Monday, May 20, 2019

जीवन बदल्ने त्यो छात्रवृत्ति

एसएलसी पास गरिसकेपछि मलाई दुईतीनवटा कुराहरुमा निर्णय लिनुपर्ने अवस्था आयो । त्यतिबेला विवाह गर्ने उमेर सामान्यतः १६।१७ वर्ष थियो । पछि अलि पछि स¥यो । म एसएलसी परीक्षा उत्तीर्ण गर्दा १६ वर्ष लागेको थिएँ । त्यो उमेरका धेरै साथीहरु विवाहित भइसकेका थिए । मलाई पनि घरबाछ विवाहको दबाव बढ्दै गएको थियो । अलिअलि खानलाउन पुग्ने घरका धेरैजसो मेरा दौतरीहरु माष्टरको जागिर र जोडीमा आबद्ध भइसकेका थिए । घरमा यौवनमत्त अर्धाङ्गिनी र हातमा पैसा । दङ्ग थिए ती साथीहरु । घरपरिवार पनि कल्कलाउदो उमेरकी बुहारी भित्रबाहिर गरिरहेकी, छोरो कमाइमा लागेको, गाउँघरमा साहुका रुपमा २।४ हजार आसामी लगाउन पाइएको यस्तो लोभलाग्दो व्यवहार देख्दा त्यसबेलाका अभिभावक मक्ख पर्नु स्वाभाविक नै थियो । मलाई पनि कताकता लाग्थ्यो, यसै गरे पनि के बिग्रला र ?

जीवन कता लैजाने भन्ने महत्वपूर्ण गोरेटो कोर्ने बेला र यौन चञ्चलता एकैपटक प्रकट हुँदा निर्णयको अप्ठेरोमा पर्छन युवाहरु । विवाह, क्यारियर, अध्ययनक्षेत्र छनौट, यौनसाथी, उमङ्ग र उन्माद सबैकुरा यही बेला देखा पर्छन् यस उमेरका युवाहरुमा । 

साँच्चि भन्ने हो भने, जीवनबोध गर्ने, भविष्यको योजना बनाउने, अध्ययनको विषय छनोट गर्ने, आफूलाई आत्मोन्नतितिर बढाउने आदि सबै हिसाबले अत्यन्तै नाजुक समय हो यो । मेरा साथीहरु, दौ“तरीहरु यतिबेलाको  यौनरस, जागिररस, प्रेमरसमा जोजो डुबे, मजा लिए आज ती साथीहरु देख्छु न त अध्ययन अघि बढाउन सके, न त जागिरमा उन्नति गरेर आन्दित हुन सके, न त व्यवसायमा नै अब्बल हुनसके, न त घरव्यवहार, परिवार व्यवस्थिति राम्रो गरेर सुखी र सम्बृद्ध जीवन बाँच्न सके । त्यसबेला त उनीहरु घरपरिवार, नातागोता समाजका साथीभाइका अगाडि हाइहाइ नै भएका जस्ता देखिन्थे तर अहिले जीवनको कसीमा घोटिँदा त्यो अल्पकालीन मोज, ममता र हाइहाइले दीर्घकालीन भविष्यको सफलता त्यसै तुहिएर गएको देख्छु । 

धेरै कुरा विचारेर मैले विवाह र मास्टरको जागिरको प्रस्ताव अस्वीकार गरिदिएँ । परिवारका सबै सदस्यहरुलाई स्नातकसम्म पढ्न दिनका लागि राजी भए । त्यतिबेला मेरो अवचेतनले पढनेबाहेक विवाह र पैसा कमाउनतिर मलाई तानेन । त्यही परिणाम पछिल्ला दिनहरुमा मैले प्राप्त गरेँ । त्यसबेला मसँंगै पढने सहपाठीहरु अस्थायी शिक्षकको जागिरबाटै निवृत्त हुने अवस्थामा छन् । उनीहरुको न त परिवार समृद्ध छ न त सन्तुष्टी नै । 

यसरी मास्टरको सजिलो जागिर र विवाहको कुरा पर सारेपछि बाँकी रहयो अब प्रवीणता प्रमाणपत्र (त्यतिबेला उच्च मा. वि. हरु थिएनन् ) अध्ययन के विषयमा गर्ने भनेर छान्ने कुरा । एस. एल. सी. उतीर्ण गर्नासाथ २।३ जना साथीहरुले पढ्ने विषयका बारेमा सरसल्लाह गर्यौ“ । भविष्यमा राम्रो रोजगारीका लागि कुन विषय उपयुक्त होला भन्ने सल्लाह लिने आफन्त, शुभचिन्तकहरु पनि त्यति थिएनन् । भएकाहरुले पनि सल्लाह त्यति चित्तबुझ्दो दिन सकेनन् । त्यसैले २ जना साथी मिलेर वर्षात्को समय भएपनि काठमाडौ“ं जाने र कलेजहरु बुझ्ने भन्ने निर्णय गरियो । साथी गणेश सापकोटा र म असारको दिनमा जनकपुर हुँदै काठमाडौ“तिर लाग्यौ“ । 

जनकपुरमा केही आफ्न्त र साथीहरु पढ्थे । उनीहरुसँग भेटघाट गरिसकेपछि र उनीहरुका अनुभव सुनिसकेपछि कृषि, वन वा इन्जिनियरिड पढ्न पाइयो भने पढ्ने, अन्यथा साधारण, सजिला विषयहरु लिएर मानविकी पढनकालागि जनकपुरमा नाम लेखाउने निर्णय मैले लिएँ । काठमाण्डौ आएर पुल्चोकस्थित इन्जिनियरिड अध्ययन संस्थान  (त्रि. वि. वि. अन्तर्गत) मा ओभरसियर पढन पाइन्छ कि भनेर बुझ्न गएको त अत्यन्त थोरै संख्या, त्यसमा पनि प्राप्ताङ्कका आधारमा मात्र पढ्न पाइने भन्ने थाहा भएपछि मेरो प्राप्ताङ्कले यो विषय पढन पाउने सम्भावना छैन भन्ने मलााई लाग्यो । 

त्यसपछि हेटौ“डास्थित वन विज्ञान अध्ययन संस्थानमा गइयो । त्यहाँ पनि त्यस्तै कुरा बुझेपछि अब जनकपुर गएर भर्ना हुने भन्ने निर्णयमा दुवैजना पुग्यौ“ं । काठमाडौंबाट फर्कने निधो गर्यौ“ं । त्यतिबेला गाउँकै राजनीतिज्ञ भद्रकुमारी घले  श्रम तथा समाजकल्याण राज्यमन्त्री थिइन् । काठमाडौ“मा उनैकहाँ नै बसेका थियौ“ । एक दिन बिहानै हामी भेटघाट गर्न बैठक कक्षमा बसिरहेका थियौ“, निस्कन लागेकी मन्त्री घलेले भनिन्–  “ए केटा हो जागिर खान्छौ भने खानेपानीमा केही कर्मचारीहरु मागेको छ, म मन्त्रीलाई भनिदिन्छु, निवेदन हाल्ने भए हाल है ।”

मन्त्रीको यो जागिरसम्बन्धी कुराले मेरो साथी गणेशलाई अलिअलि झस्कायो । उनी अलि अक्मकिए तर मैले भने तुरुन्तै जवाफ दिएँ– “यति थोरै पढाइमा जागिर खाएर के गर्नु र दिदी बरु पढनेतिरै लागौ“ जस्तो लागेको छ, जागिर त पछि फेरि पनि पाइएला नि ।”

यति भनेपछि उनले फेरि भनिन्– “गाउँघरका केटाहरु यसो जागिर खान्छौ भने मिलेको छ भनेर भनेको पो त, पढने नै विचारमा छौ भने त राम्रै भो नि त ।”

यति भनेर उनी मन्त्रीको गाडीमा चडेर निस्किन् । हामी पनि जनकपुर फर्कने विचारले एक जना साथीको सहयोगमा साझा बस चढेर बस पार्कतर्फ लाग्यौ“ । त्यसपछि मेरो दिमागमा कहिल्यै अस्थायी जागिरप्रति मोह भएन । पढाइमा होमिएँ । कमसेकम स्नातक उतीर्ण नगरी जागिरमा नअल्झिने मेरो निर्णय रह्यो । काठमाडौ“बाट फर्केर रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा मानविकी तथा सामाजिक शास्त्र संकायमा भर्ना भएँ  । भर्ना त भइयो तर अब कुनकुन विषय पढ्ने भन्ने फेरि निर्णय गर्नुपर्ने  भयो ।

त्यतिबेला शुरुमै सम्पूर्ण विषयहरु निश्चित्त गर्नु पर्दैनथ्यो । केही समय आफ्नै क्षमता पहिचान गरी विषयहरु छान्न पाइन्थ्यो । कुनकुन विषय समूह रोज्न पाउने भन्ने चाहिँ कलेजले तोकिदिएको हुन्थ्यो । केही हप्ता म कहिले कुन विषय त कहिले कुन विषयमा कक्षामा हल्लिँंदै रहेँ । त्यसपछि मैले आफूलाई राम्ररी नियालेँ । मेरो विषयहरुप्रतिको चाख कस्तो छ ? कुन विषयमा म बढी डुब्न सक्छु ? भन्ने विचार गरेँ । अंगे्रजी भाषाको मेरो क्षमता कम भएकाले अनिवार्यबाहेक अंगे्रजी पढ्ने हिम्मत गरिनँ । गणितको मिहिनेतको औचित्य देखिनँ । त्यसपछि बाँकी रहयो अन्य विषय छान्ने कुरा । मेरो लक्ष्य त्यसबेला सहज ढङ्गले स्नातक उतीर्ण गर्ने र स्थायी जागिर खाने अर्थात घुम्ने कुर्सी भएकाले नेपाली साहित्य एउटा छान्ने त्यसपछि इतिहास र भूगोल पढने विचार गरेँ । यो निर्णयले मलाई जीवनमा साह्रै ठूलो काम ग¥यो ।

एस. एल. सी. परीक्षामा नेपाली विषयमा अंगे्रजीपछि सबैभन्दा कम नम्बर आएको रहेछ । गाउँको स्कूल त्यस बेलाको अंगे्रजी पढाउने र पढने परिवेश आदिका आधारमा मलाई त्यसमा त्यति धेरै असन्तोष लागेन । तर आफूले जन्मेदेखि सिकेको, जानेको भनेको नेपालीमा समेत त्यति थोरै अङ्क ल्याएकोमा भने मलाई अत्यन्तै पीडाबोध भयो । मनमनै अत्यन्त ग्लानि पनि भयो । त्यसैले अब प्रथम वर्षमा नै कसरी नेपाली भाषा बोलाइ र लेखाइ दुवैमा उत्कृष्ट बनाउन सकिन्छ भन्नेतिर मेरो ध्यान गयो ।

अंगे्रजीभन्दा पनि नेपाली कसरी राम्रो गर्न सकिन्छ भन्नेमा म पूर्णत चिन्तित र समर्पित भएँ । राम्रो भाषिक मिठास भएका शिक्षकहरुका कक्षामा छानीछानी बस्ने, उनीहरुसँंग हिमचिम कसरी बढाउने ? कसरी ती शिक्षकहरुसँग बढीभन्दा बढी वार्तालाप गर्ने भन्नेमा म ध्यानदिन थालेँ । उठ्ता, हिँड्दा पढ्दा वा फुर्सतको समय हरेक समय शब्द प्रयोग, वाक्य गठन, त्यसको प्रवाह, अनुप्रास आदिमा मेरो तल्लीनता बढ्यो ।

शिक्षकहरुसँग  कसरी नजिक भएर उनीहरुबाट बढी भन्दा बढी भाषिक कला सिक्न सकिन्छ भन्ने विषयमा मेरो उत्सुकता र प्रश्न देखेर सबैजसो शिक्षकहरु मलाई सहयोग गरे । सबैजसो शिक्षकहरुले सल्लाह सुझाव र सहयोग गर्न थाले । अब म कलेज मात्र होइन विदाका दिन र फुर्सतका समयमा कैयौ“ं शिक्षकहरुका घरमा समेत धाउन थालेँ । यसले मलाई उनीहरुको बोल्न शैली, अभिव्यक्ति कला सिक्ने अवसर त मिल्यो नै पारिवारिक घुलमिलले अलि अन्तरङ्ग रुपमा आत्मीय हुने अवसर पनि प्रदान गर्यो । 

कक्षामा म उनीहरुको विद्यार्थी नभएपनि कतिपय शिक्षकहरुले व्यक्तिगत रुपमा पनि मलाई नेपाली साहित्य, भाषा, समालोचना अध्ययनका विविध तरिकाहरु र त्यसको विकासका लागि सरसल्लाहहरु दिएर सहयोग गरे । विशेषत त्यतिखेर मैले साहित्यिक कृतिहरुलाई अध्ययन गर्ने तरिका, समीक्षा गर्ने, समालोचना गर्ने तरिका, तिनको विश्लेषण गर्ने, चरित्रहरुको चित्रण गर्ने, कृति समीक्षा गर्ने र त्यसलाई लेख्दा प्रयोग गरिने भाषालाई कसरी चुस्त, स्पष्ट र सघन बनाउने भन्ने कला सिक्नमा केन्द्रित गरेँं । 

संयोगवश म त्यतिखेर साहित्य अध्ययनमा केही राम्रा भनिएका साथीहरुको सँगतमा रहेँ । उनीहरुसँगको छलफल, बहसले र शिक्षकहरुसँगको अन्तरङ्ग सम्बन्धले मलाई साहित्यको एक जिज्ञाशु विद्यार्र्थीका रुपमा कक्षामा चिनिन मद्दत गर्यो । त्यसबेला मलाई ईश्वर ढुंगेल, लक्ष्मण ढुंगेल, कूलप्रसाद कोइराला, श्याम दाहाल सरले नेपाली विषय अध्ययनमा विशेष निर्देशन र सरसल्लाह दिनुभयो । कूल प्रसाद कोइरालाले हामीलाई कक्षामा नपढाए पनि वहाँको भाषाशैलीको खरोपन, गहन अर्थबोधक शब्दहरुको प्रयोग, प्रस्तुतीकरण र समीक्षा शैलीले मलाई विशेष आर्कषण गर्यो । निकै समयसम्म म उहाँसँग अन्तरङ्ग सम्पर्क र सम्बन्धमा रहेँ । उहाँले मलाई भाषा सुधारका लागि कुनकुन पुस्तक कसरी पढ्ने, त्यसको मुख्य विषयलाई कसरी बुझ्ने अनि आफ्नो लेखनमा शुद्धता, मिठास र प्रवाह कसरी राम्रो बनाउने, विश्लेषणात्मक, विवेचनात्मक लेखनी कसरी बढाउन सकिन्छ भन्ने विषयमा अत्यन्तै मेहनतपूर्वक सिकाउनु भयो । जुनसुकै समय र सन्दर्भमा पनि निर्वाधरुपमा उहाँको निवासमा जाने र सोधपुछ गर्ने सुविधा मलाई थियो । त्यसबाट मैले आफ्नो भाषिक शैली सुधार, शब्दभण्डार विकासमा विशेष काम गर्न सकें । 

विशेषतः मैले यसबेला दैनिक रुपमा राति सुत्नुअघि डायरी लेख्ने गरेँ । त्यसमा दिनभरका घटनाहरु, आफूभित्र उठेका भावनाहरु, पढेका विषयबाट बुझेका कुराहरु लेख्नथालेँ । दैनिक रुपमा कक्षामा पढाइएका विषयहरुसँग सम्बद्ध नोटहरु बनाउने, सम्बद्ध विषयका पुस्तकहरु सकेसम्म त्यही दिन पढने वानी बसालेँ । यसले मलाई विषयको गहनता बुझ्न, त्यसलाई सिर्जनात्मक रुपले भाव ग्रहण गर्न, मुख्य विषय पहिचान गर्न, आफ्नो अभिव्यक्ति तिखार्न र विविध किसिमका भाषाशैलीमा आफ्ना भावना पोख्न, विश्लेषण गर्ने सामथ्र्य विकास गर्न मद्दत पुर्यायो । 

भाषा विकासको यो प्रयत्नमा मैले खासगरी साहित्यिक कृतिहरुमध्ये उत्कृष्ट ठहरिएर त्यसबेलासम्म पुरस्कृत कृतिहरु  (नाटक, एकाड्गी, कविता, खण्डकाव्य, कथा, समालोचना आदि ) सबैजसो सकेसम्म गहिरिएर अध्ययन गर्ने प्रयास गरेँ । साहित्यको अध्ययनले मलाई सामाजिक परिवेशले मानिसमा पार्ने प्रभाव, उसको मनोविज्ञान, मान्छेका चाहना, भावना र प्रकृति बुझ्न मद्धत गर्यो । त्यसलाई एउटा पद्धति अन्तगर्त रही व्याख्या, बिश्लेषण र समीक्षा गर्ने कला समालोचनात्मक ग्रन्थहरुको अध्ययनबाट प्राप्त भयो । यतिमात्र होइन मैले केही लेखकका भाषाशैलीलाई नक्कल गरेर आफ्नो अभिव्यक्तिकला उसको जस्तै बनाउने, सकेसम्म नयाँनयाँ शब्दको प्रयोग गर्ने गरेर एक प्रकारले रोलमोडेल लेखक, समालोचकका रुपमा केही लेखकहरुलाई आफूमा समाहित गर्ने प्रयास गरेँ । यसले मलाई भाषिक अभिव्यक्ति तिखार्न, विषय प्रस्तुतिमा मिठास बढाउन र लालित्यपूर्ण भाषा प्रयोग गर्ने कलामा दखल बढाउन मद्दत गर्यो । 

व्याकरण सुधारका लागि मैले सकेसम्म पुस्तक पढदा नै वाक्य गठन, शब्दको ह्रस्वदीर्घ आदि अत्यन्तै ख्याल गर्ने र आफू निश्चित नभएकोमा तुरन्तै शब्दकोष हेर्ने बानीको विकास गरँें । यसले मेरो एस. एल. सी.को अत्यन्त नाजुक भाषिक क्षमता सुधारमा आश्चर्यजनक ढंगले काम गर्यो । त्यही परिणाम स्वरुप प्रथम वर्षमा नै मैले नेपालीमा १०० मा ७६ अङ्क ल्याउन सफल भएँ । त्यसबेला त्यो प्राप्ताङ्क निकै राम्रो मानिन्थ्यो । 

एक वर्षमा मैले जनकपुरको पुस्तकालयमा भएका प्राय सबैजसो पुरस्कार प्राप्त कृति र समालोचना ग्रन्थहरु पढेर सिध्याएको थिएँ । सङ्ख्याको हिसाबले भन्दा करिव २०० जति नेपाली साहित्यसँग सम्बद्ध पुस्तकहरु पढेर सिध्याएको थिएँ । दैनिक जसो १।२ पुस्तक पढेर सिध्याउनु मेरा लागि त्यतिबेला सामान्य जस्तै भइसकेको थियो । भात खाएर भाँडा माझ्ने काम बाहेक प्रायजसो समय पुस्तकसँगै रमाउँथेँ, पढथे“ र पुस्तक र डायरी सिरानमै राखेर सुत्थेँ । परिणामस्वरुप मैले प्रथम वर्षको नेपाली बिषयको परीक्षामा सर्वाधिक अंक ल्याउन सफल भएँ ।
  
हाम्रो कक्षामा तीन सय पच्चीस जना विद्यार्र्थीहरु अध्ययन गर्थे । बुढानीलकण्ठबाट एसएलसी गरेकादेखि मजस्ता दूरदराजको गाउँबाट उत्तीर्ण गरेका विद्यार्थी थिए हाम्रो कक्षामा । एकसेएक पढन्तेहरु थिए कोही अनि कोह ीभने ज्याकेट कम्बरमा बाँधेर जेठको दिनमा कलेज आउनेहरु पनि थिए । कठोर अनुशासनमा स्कूल पढेकाहरु कलेज छिर्दा फुकेको राँगोजस्ता । प्रथम वर्षको परीक्षा भयो करिब डेढवर्षपछि । चिट चोर्न अहिलेजस्तो छाडा थिएन त्यतिबेला । निकै कडा हुन्थ्यो परीक्षा । साह्रै ठूलो जोखिम लिएर केही बुँदा हेर्न सकिन्थ्यो हातमा लेखिएका वा सानो चिटमा लेखिएका कुराहरु । भेटियो भने सोझै हलबाट बाहिर निष्कासन हुन्थ्यो । 

परीक्षा सकिएको ६ महिनापछि बल्ल नतिजा आयो । मलगायत ५ जना मात्र आई. ए. प्रथम वर्षको परीक्षामा उत्तीर्ण भएछौै“ । ५ जना मध्ये मेरो प्राप्ताङ्क सबैभन्दा बढी देखियो । 

सङ्कायगतरुपमा कलेजबाट सर्वाधिक अङ्क ल्याउने विद्यार्र्थीहरुलाई त्यतिबेला रु ३०००।– (तीन हजार मात्र) वार्षिक छात्रवृति दिने व्यवस्था थियो । सोही व्यवस्था अनुसार मलाई दोस्रो वर्षभर मासिक रु. २५०।–  (दुई सय पचास मात्र) को दरले छात्रवृति प्राप्त भयो । यो छात्रवृति रकमका हिसाबले त्यति ठूलो नभए पनि मेरो जीवन विकासका दृष्टिले भने तीन करोड जस्तै भयो । मेरो छाति गर्वले चौडा भयो, इज्जतले सगरमाथा छोयो अनि सम्मानको आकास फराकिलो भयो । पुरस्कार सानो होस् वा ठूलो शायद यसले गर्ने काम यही नै हो, व्यक्तिको व्यक्तित्व विकास र उन्नतिका लागि भने निरन्तर प्रेरणाको कार्य गर्नु । मलाई पछिल्ला दिनमा बदलिने र सफलताका सिँढी चढ्ने प्रेरणा दिने त्यही छात्रवृत्ति हो जनकपुर कलेजको ।