Monday, December 22, 2014

जीवन परिवर्तनका लागि योजना

यथास्थितिमा अल्झिरहेको, तनावयुक्त र प्रगतितिर नलागेको जीवन बाँच्न कसैलाई मन लाग्दैन । सबैलाई आफ्नो जीवन उन्नत, विकसित, सम्मानित, सम्पन्न, सन्तुलित र आनन्दित नै होस् भन्ने लाग्छ । त्यतातिर पाइला बढाएको पनि देखिन्छ, तर किन सफल हुँदैनन् ती मानिसहरू ? यसको रहस्य के हो ? कसरी काम गर्ने त सफल हुनका लागि ? आउनुहोस्, अब यसभित्र प्रवेश गरौँ । एउटा कथाबाट चर्चा सुरु गरौँ ।
 
योजनाविहीन व्यक्ति कहिल्यै सफल हुँदैन

केही वर्षअघिको कुरा हो, म एउटा प्रशिक्षण कार्यक्रम चलाउँदै थिएँ, भर्खर स्नातक उतीर्ण गरेका  युवाहरुका लागि । केही जोसिला युवाहरूको एउटा जमात प्रशिक्षण कार्यक्रममा सहभागी हुन भनेर आयो । कार्यक्रममा सामेल हुनुअघि छोटो कुराकानी भयो उनीहरुसँग । म आफैँ कार्यक्रम संचालन गर्ने मुख्य व्यक्ति भएकाले कुराकानी मैले नै सुरु गरेँ ।

मैले उनीहरुलाई सोधेँ— “तपाईँहरु जीवनमा के गर्न चाहनुहुन्छ ?”

थरिथरिका जवाफ दिए उनीहरुले । कोही राम्रो र आकर्षक जागिर खोज्न चाहन्थे, कोही उद्यमी बनेर धेरै पैसा कमाउन चाहन्थे, कोही समाजसेवाको काम गर्न चाहन्थे, कोही राजनीतिमा लागेर नेता बन्न चाहन्थे कोही गाउँको आफ्नै खेतबारीमा आधुनिक तरिकाले खेतीपाती गर्न चाहन्थे । कोही चाहिँ विदेश गएर राम्ररी पढ्ने र त्यहीँ काम गरेर धेरै पैसा कमाउन चाहन्थे ।

मैले सबैजसो सहभागीहरूका उत्तर सुनेपछि फेरि सोधेँँ— “यी कुरा प्राप्त गर्नका लागि काम गर्ने कसरी ? कसले यसमा सहयोग गर्न सक्छ ? पुँजी कति चाहिन्छ ? आफ्नो ज्ञान, सीप र दक्षता पुग्छ कि पुग्दैन ? त्यो सीप विकास कसरी गर्ने ? अप्ठ्यारोसँग जुध्नुप¥यो भने त्यसका लागि कस्तो योजना छ ? यसबिारेमा केही सोच्नुभएको छ ?”

यी सबै कुरा सोध्न थालेपछि उनीहरूको जोस, जाँगर र ऊर्जा सबै ओरालो लाग्न थाल्यो । अन्तर्वार्ता सकिँदा सबैजसो सहभागीहरू खुइय गर्न थाले । एक प्रकारको निराशा थियो उनीहरूको अनुहारमा ।

त्यसपछि हामीले केही दिनको परामर्श सेवा दियौँ उनीहरुलाई । परामर्शपछि केही युवाहरू ऊर्जावान् भएर काममा लाग्न तयार भए । अहिले तीमध्ये केही युवाहरू स्वरोजगार छन् । कोही विदेशमा गएर राम्रो कमाइ र पढाइ दुवै गर्न सफल भएका छन् । कोही उद्यमी बनेर केही मानिसलाई रोजगारी पनि दिइरहेका छन् ।

माथिको कथाबाट बुझिन्छ, सफल हुन र आफूसँगको ज्ञानलाई आर्थिक आर्जनमा परिणत गर्नका लागि जोस, जाँगर, इच्छा र लक्ष्य भएर मात्र पुग्दैन, त्यसलाई सफल पार्नका लागि व्यवस्थित योजना पनि आवश्यक हुन्छ । सबै कुरा कुनै पनि मानिस एक्लैले गर्न सक्तैन । एउटा मानिसको सफलता र उन्नतिमा कैयौँ मानिसहरूको साथ र सहयोग आवश्यक हुन्छ । केवल सपना र इच्छा बताएर सहयोग पाउन सकिँदैन । म सही काममा र सही कार्ययोजनाका साथ लागिरहेछु भनेर विश्वास दिलाउनु आवश्यक हुन्छ । त्यसका लागि चाहिन्छ– व्यवस्थित योजना । योजना नभएको इच्छा जतिसुकै आकर्षक भए पनि त्यसले हामीलाई सफलतामा पु¥याउन सक्तैन । अझ आर्थिक आर्जन गर्ने र भौतिक सम्पन्नता हासिल गर्ने कुरामा त योजना  नभई हुँदैन ।
 
योजनाले विश्वास जगाउँछ

दुईजना व्यापारी वाणिज्य बैंकमा ऋण माग्न गएछन् । एउटा निकै वर्षदेखि कारोबार गरिरहेको मानिस थियो, अर्को चाहिँ नयाँ । नयाँ व्यापारी आफ्नो साथमा व्यवस्थित योजना लिएर सबै आवश्यक कागजातसाथ बैंकमा गएको थियो । ऊ कुनै नयाँ व्यवसाय सुरु गर्न चाहन्थ्यो । त्यसका लागि आवश्यक अनुभव पनि उसले अर्को ठाउँमा काम गरेर आर्जन गरिसकेको थियो । पुरानो जुन व्यापारी थियो ऊसँग अनुभव त थियो तर ऋणका लागि आवश्यक पर्ने कुनै कागपत्र र तयारी गरेको थिएन । योजनामा ऊ कमजोर थियो ।

दुवैले ऋण आवेदनपत्र भरेर पेस गरे । पुरानोले म अनुभवी छु, धेरै वर्षदेखि व्यापार गरिरहेको छु भनेर व्याख्यान दियो, तर निवेदनबाहेक केही पनि कागज–प्रमाणहरू पेस गरेन । आवश्यक प¥यो भने पछि पेस गर्नेछु मात्र भन्यो ।

नयाँ जुन युवक थियो, निवेदनसाथ उसले आफ्नो योग्यता र अनुभव झल्किने बायोडाटा, व्यापार व्यवसायको व्यवस्थित योजना, वित्तीय अवस्था झल्काउने विवरण अनि ऋण तिर्ने योजनासहितको प्रस्ताव पनि पेस गरेको थियो । आफ्नो व्यवसायमा आउन सक्ने जोखिम, यसमा हुने फाइदाको अवस्था, सरकारको नीति, आवश्यक पर्ने पुँजी, त्यसका लागि स्रोतहरू सबै कुरा उसको प्रस्तावमा प्रस्ट थिए ।

बैंकका अधिकृतले दुवैको निवेदन लिए र उनीहरूको व्यवसायस्थलको निरीक्षणमा गए । पुरानो जुन व्यापारी थियो, ऊसँग आफ्नो निजी व्यापार गरिरहेकाले व्यापारको हिसाब राख्ने खातापाता पनि थिएन, दस वर्षदेखि उसले सामान खरिद–बिक्रीको कुनै हरहिसाब राखेको पनि थिएन । बैँक खाता भर्खर मात्रै खोलेको थियो । आफ्नो व्यवसाय बारेको जोखिम र सम्भाव्य प्रतिस्पर्धाका बारेमा पनि सोचाइ बनाएको थिएन ।

अर्को नयाँ व्यवसायी भने कम्प्युटर सफ्टवेयरमा लेखा राख्ने तयारीमा थियो । व्यवसायको भावी स्वरूपको बारेमा उसको स्पष्ट मार्गचित्र थियो । व्यवसाय सञ्चालन र उद्यमशीलताबारे एउटा छोटो अवधिको तालिम पनि लिइसकेको थियो ।

बैंक अधिकृतले दुवैको निरीक्षणपछि उनीहरूको ऋण आवेदनका बारेमा राय पेस गर्नुपर्ने थियो । उनले पुरानोलाई ऋण दिनुभन्दा नयाँलाई ऋण दिनु उपयुक्त हुने प्रतिवेदन पेस गरे । पुरानोले ऋण पाएन, नयाँ व्यवसायीले ऋण पायो ।

अहिले त्यही युवा व्यवसायी नेपालकै प्रसिद्ध आयात–निर्यातकर्ता व्यापारी भएको छ । नेपाल भित्रिने धेरै उपभोग्य सामानहरू विदेशबाट भित्र्याउने काममा संलग्न छ । व्यापारको विविधीकरण गरिरहेको छ । प्रतिस्पर्धात्मक व्यापारको बीचमा पनि अफूलाई निरन्तर अगाडि बढाइरहेको छ ।

त्यसैले जुनसुकै काम गर्न पनि इच्छा मात्र भएर पुग्दैन, लक्ष्य बनाएर मात्र हुँदैन, त्यसलाई सफल बनाउन आवश्यक पर्ने योजना पनि बनाउनुपर्छ । अधिकांश मानिसहरू व्यवस्थित योजना बनाउँदैनन् । बनाइहाले पनि उनीहरूसँग वैकल्पिक योजनाको अभाव हुन्छ । एउटा योजनामा काम गर्दा सानोतिनो बाधा आयो कि हतास–निराश भएर हातपाउ बस्ने अवस्थामा पुग्छन् । त्यसैले योजना मात्र बनाएर पनि पुग्दैन त्यसका अनेकन विकल्पहरूको अध्ययन गरेर वैकल्पिक योजना पनि बनाउनु आवश्यक हुन्छ ।
 
विचारलाई योजनामा बदल्ने कसरी ?

कुनै काम सुरु गर्दा वा व्यवसाय सुरु गर्ने विचार गर्दा तपाईँको कल्पनामा आएका हरेक कुरालाई टिपोट गर्नुहोस् । ती टिपोटहरूमा आएका कुराहरूका आधारमा एउटा मुख्य योजना तयार पार्नुहोस्, त्यसरी तयार पारिएको योजनामा काम गर्न थाल्नासाथ अनेक त्रुटिहरू देखिन थाल्छन् । ती त्रुटिहरूका कारण अनेक बाधा र असफलता पनि आउन सक्छन् । दीर्घकालीन उद्देश्यमा लागेर योजनाबद्ध रूपमा काम गर्दा अल्पकालीन असफलता आउनु स्वाभाविक हो । यसरी आउने असफलताले धैर्य र लगनशीलताको परीक्षा गर्छन्, सिर्जनात्मकता बढाउँछन् र सिक्ने दृष्टि विकास गर्छन् । त्यसैले बनाएको एउटा योजनामा बाधा व्यवधान आए र असफल भए जस्तो देखिए पनि त्यसबाट नआत्तीकन अर्को वैकल्पिक योजना तयार पार्नुहोस् । त्यसलाई नै आरम्भ मानेर फेरि पूर्ण ऊर्जाका साथ सुरु गर्नुहोस् ।

अल्पकालीन पराजय नै दीर्घकालीन असफलता हुन सक्तैन । अव्यावहारिक, अपूर्ण र त्रुटिका कारण त्यो योजना असफल भएको ठान्नुहोस् । योजना दमदार थिएन वा त्रुटियुक्त योजना थियो भन्ने ठानेर नयाँ रूपमा त्यसलाई फेरि अघि बढाउनुहोस् । आवश्यक प¥यो भने त्यसलाई थोरै समय ब्रेक गरेर सुधार र परिमार्जन पनि गर्नुहोस् । योजना नै बिचारलाई शक्ति दिने र सफलतामा पुर्याउने मुख्य तत्व हो । निरन्तर योजनाका साथ लागिरहने मानिस जीवनमा न कहिल्यै निराश हुन्छन् न कहिल्यै हार मानेर बसिरहन्छन् । जीवन बदल्ने सबैभन्दा मुख्य कुरा हो व्यवस्थित योजना । त्यसलाई आत्मसात गरेर बढीभन्दा बढी समय योजना बनाउनमा लगाउनुस् सफलता नजिक ल्याउँछ त्यसैले ।  

जीवनदर्शन अंक ३ मा प्रकाशित

Monday, October 13, 2014

प्रमाण पत्र नै योग्यता होइन

अहिले अनेक विषयमा स्नातक, स्नातकोत्तर गरेर प्रमाणपत्र लिएका युवाहरुको ठूलो सङ्ख्या बजारमा बेराजगार देखिन्छन् । यसको रोजगारीका अवसर कमजोर हुनु त छँदैछ, यदि अवसर उपलब्ध भयो ने भने पनि त्यसलाई उपयोग गर्न सक्ने क्षमता पनि आजका शिक्षितहरुका कमजोर छ । उनीहरुसँग आफूले सिकेको ज्ञान र सीपलाई व्यावहारिक रूपमा प्रयोग गर्ने कला, त्यसका लागि आवश्यक अनुभव हासिल गर्ने उत्प्रेरणा, मानवीय व्यवहार र सञ्चारसीपको कला पनि निकै कमजोर पाइन्छ  । प्रविधि जानेर र सैद्धान्तिक कुरा जानेर मात्रै आजको बजारमा आफ्नो प्रतिभा बिक्री गरेर जीवनयापन गर्न सकिँदैन । मानवीय व्यवहारको कुशलता काम पाउन र सफल हुन अति नै आवश्यक तत्व हो । यसको अभावमा हामीले न त चाहेको काम पाउन सक्छोँ न त काममा सफल हुन ।

म यहाँ एउटा अनुभवबाट यस कुरालाई अलि विस्तारमा सम्झाउन चाहन्छु । एक समयमा म काठमाडौँ उपत्यकाभित्रका केही सहकारी संस्थाको परामर्शदाताका रूपमा काम गर्थेँ । संस्थाहरूलाई आवश्यक पर्ने जनशक्ति छनोट गर्ने र तिनलाई लेखा र प्रशासन सम्बन्धी तालिम र परामर्श प्रदान गर्नु मेरो जिम्मेवारी थियो । संस्थाले कर्मचारी चाहियो भनेर विज्ञापन निकाल्थ्यो र त्यसमा आवश्यक योग्यताबारे पनि सूचित गरिएको हुन्थ्यो । विज्ञापन हेरेर धेरै दरखास्तहरू हालिएका हुन्थे । दरखास्तसाथ उनीहरूको व्यक्तिगत विवरण (बायोडाटा) र संस्थाले गरेको विज्ञापनको पदमा आफू किन योग्य छु भन्नेबारेमा एक पृष्ठको हस्तलिखित नोट पनि पेस गर्नुपर्ने व्यवस्था गरेका थियौँ ।

त्यसरी आवेदन हाल्नेहरूमध्ये करिब ९० प्रतिशत आवेदकहरूले काम खोज्न कस्तो विवरण (बायोडाटा) बनाउने ? त्यसमा के के उल्लेख गर्ने ? काम दिने संस्थाको मागलाई त्यो बायोडाटाले कसरी योग्य मान्छे छान्न सहयोग पु¥याउला भन्ने कुरा भने ख्याल गरेको पाइँदैनथ्यो । काम खोज्नका लागि आवश्यक पर्ने बायोडाटा तयारीमा उनीहरूको ध्यान पटक्कै पुगेको देखिँदैनथ्यो । त्यसपछिको अर्को हस्तलिखित नोटको अवस्था त झन् दयनीय थियो । अक्षर कस्तो लेख्ने ? कसरी लेख्ने ? भाषाको प्रवाह र कुराको तालमेल कसरी मिलाउने ? सुरु कसरी गर्ने ? लेख्दाखेरि प्रयोग गर्नुपर्ने शब्दावली कसरी ठीकसँग प्रयोग गर्ने ? आफनो क्षमता र दक्षता कसरी प्रस्ट्याउने ? यस्ता कलामा पटक्कै ध्यान दिएको पाइँदैनथ्यो । ज्यादै थोरैसँग मात्र त्यसको ज्ञान भएको पाइन्थ्यो ।

अन्तर्वार्ताको अवस्थामा आइपुग्दा झन् स्थिति दयनीय थियो । बल्लबल्ल  केही सीमित आवेदकहरूलाई छोटो सूचीमा समावेश गरेर बोलायो, न विषयको प्रस्तुतिको ढाँचा जानेको छ, न बोल्ने सीप छ, न संस्थागत कामको जिम्मेवारीबारे प्रस्टता छ । कुनै अध्ययनबिना नै दरखास्त हाल्न पुगेको पाइन्थ्यो  । त्यसरी कुनै पनि ठाउँमा चाहेको काम पाउन र आफूलाई क्षमतावान् साबित गर्न सकिँदैन ।

विश्वविद्यालयमा कुन विषयमा कति प्रतिशत अंक ल्याएको छ भन्ने कुरा कार्यक्षेत्रमा जाँदा त्यति महत्वको हुँदैन, जति ऊसँग सम्बद्ध सेवा प्रदान गर्ने भावना, काम गर्ने सीप र मानिससँग गरिने व्यवहार र संचारसीप । यी कला नभएको उत्कृष्ट अंकधारी स्नातकभन्दा ती कला भएको औसत अङ्कधारी स्नातक नै कम्पनीहरूको, संस्थाहरूको वा व्यस्थापकहरूको प्राथमिकतामा पर्छन् ।

सैद्धान्तिक ज्ञानलाई मानवीय सम्बन्धको सीप र भावनात्मक पक्षसँग जोडेर व्यवहारमा प्रदर्शन गर्न नसक्ने मानिस कहिल्यै पनि आफूले चाहेको क्षेत्रमा सफल हुन सक्तैन । त्यसैले ‘कुनै पनि क्षेत्रमा सफल हुन चाहने व्यक्तिले त्यसमा आवश्यक पर्ने ज्ञान र सीपको विकास गर्नुपर्छ’ भन्छन्, प्रसिद्ध पुस्तक ‘थिङ्क एन्ड ग्रो रिच’ का लेखक नेपोलियन हिल पनि ।

Sunday, August 17, 2014

कृष्ण जन्माष्टमीः आध्यात्मिक अर्थमा कसरी बुझ्ने कृष्ण र कृष्णअष्टमीलाई ?

आज भाद्र कृष्ण अष्टमी । भगवान कृष्णको जन्मजयन्ती देशभर धुमधामका साथ मनाईंदैछ । महिलाहरु व्रत बस्ने, कृष्णमन्दिर गएर भगवान कृष्णको प्रतिमाको दर्शन गर्ने, धूप, बत्ती आदि चढाउने गरिरहेका छन् । के यसको अर्थ र महत्व यतिमै मात्र सीमित छ त ? के हो यो पर्वको निहितार्थ ? यसबारे संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिनेछ यस आलेखमा ।

महर्षि कृष्ण द्वैपायन व्यासले श्रीमद्भागवतमा कृष्ण चरित्रको विस्तृत कथा समावेश गरिदिए । कृष्णका बाल्यकाल, किशोर वय र त्यसपछिका कृयाकलापको विस्तृत चित्रण गरियो कृष्ण चरित्रमा । त्यस कथामा आधारित भएर अनेक अरु ग्रन्थहरु रचिए । श्रीकृष्ण चरित्र महाभारत र श्रीमद्भागवतसँगै लेखियो कि अघि वा पछि लेखियो त्यसको किटानी नभए पनि यी दुवै ग्रन्थहरु केही कालको अघिपछिमा सिर्जित भएका होलान् भन्न सकिन्छ । 

श्रीमद्भागवतको संस्कृत अध्यनका आधारमा हेर्दा त्यसको भाषा लौकिक संस्कृतकोभन्दा जटिल रहेको देखिन्छ । पछिल्लो चरणमा संस्कृतको सरलीकरण भएर लौकिक रुपमा बोलिने संस्कृतको प्रचलनमा आएपछि अरु संस्कृत ग्रन्थहरुको रचना भएको हो कि भन्न्े ठाउँ देखिन्छ । वेद, उपनिषद्, ब्राह्मण र पुराण ग्रन्थहरुको क्रमशः लेखन भएको हो, त्यसभन्दा पछिका ग्रन्थहरु हुन् महाभारत, कृष्णचरित्र र रामायणहरु भन्नेहरु पनि छन् । तथ्य जे भए पनि श्रीकृष्ण महर्षि कृष्ण द्वैपायन व्यसद्वारा सिर्जित श्रीमद्भागवत पुराण र महाभारतका एक अविस्मरणीय पात्र हुन् भन्नेमा भने कसैको पनि विमती छैन ।

यथार्थमा श्रीकृष्ण को थिए ? वास्तवमा द्वारकामा कुनै गोपाल वंशीय पुरुषको जन्म भएको थियो कि थिएन ? व्यसजीले आफ्ना ग्रन्थमा ती ठाउँहरुको चित्रण गर्नका लागि जस्तो चरित्रको प्रारुप तयार पारे र आफ्ना ग्रन्थहरुमा चित्रण गरे त्यही आधारमा पो ती ठाउँ र क्षेत्रले पछि नामाकरण र प्रसिद्धि पाएका हुन् कि ! त्यसमा अध्ययन र अनुसन्धानका आफ्ना निष्कर्षहरु छन् र भविष्यमा पनि यसबारे अध्ययन र अनुसन्धान हुँदै रहला । यसमा अनेक मतमतान्तरको ठाउँ पनि छँदैछ । स्वामी अडखडानन्दजस्ता विद्वानहरु महाभारत कल्पित कथा र सुन्दर काव्य भएकाले यसलाई आध्यात्मिक रुपमा अथ्र्याउनु पर्ने र त्यसका पात्रहरुलाई आध्यात्मिक रुपमा अर्थ लगाएर बुझ्नुपर्ने दावी पनि गरिरहेकै छन् । उनको भनाइलाई मान्ने हो भने महाभारतको युद्ध भएकै होइन । महर्षि व्यासले साधनाको यात्रामा अनुभूत गरेका कुरालाई रुपकका माध्यममा अनेक चरित्र खडा गरेर यसको रचना गरेका हुन् । त्यसैले त्यसमा वर्णत चरित्रलाई आध्यात्मिक रुपमा मात्रै ग्रहण गर्नु उपयुक्त हुन्छ भन्ने दावी उनको रहेको छ । 

यस्ता अनेक वादविवाद श्रीकृष्णको चरित्र चित्रणका कारणले उत्पन्न भएका छन् । धार्मिक तथा साँस्कृतिक रुपमा पनि श्रीकृष्णको चरित्रले मानिसलाई गम्भीर प्रभाव पारेको छ । श्रीमद्भागवत गीताका रचयिता कृष्ण द्वैपायन व्यासले अध्यात्म साधनाको एक अवस्थामा जुन आध्यात्मिक अनुभूति गरे त्यसको अनुभूतिका रुपमा गीता ग्रन्थ तयार भयो । काव्यात्मक रुपमा आउँदा एक प्रमुख पात्र श्रीकृष्ण्का माध्यमले ती भनाइहरु अभिव्यक्त महाभारतमा भए । कालान्तरमा मानिसहरुले व्यसलाई अर्थात् काव्यकारलाई बिर्से । पात्रका रुपमा चित्रित श्रीकृष्ण यति प्रभावशाली भएर देखापरे गीता कृष्णकै वाणीका रुपमा र कृष्णकै अनुभूतिका रुपमा प्रकट भएको ठाने मानिसहरुले । वास्तवमा गीता कृष्णको रचना थिएन त्यो थियो कृष्ण द्वैपायन व्यासको रचना । कृष्ण नामका एक पात्र थिए उनको महाकाव्यका । उनकै माध्यमबाट ती भनाइहरु राख्नु उपयुक्त देखिएकाले उनले ती भनाइहरु अघि सार्न कृष्ण रोजे । 

संसारमा पूर्वीय दर्शनको एउटै मात्र ग्रन्थ रोज्नु पर्यो भने सबैले रोज्ने ग्रन्थ हो भागवत् गीता । यो श्रीकृष्णले नै लेखेका हुन्जस्तो ठानेर व्यख्या गरिन्छ आजभोलि । तथ्य चाहिँ त्यो होइन यसका सर्जक हुन् महर्षि कृष्ण द्वैपायन व्यास । 

संसारका प्रभावशाली रचनामा चित्रित भएका चरित्रले लेखकलाई ओझेल पारेका अनेक उदाहरण छन् । आमा लेखे गोर्कीले तर मानिसहरुले आमाको भूमिका निर्वाह गर्ने पात्रालाई जति सम्झेका छन् शायद गोर्कीलाई त्यति सम्झँदैनन् होला । रामायण लेखे वाल्मीकिले, रामचरितमानस लेखे तुलसीदासले । उनीहरु दुवै गौण भए उनीहरुले चित्रण गरेका राम चाहिँ मुख्य पात्रका रुपमा जीवन्त भइरहे मानिसहरुका हृदयमा । कुशल काव्यकारको रचनाको शक्ति हो यो । नभएको चरित्रलाई पनि कल्पनाको प्रयोगले जीवन्त पात्र बनाइदिन्छ रचनाकारले । सर्जकको महानता यही हो । 
यति भनिसकेपछि अब आउँ कृणलाई कसरी बुझ्ने ? को हुन् कृष्ण ? के द्वारकाका कुनै ग्वालापुत्रका रुपमा जन्मेर केही लीला देखाउने व्यक्ति मात्रैका रुपमा हामीले कृष्णलाई बुझ्ने कि त्यसको कुनै गहिरो आध्यात्मिक र दार्शनिक व्याख्या पनि छ ? गीता त्यति गहन दर्शन बोकेको ग्रन्थ हो भने त्यसलाई प्रस्तुत गर्ने कृष्ण चाहिँ के सामान्य रुपमा हामीले ठानेकैजस्तो चरित्र, एउटा ग्वालाको छोरो, चमत्कारिक पुरुष, रसिक र रतिरागयुक्त युवा, युद्धमा अर्जनलाई युद्ध लड्न उक्साउने व्यक्ति मात्रैका रुपमा बुझेर यसको रहस्य बुझ्न सकिन्छ त ? आउनुहोस् यसबारे अलिकति विवेचना गरौँ । 

कृणको जन्म भाद्रकृष्ण अष्टमीमा भएको बताइन्छ । उनी कालावर्णका थिए भनेर उनको चित्रमा त्यही वर्ण उल्लिखित छ । चित्रमा हेर्दा उनको हातमा कि त मुरली छ कि त शंख रहेको छ । युद्धकालमा उनको हातमा शंख छ भने रसिक युवावस्थामा गोपिनीहरुसँगको रास लीलामा मुरली छ । बाल्यकालमा अनेक लीलाहरु भएको उल्लेख छ । ती अलौकिक र असाधारण तिलस्मी खालका छन् । आध्यात्मिक महत्वको ग्रन्थ, दार्शनिक आधारमा लेखिएको ग्रन्थ अनि सभक्ति त्यसको आदर र सम्मान गरिने ग्रन्थ भएकाले भागवत, कृष्णचरित्र र महाभारतमा उल्लिखित उनको चित्र, वर्ण, श्रृङ्गार र सामग्रीहरुको पनि बिना अर्थ व्यासले उल्लेख गरेका हैनन् कि भन्ने मान्नु पर्ने हुन्छ । यस आधारमा श्रीकृष्णलाई आध्यात्मिक रुपमा पनि हेर्नु र विश्लेषण गरेर तथ्य केलाउनु आवश्यक देखिन्छ । 

किन कृष्ण पक्षमा नै जन्मेको चित्रण गरे व्यासले ?

ज्योतीषीय हिसाबले कृष्ण पक्षलाई अँध्यारो अर्थात् कालो पक्ष र शुक्त पक्षलाई उज्यालो अर्थात् ज्योतिमय पक्षको रुपमा लिने गरिन्छ । स्वाभाविक रुपमा औंसी पक्ष बढी अन्धकारमय हुन्छ, कालो हुन्छ भने शुक्लपक्ष बढी प्रकाशमय अर्थात् ज्योतिमय हुन्छ । कृण पक्ष अध्यात्म साधनाका दृष्टिले सुरुआत गर्ने समय हो अर्थात् आध्यात्मिक जन्मतिर लाग्ने समय । अष्टिमी यो पक्षको ठीक बीचमा पर्दछ । अष्टमीमा एकहप्ता लामो साधनामा बसियो भने क्रमशः बढ्दै गएर पन्धौँ दिनमा पूर्णिमा आउँछ । पूर्णिमा निराकार र साकार दुवै खाले आध्यात्मिक साधना गर्नेहरुका लागि महत्वपूर्ण मानिन्छ ।

कृष्ण अष्टमीको अघिल्लो दिन नै दिनभर व्रत वस्ने गरिन्छ र रातभर जाग्राम बसेर श्रीकृष्णको जन्मको प्रतिक्षा गर्ने चलन छ । सप्तमीको दिन दिनभर उपवास वस्नाले शरीर शुद्ध हुन्छ । उपवासले शरीरको शुद्धिमा विशेष महत्व राख्दछ । उपवासबाट शुद्ध पारिएको शरीरलाई साधनामा लगाउँदा ध्यान गहिरोसँग लाग्ने र चित्त पनि एकाग्र गर्न मद्दत मिल्छ । उपवासबाट नै साधनाको उच्चतामा पुग्न सकिन्छ भनेर लामो उपवासको साधना गर्ने परम्परा जैन धर्मवलम्बीहरुबीच अहिले पनि विद्यमान छँदैछ । पर्व विशेषमा उपवास वस्ने र शरी र मन शुद्धि गर्ने अनेक साँस्कृतिक प्रचलन हिन्दूहरुमा पनि पाइन्छ । 
यसरी सप्तमीबाट उपवास बसेर निराकारको साधनामा प्रवेश गर्नेहरुका लागि अन्धकार रात्री अति नै महत्वपूर्ण हुन्छ । अघिल्लो दिन दिनभर उपबासबाट शुद्ध भएको शरीर र मनमा साधना गर्न चाहनेहरुलाई गुरुले कृष्ण अर्थात् इश्वरको अनुभूत गर्ने साधनाबीज प्रदान गर्दछन् अर्थात् कृष्ण जन्मको अनुभव गराइदिन्छन् । रातिको अन्धकारमा आँखाबन्द गरेर भित्र हेर्दा कालो नै देखिन्छ । त्यसैले रात्ति कृष्णको जन्म भएको बताइन्छ । अर्थात् साधनाका क्रममा पहिलो अनुभव साधकले निराकार अन्धकार रुपि कालो नै देख्छ । कृष्णको रुप नै कालो भनियो त्यस कारण  । अब कृणको जन्म हुन्छ अर्थात् निराकार साधनामा कृष्णमय हुन थाल्छ साधक । 

त्यसपछि अनेक लीलाहरु घटित हुन थाल्छन् । अर्थात् घरि नागहरु आउँछन् । तिनलाई कृण बिषविहीन बनाइदिन्छन् । हायलकायल पार्छन् । दैत्यहरु, राक्षसहरु आउँछन् तिनलाई मार्छन् । क्रमशः ठूलो हुँदै जान्छन्, मुरली बजाउन थाल्छन् । गोपिनीहरु कृष्णको मुरलीको धुनबाट आकर्षित हुन्छन् । लट्ठिन्छन् । कृष्ण्सँग वनवन चाहार्न पनि हिच्किचाउँदैनन् । कृष्ण नै कृष्ण देख्छन् सबैतिर । उनकै मुरली गुन्जिएको सुन्छन् । त्यसपछि निर्णयक युद्धमा कृष्ण लाग्छन् महाभारतमा । अर्जुनजस्ता अकडा मानिसलाई उनले सहयोग गर्नुपर्ने हुन्छ । भक्त त छन् तर शंकाले घेरिएका भक्त छन् उनी । जान्दछन् तर मोहमुक्त छैनन् । यस्तालाई अनेक ज्ञानका गोप्य सूत्रहरुको व्याख्या गरेर विराट रुपको दर्शन गराएपछि वल्ल आफ्नो स्वरुपको र आफ्नो अस्तित्वको बोध गर्दछन् अर्जुन । निर्णयक युद्ध लडेर युद्ध जित्छन् । पाण्डवको विजय अर्थात् कृष्णका पक्षको विजय हुन्छ अर्को पक्ष हार्छ । 

के हुन् यी सबै कुरा ? के यिनको अभिधार्थ मात्र छ त ? निश्चयनै कृष्ण द्वैपायनजस्ता महान् काव्यकारले लेखेको कृतिमा यसलाई अभिधयर्थमा मात्र चित्रण गरेर चित्त बुझाए होलान् भन्न सकिने ठाउँ छैन । 
त्यसो हो भने यसको व्यञ्जनार्थ, दार्शनिक अर्थ र अझ आध्यात्मिक रुपमा यसका रुपकहरुको अर्थ खोज्न आवश्यक हुन्छ । 

कृष्णको वर्ण किन कालो भनेर व्याख्या गरिन्छ ?

कृष्णको सोझो अर्थ नै हो कालो अर्थात् श्याम । अध्यात्म साधनामा जब साधक आत्मचिन्तनमा डुब्न तयार हुन्छ उसले आफ्नो आँखा आफैँभित्र फर्काउनु आवश्यक हुन्छ । बाहिरी आँखा बन्द गर्नुपर्छ । बाहिरी आँखाले संसार देख्छ भने भित्री आँखाले सत्य देख्छ । सत्यतिर फर्कँदा सबैभन्दा सुरुमा अनुभूत हुने तत्व हो अन्धकार अर्थात् अँध्यारो । प्रकाशमय उज्यालोमा आँखा बन्द गरेपछि स्वाभाविक रुपमा निराकारमय कालो अन्धकार नै देखिन्छ । कृष्णको वर्ण त्यस्तै छ, कालो, अर्थात् निराकारमय । अब साधक क्रमशः आध्यात्मिक यात्रामा प्रवेश गर्दछ । उसलाई यात्रा गर्ने क्रममा थाहा हुन्छ मभित्र त राक्षसजस्तो चीज पनि छ, नागजस्तो बिषमय चीज पनि छ । अनि अनेक पशुवत् चीजहरु पनि छन्, पुतनाजस्ता बिषपान गराउन तयार भएका दुराकांक्षाहरु पनि छन् । वास्तवमा बिषले भरिएको स्तन लिएर बिषपान गराउन तयार हुने पुतना, कालियदमनजस्ता अति बिषलु नाग हामीभित्रैका अनेक काम, क्रोध, लोभ, इष्र्या, द्वष र अहंकारका भावहरु हुन् । साधनाका क्रममा यीप्रति साधक क्रमशः सचेत हुँदै जान्छ । यस्तो सचेतता थाहा पाउन थालेको साधकलाई अब गुरुले क्रमशः कृष्णको असल रुपबोधतिर प्रवेश गर्नका लागि आफैँभित्र प्रकट हुने ओमकारमय परमसंगीत र आत्मतत्व पहिचान गर्ने तत्वाभ्यासका लागि केही साधनाविधिहरु थपिदिन्छ । अव उसको कृष्ण (ओमकार अर्थात् निराकार ब्रह्म) अझ बलवान र प्रेममय हुँदै जान्छ । ठूलो हुँदै जान्छ । हुर्कंदै जान्छ । 

के हो मुरली र शंख ?

जब सचेतता बढ्छ आफूभित्र रहेको निराकारबाट ध्वनिहरु सुन्न थाल्छ साधकले । त्यो जब जब भाव, भावना र उर्जासँग एकाकार हुँदै अघि बढ्छ अनि क्रमशः आफैँभित्र गुन्जने आत्मतत्व, ओमकार वा अनहदको ध्वनिको गुणवत्ता पनि फेरिँदै जान्छ । जतिजति साधक आत्मतत्वमा लीन हुँदैजान्छ त्यतित्यति भिन्न्भिन्न ध्वनि सुन्न थाल्छ । बाँसुरीको ध्वनि श्रवणको अवस्था भनेको चित्त एकाग्रभएको र चेतनाले क्रमशः माथिल्लो स्तरतिर बढिरहेको अर्थात् भक्तिभावमा डुबेको र अरुकुरा क्रमशः त्याग्दै आत्मतत्वतिर बढिरहेको अवस्था हो । भावनात्मक रुपले भक्तिको अवस्थामा र अनि उर्जा र चेतनाको आधारमा भने आज्ञाचत्रतिर बढिरहेको अवस्थामा साधकले मुरलीको धुन अनवरत रुपमा आफैँभित्र श्रवण गर्न समर्थ हुन्छ । आफैँभित्रको अनहद ध्वनि श्रवण गर्न थालेपछि भित्र र बाहिरको ध्वनि क्रमशः एकाकार हुँदै साधक गोपिनीमय हुन्छ । अलमस्त रुपमा आफैँभित्रको मुरलीमय ध्वनि सुनेर लटिठरहन्छ । यस्तो धुनको अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्नामय हुन्छ साधक । वासना गौण हुन्छ, अनहदको ध्वनिका कारण आन्तरिक रुपमा अत्यन्त उर्जावान् हुने हुनाले आफूलाई भित्रैदेखि कृष्णमय निराकारमय अनुभव गर्न थाल्दछ । यसैलाई कृष्ण द्वैपायनले मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरिदिए । यतिवेलाको भक्त अव आफूभित्र स्त्रैण चरित्रमा रुपान्तरण भएको अनुभव गर्न थाल्छ अर्थात् उसभित्र फेनिस्ट उर्जाले प्रवेश पाउँछ । वाणी, हाउभाउ, हृदयको भाव सबै क्रमशः परिवर्तित हुन्छन् । 

त्यसपछि साधक निर्णायक रुपमा चित्तवृत्तिनिरोधतिर लम्कन्छ । यो वा ऊ को लडाइमा निर्णयक रुपमा होमिन्छ । यसरी होमिएको साधक कहिले मोहबाट तानिन्छ, कहिले अहंकारबाट अनि घरिघरि भगवत्ताको आनन्दमय अवस्थाको आकर्षणबाट । यही अवस्था हो महाभारतको अवस्था  । आफैभित्रको महाभारत । आफैभित्रको अर्जुन र कृष्णको द्वन्द्व । चरम द्विविधाको अवस्थामा पुगेको यो साधक अब यदि कृष्णको अर्थात् निराकार ओमकारको शरणमा साधनारत रहन सक्यो भने आन्तरिक प्रज्ञा जागरण गर्न समर्थ हुन्छ । यो अवस्थामा ऊ आफैभित्रबाट गीता प्रस्फुटित हुन्छ । यसबेला उसले आफूभित्र अनाहत ध्वनिको अर्को अत्युच्च रुप सुन्छ शंखमय ध्वनि । यो ध्वनिको श्रवणपछि साधक भगवत्तातिर लाग्दछ । शंखको आन्तरिक ध्वनिमा परिवेष्ठित साधक सांसारिक सुखदुखभन्दा माथि उठिसक्छ र अनन्त आनन्दमय परमउर्जामा आफूलाई विलीन गराउँछ, योगेश्वर हुन्छ । कृष्णमय ध्वनिमा विलीन हुँदाहुँदै उसले अस्तित्वको विराट रुपको दर्शन गर्न समर्थ हुन्छ । त्यही विराटमा आफूलाई विलीन भएको अनुभव गर्छ, योगेश्वर हुन्छ साधक त्यतिबेला । वित्तरागी बन्छ साधक यस अवस्थामा पुगेपछि । 

यसरी हेर्दा कृष्ण द्वैपायन व्यासको महाभारतमा वर्णित कृष्ण नामका एक व्यक्ति नभएर समस्त श्रृष्टिनियन्ता परमशक्तिका प्रतिक, ओमकारमय उर्जाको अन्तिम रुप देखा पर्दछन् भने उनका विशिष्ट लीलाहरु साधनाका क्रममा अनुभूत हुने विविध झाँकीहरु लाग्दछन् । यिनै भाँकीहरुको क्रमिक बोधबाट एउटा मानिस, मानव, साधक हुँदै भगवान अर्थात् कृष्ण हुन पुग्छ । यही अर्थमा श्रीकृण जन्माष्टमी मनाउने र आफ्नो घटमा कृष्णको जन्म गराउने प्रचलन साधना केन्द्रहरुमा थियो । तर पछि क्रमशः यो साधनाको पक्ष मर्दै गयो र आज आएर यो विशुद्ध कर्मकाण्ड र अन्ध श्रद्धाको रुपमा विकास भएको छ । यो एक किसिमले भन्ने हो भने धार्मिक अन्धविश्वासको पराकाष्ठा नै हो । आजभन्दा करिब ५००० वर्षअघि जन्मेका कृष्णको नाममा व्रत बसेर पुण्य लाभ हुन्छ भनेर आध्यात्मिक तत्वज्ञान को ज्ञ पनि अर्थ नलाग्ने यस्ता अन्ध परम्पराको पाण्डित्यपुर्ण व्यख्याको पछि लाग्नुको कुनै तुक छैन । कुरा साधना यात्रामा लाग्नेहरुले जन्माउने कृष्णको हो । यसलाई पुण्यको रुपमा साधना गर्ने हो भने आजैको रात्रीमा आफूभित्र कृष्ण अर्थात् ओमकारको बीजाधान गरेर कृष्ण जन्माउनु आवश्यक छ । यसो भयो भने बल्ल कृष्णका बाल लीलाको पनि अर्थ बुझ्न सकिन्छ अनि राक्षस बध, कंश बिनाश, गोपिनीसँगको रासलिला, महाभारत आदि आफैँभित्रको अनुभव र अनुभूतिमा आधारित भएर साक्षात्कार गर्न सकिन्छ । अब अन्ध श्रद्धा पालिरहेर एउटा अन्धसंस्कृति पालिरहने कि साधनाको गुह्यता बुझेर आफूलाई कृष्णमय बनाउने संकल्प लिने रोजाइ हरेकको आआफ्नै चेतना अनुसार गर्ने हो । 
अस्तु । 

Monday, March 17, 2014

राजनीति साधन हो साध्य होइन

क्षेत्रफलका हिसाबले सिङ्गापुर संसारका अति साना देशहरुमा पर्दथ्यो । ईसाको दोस्रो शताब्दीदेखि बसोबास सुरm भएको यो देश सन् १८१९ मा इष्टइन्डिया कम्पनीले आधुनिक सहरको रुपमा विकास गरेको रहेछ । सन् १८२६ मा बेलायती उपनिवेशको रुपमा गएको यो देशलाई दोस्रो विश्वयुद्धमा जापानले कब्जामा लियो । सन् १९६३ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसले तीव्ररुपमा आर्थिक र सामाजिक विकासको फड्को मा¥यो । प्रतिव्यक्ति आयका दृष्टिले संसारकै तेस्रो, वित्तीय हिसाबले संसारको चौथो ठूलो अर्थतन्त्र रहेको अनि संसारका पा“च व्यस्त बन्दरगाहमध्ये एउटा पथ्र्यो सिङ्गापुर । पूरै देश हाम्रो राजधानी सहर काठमाडौ“ जत्रो मात्रै रहेछ । पहिले–पहिले सिङ्गापुरलाई माझीहरुको देश पनि भनिन्थ्यो रे । ७५ प्रतिशत चिनिया“ मूलका मानिसहरुको बसोबास रहेको यो सानो देश संसारमै तीव्र गतिले आर्थिक र सामाजिक विकास गरेको देश मानि“दोरहेछ ।

सिङ्गापुर पुगेको भोलिपल्ट त्यहा“का प्रमुख राजनीतिक दलका नेताहरु र विशेषज्ञहरुसँग भेटघाट भयो । भेटघाटका क्रममा हामीले त्यहा“को आर्थिक र सामाजिक विकास कसरी भयो भनेर जिज्ञासा राख्यौ“ । पिपुल्स एक्सन पार्टी सिङ्गापुरका विदेश विभाग प्रमुख र संसद्का अध्यक्ष लि युनसँग हाम्रो विस्तृत कुराकानी भयो ।

हामीसँगको कुराकानीका क्रममा उनले भने– ‘सिङ्गापुर तपाईंहरुको देशभन्दा धेरै सानो देश हो । हाम्रो देश तपाईंको राजधानी सहरजत्रो मात्रै छ तर विश्वका ठूला अर्थतन्त्र भएको मुलुकमा पर्छ । केही दशक अगिसम्म हामी पनि तपै“हरुजस्तै गरीब देश थियौ“ । माछा मार्ने माझीहरुको सहर भनेर हामीलाई घृणा गर्थे । मलेसियनहरुले समेत हेप्थे । अरु देशले पनि हामीलाई हेप्थे । लि क्वान युले देश विकासको एउटा मोडेल बनाउनुभयो । त्यसलाई कार्यान्वयन गर्ने आधारहरु खोज्नुभयो । मानिसले समस्या हैन, अवसर देख्न थाले । अवसर देखेन भने, नेताले हाम्रा लागि केही गर्दैछन् भन्ने देखाउन सकिएन भने जुनसुकै राजनीतिक परिपाटी र संविधान ल्याए पनि काम गर्दैन भन्ने हामीले देख्यौ“ । मानिसले हेर्ने नेतालाई हो । नेता इमानदार र जिम्मेवार नभई देश बन्दैन, समाज र नागरिक समृद्ध हु“दैनन् । देश बन्यो भने सबै बन्छौ“ भनेर लाग्यो भने देश बन्छ अनि समाज र व्यक्ति आफै“ बन्दोरहेछ । हामी सबै मिलेर देश बनाउन लाग्यौ“ । पार्टी, व्यक्ति र गुट बनाउन लागेनौ“ । त्यो देखेर हामीलाई नागरिकहरुले पत्याए । त्यही पत्यारले बन्यो सिङ्गापुर ।’ उनको जोड नेताको र नेतृत्व गर्ने समूहको नैतिक चरित्र र देशप्रतिको जिम्मेवारीबोधमा थियो । यी कुरा राजनीतिक प्रणालीसँगै जान सकेनन् भने देश विकास हु“दैन भन्नेमा उनको जोड देखियो ।

उनले अझ थप्दै भने– ‘पारदर्शी र नैतिक चरित्र नभएको नेतालाई मानिसले पत्याउ“दैनन् भन्ने हामीलाई लाग्यो । त्यसलाई कसरी स्थापित गर्ने भनेर अनेक उपाय ग¥यौ“ । पत्यारिलो चरित्र नभएको नेता पदमा बसेर आफूलाई केही गर्ला देशको लागि भनेर केही पनि गर्न सक्दैन । त्यसैले राजनीतिक प्रणाली मुख्य हैन, त्यसलाई हा“क्ने इमानदार, जवाफदेही र जिम्मेवार नेता चै“ मुख्य कुरा हो । उसले नै समग्र प्रणालीलाई निर्देशित र सञ्चालित गर्छ । त्यसैले खराब नेता लिएर उच्च आदर्शको प्रणाली बनाउ“दा काम गर्दैन । दुवै एकैसाथ जान सक्ने गरी कमजोरीका प्वालहरु टाल्नुपर्छ । नेतृत्वमा इमानदारिता र जवाफदेहिता अनि असल चरित्रको विकास गर्नुपर्छ । अनि मात्र देश अगि बढ्छ । हामीले सोचेको र जानेको कुरा यही हो । यसै आधारमा आज सिङ्गापुर सिङ्गापुर हुन सकेको छ ।’

छोटो तर मार्मिक थिए उनका भनाइ । हामी देश बनाउने होइन, आफू र आना परिवार बनाउनेहरुको फन्दामा परेछौ“जस्तो लाग्यो सिङ्गापुर घुमेर हेर्दा । देश त्यति सानो तर आर्थिक विकासका दृष्टिले भने संसारकै ठूलो मानिने यो देश इमानदार नेताको कारणले बनेको रहेछ । 
सिङ्गापुरको भ्रमण सकेपछि बेलुका हामी मलेसियाको क्वालालम्पुर पुग्यौ“ । त्यहा“ पुगेको दिन मलेसियाली संसद्को पाहुना भएर ग्राण्ड मलेसिया होटलमा बसियो । भोलिपल्ट फेरि सुरm भयो, हाम्रो अध्ययन र अवलोकन भ्रमण । मलेसिया पनि तीव्र गतिले विकासतिर लम्किरहेका एसियाका देशहरुको सूचीमा पथ्र्यो । 
हामी मलेसियाको संसद्का प्रमुख महाथिर अहमदसँग भेटघाटका लागि उनको निवासमा गयौ“ । मलेसियाको एउटा प्रभावशाली पार्टीका नेता डा. महाथिर मोहम्मदका साथी थिए उनी । नेपाललाई साह्रै माया गर्ने मानिस रहेछन् अहमद ।

नेपालीहरु रोजगारीका लागि जाने प्रमुख गन्तव्य देश थियो मलेसिया । महाथिर अहमदले हामीलाई स्वागत गर्दै नेपालको भौगोलिक र प्राकृतिक सुन्दरताको प्रशंसा गरे । विकासका लागि प्राकृतिक स्रोत र साधनको कुरा पनि उठाए । बु“दागतरुपमा हाम्रो प्रतिनिधिमण्डललाई आनो सुझाव दि“दै उनले भने– ‘हरेक ठाउ“ र समाजका आ–आनै विशेषता हुन्छन् । चाहना, संस्कार र संस्कृति पनि भिन्न–भिन्न हुन्छन् । त्यसैले सबै ठाउ“मा एउटै मोडेलको राजनीतिक प्रणाली लागू हुन सक्दैन । समाज र मानिसको चेतना, अपेक्षा र विकासको अवस्थाअनुसार राजनीतिक प्रणालीमा पनि नया“ कुरा थप्दै, सुधार गर्दै आनो विशेषताअनुरुप ढाल्दै लैजानु आवश्यक हुन्छ । यसो गर्न सकिएन भने त्यसले विकास ल्याउ“दैन, द्वन्द्व ल्याउ“छ । राजनीतिको सबैभन्दा मुख्य कुरा हो, आर्थिक र भौतिक समृद्धि । नाम जे दिए पनि भयो । त्यसले केही फरक पर्दैन । तर विकासशील देशका लागि पूर्णतः खुला राजनीतिक प्रणालीभन्दा नियन्त्रित खुला राजनीतिक प्रणाली उपयुक्त हुन सक्छ । बलियो राज्य र अनुशासित जनताको जगमा मात्रै भौतिक समृद्धि हासिल गर्न सकिन्छ । पूर्णतः खुला प्रणालीले छाडातन्त्र निम्त्याउन सक्छ । विकासका लागि यो राजनीतिक प्रणाली अत्यन्तै सुस्त र कठिन प्रणाली हो । यसले बढी अधिकार र कम जिम्मेवारीतिर ढल्कन मानिसलाई प्रेरित र प्रोत्साहित गर्छ ।’

अहमदले फेरि थप्दै भने– ‘शासनमा पारदर्शिता भएन, सक्षम न्याय प्रणाली भएन, निष्पक्ष प्रशासन भएन भने जुनसुकै प्रणाली अपनाए पनि त्यसले मानिसको, समाजको र देशको परिवर्तनमा कुनै सकारात्मक योगदान गर्न सक्दैन । त्यसैले राजनीति साधन हो । देशको आर्थिक र भौतिक समृद्धि र स्वाभिमानचाहि“ साध्य हो । यी कुरा भएनन् भने जुनसुकै राजनीतिक प्रणाली भए पनि नामले मात्रै केही हु“दैन । नागरिकलाई प्रदान गर्ने अवसर, सेवा र सुविधा कसरी समान, पारदर्शी र जवाफदेही बनाउन सकिन्छ ? राजनीतिक स्थायित्वका लागि कुन प्रणाली उपयुक्त हुन्छ ? त्यसको निर्धारण गर्ने काम नै राजनीतिक परिवर्तनको केन्द्रीय विषय हो । यसमा तपाईंहरुका आनै अनुभवबाट सिक्नुहोस् । अर्काको कुरालाई सम्मानजनक ठाउ“ दिनुहोस् ।’ यति भनेर अहमदले हामी सबैलाई चियापानका लागि अनुरोध गरे । हामीले मलेसियाली चियाको स्वाद लि“दै कुरा फेरि अगाडि बढायौ“ ।

कुराकानीका क्रममा अहमदले आनो अनुभव सुनाउँदै भने– ‘मलेसिया आजभन्दा २५–३० वर्षअगिसम्म तपाईंहरु भन्दा गरीब देश हो । साधन र स्रोत तपाईंहरुसँग र हामीसँग उस्तै हो । समुद्रबाहेक सबै कुरा तपाईंहरुसँग पनि छन् तर किन तपाईंहरु पछि पर्नुभयो ? यसमा खूब मनन गर्नुहोस् । आफै“लाई प्रश्न गर्नुहोस् । तपाईंको देश अरु कसैले आएर बनाउ“दैन । तपाईं आफै“ले बनाउने हो । अरुले शुभेच्छा दिन सक्छन् । सहयोग गर्न सक्छन् । मेहनत गर्ने, सोच्ने र आनो भलो हुने योजना बनाउने काम जनताका प्रतिनिधिहरुको हो । विकास सबैलाई चाहिएको छ । विनाश कसैले पनि चाह“दैन । हामीले पनि तपाईंहरुकोजस्तै अवस्था भोगेका हौ“ । द्वन्द्व हामीकहा“ पनि थियो । तर खुलारुपले छलफल गर्दै जा“दा ती क्रमशः कम हु“दै गए । साझा कुराहरु पत्ता लाग्दै गए । सबैले सोचेको मलेसिया यस्तो हो भनेर एउटा साझा धारणा बन्यो । जो शासनमा गए पनि त्यहीअनुसार काम भयो । त्यसपछि मात्रै हामी अगि बढ्न सकेका हौ“ । त्यसको परिणाम तपाईंहरुले देखिरहनुभएको छ । तपाईंहरु पनि जिम्मेवार नेताहरु एक ठाउ“मा बसेर खुला हृदयले एक–अर्काका कुरा सुन्नुहोस् । आना आग्रहलाई देशहितको केन्द्रबिन्दुमा राखेर हेर्नुहोस् । त्यसले तपाईंहरुलाई साझा समस्या पहिल्याउन र साझा सहमति निर्माण गर्न सहयोग पुग्ने छ । त्यसो भयो भने सबै कुराहरु मिल्ने छन् । ठूलो कुरामा सहमति भएपछि स–साना कुराहरु आफै“ मिल्छन् ।’

मलेसियाको विकास र उन्नतिमा राजनीति कसरी सहायक भयो ? कसरी देशको उन्नति गर्न सकिन्छ भन्ने विषयमा छोटो तर मार्मिक कुरा बताए अहमदले । संविधानसभामा जातीय खिचलो उठाएर पहिचान खोज्ने सभासद्हरु उनका कुरा सुनेपछि मुर्झाएका जस्ता देखिए । मैले हाम्रो संविधान निर्माण त कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो पो भो कि भन्ने पनि सोचे“ । चिन्तनयोग्य थिए कुराहरु । हामी त्यो दिन मलेसियाका विभिन्न विकास गतिविधिहरु अवलोकन गरेर बेलुका दक्षिण कोरिया भ्रमणका लागि सिओलतिर उड्यौ“ । राति दक्षिण कोरिया पुग्यौ“ ।

दक्षिण कोरिया सन् १९६० तिर हाम्रो भन्दा पनि खराब आर्थिक अवस्था भएको देश थियो । नेपाल र श्रीलङ्का जस्तो हुन पाए त हामी कति भाग्यमानी हुने थियौ“ भनेर उनीहरु नै भन्थे । आज कसरी यत्रो विकासको फड्को मारे ? हामी किन पछि प¥यौ“ ? सिओलमा झर्नेबित्तिकै मलाई यी प्रश्नहरुले दिमाग रिङ्ग्याउन थाल्यो । हाम्रो देशका स्नातकोत्तर गरिसकेका युवाहरु पनि दक्षिण कोरियाको मजदुरी गर्न दिनभरि लाइनमा बसेर निवेदन हाल्छन् । कोरिया जान पाए र त्यहा“ काम गर्न पाए संसारकै भाग्यमानी हुन्थे“ होला भने झै“ गर्छन् । गरे त के हु“दोरै’नछ र ? मैले दक्षिण कोरिया पुगेको भोलिपल्ट सिओल सहर घुम्दा यस्तै अनेक कुरा सोचे“ । दिउ“सो कोरियन संसद्की उपप्रमुखसँग हाम्रो भेटघाट तय गरियो । हामी उनलाई भेट्न त्यहा“को संसद् सचिवालयमा पुग्यौ“ ।

दक्षिण कोरियामा राजनीति सुरm गर्नुअगि उनी नेपालमा केही समय स्वयंसेविकाको रुपमा काम गरिसकेकी थिइन् । नेपाललाई खूबै माया गर्थिन् । हामीलाई भेट्दा उनी अत्यन्तै खुसी भइन् । उनको नाम थियो– वान क्यु हुई ।

हामीलाई स्वागत गर्दै केहीबेर अनौपचारिक कुराकानी चले । हामीले कोरियाको अनुभव जान्न उत्सुक भएको कुरा बतायौ“ । हाम्रा कुरा सुनेपछि उनले भनिन्– ‘देशको समृद्धि र विकासका लागि सबैभन्दा महङ्खवपूर्ण कुरा राजनीतिक प्रणाली होइन । त्यो साधन हो । साधन राम्रो हुनुपर्छ तर त्यो देशका नागरिकमा हुने भावना त्यो भन्दा कैयौ“ गुणा महङ्खवपूर्ण छ । त्यो यदि बिग्रियो भने देश र समाज दुवैले दुःख पाउ“छन् । म नेपालमा स्वयंसेविकाको रुपमा काम गर्दाको अनुभवको आधारमा पनि केही कुरा तपाईंहरुलाई भन्दैछु ।’

‘आफूभित्र देशप्रति कस्तो भावना छ ? त्यो देशको विकास र राजनीतिक संस्कारका लागि सबैभन्दा महङ्खवपूर्ण कुरा रहेछ । अधिकांश नेपाली दोष अरुलाई दिने गरेको मैले पाएकी छु । नेता राम्रो भएन, पार्टी राम्रो भएन, कर्मचारी इमानदार भएनन् । यस्तै–यस्तै सुन्थे“ म जता जा“दा पनि । त्यसरी सोचिरह्यो भने त न व्यक्ति विकसित हुन्छ, न समाज न देश । विकासका लागि पहिले आफू कस्तो छु भनेर सोच्नुपर्दोरहेछ । मैले देशलाई के गर्न सक्छु भनेर मैले सोचिन“ भने मेरो देशको बारेमा अरु कसैले सोचिदि“दैन । मेरो विचारमा त्यो सबैभन्दा महङ्खवपूर्ण छ । यदि त्यसरी हरेकले सोच्नुभयो भने तपाईंले आलोचना गरेको नेता पनि सोच्न बाध्य हुन्छ । पार्टीहरु बाध्य हुन्छन् । कर्मचारीहरु पनि बाध्य हुन्छन् । कसैलाई खराब हुन, खराब देखिन मन हु“दैन ।’

वानका कुराले मलाई आफूभित्र फर्कन बाध्य बनायो । ‘हाम्रो सोच्ने तरिका आफूलाई हेरेर होइन, अरुलाई हेरेर नै बनाउन चाहन्छौ“ हामी । त्यसले अरुलाई आलोचना गर्न त सिकाउ“छ तर आनो कमजोरी हेर्न सिकाउ“दैन । आनो कमजोरी हेरेन भने कसरी आफूलाई विकास गर्ने ?’ उनले अगाडि फेरि केही कुरा थप्ने सुरसार गरिन् ।

‘जब हाम्रो देशमा राष्ट्रपतिका रुपमा पार्क जुङ हीले सन् १९६१ मा शासन सम्हाले, त्यतिबेला हाम्रो राज्ययन्त्र तपाईंहरुको भन्दा पनि खराब थियो । देशको आर्थिक अवस्था अत्यन्त नाजुक थियो । कसैले दक्षिण कोरियामा लगानी गर्न चाह“दैनथ्यो । सबैजसो युवाहरु रोजगारीको खोजीमा तपाईंहरुको देशका युवाहरुजस्तै गरी विदेसिएका थिए । जहा“ पनि विदेशीले पाउने काम स्वदेशीले गर्न गाह्रो मान्ने फोहोरी, जोखिमयुक्त र निम्नस्तरका काम नै हुन्छन् । त्यतिबेला पनि त्यही अवस्था थियो । हाम्रा धेरै मजदुरहरु जर्मनीको कोईलाखानीमा काम गर्न जान्थे । सन् १९६५ मा जब राष्ट्रपति जर्मनीको भ्रमणमा गए, त्यहाँको कोईलाखानीमा काम गरिरहेका मजदुरहरुले राष्ट्रपतिलाई सोधेछन्– ‘हाम्रो देश कहिले धनी हुन्छ होला राष्ट्रपतिज्यू ? के हामी यसरी कोईलाखानीमा काम गर्दागर्दै विदेशमै मर्नुपर्ने हो ? हामी कहिल्यै धनी हुन सक्दैनौ“ ?’ यसको जवाफ दिन राष्ट्रपतिलाई निकै गाह्रो भयो । मजदुरहरुको कारुणिक प्रश्न सुनेर राष्ट्रपतिका आँखामा आँसु टल्पलाए । अश्रुपुरित नयनले उनले जवाफ दिए– ‘कुनै दिन अवश्य पनि हामी धनी हुने छौ“ ।’ त्यसपछि देश विकासका लागि कामहरु सुरm भए । ठूल्ठूला संरचना बन्न थाले । ठूला कलकारखानाहरु खोलिए । विदेश गएका मानिसहरु देश फर्केर काम गर्न थाले ।’

हामी उनका कुरा सुनेर निकै गम्भीर हुँदै गयौ“ । वास्तवमा भावनाले नै बनाउने हो व्यक्ति, देश र समाज । सङ्घर्षले मात्रै परिवर्तन हुने होइन । मनमनै मलाई यस्तै लाग्न थाल्यो ।

वानले फेरि कुरा जोडिन्– ‘कोरियन युद्धले देश थिलथिलो भएको थियो । देशमा सबै मानिसहरु उच्चवर्ग र निम्नवर्गमा विभाजित थिए । विश्वकै सबभन्दा गरीब थियौ“ हामी । जापान, ताईवान र नेपाललाई हेरेर हामी मनमनै त्यहा“ जान पाए कस्तो हुन्थ्यो होला भनेर ईष्र्या गथ्र्यौं । यस्तो दयनीय समयमा हाम्रा पूर्वजहरुले सोचे– हाम्रो देश आफै“ विकास गर्नुपर्छ । मेरो देश अरु कसैले बनाउ“दैन । अरुको राम्रो देश एक–दुई दिन रमाइलो हेर्नका लागि, उमेर हुञ्जेल र काम गर्न सक्ने बेलासम्म मात्रै रमाइलो हो भन्ने विस्तारै बुझ्न थाले । हाम्री आमाले मलाई भन्नुहुन्थ्यो– उहाँहरुले दिनको १८ घण्टासम्म काम गर्नुभएको थियो अरे ।’

कुरा गर्दागर्दै मैले आफूलाई थाम्न सकिन“ । आ“खाबाट आ“सु खस्न थाले । हृदयमा भक्कानो प¥यो । सोचाइको महानता नभएका हामीले महन देश कसरी बनाउन सक्छौ“ ? मलाई मनमनै उनका कुराले हीनता र छट्पटी भइरह्यो । कुराकानी जारी नै थियो ।

उनले एकछिन रोकिएर फेरि कुरा सुरm गरिन्– ‘देश विकासको अभियानमा देशका सबै नागरिकहरु मेरो देश मैले नै बनाउने हो भनेर जुट्न थालेपछि विकासको वातावरण तयार हुन थाल्यो । आमाहरु बच्चा बोकेर काममा जान्थे । बच्चाहरुलाई श्रम र कामको महङ्खव बताउ“थे । सानैदेखि श्रमलाई महङ्खव दिन सिकाउ“थे । पछि हुर्कंदै जा“दा उसले पनि काम गर्नुपर्छ भनेर बुझ्यो । विस्तारै काम गर्न थाल्यो । त्यसैको परिणाम हो, एहिलेको समृद्ध कोरिया । जुन देशमा तपाईंका लाखौ“ मानिसहरु अहिले मजदुरका रुपमा औद्योगिक श्रम गरिहेका छन् ।’
मलाई त्यो सुन्दासुन्दै आफूलाई थाम्न गाह्रो हु“दै थियो । अरु साथीहरुका आ“खा पनि रसाएका जस्ता देखिए । हामी एकछिन रोकियौ“ । निकै भावुक हु“दै थिइन् वान ।
‘तपाईंहरुको जति साधन र स्रोत कोरियामा छैन । त्यस्तो सुन्दर ठाउ“ पनि छैन । तर हामीसँग भावना छ । यो देश मेरो हो, मेरो देश मैले आफै“ले बनाउने हो भन्ने भावना । त्यही भावनाले हामी धनी भएका हौ“ । साधनले मात्रै कोही पनि धनी हु“दैन । राजनीतिक प्रणालीले समृद्धि ल्याउने होइन । यौटा देशभक्त, सक्षम र इमानदार राजनेता पाउनुभयो भने अथवा तपाईंहरुभित्रै त्यो जन्माउन सक्नुभयो भने बल्ल देश उन्नत हुन सक्छ । हामीले पार्क जुङ हीजस्ता देशभक्त, इमानदार र कर्मठ राष्ट्रपति नपाएको भए हामी पनि तपाईंहरुजस्तै जातीय, क्षेत्रीय र धार्मिक कुराहरुका मीठा नारामा अल्मलिने थियौ“ होला । नामले पहिचान दिने हैन । कामले दिन्छ तपाईंको पहिचान । गरीबको नाम कसैले लिन चाह“दैन । धनी भयो भने सबैले खोजीखोजी नाम लिन्छन् ।’ 
उनले दक्षिण कोरिया कसरी विकास भयो ? विकासका लागि भावना किन महङ्खवपूर्ण छ ? यसबारेमा आनो गहिरो अनुभव सुनाइन् । उनका कुरा अझै बाँकी नै थिए ।

फेरि कुरा अगि बढाउँदै भनिन्– ‘जुङ हीलाई कतिपयले निरङ्कुश नेता भन्छन् । म भन्छु, खान नपाएको भोको पेट भाषणले हैन, रोटीले भरिन्छ । एकसरो लुगा लाउन नपाएको आङ बोल्ने र लेख्ने स्वतन्त्रताले मात्रै छोपि“दैन । उसलाई दिइने आर्थिक अवसरले छोपिन्छ । असुरक्षा र अन्यायमा दबिएर बा“चिरहेको एउटा कमजोर मान्छेलाई सहज, सुलभ न्याय प्रणालीले उसलाई म सुरक्षित छु भन्ने बोध गराउन सक्छ । ती कुराहरु मुख्य हुन् । भन्न जे भने पनि हुन्छ । सकेसम्म सम्मान, न्याय र पारदर्शितालाई राजनीतिको अङ्ग बनाउने प्रयास गर्नु आवश्यक छ । मानिसको भावनालाई राष्ट्रिय भावनामा जोड्ने प्रयास गर्नु आवश्यक हुन्छ । त्यो कुराको आधार हो, आर्थिक अवसरको सिर्जना । त्यो बाहेक जतिसुकै राजनीतिक प्रणालीमा सुधार गरे पनि त्यसले दीर्घकालमा फेरि तनाव नै सिर्जना गर्छ । विकास साध्य हो, राजनीति साधन हो । कहिल्यै पनि साध्यभन्दा साधन ठूलो हुन सक्दैन । देश बनाउन र समाजको विकास गर्न रगत हैन, आ“सु बगाउन सिक्नुपर्ने रहेछ । के तपाईंहरु देश र समाजको अवस्था देखेर कहिल्यै रmनुभएको छ ? हामी कोरियालीहरु देश देखेर कैयौ“ पटक रोएका छौ“ । त्यही रmवाइले हामीले देशप्रति माया गर्न सिक्यौ“ । अहिले हामी संसारमा शिर ठाडो गरेर हि“डिरहेका छौ“ ।’
वानले यति भनिसक्दा आफूलाई पनि सम्हाल्न सकिनन् । उनी पनि आ“खाभरि आ“सु पारेर भक्कानिइन् । हामी स्तब्ध भयौ“ ।
एकछिन पछि केही कुरा फेरि थपिन्– ‘मैले तपाईंहरुको देशमा काम गर्दा देखेको छु, एउटा बच्चा खाना खान नपाएर स्कुल जान पाएको छैन । राम्रो कपडा लगाउन नपाएर नाङ्गो आङ लिएर हि“डिरहेको छ । एउटा वृद्ध मान्छे उपचार नपाएर रोगको सिकार भएको छ । बुढेसकालमा काम गर्न नसकेपछि आनै जीवनलाई धिक्कार्दै मृत्यु कुरिरहेको छ । हरेक युवा पासपोर्ट लिएर विदेश जान त“छाड–मछाड गरेर लागेको छ । देशभन्दा विदेश प्यारो छ । शिक्षितहरु देशमा अवसर नदेखेर विदेश पलायन भएका छन् । यस्तो अवस्थालाई रोक्ने योजना यदि तपाईंहरुसँग छैन भने राम्रो कानुन र संविधानले मात्रै देश बन्दैन । यसमा सबै जनाले खुला हृदयले बहस गर्न आवश्यक छ । हामी विदेशीले त अनुभव मात्रै बताउने हो, काम तपाईंहरु आफै“ले गर्ने हो । फेरि पनि म तपाईंहरुलाई भन्छु, देश हेरेर रmनुस् । देश देखेर तपाईंका आँसु जति बढी झर्छन्, त्यति नै बढी तपाईंहरुको देश बन्ने छ, समाज बन्ने छ । बन्दुकले देश बनाउँदैन । भावनाले बनाउँछ देश ।’ 
वानले आनो भनाइ टुङ्ग्याइन् । हाम्रो अनुभव आदान–प्रदानको कार्यक्रम सकियो । भोलिपल्ट कोरियाका विभिन्न ठाउ“को भ्रमण र नेपाली कामदारहरुसँग भेटघाट भयो । त्यसपछि हामी प्रस्थान ग¥यौ“, युरापको बेलग्रेडतिर । 
युगोस्लाभियामा जातीय विषयहरु उठाउ“दा एउटा देश कैयौ“ टुक्रामा विभाजित भएको थियो । सङ्घीय संरचनामा चलेको देश जातीय नरसंहारका दर्दनाक घटनाहरु भोगेर भर्खर तङ्ग्रि“दै थिए । हाम्रो भेट पूर्वयुगोस्लाभियासँग सम्बद्ध तर अहिले छुट्टिएर बेग्लै राष्ट्र भएको सर्बियाको सत्तारुढ दलका नेता रादोभान सरायेभसँग भयो । उनी पूर्वयुगोस्लाभिया हु“दा जातीय थिचोमिचोका विषयमा आवाज उठाउने मुख्य नेताहरुमध्ये एक थिए । त्यतिबेला उनी सत्तारुढ पार्टीका अध्यक्ष र संसद्का समेत प्रमुख थिए । हामी उनीसँग जातीय कुराहरु उठाउ“दा र त्यस किसिमका कुराहरु व्यवस्थापन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेका विचार बुझ्न चाहन्थ्यौ“ । हामीले त्यसका बारेमा कुराकानी उठायौ“ । उनले आनो भनाइ राख्दै केही संवेदनशील कुराहरु हामीलाई भने । 
उनले भने– ‘हाम्रो देश धेरै देशहरु मिलेर बनेको यौटा शक्तिसम्पन्न र वैभवशाली सङ्घीय राष्ट्र थियो । केही नेताहरुले जातीयरुपमा थिचोमिचो भएको कुरा उठाए । मलाई पनि त्यो विषय ठीकै हो जस्तो लाग्यो । विस्तारै हामीले उठाएका कुराले जातीय घृणा बढाउन थाल्यो । भएभरको जातीय घृणा फैलियो, एक–अर्को जातिविरmद्ध । मानिसहरुलाई लाग्यो, सा“च्चै हो त ! विस्तारै देश द्वन्द्वतर्फ धकेलियो । बालबालिकाहरुले कैयौ“ वर्ष भय र त्रासमा जीवन बिताए । उद्योगधन्दा तहस–नहस भए । समाज अन्योलग्रस्त भयो । कैयौ“ महिलाहरु बलात्कारका सिकार भए । कैयौ“ मानिसहरु गोलीले उडाइए । हामीले त्यस्तो नरसंहार चाहेका थिएनौ“ । घृणाको अन्त्य चाहेका थियौ“ । विस्तारै नेताहरुको स्वार्थ बुझियो । सम्हाल्न नसकिने अवस्थामा देश पुगिसकेपछि बल्ल हामीलाई थाहा भयो । राजनीतिमा कसले के विषय उठाएर के लाभ लिन खोजेको छ, त्यसको गहिराइबाट नियाल्नुपर्छ । हतारमा त्यसको समर्थन र विरोधले मात्रै समाधान हु“दैन । समस्या अझ बल्झिन सक्छ । सुन्दा नारा लोकप्रिय हुन सक्छ । विस्तारै त्यसले हामी आफै“लाई ध्वस्त पारिदिन्छ ।’ उनले विस्तारै हामीलाई गहिरो कुरातिर प्रवेश गराए ।
‘जुनसुकै खालको राजनीतिक प्रणाली भए पनि सबै व्यक्तिले पाउने अवसर, स्रोत र साधनमा समान पहु“च र समान न्याय नै मुख्य कुरा हो । कसैलाई काखा र कसैलाई पाखा नगरी योग्य मान्छेलाई समान अवसर दि“दा नै समाज र देश बन्छ । जातीय आधार लिएर कुनैलाई काख र पाखा गरेर अवसरबाट वञ्चित गर्दा अयोग्य मान्छेले ठाउ“ पाउ“छन् । योग्य मान्छे अवसरबाट वञ्चित हुन्छन् । हामीले अवसर दिन खोजेको कि अवसरबाट योग्यलाई वञ्चित गर्न खोजेको ? यो विचार गर्नुपर्छ । कुनै जात, क्षेत्र, समुदायका नाममा यदि योग्य मानिसहरुलाई पछि पारियो भने फेरि त्यही कुरा विरोध र विद्रोहको विषय बन्छ । हामीले अहिले त्यही अप्ठ्यारो भोगिरहेका छौ“ ।’
‘मान्छे आर्थिकवर्गमा विभाजित छ । विकासको कुरा गर्दा त आर्थिकस्तर नै मुख्य हुन्छ, जातीय पक्ष होइन । समावेशीको कुरा गर्दा जातीय र क्षेत्रीय कुरा पनि हेर्नुपर्छ । तर यो ज्यादै सीमित अवधिका लागि हुनुपर्छ । पछि परेकाहरुलाई अवसर देखाएर आकर्षण गर्न मात्रै यसको प्रयोग गरिनुपर्छ । लामो अवधि यसको प्रयोग गरियो भने दीर्घकालीनरुपमा हानि नै गर्दोरहेछ । अहिले हामी अप्ठ्यारोमा छौ“ । त्यसैले तपाईंहरु अवसरको समान वितरण गर्ने पारदर्शी र न्यायपूर्ण समाज निर्माणतिर लाग्नु आवश्यक देख्छु । जातीय विद्वेष र घृणातिर तानियो भने यसले दीर्घकालमा तपाईंलाई र तपाईंका सन्तानलाई समेत पीडा दिने छ । भविष्य सोच्नुहोस् । बुद्धि पु¥याएर काम गर्नुहोस् । भावनामा बहकिएर निर्णय लिनबाट बच्नुहोस् ।’ 
रादोभानको संक्षिप्त प्रस्तुतीकरणपछि हाम्रो टोलीका साथीहरुले अनेक प्रश्नहरु गरे । उनले समग्रमा जवाफ दिए । उनको अन्तिम निचोड थियो– ‘जातीयरुपमा अवसरको समानता र समावेशीकरण आवश्यक छ तर जातीयरुपमा देशलाई भागबण्डा गर्दा त्यसले साम्प्रदायिक रुप लिन्छ, समावेशी रुप लि“दैन । आर्थिक अवसरमा सहभागी गराउ“दा वर्गीय आधार नै हेर्नुपर्छ, जातीय आधारमा जाँदा अन्याय अझ बढ्छ ।’ 
उनका कुरा सुनिसकेपछि मैले हाम्रो देशमा लागू भएको समावेशी कानुन सम्झे“ । मेरो घरनजिकै एक जना दलित बस्थे । उनका छोराछोरीहरुले स्कुलबाट छात्रवृति पाउ“थे । उनको काठमाडौ“को नयाँ सडकमा पाँचतले घर थियो । पाँच लाख भाडा उठाउँथे । अर्को छिमेकी एउटा गरीब बाहुन थिए । घरमा के खाउ“m, के लाउ“mको अवस्था छ । उनको छोराले न छात्रवृत्ति पाउ“छ न भत्ता । उनी राज्यबाट पाउने ती सुविधाबाट जातकै आधारमा वञ्चित भएका छन् । दलित र पिछडिएकाहरुलाई सुविधा दिने नाममा भएको न्यायपूर्ण व्यवहार भनेर यसलाई कसरी भन्ने ? यस्तो विडम्बनापूर्ण अवस्थालाई झल्झली सम्झे“ मैले त्यस दिन । के हामीले बनाउन खोजेको समावेशी र न्यायपूर्ण समाजको सपना यस्तो कानुन र अवसरले पूरा गर्ला त ? प्रश्नको उत्तर मैले पाउन सकिन“ । वास्तवमा रादोभान सही थिए– ‘आर्थिक उन्नति गर्न वर्गीय कुरा नै हेर्नुपर्छ । जात हेरेर हु“दैन ।’
प्रकाशोन्मुख कृति मृतात्माको डायरीबाट 

Sunday, March 16, 2014

हराएको विलासपुर

समकामयिक राजनीति र प्रशासनको एउटा विसंगत चित्र, कथामा ।
विलासराज कार्कीका हजुरबा देशमुख कार्कीले श्री ३ चन्द्र समशेरको बक्सिसबाट नेपालभारत सीमाना नजिकै पर्ने विलासपुरमा रहेको २० बिगाहा जग्गा बिर्ता पाएका थिए । कारण थियो चन्द्र समसेरको इमानदार चाकरी । देशमुख कार्कीको चाकडीबाट साह्रै कृतज्ञ भएका चन्द्र समसेर देश दौडाहामा गएकाबेला धनकुटाका बडाहाकीम सरदार ज्योतिराज पाण्डेलाई आदेश दिएका भरमा देशमुखले त्यो सुन्दर धानखेत उनको नाममा भोगचलन गर्ने गरी पञ्जापत्र पाएका हुन् भनेर गाउँका बुढापाकाले भनेको सुनियो । तिनै देशमुखका नाति विलासराज कार्कीका साथी थिए– धर्मनाथ पौडेल । धर्मनाथ पौडेल जिल्लाको सिडिओ भएर आए । विलासराज कार्की सिडिओ साथीसँग भेट गर्न सिडिओ कार्यालय पुगे । धर्मनाथले बडो खातिरदारी गरेर भलाकुसारी सोधे । विलासराज कार्की धर्मनाथको व्यवहारबाट कृतकृत्य भयो । विलासराज सिडिओकहाँबाट फर्केर आएको तीन दिनपछि गोरखापत्र दैनिकमा अग्रपृष्ठमा एउटा ठूलो आकारको सूचना छापियो । सूचनाको व्यहोरा यस्तो थियोः

श्री ३ चन्द समसेरको निगाहले तत्कालीन पूर्व २ नं. र हालको मोरङ जिल्ला अन्तर्गत पर्ने विलासपुरका विलासराज कार्कीको २० बिघा जग्गा र त्यसको वरपरका अरु केही जग्गाहरु समेत अन्दाजी २५ बिघा जग्गा एकाएक नक्शासहित हराएको छ । उक्त जग्गा खोजतलास गरी पत्तालाउन सहयोग गर्ने महानुभावलाई उचित पुरस्कार दिइनेछ । कथम्कदाचित् जग्गा फेला नपरेमा त्यसको जिम्मेवार सरकारका जिल्लास्तरीय प्रतिनिधि सिडिओ धर्मनाथ हुनेछन् । 

यो सूचना कसले निकालेको हो भन्ने संकेतका लागि पुछारमा– विलासराज कार्की, विलासपुर, मोरङ लेखिएको थियो । 

यसभन्दा अघि पनि बेलाबेलामा देशको ठाउँठाउँबाट जग्गा गायब भएका खबरहरु त पढ्न पाइन्थ्यो तर गोरखा पत्रमा सूचना निकालेर खोजतलासको प्रयास भएको भने यो पहिलो थियो । गोरखा पत्रको त्यो सूचना पढेपछि जग्गा पत्तालगाउन आउने मानिसहरुको भीड विलासपुरमा जम्मा हुनथाल्यो । मनौलानौला अनेक मानिसहरु विलासपुरमा फैलिए । सिडिओ धर्मनाथले विलासराजलाई हातेफोनबाट सम्पर्क गर्न खोजे । सम्पर्क गर्दा– अहिले सम्पर्क हुन सकेन कृपया पछि सम्पर्क गर्नुहोला भनेर नेपाल टेलिकमको कम्प्युटरले जानकारी गरायो । सूचना चाहिँ एउटी महिलको मीठो स्वरमा नेपाली र अङ्ग्रेजी भाषामा थियो । सिडिओले जमीन खोजी गरी सत्यतथ्य बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा लेखी पठाए । जिल्ला प्रहरी कार्यालयमा चिठ्ठी पठाउँदा गोरखा पत्रको सूचनाको फोटोकपी पनि सँगै पठाइयो । 

विलासराजको त्यति धेरै जग्गा कसरी गायब भयो ? विलासराज कार्की एकाएक कसरी सम्पर्क बाहिर भए ? सिडिओलाई यो बिषय अत्यन्त गम्भीरजस्तो लाग्यो । चिनजानका साथी पनि भएकाले उनी खोजीकार्यमा निकै सक्रिय भए । अप्रत्यक्ष तथ्यहरु खोज्नका लागि गोप्य रुपमा जासुसी संयन्त्र पनि परिचालित गरे ।  सिडिओको सक्रियता बिशेष थियो यो केशमा । 

नेपाल–भारतको सीमाना नजिक भएका जग्गाजमिन रातारात हराएर कहिलेकाहीँ मानिसहरु राति सुत्दा एउटा देशमा र बिहान उठ्ता अर्कै देशमा हुनेगरेको अनुभव धेरै गाउँले र खोजकर्ताहरुसँग थियो । यो पनि त्यस्तै घटना होला भन्ने अनुमान लगाए खोजकर्ता र रैथाने दुवैथरिले । पूर्वतिर र पश्चिमतिर त्यस्ता निकैवटा घटनाहरु भइसकेका भए पनि मोरङको यो घटना अलि नौलो थियो । किन विर्ता दिएकै जग्गा हरायो ? किन चन्द्र समसेरसँग जोडिएकै जग्गा चाहिँ हराउनु पर्ने ? मानिसहरुका मनमा प्रश्न उम्रिए, उत्तर उम्रन सकेन । रहस्यका झारहरु पलाए । 

करिब ८५ वर्षनाघेका ज्योतिष बिष्णुप्रसाद जैसीकहाँ केही मानिसहरु जमिन पत्ता लाग्छ कि भनेर आर्जे हेराउन पुगे । ज्योतिष विद्या र धामी विद्या दुवैका जानकार बिष्णुप्रसादले आँखीभुईं फुलेर सेतै भइसकेका चिम्रा आँखा एक साथ आकास र जमिनतिर फर्काए । हातका औला गन्दै नसुनिने भाषमा केही बोले । मनमनै निकैथोक भनेकोजस्तो थियो उनको अनुहार । सुन्नेले केही सुनेन् । निकैबेरपछि उनी बोले– यो जमिन दक्षिण दिशामा जाने सम्भावना देखियो । चाँडै खोजी गर्न सकिएन भने नभेटिन सक्छ । चाँडोभन्दा चाँडो भएभरको शक्ति र बुद्धि दुवै लगाएर खोजी गर्नू, नत्र फेला पार्न मुस्किल छ । अर्काको हातमा परेपछि यो जमिन फर्काउन कठिन छ । 

बिष्णुप्रसादको आर्जे हेराइले गाउँमा अझ अन्योल थपियो । सिडिओ धर्मदासको नाम पनि मुछिएर सूचना जारी भएकाले उनी यो जमिन खोजी कार्यमा बिशेष सक्रिय हुन थाले । शान्तिसुरक्षा र देशको भू–भागको बिषय भएकाले सूचना पढेपछि गृहमन्त्रालयले पनि सिडिओ धर्मदासलाई– सत्यतथ्य पत्तालगाई तुरुन्त सरकारसमक्ष प्रतिवेदन पेश गर्नू भन्ने आदेश दियो । 

देशको यति ठूलो भूभाग हराएको सूचना निस्केकाले देशभरका पत्रकारहरु, खोजकर्ताहरु विलासपुरमा जम्मा भए । सूचना निस्केको भोलिपल्टदेखि नेपाल र भारतका सबैजसो मुख्य टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरी घटनालाई विश्वव्यापीकरण गरे । जेसुकै भएको भए पनि विलासपुरको २० बिघा विर्ता र त्यसको आसपासका केही जग्गाको खोजखबर हुन सकेन । विलासराज कार्की पनि गायब भएको भयै भए । खोजी कार्य निरन्तर चलिरह्यो । 

विलासराज कार्कीकी श्रीमतीलाई अनेक सोधखोजवालाहरुले प्रश्न सोधेर वाक्क पारेकाले शान्ति भङ्ग भएकाले मलाई एकान्तबासको व्यवस्था मिलाई पाऊँ भनी जिल्ला प्रशासन र प्रहरीमा उजुरी दिन पुगिन् । हिजोसम्म देशका कुनै नागरिकले नाम पनि नसुनेको विलासपुर एकाएक संसारभरका सञ्चार माध्यमहरुको मसला बन्यो ।  देशभित्र र विदेशका सञ्चार माध्यमहरुका प्रतिनिधि, अनुसन्धानकर्ता, प्रशासक, प्रहरी सबै विलासपुरको त्यो सानो भूभागमा ओइरिए । विश्वकै आकर्षणस्थर भयो विलासपुर । मानव इतिहासमा नक्शा र जमिन दुवै गायब हुनु एक अनौठो घटना भएकाले पनि त्यो आकर्षणको बिषय बन्यो । आखिर विलासपुरको त्यो जमिनको खुटखबर लाग्न सकेन । 

श्रीमान् नापी कार्यालय प्रमुख 
नापी कार्यालय मोरङ ।
बिषयः हराएको जमिन र नक्शा खोजी गरी पाउँ । 
उपरोक्त सम्बन्धमा मेरो घरपरिवारले पैतृक सम्पत्तीका रुपमा सयौँवर्षदेखि भोगचलन गरी आएको २० बिघा जमिन यसै हप्ता एकाएक नक्शासहित हराएकाले साविक नक्शा खोजी उक्त नक्शाअनुसार मेरो जमिन छुट्याई पाऊँ । जग्गा नभेटिएमा सोको जिम्मेवारी यस नापी कार्यालय र नेपाल सरकार हुनेछ । आवश्यक छानबिन गरी जग्गा कायम गरी पाउँ । 
निवेदिक
मृतिका कार्की
मितिः २०७० साल श्रावष १५ गते । 
बोधार्थः सिडिओ धर्मनाथ पौडेल, सिडिओ कार्यालय मोरङ ।

विलासराज कार्कीकी श्रीमती मृतिका कार्कीले नक्शा सहित आफ्नो धनहर खेत गायब भएकोमा खोजी गरी जमीन पत्ता लगाइ दिन विलासराजको नामको जग्गाधनी पुर्जाको छायाप्रति राखेर नापी कार्यालय मोरङमा निवेदन पेश गरिन् । श्रीमती कार्कीको निवेदन यस्तो थियोः

बिषयः जानकारी गराएको । 
श्रीमती मृतिका कार्की
विलासपुर गा.वि.स. वडा नं. २, विलासपुर । 
तपाईंको निवेदन प्राप्त भयो र व्यहोरा अनुसार खोजी कार्य पनि गरियो । नयाँ नक्शामा उक्त जग्गा गायब भएको देखियो । साबिक पुरानु नक्शा खोज्न र के भएको हो छानबिन गर्न समय लाग्ने भएको छ । जग्गा खोजी गर्नका लागि आवश्यक बजेटको अभाव भएकाले नेपाल सरकारसमक्ष लेखी पठाइएको छ । यस बर्षको बजेटबाट स्थलगत अध्ययन गर्न बजेट नपुग्ने देखियो । तपाईंका कानूनी सहयोगीलाई सम्पर्क गरी हेर्दा तपाईंबाट कानूनी कार्य बाहेक जग्गा खोजबिन गर्नका लागि अन्य रकम छोडेको पनि पाइएन । अतिरिक्त भत्ता नभई सर्वसाधारणको काम गर्न कर्मचारीहरुलाई असुविधा हुने हुँदा अतिरिक्त भत्ताको व्यवस्था भएपछि मात्र खोजी कार्य तीव्र पारिनेछ । यस पत्रको व्यहोरा चित्त नबुझेमा माथिल्लो निकायमा सम्पर्क गर्नुहोला । 
परमनाथ झा
कार्यालय प्रमुख 
सन् २०१४ अप्रिल १५

निवेदन परेको केही दिनपछि नापी कार्यालय मोरङका हाकिम परमनाथ झाले मृतिका कार्कीका नाममा एउटा पत्र पठाए । पत्रमा उल्लिखित व्यहोरा यस्तो थियोः

नापी कार्यालय मोरङको पत्र पाएकै दिन विलासपुरको आकाशमा हुलकाहुल चिल र गिद्धहरु देखा परे । ती चिल र गिद्धहरु अत्यन्तै असाधारण थिए, कहिल्यै नदेखिएका । उनीहरुको उड्ने तरिका र खाने चारो पनि बिचित्रको थियो । गिद्धहरु साह्रै शक्तिशाली थिए । चिलहरु चाहिँ उनीहरुका पछौटे थिए । उनीहरु सबै हेलिकोप्टरमा सवार थिए । सैनिक विमानहरुले उनीहरुलाई पहरा दिएर उडिरहेका देखिन्थे । एकाएक गिद्धहरुका आगमनले गर्दा कुनै युद्ध मैदानजस्तो भयो त्यो विलासपुर गाउँ । 

गिद्धहरु अत्यन्त भयानक र डरलाग्दा भए पनि रमिता हेर्नका लागि गाउँलेहरु जम्मा भए । विस्तारै हेलिकोप्टरमा सबार ती गिद्धहरु विलासपुरमा अवतरण भए । हेलिकोप्टरहरुको निकै लामो लाइन लाग्यो खालि चउरमा । गिद्धहरुको अनुहार हेर्दा कोही हाम्रा पौराणिक दैत्यराज महिषासुर, शण्डमुशण्ड अनि रावणजस्ता थिए भने केही चाहिँ ड्राकुला, डाइनोसार, चंगेज खाँ, स्टालिन, हिटलर, मुसोलिनी, रेगन र बुसजस्ता थिए । केही भने हाम्रै नजिकका छिमेकी ‘दादा’ पण्डित नेहरुजस्ता पनि थिए ।

सबै गिद्धहरु अत्यन्त भोकाएका रहेछन् । जमिनमा अवतरण गर्ने बित्तिकै उनीहरुले आ–आफ्नो सिकार भएका पोकाहरु खोले । उनीहरुले ल्याएका सिकारका पोकाहरु खोल्नासाथ ती पोकाका सिकारहरु पनि एकाएक उठे र विस्तारै फैलिँदै गए । गाउँलेहरुको प्रत्यक्ष अनुभव अनुसार ती सिकारहरु कोही मेचीनगरको जमिनका चोक्टाजस्ता थिए भने कोही चाहिँ भद्रदुरको मेचीपुल नजिकको जमिनको आकारका थिए । सुस्ता, महेशपुर र तिंकरजस्ता पनि थिए भन्ने उनीहरुको अडकल थियो । नक्शाको चोक्टाहरु कसरी तिनका सिकार भए भनेर गाउँलेहरुले मुखामुख गरे । पत्तालाउन भने सकेनन्  । कसरी ती गिद्धहरुका सिकार नक्शाको चोक्टाजस्ता देखिएका हुन् भनेर गाउँलेहरु बेलुका भेला भएर छलपल पनि गरे । टुंगो भने केही लाग्न सकेन ।

रातभर गिद्धहरु विलासपुरको गायब भएको जमिनको टुक्रा भएकै टाउँमा त्रिपाल टाँगेर बसे । सिकारहरु जीवित भएर उठेकाले गिद्धहरुका लागि हेलिकोप्टर चालकहरुले शहमा गएर अर्कै चारो ल्याए । त्रिपाल भोज गरे उनीहरुले त्यस रात । भोलिपल्ट बिहान फेरि गाउँलेहरु जम्मा भए गिद्ध निवास नजिकै । गिद्धहरु गाउँलेहरु देखेर खुब नाचे । नेतृत्व लिने केही अगुवा गिद्धहरु उफिउफ्री नाचे अरुले सार मिलाए । गाउँलेहरु गिद्ध नाचमा कृतकृत्य भए । कति रमाइलो नाच नाचेका गिद्धहरुले भने तरुण र तन्नेरीहरुले, महिलाहरु लजाएरै भए पनि अलि पछि बसेर हेरे, बुढाहरुले भने लाज नभएकाहरु भनेर कमेन्ट गरे । 

विलासराजकी पत्नी मृतिका कार्कीले आफ्नो जमिन गायब पार्ने गिद्धहरु यिनै हुनपर्छ भन्ने अनुमान लगाउन अलिकति पनि ढिलो गरिनन् । भर्खरै उनलाई प्राप्त नापी कार्यालयका हाकिम परमनाथ झाको पत्र बाचन गरेर सबैलाई सुनाउन आफ्नै देवर इन्द्र कार्कीलाई अह्राइन् । भाउजूको आदेशले इन्द्रले त्यो वाचन गरे । सिडिओ धर्मनाथ पनि विलासपुरमा विचित्रका गिद्धहरु देखिएका छन् भन्ने सुनेर भीड छिचोल्दै आइपुगे र टुसुक्क छेउमा बसे । 
धर्मनाथको आगमनले गिद्धहरु अलि सशंकित भएजस्ता देखिए । सिडिओको अदबले गर्दा गिद्धका सिकारहरु पनि आ–आफ्नो नक्शाका आकारमा घुसेर साखुल्ले हुन खोजे । गिद्धहरुको प्रमुखजस्तो देखिने एउटा गिद्ध अनायास भाषण गर्नथाल्यो– हेर्नुस् गाउँले दाजुभाइ दिदीबहिनीहरु, तपाईंहरुको जमिन हराउने यो अवस्था आउनु हुने थिएन । यो देशको ठूलो र गम्भीर घटना हो । यसको छानबिन गरी तथ्य पत्तालगाउन हाम्रा सिडिओ धर्मनाथ अहोरात्र लागिरहेका छन् । तपाईंहरुको समस्या हामी काठमाडौं फर्केर गएपछि यथासक्य चाँडो समाधानको प्रयास गर्नेछौँ । केही प्राविधिक कारण रहेछ भने त्यसरी नक्शा गायव गर्नेहरुउपर कडा कारवाही हुनेछ । तपाईंहरु ढुक्क हुनुहोस् । जमिन हराए पनि मानिस सही सलामत हुनुहुन्छ । त्यसमा तपाईंहरु गर्व गर्नुहोस् । ज्यान भएसम्म सम्पत्ती भनेको हातका मैला हुन् । यो जमिन भेटिएन भने हामी त्यसको बदलामा अरु जमिन उपलब्ध गराउने छौँ । यसमा हामीलाई विश्वास गर्नुहोस् ।

यति भनिसकेपछि गाउँलेहरु हँसिला भए । यी गिद्धहरु वास्तवमै दयावान् रहेछन् भन्ने अनुमान गरे । विष्णु भगवान्का वाहन गरुडराज सम्झेर उनीहरुले लामबद्ध भएर चरण स्पर्श गरे । मृतिका कार्कीलाई त्यो कुरा सुनेर खपिनसक्नु भयो । गाउँलेहरुको गिद्धभक्ति देखेर त उनलाई वाक्वाकी नै लागेर आयो । उनले गिद्धहरु चढेर आएका हेलिकोप्टरहरु कब्जा गर्न र ती गिद्धहरुको दलबललाई घेराबन्दी गर्न आदेश दिइन् । गाउँलेहरुले रमाइलो मानेर हेलिकप्टरहरु र गिद्धहरु सबैलाई घेराबन्दी गरे । 

उड्नका लागि तयार पारिएको गिद्धवाहन कब्जामा लिएपछि गिद्धहरु एकापसमा मुखामुख गर्न थाले । आफू बन्धक बन्नु परेकामा एकअर्कालाई दोष लाउन थाले । गिद्धराज जसले एकछिन अघि लामो भाषण गरेको थियो उही घेराबन्दीमा परेपछि गाउँलेहरुले उसलाई छुट्टै ठाउँमा घेराबन्दी गरे । आफैँ घेराबन्दीमा परेपछि उसले सत्य ओकल्ने विचार गर्यो । भन्यो– तपाईंहरुको जमिनको नक्शा गायव गर्ने हाम्रो मनशाय त थिएन तर यो हाम्रो बाध्यता आइपर्यो । साह्रै लोभिएको छिमेकी गिद्धराजको प्रभाव र दबावमा हामीले यसको सिकार गर्न बाध्य भएका हौँ । यसो नगर्दा हामीहरु यो सिकार कार्यमा कावाखान र हेलिकोप्टर चार्टर्ड गरेर देशाटन गर्न नपाउने अवस्था भयो । यसका लागि तपाईहरुको यो सानो चोक्टो उसलाई आहारा बनाइ दिन राजी भएका हौँ । मेरो यसमा जति दोष छ त्यति दण्ड दिनुहोस्, ज्यानबाट चाहिँ हात धुनुपर्ने अवस्था नआओस् । यति मलाई दया राखिदिनुहोस् । 

गिद्धराजको यो अनुनयविनयपछि गाउँलेहरुको मन पग्लियो । तर मृतिका कार्कीको आदेशमा कुनै फेरबदल भएन । उनी एकाएक खड्ग लिएर दुर्गास्वरुपमा प्रकट भइन् । गिद्धहरु आहारा बनाउन पाउनु हाम्रो भाग्य हो अब यिनीहरु सबैलाई हामीले भोजन बनाउनु पर्छ र यिनको पेटमा पुगेको जमिनलाई पनि बन्धक अवस्थाबाट मुक्त गर्नुपर्छ । रक्तकाली रुपमा मृतिका बोल्न थालिन् जिब्रो लपलपाउँदै । गाउँलेहरु डर र त्रासले एकैडल्लोजस्ता भए । गिद्धहरुलाई घेराबन्दीमा नै राखेर उनीहरु देवी दुर्गाको आदेशमा प्रतिक्षातरत भइरहे । 

गिद्धराजलाई पेटभित्र परेको आहारा ओकल्नु न निल्नु भयो । असह्य पीडामा परेको गिद्धराजले अब सत्य ओकल्ने विचार गर्यो । गिद्धहरुको समूह पक्ष र प्रतिपक्षमा विभाजित भयो । गिद्धराजको पक्ष र विपक्षमा गिद्धहरु स्वयम् झगडा गर्न थाले बन्दीगृहमै । गिद्धराजका विपक्षी गिद्धहरु भन्न थाले– यो काम यिनै गिद्धराजले गरेका हुन् । यिनकै निर्णयले यो सब कष्ट तपाईंहरुले व्यहोर्नुपर्यो । यसका कारण यिनै हुन् । मलाई सत्तामा पुर्याइदिनुस् म तपाईहरुलाई पनि आहारा पुर्याउँछु, म पनि पेट भर्छु भने । त्यसैले हामीले सहमती दियौँ । तपाईंहरु यतिका मान्छेहरुलाई असुविधा पुर्याउने काम यिनले गर्ने छैनन् भन्न्े हाम्रो विचार फेल भयो । हामीलाई निर्दोष मानेर छोडिदिनुहोस् । हाम्रो ज्यान नलिनु होस् । बरु हामी यिनको साथ छोड्न र तपाईंहरुको जमिनका लागि सङ्घर्ष गर्न केही समय तपाईंहरुसँगै हुनेछौँ । 

गिद्धहरुको यस्तो आर्तनाद सुनेर गाउँलेहरु पनि धर्मसङ्कटमा परे । दुर्गा उर्फ मृतिकाले गाउँलेहरु पग्लिँदै गएको थाहा पाएर भनिन्– तपाईंहरु फेरि गल्ती गर्नेतिर नलाग्नुस् । यिनीहरु विश्वासयोग्य देखिएनन् । यिनलाई बाहनहरु कब्जामा राखेर छोडिदिउँ वाहन चाहिँ नछोडौँ । उड्न पाएनन् भने हामीले यिनलाई पक्डेर फेरि कारवाही गर्न सक्छौँ । साँचो हाम्रै हातमा राखौँ । सबै साँचो मलाई दिनुहोस् । म यिनको निगरानी गर्छु । 
गिद्धराजको विपक्षमा रहेका गिद्धहरु फेरि बर्बराउन थाले– हामीले त यसअघि नै नक्शा र जमिन खाँदाखाँद र हेराफेरि नगरौँ भनेर पहिल्यै भनेको हो । यही गिद्धराजले गर्दा हामी समेत अप्ठ्यारोमा पर्यौँ । गिद्धहरु यति भन्दै धुरुधुरु रुन थाले । गाउँलेहरु तिनीहरु रोएको देखेर फेरि द्रवित भए । 

गिद्धहरु रोइरहेको समयमा विलासराज कार्की प्रकट भए अनायास । धर्मनाथको अनुहार उनलाई देखेर उज्यालो भयो । धनको पत्ता लाग्न नसके पनि ज्यानको पत्तालाग्न सकेकोमा उनी खुसी भए । धर्मनाथले गिद्धहरुको आगमन, मृतिकाको निर्णय, गाउँले र गिद्धहरुबीचको वादविवाद सबै कुरा विलासराजलाई सुनाए । एक छेउमा बसेर दुवैजनाले गम्भीर छलफल गरे, निकासका बिषयमा । 

गिद्धहरुले जमिन खाएको देखेर उनीहरुका हिजो चुनावमा सहयोग गर्ने भोटहरु पनि जुर्मुराएर आइपुगे । भोटहरु घटनास्थलमा आएको देखेपछि गिद्धहरु कोही हँसिला र कोही निन्याउरा भए । भोटहरुले भने– तिमीहरुलाई हाम्रो जमिन र नक्सा नै गायब गर्न भनेर हामीले साथ र सहयोग गरेका थिएनौँ । भोटहरु कड्किए । भोटहरु कड्किएपछि सबै गिद्धहरु अल्याकलुलुक भए । नौनारी गलेका बिरामीजस्ता भए गिद्धहरु । दुई पक्षमा बाँडिएका गिद्धहरु अन्तिम आशास्वरुप गाउँले र भोटहरुसँग बिन्ती गर्नथाले– यो कुर्सीको लोभ हाम्रो गिद्ध जगत्मा अत्यन्त हाबी भयो । त्यसैले यो गल्ती भयो । जङ्गलमा राज गरुन्जेल र मानिसले फालेको र मरेका जनावरहरु खाउन्जेल हाम्रो बुद्धि ठीकै थियो । हाम्रो बुद्धि बिग्रेको थिएन । नक्शा र त्यसभित्रका जमिनहरु र जमिनमा गरिने कामहरु भोजन गर्न थालेपछि हाम्रो बुद्धि बिग्रियो । अब एकपटक मौका दिनुस्, हामीलाई बचाउनुस् । 

अरु रिसाएर हामीलाई खासै फरक पर्दैन कृपया तपाईं भोटहरु हुनुभएन भने हाम्रो सास नै रहँदैन । हामीलाई मर्नबाट जोगाउनुस् । हामी अरुको कारवाही सहन्छौँ तर तपाईं भोटहरुको कारवाही भने झेल्न सक्दैनाँ । भोटहरुले चाहिँ कृया हामीलाई घेराबन्दी नगरिदिनुहोला । 

यति भनिसकेर गिद्धहरु गाउँले र भोटहरुका अगाडि डाँको छोडेर रुन थाले । गिद्धहरु संकटमा परेको, घेराबन्दी गरिएको कुरा संसारका संचार माध्यमहरुमा फैलियो । त्यो समाचार सुनेपछि र हेरिसकेपछि हिजोे जमिन गायब पार्नका लागि हौस्याउने गिद्धका मालिक बिष्णु पनि हाजिर भए । उनले गाउँलेहरुको कुरा सुने र आफ्नो थुतुनोको अग्रभागले गायव भएको विलासपुरको जमिनको टुक्रा पातालबाट निकाले र फेरि नक्शामा जोडिदिए । 

आफ्नो भूमि फिर्ता भएको देखेपछि भोट र गाउँलेहरु सबै देवी उर्फ मृतिकासमक्ष प्रार्थनाभावमा भन्न थाले– हे देवी, यी अदनाहरुलाई नथुनौँ । जीवनदान भन्दा ठूलो दान छैन । यिनलाई जीवन दान दिऊँ । हाम्रो भूमि अब कहिल्यै नखोस्न र नक्शाबाट गायब पनि नगर्ने कागज गराएर छाडिदिउँ । भोटहरु र गाउँलेहरु सबै यसमा राजी भए । 

अन्त्यमा विलासराज कार्कीको मन्जुरी लिनुपर्छ, पीडित उनी हुन् भनेर गाउँलेहरु गिद्धहरुलाई बन्धक अवस्थामै राखेर निर्णयका लागि विलासराजलाई भन्न पुगे । विलासराजले परिस्थितिको गम्भीतालाई मनन गर्दै निर्णय सुनाए– मलाई गायब गरेर सम्पर्कविहीन बनाउने र मेरो फर्जी नाममा सूचना निकालेर विलासपुरको नक्शा गायब गर्ने काममा संलग्न सबै गिद्धहरु र यिनका मतियारहरुलाई आगामी चुनावमा उठ्न र सत्तामा पुग्न नपाउने गरी प्रतिबन्धित गरेका छौँ । अब आइन्दा कुनै भोट यिनको पछि लागेको थाहा पाइएमा भोटहरुलाई पनि यही सजाय हुनेछ । यो निर्णय हाम्रा सबै नक्शाहरु पुरानो अवस्थामा सुधार नभएसम्म कायम रहनेछ । त्यसपछि हामी फेरि निर्णय गर्नेछौँ । 
facebook.com/dhirbhandari

विलासराजको निर्णय साथसाथै गिद्धहरुका सबै पखेटाहरु एकाएक गायब भए । पखेटाहरु गायब भएकाले उनीहरु सबै पखेटा नभएका चैत्रबैशाखका धमिराहरुजस्ता भए । गिद्धहरु भन्न थाले– अब हाम्रा उड्ने पखेटाहरु गलेर झरे । हामी यो निर्णय नसच्चिएसम्म पखेटायुक्त हुन सक्तैनौ । कृपया निर्णयमा पुनः विचार गरियोस् । 
गाउँलेहरुले गिद्धहरुका भाषा सुनेको नसुन्यै गरे । गिद्धहरुलाई त्यहीँ छाडेर गाउँतिर लागे । धेरैबेरपछि आकाशमा हेलिकोप्टरहरु उडेको देखियो । गाउँलेहरु भन्छन्– त्यसदिन देखि विलासपुरको गाउँमा गिद्धहरु देखिएनन् । नत कुनै नयाँ चिल र गिद्धहरु आउने हिम्मत गरे । गाउँ गिद्धहरुको त्रास र नाटकबाट मुक्त भयो ।   
  

Saturday, January 18, 2014

जागिर होइन काम खोजौँ

थाइल्याण्डमा शान्ति अशोक समूहको कम्युन चलाइरहेका एकजना थाइ मित्रले थाइल्याण्ड घुम्न जाँदा भनेको कुराले सधैँजसो मलाई पिरोलिरहन्छ । घरिघरि म उनलाई सम्झन्छु । उनी भन्थे– समृद्धिका लागि मानसिकता चाहिन्छ, अवसर होइन । समृद्ध मानसिकताले अवसर आफैँ सिर्जना गर्छ । हामीसँग धेरै विकल्प छन्, गर्ने संकल्प र जाँगरको मात्रै खाँचो छ ।  

मेरो घर नजिकै दुइजना छिमेकी छन् । एकजना किसान अर्का चाहिँ सरकारी उच्च ओहदाका जागिरे । जागिरे साथी कृषिका ठूलै अफिसमा काम गर्छन् । फुर्सदमा उनी बारीमै हुन्छन् । भन्छन्– ‘अहिले म काठमाडौँमा बस्छु । काठमाडौँ आउनु अघि त म त्यै किसानको छोरो हुँ । घरमा काम गरिरहेकै थिएँ । जागिर खाँदैमा काम किन छोड्नु ? खालि जग्गा छ चार आना । तरकारी म आफैँ लगाउँछु । घरका सबै मान्छे बेलाबेलामा श्रमको आनन्द पनि लिन्छौँ । अनेक विषदि मिसिएको तरकारी पनि खानु परेन, पैसा पनि जोगियो । वर्षभरि खाने तरकारीको करिब ७० प्रतिशत तरकारी खानपुग्छ त्यही ४ आनाको तरकारी खेतीले । आफ्नो काम गर्दा सानो त हुँइँदैनरछ । म लेखपढ गर्न पनि भ्याएकै छु । काम छोड्नु पनि पर्दैन । तरकारी खान पनि पाइन्छ । पैसा पनि बचत हुन्छ । उत्पादनशील श्रमले आत्मसम्मानमा पनि बृद्धि गर्छ । निकै वर्षदेखि मैले यो काम गरिरहेको छु काठमाडौँमा ।’ 
अर्का एकजना छिमेकी दाइ छन् किसान । उनका छोरा छन् एम. ए. गरेका । हेर्दा हट्टाकट्टा, तन्दुरुस्त जवान ठिटो । बाबु सामान्य खेतीपाती गर्ने किसान हुन् । दिनभरि काम गर्छन् । काम गर्नु, उत्पादन गर्नु, उत्पादन शहरसम्म लगेर बेच्नु अनि आएको आम्दानीले घर धान्नु उनको दिनचर्या हो । छोरो एस.एल.सी.पास गरेदेखि खेतमा काम गर्न लाज हुन्छ भनेर काम गर्न जाँदैनन् । 
हिजो बिहान केही कुराकानी गर्नुपर्ने भएकाले म उनको घरमा छिरेँ । बुढा छिमेकी दाइ काम गर्ने मानिस खोज्न बाहिर गएका थिए । म उनको घरमा पुगेको केही समयपछि आइपुगे । मलाई देखेर मुसुक्क हाँसे । भने– ‘धीरजी ! आजकल मान्छे पाउनै गाह्रो भयो । काम गर्ने मान्छे लाएर अब केही उत्पादन गर्नुपर्यो भने त खेती नगरे पनि हुने भयो । दिनको रु. ४०० ज्याला माग्न थाले । त्यही पनि मान्छे पाउन गाह्रो । अफिसको समय हेरेर काम गर्ने अरे १० देखि ५ बजे सम्म ।’ उनले काम गर्ने मान्छे खोज्दाको कथाव्यथा सुनाए ।

छोरो नजिकै थियो । मैले बसिरहेको छोरोतिर लक्षित गरेर भनेँ– ‘धेरै खेताला चाहिने हो र दाइ ? १।२ जनाले भए त घरमै तीनतीनजना हुनुहुन्छ एकछिन गएर खेत खन्ने काम गरे त मान्छे नै खोज्नु पर्दैन होला नि !’
मेरो कुरा सुनेर छिमेकी दाइ अलि घोरिए । भने– ‘बाबुको कुरा त ठिकै हो । तर भनेर के गर्नु ! बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि भनेजस्तो भैरछ । पढेलेखेपछि काम गर्नै हुँदैन भन्छन् आजकलका केटाकेटीहरु । यो छोरो एस.एल.सी. नहुन्जेल त अलिअलि काम गथ्र्यो त्यसपछि त काम नगरेको कति भो कति । काम गर्दा लाज हुन्छ भन्छ । काम खोजदैछु भन्छ तर कैल्यौ काम चैँ पाको हैन । दिनभरि काम गर्नेले पैसा कमाको कमायै छन् खौज्नेहरु खोज्याखोज्यै छन् । खै अब त खेतबारी बाँझै छोड्नु पर्ला जस्तो छ ।’ बुढाले व्यथा पोखे म उनका सुनेर छक्क परेँ । शिक्षित हुनु भनेको त श्रम गर्नै नहुने नागरिक बनाउनु हो भन्ने पो बुझेछौँ हामीले । 

आज हाम्रो देशका युवा पुस्तामा घरेलु काम र श्रमप्रति विश्वास कम हुँदै गएको छ । पढेलेखेका मानिसहरु अनेक रोजगारी खौज्न बर्षौ शहर धाउँछन् तर घरमा गर्नुपर्ने उत्पादनशील सासाना काम गर्न चाहँदैनन् । विदेशमा गएर अरुका भाँडा माझ्न तयार छन् घरमा आफूले खाएको जुठो थाल पनि श्रीमती र आमाको जिम्मा लगाएर ठालु हुन्छन् । हामीकहाँ उत्पादनशील काम गरेर अलिकति मेहनत गर्नेहरुले राम्रै आर्जन गर्न थालेका छन् । शिक्षितहरु आफ्नो योग्यतामा आधारित काम गर्नेतिर नलागेर सरकारी र गैरसरकारी जागीरको खोजीमा वर्षै भौतान्छिन् । जागिर पनि पाउँदैनन् काम पनि गर्नतिर लाग्दैनन् । निरासा र हीनतामा पुग्छन्, कुलत र अनेक आपराधिक काममा तानिन्छन् । यसरी भौतारिँदै देशबाटै पलायन हुने र विदेशमा गएर भौतारिने खतरामा धकेलिइरहेका छन् । 

जोसुकै मानिस वा नातेदार भेट्यो कि आजकल मलाई मानिसहरु भन्ने गर्छन्– ए बाबु ! लौन मेरो छोरा÷छोरीलाई एउटा जागिर खोजिदे न ।’ यस्तो राजगारी खोज्नेहरुलाई मैले धेरैलाई सडकमा पुस्तकहरु बेच्ने काम, टनेलमा तरकारी फलाउने र बजारमा बेचेर पैसा कमाउने काम दिन्छु भन्ने गरेको छु । त्यसो भनेपछि अधिकांश मानिसहरु मसँग तर्केर कुरा गर्न छाडेका छन् । 
म कहिलेकहीँ गाउँमा जान्छु । धेरै नातेदारहरुका छोराछोरी पढेलेखेका छन् । शहरमा पढे, बढे । अहिले फुर्सतमा घरमा बसेका छन् । घरको बारी बाँझै छ । खेतबारी अरुलाई नै ठेक्कामा बाली लाउन दिएको छ । केही बारी र खेत बाँझै छ । थोरैतिनो बाँकी जग्गामा काम गर्न बुढा भएका बाबु खेतबारीमा काम गर्न खेताला खोज्दैछन् छोराछोरीहरु या त बजार डुल्न गएका छन् या त क्याराम बोर्डमा रमाइरहेका छन् । यस्तो अवस्था देखिँदैछ गाउँमा, शहरमा । हाम्रो देशको विशेषता र रोजगारीप्रतिको हाम्रो धारणबीच कहीँ तालमेल खुस्केको देखिँदैछ । केही कुरामा बेमेल छ । मानसिक हीनता र श्रमप्रतिको अस्पष्टताका कारण हामी रोजगारी दिनसक्ने अवस्थामा हुँदाहुँदै वेराजगारीको समस्याबाट पीडित भएका छौँ । 

आज दिनभरि म एकजना साथीको तमाटर खेती अवलोकन गर्नका लागि भक्तपुरको शिरुटार गएँ । राजविराजबाट प्रेस व्यवसाय छोडेर मधेस आन्दोलनका बेलामा काठमाडौँ छिरेका थिए उनी । राजविराज हुँदा प्रेस चलाएर जिवन धानिरहेका थिए । म उनको टमाटर खेती हेर्न शिरुटार, भक्तपुर पुगेँ । शिरुटारको मिलनचोकमा थियो उनको फार्म । ४ रोपनी जग्गा भाडामा लिएर उनले गत जेष्ठमा टमाटर खेती शुरु गरेका थिए । एकै बालीमा सम्पूर्ण खर्च उठ्यो, अझै टमाटर बेच्न बाँकी छ भन्दै थिए । मैले उनलाई सोधेँ– ‘प्रेस चलाएको अनुभव र टमाटर खेती कसरी तालमेल बनाउनु भो त सुरेश जी ?’

मेरो प्रश्न सुनेर उनी एकछिन घोरिए र भने– ‘धीर जी न गरिखानु न मरिजानुको घिटघिटे सानो प्रेस चलाउनुभन्दा त यसमा पो राम्रो आम्दानी रछ । म बिहानदेखि बेलुकासम्म यहीँ फार्ममै हुन्छु । बिरुवासँग खेल्छु आनन्द पनि, श्रम पनि, आम्दानी पनि । सुरुमा केही प्राविधिक ज्ञान लिनु पर्यो नत्र सामान्य रुपमा नै खेती चल्दैछ । लिने मान्छेहरु यहीँ आएर लैजान्छन् । काठमाडौँको बजार नजिकै छ । बेच्न गाह्रो छैन । प्रति किलोको ३० देखि ६० सम्म भाउमा टमाटर बिक्तोरछ । म त अझै १० रोपनी जग्गामा विस्तार गरेर व्यवसायिक बनाउने सुरसारमा छु । यही टमाटरले ५ जनाको परिवार काठमाडौँ बसिरहेको छ । छोरो इन्जिनियर पढ्दैछ । गर्नेलाई सबैतिर अवसर नै अवसर छ, नगर्ने हेर्याहेर्यै छ ।’ सुरेशजीको कुरा एउटा गतिलो झटारो हो जागीर खोज्ने माथि मैले उल्लेख गरेकाजस्ता शिक्षित युवाहरुका लागि । 

जागिर खोज्नेहरुका लागि शुरेसजीको यो कुरा एउटा अचुक विकल्प हुनसक्छ भन्ने मलाई लाग्यो । आजभोलि कामको सीप र लगनशीलता हुनेहरुका लागि कृषिमा अनन्त संभावनाहरु देखिँदैछन् । तरकारी, फलफूल, दूध, मासुजन्य पशुपंक्षीपालन व्यवसायिक हुँदै गएका छन् । बजार र प्रविधिको सामान्य अध्ययन गरेर यसतर्फ लाग्नेहरुले रोजगारी बृद्धि गर्ने र आम्दानी बढाउने विकल्पहरु दिन थालेका छन् । शहरीया जागीरको खोजीमा वर्षौं बिताउने तर गाउँमा बसेर श्रमलाई हेला गर्नेहरुलाई त उपाय केही छैन तर काम गर्न खोज्ने जाँगर र सीप भएकाहरुलाई भने विकल्पहरु तयार हुँदैछन् । संसारका सबै मानिसलाई खाद्यवस्तु खानै पर्छ । त्यो फलाउने ठाउँ जमिन नै हो । जमिनबाट उत्पादन लिनका लागि धेरथोर मेहनत त गर्नै पर्छ । गाउँका बारी र खेत बाँझो राखेर शहरमा सानोतिनो जागिर खोज्नेहरुलाई अब यस्ता विकल्प हेर्नतिर सजग गरनउन सकियो भने हाम्रो वेरोजगारी धेरै हदमा घटाउन सकिन्छ । सस्तोमा अरबमा र मलेसियामा श्रम बेच्न जानु पर्दैन । स्वाभिमानका साथ देश मै उद्यमको विकास गर्न सकिन्छ ।

आजकल गाउँगाउँमा र शहरमा सहकारीहरु खुलेका छन् । ससाना पूजी बटुलेर बैंक चलाए झैँ गरी सहकारीहरु रियलस्टेट र ठूला परियोजनातिर आकर्षित भएर महत्कांक्षातिर  तानिनाले समस्या भोग्दैछन् । ओरेन्टल, गुण जस्ता महत्वाकांक्षी सहकारीहरु फसेको हामीले भोगिरहेकै छौँ । मैले माथि भनेजस्ता सहकारी मार्फत् सानातिना काममा लाग्नेहरु दिनदिनै विकल्पहरु दिन तयार हुँदैछन् । म आफू हुर्केबढेको गाउँ सिन्धुलीको आम्बोटेका किसानहरु केही वर्षदेखि अदुवा खेती गरिरहेका छन् । २।४ हजारमा पनि बेच्न खोज्दा नबिकेका पाखाहरु अहिले लाखौँ रुपियाँको अदुवा उत्दानयोग्य भएका छन्  । खेतबारीको मूल्यभन्दा बढी त एकैबालीको अदुवाबाट उनीहरुले आम्दानी गरिरहेका छन् । यी कुराहरु हाम्रा शिक्षितहरुले र जागिर खोज्ने युवाहरुले बुझ्न सकेभने हाम्रो देश बन्न धेरै समय लाग्दैन । सहकारी मार्फत् यस्ता नयाँ टनेल खेती तर्फ, व्यवसायिक पशुपंक्षीपालनतर्फ लागौँ र लाग्न प्ररित गरौँ । देशका नागरिक उत्पादनशील भ एभने देश धनी हुन्छ, हामी पनि धनी हुन्छौँ । जागिर होइन काम खोजौँ ।    

Monday, January 6, 2014

नयाँ सोचका प्रखर वक्ता

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली गाउँशहरमा युवा जमातको एउटा पार्टी देखापर्यो । राजनीतिक पहिचान र प्रचारका लागि देशभरि ठूलाठूला भाषणसभाहरु आयोजना गरिए । सबै एक से एक वक्ताहरुको समूह देखियो त्यस पार्टीमा । कोही उखान र टुक्काका पारखी वक्ता थिए, कोही गहिरो राजनीतिक विश्लेषण गर्थे, कोही घर, समाजमा देखापरिरहने संस्कृति र संस्कारका विभिन्न पाटाहरु उघारेर मानिसलाई भाषणले आनन्दित बनाउँथे । त्यो समूह निरन्तर बढ्न थाल्यो । गाउँगाउँमा उनीहरुका कार्यकर्ताहरु संगठनका लागि घुम्न थाले । पार्टीका प्रवक्ता भनेर एउटा प्रखर वक्ता सार्वजनिक भए । हेर्दा सामान्य लाग्ने ती युवा नेताको बोलीमा जुन खालको जादूगरी थियो त्यसले मानिसहरुलाई जादूमय किसिमले तान्न थाल्यो । लाल पार्टीकै एउटा ठूलो समूह थियो त्यो ।  
ती युवा नेताले शहरबजारमा गरेका भाषणका टेप र सी.डी.हरु गाउँगाउँमा बज्न थाले । मानिसहरुमा जिज्ञासा पलाउन थाल्यो– ‘यस्तो राम्रो भाषण गर्ने, यति राम्रो बोल्ने नेता को होला ? हेर्न पाए कस्तो हुँदो हो !’ यस्ता कुरा सुनिन थाले । जुनसुकै पार्टीका मानिसहरु किन नहुन् उनको भाषण छ अरे भनेपछि टाढाटाढाबाट मानिसहरु ओइरिन थाले । मलाई पनि जिज्ञासा भयो वास्तवमा यस्तो खरो र मीठो भाषण गर्ने मानिस कस्तो होला ? छापाहरुमा फोटो हेरेर मेरो चित्त बुझेन । म पनि उनको भाषण सुन्न उत्सुक भएँ । 
२०४७ सालमा नयाँ संविधान जारी भएपछि लाल पार्टीले २७ बुँदामा असहमती जनायो । असहमती भए पनि तत्कालको अवस्था हेरेर त्यसलाई स्वीकारेर अघि बढ्ने निर्णय लियो । आफ्नो असहमती पनि जनाउने अनि अघि पनि बढिरहने । दूरदर्शी निर्णय लिए उनले । संविधानमा सुधार गर्नुपर्ने विषय र कारण बारे देशभरि फेरि भाषणसभाहरु आयोजना हुन थाले । म पनि काठमाडौँको खुल्लामञ्चमा आयोजित भाषणसभामा उनीहरुको भाषण सुन्न गएँ । न धेरै अग्ला, न धेरै होचा मध्यम कदका गहुँगोरो भन्दा अलि कालो वर्णका मोटामोटा ठिक्कका मानिस भाषणसभाका मुख्य अतिथी थिए । शिरमा भादगाउँले कालो टोपी, खैरो रंगको कोट अनि अलि पावरदार बाक्लो मोटो चश्मा लगाएको फोटो मैले संचार माध्यममा देखिरहेको थिएँ । त्यहाँ प्रमुख वक्ता भनिएका मानिस पनि तिनै थिए । नाम थियो– मदन भण्डारी । 
हामी सभामा भाषण सुन्न बस्यौँ । मीठो भाषाशैली, प्रष्ट विचार, खरो र मन छुने मिठासपूर्ण शव्दावलीयुक्त भाषण । धाराप्रवाह अनुप्रासमय भाषणमा सबै श्रोताहरु लठ्ठिए । त्यस्तो भाषण मैले पहिलो पटक सुनिरहेको थिएँ । राजनीतिको तीखो विश्लेषणले भरिएका अनेक उखान र टुक्काहरु मिसिएको ओजपूर्ण, निर्भिक र चोटिलो भाषण थियो उनको । सुन्दै मोहनी लगाउन सक्ने मीठास थियो भाषामा । नेपाली परिवेशका अनेक उदाहरणले भरिएको उनको भाषण सुन्ने जोसुकै मानिस पनि उनीबाट प्रभावित भइहाल्थ्यो । विचार फरक भएका मानिसहरु पनि उनको बोलाइ र विश्लेषणबाट अप्रभावित रहन समभव थिएन । म उनको पार्टीको सदस्य त थिइनँ तर पनि उनको भाषण मन पर्यो मलाई । उनको प्रतिभा नबुझेर हो कि हेपेर हो उमेरले पाकेका मानिसहरु कम भएकाले– दुधे बालकहरुको पार्टी भनेर तारे पार्टीका नेताहरुले भनेको सुनिरहन्थेँ म । त्यस दिनको भाषण सुनेपछि मेरो उनीप्रतिको धारणा बदलियो । कताकता मैले उनलाई देशकै राजनेता जस्तो देख्न थालेँ । 
नयाँ संविधान भर्खर जारी भएको थियो । त्यस बिषयमा उनका केही गम्भीर मतभेदहरु थिए । भाषा, धर्म, जाति, लिङ्ग आदि बारे केही फरक मतहरु थिए । कम्युनिष्टहरु राजा मान्दैनन् भन्ने मैले सुनेको थिएँ । त्यसमा पनि उनको प्रष्ट दृष्टिकोण थियो । उनले आफ्नो भाषणमै भने– ‘ऐलेको शक्ति सन्तुलनलाई हेर्दा राजा एउटा सम्मानित संस्थाको रुपमा रहन्छन् भने हामीलाई टाउको दुखाउनु छैन । आखिर देशमा एउटा प्रमुख चाहिन्छ । राष्ट्रपति चुन्न पनि चुनाव गर्नै पर्छ । यदि चलखेल नगरीकन भत्ता खाएर चुपचाप बसिरहन्छन् भने उनलाई विगत हेरेर खेदो खन्नुपर्ने कुनै कारण छैन । हात नलम्काइकन, आँखा नचम्काइकन बसिरहन्छन् भने राजा मानसम्मान पाएर बसिरहुन् । हामी राजा त मान्दैनौँ तर ऐलेको यो बाध्यता हो शक्तिसन्तुलनको । ऐलेलाई राष्ट्रपतिको साटो परम्परागत रुपमा रहेको भए पनि राजा राख्न हामीलाई कुनै आपत्ती हुने छैन ।’
देशमा भएका लाल पार्टीका विभिन्न स–साना समूहहरुलाई एकीकृत गर्ने र तिनलाई सम्मानजनक व्यवहार गर्ने सोच बनाए मदन भण्डारीले । एकताको प्रस्ताव गरे । नेताहरु धेरै भएको तर संगठन र कार्यकर्ताको समूह निकै कम भएको एउटा समूहका नेता मनमोहन अधिकारीसँग उनको कुरा मिल्ने भयो भन्ने सुनियो । आफू पार्टी सदस्य र संगठनका हिसाबले निकै ठूलो हुँदाहुँदै मनमोहन अधिकारीलाई आदरसाथ अध्यक्ष बनाए । मनमोहनको अभिभावकत्व स्वीकार गरे । उनी आफू महासचिवमा बसे । मनमोहनले संगठनभित्र मदन भण्डारीको नेतृत्वलाई स्वीकार गरे । अभिभावकका रुपमा मनमोहनलाई मदनले स्वीकार गरे । राजनीतिक परिपक्वताको संस्कारतिर बढिरहेजस्ता देखिए उनी ।
दुई पार्टी एकीकरणपछि केही पुराना र इतिहास भएका नेताहरु पार्टीमा भित्रिए । सामन्तहरुलाई हत्या गरेर वर्गशत्रु निर्मूल गर्ने अभियानमा लागेको झापाली युवा समूहबाट सुरु भएको लाल पार्टीको त्यो सानो समूह क्रमशः फैलिँदै गएर मनमोहनको समूहसँग मिलेपछि देशको ठूलो पार्टी बन्ने अवस्था बन्दै गयो । 
पार्टीको महाधिवेशनको लागि छलफलमा ल्याइने दस्तावेजमा मदन भण्डारीले नयाँ कार्यक्रम अघि सारे ।  विश्वको नयाँ परिवेशमा कम्युनिष्टहरुले आफूलाई अब कसरी अगाडि बढाउन सक्छन् भन्ने बिषयमा नयाँ अवधारणा थियो उनको । उनको प्रस्तावले देश र विदेशका कम्युनिष्टहरुलाई नयाँ दिशा दिने संकेत देखियो ।  
उनले सार्वजनिक रुपमा आफ्नो कार्यक्रम बारे बहस चलाउन चाहे । संचारमाध्यम मार्फत् सबैले कुनै पार्टीको दस्तावेजमाथि छलफल भएको संभवतः पहिलो पटक थियो । उनले भन्ने गरेको सुनिन्थ्यो– ‘संसारमा प्रतिस्पर्धाविहीन राजनीतिले धक्का खायो । तानाशाही र एकाधिकारवादी शासन अबको संसारमा चल्न सक्दैन । कम्युनिष्टहरुले पनि अब प्रतिस्पर्धाको राजनीतिलाई नै स्वीकार गर्नुपर्छ । जनताको चेतनास्तर उठाएर पार्टी लोकप्रिय नभई धेरै वर्ष शासन चलाउँदा सबै मानिस अनैतिक, भ्रष्ट र एकोहोरे हुँदारहेछन् । त्यसैले अब नयाँ किसिमले नै कम्युनिष्टहरुले अघि बढ्नु पर्छ । प्रतिस्पर्धा र बहु विचारलाई महत्व दिनैपर्छ ।’ उनले आफ्नो कार्यक्रमको नाम नै बहुविचारमा आधारित भएको संकेत गर्ने गरी राखे– जनताको बहुदलीय जनवाद भनेर । कम्युनिष्ट जगतमा यो एउटा नयाँ प्रयोग थियो । सबैतिरबाट चर्चा पाउन थाले उनले । 
मदन भण्डारीको यो प्रस्ताव संसारका कम्युनिष्टहरुका लागि नयाँ विचार हुन सक्ने देखियो । युरोपीय देशहरुमा प्रचलित समाजवादी विचारधारासँग उनी निकै नजिक देखिए । कम्युनिष्टहरु पनि एकाधिकार होइन बहुदलीय प्रतिस्पर्धाको राजनीति गर्न राजी भए भन्ने सन्देश उनको कार्यक्रमले दियो । विदेशका विभिन्न ठाउँबाट उनलाई आफ्नो विचार प्रस्तुतिका लागि निमन्त्रणा आउन थाल्यो । उनी कतै जान राजी भएनन् । आफ्नै देशमा केही प्रयोग पछि विदेशलाई सुनाउन चाहन्थे उनी । 
+ + + +
नयाँ संविधान जारी भएपछि मदन भण्डारीले प्रस्ताव राखे– ‘जनआन्दोलनमा सहभागी सबै दलका प्रमुख नेताहरु एकअर्काका प्रतिद्वन्द्वी भएर चुनाव नलडौँ । सकेसम्म साझा उम्मेदवारी दिउँ, नसके जो जहाँ बलियो छ त्यहाँ एकअर्कालाई सघाउँ । आन्दोलन सफल भएको केही समयसम्म यस्तो मैत्रीपूर्ण समझदारी आवश्यक हुन्छ । सकेसम्म एक निश्चित अवधिसम्म साझा कार्यक्रम बनाएर मुलुकलाई अगाडि बढाउँ, सकिँदैन भने पनि चुनाव चाहिँ समझदारी गरेर लडौँ । जथाभावी सबै नेताहरु प्रतिस्पर्धामा गएर जनतालाई अप्ठ्यारोमा नपारौँ ।’ 
उनले यसका लागि निकै प्रयत्न गरे । धेरैपटक त्यस बिषयमा तारे पार्टीका उच्च नेताहरुसँग कुराकानी पनि गरे । तर, त्यो सदाशयतापूर्ण राजनीतिक विचारलाई तारे पार्टी र अरु पार्टीले महत्व दिएनन् । तारे पार्टीमा ०१५ सालमा चुनाव जितेको धङधङी अझै बाँकी थियो । कलिलो उमेरका मानिसहरुलाई सजिलै जितिन्छ भन्ने उनीहरुको अनुमान रह्यो । 
अन्तिमसम्म पनि मदन भण्डारी र उनको पार्टीले त्यो प्रयास भने गरि नै रह्यो । तारे पार्टीले त्यसलाई माले, मण्डले र मसाले एकै हुन् भनेर अस्वीकार गरिदियो । यसरी अनेक प्रस्ताव राख्दा पनि सहमती नहुने भएपछि सांकेतिक रुपमा आफू स्वयं तारे पार्टीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईका विरुद्धमा चुनावी प्रतिस्पर्धामा होमिने र उनीहरुको दम्भ तोड्ने निर्णय गरे । 
अन्तरिम कालमा मुलुकलाई सहज निकास दिन सफल भएको देखेर तारे पार्टीका नेताहरु भन्ने गर्थे– ‘हाम्रा हेभिवेट नेतालाई भोट नदिएर कहाँ ती हिजोका बच्चालाई जन्ताले भोट दिन्छन् र !’ मदन भण्डारी वलिको बोको हुने भए । यस्तै आत्मरतिमा तारे पार्टीका नेताहरु भट्टराईले जित्नेमा ढुक्क भए । उनकै पार्टीका अर्का नेता गिरिजा भने भट्टराई तत्कालका पार्टी अध्यक्ष पनि भएकाले उनले चुनाव जिते भने उनै फेरि प्रधानमन्त्री होलान् भन्ने डरले भित्रभित्रै सरकारका कटु आलोचक बन्दै गए । भट्टराईको चुनाव प्रचारप्रसारमा कार्यकर्तापंक्ति निस्कृय बस्यो । 
पुरानो पार्टी भनेर तारे पार्टीका नेताले गरेको दम्भ प्रदर्शनप्रति मदन भण्डारीले सार्वजनिक रुपमै कटाक्ष गरे– ‘उमेर बिताएर र कपाल पकाएर मात्र राजनीतिमा कोही ठूलो मान्छे हुँदैन । नयाँ सोचाइ, नीति, विचार र कार्यक्रमले नै राजनीति चल्नेगर्छ । नीति, विचार र कार्यक्रमले नै कुनै पनि नेतालाई माथि उठाउने हो । उमेर कसले कति कटायो भनेर क्यै हुनेवाला छैन । तपाईंहरु विचार र वेवारले पाक्नुहोस् । बालबच्चाजस्तो अपरिपक्व व्यवहार देखाउनेहरुले कपाल पकाएको टाउको देखाउनुको कुनै अर्थ छैन । टाउको कपाल पाकेको, खुइलिएको, कालो कपाल भएको जस्तोसुकै होस् देश र समाजको लागि तपाईसँग कस्ता विचार छन ? योजना र लक्ष्य कस्ता छन् ? त्यसले नै पाको र काँचो देखिन्छ । अब हिम्मत गरेर यिनै कच्चा दुधे बालकहरुसँग प्रतिस्पर्धा गर्न तयार हुनुभए हुन्छ ।’ उमेरको कुरा गरेर पार्टीलाई आलोचना गर्ने सतही भनाइप्रति कटाक्ष गर्नेहरुलाई उनले सार्वजनिक भाषण मार्फत् नै प्रष्ट रुपले चुनौती दिए । चुनावी वातावरण तात्दै गयो । उनको भाषण गाउँगाउँ पुग्न थाल्यो । 
पार्टीको प्रचारका लागि देशव्यापी चुनावी सभाहरुमा मदन भण्डारी दौडिए । आफ्नो चुनावी क्षेत्रका केही ठाउँमा सभाहरुलाई सम्बोधन गरे । त्यसमा चर्र्चित रह्यो चावहिलको गणेशस्थान नजिक भएको सभामा गरेको उनको भाषण । राजासमर्थक आसेपासेहरु चुनावी कार्यक्रममा सल्बालाइरहेका थिए । दरवार भित्रभित्रै सल्बलाइरहेको थियो । मदन भण्डारीलाई त्यो चित्त बुझेन । सार्वजनिक रुपमा राजा र दरवारप्रति खरो कुरा गर्न र चुनौती दिन त्यतिबेलासम्म कुनै नेताले हिम्मत गरेको सुनिँदैनथ्यो । 
२०४७ चैत्र ५ गते काठमाडौँको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने चावहिलको भाषणमा उनले राष्ट्रियता र प्रजातन्त्रको आ–आफ्नो ठेक्काजस्तो सम्झने राजा र तारे पार्टीको सोचलाई प्रहार गर्दै आफ्नो धारणा राखे । तत्कालीन राजावादीहरु र राजालाई चुनौती दिँदै भने– ‘महाराज हात नलम्काइबक्योस्, आँखा नझिम्क्याइबक्योस्, आफ्ना शण्डमुशण्डहरुलाई पनि नचलाइबक्सियोस् । कि संविधानभित्र र कानूनभित्र बसेर दरवारभित्र भत्ता खाएर चुपचाप बसिबक्स्योस् कि श्रीपेच छोडेर जनता भएर राजनीतिमा सक्रिय रुपमा आइबक्स्योस् ता कि सहज रुपमा प्रतिस्पर्धा गर्न सकियोस् । हामी श्रीपेच खोलेर आएका राजासँग प्रतिस्पर्धा गर्न सधैँ तयार छौँ ।’
राजा र राजालाई मानेर आफ्नो भित्री स्वार्थ पूरा गर्नेहरुलाई खुल्ला चुनौती थियो त्यो । उनको त्यो भाषणको टेप चुनावी प्रचारका लागि मसला जस्तै भयो । के गाउँ के शहर सबैतिर त्यो भाषणको टेप सुनिन थाल्यो । देशभर घुमेर चुनावी सभा गरिसक्ता मानिसहरुले उनका भाषणकला र बोल्ने शैलीबाटै देशको एउटा आसलाग्दो नेताका रुपमा हेर्न र आशा गर्न थाले । युवाहरुलाई त उनको भाषण सुनेपछि उनकोपछि लागौँलागौँ बनाइहाल्ने जादूगरी भाषणकला थियो उनीसँग । 
आखिर काठामाडौँको क्षेत्र नं. १ बाट आफूभन्दा निकै पाका, तारे पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई उनले चुनावमा परास्त गरिदिए । दुई क्षेत्रबाट चुनाव जिते । आफूभन्दा बृद्ध र स्थापित नेतालाई चुनावमा परास्त गरेपछि मदन भण्डारी सर्वाधिक चर्चित नेता बने । एउटा प्रखर सांसद पायो देशले । आफ्नो दलको संसदीय नेताका रुपमा उनले मनमोहनलाई प्रस्ताव गरे । सचेतक र प्रमुख सचेतक पनि अरु नै नेताहरुलाई बनाए । आफू सामान्य सांसद मात्र रहे । जब उनी संसदमा बोल्न उभिन्थे सबैको ध्यान उनीतिरै हुन्थ्यो । संसदलाई बाटो देखाउने अनि बाटो बिराउँदा ठीक ठाउँमा ल्याउन उनका ओजयुक्त भनाइ र अध्ययन र विश्लेषणले खारिएका तर्क सबैका लागि अकाट्य तथ्य जस्तै हुन्थे । 
+ + +
एकदिन सिंहदरवारबाट बाहिरिन लागेको बेला मदन भण्डारीसँग मेरो भेट भयो । मैले उनका भाषणहरुको चर्चासहित चिनजान गर्न खोजेँ । ज्यादै साधारण शैलीमा उनले आफ्नो परिचय दिए । मैले उनीसँग फेरि भेट गर्ने र केही कुराकानी गर्ने मनशाय व्यक्त गरेँ । उनले स्वीकार गरे । 
म भेटघाटका लागि समय मिलाएर उनको पार्टी कार्यालय पुगेँ । कुराकानी चल्दै गयो । नेपालको कम्युनिष्ट राजनीतिमा उनले ल्याएको नयाँ विचारका बारेमा, विश्वमा कम्युनिष्टहरुले व्यहोर्नुपरेको हार र धक्का, नेपालका कम्युनिष्टहरुप्रति बढ्दो आकर्षण र योगदान, नेपालको राष्ट्रियता, तारे पार्टीका कार्यशैली र उसका नीति तथा इतिहास र तत्कालको राजनीतिका बारेमा अनेक जिज्ञासा थिए मभित्र । ती बिषय कोट्याएँ मैले । जान्ने र बुझ्ने जिज्ञाशा राखेँ । 
मेरा कुरा सुनिसकेपछि मदनले भने– ‘हेर्नुस् विवेक जी ! माक्र्सवाद कुनै जड सिद्धान्त हैन । यो ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित सिद्धान्त हो । त्यसैले यो गतिशील सिद्धान्त हो । यो कुरालाई नबुझेर माक्र्सवादलाई पुराण झैँ बुझ्ने र सूत्रहरु रटेर जडसूत्रवादी हुनेहरु धेरै भए । सिर्जनात्मक मान्छेहरुलाई संशोधनवादी भनेर पन्छाइ दिए । यसले कम्युनिज्म बदनाम भयो । हामी सिद्धान्तका कुनै सूत्रहरुसँग सती जाने पक्षमा छैनौँ । कुनै सूत्र र सिद्धान्तको नाममा हामी देश र जनताको प्रगति र उन्नतिको बाटो छेक्न चाहँदैनौँ । सिद्धान्तको रक्सी पिएर लकिरको फकिर भइन्छ भने त्यसलाई हामी छोड्न चाहन्छौँ । सिद्धान्त यदि हाम्रो प्रगतिका लागि बाधक हुन्छ भने हामी ती सूत्रहरुलाई छोडेर अघि बढ्छौँ । नयाँ कुरा थप्छौँ त्यसमा । जुन कुराले देश र जनताको भलो गर्छ त्यसलाई लिन चाहन्छौँ र अरुलाई छाडेर अघि बढ्न चाहन्छौँ । सबै सिद्धान्तहरु जीवनका लागि हुन्, जीवन सिद्धान्तका लागि हैन । त्यसैले हाम्रो यो जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रम नै हाम्रा लागि आजको माक्र्सवाद हो । अब हामीले प्रतिस्पर्धाबाट भागेर हैन आवधिक जनमत लिएर आफूलाई योग्य सावित गर्दै जनताको मन जित्न सक्नुपर्छ । जनताबाट आफूलाई सामयिक अनुमोदन नगर्ने र आफ्नो विचार राख्न नपाउने गरी एकधिकार लाद्ने काम गरेका कारणले संसारबाट कम्निष्टहरुले धक्का वेहोर्नु पर्यो ।’ उनी यतिभन्दै एकछिन अडिए । मैले मनको खुल्दुली मेट्न एउटा प्रश्न सोधेँ ।
‘यदि बहुदलीय प्रतिस्पर्धामा नै जाने र जनताको अमितबाट शासन गर्ने हो भने किन कम्निष्ट भन्नुपर्यो ? पूर्वी युरोप, जहाँबाट कम्युनिष्टहरु जन्मे त्यहाँ त अब कम्युनिष्ट भन्न पनि चाहँदेनन् मान्छेहरु । तपैँंहरु चैँ किन त्यै नाममा फेरि झुण्डिरहन चाहनु हुन्छ ?’ मैले उनको विचारको भित्री पक्ष खोतल्न चाहेँ । 
मदन भण्डारीले शान्त भावमा ध्यान दिएर मेरो कुरा सुने । विस्तारै मेरो प्रश्नतिर केन्द्रित हुँदै भने– ‘संसारमा माक्र्सवादले दिएको नयाँ धारणा हो समाजलाई हेर्ने द्वन्द्ववादी दृष्टिकोण र समानतामूलक वितरणको अवधारणा । सारमा मैले बुझेको यै हो । अठारौँ शताब्दीको अवस्था र ऐलेको अवस्था आकास र पातालजस्तै फरक छ । यदि माक्र्सवादलाई हामी द्वन्द्वात्मक विश्लेषणका लागि प्रयोग गर्छौं भने फेरिएको परिस्थितिलाई हेरेर हाम्रा नीति र कार्यक्रमलाई पनि परिवर्तन गर्नैपर्छ । सिद्धान्त मानिसका लागि हो मानिस सिद्धान्तका लागि हैन । यै कुरा हामीले उठाउन खोज्या हो । त्यसैले हामीले यसलाई एकाधिकारवादी सोचाइबाट माथि उठेर कम्निष्टहरु पनि दलीय र वैचारिक प्रतिस्पर्धामा पनि जानुपर्छ भन्न खोज्या हौँ । अब हामी यसै आधारमा अघि बढ्न चाहन्छौँ । निरङकूशता र एकाधिकारवादी शासनको सोच फेल भएको हो संसारबाट । कम्युनिज्मको सिद्धान्त फेल भएको छैन । यसको औचित्य अझै छ । जबसम्म समाजमा शोषण, अन्याय र असमानता रै’रन्छ तबसम्म यसको औचित्य रै’रन्छ, सकिँदैन । माक्र्सको समयभन्दा आजको परिवेश फेरिएको छ । यसलाई नयाँ ढंगले विकसित गर्नुपर्ने र नयाँ व्याख्या दिनुपर्ने आवश्यकता भने देखिएको छ । हामी ऐले त्यै प्रयत्नमा छौँ ।’ मदन एकछिन रोकिए । हामी कुराकानीकै मुडमा थियौँ । चियाखाँदै फेरि गफ अगाडि बढ्यो ।
पूर्वी युरोपका कम्युनिष्टहरुले व्यहोर्नुपरेको समस्या बारे विश्लेषण गर्दै उनले फेरि कुरा जोडे– ‘पूर्वी युरोपले संसारलाई कम्युनिज्मको प्रयोगको बाटो देखायो । रुस र चीनले पनि नयाँ बाटो देखाए । अरु कतिपय देश र नेताहरुले त्यसको प्रयोग गरे । त्यो प्रयोग भिन्नभिन्न ढंगको रह्यो । कसैले कुन र कसैले कुन ढाँचा प्रयोग गरे । पूर्वी युरोपमा नक्कल र सिर्जनाहीन प्रयोग देखियो । लेनिनले गरेको प्रयोग अनि माओले गरेको प्रयोग अलिअलि सिर्जनात्मक थियो । अहिले पनि आर्थिक कुरामा परिमार्जन गर्दै चीन अघि बढिरहेको छ । उनीहरुले संसारलाई आर्थिक विकासको गति देखाइरहेका छन् । तर उनीहरुले पनि अझै आवधिक जनमतलाई स्वीकार गर्न सकेका छैनन् । युरोपका कम्निष्टहरुले समयक्रममा आफूलाई परिमार्जन गर्न समर्थ भएनन् । ऐले युरोपका कम्युनिष्टहरु नामै परिवर्तन गरेर समाजवादी बनेका छन् । तर पनि उनीहरुलाई लाग्ने लान्छना र आलोचना कम भए त ! भएनन् । उनीहरुलाई हेर्ने दृष्टिकोण त उस्तैछन् । नाम फेरेर नयाँ हँुदोरैनछ । विरोधीहरुबाट हुने प्रहार पनि कम हुँदोरैनछ ।’
‘साधारण मान्छेले हामीलाई कम्निष्ट भनेर चिनेरै भोट दिया हुन् । उनीहरुलाई अर्को कुनै नाम मन नपरेर मात्रै हामीलाई समर्थन गर्या हैनन् । त्यसैले हामी संसारमा कम्युनिष्ट भएरै बाँच्न र राजनीति गर्न चाहन्छौँ । पलायन भएर नाम र झण्डा फेरेर हाम्रा आलोचकहरुका प्रियपात्र बन्न चाहँदैनौँ । मलाई पनि यस्तो सुझाव कैयौँ शक्तिशाली देशका मानिसहरुले भेटेरै दिने गरेका छन् । म सुनिरहेको छु । राजनीतिमा निर्णायक यै देश र समाजका जन्ता हुन्, हामीलाई आलोचना गर्ने र नाम फेर्न सल्लाह र दवाव दिने कथित विदेशी पूँजीवादी देश र व्यक्तिहरु हैनन् । हामी नाम र झण्डा दुवै हटाएर दुलोभित्र पसेर मुसा झैँ बस्न चाहँदैनौँ । कम्निष्टकै नाममा शेर भएर गर्जन चाहन्छौँ । एक स्वभिमानी, देशभक्त र सिर्जनात्मक प्रयोगकर्ताको रुपमा हामी आफूलाई उभ्याउन चाहन्छौँ ।’ मदन भण्डारीले दह्रो दृढता देखाए । मलाई उनका कुरा आत्मविश्वासले भरिएका एक परिपक्व राजनेताका जस्ता लागे ।
कुरा सकिएका थिएनन् । हामी चियाको चुस्की लिँदै राजनीतिक गफमा रमाइरहेका थियौँ । मैले त्यसअघि भेटेका अनेक नेताहरुमध्ये मदन भण्डारी अलि अनौठा खालका लाग्नथाल्यो । म उनको कुरा ध्यान दिएर सुनिरहेकै थिएँ । फेरि एउटा प्रसङ्ग कोट्याएँ– तपाईंले त चाबहिलको भाषणमा राजाहरुको राष्ट्रवाद, तारे पार्टीको प्रजातन्त्र र समाजवादको त धज्जी उडाउनु भो नि !’
मेरो कुरा सुनेर मदन भण्डारी मुसुक्क हाँसे । म उनीतिर ध्यान दिएकै थिएँ । भने– ‘तपाईले मेरो त्यो भाषण पूरै सुन्नु भो ? यदि सुन्नुभएको छ भने अवश्य सोच्नुभयो होला । हामी अनर्गल आरोप कसैलाई पनि लगाउन चाहँदैनौँ । हामी भ्रमलाई चिर्न मात्रै चाहन्छौँ । भ्रम फारेपछि जनताले आफैँ बुझ्छन् कुराहरु । हामी तारे पार्टीले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटै कुराको नयाँ व्याख्या दिन चाहन्छौँ । विगतलाई हेर्दा हामी मण्डले राष्ट्रवाद र आत्मसमर्पणवादी राष्ट्रवादबाट पीडित भयौँ । राष्ट्रियता राजाले आफ्नो पेवा ठाने अनि प्रजातन्त्र भन्नासाथ तारे पार्टीले पेवा ठान्यो । प्रजातन्त्र तारे पार्टीको मात्रै पेवा हैन । यिनको बुझाइ ठीकसँग भएन भन्ने हामी ठान्दछौँ । विगतमा राष्ट्रिय स्वाधिनताको लडाईंमा कम्युनिष्टहरु सधैँ अगाडि रहे । देशको सीमा मिचिँदा र राष्ट्रिय स्वतन्त्रता हनन गर्दा जैले पनि हामी नै अग्रपंक्तिमा रहेर लड्यौँ । देशको स्रोत विदेशीलाई सुम्पिँदा हामीले नै चर्को आवाज उठायौँ । तारे पार्टीले यसमा कहिल्यै आवाज उठाएन । यस कुरामा उसले चुँ गरेको पनि सुनिएको छैन । बरु उसले आफ्नै स्रोत आफ्नो हित प्रतिकूल हुने गरी सम्झौता गरेर प्रजातन्त्रका नाममा आत्मसमर्पणवादी राष्ट्रवाद प्रदर्शन गर्यो । दरवारले राष्ट्रवादी शक्ति हामी मात्रै हौँ भनेर राष्ट्रवादको नाममा प्रजातन्त्रको घाँटी थिच्यो । त्यसैले हामी यी दुवै अतिवादको विरुद्धमा उभिएका छौँ । मण्डले राष्ट्रवाद र आत्मसमर्पणवादी राष्ट्रवाद दुवैलाई हामी मुर्दावाद भनिरहन्छौँ । अब यी दुवै कुरामा दुवै अतिवादीहरुले आफूलाई त्यसको ठेकेदार नठाने हुन्छ ।’ 
‘प्रजातन्त्रको कुरा पनि त्यस्तै हो । तारे पार्टीले आफूलाई प्रजातन्त्रको ठेकेदार सम्झन्छ । तर कहीँ पनि ऊ बहुमतलाई स्वीकार गरेर अल्पमतको सम्मान गरेर बस्न चाहँदैन । आफूले अरुलाई शासन गर्न पाउँदा र हालिमुहाली गर्न पाउँदा ठीक भन्छ । आफू अर्काको मातहतमा बस्नु पर्यो भने त्यसबाट अलग भएर अनेक वितण्डा मच्चाउन थाल्छ । के हामी यसैलाई प्रजातन्त्र मानिरहने त ? यस खाले प्रजातन्त्रमा नेताहरुले त प्रजातन्त्रको उपभोग गर्लान् तर जनता सधैँ परतन्त्र हुन्छन् । नेताका दास भएरै रहनुपर्छ जनताले । हामी जनताको मत अन्तर्गत, उनीहरुको भावना अन्तर्गत चल्ने प्रजातन्त्र चाहन्छौँ । जिते शासनमा रहन्छौँ हारे प्रतिपक्षमा बस्छौँ र जनताका काम गछौँ । हामी हतियार उठाएर होइन चेतना उठाएर समाजमा परिवर्तन गर्न चाहन्छौँ । साँचो अर्थमा जनतालाई सार्वभौम हौँ भन्ने अनुभूति दिलाउन चाहन्छौँ । कुनै अर्को पक्षले बहुमत ल्यायो भने त्यस संस्थालाई फुटाएर, टुटाएर स–साना झुण्डमा जनतालाई विभाजित गरेर होइन त्यहीँ बसेर सुधार गरेर संस्थाहरुभित्र प्रजातान्त्रिक संस्कार बसाल्न चाहन्छौँ । त्यसैले तारे पार्टीको प्रजातन्त्र ठालुहरुको तन्त्र हो, ठूलालाई चैन सानालाई ऐनको प्रजातन्त्र हामीलाई चाहिँदैन । त्यसको विकल्पमा हामी जनताको प्रजातन्त्र बनाउन चाहन्छौँ । त्यसैले हामीले जनताको बहुदलीय जनबाद भनेका हौँ ।’ 
‘अब बाँकी रह्यो समाजवादको कुरा । घोषणा पत्रमा नै खुल्ला अर्थतन्त्रको वकालत गरेर उसले जनतासँग भोट माग्यो । शोषण र असमानताका विरुद्ध आफ्नो नीति के हुने ? यस बारेमा क्यै भनेन । धनीलाई झन् धनी अनि गरिबलाई झन् गरिब बनाउने कथित खुल्ला अर्थतन्त्रमा देखिने असमान वितरण प्रणालीले समाजवाद ल्याउन खोज्नु दिवास्वप्न हो । यो कुरा कैल्यै यथार्थ हुन सक्दैन ।’ मदन भण्डारी आफ्नो विश्लेषणमा अत्यन्त दृढ देखिए । 
राजनीतिका पेचिला प्रश्नमा उनका तीखा विश्लेषणले म नतमस्तक भएँ । नेपाली धरतीमा एउटा नयाँ र सिर्जनात्मक राजनीतिज्ञ जन्मेकोमा मलाई भित्रैदेखि गर्व पनि लाग्यो । म उनीसँग लामो कुराकानी गरेर बाहिरिएँ । 
म मदन भण्डारीसँग भेट गर्न गएको चर्चाले मेरा साथीहरुको पंक्तिमा अनेक अनुमान चलेछन् । कतिले त विवेक मदन भण्डारीको पछाडि लाग्न थाल्यो भनेर चर्चा पनि गरेछन् । राजनीतिक दरिद्रताको साँघुरो घेरामा बसेर आफूलाई सँघुर्याउने र अरुका कुरा बझ्न नचाहनेहरुलाई मैले केही भन्नु आवश्यक ठानिनँ । त्यसपछि बारम्बार मेरो मदन भण्डारीसँग सम्बाद भइ नै रह्यो ।       
+   + +
राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा मदनको ‘जबज’ को नयाँ दर्शनले प्रशंसा र उचाई पाउँदै थियोे । सर्वत्र चर्चा परिचर्चा र छलफल हुन थाल्योे । अन्तर्राष्ट्रिय मिडियाहरुले चासो राख्नथाले । अन्तर्राष्ट्रिय कम्युनिष्ट जगतमा समेत मदन भण्डारीको अवधारणा नयाँ थियो । ‘जवज’ को बारे निकै चासो र खुल्दुली रह्यो । 
संसारमा कम्युनिष्टहरुको शासन धमाधम ढलिरहेको थियो । कम्युनिष्ट शासन भएका देशहरुबाट उनीहरु सत्ताच्युत हुँदै थिए । यही सन्दर्भ पारेर भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले सन् १९९३ को मे महिनामा कोलकातामा एक सेमिनार आयोजना गर्यो । यो ३ दिने सेमिनारको मुख्य बिषय थियो समकालीन विशेष परिस्थिति र माक्र्सवादको सार्थकता । यस सेमिनारमा मदन भण्डारी आमन्त्रित भए । विश्वका १९ देशका प्रतिनिधिहरुको सहभागिता थियो । उक्त सेमिनारमा मदन भण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे । त्यसमा उनको कार्यपत्रको व्यापक स्वागत र समर्थन भयो भनेर पत्रपत्रिकाहरुमा पढ्न पाइयो । 
सेमिनारमा सहभागी सबै देशका कम्युनिष्ट प्रतिनिधिहरुले विश्व कम्युनिष्ट आन्दोलनको प्रसंगमा नौलो चिन्तन र नयाँ मार्गदर्शनका रुपमा मदनको विचारलाई लिए । ठूलो सम्मान पाए उनले । उनको ओजस्वी र कलात्मक शैलीमा नविन विचारको प्रस्तुतिको प्रशंसा सहभागीहरुले गरेको कुरा छापाहरुमा आइरहे । भारतीय छापाहरुमा मदन भण्डारीको चर्चा सर्वत्र भयो । त्यहाँका कम्युनिष्ट नेताहरुले पनि मदन भण्डारीको जबजको खुलेर प्रशंसा गरेको देखियो । मदनको कार्यक्रम अन्तर्राष्ट्रिय चर्चाको बिषय बन्यो । यसले कतिपय विदेशीहरुका कान पनि ठाडा भए ।
प्रसिद्ध अन्तर्राष्ट्रिय अखवार “न्युजविक” ले १९९१ मे २७ को अंकमा उनको अन्र्तवार्ता प्रकाशित गर्यो । त्यसको शीर्षक थियो– नेपाल, जहाँ माक्र्स जीवित छन् ।  यो अन्र्तवार्तामा उनले कम्युनिष्टहरुप्रतिका कतिपय अस्पष्टताहरु हटाउने र आफ्नो नीति प्रष्ट पार्ने काम गरे । अन्तर्राष्ट्रिय आन्दोलनबाट सिक्ने तर उनीहरुको नक्कल नगर्ने कुरा उनको अन्तरवार्ताले प्रष्ट पारिदियो । आफ्नै मौलिक नीति र कार्यक्रमको सोचमा देखिए भण्डारी । त्यस अन्तरवार्तापछि अन्तर्राष्ट्रियस्तरमा मदन भण्डारी अझ चर्चामा आए । हामी पनि एउटा आसलाग्दा युवा नेता देशले पाउने भयो भनेर खुशी भयौँ । 
+ + +
संसदमा मदन भण्डारी सधैँ देखिँदैनथे । पार्टीको जिम्मेवारीका कारण केही जरुरी कुराहरुमा पार्टीको धारणा राख्नुपर्दा मात्रै उनी संसदमा उपस्थित हुन्थे । मदन भण्डारीको बोल्ने पालो परेको दिन संसद भवन खचाखच भीडले भरिन्थ्यो । पुराना, पाका र कपाल फुलेका नेताहरुका अगाडि मदन भण्डारी उभिएर बोल्दा सबै उनीतिरै फर्केर ध्यानपूर्वक कुरा सुनिरहेका हुन्थे । पत्रकारहरुलाई ठूलो लेखन मसला मिल्थ्यो उनका कुराबाट । 
मदन भण्डारी सधैँ कालो भादगाउँले टोपी लगाउँथे । मैले एकदिन संसदको क्यान्टिनमा सँगै खाजा खाँदैगर्दा कुरैकुरामा त्यसको पनि केही रहस्य छ कि भनेर सोधेँ । उनले भने– ‘म अलि सानै उमेरदेखि भारतमा पढ्न बसेँ । टोपी लगाएका नेपालीहरुलाई धेरैजसो भारतीयहरुले हेपेको पाएँ । त्यसैले त्यस्तो हेपाइ प्रतिवाद गर्न मैले सधैँ टोपी लाउन थालेँ । त्यसबेलादेखि मेरो शिरबाट यो टोपी छुटेको छैन । म टोपी लगाएरै नेपालीहुनुको गौरव अभिवृद्धि गर्न चाहन्छु ।’ गम्भीर भावमा उनले मलाई जवाफ दिए ।
हेर्दा जावो टोपी तर गहिराइबाट नियल्दा त्यसले दिने आत्मस्वाभिमान निकै गहिरो रहेछ । म उनको भनाइ र त्यो अठोटप्रति मनमनै झुकेँ । मदन भण्डारीको त्यो भनाइ स्वदेश भक्तिको, स्वपहिचानप्रतिको गौरव र दृढ प्रतिज्ञाको अनुकरणीय नमूना मान्छु म । नेपाल र नेपालीको पहिरनप्रतिको घृणा, हेला, होच्याउने प्रवृत्तिको गम्भीर भएर प्रतिवाद गर्ने अठोट ठान्छु म यसलाई । टोपी लुकाएर होइन, फालेर होइन, शीर निहु¥याएर होइन, हीनताबोधले पनि होइन बरु झनै दृढताकासाथ आत्मसम्मानको ज्वाला जगाएर टोपी लाउन थालेको मदनको उदाहरण अपनत्वको नमूना मान्छु म । राष्ट्रिय पोशाक फ्यालेर अरु राष्ट्रको पहिरन् लाउनमा के गर्व ? देशप्रति हेलाँ, घृणा, अवहेलना, नीचता देखाउनेप्रति अघि बढेर प्रतिवाद गर्ने साहस र गहिरो भावनाले मात्रै वास्तवमा देशभक्तिको पहिचान दिन सक्दछ । मदन भण्डारी यसका लागि, सबै नेपालीका लागि अनुकरणीय, उहाहरणीय पात्र रहेछन् । मनमनै यस्तै सोचेँ मैले मदनको भनाइबाट । म भित्रैबाट उनको स्वदेशप्रेम र स्वाभिमान देखेर छक्क परेँ ।