बस्यौँ कार्यक्रम स्थल जानका लागि । करिब दुई घण्टाको सडकयात्रापछि हामी झाङझाउ सिटी अन्तर्गत पर्ने सानो तर सुन्दर काउन्टी याङ्पुमा रहेको झाङझाउ विज्ञान तथा प्रविधि कलेज पुग्यौँ । वरिपरि होचो कदका हरिया पहाडले घेरिएको त्यो काउन्टी देख्ता काठमाडौँ उपत्यकामै पुगेझैँ लाग्यो । ससाना ताल, व्यवस्थित र योजनावद्ध संरचना अनि समयबद्ध र अनुशासित विद्यार्थीका माझमा रहेर छिमेकी देशका सहभागीलाई स्वागत गरे आयोजकहरुले ।
एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ११ देशका २८ जना प्रतिनिधिहरु सहभागी त्यस कार्यक्रममा भारतीय नाकाबन्दीको कारण निर्धारित समयभन्दा तीन दिन ढिलो पुगेका थियोँ हामी तीन जना । हामीभन्दा अघि केही देशका प्रतिनिधि सहभागीहरु आइसकेका थिए भने सानो युरोपियन देश जर्जियाका सहभागीहरु भने हामी गएको भोलिपल्ट मात्र आइपुगेका थिए । चिया खेती, प्रशोधन प्रविधि र व्यापारिकरण बारे करिब तीनहप्ताको अनुभव आदानप्रदान, स्थलगत अवलोकन र प्रस्तुतिकरणबाट नेपालले चियामा गर्न सक्ने काम र सम्भावनाका बारेमा निकै कुरा जान्ने अवसर मिलेको थियो ।
कार्यक्रमको मध्यतिर आइपुग्दा मसँगै सहभागी भएका सहभागी साथी हेमबहादुर लामाको प्रतिकृया थियो– “हामीले खाने चिया त चिनी, पानी र दूधको रंगीन घोल पो रहेछ । हामीले न चिया बुझेका रहेछौँ, न खान जानेका !”
चिया रोप्ने, हुर्काउने, प्रशोधन गर्ने र खाने सबै तरिकाको सिकाइपछि लामाजीले निकालेको यो निष्कर्ष शायद हामी सबैले खाने गरेको चिया र चिनीयाँहरुले खाने चियाको तुलना गरेर बनाइएको निष्कर्ष थियो ।
ताइवानमा स्थापित भएर प्रसिद्धि कमाइसकेपछि अमेरिका हुँदै चिनमा लगानी गर्दै आएको तेन फु टि समूहद्वारा चीन सरकारको सहयोगमा सञ्चालित उक्त कलेजले चिनीयाँ चिया प्रविधि, चिनीयाँ चिया संस्कृतिलाई विश्वव्यापी बनाएर विश्वमा चिनीयाँ चियालाई परिचित गराउने लक्ष्य लिएको रहेछ । चीनियाँ चिया मात्र होइन त्यसको इतिहास र संस्कृति समेत बुझ्ने एउटा सुवर्ण अवसर थियो त्यो कार्यक्रम ।

सरकारको प्राथमिकताः चिनियाँ चियाको विश्वव्यापीकरण    

एक्काइसौँ शताब्दी, चिनीयाँ जागृतिको युग र चिनीयाँ चिया विश्वव्यापीकरणको समय । Tea 21st century is the era for the revival of China and also the time for the globalization of Chinese tea.

आयोजक संस्थाको प्रवेशद्वारामा मार्वलमा कुँदेर टाँगिएको माथि उल्लिखित वाक्यले नै चिनले चियालाई कस्तो प्राथमिकतामा राखेको छ भन्ने प्रस्टयाउँथ्यो । सि जिन पिङ चीनका राष्ट्रपति भएपछि उनले चियालाई बिशेष महत्वका साथ संसारमा फैलाउने प्रयासमा लागिपरेका रहेछन् । प्राचीनकालमा चिनीयाँ चिया सिल्क रोडमार्फत् एक प्रमुख व्यापारिक वस्तुका रुपमा संसारभर छाएको अनुभवलाई एक्काइसौँ शताव्दीमा पुनर्जागृत गर्नका लागि कस्सिएर लागेका छन् हालका राष्ट्रपति सि । आर्थिक सम्बृद्धिका लागि उनको नारा छ– वन बेल्ट, वन रोड । प्राचीन सिल्क रोडले चिनीयाँ चियाको प्रसार भएको र त्यसले संसारमा शान्ति र भ्रातृत्वको प्रसार गरेको थियो भन्ने चिनीयाँहरुको निक्र्योल छ । एक्काइसौँ शताव्दीमा त्यसैलाई नयाँ अवधारणासाथ पुनः जागृत गर्न सकिन्छ भन्ने चिनीयाँहरुको विश्वासलाई राष्ट्रपति सिले संसारमा फैलाउने प्रयास गरिहेका छन् । 

गौरवमय उपहार 


चिनमा बिक्री हुने उपहारजन्य वस्तुहरुमा सर्वाधिक महँगो वस्तु शायद चिया नै हो । फुजियान र युन्नान प्रान्त उच्च गुणस्तरको चिनीयाँ चिया उत्पादक प्रान्त मानिँदा रहेछन् जहाँ आकर्षक प्याकमा १०० ग्राम हरियो वा कालो रंगको चिया चिनीयाँ युआन ९००० सम्ममा बिक्री हुँदो रहेछ । उपहारका लागि छुट्टै आकर्षक प्याकिङ गरिने र ती उपहारहरु विवाहोत्सवमा दुलहादुलहीहरुलाई, विदेशी र स्वदेशी पाहुनालाई दिनु चिनीयाँ चिया संस्कृतिको अभिन्न अङ्ग नै रहेछ । कतिपय चिनीयाँ जातिहरुमा त चिया विवाहोत्सव नै आयोजना गरिने र त्यही उत्सवमा केटाकेटीहरुलाई विवाह गरिदिने चलन समेत रहेछ ।


हामी कार्यक्रममा भाग लिइरहँदा राष्ट्रपति सि बेलायतको भ्रमणमा थिए । उनले बेलायती प्रधानमन्त्रीलाई कोसेलीस्वरुप चिनीयाँ चिया उपहार दिएका थिए । यसैबाट प्रष्ट हुन्छ चियालाई चिनियाँहरु कत्तिको महत्व दिन्छन् र चिनीयाँ संस्कृतिमा चियाको कस्तो स्थान छ ।

इतिहास


चिनीयाँ चियाको इतिहास करिब ५००० वर्ष पुरानो छ । ईशापूर्व २७३७, जुन बेला ताङ राजवंशका महाराज सानयोंग चीनमा शासन गर्थे ।  उनी अन्य कुराका अतिरिक्त सफा र उमालेको तातो पानी पिउने गर्दथे । एक दिन उनी घुम्दै एउटा पहाडको फेदीमा बास बस्न पुगे । बिहान उनका सेवकले पानी उमाल्न लाग्दा रुखबाट झरेको पात उडेर पानीमा परेछ । पानी उमालेर सेवकले महाराजलाई टक्र्याउन खोज्दा पानीमा एउटा पात परेको र पानीको रंग पनि केही परिवर्तन भएको पाए । पानी टक्र्याउन आनाकानी गरिहेका सेवकलाई महाराजले सोधे– “के भयो किन पानी नल्याएको ?”

सेवकले उत्तर दियो– “पानी उमाल्दा कुनै रुखको पात पानीमा परेछ, यसको रंग पनि केही परिवर्तन भएको छ, त्यसैले न टक्र्याएको ।”
सेवकको कुरा सुनेपछि महाराज त्यो पातका बारेमा जिज्ञासु भए । पानी चाखेर हेरे । स्वाद अलि फरक थियो तर तरोताजा बनाउने खालको । त्यसपछि महाराजले सेवकलाई त्यो विरुवा खोज्न र पात पत्ता लगाउन अह्राए । विरुवा पत्ता लागेपछि त्यसको प्रयोग बढ्दै गयो ।
कन्फ्युसियस, बुद्ध र लाओत्सुका अनुयायीहरुले चियालाई औषधीय वनस्पती र स्फुर्तिदायक पेयको रुपमा प्रयोग गर्न थालेपछि विस्तारै त्यसले आध्यात्मिक पक्ष पनि उजागर गर्दै जान थाल्यो । झेन गुरुहरुले चियालाई ध्यानको लागि प्रयोग गरे । परिणामतः चिया पिउनु शरीरका लागि मात्र होइन, उत्सव, ध्यान र आध्यत्मिक साधनाको एक अंग पनि बन्दै गयो । चिया प्रयोगको कला सिकाउने अधिकांश व्यक्तिहरु ध्यान साधनाका गुरुहरु पनि भएकाले चिनीयाँ चिया आध्यात्मिक साधनाको एक अभिन्न अंग पनि बन्यो । त्यसैले चिनीयाँहरुका लागि चिया पिउने पदार्थ मात्र होइन यो संस्कार, संस्कृति र शान्ति प्रबद्र्धक पनि हो भन्ने मान्यता स्थापित भएको छ ।
चिया चिनीयाँहरुका लागि सात आवश्यक वस्तु (दाउरा, चामल, तेल, नून, सोयासस, भिनेगर र चिया) भित्र पर्दछ ।  यसैबाट प्रस्ट हुन्छ उनीहरु चियालाई कति महत्व दिन्छन् ।
सोङ राजवंश कालमा चिनीयाँ चियाले विश्वभर प्रसिद्धि पायो । त्यतिबेला चिनभर २४२ चिया बगान रहेको र ती बगानबाट उत्पादित चिया दक्षिणपूर्व एशिया र अरबी मुलुकहरुमा निर्यात गर्ने गरिन्थ्यो । ताजा चिया टिपेर प्रशोधन गरी च्यापेर केक आकारमा ढाल्ने र त्यसको माथिल्लो भागमा ङ«ागनको चित्र अंकित गर्ने गर्न थालियो । जसलाई ड्रागन टि केक नाम दिइयो ।
आधुनिक युगमा चिनीयाँ चियालाई व्यवस्थित रुप दिने काम भने लु यु ले गरेको देखिन्छ । सन् ७३३ मा हुवेई प्रान्तमा जन्मेका लुले उनका गुरु झाओ फुजीसँग छ वर्ष साधना गर्दा चिया तयार पार्ने र बिहानबिहान गुरुलाई चिया टक्र्याउने काम गरे । यसबाट उनले चियाको औषधीय गुण र विभिन्न शारीरक, आध्यात्मिक र मानसिक फाइदाबारे पनि जान्ने मौका पाए । त्यही अनुभवलाई लिपीबद्ध गरेर उनले ‘क्लासिक अफ टी’ नामक पुस्तक लेखे । त्यसपछि चिनीयाँ चियाले व्यवस्थित विकास गर्ने अवसर पायो ।  यही कारणले होला लु युलाई चिनीयाँहरु अत्यन्तै आदरसाथ सम्झने गर्दछन् र उनलाई ग्रान्ड टी मास्टरको रुपमा सम्मान गरिन्छ ।

चिनियाँ चिया संस्कृति

चिनले चियालाई हरियो, कालो, पहेँलो, सेतो, उलोङ र पुअ(र) गरी छ वर्गमा वर्गिकरण गरेको छ । यसमा मुख्यतः तयार पार्ने तरिकालाई ध्यानमा राखिएको छ । रंगका आधारमा हेर्ने हो भने हरियो, कालो, सेतो र पहेँलो गरी चार वर्गमा विभाजन गर्न सकिन्छ चिनीयाँ चियालाई । चियाको प्रकार अनुसार तयार गर्ने, खाने र टक्र्याउने विधि पनि फरकफरक छन् । त्यसका लागि चिया दिने व्यक्तिको पहिरन, भावना, बसाइको तरिक, हाउभाउ आदि बारे प्रशिक्षित गर्ने कामको थालनी पनि गरिएको छ, जसले प्राचीन चिनीयाँ चिया संस्कृतिलाई जीवन्त राख्न ठूलो योगदान गरेको छ ।

खास किसिमका भाँडाको प्रयोग

झ्वाट्ट हेर्दा केटाकेटीले खेल्ने भाँडाकुटीजस्ता लाग्छन् चिनीयाँ चिया तयार पार्ने र खाने भाँडाहरु । हामीले चिया खान प्रयोग गर्ने साइजको कपमा चिया तयार पार्ने र तातो पानी हालेर पटकपटक छान्दै अर्को भाँडोमा खन्याउँदै ससाना एक घुट्के कपमा चिया टक्र्याउने गरिँदो रहेछ ।
मैले सुरुमा चियाका भाँडाहरु देख्ता सोचेको थिएँ– यी बच्चहरुले खेल्ने भाँडाकुटीहरु किन राखिएका होलान् यति सजाएर ! पछि थाहा भयो तिनै ससाना भाँडाहरु नै चिया तयार पार्न र खानका लागि लागि प्रयोग गरिने भाँडाहरु रहेछन् । खास रंग र गुणस्तरको चियाका लागि फरकफरक खालका भाँडाहरुको प्रयोग हुँदो रहेछ । चियाको रंग र प्रकृति अनुसार खास किसिमका भाँडाहरु प्रयोग गरिने र चिया दिने ट्रे र बसेर खाने टेबुल पनि खास प्रकारको हुनुपर्ने चिनीयाँ चलन रहेछ ।
हरियो चियाको लागि सेतो वा चम्किलो रंगका चिनीयाँ माटोका ससाना भाँडाहरु प्रयोगमा ल्याइँदो रहेछ भने कालो रंगको चियाको लागि माटोको जस्तो देखिने गाढा रंगको भाँडा प्रयोगमा ल्यार्इँदो रहेछ । हरियो र कालो चिया खानका लागि र तयार पार्नका लागि ससाना चिनीयाँ माटोका कपहरु प्रयोग गरिन्छ भने वासनादार चियाको लागि अलि ठूलो र ढक्कनयुक्त कप वा सिसाको गिलास प्रयोग गरिँदो रहेछ । 

आकार, रंग, स्वाद र वासना  

चियामा चिनी र अन्य पदार्थ नमिसाइकन सकेसम्म सग्लो पात नै प्रयोग गर्ने चलन छ चिनमा । प्रशोधन गर्दा पनि चियाको पात नटुक्रियोस् भनेर ध्यान पुर्याइएको हुन्छ भने खाँदा पनि त्यही कुरा विचार गरिन्छ । धुलो बनाइएको वा झुरिएर ढुटिएको पत्ती प्रयोग गर्न त्यति रुचाउँदैनन् चिनीयाँहरु ।
“चियाको गुणस्तर विचार गर्दा तीन मुख्य कुराहरु– आकार, रंग, स्वाद र वासनामा ध्यान दिनुपर्छ । मानव शरीरका लागि उपयोगी हुने खास औषधीय गुण र ताजापनको फाइदा लिनु छ भने चियालाई सकेसम्म सग्लो, ताजापन जोगाएर र अन्य वस्तु वा पदार्थसँग नमिसाइकन र सकेसम्म हरियो र सग्लो पत्ती नै प्रयोग गर्नु बेश हुन्छ” भन्छन् करिब १५ वर्षदेखि चियाको गुणस्तर पहिचान र जाँच गर्दै आएका प्राध्यापक वाङ तोङ्घे । चाहे सेतो, हरियो वा कालो वा वासनदार चिया सबैमा यी गुण हुनुपर्छ भन्ने मान्यता छ चिनीयाँहरुको । त्यसैले चिया तयार पार्ने विधि पनि फरक छ उनीहरुको ।
चिया तयार पार्दा पहिले पानी उमाल्ने र त्यसपछि भाँडामा चिया हालेर माथिबाट तातोपानी खन्याउने र निश्चित समयसम्म पानीमा डुबाएर छोप्ने, त्यसपछि छानेर अर्को भाँडोमा राख्ने अनि खन्याउँदै ससाना कपमा स्वाद लिँदै चुस्की लिने । यसरी तयार पर्दा हरियो पत्ती चिया छ भने एक भाग चियापत्तीमा ५० भाग उम्लेको पानी खन्याएर १ देखि १ मिनेट पन्ध्र सेकेण्डसम्म छोपिराख्ने । त्यसपछि खन्याएर खाने गरिन्छ भने कालो वा अन्य चिया छ भने ८० देखि ९० डिग्री तापमानको उम्लेको पानीमा एक भाग चियापत्तीमा ३५ भाग पानी हालेर ६० देखि ८५ सेकेन्डसम्म भाँडोमा राखेर छोप्ने र त्यसपछि छानेर अर्को भाँडोमा खन्याएर क्रमशः ससाना कपमा हालेर पिउने गरिन्छ ।
चिया तयार पार्न सुरु गर्नुअघि नै वासना लिएर आफूलाई मन पर्छपर्दैन सुँघ्ने र तयार पारिसकेपछि फेरि वासना लिने र तयार पारेको चियाको वासना ठीक छ छैन भनेर निश्चित गर्ने गरिन्छ ।
त्यसपछि आउँछ स्वाद । चिनीयाँहरु तिक्खरभन्दा अलि नरम स्वाद मन पराउँछन् । धेरै तीतो, धेरै टर्रो वा स्वदरहित तीनै खालको स्वाद मन पराउँदैनन् उनीहरु । हरियो चिया छ भने तातोपानीमा तीन मिनेट तीस सेकेन्ड भिजाएर चाख्दा केही तीतो तर मुखभरि फैलाएर लिइसकेपछि गुलियो लाग्नु पर्छ, ताजा फूल वा फलफूलजस्तो वासना हुनुपर्छ र रंग चाहिँ हल्का हरियो हुनुपर्छ । कालो वा गाढा रंगको चियामा टर्रोपन कम अनि वासनादार हुनुपर्छ। हेर्दा हल्का खैरो वा पहेँले रंग हुनुपर्छ । पुअर चिया छ भने गाढा कालो रंग हुनुपर्छ । सेतो चियाको हकमा भने वासनाको ताजापन र स्वाद महत्वपूर्ण हुन्छ भने उलोङ चियामा रंग र वासना महत्वपूर्ण मानिन्छ ।
चिया खाइसकेपछिको पत्ती बाहिर राखेर सुँघ्दा ताजा पत्तीझैँ वासनादार हुनु आवश्यक हुन्छ । हाम्रो चियामा चिनीले सबैलाई गुलियो बनाइ दिने र कुम्याएर रंग कालो बनाएको हुनाले ताजापनको कुनै खास महत्व हुँदैन । खाँदाको स्वादमा भने केही फरक हुनसक्छ । तर चिनीयाँहरु भने यसलाई पनि महत्व दिन्छन् ।  गुणस्तर पहिचानका मापदण्डमा यी चारवटै गुण समावेश छन् चिनीयाँ चियामा ।

चिया दिने तरिका 

चिनीयाँहरु आफूभन्दा अग्रजहरुसँग बोल्दा होस् वा कुनै वस्तु वा सेवा प्रदान गर्दा होओस् वा कुनै कुरा ध्यान दिएर सुन्नुपर्दा, शरीरको आधा भाग झुकाएर निहुरिने र सम्मान व्यक्त गर्ने गर्दा रहेछन् । चिया तयार गरिसकेपछि उठेर शरीर आधा झुकाएर सम्मानभाव प्रदर्शन गर्नु र सजगतापूर्वक हँसिलो मुद्रामा विनम्रतापूर्वक चिया टक्र्याउर्नु उनीहरुको चिया संस्कृतिभित्रै पर्दो रहेछ ।

चिया हाम्रो लागि एउटा पेय र सत्कारको वस्तु मात्रै हो तर चिनियाँहरुका लागि भने चिया टक्र्याउँदा तीन कुरामा ध्यान दिनु आवश्यक छ– पोजिसन, पोस्चर र एटिच्युड । अर्कालाई चिया दिन पाउनु सत्य र सुन्दरता प्राप्त गर्ने बाटो पनि हो । त्यसैले चिनियाँहरु चिया राखिसकेपछि हामीकहाँजस्तो छोडेर अन्यत्र लाग्दैनन् । शान्त भावमा खास आसनमा बसेर पाहुनाको हाउभाउ नियालेर बसिरहन्छन् । आफू पनि चियाको आन्द लिन्छन् र अरुले लिएको आनन्दको अनुभूति पनि गर्छन् ।

करिब ३५ वर्षदेखि चिनीयाँ चिया संस्कृतिबारे प्राध्यपन गरिहेकी प्रा. काइ रोङझाङ भन्छिन्— “खास मानसिक, शारीरिक र भावनात्मक तयारीपछि खास किसिमको आसनमा शान्तभावमा चिया तयार पार्ने गर्नु र विनम्रतापूर्वक टक्र्याउनु चिनीयाँ संस्कृतिको एक अभिन्न परम्परा हो । यसो गर्दा आफूभित्र पनि शान्ति र आनन्दको अनुभव हुदै जान्छ भने चिया खानका लागि अगाडि बसेको मानिस पनि बनाउनेको अनुहारमा छाएको शान्ति र मुस्कानबाट आनन्द प्राप्त गर्दछ । यसबाट दुवै पक्षमा भावनात्मक रुपमा सेवाको भाव बढ्ने र अनुहारमा शान्ति र सुन्दरता प्रकट हुन्छ । त्यसैले टि मास्टर हुनु भनेको होटलमा चिया पस्कने काममा लाग्नु मात्र होइन, आफूभित्रको शान्ति र सुन्दरतामा निखार ल्याउनु पनि हो । यसको अभावमा योग्य टि मास्टर हुन सकिँदैन ।”
चिया तयार पार्ने र खाने दुवैथरि मानिस शान्त भावमा आमने सामने बसेर चियाको नाम, गुण र प्रकृति तथा त्यसका फाइदाका बारेमा बताउँदै तयार पार्ने र खाने गरिँदो रहेछ । यसो गर्दा चिया दिने र खाने दुवै मानिसमा शान्ति, भावनात्मक सामिप्य र भ्रातृत्वको विकास हुने र आतिथ्य भाव प्रकट हुने विश्वास गर्छन् चिनीयाँहरु ।
चिया खाने र ख्वाउने दुवै पक्ष एकै टेबुलमा आमनेसामने बसेर चियाको वासना, स्वाद र संवेदनामा तल्लीन हुँदा दुवैपक्षमा मानसिक शान्ति प्राप्त हुन्छ भन्ने उनीहरुको अनुभव रहेछ । त्यसैले झेन परम्परामा चिया पिउनु तरोताजा हुनु वा सत्कार गर्नु मात्र होइन यो एक किसिमको ध्यान पनि हो । जसको प्रयोगबाट मानिसभित्र आत्मिक शान्ति र सचेततामा क्रमश बृद्धि हुन्छ र ऊभित्र शान्ति प्रकट हुन्छ ।



Thursday, September 10, 2015

सहज स्वीकृति, तनावबाट उन्मुक्ति

गत महिना भुकम्पपछिको तनाव कसरी कम गर्ने भन्ने बारेमा मनोपरामर्श कार्यक्रम चलाउँदै गर्दा एक जना सहभागीले गरेको प्रश्नले मेरो मनमस्तिष्क हल्लाइदियो । उनको प्रश्न मेरो मानसपटलमा अझै घुमिरहेको छ । घरिघरि त्यसले झस्काइरहन्छ मलाई ।


यति भनेपछि तपाईंलाई जिज्ञाशा भयो होला के थियो त ती सहभागीको प्रश्न ? किन त्यसरी झक्झक्याइरह्यो एक महिना बितिसक्ता पनि ? प्रश्न निकै असामान्य हुनुपर्छ । तर यथार्थ त्यस्तो होइन । प्रश्न अति नै सामान्य र अबोध किसिमको थियो । सोध्ने मानिस पनि कुनै बौद्धिक मानिस थिएनन् । उनी थिए साधारण किसान । निकैबेर मेरो कुरा सुनेपछि उनको मनमा उठेको जिज्ञाशा थियो त्यो । 

उनले मलाई सोधेका थिए– “भुकम्प गयो । घर ढल्यो । आफन्त मरे । सम्पत्ती सकियो । घटना त सकियो तर मन भने अझै हल्लिाराको छ । घर हल्लिनुभन्दा मनि मन हल्लिनु चाहिँ सारो रछ । कसरी मन बुझाउने त्यो चै बताइ दिनुपरो ।”
यति थाहा पाएपछि तपाईंलाई फेरि जिज्ञाशा लाग्नसक्छ– तनाव र यो प्रश्नको के सम्बन्ध ? आउनुहोस् यसबारे अलि विस्तारमा चर्चा गरौँ ।
...........
हाम्रो दैनिक जीवनमा अनेक घटनाहरु घट्छन् । कुनै घटना हामीले सोचे अनुरुप, चाहे अनुरुपका घट्छन् कुनै नसोचेका नचाहेका घटना घट्छन् । आफूले चाहेकोजस्तो घटना हुँदा हामी खुसी हुन्छौँ, नचाहेको घटना हुँदा दुःखी हुन्छौँ, हामीलाई तनाव हुन्छ । घटना बाहिर घट्छ तर त्यसको असर देखिन्छ हाम्रो मनमा । मन विथोलिएपछि हाम्रो अनुहार, काम गराइ, बोलीबचन सबैमा परिवर्तन आउँछ । मानिसहरु भन्न थाल्छन्– “यो मानिस त यस्तो थिएन, आजभोलि के भएको छ कुन्नि बेग्लै भएको छ, कुनै टेन्सन होला बिचरालाई । नत्र यस्तो होइन यो मान्छे ।” 

सबै घटनाले सबैलाई समान असर पार्दैन । घटनाप्रतिको भावनात्मक तादात्म्य जति गहिरो हुन्छ त्यतिकै गहिरो हुन्छ, त्यसको असर पनि । वर्षभरि मिहिनेत गरेर पढेको विद्यार्थी राम्रो श्रेणीमा उत्तीर्ण हुँदा जति खुशी हुन्छ उसको परिवारका अरु सदस्यलाई उसलाई जति उत्तेजना हुँदैन, स्वाभाविक कुरा लाग्छ । सुखद लाग्ने घटना हुँदा हामीलाई खुसी लाग्छ अनि दुःखद लाग्ने घटना हुँदा तनाव हुन्छ । के घटनाले नै ल्याउने हो तनाव ? 
कसैलाई सन्तान आफूले भनेजस्तो नभएर तनाव छ, कसैलाई मायाप्रीति टुटेर तनाव छ, कसैलाई पैसा कमाउने धुनमा लाग्दा परिवार टाढा भएर तनाव छ, कसैलाई पुस्तापुस्तबीचको सोचाइ र व्यवहार नमिलेकाले तनाव छ, कसैलाई कमाइ घट्तै जाँदा हुने अभावबोधले तनाव छ । कारण थरिथरि छन्, तर परिणाम भने एउटै छ– तनाव ।
..............
चाहे विकसित समाजमा होस् वा अविकसित सबैतिरका ठूलो संख्याका मानिसमा एक न एक तनावले घर गरिरहेकै छ । उन्नत र विकसित भनिएको समाजमा त मानिसका आन्तरिक समस्या झन्झन् बढेका छन् । पारिवारिक विघटन, सामाजिकताको अभाव, एक्लोपन आदि पनि बढेका छन् । धन कमाउने, प्रसिद्ध बन्ने, ख्याति र प्रसिद्धि कमाउने आकांक्षा पनि बढेको छ अवसरका कारणले । 

हालैका अध्ययनले देखाएको छ, अमेरिकामा बस्ने करिब ६० प्रतिशत मानिसहरुलाई कुनै न कुनै किसिमको तनाव र डिप्रेसनको समस्या छ, युरोपमा यो संख्या ४५ प्रतिशतको हाराहारीमा छ, एशियाका देशहरुमा ३५–४० प्रतिशत छ । तनाव बढ्दै जाँदा आउने निराशा र छटपटीका कारण आत्महत्या गर्नेको संख्या र अपराध कर्म पनि विकसित भनिएकै समाजमा बढी छ । आखिर किन यस्तो डरलाग्दो अवस्था आएको छ त ? यसलाई कसरी घटाउन सकिन्छ ? विश्वव्यापी रुपमा महामारीको रुप लिँदै गएको यही तनाव, यसका कारण र व्यवस्थापनको कलाबारे यस आलेखमा छोटकरीमा चर्चा गरिनेछ । चर्चा सुरु गरौँ एउटा कथाबाट ।
घोडा पाल्ने बूढा
चीनको एउटा गाउ“मा एक जना बूढा किसान बस्थे । उनले एउटा घोडा पालेका थिए । घोडा निकै सुन्दर र फुर्तिलो थियो । उनलाई कतै जानु पर्यो भने त्यही घोडा चढेर जान्थे । गाउँलेहरु उनको घोडा देखेर मनमनै भन्थे– ‘यी बूढाको घोडा निकै राम्रो छ ।’ 

बूढाको घोडाको प्रसंशा एक कान दुई कान गर्दै दरबारसम्म पुग्यो । राजा घोडाका सौकिन थिए । उनले बूढाको घोडा किन्न आफ्ना दूतहरु पठाए । दूतहरुले सामान्यभन्दा निकै चर्को मूल्यमा घोडा किन्ने प्रस्ताव राखे । राजाका मानिसहरु घोडा किन्न आएका छन् रे भन्ने सुनेर गाउँलेहरु पनि बूढाकहाँ भेला भए । राजाका मानिसले निकै बढी मूल्यमा घोडा किन्ने प्रस्ताव राखे । तर बूढाले घोडा बेचेनन् । राजाका मानिसहरु रित्तोहात दरवार फर्के । 

‘यति धेरै मूल्य पाएको बेला घोडा बेच्नुपथ्र्यो, नबेचेर तिमीले राम्रो काम गरेनौ ।’ गाउँलेहरुले बूढालाई भने– ‘भोलि घोडा म¥यो वा हरायो भने यत्रो पैसा त्यसै गुम्ने भयो । 

‘राम्रो वा नराम्रो के भयो थाहा छैन तर तथ्य (घटना) यही हो मैले घोडा बेचिन“’ —बूढाले भने ।

त्यसको केही दिनपछि घोडा हरायो । घोडा हराएकोमा सहानुभूति व्यक्त गर्न गाउ“लेहरु फेरि बूढाकहाँ भेला भए । राजाले घोडा किन्न पठाएको कुरा दोहो¥याउ“दै उनीहरुले भने– ‘घोडा नबेचेर ठूलो गल्ती भयो हेर घोडा हरायो, ज्यादै नराम्रो भयो ।’ 

गाउँलेहरुको कुरा सुनिसकेपछि बूढाले भने– ‘राम्रो वा नराम्रो के भयो थाहा छैन सत्य यति हो कि घोडा हरायो ।’

हराएको घोडा केही दिनपछि घर फर्कियो । साथमा अरु ८।९ वटा घोडा पनि लिएर आयो । घरकोभन्दा राम्राराम्रा घोडाहरु तबेलामा देखेर छोरोचाहि“ दङ्ग प¥यो । बूढाकहाँ आएका जङ्गली घोडा हेर्न गाउँलेहरु बूढाकहाँ जम्मा भए । बूढालाई हौस्याउँदै भने– ‘तिमीले घोडा नबेचेर राम्रै काम गरेछौ, यतिका एक से एक राम्रा घोडाहरु आए, अब बेच्यौ भने झन् धेरै पैसा पाउने भयौ, बधाइ छ तिमीलाई ।’ गाउ“लेहरु हौसिए । 

बूढाले फेरि गाउ“लेहरुलाई भने– “राम्रो वा नराम्रो के हो थाहा छैन तर कुरा यति हो, मेरो घोडाले जङ्गलबाट केही साथीहरु लिएर आएको छ र ती घोडाहरु मेरो घरमा छन् ।’

बूढाको घरमा आएका एकसेएक राम्रा घोडा देखेर दङ्ग थियो । सबारीलायक बनाउने विचारले घोडा दाउन सुरm ग¥यो । जङ्गली घोडाहरु भएकाले दाउन निकै कठिन थियो । ऊस“ग त्यस्ता घोडा दाएको अनुभवको कमी थियो । घोडा दाउने क्रममा बूढाको छोरो लड्यो र खुट्टो भा“चियो । 

छोराको खुट्टो भा“चिएको सुनेर गाउ“लेहरु फेरि बूढाकहा“ जम्मा भए र सहानुभूति दर्शाउँदै भने– “हेर बूढा घोडा बेचेको भए न यी घोडाहरु घरमा आउने थिए, न छोराले दाउनु पथ्र्यो, न उसको खुट्टो नै भा“चिन्थ्यो । तिमीले घोडा नबेचेकाले यो सब भएको हो, तिम्रै कारणले बिचरा छोराको खुट्टो भा“चियो, साह्रै नराम्रो भयो ।’
बूढाले फेरि भने – “राम्रो नराम्रो के भयो थाहा छैन, तथ्य यति हो, छोराको खुट्टो भा“चियो ।’

केही समयपछि देशमा अनिवार्य सैन्यसेवा सुरु भयो । हरेक घरका युवाहरु पल्टनमा भर्ना भएर देशका निम्ति युद्ध लड्नु पर्ने भयो । सबैका छोराहरु सिपाहीमा भर्ना हुन गए । असक्त, अपाङ्गहरु, बूढाबूढीहरु मात्र गाउँमा बाँकी भए । बूढाबूढीहरु बिरामी परे भने घरमा पानी दिने समेत कोही रहेनन् । गाउ“लेहरु मलिन अनुहार लगाउ“दै फेरि बूढाकहा“ आए । उनीहरुले भने– “तिम्रो छोराको खुट्टो भा“चिएर ज्यादै राम्रो भयो । ऊ त केही दिनमा ठीक हुन्छ, घरमा बस्छ तिमीहरुलाई हेरचाह गर्न सक्छ तर हाम्रा छोराहरु त सबै लडाइ“ गर्न जानुपर्ने भयो, मर्ने बा“च्ने थाहा छैन । हामी टुहुराजस्ता भयौ“, तिमी बडो भाग्यमानी रहेछौ ।’ गाउ“लेहरुले बूढाकहा“ आफ्नो मनको वह पोखे ।

बूढाले यसपटक गाउ“लेहरुलाई सम्झाउ“दै भने– “हेर, जीवनमा यस्ता अनेक घटनाहरु आउ“छन्, जान्छन् । तिमीहरु हरेक घटनालाई राम्रो–नराम्रोमा विभाजन गर्छौ, म केवल एउटा घटना देख्छु र त्यसको निरीक्षण गर्छु । म तिमीहरुको जस्तो राम्रो नराम्रोमा छुट्याउँदिन । घटनाको परिणाम नहेरी छुट्याउँदा पछि धोका पनि हुनसक्छ । तत्कालका लागि कुनै घटना राम्रो वा नराम्रो लाग्न सक्छ, तर त्यसको अन्तिम परिणाम कस्तो हुन्छ त्यो हामी जान्दैनौ“ । तत्काल अनुमान मात्र लाउन सक्छौँ । त्यसैले म घटनालाई मूल्यांकन गर्नुभन्दा त्यसमा लुकेको सत्य र शिक्षा खोज्छु । 

हरेक घटनाले कुनै न कुनै शिक्षा दिएर जान्छ, म त्यसलाई ग्रहण गर्छु । तर तिमीहरु त्यसलाई मूल्याङ्कन गरेर राम्रो र नराम्रोमा छुट्याइरहन्छौ । त्यसैले तिमीहरु हरेक घटनामा कि त दुःखी हुन्छौ कि त सुखी । म घटनाबाट शिक्षा लिन्छु । यो घोडा र छोराका घटनालाई पनि मैले त्यसैगरी लिएको छु बा“की कुरा तिमीहरु जान ।”
..................
यस कथाका बूढा मानिसले देखेका घटना र गाउँलेले देखेका घटना समान छन् । तर उनीहरुका प्रतिकृया भने नितान्त भिन्न छन् ।  गाउँलेहरु घटनासँगै कि खुशी भए कि दुःखी भए । बूढा भने समभावमा रहे । घटनालाई स्वीकार गरिरहे, निरीक्षण गरिरहे र शिक्षा लिइरहे । सबै घटनालाई साक्षी बनेर तटस्थ रुपमा हेरिरहे । घटनामा बहकिएनन् । राम्रानराम्रा, शुभअशुभ भनेर मूल्याङ्कन पनि गरेनन् । आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहे । हुनुपर्ने काम भई नै रह्यो । बूढाले घटनालाई भावनात्मक उत्तेजनाका आधारमा लिएका भए गाउ“लेहरु जस्तै घटनैपिच्छे एक न एक मूल्याङ्कन गर्न सक्थे । आफूलाई सोही अनुसार सुखी वा दुःखी बनाउन सक्थे । तर उनले त्यसो गरेनन् । घटनालाई शिक्षाका रुपमा लि“दै जीवनयात्रामा अघि बढिरहेकाले उनी न तनावमा आए न हौसिए । गाउ“लेहरु घटनैपिच्छे या त तनावमा फसे या त हौसिए खुशी भएर ।
..........
हाम्रो जीवनमा पनि यस्ता घटनाहरु भइरहन्छन् । कहिले सुखद घटना हुन्छन् त कहिले दुःखद । घटनाले आफै“ तनाव लिएर आएको हुँदैन । त्यसलाई हेर्ने हाम्रो जुन दृष्टिकोण छ त्यसले नै हामीलाई सुखद वा दुःखद उत्तेजनामा पुर्याउँछ । त्यतिबेला हामी चाहेको र पाएकोमा भिन्नता देखेर या त आत्तिन्छौँ या त मात्तिन्छौँ । हामीले व्यक्त गर्ने त्यही प्रतिकृया नै घटना हाम्रो तनावको कारण बन्छ, हामी तनावमा फस्छौँ । 
घटनालाई स्वीकारौँ र सत्यबोध गरौ“  
घटनाहरुले पार्ने मानसिक तथा उत्तेजनात्मक प्रभावहरु व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैलाई अत्यन्तै दुःखद लागेको घटना अर्कोका लागि कुनै असरै नपार्ने हुन्छ । कुनै घटनामा कोही मानिस छाती पिटीपिटी रोइरहेको हुन्छ कसैलाई त्यसको अर्थ नै हु“दैन । कोही खुसीले मातिएर रमाइलो गरिरहेको बेला अर्को व्यक्तिलाई चाहि“ त्यही घटना अर्थ न बर्थको लाग्दछ । 

अब प्रश्न आउ“छ आखिर सबै घटनाहरु घटना मात्र हुन् भने यसो किन हुन्छ त ? किनभने घटनालाई मूल्याङ्कन गर्ने हाम्रो दृष्टिकोण र अनुभव भिन्नाभिन्नै छ । त्यही भिन्नताको कारण एउटै घटनाले पनि व्यक्तिपिच्छे फरकफरक प्रभाव पार्दछ । आफ्नो धारणा, पूर्व अनुभव, संस्कार र त्यस घटनाबाट आफूले गरेको अपेक्षालाई जोडेर व्यक्तिले घटनाको मूल्याङ्कन गर्दछ र एउटा कथा बनाउँछ । त्यही कथाले हाम्रो मनभित्र सुखद र दुःखद उत्तेजना पैदा गरिदिन्छ, भावनामा डुबाइदिन्छ र हामी सुखी वा दुःखी हुन्छौ“ । घटना सानो घट्छ, तथ्य अति नै सीमित हुन्छ तर हामी त्यसमा भावनाका कथा जोड्छौँ र लामो सिनेमा नै बनाउँछौँ । त्यो सिनेमालाई हामी बारम्बार सम्झिरहन्छौँ, हेरिरहन्छौँ । घटनालाई घटनाकै रुपमा स्वीकार गर्ने बानी परेको भए त्यसबाट सत्य ग्रहण गर्न सकिन्थ्यो र शिक्षा प्राप्त हुन्थ्यो । आगामी दिनमा त्यस्ता घटनाबाट कसरी बच्ने वा उपयोग गर्ने भन्ने सिक्न सकिन्थ्यो । 

तनाव व्यवस्थापनका सेमिनारहरु चलाउँदा कैयौँ सहभागीहरुले मलाई भन्ने गरेका छन्, सुखदुःखको भावनामा नआउने मानिस त ढुङ्गोजस्तो भइहाल्यो नि, मानिस त भावनात्मक प्राणी हो त्यस्तो कहा“ हुन्छ र ! तपाईंलाई पनि त्यस्तो लाग्न सक्छ । तर एकैछिन विचार गरौ“ त के भइसकेको दुःखद घटनालाई सम्झेर हामीले त्यसलाई सुखद बनाउन सक्छौँ ? यदि सक्दैनौँ भने हामीले बनाएका कथाले के काम गर्छन् त ? घटनालाई स्वीकार गरेर अघि बढ्नुभन्दा के विकल्प हुन्छ हामीसँग ?
.................
एउटा उदाहरणबाट यसलाई अलि प्रस्ट पार्न चाहन्छु । हामी सबैभन्दा बढी दुःखी हुन्छौँ आफन्तको मृत्युमा । यो सबैको जीवनमा आउने साश्वत घटना हो । हामी पनि आखिर एक दिन मर्नैपर्छ । तर आफन्तको मृत्यु हामीलाई स्वाभाविक लाग्दैन । वर्षौं थलिएर, रोगाएर, दिशापिसाब ओछ्यानमै भएको दीर्घरोगी आफन्त मर्दा पनि हामी कैयौँ दिनसम्म कथा बनाएर तनावमा हुन्छौँ, रुन्छौँ, कराउँछौँ । के हामी तनावमा आएर त्यो मृतकलाई फर्काउन सक्छौँ ? अवश्य सक्तैनौँ । बरु यसलाई स्वीकारेर शिक्षा ग्रहण गर्न सक्छौँ– सबै जन्मेका प्राणीहरु एक दिन मर्छन्, मृत्यु साश्वत छ, नमर्दै अमर हुने केही काम गरेर मृत्युलाई अमरतामा परिणत गर्नुपर्छ । मृत्युको घटनालाई स्वीकार गर्दा हामी यो सत्यबोध गर्न सक्छौँ ।

घटनास“ग हाम्रा अपेक्षा र भावनालाई नजोडीकन तिनलाई शिक्षा ग्रहणको अवसरका रुपमा लिने मानसिक प्रौढता हासिल गर्न सकियो भने हाम्रो जीवनमा आइरहने घटनाहरु न सुखमय हुन्छन्, न दुःखमय हुन्छन् । जीवनमा आइपर्ने हरेक घटनाहरु हामीलाई शिक्षा दिन आएका शिक्षक जस्ता लाग्नथाल्छन् । हामी तिनबाट शिक्षा लिने विद्यार्थीजस्ता हुन्छौ“ । त्यसो भयो भने हामीमा आउने तनाव स्वतः कम हुन्छ । घटनाबाट अघि बढेर जीवनलाई उन्नत र विकसित गर्न समर्थ हुन्छौ“ ।
 
दुःखद घटनाबाट सत्य ग्रहण गरेर केही गरिछाड्ने संकल्प गरेर अमर बन्ने काम गरेका कैयौँ मानिसहरु छन् संसारमा । साँच्चै भन्ने हो भने दुःखद घटना नब्योहोरेको मानिस बिरलै मात्र संसार प्रसिद्ध भएका छन् । जीवनको अन्त्य हुने गरी दुःखद घटना, अभाव र पीडा व्यहोरेपछि त्यसबाट शिक्षा लिएर बौरिएका मानिसहरुले नै संसारमा आफूलाई अमर बनाएका छन् ।
कसरी कम गर्ने नकारात्मक असर ?
घटित भइसकेका घटनालाई हेर्ने प्रचलित धारणाको बदलामा जब हामी घटना र प्रतिक्रियाका बीचमा प्रज्ञा, विवेक, चेतना र अन्तर्निर्भर इच्छालाई स्थान दिनथाल्छौ“, घटनालाई घटनाका रुपमा स्वीकार गर्छौं, हाम्रा उत्तेजना र प्रतिक्रियाका बीचमा एक अन्तराल पैदा हुन्छ । यो अभ्यास जति बढी गर्दै जान्छौँ घटनाहरुलाई हेर्ने हाम्रो दृष्टिमा पनि गुणात्मक भिन्नता आउँछ । यस अवस्थामा मात्र हामी जीवनमा आउने घटनालाई आफूले कसरी ग्रहण गर्ने र कसरी आफ्नो जीवन सफल, उन्नत, विकसित बनाउने भन्ने सही विकल्प छान्न सक्दछौ“ । भइसकेका घटनाबाट शिक्षा ग्रहण गरेर भविष्यमा आइपर्ने त्यस्तै घटनाहरुबाट आउने कठिनाइ, तनाव र पीडाबाट मुक्त हुन सक्छौ“ । 

कस्ता घटनाहरु हाम्रा लागि राम्रो, नराम्रो, खराब, असल, सुखद, दुःखद हुन् भनेर छुट्याएर हेर्ने र मूल्याङ्कन गर्ने हाम्रीभित्रको जुन विश्वास—प्रणाली छ त्यसले नै हरेक घटनालाई अनेक कथामा परिणत गरेर सुखद र दुःखद उत्तेजना व्यक्त गर्न बाध्य पार्दछ । जीवनमा आइपर्ने घटनाकै आधारमा हामी भावुक हुन्छौं । उत्तेजित हुन्छौं । जीवनलाई सङ्घर्षमय, दुखमय, आनन्दमय, सुखमय, रमाइलो, नरमाइलो आदि परिभाषाभित्र बा“ध्दछौ“ । त्यही परिभाषामा बहकि“दा हामीलाई जीवन कहिले सुखद र आनन्दमय जस्तो लाग्दछ त कहिले दुःखद र पीडामय लाग्दछ । 

यथार्थमा जीवनमा न बिषाद र दुःख मात्र छ न खुसी र उल्लास मात्र । यी दुवै कुरा लगातार चलिरहन्छन् । कुनै पनि दुःखद र सुखद अवस्था चीरकालसम्म रहिरहँदैन । ती पनि बित्छन् र जीवन अगाडि बढ्छ । हामी जन्मनु पनि घटना हो र मर्नु पनि घटना नै हो । हाम्रो जीवन घटनाबाट सिर्जना भएको छ र घटनाबाटै यसको अन्त्य हुन्छ । बा“की सबै हामीभित्रका कथा मात्र हुन् । जीवनमा घटेका घटनाहरुलाई गहिरोस“ग बुझ्ने प्रयत्न ग¥यौ“ भने हरेक घटनास“ग एक तथ्य वा शिक्षा लुकेको हुन्छ । त्यसलाई बुझ्नसक्यौ“ भने हाम्रो जीवन घटनैपिच्छे नया“ ढङ्गले रुपान्तरण हुनसक्छ । यदि त्यसो गर्न सकिएन भने घटनैपिच्छे हामी सुख र दुःखका धारणामा, पीडा र खुसीयालीमा अल्मलिन्छौ“ । तनाव वा उन्मादमा फस्छौ“ । जीवनको उपलब्धितर्फ बढ्न सक्दैनौ“ । जीवनऊर्जालाई हरेक घटनास“गै उतारचढावमा क्षय गरिरहन्छौँ ।

हरेक घटनाले त्यो घटना भइसकेपछि भिन्न परिवेश ल्याउँछ । त्यसलाई स्वीकार गरेर सकारात्मक परिणामतर्फ लैजाने प्रयत्न गर्नुपर्छ । त्यसो हुन सकेन र दुःखद घटना भई नै हाल्यो भने त्यस घटनाबाट आफूलाई अलग गर्नु बुद्धिमानी हुन्छ । अनिर्णयको अभ्यासबाट घटनालाई शिक्षामा रुपान्तरण गरेर परिस्थितिलाई सहज हुन दिनु पर्दछ । त्यसो गर्नाले हामी घटनाबाट शिक्षा लिन सक्छौ“ र तनावबाट पनि आफूलाई बचाउन सक्छौ“ । माथि उल्लिखित कथाका ती बूढा किसानले त्यही कुराको अभ्यास गरिरहे । त्यसैले उनले तनाव झेल्नु परेन । गाउँलेहरु तनावमा फसे ।    
दृष्टिकोण बदले तनाव रोकिन्छ
हामीले सामाजिक–साँस्कृतिक रुपमा शदीयौँदेखि समस्याको जड आफूभित्र होइन बाहिर खोज्न सिकेका छौँ । त्यसैले आफ्ना कमीकमजोरी सच्याएर अघि बढ्ने साहस पनि हामीसँग हुँदैन । बाह्य परिवेशबाट सिर्जित कुराहरुलाई नै समस्याका लागि जिम्मेवार ठानेर समाधान पनि सोही अनुसार खोज्दछौ“ । जुन आधार र तहबाट समस्याको सिर्जना भएको हुन्छ त्यसैको वरिपरि हाम्रा समस्या समाधानका प्रयत्नहरु घुमिरहेका हुन्छन् । समस्या सिर्जना भएकै तहमा समाधानका प्रयत्न पनि घुमिरहँदा हामी समस्याकै थप उल्झनमा फस्तै जान्छौ“ । जब उल्झनमा फस्तैजान्छौँ हाम्रो बुद्धि र भावनामा दूरी बढ्छ । हृदयको भावनाले भन्छ यसबाट छिटो निस्किहाल, बुद्धिले भन्छ यसमा मैले बिजय पाउनै पर्छ । हृदय जहिले पनि सत्यको पक्षमा आवाज उठाउँछ, बुद्धिले जहिले पनि तर्कको साहारा लिन खोज्छ र जित्न चाहन्छ । यही कारणले व्यक्तिको मनमा द्विविधा बढ्छ र तनाव सिर्जना हुन्छ ।
 
समस्यालाई तनावको बिषय नबनाउनका लागि समस्या उठान भएको बिन्दुबाट हाम्रो सोचाइ र व्यवहारलाई अलि माथि उठाउनु र समस्याको जिम्मेवार आफू पनि हो भन्ने स्वीकार गर्नु आवश्यक हुन्छ । जब हामी घटनालाई स्वीकार गर्छौं र सत्यबोध गर्छौं समस्या समाधानका नयाँ विकल्पहरु प्रकट हुन्छन् । समस्याको निकास पनि सहज रुपमा निस्कन्छ । त्यतिबेला हामी ‘आहा’ त्यति पनि किन पहिले नै सोचिएनछ, कस्तो त्यति पनि बुद्धि नआको आदि भन्न थाल्छौ“ । एकछिन अघिको तनाव त्यसै हराएर जान्छ । त्यसैले प्रसिद्ध वैज्ञानिक आइन्स्टाइन भन्दछन्– जुन आधारबाट समस्याको उठान भएको हो त्यही आधारबाट समस्याको समाधान कहिल्यै पाउन सकि“दैन । 

वाह्य उपाय होइन आन्तरिक तयारी गरौँ
घटनाबाट सिर्जित तनाव कम गर्नका लागि हामी प्रायजसो छोटकरी र तात्कालिक उपायहरु अवलम्बन गर्न खोज्दछौ“ । कसैले तनाव घटाउन नयाँ ठाउँको भ्रमणको सल्लाह दिन्छन्, कसैले मनोरञ्जनमा जोड दिन्छन्, कसैले नशा आदि सेवन गरेर मस्ती लिन खोज्छन्, तर के तिनले दिगो समाधान दिन सक्छन् त ? अवश्य सक्तैनन् । हामीभित्रको बोध, जागरण, स्वीकारभाव जति बलियो हुन्छ त्यति नै घटनालाई सहज रुपमा ग्रहण गर्न सक्छौँ । घटनालाई सहज रुपमा स्वीकार गर्नासाथ तनाव स्वतः टाढा हुन्छ । जब हामी घटनालई अस्वीकार गछौँ तब नै तनावले हामीलाई घेर्दै लैजान्छ । 

मानिसको जीवन प्राकृतिक प्रणालीकै एक हिस्सा भएकाले यसको सञ्चालन र नियमनमा पनि प्राकृतिक नियमहरु लागू हुन्छन् । प्रकृति न सधैँ हराभरा रहन्छ न सधैँ सुख्खा र बन्जर । कहिले सिर्जनशील हुन्छ कहिले बिनाशकारी । प्रकृतिमा आइपर्ने कष्टदायक परिस्थिति फेरि नयाँ रुप फेर्नका लागि सिर्जना हुन्छन् । सधैँ एकनाश हुने हो भने प्रकृतिमा न कुनै नयाँ सिर्जना हुन्छ न अनावश्यक कुराहरुको बिनास । मानिसको जीवन पनि त्यस्तै हो । कष्टदायक अवस्था नआउने हो भने मानिसले प्रगतिको बाटो नै खोज्दैन । दुःखद घटनाहरुले नै जीवनलाई नयाँ उचाइमा पुग्ने हिम्मत र साहस सिर्जना गर्दछ । यो विश्वव्यापी प्राकृतिक नियम, सिद्धान्त र आफ्नो आन्तरिक चरित्रलाई बुझ्न सक्यौँ भने सबै समस्या, पीडा र छटपटीका दीर्घकालीन र सुखद समाधान देख्न सकिन्छ । यसका लागि आवश्यक छ धैर्य र स्वीकारभाव । मानिसले परिस्थितिलाई बदल्न सक्दैन तर आफू त्यस अनुरुप बदलिएर अघि बढ्न सक्छ । त्यही हो मानिसको उच्चतम विवेक । अरm आफू अनुकूल बनाउन सकिँदैन तर आफूलाई अरु अनुकूल बनाउन जहिले पनि सकिन्छ । 

हावाहुन्डरीपछि धरती शान्त हुन्छ । प्रलयकारी बर्षापछिको आकाश शान्त र स्वच्छ हुन्छ । हरेक ठूला घटनापछि प्रकृतिले फेरि सहज रुप लिन्छ । मानिस भने घटनामा कथा जोजेर अझ अशान्त र तनावयुक्त बन्छ । प्रकृतिको यो सन्देश नै हाम्रो तनाव मुक्तिको आधार हुन सक्छ, घटनापछिको सहज स्वीकारभाव ।
अरुलाई दोषी देख्ने, तथ्य नकेलाउने र सत्य ग्रहण नगर्ने कारणले नै हामी भित्रभित्रै आन्दोलित भइरहेका हुन्छौँ । घटना भइसकेपछि त्यसको तथ्य बुझ्न र सत्य ग्रहण गर्न हामीभित्र अपार शान्ति र धैर्य आवश्यक पर्छ । दुःखद घटना भएकाबेलामा त यो झन् आवश्यक हुन्छ । यस्तो बेलामा हामी झन् अधैर्य हुन्छौँ । त्यसैले तनाव बढ्छ । घटनापछिको प्रकृतिलाई हेरेर हामीले बुझ्नुपर्छ जति ठूलो र बिनाशकारी घटना घट्छ त्यति नै बढी मानसिक धैर्य, सन्तुलन र स्थिरता आवश्यक पर्छ जीवनमा । त्यो प्राप्त हुन्छ सहज स्वीकार भावबाट । जबसम्म हामी जीवनमा घटेका घटनालाई सहज रुपमा स्वीकार गर्न सक्तैनौँ, तबसम्म चाहेर पनि मनमा तनाव घटाउन सक्तैनौँ ।

जब हामी घटित घटनामा मेरो पनि जिम्मेवारी छ, म पनि यो घटनाका लागि जिम्मेवार छु, यो घटनाले मलाई केही शिक्षा दिन आएको छ त्यो शिक्षा मैले ग्रहण गर्नुपर्छ भनेर आफैँभित्र फर्केर घटनालाई स्वीकार गर्दै अघि बढ्छौँ यसले तनावलाई स्वतः छेकिदिन्छ । तर जब यस्तो नहुनु पर्ने हो, यो नहुनु पर्ने थियो, यसो हुनै नहुे, यसो हुनै हुँदैन भनेर त्यसको प्रतिवाद गर्न खडा हुन्छौँ तब स–साना घटनाहरुले पनि हामीभित्र असाधारण तनाव सिर्जना गर्दछन् । हामीलाई शारीरिक र मानसिक रुपमा कमजोर र रुग्ण बनाउँदै लैजान्छ ।

हामी घटनालाई रोक्न त सक्तैनौ तर घटना भइसकेपछि प्रतिकृयाको उचित विकल्प भने अवश्य छनोट गर्न सक्छौँ । घटना भइसकेपछि त्यसलाई अस्वीकार गरेर किन तनावमा फस्ने ? घटना त भइसक्छ तर हामी कथामा अल्झेर जीवन बर्बाद गछौँ । घटनालाई घटनाका रुपमा हेरौँ, त्यसलाई स्वीकार गरौँ, त्यसबाट लिन सकिने शिक्षा लिऔँ, जीवनलाई तनावमुक्त बनाऔँ । स्वीकारले शान्ति दिन्छ, अस्वीकारले तनाव ।
   

Tuesday, June 2, 2015

नयाँ सङ्कल्पसाथ सुरु गरौँ नयाँ वर्ष

कसैको जीवनको गुणस्तर भनेको उसको सङ्कल्प अर्थात् प्रतिबद्धता नै हो । कर्मक्षेत्र जुनसुकै रोजेको भए पनि खास फरक पर्दैन । — (Vince Lambarde)

नयाँ वर्ष २०७२ सुरु भएको छ । नजाने तपाईँले कति यस्ता नयाँ वर्ष बिताइसक्नुभयो होला । कैयौँ पटक नयाँ वर्ष लागेपछि अब त यो काम नगरी छाड्दिन भनेर सोच्नु पनि भयो होला त
र के तपाईँका ती सोच साकार हुन सके ? सकेनन् भने किन सकेनन् ? आत्मसमीक्षा गर्ने र आफूलाई अझ नयाँ जोश र उत्साहका साथ उचाइतिर अघि बढाउने अवसर हो नयाँ वर्षको सुरुआतको यो बैशाख महिना ।

कविहरु बसन्तको आगमनमा नयाँ कविता कोर्दैछन्, कलाकारहरु नयाँ जीवनको रंग भर्दैछन्, कोइली र न्याहुल आफ्ना स्वरलहरी तिखार्दै छन्, विरुवाहरु नयाँ पालुवा हालेर फुल्न र फल्न उद्यत छन्, प्रकृति स्वयम् पनि हाँस्न, हसाउँन र सिर्जनाको प्रणयज्वर छर्दै प्रफुल्लित हुँदैछ । तपाईँहामी चाहिँ त्यसबाट किन अछुतो हुने ? आउनुहोस् यो नयाँवर्षको सुरुआत गरौँ केही नयाँ संकल्पका साथ, जसले तपाईलाई जीवनको नयाँ गन्तव्य दिन सक्नेछ । 

नयाँ जीवन बनाउन कस्तो सङ्कल्प लिने ? कस्ता सङ्कल्पले हामीलाई माथि उठाउँछ ? राम्ररी मनन गरौँ । असफल हुने र सफल हुने मानिसमा धेरैजसो कुरा एकैखालका हुन्छन्, तर फरक हुन्छ काम गर्ने र सोच्ने तरिकाको । त्यसैले सफल बन्नका लागि प्रथमतः आवश्यक पर्छ उचित सङ्कल्प । 

ह्याप्पि साइन्सका संस्थापक ¥युहो ओकावा सङ्कल्पित सोचलाई समुन्नत जीवनको आधार नै ठान्छन् । उनी भन्छन्, ‘सङ्कल्पित सोच मानिसका लागि जीवन नक्सा अर्थात् ब्लुप्रिन्टजस्तै हुन् । जीवन कस्तो बनाउने भन्ने कुरा तपाईँ आफैँले लिने सङ्कल्पमा भर पर्छ । सङ्कल्प वास्तवमा एउटी महिलाभित्र गर्भस्थ भएको र जन्मिनसकेको शिशुजस्तै हो । शिशु गर्भमा आइसक्यो, अब त्यसलाई स्याहार–सुसार गरेर, समय पु¥याएर जन्माउने बेला पर्खन मात्र बाँकी छ । (ओकावा पृ. १३५)

तपाईँ सफलताको बच्चा जन्माउन चाहनुहुन्छ भने सङ्कल्पका माध्यमबाट मात्रै शिशु गर्भधारण गर्न समर्थ हुनुहुन्छ । सङ्कल्प नभएको काम त खालि बच्चा जन्माउने शुक्रकीटहरू नभएको वीर्यस्खलन गर्नुजस्तो मात्रै हो । शक्ति खर्च भएको छ, काम पनि भएको छ, तर त्यससँग बच्चा जन्माउन सक्ने बीजको बिजाधानचाहिँ भएकै छैन । यस्तो अवस्थामा तपाईँको बच्चा जन्माउने लक्ष्य पूरा होला त ? अवश्य हुनेछैन ।

सङ्कल्प लिनु भनेको योजनासहित लक्ष्यतिर बढ्न चाहने अग्रसरता हो । यसले कदम–कदम तपाईँलाई लक्ष्यतिर केन्द्रित हुन मन, वचन र कर्मका माध्यमले लागिरहन बाध्य गर्छ । सोचाइलाई जब सङ्कल्पमा परिणत गरिन्छ, तब मात्र तिनले लक्ष्यउन्मुख हुने सामथ्र्य प्राप्त गर्छन् । सङ्कल्पित सोचमा त्यो सामथ्र्य हुन्छ । जसले पृथ्वीका मनुष्य मात्र नभएर यसबाहिरको अदृश्य जगत्का प्राणीसमेतलाई आकर्षित गर्न सक्छ । तपाईँले ती उच्च आत्माहरूको अनुभव नगरेको भए पनि उनीहरूले तपाईँको रखबारी गरिरहन्छन् । उनीहरू सधैँ तपाईँको मद्दत गर्न तत्पर छन् । समयको पर्खाइमा बसिरहेका छन् । तपाईँको मनमा यदि महान् कार्ययोजना छ भने त्यो निश्चय नै सफल हुन्छ । त्यसैले सङ्कल्पित सोचको सामथ्र्यलाई बुझ्न, मनन गर्न र ग्रहण गर्न अति जरुरी छ ।

म यहाँ जीवन बदल्ने केही महङ्खवपूर्ण सङ्कल्पका बारेमा चर्चा गर्दैछु, जसले हरेकको जीवनलाई आश्चर्यजनक रुपले बदल्ने सामथ्र्य राख्दछन् नयाँ वर्ष २०७२ मा । 

प्रथम सङ्कल्पः ‘म राम्रो बानी विकास गर्छु र त्यसको नोकर बन्छु’ 

यो सङ्कल्प जीवन परिवर्तनको सबैभन्दा महङ्खवपूर्ण सङ्कल्प हो । हरेक मानिसका आआफ्ना निजता हुन्छन् । पुराना प्रचलित बानीले तपाईँको निजता प्रस्फुरण नहुन सक्छ । त्यसका लागि तपाईँको आफ्नै स्वभाव अनुसारको बानी विकास गर्न आवश्यक हुन्छ । यो सङ्कल्पले तपाईँको आफ्नो निजत्व प्रकट गर्ने उत्साह देखाउँछ । यदि यो सङ्कल्प लिने हिम्मत गर्छौँ र यसलाई पालना गर्छौँ भने यही एउटा सङ्कल्पले असम्भव कुराहरू सम्भव बनाइदिन्छ । यो सङ्कल्प तीन हप्ता (२१ दिन) सम्म हरेक तीन घन्टामा दोहो¥याउने हो भने मानिसले जुनसुकै कुलत, कुसंस्कार, गलत बानीबेहोराको त्याग गर्न सक्छ । नयाँ बानीको विकास गर्न सक्छ र जीवन परिवर्तन गर्न सक्छ । रक्सीको कुलतमा लागेको एउटा जँड्याहाले यो सङ्कल्पबाट आफ्नो जीवनलाई कुलतबाट माथि उठाउन सक्छ । दुव्र्यसनीले त्यसबाट छुटकारा पाउन सक्छ, कुसङ्गत र कुलतमा फसेको मानिसले त्यसलाई चटक्कै छोडेर आफ्नो जीवनलाई नयाँ गति दिन सक्छ । यही एउटा वाक्यमा नै आजसम्म सफल भएका मानिसको सफलताको रहस्य लुकेको छ । नयाँ बानी विकास नगरी नयाँ काम गर्नै सकिँदैन । जब तपाईँ यसलाई बारम्बार उच्चारण गर्नुहुन्छ, तब त्यो शब्दले ल्याउने कम्पन रौँ–रौँमा फैलिनेछ, नसा–नसामा दौडिनेछ र मस्तिष्कको तन्तु–तन्तुमा स्थापित हुनेछ । यसले तपाईँलाई निद्रामा पनि बेहोसीमा जान, अलमलमा फस्न र अल्छ्याइँ पालेर बस्न दिने छैन । तपाईँ सपनामा पनि आफू बदलिएको देख्न थाल्नुहुनेछ । किनकि, सपनाहरू पनि मनमा आएका तर वास्तविकतामा परिणत नभएका अस्पष्ट चाहनाकै प्रतिरूप हुन् ।

सङ्कल्प दृढतामा परिणत गर्न बारम्बार त्यसलाई दोहो¥याइरहन आवश्यक छ । यसले तपाईँलाई काममा लाग्न मानसिक रूपमा तयार पार्नेछ, अनि काम गर्दा सुखद अनुभव प्रदान गर्नेछ ।

जब तपाईँको जीवनमा कुनै असम्भवजस्तो लाग्ने सुखद कल्पना आउँछन्, तिनलाई त्यसै नछोड्नुहोस् । वास्तविकतामा परिणत हुनुअघि संसारमा हामीले देखेका सबै कुरा कसै न कसैको दिमागमा कल्पनाकै रूपमा आएका थिए । त्यही कल्पना सङ्कल्प, योजना, विशेषज्ञान अनि पूरा गरिछाड्ने प्रतिबद्धता मिलेपछि अहिलेको रूपमा प्रकट भएका हुन् । तपाईँको कल्पनामा आएका जुनसुकै कुरा पनि सत्यतामा, वास्तविकतामा परिणत हुन सक्छन् । तर, त्यसलाई वास्तविकतामा परिणत गर्न योजना, सङ्कल्प र निरन्तर प्रयास जरुरी छ । त्यो शक्ति हरेक मानिससँग छ । जसले कल्पनालाई वास्तविकतामा परिणत गरे, सपना साकार पारे, तिनीहरू र सामान्य मानिसमा एउटै फरक छ, त्यसलाई वास्तविकतामा परिणत गर्ने साहसपूर्ण सङ्कल्प र निरन्तर प्रयास र प्रयत्न ।

असफलताको सबैभन्दा प्रमुख कारणमध्ये एउटा हो निरन्तरताको अभाव । यति मात्रै होइन, बढीभन्दा बढी मानिसको असफलताको कारण पनि यही हो । यो कमजोरी हामी आफ्नै प्रयासबाट शक्तिमा परिणत गर्न सक्छौँ ।

दोस्रो सङ्कल्पः ‘म आफू प्रेमपूर्ण भएर आजको दिन बिताउँछु’ 

सफलताको लागि दोस्रो महत्वपूर्ण सङ्कल्प हो यो । मैले यहाँ ‘आपूm’ र ‘आज’लाई जोड दिएको छु । भोलि हुने कुरा हुँदै गर्ला तर आज तपाईँ बाँचिरहनुभएको छ, जीवनका रमाइला क्षण बिताउने अवसर तपाईँसँग छ । हरेक दिन बिहान उठ्नासाथ यो सङ्कल्प दोहो¥याउनुहोस् । आज मात्र भन्नुहोस् । अबदेखि वा यसपछि जस्ता अनन्तकालसम्म कायम राख्नेगरी आदर्शवादी नबन्नुहोस् । भोलिकोनिम्ति भोलि नै सोचौँला । केवल आजको लागि प्रेमपूर्ण हुनुभयो भने भोलि त्यसै तानिएर आउँछ । आजदेखि भन्न थाल्नुभयो भने भोलि फेरि दोहो¥याइरहनु परेन । यसलाई बिर्सिदिँदा पनि केही फरक पर्नेछैन भन्ने अर्थ ग्रहण गर्छ तपाईँको मस्तिष्कले । त्यसैले अनन्तकालसम्म प्रेमपूर्ण हुने सङ्कल्पले तपाईँको जीवन बदल्दैन । केवल आज मात्र भन्नुहोस् । आइनसकेको समयलाई किन झुठो आश्वासनमा बाँध्ने ? के भोलि चाहिँ तपाईँ प्रेमविहीन बन्ने हो र ? होइन । दिनदिनै प्रेमपूर्ण त हुनु नै छ । त्यसैले यो सङ्कल्प दैनिकै रुपमा लिनु आवश्यक छ ।

तपाईँ–हामी ठूला–ठूला कुराहरू त गर्छौँ, तर सानो काम गर्दैनौँ । त्यसैले मैले यहाँ दिनभरको मात्रै कुरा गरेको हुँ । आफूलाई प्रेमपूर्ण बनाउने कि निरस र कठोर बनाउने ? यो हामी स्वयं गर्न सक्छौँ । यसका लागि परिवेश, परिस्थिति वा वातावरण अनुकूल वा प्रतिकूल हुनुले कुनै फरक पर्दैन । हामी हाम्रो मनमा खराब वा असल भावना कायम राख्न स्वतन्त्र छौँ । तर, हामी त्यसका लागि सङ्कल्पवान् छौँ त ? प्रेमपूर्ण बन्न पनि शर्तहरू त राखिरहेका छैनौँ ? यदि ........भयो भने म प्रेमपूर्ण हुनेछु भनेर त सोचिरहनुभएको छैन ? यदि छ भने तपाईँभित्र प्रेमपूर्ण हुने सङ्कल्प कमजोर छ ।

प्रेमपूर्ण हृदयमा ठूलो शक्ति हुन्छ । कामप्रति, कुनै मानिसप्रति, प्रकृतिप्रति, आफन्त र परिवारप्रति, समाज र देशप्रति, समस्त आदरणीय अग्रजहरूप्रति प्रेमपूर्ण र सकारात्मक हुन सक्नुभयो भने, त्यसको अभ्यास बारम्बार गर्नुभयो भने, त्यसबाट तपाईँमा काम गर्ने उत्साह, प्रेरणा र सामथ्र्य बढेको अनुभव हुन्छ भने, त्यसो हुन नसक्ता निराशा र छटपटी हुन्छ । 

प्रेमपूर्ण हुने सङ्कल्प दृढ भएका मानिसमा ज्यादा सहनशक्ति हुन्छ । सहनशक्ति प्रगतिका लागि ज्यादै मूल्यवान् शक्ति हो । आफू प्रेमपूर्ण हुने सङ्कल्प लिनासाथ तपाईँले गर्ने व्यवहार पनि प्रेमपूर्ण नै गर्नुहुन्छ । बाधाहरू आउँछन्, सिक्ने कुरा खोज्नुहुन्छ । हावा र हुन्डरीमा फस्ता शक्ति आउने सम्भावना देख्नुहुन्छ । यसले तपाईँले गर्ने व्यवहारमा र सोच्ने तरिकामा व्यापक परिवर्तन ल्याइदिन्छ ।

यदि हरेक मानिसले प्रेमपूर्ण हृदयले व्यवहार गर्न थाल्यो भने ऊ स्वयंप्रति प्रेमपूर्ण हुन थाल्नेछ । आफूप्रति प्रेमपूर्ण हुनु भनेको आफ्नो शरीर, आफ्नो मस्तिष्क, आफूभित्रको हृदय, आफ्नो विवेकप्रतिको विश्वास र प्रेम बढ्नु हो । त्यसप्रति होसपूर्ण हुनु र सचेत व्यवहार गर्नु हो । यसो हुनासाथ हामी शरीरका अनावश्यक आग्रह र आकर्षणमा फस्नेछैनौँ । शरीरलाई संयमित र सफासुग्घर राख्नेछौँ । मस्तिष्कमा अनावश्यक, निराशावादी र नकारात्मक सोचाइ आउन दिनेछैनौँ । सदीयौँदेखि ब्रह्माण्डमा भरिएका ज्ञान र बुद्धिको प्रयोग गरेर आफूलाई सामान्य मानिसभन्दा माथि उठाउनेछौँ । निरन्तर साधना, ध्यान र प्रार्थनाबाट आफ्नो विवेक र अन्तःस्करणलाई शुद्ध गर्दै उन्नत र विकसित गर्नेछौँ । कटु वचन बोलेर अरू र आफ्नै हृदयलाई चोट पु¥याउनेछैनौँ । आफ्नो प्रेम भावलाई समस्त ब्रह्माण्डमा फैलाउन सक्नेछौँ । 

घृणा, द्वेष र ईष्र्या प्रेमभन्दा कमजोर तत्व हुन् । हृदयमा प्रेम भरिनासाथ यी दुर्गुणहरू आफैँ टाढा भाग्नेछन् । प्रेमभन्दा ठूलो कुनै अस्त्र छैन, काममा सफल हुने । जुन काम गरिन्छ, त्यसलाई जीवनको सबैभन्दा प्रेमपूर्ण काम, वर्तमानको सबैभन्दा महत्वपूर्ण काम अनि अहिलेका लागि सबैभन्दा महत्वपूर्ण समयको उपहार भनेर सम्झ्यौँ भने हामी जुनसुकै इच्छित काममा खुसीसाथ संलग्न हुन सक्छौँ । त्यसमा रमाउन सक्छौँ । यदि त्यसो हुन सकेन भने त्यसबाट खुसी मिल्न सक्नेछैन । खुसी नमिल्दा–नमिल्दै काम गरिरहन्छौँ भने त्यस्तो कामबाट सन्तोषजनक परिणाम पनि आउनेछैन । त्यसैले आफ्नो जीवनप्रति, परिवार र अग्रजप्रति, रोजगारदाताप्रति, मातृभूमिप्रति, समस्त चराचर जगत्प्रति प्रेमपूर्ण भावको सङ्कल्पको कुनै विकल्प छैन सफलताका लागि । त्यसैले प्रेमपूर्ण रहने सङ्कल्प लिनुहोस् । 

तेस्रो सङ्कल्पः ‘म तबसम्म यस काममा लागिरहन्छु, जबसम्म सफल हुन्न’ 

यो सफलताको तेस्रो महत्वपूर्ण सङ्कल्प हो । थाइल्यान्ड, चीन, भारतका कतिपय ठाउँहरू र नेपालमा पनि पुरानो समयमा आफूले पालेका उन्नत भाले छानेर आपसमा लडाउने चलन थियो । दुईवटा भालेलाई खास ‘रिङ’ मा एकअर्कालाई आक्रमण गर्न छोडिदिने र एकअर्कामा आक्रामक प्रहार गर्दा कुन भालेले कतिसम्म प्रहार सहन्छ र आफूलाई निरन्तर लडाइँमा प्रेरित गरिरहन सक्छ भनेर निरीक्षण गर्ने गरिन्थ्यो । जुन भालेले बढीभन्दा बढी चोट सहेर लडिरहन सक्छ, त्यसलाई विजयी घोषणा गर्ने गरिन्थ्यो । आज पनि यदाकदा यो चलन छँदै छ । एउटा खुट्टा हातले समाएर अर्को हात पिठ्युँमा राखेर कुम जुधाइ गरेर खेलिने भाले जुधाइ खेल त्यही खेलको मानवीय रुप हुनुपर्छ । हाम्रा युवाहरुमा यो खेल यद्यपि प्रचलित छँदैछ ।

सफलता चाहने व्यक्ति पनि भाले जुधाइमा जुध्न तयार भएको भालेजस्तै हो । हरेक दिन उसका लागि विजयको दिन हो, जसमा उसले लडाइँ जित्ने सम्भावना छ । यदि लगातारको कठिन लडाइँ लड्ने साहसका साथ कोसिस गरिरह्यो भने निश्चित रूपमा भाले जुधाइमा सफल घोषणा हुने भालेझैँ सफल हुनेछ । यदि मैदान छोडेर विजयको घोषणअगावै बाहिरियो भने त्यसले ‘भगौडा’को तिरस्कार पाउनेछ । विजयको पुरस्कार पाउन सक्नेछैन । त्यसैले लगातार लागिरहने सङ्कल्प सफलताका लागि तेस्रो महत्वपूर्ण सङ्कल्प हो । (ओकावा पृ १३८)

 सफलता चाहने व्यक्तिले असफलतामा फसेको, रुग्णता, अल्छ्याईँ र निराशामा फसेको मानिसको उदाहरणबाट होइन, सफलता, सङ्घर्ष र प्रयासका आधारमा सफल बनेका मानिसबाट सिक्ने आँट गर्नुपर्छ । सिकायत र रुवाइबाट होइन, हौसला र उत्साह भरिएको हृदय लिएर आफूलाई अघि बढाउने हिम्मत गर्नुपर्छ । 

सफलताको पुरस्कार यात्राको अन्त्यमा प्राप्त हुन्छ, तर त्यो यात्रा लक्ष्यबाट कति टाढा वा नजिक छ भन्नेचाहिँ हामीलाई पहिले नै थाहा हुँदैन । हुन सक्छ, त्यो तपाईँकै अगाडि पनि होला वा हजार माइल टाढा । जीवनले अघिल्लो मोड नलिएसम्म त्यो कसैलाई पनि थाहा हुँदैन, तर एउटा कुरा भने पक्का छ– हरेक कदमले तपाईँलाई सफलताको नजिक भने पु¥याइरहेको हुन्छ । 

प्रयास र प्रयत्न रूख ढाल्न प्रयुक्त बन्चरोको एक प्रहारजस्तै हो । हरेक प्रहारले कति काम ग¥यो भन्ने कुरा रूख नढलुन्जेल बन्चरो चलाउनेलाई थाहा हुँदैन । लगातार प्रहारको मात्रा पुगेपछि रूख अवश्य ढल्छ । बन्चरोको स–सानो प्रहारले नै रूख अन्तिम रूपमा धराशयी हुन्छ । निराशा र हारको भावना अनि लक्ष्यप्रतिको अविश्वासले निरन्तर प्रयासमा टिकिरहने लगनशीलतामा बाधा पु¥याउँछ । यी शब्दका बारेमा सोच्नु र त्यसमा आफूलाई केन्द्रित गर्नु भनेको मैदान छोडेर भाग्नुसरह नै हो । 

निराशा सफलताका लागि धमिराजस्तै हो । हरेक असफलताले सफलताको सम्भावनालाई नजिक तानिरहेकको हुन्छ । दिन आउनका लागि रातको अँध्यारो घना भएजस्तै हो, सफलता प्राप्त गर्नका लागि असफलता झेल्ने सामथ्र्य । एकपटक सफल हुनका लागि कैयाँैपटकको असफलताबाट आफूलाई खार्नैपर्छ । यदि असफलता बेहोर्ने सामथ्र्य विकास गर्न सकिएन भने सफलता कहिल्यै प्राप्त हुँदैन । 

प्रयत्न, प्रयत्न अनि फेरि प्रयत्न । लगातारको ठीक–ठीक प्रयास, प्रयत्न र अभ्यासबाटै मानिसले लक्ष्य हासिल गर्छ । एउटा ओलम्पिक खेलको सय मिटर दौडमा स्वर्णपदक जित्ने विजेतालाई सम्झनुहोस् वा म्याराथन धावकलाई सम्झनुहोस् । उसले एउटा स्वर्णपदक जित्ने केही सेकेन्डको खेलका लागि वर्षौँ अझ दशकौँ मिहिनेत गरेको हुन्छ, रौँ–रौँमा हिम्मत र जोस भरेर आफूलाई उत्कृष्ट सावित गर्ने प्रयास गरेको हुन्छ । कैयौँ स्वदेशी र विदेशी खेलका प्रतियोगितामा आफूलाई प्रतियोगी बनाएर जित्ने कला हासिल गरेको हुन्छ । 

कैयौँ आपतकालीन अवस्थामा समुद्रमा तैरन सिकेपछि मात्र एउटा नाविक कुशल नाविक बन्न सक्छ । त्यो कुसलता प्राप्त गर्नुअघि हरेक मुस्किलबाट आफूलाई पाको बनाएर खारेको हुन्छ । लगातार रूपमा कठिनाइको सामना गर्ने तरिका सिकेर आफूलाई ‘एकपटक, अझ एकपटक, अनि अझै एकपटक’ गर्दै कदम–कदममा सफलताका सूत्रहरू सिकेको हुन्छ । काम गर्ने तरिका दमदार नभएका कारण, योजना अपूर्ण भएका कारण, त्यस कामका लागि आवश्यक पर्ने ज्ञान, सीप र दक्षता कमी भएका कारण नै असफलता आउने हो । जुन दिन त्यस कामको निपुणता हासिल हुन्छ, त्यस दिन सफलता निश्चित रूपमा हात लाग्छ । 

चौथो सङ्कल्पः ‘म भूतलाई बिर्सेर नयाँ सङ्कल्प लिन्छु र अन्तिम सास रहुन्जेल र आफ्नो शरीरमा एक थोपा रगत रहुन्जेल मैदान छोड्नेछैन’ 

सफल हुनेहरुका लागि अर्को उत्कृष्ट सङ्कल्प हो यो । जुन योद्धा निरन्तर युद्ध मैदानमा लड्छ, वास्तवमा त्यही योद्धा हो, लडाईँमा विजयी हुने । सफलताको महान् रहस्य पनि यही हो । 


साँच्चिकै गतिलो सपना देख्न थालियो वा देख्न सकियो र त्यसलाई सङ्कल्पसँग जोड्न सकियो भने असम्भव भन्ने कुरा केही पनि हुँदैन । सपना र सङ्कल्पका अगाडि भुभाग, कुल, घराना, डिग्री सबै फिक्का हुन्छन् । आजको विश्वमा को व्यक्ति कुन देशमा जन्मिएको होरु कुन परिवारमा जन्मिएको हो ? वा कुन विश्वविद्यालयमा अध्ययन गरेको हो भन्ने कुराले खासै अर्थ राख्दैन । सफलताको एकाधिकार कुन विश्वविद्यालयमा पढेको हो वा कुन डिग्री हासिल गरेको हो भन्नेसँग गाँसिएको हुँदैन । तपाईं के सपना देख्दै हुनुहुन्छ र त्यो सपनालाई विपनामा बदल्न कस्तो संकल्प लिनुहुन्छ भन्ने कुरा चाहिँ अहं महङ्खवको हुन्छ । हामी सबैले विल गेट्स र स्टिभ जब्सको जीवनी पढेका छौँ, जसले विश्वविद्यालयको औपचारिक शिक्षा पूरा गरेनन् र पनि विश्वका सर्वाधिक सिर्जनशील सोचका उद्यमीका रूपमा पहिलो पंक्तिमा नाम लेखाए । उनीहरूको सपना र त्यसलाई कार्यान्वयन गर्ने दृढताका अगाडि दुनियाँ नतमस्तक छ । 

चिनियाँ नागरिक ज्याक मा, चीनको झेइज्याङ प्रान्तको हाङजोउमा सामान्य परिवारमा जन्मिएका थिए । उनका बाबुआमा परम्परागत कथा सुनाउने र बाजा बजाउने पेसामा थिए । ३३ वर्षको उमेरसम्म ज्याक माले कम्प्युटर देखेका थिएनन् । तर आज तिनै ज्याक मा इन्टरनेट बिजनेसका वादशाह अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष छन् र चीनको दोस्रो धनाढ्य । 

सन् १९९९ मा ज्याकले साथीहरूसँग मागेर ६० हजार डलर जम्मा गरेर अलिबाबा स्थापना गरे । इन्टरनेट मार्फत् व्यवसायलाई कसरी एकैद्वारबाट संसारभर फैलाउन सकिएला भनेर अनेक कुरा सोचे । अन्तमा एउटा यस्तो वेभसाइटको परिकल्पना गरे जसमा किन्ने र बेच्ने दुवै संलग्न भएर आफ्नो सामान बेच्ने र आफूले चाहेको सामान किन्ने गर्न सकुन् । ३३ वर्षमा कम्प्युटर देख्ने व्यक्तिका लागि यो सामान्य कुरा थिएन । उनको सपना चानचुने थिएन । त्यसैले सपना पूरा गर्ने संकल्प पनि त्यत्तिकै दृढ हुनु आवश्यक थियो । उनी लगातार लागिरहे । त्यसैको परिणमस्वरुप आज उनी विश्वका सर्वाधिक चर्चित र सफल उद्यमी बनेका छन् । तपाईं सपना देख्नुस् र संकल्प लिनुस् । सफलता तपाईंको दास नबनी सुखै छैन ।   

तपाईं कति धनी परिवारमा जन्मिनुभयो, गरिब परिवारमा या कति कुलिन परिवारमा जन्मिनुभयो भन्ने कुराले भविष्य निर्धारण गर्दैन । तपाईंसँग कति सिर्जनशील सोच छ र त्यसलाई कार्यान्वयन गरेरै छोड्ने कति अटल विश्वास र धैर्य छ भन्ने कुराले नै तपाईंको भविष्य निर्धारण गर्छ । १५ वर्षअगाडि सन् २००० को फोब्र्स अर्बपतिको पहिलो १० जनाको सूचीमा कार्लोस स्लिम, अमानसियो ओर्टेगा, चाल्र्स कोच, डेभिड कोचहरूको नाम भेटिँदैन । तर सन् २०१५ मा आइपुग्दा उनीहरूले आफूलाई यो सूचीमा उभ्याएका छन् । त्यतिबेला यो सूची ओगट्नेहरू अहिले पछाडि पर्दै गएका छन् । नेपालमै हेरौं न, १५ वर्षअगाडि नेपालका प्रमुख औद्योगिक घराना भनेर चिनिनेहरू अहिले परिदृश्यमा पुगेका छन् भने नयाँ सोचका साथ व्यवसाय गर्नेहरू फ्रन्टलाइनमा । त्यसैले तपाईंको हजुरबुबा के हुनुहुन्थ्यो वा बुबा के गर्नुहुन्थ्यो भन्ने कुराले तपाईंको भविष्य निर्धारण गर्दैन । तपाईं आफ्नो सिर्जनाले मात्रै जीवनमा नयाँ रङ भर्न सक्नुहुन्छ । 

जबसम्म हामी आफूलाई बितेका कुराबाट अलग गर्न सक्दैनौँ हाम्रो प्रगतिका लागि त्यो तगारो बनिरहन्छ । पुर्खा, हैसियत, कुल, घराना, बिताएका रमाइला क्षण आदि यस्ता केही तगारा हुन् हाम्रो जीवनमा । पुर्खाको सम्पत्ती र हैसियतमा गर्व गरेर, म यस्तो कुलको हुँ भनेर त्यो धङ्धङी पालेर तपाईँको जीवन बदलिँदैन । जीवन बदल्न र सफल हुन निरन्तर रुपमा आफूलाई नयाँ सपनामा हिँडाउन र धैर्यसाथ लागिरहन तयार पार्नुपर्छ । जीवनको अन्तिम सास रहुन्जेल र अन्तिम थोपा रगत रहुन्जेल म निरन्तर लागिरहन्छु भन्ने सङ्कल्पले मानिसलाई जुनसुकै कुरामा सफल बनाउँछ ।  





अन्तर्विज्ञानसँग नजोडिएको आजको शिक्षा


यो महिनाको चर्चित दुइटा अपराधका घटनाले मलाई साह्रै मर्माहत बनाए । एउटा केटाले ट्युसन पढ्न जाँदै गरेका दुई जना केटीहरुलाई एसिड छ्याप्यो र सख्त घाइते बनायो, अर्को एउटा केटाले छ वर्षकी कलिली बच्चीलाई बलात्कार गरेर मरणासन्न बनाएर एकान्तमा छोडेर भाग्यो । उपचारका क्रममा बच्चीको मृत्यु 
भयो ।

यी दुवै घटनामा संलग्न अपराधीहरु पढेलेखेका, शिक्षित नै थिए । ती अपराधी अनपढ, सीधासादा मानिस थिएनन् । गाउँका पनि थिएनन् । ती दुवै केटाहरु सहरकै थिए । हामी शिक्षा, संचार, चेतना सबै दृष्टिले सहर र शिक्षितहरुलाई अगाडि देख्छौँ, ठान्छौँ । 

पढेलेखेका, शिक्षित, जान्नेबुझ्नेहरु नै किन समाजमा अनाचार, अपराध र भ्रष्टाचारका बाहक बन्दै गइरहेका छन् ? किन हाम्रा शिक्षितहरुले यस्ता कुरामा चासो दिए ? किन अपराध कर्म खराब हो भन्ने बुझेर पनि आफूलाई सम्हाल्न सकेनन् ? यी प्रश्नहरु पेचिला बन्दैछन् आजको समाजमा । शिक्षा क्षेत्रमा लागेकाहरुका लागि र सरकारका लागि पनि यो सोचनीय बिषय हो ।

देशलाई अधोगतितिर लैजाने भ्रष्टाचारमा संलग्न भएकाहरुको रेकर्ड पल्टाउने हो भने हावाले उडाउने पुल बनाउनेदेखि पीच गरेको दुई दिनमै उप्केर खाल्डाखुल्डी हुने गरी सडक बनाउने प्राविधिक हुन् वा बिरामीलाई अनावश्यक औषधि र अपरेशनको भारी लादेर अनुचित पैसा असुल्ने डाक्टरहरु हुन् सबै शिक्षित नै हुन् हाम्रो बुझाइमा, तर के उनीहरुले आफूले जानेको र बुझेको कुराको सदुपयोग गरे त ? आजको पुस्ता सूचना, संचार र प्रविधिले जति सम्पन्न हुँदै गएको छ नकारात्मकता, कुलत र दुव्र्यसनले पनि त्यतिकै घेरिँदै गएको छ । 

आखिर किन यस्ता काम गर्न उद्दत त शिक्षितहरु ?

जीवन र शिक्षाको सम्बन्ध

हरेक मानिस सजिलोस“ग बा“च्न चाहन्छ, सम्बन्ध विस्तार गर्न चाहन्छ । केही सिकेर आफनो बौद्धिक क्षमता बढाउन चाहन्छ अनि जीवनपर्यन्त अरmले सम्झने छाप छोडेर मर्न चाहन्छ । हाम्रो जीवन सामान्यतः यिनै चार आयामहरुको संयुक्त रुप हो । यी चार आयामहरु जीवनका आर्थिक, सामाजिक, बौद्धिक र आध्यात्मिक पक्षस“ग सम्बन्धित छन् । यिनले हाम्रा चार आवश्यकताहरु– ब“चाइ, सिकाइ, प्रेमपूर्ण सम्बन्ध र सार्थक योगदानस“ग सम्बन्ध राख्दछन् । यी चारवटै पक्षले हाम्रा चार क्षमता भौतिक, बौद्धिक, भावनात्मक र आध्यात्मिक क्षमता विकासमा सहयोग गर्दछन् । त्यसबाट अनुशासन, अन्तर्दृष्टि, भावनात्मक शक्ति र अन्तश्चेतना उजागर हुन्छन् । 

भौतिक र सामाजिक पक्ष जीवनका बाह्य पक्ष हुन् भने मानसिक र आध्यात्मिक पक्ष जीवनका आन्तरिक पक्ष हुन् । बाह्य रुपमा देखिने जीवनका विविध पक्षलाई ऊर्जा दिने, व्यवस्थित गर्ने, निर्देशित गर्ने, सञ्चालन गर्ने काम जीवनका यिनै आन्तरिक पक्षले गर्दछन् । आन्तरिक पक्ष जति परिष्कृत र उन्नत हुन्छ व्यक्ति त्यति नै उदार, शान्त, आनन्दित र प्रेममय हुन सक्छ । यसको अभावमा आवेग, तनाव र कुण्ठाले घर गर्दछ ।
वर्तमान शिक्षा चाहे हाम्रो देशको होओस् वा अमेरिका वा बेलायत वा अन्य कुनै देशको सम्पूर्ण रुपमा मानिसको वाह्य पक्ष (भौतिक पक्ष) लाई सुविधायुक्त र सुखी बनाउने कुरामा केन्द्रित छ । यसले कमाइ खानका लागि आवश्यक पर्ने बौद्धिक खुराक प्रदान गर्न अत्यधिक जोड दिन्छ, केही मात्रामा सीप दिन्छ र्र  भौतिक रुपले सुविधाजनक बनाउनका लागि त्यसको प्रयोग गर्न जोड दिन्छ । 

यसैको परिणामस्वरुप मानिसले भौतिक उन्नति, प्रविधिको विकास तीव्रगतिमा गरिरहेको पनि छ । तर मानिसको जीवन त्यतिले मात्रै समृद्ध हुँदैन भन्ने कुरालाई भने वर्तमान शिक्षाको समग्र प्रणालीले वेवास्ता गरेको छ । जीवनका वाह्य पक्षमा मात्र केन्द्रित भएर भौतिक सम्पन्नता हासिल गर्ने दौडमा आफूभित्रका भाव र भावनाको निरीक्षण गर्ने, आनन्दित र खुसी हुने कलाको ज्ञान आर्जन गर्ने अन्तर्विज्ञानको शिक्षा पूरै ओझेलमा परेको छ । परिणामतः शिक्षितहरुमा जीवनका आन्तरिक पक्षहरु जति उन्नत र विकसित हुनुपर्ने हो त्यति हुन सकेको छैन । तनाव, प्रतिशोध र इष्र्या आजका शिक्षितहरुमा अत्यधिक रुपले बढिरहेको छ । आन्तरिक चरित्र निर्माणभन्दा वाह्य व्यक्तित्वलाई जोड दिनाले मानिसमा हुनुपर्ने सहज मानवीय भावना हराउँदै गएको छ । 

‘विद्या ददाति विनय, विनय ददाति पात्रतात्, पात्रतात् धनमाप्नोति, धनात् धर्म तत् सुखम्’ भन्ने युगाँैदेखिको अनुभवलाई आजको शिक्षाले पूरै वेवास्ता गरेको छ । मानिसमा मानवीय भावना र जिम्मेवारीबोधको स्खलन भइरहेको छ । त्यसैले हाम्रा शिक्षितहरुले जीवनका दुवै पक्षलाई जोड्ने र एकाकार गर्ने कार्य गर्न सकेनन् । त्यसो गर्न नसकेपछि जीवनलाई उन्नत, सफल र आनन्दित बनाउन पनि सकेका छैनन् । माथि उल्ल्खिित चारवटै आयामहरु जीवनको सफलता र सन्तुष्टीका लागि उत्तिकै महत्वपूर्ण आयाम हुन् । यी सबै आयामहरुको पूर्ण सन्तुलनमा मात्र हाम्रो जीवन सन्तुलित रुपले चल्न सक्दछ । यसलाई सन्तुलनमा ल्याउने विज्ञान पनि छ । तर हाम्रो शिक्षामा त्यो विज्ञानलाई पटक्कै महत्व दिइएको छैन । त्यो विज्ञानको आवश्यकताबोध पनि आजका शिक्षितहरुमा विकास गर्न सकिएको छैन । फलतः जीवनका एक वा दुई पक्षको अपाङ्ग जीवन लिएर हिँड्न खोज्दा कुनै न कुनै रुपमा असन्तुलनको शिकार भएका छन् आजका शिक्षितहरु । 

यस्तो अवस्था किन आयो त ? 

अपूरो शिक्षा

शिक्षा ग्रहण गर्ने हाम्रो प्रमुख अंग हो हाम्रो मस्तिष्क । हाम्रा तीन मस्तिष्क छन् । तीनै मस्तिष्क मार्फत् हामी शिक्षा ग्रहण गर्दछौँ । हामीले सिकेका कुराहरु त्यहीँ रेकर्ड हुन्छन् । ती मध्ये देबे्र मस्तिष्क हो तर्क, बुद्धि, गणितको मस्तिष्क, दोस्रो हो दायाँ अर्थात् सिर्जना, कल्पना, उत्प्रेरणा, भावनाको मस्तिष्क । तेस्रो हो मेडुलाअब्लाङ्गटा अर्थात् चेतनासंग सम्बद्ध मस्तिष्क । हाम्रो शिक्षाले देब्रे मस्तिष्कबाट मात्रै शिक्षा ग्रहण गर्न हाम्रा नागरिकहरुलाई सक्षम बनायो जसलाई ग्रहण गर्न तर्क र सूचना भए पुग्छ । त्यसैले हाम्रा शिक्षितहरुको मूल उद्देश्य भयो सूचना संग्रह र त्यसबाट उत्प्रेरणा आयो – जागिर कसरी खाने, धन कसरी कमाउने, जीवीकोपार्जन कसरी गर्ने । जसरी पनि पैसा कमाउने, धनी हुने, प्रतिष्ठित हुने, ठूलो पद पाउने । त्यहाँभन्दा माथिल्ला कुराहरू हाम्रा शिक्षितहरुले जानेनन् । त्यहाँभन्दा माथिल्ला अन्य मानवीय कुराहरू सबै लोप भए । उच्चतम मानवीय भाव र भावनाको विकास गर्ने पद्धती शिक्षामा सामेल गरिएन ।

भनाइ र गराइको बेमेलका शिक्षकहरु

शिक्षा दिने जो व्यक्तिहरू छन्, तिनीहरूको आचरणमा द्वैधता देखिन्छ । यो द्वैधताले गर्दा विद्यार्थीहरु अन्यौलमा छन् । कक्षामा एक कुरा बताइन्छ, शिक्षकको चरित्र ठीक उल्टो देखिन्छ । कुन पत्याउने विद्यार्थीले ? भनेको कुरा पत्याउने कि गरेको ? अलमल हुन्छ । शिक्षकले कक्षामा पढाउँदा चुरोट खान हुँदैन, रक्सी खानु हुँदैन भनेर पढाउँछन् । विद्यार्थीहरू त्यसलाई पत्याइरहेकै हुन्छन् तर जब आफ्नै टोलमा बस्ने सरले कक्षाबाट बाहिर जानसाथ बाथरुमा गएर सट्ट चुरोट सल्काएर सुईंय, सुईंय गर्दै गरेको देख्छ । यो देखेर सानो विद्यार्थी अलमलिन्छ । भनेको कुरा ठीक कि यो देखेको ठीक ? यो व्यवहारबाट विद्यार्थीले बुझ्छ चुरोट खान हुँदैन भनेर पढाउने मात्रै रहेछ । यो खाएपछि ठूलो मान्छे भइन्छ । अनि सरको जस्तै बानी बनाउँछ । चुरोट खानथाल्छ । रक्सी खानु हुँदैन भनेर जो शिक्षकले पढाइरहेका हुन्छन् उनीहरु नै होटलमा बसेर बोतलभरि रक्सी लिएर तनतनी तानिरहेको देखेपछि फेरि विद्यार्थीले सोच्छ खानुपर्ने कुरा चाहिँ यही रहेछ तर भन्न चैँ नखानु है भन्नुपर्ने रहेछ ।   

अब कसरी सुधार ल्याउने ? 

व्यवहारबाट र आचरणबाट विद्यार्थीहरूले जति सिक्छन्, त्यति किताबमा लेखेको कुराबाट सिक्दैनन् । त्यसैले पढाउने शिक्षकको आचरण र व्यवहारले शिक्षामा ज्यादै धेरै महत्व राख्दछ । जुनकुरा अहिलेको समयमा अत्यन्तै दुषित अवस्थामा छ । अहिलेको शिक्षकको पनि रुपान्तरण हुनु आवश्यक छ । उनीहरूलाई शिक्षकबाट गुरु बन्नेतिर प्रेरित गर्न सकिएको छैन । यस्ता व्यक्तिलाई तालीम र साधनामा लगेर सक्षम बनाउन सकिन्छ । घरमा दिइने शिक्षालाई अभिभावकीय शिक्षा मार्फत् रुपान्तरण गर्नु आवश्यक छ । घर सुधार नगरी स्कूल मात्र सुधारेर शिक्षा अपांग हुन्छ । घर नै बच्चाको प्रथम विद्यालय हो त्यसमा कसैको ध्यान पुगेको छैन अहिले । अभिभावकहरु सुनका अण्डा दिने कुखुरी जस्ता मात्र छन् । त्यसलाई परिवर्तन गरेर अभिभावकलाई पनि रुपान्तरण गर्ने शिक्षा दिनु आवश्यक छ । घरमा, समाजमा प्रचलित सामाजिक–साँस्कृतिक शिक्षा र विद्यालय र कलेजमा दिइने सूचनामुलक शिक्षालाई मिलाएर, सुधार गरेर मानवीय शिक्षा बनाउन आवश्यक छ । 
  
हाम्रा तीनवटा मस्तिष्कहरू छन् । देब्रे मस्तिष्कले सूचना ग्रहण गर्ने र त्यसलाई तर्क र अनुभवसँग अबद्ध गरेर सुसूचित हुने काम गर्दछ भने दाहिने पट्टीको मस्तिष्कले चित्रात्मक रुपमा भावनालाई ग्रहण गर्ने, मानवीय संवेदना विकास गर्ने, भावनात्मक रुपमा संवेदनशील बनाउने, आफूभित्र भइरहेका उतारचढाव निरीक्षण गर्ने सूक्ष्मतम क्षमता विकास गर्ने र व्यक्तिलाई सिर्जनात्मकतातिर प्रेरित गर्ने काम गर्दछ । मस्तिष्कको त्यो भाग विकसित गर्ने शिक्षा अहिलेको शिक्षाले दिँदैन । हाम्रो विद्यमान शिक्षाले बाह्य गतिविधिबाट सूचना ग्रहण गर्ने र तर्क र अनुभवमा आधारित काम गर्न आवश्यक पर्ने सूचनाको भारी त हामीलाई बोकाएको छ तर सिर्जनात्मकता, भावना र अन्तर्निरीक्षणबाट आफूभित्र नियाल्ने कला भने प्रदान गर्न सकेको छैन ।  दायाँ मस्तिष्कको उत्खनन गर्ने, त्यसलाई प्रयोग गर्ने कला सिकाउन नसकेकाले हाम्रा शिक्षितहरु बौद्धिक त भए तर अन्तर्विज्ञानको कला नजान्नाले आफूलाई विवेकी, शीलवान्, सिर्जनात्मक, सदाचारी र भावनात्मक रुपमा समृद्ध बनाउन भने सकेनन् । 

परिणामतः शिक्षितहरु जानकार भए शिक्षित हुन सकेनन् । प्रमाणपत्रधारी त भए तर योग्य हुन सकेनन् । विवेक, प्रज्ञा र शिलजस्ता कुराहरु भुल्दै गए । जति बढी शिक्षित त्यति बढी अहंकारी, दुराचारी र अनाचारी पनि हुँदै गए । आफू र आफ्नो भावनालाई निरीक्षण गर्ने त्यस आँखाबाट संसार, समाज र व्यक्तिलाई नियाल्ने कला नजान्नाले कुलत, कुसंस्कार र अनाचारबाट जोगिने आत्मबल सिर्जना गर्न सकेनन् । शिक्षित भएपछि समाजका लागि उपयोगी र उदारणीय बनेर बाटो देखाउने कुरामा शिक्षितहरु नै पछि परे । असन्तुलन, असन्तुष्टी र अपूर्णता रहिरह्यो उनीहरुमा ।  

अबको शिक्षाले अवचेतनको रुपमा रहेको मानिसको दायाँ मस्तिष्कलाई प्रशिक्षित गर्ने शिक्षा समावेश गर्नु जरुरी छ । यसो हुनसक्यो भने व्यक्तिभित्र रहेको कल्पना, भावना, सिर्जनात्मकता, मानवीयपन बढ्नेछ । यतिले मात्रै पनि केही सुधार हुनेछ तर पनि पूर्णता भने हुने छैन । त्यसपछि विशुद्ध आध्यात्मिकताको शिक्षा आवश्यक पर्नेछ जसका माध्यमबाट शिक्षितहरुले आफ्नो अथाह क्षमतालाई उत्खनन गर्न सक्नेछन् । यस्तो शिक्षा योग र ध्यानका विभिन्न विधिहरुमार्फत् दिन सकिन्छ । त्यसका लागि उसले कुनै वाद, धर्म वा सम्प्रदायमा बाँधिनु पर्ने छैन । विशुद्ध मानवीय चेतनाको यात्रामा लाग्ने तत्परता भए पुग्छ । यसो हुन सक्यो भने बल्ल हामी पूर्ण शिक्षित मानिस तयार गर्न सक्नेछौँ । त्यसरी शिक्षित गरिएको व्यक्तिले हिंसा, हत्या त्याग्नेछ, भ्रष्टाचार गर्न डराउनेछ र शिक्षित हुनुको सुगन्ध दिन सक्नेछ । 

Monday, May 18, 2015

भत्केका बस्ती पुनर्जिवित गर्ने र घर बनाउने सम्बन्धमा

अलि ठण्डा दिमागले सोचौँ । भावनामा आएर काम बन्दैन । अहिले घर निर्माणको बहस चलिरहेको छ । कस्ताकस्ता घर बनाउने भनेर सहयोगी, स्वयंसेवक र सुरक्ष संयन्त्रहरु पनि गाउँमा परिचालित छन् । यति र उति घर बनाइदिने भनेर सामाजिक सञ्जालमा आइरहेका छन् । तर अहिले बनाउने घर होइन आश्रयस्थल हो जहाँ मानिसहरु तत्काल टाउँको लुकाउन सकुन् । 

घर भन्नासाथ मानिसले आफ्नो संस्कार, संस्कृति र आर्थिक गतिविधिको अनुकूलता र प्रतिकूलतासँग गाँसेर हेर्छ । छरछिमेक, परम्परा र संस्कार पनि विचार गर्छ । अहिलेको अवस्थामा सामान्य रुपमा घामपानीबाट बच्ने छाप्रो बनाउन सकिन्छ । स्थानीस्तरमा पाइने सरसामानहरु प्रयोग गरेर अस्थायी आश्रयस्थलहरु बनाउने अभियान चलिरहेको छ । यो ज्यादै सह्राहनीय पनि छ । तर यससँगै हामीले अहिले सोच्नुपर्ने केही कुराहरु छन् बुँदागत रुपमा केही उल्लेख गर्न चाहन्छुः

१. हाम्रो भुगोल र बस्तकिा बारेमा यसअघि कुरा उठाउने दुईजना व्यक्ति भए राज्ययन्त्रमा– राजा महेन्छ्र र हर्क गुरुङ । कर्णाली अञ्चलका बस्तीहरु एकीकृत गर्ने र सघन बस्ती बसाउने कुरा ०२७ सालतिर चल्यो । तर त्यसलाई हाम्रो भूमिसम्बन्धी ऐन र प्रचलन अनि सामाजिक संस्कारका कारण कार्यान्वयनमा ल्याउन कठिन भयो । राज्यले आँट गर्न सकेन । 

२. हाम्रो देशमा सार्वजनिक हितका लागि राज्यले जमिन उपयोग गर्न सजिलो हुने गरीभन्दा व्यक्तिले जमिनमाथि आधिपत्य कायम गरेर राज्यलाई निरिह बनाउने गरी कानून बन्यो । सरकारले उपयोग गर्न पनि अनेक झमेला व्यहोर्नुपर्ने भयो । सार्वजनिक हितमा जमिन प्रयोग गर्न अति कठिन छ । व्यवहारिक कानुन बनेन । जमिनमा आधिपत्य व्यक्तिको भयो र राज्य निरिह भयो । सार्वजनिक हितका लागि जमिनको कारण नै धेरै आयोजनाहरु अलपत्र परिरहेका छन् । विद्युत, सिँचाइ, सडकका लागि जमिनको उपयोग र मुआब्जाको प्रश्न सधैँ बाधक भएर गएको छ । त्यसलाई संशोधन गरेर राज्यको हात माथि पार्न सकिएन भने अबको पुनःनिर्माण अझ पेचिलो बन्नेछ । पेचिलो मात्र होइन असम्भव नै हुनेछ । 

३. कहाँ बस्ती बसाउनुहुन्छ, कहाँ बस्ती बसाउनु हुँदैन अनि सरकारले बस्ती बसाउन मिल्ने र नमिल्ने ठाउँ छुट्याउन कहिल्यै अध्ययन गराउने काम भएन । मानिसहरु जहाँ मन लाग्छ त्यहाँ फँडानी गर्ने, घर बनाउने र बस्ने गर्दै गए । बस्ती अत्यन्त अव्यवस्थित र विकास पुर्याउनै नसकिने ठाउँमा बस्न पुगे । भिरालो ठाउँ र विकट ठाउँका बस्ती अहिले मुख्य समस्या बने उद्धार र राहत कार्यमा । 

४. मानिस बस्नुभन्दा त्यसलाई खेती, पशुपालन, जडिबुटी खेतीजस्ता कार्यमा लगाउँदा देशको अर्थव्यवस्थामा ठूलो टेवा पुग्ने पहाडी भुभागमा कसरी व्यवस्थापन गर्ने भन्ने सोचाइको अभावका कारण अहिलेको अवस्था अझ पेचिलो बन्दै गयो विपद्को बेलामा । ज्यादै भिरालो ठाउँमा र अनकन्टर ठाउँमा बस्ती बस्नाले त्यस्ता ठाउँमा सडक, खानेपानी लगायतका सुविधा पुर्याउन जहिले पनि कठिनाइ भयो । त्यसैले निश्चित भिरालोपनभन्दा बढी भिरालो ठाउँमा बस्ती बसाउन रोक्न आवश्यक थियो त्यसले वातावरण पनि संरक्षण हुन्थ्यो बस्ती पनि सुविधाजनक हुन्थे । 

५. जंगल र जमिनलाई प्रमुख स्थान दिएर राजनीतिक पार्टीहरुले सधैँ राजनीति गरे । भूमिको व्यवस्थित प्रयोग र वैकल्पिक प्रयोग हुँदा के फाइदा हुन्छ भनेर कसैले सुोच्ने काम भएन । जबजब राजनीतिक संक्रमण आयो तबतब हाम्रा वनजंगल फँडानी तीव्रभयो र वातावरणको ख्यालै नगरी बस्तीहरु बसे । अहिले त्यही समस्या भएर आएको छ ।

अब के गर्ने ?
भुकम्पपछि देशमा भयावह अवस्था सिर्जना भएको छ । मानिसहरु पाल पनि नपाएर खुल्ला आकासमा रातदिन बिताइरहेको अवस्था छ । यस्तो अवस्थामा छाप्रो भए पनि बस्न मिल्ने आश्रयस्थल बनाउने काम स्वयं घरध्वस्त भएकाहरु पनि लागेका छन् भने राजनीीतक पार्टी र राज्य पनि लागेको छ । यो तात्कालीक कुरा भयो । तर सँगसँगै अहिले बनाउने आश्रयस्थलहरु पनि पानी पर्न थालेपछि बगेर कहाँ पुग्नेहुन् भन्ने भयावह अवस्था पनि छ । जमिन फाटेर धाँजा परेका छन् । लगातारको कम्पनले सुख्खा पहिरो गएको छ । त्यसले जमिन थिलथिलो भएको संकेत गर्छ । त्यसैमा संरचना बनाउँदा ढुक्कले बस्ने अवस्था आउँदैन । अहिले संसारभरबाट विशेषज्ञहरु अध्ययनका लागि आएका छन् । उनीहरुले प्रतिवेदन दिनेछन् । आशा गरौँ यसपटकका तिनीहरुका प्रतिवेदन हाम्रा अधिकारवाला निकायमा मानिसहरुले पढ्ने छन् र के गर्न सकिन्छ भनेर योजनामा लैजाने छन् । 

यसपटकको भुइचालोको शिक्षा र संसारभरका अनुभव हेरेर बस्तीको पुनःसंरचना गरिनु आवश्यक छ । प्रभावित जिल्लाको अध्ययनका आधारमा हिमाली, पहाडी र तराइको भुउपयोगको ढाँचा पुनव्र्यवस्थित गर्नु आवश्यक छ । यो कठिन छ तर असम्भव छैन । बस्ती बसाउँदा जमिनको ढाल, त्यसको भौगर्भिक संरचना र सरकारी सुविधा पुर्याउन सकिने संभावनालाई हेरेर पुनःसंरचना गरौँ । बढी भिरालो भागमा फलफुल, जडिबुटी र उपयोगी जंगल विकासमा ध्यान दिऊँ । सम्भाव्य विद्युत उत्पादन केन्द्र र ड्यामहरु बनाउनुपर्ने ठाउँहरु आँकलन गरेर बस्तीलाई पुव्र्यवस्थित गरौँ । 

उद्योग, कलकारखानाको लागि आवश्यक जमिन छुट्याएर त्यसका लागि पनि योजना बनाउँ । एउटा योजना बनाउँदा अर्को नहेर्ने हाम्रो बानी त्यग्न सकेनौँ भने जतिसुकै लहडी कुरा गरेपनि देश बन्दोरहेनछ । देश बनाउन संकल्प र दूरदृष्टि अनि एकीकृत योजना चाहिन्छ । एकीकृत योजना र दरिलो नेतृत्वको अभावमा कुनै पनि देश बनेको छैन । 

अध्ययन अनुसन्धानबाट जोखिम नदेखिएका ठाउँमा बस्तीको लागि आवश्यक जमिन खाली गरेर मात्र स्थायी बस्तीको लागि सरकारले दिने सुविधा वा राहत दिऊँ । जथाभावी घर बनाउनका लागि अहिले घोषण भएको राहत रकम जनतालाई नबाँडौँ । फेरि पनि अर्को विपत्ती नआओस् भनेर अहिले पनि नसोच्ने हो भने सोच्ने र गर्ने बेला कहिल्यै आउने छैन । 

गाउँमा घरहरु बनाउँदा संसारमा अति नै सर्व सुलभ प्रविधिहरु उपलब्ध छन् । थोरै मात्र वाह्य प्रविधि र सरसामानको प्रयोग गरेर गाउँको काँचुली फेर्न सकिन्छ । त्यसको लागि तलका मेशीन र संरचाना म यहाँ प्रस्तुत गर्दछु । स्कूलहरु, सार्वजनिक संरचनाहरु(गा.वि.स., हेल्थपोष्ट, सैनिकहरु र प्रहरीहरुका क्याम्प आदि) बनाउन भारत, थाइल्याण्ड र अफ्रिकी मुलुकहरुमा यस्तो संरचना विपद्पछि निकै धेरै प्रयोग गरियो र त्यो रुचिकर पनि छ । प्रविधि मानिसको रुचि र व्यवहारिक कुरालाई ध्यान दिएर डिजाइन गरिएको छ । 

शहरमा एक तले घर बनाउँदा करिब रु. ५०० प्रति वर्गफिटसम्ममा बनाउन सकिन्छ भने गाउँमा त्यो भन्दा अझ सस्तो हुनसक्छ । स्थानीय सरसामानको प्रयोग गरी अझ कम लागतमा बनाउन सकिएला । संरचनाको आकार अनुसार लागतमा पनि तलमाथि हुनसक्छ । सुरक्षाका दृष्टिले र वातावरणीय दृष्टिले पनि यो प्रविधि हाम्रो देशको लागि उपयोगी हुनेछ ।