Sunday, February 16, 2020

हाँसो माग्ने युवती

सियानको टेराकोटा आर्मी हेरिसकेर  बाहिर निस्केपछि रेष्टुराँअगाडि उभिएर मलाई अथ्र्याउँदै उनले भनिन्—
“मिस्टर भण्डारी, म क्षमा चाहन्छु, तपाईंलाई उपयुक्त हुने भोजन यहाँका रेष्टुराँमा पाउनै मुस्किल छ । बल्लतल्ल अलिकति दही, उसिनेको मकै अनि तारेको आलु अर्डर गरेकी छु तपाईंको लागि । अरुलाई समस्या छैन, सबैलाई केएफसीमा चिकेन अर्डर गरेकी छु । भरे चाहिँ सियानकै विशेष खाले साकाहारी रेष््टुराँमा लान्छु तपाईंलाई । अहिले चाहिँ नराम्रो नमानी यही खानुस् ल !”

कुनै मायालु प्रेमिकाले आफ्नो प्रेमीलाई फकाउन गरेको आग्रहभन्दा कम थिएन उनको त्यो आग्रह । शायद विदेशीहरुलाई पाहुनाको रुपमा बोलाएपछि उत्कृष्ट सेवा दिनु र उनीहरुको खानपान र रुचिको मर्यादा राख्नु पहिलो कर्तव्य ठानेकी थिइन् उनले । मैले उनको त्यो आग्रहलाई सहज रुपमा स्वीकारेँ । आखिर अस्वीकार गरेर अर्को विकल्प पनि त थिएन मसँग । उनले हुनेसम्मको राम्रो व्यवस्था मिलाईसकेकी थिइन् ।

“मिस सुन, म यहाँ रुचिअनुसारका भोजनकै लागि आएको होइन, चिनीयाँ सत्कार मलाई थाहा छ । यहाँको खानपान बारे पनि जानकार छु, धेरथोर । तपाईंले गर्न सक्ने जति त गरिसक्नुभयो । आखिर केही घण्टाको त कुरा हो, भोक मेटाउन यति भयो भने पर्याप्त भइहाल्छ, चिन्ता नलिनुस् ।” मैले उनको त्यो आग्रहलाई सामान्य रुपमा लिँदै भनेँ ।

मैले उनलाई सजिलो बनाइदिएँ । उनी मुस्कुराइन् र मतिर फर्केर फेरि थपिन्—“यो समझदारीका लागि धन्यवाद, मिस्टर भण्डारी !” उनले भन्दै गईन्— “यो समूहका केही सहभागीहरु असाध्यै अप्ठ्यारा छन् । खानपिन व्यवस्था मिलाउन साह्रै गाह्रो भएको छ । यो भएन, त्यो भएन भनेर हैरान पारिरहन्छन् । आखिर हामीले पनि रेष्टुराँकै सेवामा भर पर्ने हो, उनीहरुको संस्कार र प्रचलन ठ्याक्कै मिल्ने त कहाँ पाइन्छ र विदेशमा । यो कुरा उनीहरुलाई भनेको भए त कति रिसाउँथे होलान्, तपाईंले त कति सहज रुपमा लिइदिनुभो यो कुरा ! यो महानताका लागि हार्दिक आभार ।” 

फरक रुचिका मानिसलाई व्यवस्थापन गर्नुपर्दाको कठिनाई व्यक्त गरिरहेकी थिइन् उनी मसँग । शायद धेरैथरि संस्कार र संस्कृतिका मानिसहरुलाई एउटा कार्यक्रममा बोलाएर सबैलाई उपयुक्त हुने व्यवस्थापन गर्न निकै कठिन भएको थियो उनलाई । खासगरी अफ्रिका र मध्यपूर्वबाट आएका सहभागीहरु खानपिनमा निकै नै नाकनिक गर्ने र यो भएन त्यो भएन भनिरहन्थे । त्यही पीडा पोखेकी थिइन् सुनले मसँग त्यस दिन ।
......
उन्नत कृषि प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन म चीनको शाङ्सी प्रन्तको सानो शहर याङलिङ पुगेको थिएँ, सन् २०१० को अगस्टमा । उच्च कृषि प्रविधिको ठूलो प्रदर्शनी फार्म रहेको यो शहर उन्नत कृषि, सिँचाइ अनि सुख्खा क्षेत्रमा गरिने खेती प्रणालीसम्बन्धी अध्ययनका लागि चीनकै एक मुख्य केन्द्र मानिन्छ । प्रान्तीय राजधानी शहर सियानबाट केही पश्चिममा अवस्थित यो सानो शहर साँच्चिकै सुन्दर थियो ती सुन युन्नाजस्तै । 

सुन सियान शहरकी बासिन्दा । कृषि इञ्जिनियरिङमा स्नातक गरेकी । अङ्ग्रेजी भाषा पनि निकै राम्रो थियो उनको । त्यसैले उनलाई कार्यक्रमको संयोजक बनाइदिएको थियो आयोजक संस्थाले । उनी कृषि प्रदर्शनी केन्द्रको उपनिर्देशक पदमा कार्यरत रहेको कुरा हामीलाई प्राप्त जानकारी पुस्तिकाबाटै थाहा पाइसकेको थिएँ मैले । पहिलो दिनको परिचय गर्दा नै मलाई उनले नेपालको ह्याप्पिनेस इन्डेक्सको बारेमा चर्चा गरेकी थिइन् । असाध्यै शालीन र फरासिली सुन झलक्क हेर्दा नै आँखा लोभ्याइहाल्ने सुन्दरताकी धनी थिइन् । उमेर, उचाइ, मोटाइ सबै दृष्टिले उनलाई खोट लगाउने ठाउँ थिएन । सबैभन्दा महत्वपूर्ण थियो उनको आतिथ्यभाव, शालिनता अनि मन्दमुस्कान । सधैँ मुस्कुराइरहेझैँ लाग्थिन् उनी । 

चिनियाँहरु नेपालीलाई निकै माया गर्छन् । नेपालीहरुले उन्नति गरुन्, धनी होउन्, आफूले सकेको सहयोग गरौँ र उनीहरुसँग व्यापार र व्यवसाय विस्तार गर्न सकियोस् भन्ने भावना आम रुपमा नै चिनियाँहरुमा पाएको छु मैले पटकपटक चीन जाँदा । यसमा उनीहरुको पनि व्यापारिक स्वार्थ लुकेको होला तर त्यसभन्दा ठूलो थियो उनीहरुको उन्नति र प्रगतिको कामना । यिनीहरु धनी भए भने, धेरै खर्च गर्ने क्षमता बनाए भने छिमेकीको नाताले हामीलाई पनि फाइदा हुन्छ भन्ने भावना मैले आम चिनीयाँहरुमा पाएको छु । 

“पश्चिमा देशहरु सहयोग गर्दा दवाब र प्रभाव प्रयोग गर्छन् हामी अगि बढ्न र उन्नति गर्न सहयोग र प्रेरणा जगाउने गर्छौं” भन्ने गर्थे चिनियाँ युवाहरु मसँगको कुराकानीमा । सुनलाई मैले धेरै पटक चीनको यो भावना बारे कुरा गरेको थिएँ । उनले यसमा चीनको मनोविज्ञान कस्तो छ भनेर लामो दार्शनिक व्याख्या नै गरेकी थिइन् । उनले भनेकी थिइन्— “चीनियाँ सभ्यता जमिनमा हुर्केको सभ्यता हो समुद्री किनारमा हुर्केको सभ्यता होइन । जमिनमा हुर्केको सभ्यताले अरुलाई प्रभाव र दबावमा विश्वास गर्दैन, समुद्री किनारको सभ्यतामा हुर्केकाहरुले जहिले पनि अरुलाई आधिपत्यमा राख्न खोज्छन् । त्यसैले पश्चिमाहरु धाक, धम्की र आधिपत्यबाट आफ्नो प्रभाव विस्तार गर्न चाहन्छन् तर चीन त्यसो गर्दैन । ऊ त्यहाँका मानिसको मन जितेर प्रभावित पार्न चाहन्छ ।” 

लामो समयको (करिब ३ हप्ताको) बसउठकै कारणले होला उनीसँग मेरो कुराकानी अलि बाक्लै हुन्थ्यो अन्य देशका सहभागीहरुसँगभन्दा । छिमेकी हुनुको फाइदा पनि थियो कि, यसै भन्ने सकिन्न तर निकटता अलि बढी नै थियो हाम्रो । त्यति खुलेर कुरा गर्ने परिवेश त्यसैले बनेको थियो ।
....... 
“देश गरिब भए पनि नेपालीहरु कसरी त्यति आनन्दित हुन सकेका ! कति खुलेर हाँस्छौ हगि तिमीहरु !” हाम्रो खुसी र हाँसोको ईष्र्या गर्दै एक दिन उनले मलाई भनेकी थिइन् । 

“हाँस्न र आनन्दित हुन पनि पैसा चाहिन्छ र ?” मैले उसलाई प्रश्नमै जबाफ फर्काएको थिएँ । उनी मेरो कुरा सुनेर निकै गम्भीर भएकी थिईन् । 

“हामीलाई त त्यसरी खुलेर हाँस्नै अप्ठ्यारो लाग्छ । चिनियाँहरु त तिमीहरु जसरी हाँसेको मैले कहिल्यै देखेकी छैन । जहिल्यै, पैसा, व्यापार, कमाइ यस्तैयस्तैको बोझले थिचिएका छौँ हामी चिनियाँहरु ।” एउटा गाउँको भ्रमण गर्न जाँदै गर्दा बाटोमा उनले मलाई भनेकी थिईन् । उनका यी शब्द ओठबाट मात्र होइन हृदयबाटै निस्केका थिए । मैले निकै पटक चर्को स्वरमा बाझैझैँ गरी कुराकानी गर्ने चिनियाँहरुको समूह त देखेको थिएँ तर गलल्ल दिल खोलेर हाँसेको भने देख्न पाएको थिइनँ । सधैँ गम्भीर, सधैँ चिन्तित जस्ता लाग्थे मलाई चिनियाँहरु । मन्द मुस्कान आक्कलझुक्कल देखिए पनि उन्मुक्त रुपमा हाँसो ननिकाल्नु शायद चिनियाँहरुको संस्कार नै होला । शायद चीनमा दिल खोलेर हाँस्ने चलन नभएर नै होला त्यहाँको साहित्यमा पनि हाँसोको चर्चा कमै पाइन्छ ।  

“हाँस्न बिर्से पनि संसारलाई खुसी दिँदैछन् चिनियाँहरुले सस्ता सामान बनाइदिएर । अरुलाई हँसाउँदा आफैँ हाँस्न बिसेका पो हुन् !” मैले ठट्टा गरेको थिएँ सुनसँग । 

त्यो दिनदेखि मसँग मिस सुन अझ नजिक भएकी थिइन् । घरिघरि भन्थिन्— “मिस्टर भण्डारी, तपाईंको हाँसो ओठबाट होइन दिलबाट निस्केझैँ लाग्छ मलाई । मलाई यसरी हाँस्न कस्तो मन लाग्छ तर फेरि ....।” उनी बीचैमा रोकिन्थिन् भन्दाभन्दै । शायद उनलाई हामीजसरी दिल खोलेर हाँस्न अप्ठ्यारो लाग्थ्यो । अरुले के भन्लान् भन्ने पनि लाग्दो हो शायद । म जबजब उन्मुक्त रुपमा हाँसेको हुन्थेँ, उनी ईष्र्यालु आँखाले हेर्थिन् मलाई अनि फिस्स मुस्कान फाल्थिन् केही भनेझैँ गरी । मलाई लाग्थ्यो उनी हाँस्न सिक्तैछिन् । 

हाँस्ने मान्छे निरोगी हुन्छ, खुसी हुन्छ भन्छन् जापानीहरु । त्यसैले संसारकै खुशी मानिन्छन् जापानका मानिसहरु अनि दीर्घजीवि पनि छन् उनीहरु । चिनियाँहरुलाई अध्यक्ष माओले युद्धकालमा आह्वान गरेका थिए, सजग हुन तर उनीहरुले सजगतालाई गम्भीता भनेर बुझे क्यार भन्ने अनुमान छ मेरो । त्यही भएर उनीहरुमा गम्भीरता ज्यादा र हल्कापन कम पाउँछु म । नहाँस्नेहरुको मुख पनि सानो हुन्छ भन्छन् शरीर विज्ञानका ज्ञाताहरु । चिनियाँहरुको मुख पनि सानो हुन्छ, शायद नहाँसेर पो हो कि ! 

मैले सुन युन्नालाई धेरै पटक पढ्ने प्रयास गरिरहन्थेँ भेट हुँदा । अनेक पटक मैले उनको अनुहारमा हल्का मुस्कान देखेको थिएँ । फिस्स मुस्कुराउँथिन् उनी । उज्यालो र हँसिलो अनुहारमा सधैँ तरोताजा र ऊर्जावान् देखिने सुनको स्फूर्ती सबैलाई लोभ्याउने खालको थियो । बिहान ८ बजे नै हामीसँग आइपुग्ने सुन राति १० बजेसम्म हामी बसेको होटलमै हुन्थिन् । घरमा केही कामै हुँदैनझैँ गरी आफ्नो जिम्मेवारीमा तल्लीन रहने त्यो युवतीको घरायसी जीवन कसरी व्यवस्थापन हुन्छ होला ? मलाई भित्रभित्रै खुलदुली भइरहन्थ्यो । 

उनी जस्तो अनुहार लिएर बेलुका हामीसँग छुट्टिन्थिन् भोलिपल्ट भेट्ता त्यस्तै अनुहारमा हुन्थिन् । मानौँ उनी रोबोट हुन्, सधैँ एकैनास रहिरहने । ढिलोचाँडोको वास्ता नगरी आफ्नो जिम्मेवारी पूरा गर्न रत्ति पनि नचुक्ने त्यो चीनियाँ युवतीको ऊर्जा कहिलेकाहीँ म आफ्ना देशका कर्मचारीहरुको अवस्था र कार्यशैलीसँग दाँजेर हेर्थे । दशथरि वहाना बनाएर नथाक्ने, मौका पायो कि कामचोर बनिहाल्ने हाम्रा कर्मचारी अनि बिहान आउँदाको अल्छिपन, हतारो । छिटो कार्यालयबाट निस्कन पाउँदा ठूलो विजय प्राप्त गरेझैँ ठान्ने हाम्रा कामदार र कर्मचारीहरु कहिले होलान् सुन युन्ना जस्ता ? मेरो मन चीनबाटै नेपालका अफिसका कर्मचारीहरु पढ्न आइपुग्थ्यो । अनि मन बुझाउँदै सोच्थेँ, एक दिन त यस्तो नभई सुख्खै छैन । अवश्य हुन्छ । यही आशाले मलाई सुन युन्नाको अनुहारमा देखिने सन्तुष्टि, कर्मठपन र आन्तरिक ऊर्जालाई सम्मान गर्न बाध्य बनाउँथ्यो । 

म मनमनै सोच्थेँ, — “हामी धेरै हाँसिसक्यौँ । हामी धेरै खुशी भइसक्यौँ । त्यसैले हामी अब खुशीसँगै सुनजस्तै जिम्मेवार बन्नु छ । उनीजस्तै ऊर्जावान् बन्नु छ हामी पनि । किनकि खुशी हुँदाहुँदै कहीँ हामीले तिम्रो जस्तो कर्मठता नै पो भुलेका हौँ कि ! अनि तिम्रो जस्तो कामप्रतिको इमान र लगाव नै भुलेका हौँ कि ! त्यसैले मलाई तिम्रो जस्तो काम गर्ने प्रेरणा, ऊर्जा र साहस देऊ, म तिमीलाई हाँसो उपहार दिएर जान्छुु ।”
.......
समयको चक्र स्थिर कहाँ हुन्छ र ! सुन र मेरोबीचमा पनि त्यो चक्र स्थिर भएन, चलिरह्यो निरन्तर । समयचक्रले मेरो घर फर्कने दिनको गोरेटो बनाउँदै गयो, सुनको भने त्यहीँ स्थिर गरिदियो । बिहानै उत्साह बोकेर आउनु, जिम्मेवारी पूरा गर्नु र अतिरिक्त समयसम्म बसेर सबै कुराको व्यवस्थापन गर्नु उनको दिनचर्या थियो । 

फर्कने दिनहरु नजिकिन थाले । आपसी माया र प्रेमको झोली भरिँदै थियो सबैको मनमा । त्यो भारी मनको झोलामा शाङ्सी बसाइका तीन हप्ताका सम्झना अटेसमटेस भएर कोचिएका थिए । त्यो झेली कसैले एसियाभरि लिएर जाँदै थिए त कसैले अफ्रिकाभरि । म भने उनी उता म यता भनेझैँ नजिकैको हिमालवारी फड्को मार्ने तयारीमा थिएँ । छुट्टिने दिनगन्तीसँगै सुन युन्नाको हँसिलो र कर्मठ अनुहाुर, मेरो हाँसोप्रति उसको लोभलाग्दो नजर, उसको त्यो जिम्मेवारीबोधले भरिएको ऊर्जाको छविचित्र, विनम्रता र आतिथ्यको न्यानोपनले मेरा पाइला र हृदय दुवैलाई भारी बनाउँथ्यो । म चाहन्थेँ म सुनलाई नजिक देखिरहूँ, हाँस्न सिकाइरहूँ । अनि सबैभन्दा गह्रौँ उसका ती अभिव्यक्तिका उपहारले सधैँ घेरिईरहूँ, उनको सुन्दरताको छहारीमा रमाइरहूँ तर सोचेजस्तो त कहाँ हुन्छ र जीवन ! बिदाइको गह्रौँ भारीसाथ म हिमालवारि फर्कने सुरसार गर्दैथिएँ । 

बिदाइ भोजको बेला मनजिकै आएर बसिन् सुन । सँगै बसेर हाँस्तै खाना खायौँ हामीले । खाना खाइसकेपछि मलाई सानो उपहार दिँदै भनिन्— “यो सानो उपहार सम्झनाको लागि अनि सबैभन्दा बढी त तपाईको त्यो मुक्त हाँसोको लागि ....। म तपाईंको हाँसो सिक्न चाहन्छु ।”

त्यसपछिको सम्वाद शब्दभन्दा पर थियो, आँखामा जुधिरहेका आँखाले भनिरहेका थिएँ भित्री मनका कुरा । 
छुट्टिँदै गर्दा अनारदाना खोलेर मेरो हाँसो सपटी लिएर उनले भनिन्— “मिस्टर भण्डारी, तपाईंको उन्मुक्त त्यो हाँसो मलाई साह्रै मन पर्यो, सक्नुहुन्छ भने मलाई छाडेर जानुस् है ! म यो हाँसो चिनियाँहरुलाई नेपालको उपहार भनेर बाँड्नेछु ।” 

मैले त्यतिबेला ऊसँग आँखाको सम्वाद पनि गर्न सकिनँ । आँखा र हृदयमा एकसाथ उर्लिरहेका कोशी र कर्णाली सँभाल्दै मैले हिमाल नाप्ने पाइला अगि बढाएँ । अलि पर पुगेर हेर्दा सुन युन्ना मेरो हाँसो सापटी लिएर मतिरै फर्कारहेकी थिइन्, म भने उनको सम्झनाका गह्रौँ पाइला उचालेर ट्याक्सीतिर बढाइरहेको थिएँ । 
.......
करिब एक वर्ष कट्नै लाग्दा एउटा इमेल आयो सुनको, छोटो समाचारसहितको । उनले लेखेकी थिइन्— “मेरी एउटी छोरी जन्मेकी छे । उसलाई तपाईंसँग सापटी लिएको हाँसो हस्तान्तरण गर्ने प्रयास गर्दै छु । आशा छ तपाईंको हाँसो उसले सिक्ने छ । उही, सुन युन्ना ।”

इमेल पढिसकेपछि घोरिएँ, हाँसो माग्ने युवती हाँसो फर्काउँदै छ मलाई नै । मज्जाले हाँसे फेरि एकपटक सुन युन्नासँग बिताएको शाङ्सी बसाइका पत्र पल्टाउँदै र छोटो प्रत्युत्तर इमेल पठाइदिएँ हाँसोयुक्त इमोजीसहितको । 
२०७६।११।४