Sunday, June 5, 2016

नारी अस्मिताको खोजी ‘चीरहरण’

केही वर्षदेखि उपन्यास लेखनले गति लिएको छ नेपाली साहित्यमा । थरी–थरीका बिषयवस्तु र प्रयोगमा आधारित उपन्यास प्रकाशित भइरहेका छन् । सामान्य प्रेम कथादेखि मिथकीय बिषयमा कलम चलाइरहेका छन् लेखकहरु । यही मेसोमा एउटा बृहदाकार कृति देखा परेको छ ‘चीरहरण’ ।
 
बीश वर्षको कलिलो उमेरमै उपन्यास लेखेर प्रकाशित गरिसकेकी नीलम कार्की निहारिका कविता, कथा र उपन्यास तीनवटै विधामा कलम चलाइसकेकी लेखिका हुन् । यसपटक उनी महाभारतको कथावस्तुमा आधारित बृहदाकार उपन्यास ‘चीरहरण’ लिएर देखापरेकी छिन् ।

महाभारतलाई अनेक लेखकले अनेक कोणबाट व्याख्या र विश्लेषण गरेर आफ्ना कृति लेखेको पाइन्छ । यो कृति भने महाभारतको कथाभित्र पसेर नारी अस्मिताको खोजी गर्ने उपन्यासको रुपमा आएको छ । 

आकार र बिषयवस्तु दुवै हिसाबले बृहदाकार उपन्यास ‘चीरहरण’ वर्तमानमा बसेर विगतलाई नियाल्ने नारी–दृष्टिको उपज हो । नारी अस्मिता र अस्तित्वको खोजीमा केन्द्रित प्रस्तुत उपन्यासले विषयवस्तु, चरित्र र परिवेश महाभारतबाट ग्रहण गरेको छ र चरित्रका मनोभावना र चाहनालाई आधुनिक नारीको दृष्टिबाट हेर्ने प्रयास गरिएको छ । 

किन लेखियो होला पुस्तक ? पुस्तकको नाम चीरहरण किन राखियो ? स्वाभाविक प्रश्न उब्जन्छ पाठकमा । उपन्यासको शीर्षक झ्वाट्ट हेर्दा महाभारतकी एक मुख्य पात्रा द्रौपदीको चीरहरणबारे लेखिएको हो कि भन्ने भान पर्छ तर पुस्तक त्यतिमा मात्र सीमित छैन । लेखकले चीरहरणलाई विस्तार गर्दै नयाँ व्याख्या दिने प्रयास गरेकी छिन् । उनको विचारमा नारीको मात्र चीरहरण भएको थिएन त्यतिबेला । राज्यको पनि चीरहरण भएको थियो, आम मानिसको चीरहरण भएको थियो, न्याय र समानता खोज्ने न्यायप्रेमी जनताहरुको चीरहरण भएको थियो, सुशासनको चीरहरण भएर दुशासनहरु मौलाएका थिए्, राज्यमोहमा लपेटिएका धृतराष्ट्रहरुले राज्यको हुर्मत लिएर चीरहरण गरिरहेका थिए । लेखककै शब्दमा, ‘यो चीरहरण युग–युगदेखिको, घाउ हो मानवसभ्यताको । त्यसको कालो छायाँले आजको समाजलाई पनि छाडेको छैन । महाभारतकालको जस्तै छ आजको अवस्था पनि ।’ उपन्यासमा त्यही कलङ्कित इतिहासको पाटो उतारेकी छिन् नीलमले । चीरहरण एक बिम्ब हो अहङ्कार, विवशता र बाध्यतामा बाँच्न विवश मानिसको । 
......
उपन्यासको सुरुआत हुन्छ, तिलस्मी र नाटकीय परिवेशको दृश्य–वर्णनबाट । द्वापरयुगका स्वनामधन्य नारीहरु आपूmले विगतमा भोगेको जीवनको समीक्षा गर्न भेला हुने कार्यक्रम तय भएको छ । आयोजनाको जिम्मेवारी निर्वाह गर्दै छिन् उलूपी । आयोजनास्थल पातालमा छ । सभागार सागरभित्र छ । रथ, घोडा र बग्गीमा आगन्तुकहरु गुडेर होइन बगेजसरी आउँदै छन् । सभाका मुख्य आकर्षण महाभारतका मुख्य नारी पात्राहरु सत्यवती, कुन्ती, द्रौपदी, गान्धारी, भानुमती, अम्बिका, अम्बालिकाहरु छन् । उनीहरु सबै सभामा उपस्थित हुँदै छन् । पुरुषहरु पनि आमन्त्रित छन् तर उनीहरु सहभागीका रुपमा निम्त्याइएका छन् । कार्यक्रमका मुख्य सञ्चालिका र अतिथिहरु सबै नारी नै छन् । 

अस्मिता–उलूपी संवादका माध्यमले सुरुमै पुस्तकको ध्येय प्रस्ट पार्न खोजिएको छ । उलूपी भन्छिन्– ‘... आपूmले आपूmलाई छल नगरी बाँच्नु पनि धर्म हो । परन्तु कति नारी आपैmँले आपूmलाई छलेर बाँचे ।’ (पृ. २) पुस्तकको सुरुआत यही उद्देश्यबाट गरेकी छिन् लेखिकाले । उनको उद्देश्य विगतमा नारीले भोगेका कतिपय उचनिचलाई महाभारतकालीन कथा र पात्रबाट व्यक्त गर्नु हो भन्ने यस सवांदले प्रस्ट्याउँछ । 

अस्मिता र उलूपी सवाांदका क्रममा उलूपीले त्यहाँ उपस्थित नारीहरुको परिचय गराउँछिन् अस्मितालाई । उलूपी कसैलाई कसैकी पत्नी, कसैलाई कसैकी माता अनि कसैलाई कसैकी छोरी भनेर चिनाएको सुनेर अस्मिता भन्छिन्– ‘यी सब नारीको परिचय त्यही नै हो, कसैकी पत्नी, कसैकी छोरी, कसैकी बहिनी .. ? (पृ. ३)
हिजोका दिनमा नारीहरुले निर्वाह गरेका जिम्मेवारी र भूमिकाका बारेमा नारीहरु स्वयम्ले समीक्षा गर्ने कार्यक्रममा पुरुषहरु श्रोताका रुपमा उपस्थित छन् । उनीहरुलाई नारीहरुका कुरा सुनिसकेपछि मात्र आफ्ना भनाइ राख्न दिने कार्यक्रम तय गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण छिन् द्रौपदी, जसको चीरहरण भएको थियो हस्तिनापुरको भव्य राजसभामा । 

कार्यक्रमकी सहभागी एक नागकन्या त्यो सभाको आयोजना र द्रौपदी देखेर भन्छिन्– ‘त्यस समयमा पनि नारी बलात्कृत भएका थिए । अपहरणमा परेका थिए ..। प्रेमी र पतिबाट त्यागिएका थिए । चीरहरण यो युगको मात्र रोग होइन, युग–युगदेखिको घाउ हो । ... यो युगमा बलात्कृत भएर आपूmलाई गङ्गाको काखमा बिसाउने धेरैलाई भेटेका छौँ हामीले । .... (पृ. ३)

नारी–सभाको औपचारिक सुरुआत हुन्छ उलूपीको उद्घोषणसँगै । मुख्य नारी पात्राहरु, सत्यवती, अम्बिका, अम्बालिका, कुन्ति, गान्धारी, द्रौपदी, भानुमती क्रमशः सभाका वक्ताका रुपमा देखापर्छन् । सबै वक्ताहरु आ–आफ्ना भोगाइ र भावना पोख्छन् सभामा । उनीहरुको भोगाइ महाभारतमा वर्णित कथाकै सेरोफेरोमा केन्द्रित छ । उनीहरुले त्यतिबेला भोगेका विवशता, बाध्यता र पीडा एक–एक गरी सुनाउँछन् । कथा भन्ने ढाँचा जस्तो अपनाइएको छ त्यसले पाठकलाई क्रमशः तान्दै लैजान्छ । 

सभाको प्रथम वक्ता छिन् सत्यवती, त्यसपछिकी वक्ताहरु छन् अम्बिका, अम्बालिका, गान्धारी र द्रौपदी । अन्त्यमा केही पुरुष वक्ताहरु मञ्चमा देखापर्छन् । उनीहरु नारीहरुका भोगाइ सुनिसकेपछि आआफ्ना स्वीकारोक्ति राख्न मञ्चमा आउँछन् । अत्यन्त छोटो भनाइ राख्छन् र उनीहरु बिदा हुन्छन् मञ्चबाट । सबैका कुरा सुनेर कृष्ण र वेदव्यास मुस्कुराउँछन् । सभा समाप्त हुन्छ, उपन्यास पनि समाप्त हुन्छ सभाको समाप्तिसँगै ।
......
उपन्यास केन्द्रित छ, नारी अस्मिताको खोजीमा । महाभारत कथा त माध्यम मात्र हो । सत्यवती तत्कालीन परिवेशको बाध्यतामा आपूmलाई चलाउन विवश थिइन् । तर के आजका नारी त्यसबाट उन्मुक्त छन् ? अम्बा, अम्बिका र अम्बालिका अपहृत भएर पत्नी बन्न विवश भएका थिए तर के आजका नारीहरु बलिष्ट पुरुषबाट अपहृत भइरहेका छैनन् ? गान्धारी दायित्व र कर्तव्यको घेरामा बाँधिएर दृष्टि हुँदाहुँदै पनि दृष्टिविहीनभैmँ बन्न विवश भइन् । के आजका नारी आपूmले देखेका कुरामा रमाउन सकेका छन् ? अनजानवश कुन्तीले दिएको आदेश मान्न विवश बनेर द्रौपदी पाँच पाण्डवकी पत्नी बन्न पुगेकी थिइन् । के आजका नारी द्रौपदीको विवशता भोग्न बाध्य छैनन् ? कुन्तिले कुमारी अवस्थामै पुरुष संसर्गबाट जन्माएको शिशु लोकलाज र परम्पराको नाममा मुटुमा ढुङ्गा राखेर गंगामा बिसर्जन गर्न विवश भइन् । के आजका नारीहरु इच्छामाफिक सन्तान जन्माएर तिनलाई निर्बाध माया र ममता दिन समर्थ छन् ? पुत्रमोहमा परेर समस्त देशबासी र मित्रजनमा युद्धको अग्निज्वाला फैलाउन उद्यत धृतराष्ट्रहरु अहिलेको कुशासनमा जताततै पाइँदैनन् ? शकुनीहरु र दुर्योधनहरु यस युगमा छैनन् ? यदि यी सबै कुरा अहिले पनि कायमै छन् भने हामी त्यस युगको युगीन विवशताबाट अहिले पनि मुक्त हुन सकेका छैनौँ । यही सन्देश दिने उद्देश्यले लेखिकाले विश्वप्रसिद्ध महाकाव्य महाभारतको कथालाई माध्यम बनाउन खोजेको देखिन्छ । यस अर्थमा उपन्यासकारको ध्येय सफल भएको छ उपन्यासमा । महाभारतका पात्रहरु आजको समाजमा पनि सर्वत्र छन्, त्यो परिवेश, बाध्यता र गतिविधि यद्यपि छँदै छ । झन्–झन् विकराल छ आजको ‘महाभारत’ । 

उपन्यासले वेदव्यासकृत महाभारत कथामा कुनै परिवर्तन नगरी नारी आँखाबाट त्यसलाई केलाउने र आजको युगीन मनोविज्ञानसँग दाँज्ने कोसिस गरेको छ । त्यसमा लेखिकाका आफ्ना भावना र धारणा पनि उपन्यासमा घुलमिल गराइएको छ । भन्न त सत्यवती सभाको सुरु गर्दै पृष्ठ ६ मा भन्छिन्– ‘... नारीको व्यथा लुकाएर बाँच्ने कलाको कारणले या हुन सक्छ, पृष्ठमा नअटाएका कारण हाम्रा जीवनका ती नलेखिएका केही पाना पनि हामी यहाँ सुनाउँनेछौँ ।’(पृ. ६) तर उपन्यास पढ्दै जाँदा नारीभित्र चलिरहने भावनाको विस्तृत चित्रणबाहेक महाभारतको मूल कथा जस्ताको तस्तै कायम राखेर उपन्यासलाई अघि बढाइएको छ । अरुले लेखिसकेको त्यसमध्ये पनि युगौँसम्म लोकप्रिय भइसकेको कृतिको मूल कथा समातेर त्यसलाई कल्पना र भावनाका माध्यमले औपन्यासिकता प्रदान गर्नु चानचुने हिम्मत होइन लेखिकाको । त्यस अर्थमा उनलाई बधाइ दिनै पर्छ । 

महाभारतमा वर्णित कतिपय रहस्यमय र जादूगरीजस्ता लाग्ने प्रसङ्गहरु, जस्तै सत्यवतीलाई परासरले मन्त्रबलका माध्यमले मत्स्यगन्धाबाट योजनगन्धा बनाउनु, कुन्तिबाट कर्णको जन्म स्वयम्बरको ठीक अघिल्लो दिन हुनु, तर स्वयम्बरमा जस्ताको तस्तै स्वाभाविक भएर प्रकट हुनु, अम्बिका र अम्बालिकाको गर्भधारणको प्रसङ्ग आदिलाई आधुनिक चिकित्साविज्ञान र सामाजिक यथार्थसँग जोड्न सकिने हुँदाहुँदै किन त्यसलाई आधुनिक स्वरुप र व्याख्या दिइएन भन्ने लागिरहन्छ । 

यति हुँदाहुँदै पनि केही शैलीगत र वर्णन सिल्पका सानातिना कमजोरी पनि उपन्यासमा यत्रतत्र पाइन्छन् । अध्याय दुई अम्बा, अम्बिका र अम्बालिकाको स्वयम्बरको प्रसङ्गबाट सुरु हुन्छ । तर यो हठात् सुरु हुन्छ । अम्बिका मुख्य वक्ता छिन् तर त्यो अनुमान महाभारत पहिले पढिसकेका पाठकले मात्र गर्न सक्छन् । नयाँ पाठकले त्यो प्रसङ्ग बुझ्न निकै समय बिताउनुपर्छ । 

गान्धारीको चरित्रलाई अति नै देवत्वकरण गरिएको छ । उनीभित्रका नारीजन्य कामनाहरु उपन्यासमा ओझेल पर्न गएका छन् । अति पुत्रमोह त गान्धारीमा पनि थियो । त्यसलाई उपन्यासले पछ्याउन सकेको छैन । कतिपय सन्दर्भमा भने अनावश्यक भावनामा बहकिएको वर्णनले पढ्दा झिँझ्याटलाग्दो बनेको पनि देखिन्छ । 

उपन्यासमा कतिपय घटना र परिवेश वर्णनमा कालको राम्ररी ख्याल गर्न नसकेको हो कि भैmँ लाग्छ । भूतकालमा कथा–वर्णन अगाडि बढिरहेका बेला अकस्मात् वर्तमान कालमा आइदिनाले पढ्दै जाँदा गति अवरुद्ध हुन्छ । 

कतिपय शब्दहरु, जस्तै गर्थिनँ, हुन्थिनँ आदिको प्रयोग निकै ठाउँ गरिएको छ । त्यसका सट्टामा गर्दिनथेँ÷गर्दैनथेँ, हुँदैनथेँ÷हुँदिनथेँ आदि प्रयोग गर्दा स्वाभाविक हुन्थ्यो कि भन्ने लागिरहन्छ ।

सत्यवतीको चरित्रचित्रणमा जुन स्वाभाविकता झल्कन्छ, अम्बा र अम्बिकाको भोगाइको वर्णनमा जुन स्वाभाविकता छ उपन्यास क्रमशः अघि बढेर गान्धारी र द्रौपदीको भोगाइमा पुग्दा त्यही गरिमा र शालिनता कायम रहँदैन । गान्धारी र द्रौपदीलाई लेखिकाले अलि बढी नै हस्तक्षेप गरेकी हुन् कि भन्ने लागिरहन्छ । गान्धारीको चरित्रलाई अलि बढी नै देवत्वकरण गरेर नारी आदर्शको पाटो देखाउन खोजेकी छिन् लेखिकाले । त्यसै गरी द्रौपदीको अनुभव वर्णन गर्दा समसामयिक पुरुषप्रधान समाज र पुरुष–सत्ताप्रतिको तिक्तता पोख्न लेखिका हतारिए भैmँ लाग्छ । बारम्बार आफ्ना पतिलाई युद्धका लागि उक्साउन उद्यत द्रौपदीको चित्रणबाट पुरुषको झ्याँको झार्न लेखिका अघि सर्दा उनीमाथि अन्याय भएको छ । परिवेशलाई बाध्यकारी देखाउनुभन्दा द्रौपदीको अहंकार र पुरुषवादी सोचको आलोचनामा बढी शब्द खर्चिंदा नारी अस्मिताको नाउँमा पुरुषप्रतिको तिक्तता बढी पोखिए भैmँ अनुभव हुन्छ । द्रौपदीको पुरुषप्रतिको घृणाभाव र बारम्बारको युद्धघोषको आकांक्षाले उपान्यासको महत्ता घटाएको छ । 

अन्त्यमा पुरुषहरुको स्वीकारोक्ति भने युगीन सन्दर्भमा जोड्न प्रयोग गरिएको छ । समग्र उपन्यासलाई प्रयोजनमूलक रुप प्रदान गरेको छ यो सन्दर्भले । लेखकको कथा प्रस्तुतिको कौशल देखाउँछ यो प्रसङ्गले । 

करिब पाँचसय पृष्ठको करिब डेढलाख शब्दमा अभिव्यक्ति उपन्यास लेख्ता सामान्य त्रुटी–कमजोरी स्वाभाविक हुन् । महाभारतको परिवेशमा आजको नारी मनोविज्ञानका आँखामा राखेर पर्गेल्नु र युगीन सन्दर्भ दिन मोटो कथालाई कल्पनाका माध्यमले परिवेश र भावना गाँस्दै अघि बढाएर लगातार पाठकलाई तानिरहन सक्नु उपन्यासकारको लेखनीको ठूलो शक्ति हो । कथालाई जिज्ञाशा र कुतूहलका साथ अघि बढाउँदै अन्त्यसम्म पाठकको जिज्ञाशालाई कायम राख्नमा उपन्यासकार सफल भएकी छिन् । करिब पाँच हजार वर्ष पुरानो कथालाई आजको युगीन सन्दर्भ प्रदान गरेर यति ठूलो आकारको उपन्यास नेपाली साहित्यलाई प्रदान गर्नुहुने लेखिका नीलम कार्की निहारिका बधाइको पात्र हुनुहुन्छ ।