Sunday, August 17, 2014

कृष्ण जन्माष्टमीः आध्यात्मिक अर्थमा कसरी बुझ्ने कृष्ण र कृष्णअष्टमीलाई ?

आज भाद्र कृष्ण अष्टमी । भगवान कृष्णको जन्मजयन्ती देशभर धुमधामका साथ मनाईंदैछ । महिलाहरु व्रत बस्ने, कृष्णमन्दिर गएर भगवान कृष्णको प्रतिमाको दर्शन गर्ने, धूप, बत्ती आदि चढाउने गरिरहेका छन् । के यसको अर्थ र महत्व यतिमै मात्र सीमित छ त ? के हो यो पर्वको निहितार्थ ? यसबारे संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिनेछ यस आलेखमा ।

महर्षि कृष्ण द्वैपायन व्यासले श्रीमद्भागवतमा कृष्ण चरित्रको विस्तृत कथा समावेश गरिदिए । कृष्णका बाल्यकाल, किशोर वय र त्यसपछिका कृयाकलापको विस्तृत चित्रण गरियो कृष्ण चरित्रमा । त्यस कथामा आधारित भएर अनेक अरु ग्रन्थहरु रचिए । श्रीकृष्ण चरित्र महाभारत र श्रीमद्भागवतसँगै लेखियो कि अघि वा पछि लेखियो त्यसको किटानी नभए पनि यी दुवै ग्रन्थहरु केही कालको अघिपछिमा सिर्जित भएका होलान् भन्न सकिन्छ । 

श्रीमद्भागवतको संस्कृत अध्यनका आधारमा हेर्दा त्यसको भाषा लौकिक संस्कृतकोभन्दा जटिल रहेको देखिन्छ । पछिल्लो चरणमा संस्कृतको सरलीकरण भएर लौकिक रुपमा बोलिने संस्कृतको प्रचलनमा आएपछि अरु संस्कृत ग्रन्थहरुको रचना भएको हो कि भन्न्े ठाउँ देखिन्छ । वेद, उपनिषद्, ब्राह्मण र पुराण ग्रन्थहरुको क्रमशः लेखन भएको हो, त्यसभन्दा पछिका ग्रन्थहरु हुन् महाभारत, कृष्णचरित्र र रामायणहरु भन्नेहरु पनि छन् । तथ्य जे भए पनि श्रीकृष्ण महर्षि कृष्ण द्वैपायन व्यसद्वारा सिर्जित श्रीमद्भागवत पुराण र महाभारतका एक अविस्मरणीय पात्र हुन् भन्नेमा भने कसैको पनि विमती छैन ।

यथार्थमा श्रीकृष्ण को थिए ? वास्तवमा द्वारकामा कुनै गोपाल वंशीय पुरुषको जन्म भएको थियो कि थिएन ? व्यसजीले आफ्ना ग्रन्थमा ती ठाउँहरुको चित्रण गर्नका लागि जस्तो चरित्रको प्रारुप तयार पारे र आफ्ना ग्रन्थहरुमा चित्रण गरे त्यही आधारमा पो ती ठाउँ र क्षेत्रले पछि नामाकरण र प्रसिद्धि पाएका हुन् कि ! त्यसमा अध्ययन र अनुसन्धानका आफ्ना निष्कर्षहरु छन् र भविष्यमा पनि यसबारे अध्ययन र अनुसन्धान हुँदै रहला । यसमा अनेक मतमतान्तरको ठाउँ पनि छँदैछ । स्वामी अडखडानन्दजस्ता विद्वानहरु महाभारत कल्पित कथा र सुन्दर काव्य भएकाले यसलाई आध्यात्मिक रुपमा अथ्र्याउनु पर्ने र त्यसका पात्रहरुलाई आध्यात्मिक रुपमा अर्थ लगाएर बुझ्नुपर्ने दावी पनि गरिरहेकै छन् । उनको भनाइलाई मान्ने हो भने महाभारतको युद्ध भएकै होइन । महर्षि व्यासले साधनाको यात्रामा अनुभूत गरेका कुरालाई रुपकका माध्यममा अनेक चरित्र खडा गरेर यसको रचना गरेका हुन् । त्यसैले त्यसमा वर्णत चरित्रलाई आध्यात्मिक रुपमा मात्रै ग्रहण गर्नु उपयुक्त हुन्छ भन्ने दावी उनको रहेको छ । 

यस्ता अनेक वादविवाद श्रीकृष्णको चरित्र चित्रणका कारणले उत्पन्न भएका छन् । धार्मिक तथा साँस्कृतिक रुपमा पनि श्रीकृष्णको चरित्रले मानिसलाई गम्भीर प्रभाव पारेको छ । श्रीमद्भागवत गीताका रचयिता कृष्ण द्वैपायन व्यासले अध्यात्म साधनाको एक अवस्थामा जुन आध्यात्मिक अनुभूति गरे त्यसको अनुभूतिका रुपमा गीता ग्रन्थ तयार भयो । काव्यात्मक रुपमा आउँदा एक प्रमुख पात्र श्रीकृष्ण्का माध्यमले ती भनाइहरु अभिव्यक्त महाभारतमा भए । कालान्तरमा मानिसहरुले व्यसलाई अर्थात् काव्यकारलाई बिर्से । पात्रका रुपमा चित्रित श्रीकृष्ण यति प्रभावशाली भएर देखापरे गीता कृष्णकै वाणीका रुपमा र कृष्णकै अनुभूतिका रुपमा प्रकट भएको ठाने मानिसहरुले । वास्तवमा गीता कृष्णको रचना थिएन त्यो थियो कृष्ण द्वैपायन व्यासको रचना । कृष्ण नामका एक पात्र थिए उनको महाकाव्यका । उनकै माध्यमबाट ती भनाइहरु राख्नु उपयुक्त देखिएकाले उनले ती भनाइहरु अघि सार्न कृष्ण रोजे । 

संसारमा पूर्वीय दर्शनको एउटै मात्र ग्रन्थ रोज्नु पर्यो भने सबैले रोज्ने ग्रन्थ हो भागवत् गीता । यो श्रीकृष्णले नै लेखेका हुन्जस्तो ठानेर व्यख्या गरिन्छ आजभोलि । तथ्य चाहिँ त्यो होइन यसका सर्जक हुन् महर्षि कृष्ण द्वैपायन व्यास । 

संसारका प्रभावशाली रचनामा चित्रित भएका चरित्रले लेखकलाई ओझेल पारेका अनेक उदाहरण छन् । आमा लेखे गोर्कीले तर मानिसहरुले आमाको भूमिका निर्वाह गर्ने पात्रालाई जति सम्झेका छन् शायद गोर्कीलाई त्यति सम्झँदैनन् होला । रामायण लेखे वाल्मीकिले, रामचरितमानस लेखे तुलसीदासले । उनीहरु दुवै गौण भए उनीहरुले चित्रण गरेका राम चाहिँ मुख्य पात्रका रुपमा जीवन्त भइरहे मानिसहरुका हृदयमा । कुशल काव्यकारको रचनाको शक्ति हो यो । नभएको चरित्रलाई पनि कल्पनाको प्रयोगले जीवन्त पात्र बनाइदिन्छ रचनाकारले । सर्जकको महानता यही हो । 
यति भनिसकेपछि अब आउँ कृणलाई कसरी बुझ्ने ? को हुन् कृष्ण ? के द्वारकाका कुनै ग्वालापुत्रका रुपमा जन्मेर केही लीला देखाउने व्यक्ति मात्रैका रुपमा हामीले कृष्णलाई बुझ्ने कि त्यसको कुनै गहिरो आध्यात्मिक र दार्शनिक व्याख्या पनि छ ? गीता त्यति गहन दर्शन बोकेको ग्रन्थ हो भने त्यसलाई प्रस्तुत गर्ने कृष्ण चाहिँ के सामान्य रुपमा हामीले ठानेकैजस्तो चरित्र, एउटा ग्वालाको छोरो, चमत्कारिक पुरुष, रसिक र रतिरागयुक्त युवा, युद्धमा अर्जनलाई युद्ध लड्न उक्साउने व्यक्ति मात्रैका रुपमा बुझेर यसको रहस्य बुझ्न सकिन्छ त ? आउनुहोस् यसबारे अलिकति विवेचना गरौँ । 

कृणको जन्म भाद्रकृष्ण अष्टमीमा भएको बताइन्छ । उनी कालावर्णका थिए भनेर उनको चित्रमा त्यही वर्ण उल्लिखित छ । चित्रमा हेर्दा उनको हातमा कि त मुरली छ कि त शंख रहेको छ । युद्धकालमा उनको हातमा शंख छ भने रसिक युवावस्थामा गोपिनीहरुसँगको रास लीलामा मुरली छ । बाल्यकालमा अनेक लीलाहरु भएको उल्लेख छ । ती अलौकिक र असाधारण तिलस्मी खालका छन् । आध्यात्मिक महत्वको ग्रन्थ, दार्शनिक आधारमा लेखिएको ग्रन्थ अनि सभक्ति त्यसको आदर र सम्मान गरिने ग्रन्थ भएकाले भागवत, कृष्णचरित्र र महाभारतमा उल्लिखित उनको चित्र, वर्ण, श्रृङ्गार र सामग्रीहरुको पनि बिना अर्थ व्यासले उल्लेख गरेका हैनन् कि भन्ने मान्नु पर्ने हुन्छ । यस आधारमा श्रीकृष्णलाई आध्यात्मिक रुपमा पनि हेर्नु र विश्लेषण गरेर तथ्य केलाउनु आवश्यक देखिन्छ । 

किन कृष्ण पक्षमा नै जन्मेको चित्रण गरे व्यासले ?

ज्योतीषीय हिसाबले कृष्ण पक्षलाई अँध्यारो अर्थात् कालो पक्ष र शुक्त पक्षलाई उज्यालो अर्थात् ज्योतिमय पक्षको रुपमा लिने गरिन्छ । स्वाभाविक रुपमा औंसी पक्ष बढी अन्धकारमय हुन्छ, कालो हुन्छ भने शुक्लपक्ष बढी प्रकाशमय अर्थात् ज्योतिमय हुन्छ । कृण पक्ष अध्यात्म साधनाका दृष्टिले सुरुआत गर्ने समय हो अर्थात् आध्यात्मिक जन्मतिर लाग्ने समय । अष्टिमी यो पक्षको ठीक बीचमा पर्दछ । अष्टमीमा एकहप्ता लामो साधनामा बसियो भने क्रमशः बढ्दै गएर पन्धौँ दिनमा पूर्णिमा आउँछ । पूर्णिमा निराकार र साकार दुवै खाले आध्यात्मिक साधना गर्नेहरुका लागि महत्वपूर्ण मानिन्छ ।

कृष्ण अष्टमीको अघिल्लो दिन नै दिनभर व्रत वस्ने गरिन्छ र रातभर जाग्राम बसेर श्रीकृष्णको जन्मको प्रतिक्षा गर्ने चलन छ । सप्तमीको दिन दिनभर उपवास वस्नाले शरीर शुद्ध हुन्छ । उपवासले शरीरको शुद्धिमा विशेष महत्व राख्दछ । उपवासबाट शुद्ध पारिएको शरीरलाई साधनामा लगाउँदा ध्यान गहिरोसँग लाग्ने र चित्त पनि एकाग्र गर्न मद्दत मिल्छ । उपवासबाट नै साधनाको उच्चतामा पुग्न सकिन्छ भनेर लामो उपवासको साधना गर्ने परम्परा जैन धर्मवलम्बीहरुबीच अहिले पनि विद्यमान छँदैछ । पर्व विशेषमा उपवास वस्ने र शरी र मन शुद्धि गर्ने अनेक साँस्कृतिक प्रचलन हिन्दूहरुमा पनि पाइन्छ । 
यसरी सप्तमीबाट उपवास बसेर निराकारको साधनामा प्रवेश गर्नेहरुका लागि अन्धकार रात्री अति नै महत्वपूर्ण हुन्छ । अघिल्लो दिन दिनभर उपबासबाट शुद्ध भएको शरीर र मनमा साधना गर्न चाहनेहरुलाई गुरुले कृष्ण अर्थात् इश्वरको अनुभूत गर्ने साधनाबीज प्रदान गर्दछन् अर्थात् कृष्ण जन्मको अनुभव गराइदिन्छन् । रातिको अन्धकारमा आँखाबन्द गरेर भित्र हेर्दा कालो नै देखिन्छ । त्यसैले रात्ति कृष्णको जन्म भएको बताइन्छ । अर्थात् साधनाका क्रममा पहिलो अनुभव साधकले निराकार अन्धकार रुपि कालो नै देख्छ । कृष्णको रुप नै कालो भनियो त्यस कारण  । अब कृणको जन्म हुन्छ अर्थात् निराकार साधनामा कृष्णमय हुन थाल्छ साधक । 

त्यसपछि अनेक लीलाहरु घटित हुन थाल्छन् । अर्थात् घरि नागहरु आउँछन् । तिनलाई कृण बिषविहीन बनाइदिन्छन् । हायलकायल पार्छन् । दैत्यहरु, राक्षसहरु आउँछन् तिनलाई मार्छन् । क्रमशः ठूलो हुँदै जान्छन्, मुरली बजाउन थाल्छन् । गोपिनीहरु कृष्णको मुरलीको धुनबाट आकर्षित हुन्छन् । लट्ठिन्छन् । कृष्ण्सँग वनवन चाहार्न पनि हिच्किचाउँदैनन् । कृष्ण नै कृष्ण देख्छन् सबैतिर । उनकै मुरली गुन्जिएको सुन्छन् । त्यसपछि निर्णयक युद्धमा कृष्ण लाग्छन् महाभारतमा । अर्जुनजस्ता अकडा मानिसलाई उनले सहयोग गर्नुपर्ने हुन्छ । भक्त त छन् तर शंकाले घेरिएका भक्त छन् उनी । जान्दछन् तर मोहमुक्त छैनन् । यस्तालाई अनेक ज्ञानका गोप्य सूत्रहरुको व्याख्या गरेर विराट रुपको दर्शन गराएपछि वल्ल आफ्नो स्वरुपको र आफ्नो अस्तित्वको बोध गर्दछन् अर्जुन । निर्णयक युद्ध लडेर युद्ध जित्छन् । पाण्डवको विजय अर्थात् कृष्णका पक्षको विजय हुन्छ अर्को पक्ष हार्छ । 

के हुन् यी सबै कुरा ? के यिनको अभिधार्थ मात्र छ त ? निश्चयनै कृष्ण द्वैपायनजस्ता महान् काव्यकारले लेखेको कृतिमा यसलाई अभिधयर्थमा मात्र चित्रण गरेर चित्त बुझाए होलान् भन्न सकिने ठाउँ छैन । 
त्यसो हो भने यसको व्यञ्जनार्थ, दार्शनिक अर्थ र अझ आध्यात्मिक रुपमा यसका रुपकहरुको अर्थ खोज्न आवश्यक हुन्छ । 

कृष्णको वर्ण किन कालो भनेर व्याख्या गरिन्छ ?

कृष्णको सोझो अर्थ नै हो कालो अर्थात् श्याम । अध्यात्म साधनामा जब साधक आत्मचिन्तनमा डुब्न तयार हुन्छ उसले आफ्नो आँखा आफैँभित्र फर्काउनु आवश्यक हुन्छ । बाहिरी आँखा बन्द गर्नुपर्छ । बाहिरी आँखाले संसार देख्छ भने भित्री आँखाले सत्य देख्छ । सत्यतिर फर्कँदा सबैभन्दा सुरुमा अनुभूत हुने तत्व हो अन्धकार अर्थात् अँध्यारो । प्रकाशमय उज्यालोमा आँखा बन्द गरेपछि स्वाभाविक रुपमा निराकारमय कालो अन्धकार नै देखिन्छ । कृष्णको वर्ण त्यस्तै छ, कालो, अर्थात् निराकारमय । अब साधक क्रमशः आध्यात्मिक यात्रामा प्रवेश गर्दछ । उसलाई यात्रा गर्ने क्रममा थाहा हुन्छ मभित्र त राक्षसजस्तो चीज पनि छ, नागजस्तो बिषमय चीज पनि छ । अनि अनेक पशुवत् चीजहरु पनि छन्, पुतनाजस्ता बिषपान गराउन तयार भएका दुराकांक्षाहरु पनि छन् । वास्तवमा बिषले भरिएको स्तन लिएर बिषपान गराउन तयार हुने पुतना, कालियदमनजस्ता अति बिषलु नाग हामीभित्रैका अनेक काम, क्रोध, लोभ, इष्र्या, द्वष र अहंकारका भावहरु हुन् । साधनाका क्रममा यीप्रति साधक क्रमशः सचेत हुँदै जान्छ । यस्तो सचेतता थाहा पाउन थालेको साधकलाई अब गुरुले क्रमशः कृष्णको असल रुपबोधतिर प्रवेश गर्नका लागि आफैँभित्र प्रकट हुने ओमकारमय परमसंगीत र आत्मतत्व पहिचान गर्ने तत्वाभ्यासका लागि केही साधनाविधिहरु थपिदिन्छ । अव उसको कृष्ण (ओमकार अर्थात् निराकार ब्रह्म) अझ बलवान र प्रेममय हुँदै जान्छ । ठूलो हुँदै जान्छ । हुर्कंदै जान्छ । 

के हो मुरली र शंख ?

जब सचेतता बढ्छ आफूभित्र रहेको निराकारबाट ध्वनिहरु सुन्न थाल्छ साधकले । त्यो जब जब भाव, भावना र उर्जासँग एकाकार हुँदै अघि बढ्छ अनि क्रमशः आफैँभित्र गुन्जने आत्मतत्व, ओमकार वा अनहदको ध्वनिको गुणवत्ता पनि फेरिँदै जान्छ । जतिजति साधक आत्मतत्वमा लीन हुँदैजान्छ त्यतित्यति भिन्न्भिन्न ध्वनि सुन्न थाल्छ । बाँसुरीको ध्वनि श्रवणको अवस्था भनेको चित्त एकाग्रभएको र चेतनाले क्रमशः माथिल्लो स्तरतिर बढिरहेको अर्थात् भक्तिभावमा डुबेको र अरुकुरा क्रमशः त्याग्दै आत्मतत्वतिर बढिरहेको अवस्था हो । भावनात्मक रुपले भक्तिको अवस्थामा र अनि उर्जा र चेतनाको आधारमा भने आज्ञाचत्रतिर बढिरहेको अवस्थामा साधकले मुरलीको धुन अनवरत रुपमा आफैँभित्र श्रवण गर्न समर्थ हुन्छ । आफैँभित्रको अनहद ध्वनि श्रवण गर्न थालेपछि भित्र र बाहिरको ध्वनि क्रमशः एकाकार हुँदै साधक गोपिनीमय हुन्छ । अलमस्त रुपमा आफैँभित्रको मुरलीमय ध्वनि सुनेर लटिठरहन्छ । यस्तो धुनको अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्नामय हुन्छ साधक । वासना गौण हुन्छ, अनहदको ध्वनिका कारण आन्तरिक रुपमा अत्यन्त उर्जावान् हुने हुनाले आफूलाई भित्रैदेखि कृष्णमय निराकारमय अनुभव गर्न थाल्दछ । यसैलाई कृष्ण द्वैपायनले मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरिदिए । यतिवेलाको भक्त अव आफूभित्र स्त्रैण चरित्रमा रुपान्तरण भएको अनुभव गर्न थाल्छ अर्थात् उसभित्र फेनिस्ट उर्जाले प्रवेश पाउँछ । वाणी, हाउभाउ, हृदयको भाव सबै क्रमशः परिवर्तित हुन्छन् । 

त्यसपछि साधक निर्णायक रुपमा चित्तवृत्तिनिरोधतिर लम्कन्छ । यो वा ऊ को लडाइमा निर्णयक रुपमा होमिन्छ । यसरी होमिएको साधक कहिले मोहबाट तानिन्छ, कहिले अहंकारबाट अनि घरिघरि भगवत्ताको आनन्दमय अवस्थाको आकर्षणबाट । यही अवस्था हो महाभारतको अवस्था  । आफैभित्रको महाभारत । आफैभित्रको अर्जुन र कृष्णको द्वन्द्व । चरम द्विविधाको अवस्थामा पुगेको यो साधक अब यदि कृष्णको अर्थात् निराकार ओमकारको शरणमा साधनारत रहन सक्यो भने आन्तरिक प्रज्ञा जागरण गर्न समर्थ हुन्छ । यो अवस्थामा ऊ आफैभित्रबाट गीता प्रस्फुटित हुन्छ । यसबेला उसले आफूभित्र अनाहत ध्वनिको अर्को अत्युच्च रुप सुन्छ शंखमय ध्वनि । यो ध्वनिको श्रवणपछि साधक भगवत्तातिर लाग्दछ । शंखको आन्तरिक ध्वनिमा परिवेष्ठित साधक सांसारिक सुखदुखभन्दा माथि उठिसक्छ र अनन्त आनन्दमय परमउर्जामा आफूलाई विलीन गराउँछ, योगेश्वर हुन्छ । कृष्णमय ध्वनिमा विलीन हुँदाहुँदै उसले अस्तित्वको विराट रुपको दर्शन गर्न समर्थ हुन्छ । त्यही विराटमा आफूलाई विलीन भएको अनुभव गर्छ, योगेश्वर हुन्छ साधक त्यतिबेला । वित्तरागी बन्छ साधक यस अवस्थामा पुगेपछि । 

यसरी हेर्दा कृष्ण द्वैपायन व्यासको महाभारतमा वर्णित कृष्ण नामका एक व्यक्ति नभएर समस्त श्रृष्टिनियन्ता परमशक्तिका प्रतिक, ओमकारमय उर्जाको अन्तिम रुप देखा पर्दछन् भने उनका विशिष्ट लीलाहरु साधनाका क्रममा अनुभूत हुने विविध झाँकीहरु लाग्दछन् । यिनै भाँकीहरुको क्रमिक बोधबाट एउटा मानिस, मानव, साधक हुँदै भगवान अर्थात् कृष्ण हुन पुग्छ । यही अर्थमा श्रीकृण जन्माष्टमी मनाउने र आफ्नो घटमा कृष्णको जन्म गराउने प्रचलन साधना केन्द्रहरुमा थियो । तर पछि क्रमशः यो साधनाको पक्ष मर्दै गयो र आज आएर यो विशुद्ध कर्मकाण्ड र अन्ध श्रद्धाको रुपमा विकास भएको छ । यो एक किसिमले भन्ने हो भने धार्मिक अन्धविश्वासको पराकाष्ठा नै हो । आजभन्दा करिब ५००० वर्षअघि जन्मेका कृष्णको नाममा व्रत बसेर पुण्य लाभ हुन्छ भनेर आध्यात्मिक तत्वज्ञान को ज्ञ पनि अर्थ नलाग्ने यस्ता अन्ध परम्पराको पाण्डित्यपुर्ण व्यख्याको पछि लाग्नुको कुनै तुक छैन । कुरा साधना यात्रामा लाग्नेहरुले जन्माउने कृष्णको हो । यसलाई पुण्यको रुपमा साधना गर्ने हो भने आजैको रात्रीमा आफूभित्र कृष्ण अर्थात् ओमकारको बीजाधान गरेर कृष्ण जन्माउनु आवश्यक छ । यसो भयो भने बल्ल कृष्णका बाल लीलाको पनि अर्थ बुझ्न सकिन्छ अनि राक्षस बध, कंश बिनाश, गोपिनीसँगको रासलिला, महाभारत आदि आफैँभित्रको अनुभव र अनुभूतिमा आधारित भएर साक्षात्कार गर्न सकिन्छ । अब अन्ध श्रद्धा पालिरहेर एउटा अन्धसंस्कृति पालिरहने कि साधनाको गुह्यता बुझेर आफूलाई कृष्णमय बनाउने संकल्प लिने रोजाइ हरेकको आआफ्नै चेतना अनुसार गर्ने हो । 
अस्तु ।