Tuesday, June 18, 2013

युवावस्था र जरुरी, मनोरञ्जन र महत्वपूर्णको जटिलता


युवावस्थाका जीवन परिवर्तनकारी तीन पक्ष छन् — पढाइ, परिवार र पेशा । यी तीन पक्षको ठीकसँग छनौट र व्यवस्थापन गर्न सकिएन भने मानिसको जीवन न त समृद्ध हुन सक्दछ न त उन्नत, आनन्दित र सुखी नै हुन सक्दछ ।

अध्ययन, सिकाइ र समृद्धि  

अध्ययनको बिषय (औपचारिक, अनौपचारिक) आफ्नो पेशागत भविष्यसँग सम्बन्धित हुन्छ भने परिवार र पेशा जीवनको खुशी र आनन्दसँग सम्बन्धित हुन्छन् । एक प्रकारले भन्ने हो भने अध्ययनलाई हामी जसरी बढाउँछौँ, बिषय जे जसरी र जस्तो छनौट गरी अध्ययन गर्दछौँ हाम्रो भविष्य निर्माण त्यसले नै निर्धारण गर्दछ । जीवनलाई प्रेरणा दिने, सही र उन्नत सोच, चिन्तन र भावना तयार गर्न सहयोग गर्ने गरी आफ्नो अध्ययनलाई औपचारिक, अनौपचारिक माध्यमबाट अगाडि बढाउन सक्यौँ भने हामी आफ्नो विचार, भावना र चेतनालाई विस्तारै माथि उठाउन र सफलतातिर बढ्न सक्दछौँ । पढ्न चाहेको बिषय एउटा, आफूभित्रको प्रतिभा अर्कै अनि अध्ययन क्षेत्र चाहिँ त्यसभन्दा भिन्न भयो भने जीवनमा सफलता हासिल हुनसक्ने कुरै हुँदैन ।

अब प्रश्न आउँछ के जीवनको सफलताका लागि विद्यालय वा विश्वविद्यालय शिक्षा अनिवार्य नै हो त ? वा बिषय बिशेषको उच्च पढाइले मात्र मानिसले सफलता हासिल गर्न सक्छ त ? आफ्नो प्रबल इच्छा वा पेशागत दक्षताका क्षेत्रतिर लाग्यो भने के होला ? यो सम्बद्ध देश र समाजको अवसर र व्यक्ति आफूभित्रको प्रतिभा र त्यो प्रतिभालाई उत्खनन गर्ने आफूले बनाएको जीवनदृष्टिसँग सम्बन्धित बिषय हो ।

आफूलाई चाख भएको र अवसर भएको क्षेत्र छानेर त्यसमा तल्लीन हुन सकियो र जीवनको रहस्यलाई बुझ्ने शिक्षा प्राप्त गर्न सकियो भने औपचारिक विद्यालय वा विश्वविद्यालय शिक्षा मात्रै जीवन सफलताको कारक भने होइन । तर मुख्य कुरा पढ्नै नपर्ने रहेछ भनेर कुनै अल्छ्यिाईंबस आएको लहडमा पढाइलाई छोड्ने र कुनै गहन इच्छाको काममा जीवन समर्पण गरेर लाग्न पनि नसक्ने मानिस भने घरको न घाटको हुनसक्छ । हेर्नुपर्ने मुख्य कुरा चाहिँ आफूभित्रको गहन चाहना र आफूले पढेको बिषय वा अध्ययनको बिषयका बीचमा उचित तालमेल बनिरहेको, आफू रमाइरहेको र निरन्तर भित्रैबाट उर्जा प्राप्तभइरहेको छ कि छैन भन्ने नै हो । यदि त्यसो हुन सकेको छ भने एक न एक दिन आफ्नो लक्ष्यमा पुग्नसक्ने सफलता हासिल हुनसक्ने संभावना हुन्छ अन्यथा अल्छिबस त्यसलाई छोडिएको रहेछ भन्ने बुझ्नु पर्दछ ।

संसारमा यस्ता पनि मानिसहरु छन् जसले स्कूलै नदेखे पनि संसारका लागि धेरै महत्वपूर्ण काम गर्न सके र आफ्नो जीवन सफल बनाए । थोमस एल्बा एडिसनलाई मन्दबुद्धिको विद्यार्थी भनेर शिक्षकले विद्यालयबाट निकालिदिए । उनको शिक्षादीक्षा आमाले घरमै पूरा गराइन् । उनी सिर्फ तीन महिना स्कूल गएका थिए तर संसारमा सबभन्दा बढी आविष्कार गर्ने व्यक्ति उनै भए । यस्तै कहानी छ हेनरी फोर्डको पनि । हेनरी फोर्ड पनि औपचारिक शिक्षा धेरै आर्जन गरेका मानिस होइनन् तर उनको सफलता आज पनि संसारका मानिसका लागि प्रेरणाको स्रोत बनिरहेको देखिन्छ ।

विवाहः व्यक्तिबाट संस्थागत जीवनतर्फको पाइलो  

विवाहको कुरा त्यतिकै महत्वपूर्ण छ जीवनको सफलताका लागि । आफ्नो चाहना, भावना, जीवनशैलीसँग मिल्ने जीवन साथी पाउनु वा मिल्नु हरेक सफलतम व्यक्तिको जीवनमा देखिने सफलताको प्रमुख कारक तत्व रहेको देखिन्छ । विवाहपछिको जीवन व्यक्तिको जीवन नभएर त्यसले एक संस्थाको रुप लिने भएकाले विवाह पछि दुवैजनामा एकअर्काप्रति विकसित हुने प्रेम, समर्पण, एकअर्काप्रतिको विश्वास, आपसी सरसहयोग आदि जस्ता कुराहरुले नै जीवनमा एकअर्काले प्राप्त गर्ने सफलता निश्चित हुन्छ ।

विवाहपछिको पारिवारिक जीवनमा असफल, असन्तुष्ट र असहयोग पाएको मानिसले जीवनमा सफलता पाउने संभावना निकै नै कम हुन्छ । त्यसैले विवाह गर्नु भनेको जीवनलाई एक मोडबाट अर्को मोडतर्फको यात्रामा लैजानु हो, जीवनलाई संस्थागत गर्नु हो । संसारको समग्रताको एक सानो प्रतिरुप हो परिवार । प्रिन्सेस डायना भन्छिन्— संसारको सबभन्दा महत्वपूर्ण कुरा हो परिवार । संसारका मानिसहरुमा हुने विचार, भावना, समस्या, प्रतिरोध, अवसर सबै साना वा ठूला रुपमा हरेकको परिवारिक जीवनमा आउने गर्दछन् । परिवार मानिसको जीवनमा आवश्यक पनि छ तर त्यसको पूर्णचित्र बिना नै गरिने विवाहले भने हाम्रो जीवनको खुशी र आनन्दलाई नै टाढा धकेलिदिन सक्दछ । किन यसो हुन्छ ? भन्ने विषयमा सोपेनहावरको भनाइ छ — विवाहले मानिसको आफ्नो अधिकारका साथसाथै जिम्मेवारीलाई पनि दुईगुणा बढाइदिन्छ । यो कुरा नबुझीकन बिना तयारी गरिने विवाहले जीवन बोझिलो हुन्छ, आनन्द, प्रेम र सन्तुष्टी दिँदैन ।

नेपाली समाजमा अधिकांश युवाहरुको विवाह अभिभावकको चाहना र प्राथमिकता अनुरुप हुने गरेको छ । विवाह के हो ? यो के का लागि गरिन्छ ? कस्तो जीवनसाथी मलाई आवश्यक छ ? जीवनसाथी र परिवार के हो ? विवाह पछिको मेरो क्यारिअरमा यसले के फरक पार्दछ ? विवाहपछिका मेरा दायित्व र कर्तव्यहरु कस्ताकस्ता हुन्छन् ? यसले जीवनको सफलता र आनन्दमा के र कसरी असर पार्दछ भन्ने जस्ता प्रश्नहरुको मनन नै नगरी लहडको भरमा,  अरुको सल्लाह र प्राथमिकतामा वा यौनको भावनात्मक आवेगको अवस्थामा छनौट गरिएको साथी र गरिएको विवाहले धेरै युवाहरुको वैवाहिक जीवन धरापमा परेको, जीवन अलमलिएको र तनावका कारण पारिवारिक हिंसा बढाउने गरेको पाइन्छ ।

प्रेम विवाह होस् वा आयोजित विवाह जुनसुकै विवाह गरे पनि यी माथि चर्चा गरिएका प्रश्नहरुमा मन्थन गरेर र छनौटका उचित विकल्पहरु मन्थन गरेर यदि विवाह गरिएको छ भने त्यसले वैवाहिक जीवनपछिको जीवनलाई सकारात्मक उर्जा दिन सक्दछ । यी कुराहरु विचार नै नगरी गरिएको विवाहले जीवनमा चाहेको र पाएकोमा फरक ल्याउन सक्दछ र वैवाहिक जीवन एक प्रकारले बोझ बन्दै जानथाल्छ । समान किसिमको मानसिक, भावनात्मक र चिन्तन भएका जोडीहरुको विवाह पछिको जीवनले बढी उर्जा प्राप्त गर्न सक्ने गरेको पाइन्छ भने त्यो नमिल्ने गरी जोडिएको विवाह धरापमा पर्ने वा निकै अप्ठ्यारो सँग चल्ने गरेको देखिन्छ ।

विश्वका अधिकांश सफल पुरुषहरुको जीवनलाई हेर्ने हो भने त्यसको पछाडि प्रेमपूर्ण महिलाको हात रहेको देखिन्छ । महिला छ भने पुरुषको सकारात्मक सहयोग र भावनात्मक एकताका कारणले उसले त्यो सफलता हासिल गरेको पाइन्छ । त्यो उत्प्रेरणादायक व्यक्ति यदि जीवन साथी हुन सकेको छ भने त झनै प्रगति र उन्नतिको उर्जा शक्तिशाली हुने गरेको पाइन्छ । त्यसैले एउटा भनाइ पनि छ कि सफलताको शुरुआत आफ्नै परिवारबाट हुन्छ । जो व्यक्ति आफ्नो परिवारमा सफल हुन सकेको छैन त्यो व्यक्ति समाज, देश र संसारमा सफल हुने कमै संभावना हुन्छ । अपवाद वाहेक ती व्यक्तिहरु सफल हुने गरेको पाइन्न जो परिवारमै असफल छन् । त्यसैले पप जोन पल द्वितीय भन्छन् — जसरी परिवार चल्दछ, त्यसरी नै नै देश चल्दछ, जसरी देश चल्दछ त्यसरी नै हामी बाँचेको संसार चल्दछ ।

त्यसैले विवाह एउटा सामाजिक कार्य मात्र होइन यो आफ्नो व्यक्तित्व निर्माणको, जीवन विकासको, सफलताको र छनौटको स्वतन्त्रताको मानवीय शक्तिलाई चिन्ने र सही उपयोग गर्ने एउटा महत्वपूर्ण अवसर पनि हो । त्यसमा उचित विकल्पको छनौट गर्ने आफ्नो शक्ति चिन्न ढिलो गर्यौँ वा अरु कसैको प्रभाव र सल्लाहमा परी आफूभित्रको छनौटको स्वतन्त्रतालाई अनदेखा गर्यौँ भने त्यसले हाम्रो जीवनलाई नराम्ररी असफलता, तनाव र छटपटीमा पुर्याइदिन्छ ।

कृषिमा आधारित अर्थतन्त्र भएकाले काम गर्ने मानिस घरमै भएमा किफायती हुने हुनाले छोराहरु बाहिर गएर काम गरे पनि बुहारीहरु त घरमा हुन्छन्, काम सघाउँछन् भन्ने ग्रामीण अवधारणाले हाम्रो समाजलाई छाडेको छैन । १६।१७ वर्ष काटेपछि विवाहको कुराकानी चल्ने र विश्वविद्यालय वा उच्च माध्यमिक तहको पढाइ पनि त्यति नै बेला आइपर्ने कारणले अधिकांश युवाहरु अध्ययनलाई प्राथमिकता दिने कि विवाहलाई भन्ने विषयमा अति नै अलमलमा निर्णय लिने गरेको पाइन्छ ।

यौनको बढ्दो चाहना, विपरित लिङ्गप्रतिको तीव्र आकर्षणको आवेगको यो समय होश भन्दा पनि जोश र आवेग बढी हुने समय हो । यसबेला हाइस्कूल शिक्षा उत्तीर्ण गरिसकेको र कलेजको शिक्षा आरम्भ गर्नुपर्ने अवस्थामा रहेका युवाहरु अत्यन्त नाजुक मानसिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । यदि स्कूल शिक्षामा नै अनुत्तीर्ण भई केही समय रोकिनु पर्ने भयो भने र ग्रामीण परिवारमा जन्मेको छ भने त यो बेला युवाहरुका लागि झनै संकटपूर्ण हुन्छ । त्यसबेला अव अभिभावकले पनि धैर्यता र साहसका साथ असफलतालाई सामना गर्ने हौसला र प्रेरणा दिनुपर्ने हुन्छ । तर युवा मनोविज्ञानको जानकारीका अभावमा असफलता प्रति उल्टै निराशाजनक कुराकानी गर्ने र हीनता बढाउने काम गर्नाले उनीहरुको मनोवैज्ञानिक साहस र उत्साहमा कमी आई अभिभावक, नातेदारहरुको सल्लाहमा आफूलाई ढाल्दै जानु पो पर्छ क्यार भन्ने भाव विकास भई निर्णयको आफ्नोपन विस्तारै कमजोर हुनथाल्छ । परिणामतः छनौटको स्वतन्त्रताको अनुभव र अनुभूतिबाट आफू परतन्त्र हँुदै गएको, आफ्नो स्वतन्त्रता कुण्ठित भएको अनुभव ती युवाहरुले गर्नथाल्दछन् ।

महिलाहरुको हकमा त यो अझ बढी लागू हुन्छ । विद्यालय शिक्षामा असफल भएका केटीहरुका लागि त अभिभावकका लागि सबैभन्दा सरल उपाय हुन्छ छिटो विवाह गरिदिनु । हौसला र आगामी दिनमा त्यसबाट सिक्नुपर्ने शिक्षाका बिषयमा सम्झाएर उनीहरुलाई मानोवैज्ञानिक रुपमा सबल बनाउने र भावी दिनका लागि त्यसबाट सिक्ने प्रेरणा दिने भन्दा पनि तत्काल उपलब्धि हासिल गर्न नसकेको कुरालाई भावी अयोग्यताको रुपमा लिई उनीहरुको छनौटको स्वतत्रताको शक्ति नै अन्त्य हुने अवस्था बन्न थाल्दछ । त्यसबेला उनीहरु सँग या त सानो भए पनि काममा लाग्नु अनिवार्य हुन्छ भने या त विवाहको स्वीकृतिमा टाउको हल्लाउनुपर्ने अवस्था हुन्छ ।

छनौटको स्वतन्त्रता र युवावस्था

जीवन विकासका यी अत्यन्तै महत्वपूर्ण तीनै पक्ष विद्यालय शिक्षा पछि लगभग एकैसाथ आइपर्दछन् । आफ्नो दीर्घकालीन लक्ष्य र उद्देश्यसँग यसलाई गाँसेर हेर्न र त्यस अनुसार व्यवस्थापन गर्न सकिएन र छनौटको स्वतन्त्रतालाई प्रयोग गरी उचित निर्णय लिन सकिएन भने आफूले चाहेको र पाइरहेको कुराको बीचमा बेमेल सिर्जना हुन्छ र जीवन नै एक किसिमले धरासायी हुन सक्दछ ।

यही बेला हो युवाहरुको जीवन लक्ष्य पहिचानको बिशेष क्षमता विकास गर्ने, परिवर्तन गर्ने र व्यवस्थापनका नयाँ तरिकाहरु पहिल्याउने बेला । यो समय नै जीवनको जगहाल्ने नाजुक समय हो । यसबेलाका निर्णयले नै छनौटको वास्तविक शक्तिको प्रयोग ठीकसँग गरियो कि गरिएन भनेर आफूलाई बुझ्न सकिन्छ । यसबेला आफ्नो अन्तिम लक्ष्यसँग तत्कालको समस्या र नाजुक अवस्थाबाट पारपाउने क्षमता र दृष्टि विकास गर्न सकिएन, दुख, पीडा र असफलताको अवस्थालाई शिक्षामा रुपान्तरण गर्न सकिएन भने न त आफूले चाहेको अन्तिम लक्ष्यतिर बढ्न सकिन्छ, न त मध्यकालीन लक्ष्यमा सफलता हासिल नै गर्न सकिन्छ ।

जीवनको अर्काे महत्वपूर्ण पक्ष हो – पेशा वा कामको छनौट । कुन काम वा पेशा मेरो लागि उपयुक्त हो, कुन पेशामा मेरो भविष्य विकसित हुनसक्दछ भन्ने दीर्घकालीन सोचको आधारमा उचित निर्णयका साथ पेशामा संलग्न हुने भन्दा पनि हाम्रो समाजमा सानो भएपनि र कुनै भविष्य नभएको स–सानो काममा अल्झिइहाल्ने परिपाटी अलि बढी नै छ । कलेजको पढाइ पूरा गर्नासाथ आधारभूत आवश्यकता पूरा गर्नका लागि ससानो र जस्तो पाए पनि काममा अल्झिहाल्ने गर्ने गरेको पाइन्छ । यसले गर्दा लामो जीवन भविष्य धरापमा पर्ने र तत्कालको सानो काम चलाउ पेशामा जीवन अल्झेर बोक्नु न टोक्नुको अवस्था आउने खतरा आउनसक्दछ । छोडिहाल्दा अर्को नपाउने होकि भन्ने डर, नछोड्दा न जीवन राम्ररी गुजारा गर्न पुग्ने कमाइ हुन्छ न भविष्य उन्नत हुन्छ, न सन्तुष्टी नै हुन्छ ।

यी तीनवटै बिषयमा मैले गरेका जीवनबोध र विश्लेषण म आफ्नै जीवनका अनुभवका आधारमा प्रस्तुत गर्न उपयुक्त ठान्दछु । म एक ग्रामीण किसान परिवारमा जन्मेँ । हाइस्कूल पास गरेका युवाहरु त्यतिबेला गाउँमा फाट्टफुट्ट मात्र थिए । शिक्षकको जागिर जहाँसुकै पाइन्थ्यो । जागिर थोरै भए पनि पाउन सजिलो थियो । पढेलेखेका केटाहरुलाई विवाहको त्यस्तैबेलामा बढी नै आउँथ्यो ।

मलाई पनि हाइस्कूल उत्तीर्ण गर्नासाथ विवाह गर्नका लागि विभिन्न ठाउँबाट प्रस्ताव र जागिरका लागि निम्ता दुवै आउन थाले । मभन्दा अग्रज केही साथीहरु भने समउमेरका केटी साथीहरुसँग विवाह गरेर, स्थानीय स्कूलहरुमा शिक्षकको जागिरमा संलग्न भइसकेका थिए । कतिपयका छोराछोरीहरु पनि भइसकेका थिए । ग्रामीण परिवेशमा एउटा जागिर र परिवारमा केही आम्दानी भित्रिने अवस्था भएपछि घरायसी व्यवहारमा पनि केही सुधार आउनु स्वाभाविक थियो ।

केही साथीहरु भने घरमा अभिभावकहरुलाई सघाउन विवाह गरी श्रीमतीहरु घरमा छाडिदिने र आफू भने पढ्नतिर लाग्ने गरेका पनि थिए । मलाई पनि ती दुवैखाले अवसरहरु थिए । मेरो घरमा पनि घरायसी र खेतीपातीको काममा संलग्न हुनसक्ने बुवाआमा र हजुरबा मात्र हुनुहुन्थ्यो । हजुरबा अलि पाको भइसक्नुभएको थियो । त्यसैले सबै कामको भार बुबाआमामा मात्रै थियो । खेतीपाती अलि बढी नै भएकाले र गाइभैँसी पनि निकैवटा पालेकाले कामकाजको चटारो निकै थियो । एक किसिमले उहाँहरुको प्रस्ताव त्यतिबेलाको परिवेश र घरको अवस्था अनुसार अनुपयुक्त थिएन । तर मलाई भने त्यसरी सरल विकल्पमा लागियो र तत्कालको फाइदा हेरियो भने त्यसले दीर्घकालीन रुपमा आफूलाई पछि पार्नसक्छ भन्ने लाग्यो । कमसेकम स्नातक उत्तीर्ण नगरीकन कुनै अस्थायी जागिर नखाने र विवाह पनि नगर्ने निर्णयमा पुगेँ ।
जसले स–सानो भने पनि जागिर खाने, विवाह गरी जीवनसाथीसँग आनन्दसाथ बिताउने निर्णमा पुगे ती साथीहरुका शुरुका दिनहरु त सासानो कमाइ भएपनि नियमित कमाइ भएकाले, आम्दानीको स्रोत बनेकाले रमाइलो नै भयो । उच्च अध्ययनको विकल्प विस्तारै ओझेल पर्न लाग्यो । बच्चाहरु जन्मिए । दायित्व थपिँदै गयो । औपचारिक शिक्षाको अध्ययन छुट्यो । स्वाध्याय पनि व्यवहारिक चापले बढाउन सकेनन् । जागिरमा पनि सजिलो विकल्प छानेर प्रवेश गरेको र त्यसमा बढ्ने सम्भावनाहरु नभएकाले बढेन । बिस्तारै आर्थिक अवस्थामा पनि शुरुमा जुन उत्साह र उमंग थियो त्यो पनि व्यवहारका चापमा कठिन हुँदैगयो । न त जीवन उन्नत भयो न त भौतिक प्रगति, न त सुख, सन्तोष र आनन्द । अधमरोमै उनीहरुको जीवन चलिरहेको देख्छु अहिले । यी भए पुरुषहरुका कुरा । महिलाहरुको अवस्था त योभन्दा झनै विकराल छ ।

महिलाहरु र युवावस्था

महिलाहरुका लागि सबैभन्दा नाजुक निर्णय हो विवाह । महिलाहरुको जीवनको सफलता र असफलतामा अत्यन्तै गम्भीर प्रभाव पार्छ विवाहले । कस्तो जीवन साथीसँग, कस्तो परिवारमा, कस्तो पेशा, शैक्षिक अवस्था र परिवारको संरचना भएको घरमा र कस्तो पुरुषसँग विवाह गर्ने भन्ने यकिन दृष्टिकोण बनाई स्वनिर्णयका आधारमा विवाह गर्ने परिपाटी अझै नेपाली समाजमा बसिसकेको छैन । स्वनिर्णयको स्वतन्त्रता महिलाहरुले अझै पाइसकेका छैनन् । ग्रामीण क्षेत्रमा त यसको शुरुआत पनि भएको छैन । शहरी क्षेत्रमा र शिक्षित र आत्मवल दह्रो भएका केही महिलाहरुमा बाहेक आम रुपमा भन्ने हो भने शहरीयाहरुमा पनि यो प्रचलनको रुपमा आइसकेको छैन ।

विवाह किन गर्ने ? त्यसको जैविक महत्व के ?  सामाजिक पक्ष, दायित्व र जिम्मेवारी त्यसपछि कस्तो हुन्छ ? सन्तानको संख्या र सन्तान जन्माउने अवस्था कतिबेला हो ? विवाहपछिको आफ्नो भविष्य कस्तो हुन्छ ? आदि जीवन व्यवस्थापन र भोगाइका यावत पक्षका विषयमा कुनै पनि प्रष्टता नभई उमेरको एक अवस्थामा आइपर्ने भावनात्मक र संवेगात्मक आवेगमा नै युवावस्थामा विवाह गर्ने गरेको पाइन्छ अधिकांश व्यक्तिले ।  केहीले अभिभावकहरुको जिम्मेवारी पूरा गर्नका लागि विवाह गरिदिने प्रचलन पनि हाम्रो समाजमा विद्यमान छँदैछ । केटा हुन् वा केटी दुवै पक्षमा यस्ता गम्भीर जीवनदृष्टिको विकास नै नभई विवाह हुन्छ । सन्तान जन्मिन्छन् । क्यारियरको विभिन्न पेशामा संलग्न हुने निर्णय लिन्छन् । यसले नै हाल हाम्रो समाजमा घरेलु हिँसा, महिला हिंसा, यौनजन्य असन्तुष्टि, पारिवारिक विछोड जस्ता समस्याहरु देखापरिरहेका छन् । व्यक्तिको स्वतन्त्र व्यक्तित्व विकासका लागि यी प्रश्नहरु ज्यादै महत्वपूर्ण प्रश्नहरु हुन् । यस्ताकुराहरुमा सही जीवनदृष्टि बनाउन नसक्नाले जीवन अधुरो, तनावग्रस्त र असफल हुने गरेको छ ।

सन्तान, भविष्य निर्माण र आत्मनिर्भरता

विवाह पछिको महिलाहरुको जीवनमा आइपर्ने महत्वपूर्ण पक्ष हो सन्तानको जन्म । एक सन्तान भए ३ देखि ५ वर्ष र दुई सन्तान भए त अझ ५ देखि ७ वर्ष अझ १०  वर्ष नै सन्तानहरुको स्याहारसुसारको गहन जिम्मेवारी महिलाहरुले निर्वाह गर्नुपर्ने हुन्छ । दम्पती मात्र सँगै छन्, संयुक्त परिवारमा छैनन् भने बच्चा सानो होउन्जेल न त पढाइ हुनसक्दछ न त जागिर वा व्यवसाय नै । ५।७ वर्षको उर्वर समय सन्तानहरुको स्याहारसुसार र घरपरिवार भित्रै बितेपछि न त पढाइ थप विकास गर्न सकिन्छ न त कुनै व्यवसाय वा जागिरको संम्भावनाहरु सोच्न सक्ने आत्मबल नै रहन्छ । एक किसिमले भन्ने हो भने यो समय अब परिवार केन्द्रित समयका रुपमा बिताएको कारणले गर्दा बाहिर निस्केर काम गर्ने उर्जामा कमी आउँछ । जीवनमा केही गर्ने हिम्मत र आँट हराउँदै जानथाल्छ । आत्मबलमा कमी आएपछि त्यसले हिम्मत पनि कमजोर बनाउँदै जान्छ । अनि विस्तारै घर र भन्सामा महिलाहरु सीमित हुन बाध्य हुन्छन् । त्यसैले विवाह गर्दा पुरुषभन्दा पनि महिलाहरुले आफ्नो जीवनदृष्टि पूर्णतः स्पष्ट बनाउनु पर्नेमा झन् उनीहरुनै यसमा पुरुषभन्दा कमजोर बनिरहेका र बढी नै अनिर्णयको अवस्थामा विवाहित हुने गरेको पाइन्छ ।

यहाँनेर युवाहरु हरेकले बुझ्नुपर्ने कुरा केहो भने माथि उल्लेखित तीनवटै कुराहरुमध्ये पढाइ अर्थात् अध्ययन बाहेक अन्य दुवै कुरा जरुरी होलान् वा मनोरञ्जन होलान् तर महत्वपूर्ण र जीवन परिवर्तनकारी भने हुँदै होइनन् । ती दुवैकुराले जीवनमा खासै परिवर्तनकारी महत्व राख्दैनन् । जीवनलक्ष्यसँग तिनलाई दाँजेर र आफ्नो भूमिका र लक्ष्यलाई ध्यानमा राखेर सही प्राथमिकतामा राख्ने निर्णय गर्न सकियो भने मात्रै जीवन परिवर्तन र सफलताको शीखरतिर लाग्दछ अन्यथा यथास्थिति र औसत जीवनमै चित्त बुझाउनु पर्ने हुन्छ ।