Saturday, January 18, 2014

जागिर होइन काम खोजौँ

थाइल्याण्डमा शान्ति अशोक समूहको कम्युन चलाइरहेका एकजना थाइ मित्रले थाइल्याण्ड घुम्न जाँदा भनेको कुराले सधैँजसो मलाई पिरोलिरहन्छ । घरिघरि म उनलाई सम्झन्छु । उनी भन्थे– समृद्धिका लागि मानसिकता चाहिन्छ, अवसर होइन । समृद्ध मानसिकताले अवसर आफैँ सिर्जना गर्छ । हामीसँग धेरै विकल्प छन्, गर्ने संकल्प र जाँगरको मात्रै खाँचो छ ।  

मेरो घर नजिकै दुइजना छिमेकी छन् । एकजना किसान अर्का चाहिँ सरकारी उच्च ओहदाका जागिरे । जागिरे साथी कृषिका ठूलै अफिसमा काम गर्छन् । फुर्सदमा उनी बारीमै हुन्छन् । भन्छन्– ‘अहिले म काठमाडौँमा बस्छु । काठमाडौँ आउनु अघि त म त्यै किसानको छोरो हुँ । घरमा काम गरिरहेकै थिएँ । जागिर खाँदैमा काम किन छोड्नु ? खालि जग्गा छ चार आना । तरकारी म आफैँ लगाउँछु । घरका सबै मान्छे बेलाबेलामा श्रमको आनन्द पनि लिन्छौँ । अनेक विषदि मिसिएको तरकारी पनि खानु परेन, पैसा पनि जोगियो । वर्षभरि खाने तरकारीको करिब ७० प्रतिशत तरकारी खानपुग्छ त्यही ४ आनाको तरकारी खेतीले । आफ्नो काम गर्दा सानो त हुँइँदैनरछ । म लेखपढ गर्न पनि भ्याएकै छु । काम छोड्नु पनि पर्दैन । तरकारी खान पनि पाइन्छ । पैसा पनि बचत हुन्छ । उत्पादनशील श्रमले आत्मसम्मानमा पनि बृद्धि गर्छ । निकै वर्षदेखि मैले यो काम गरिरहेको छु काठमाडौँमा ।’ 
अर्का एकजना छिमेकी दाइ छन् किसान । उनका छोरा छन् एम. ए. गरेका । हेर्दा हट्टाकट्टा, तन्दुरुस्त जवान ठिटो । बाबु सामान्य खेतीपाती गर्ने किसान हुन् । दिनभरि काम गर्छन् । काम गर्नु, उत्पादन गर्नु, उत्पादन शहरसम्म लगेर बेच्नु अनि आएको आम्दानीले घर धान्नु उनको दिनचर्या हो । छोरो एस.एल.सी.पास गरेदेखि खेतमा काम गर्न लाज हुन्छ भनेर काम गर्न जाँदैनन् । 
हिजो बिहान केही कुराकानी गर्नुपर्ने भएकाले म उनको घरमा छिरेँ । बुढा छिमेकी दाइ काम गर्ने मानिस खोज्न बाहिर गएका थिए । म उनको घरमा पुगेको केही समयपछि आइपुगे । मलाई देखेर मुसुक्क हाँसे । भने– ‘धीरजी ! आजकल मान्छे पाउनै गाह्रो भयो । काम गर्ने मान्छे लाएर अब केही उत्पादन गर्नुपर्यो भने त खेती नगरे पनि हुने भयो । दिनको रु. ४०० ज्याला माग्न थाले । त्यही पनि मान्छे पाउन गाह्रो । अफिसको समय हेरेर काम गर्ने अरे १० देखि ५ बजे सम्म ।’ उनले काम गर्ने मान्छे खोज्दाको कथाव्यथा सुनाए ।

छोरो नजिकै थियो । मैले बसिरहेको छोरोतिर लक्षित गरेर भनेँ– ‘धेरै खेताला चाहिने हो र दाइ ? १।२ जनाले भए त घरमै तीनतीनजना हुनुहुन्छ एकछिन गएर खेत खन्ने काम गरे त मान्छे नै खोज्नु पर्दैन होला नि !’
मेरो कुरा सुनेर छिमेकी दाइ अलि घोरिए । भने– ‘बाबुको कुरा त ठिकै हो । तर भनेर के गर्नु ! बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि भनेजस्तो भैरछ । पढेलेखेपछि काम गर्नै हुँदैन भन्छन् आजकलका केटाकेटीहरु । यो छोरो एस.एल.सी. नहुन्जेल त अलिअलि काम गथ्र्यो त्यसपछि त काम नगरेको कति भो कति । काम गर्दा लाज हुन्छ भन्छ । काम खोजदैछु भन्छ तर कैल्यौ काम चैँ पाको हैन । दिनभरि काम गर्नेले पैसा कमाको कमायै छन् खौज्नेहरु खोज्याखोज्यै छन् । खै अब त खेतबारी बाँझै छोड्नु पर्ला जस्तो छ ।’ बुढाले व्यथा पोखे म उनका सुनेर छक्क परेँ । शिक्षित हुनु भनेको त श्रम गर्नै नहुने नागरिक बनाउनु हो भन्ने पो बुझेछौँ हामीले । 

आज हाम्रो देशका युवा पुस्तामा घरेलु काम र श्रमप्रति विश्वास कम हुँदै गएको छ । पढेलेखेका मानिसहरु अनेक रोजगारी खौज्न बर्षौ शहर धाउँछन् तर घरमा गर्नुपर्ने उत्पादनशील सासाना काम गर्न चाहँदैनन् । विदेशमा गएर अरुका भाँडा माझ्न तयार छन् घरमा आफूले खाएको जुठो थाल पनि श्रीमती र आमाको जिम्मा लगाएर ठालु हुन्छन् । हामीकहाँ उत्पादनशील काम गरेर अलिकति मेहनत गर्नेहरुले राम्रै आर्जन गर्न थालेका छन् । शिक्षितहरु आफ्नो योग्यतामा आधारित काम गर्नेतिर नलागेर सरकारी र गैरसरकारी जागीरको खोजीमा वर्षै भौतान्छिन् । जागिर पनि पाउँदैनन् काम पनि गर्नतिर लाग्दैनन् । निरासा र हीनतामा पुग्छन्, कुलत र अनेक आपराधिक काममा तानिन्छन् । यसरी भौतारिँदै देशबाटै पलायन हुने र विदेशमा गएर भौतारिने खतरामा धकेलिइरहेका छन् । 

जोसुकै मानिस वा नातेदार भेट्यो कि आजकल मलाई मानिसहरु भन्ने गर्छन्– ए बाबु ! लौन मेरो छोरा÷छोरीलाई एउटा जागिर खोजिदे न ।’ यस्तो राजगारी खोज्नेहरुलाई मैले धेरैलाई सडकमा पुस्तकहरु बेच्ने काम, टनेलमा तरकारी फलाउने र बजारमा बेचेर पैसा कमाउने काम दिन्छु भन्ने गरेको छु । त्यसो भनेपछि अधिकांश मानिसहरु मसँग तर्केर कुरा गर्न छाडेका छन् । 
म कहिलेकहीँ गाउँमा जान्छु । धेरै नातेदारहरुका छोराछोरी पढेलेखेका छन् । शहरमा पढे, बढे । अहिले फुर्सतमा घरमा बसेका छन् । घरको बारी बाँझै छ । खेतबारी अरुलाई नै ठेक्कामा बाली लाउन दिएको छ । केही बारी र खेत बाँझै छ । थोरैतिनो बाँकी जग्गामा काम गर्न बुढा भएका बाबु खेतबारीमा काम गर्न खेताला खोज्दैछन् छोराछोरीहरु या त बजार डुल्न गएका छन् या त क्याराम बोर्डमा रमाइरहेका छन् । यस्तो अवस्था देखिँदैछ गाउँमा, शहरमा । हाम्रो देशको विशेषता र रोजगारीप्रतिको हाम्रो धारणबीच कहीँ तालमेल खुस्केको देखिँदैछ । केही कुरामा बेमेल छ । मानसिक हीनता र श्रमप्रतिको अस्पष्टताका कारण हामी रोजगारी दिनसक्ने अवस्थामा हुँदाहुँदै वेराजगारीको समस्याबाट पीडित भएका छौँ । 

आज दिनभरि म एकजना साथीको तमाटर खेती अवलोकन गर्नका लागि भक्तपुरको शिरुटार गएँ । राजविराजबाट प्रेस व्यवसाय छोडेर मधेस आन्दोलनका बेलामा काठमाडौँ छिरेका थिए उनी । राजविराज हुँदा प्रेस चलाएर जिवन धानिरहेका थिए । म उनको टमाटर खेती हेर्न शिरुटार, भक्तपुर पुगेँ । शिरुटारको मिलनचोकमा थियो उनको फार्म । ४ रोपनी जग्गा भाडामा लिएर उनले गत जेष्ठमा टमाटर खेती शुरु गरेका थिए । एकै बालीमा सम्पूर्ण खर्च उठ्यो, अझै टमाटर बेच्न बाँकी छ भन्दै थिए । मैले उनलाई सोधेँ– ‘प्रेस चलाएको अनुभव र टमाटर खेती कसरी तालमेल बनाउनु भो त सुरेश जी ?’

मेरो प्रश्न सुनेर उनी एकछिन घोरिए र भने– ‘धीर जी न गरिखानु न मरिजानुको घिटघिटे सानो प्रेस चलाउनुभन्दा त यसमा पो राम्रो आम्दानी रछ । म बिहानदेखि बेलुकासम्म यहीँ फार्ममै हुन्छु । बिरुवासँग खेल्छु आनन्द पनि, श्रम पनि, आम्दानी पनि । सुरुमा केही प्राविधिक ज्ञान लिनु पर्यो नत्र सामान्य रुपमा नै खेती चल्दैछ । लिने मान्छेहरु यहीँ आएर लैजान्छन् । काठमाडौँको बजार नजिकै छ । बेच्न गाह्रो छैन । प्रति किलोको ३० देखि ६० सम्म भाउमा टमाटर बिक्तोरछ । म त अझै १० रोपनी जग्गामा विस्तार गरेर व्यवसायिक बनाउने सुरसारमा छु । यही टमाटरले ५ जनाको परिवार काठमाडौँ बसिरहेको छ । छोरो इन्जिनियर पढ्दैछ । गर्नेलाई सबैतिर अवसर नै अवसर छ, नगर्ने हेर्याहेर्यै छ ।’ सुरेशजीको कुरा एउटा गतिलो झटारो हो जागीर खोज्ने माथि मैले उल्लेख गरेकाजस्ता शिक्षित युवाहरुका लागि । 

जागिर खोज्नेहरुका लागि शुरेसजीको यो कुरा एउटा अचुक विकल्प हुनसक्छ भन्ने मलाई लाग्यो । आजभोलि कामको सीप र लगनशीलता हुनेहरुका लागि कृषिमा अनन्त संभावनाहरु देखिँदैछन् । तरकारी, फलफूल, दूध, मासुजन्य पशुपंक्षीपालन व्यवसायिक हुँदै गएका छन् । बजार र प्रविधिको सामान्य अध्ययन गरेर यसतर्फ लाग्नेहरुले रोजगारी बृद्धि गर्ने र आम्दानी बढाउने विकल्पहरु दिन थालेका छन् । शहरीया जागीरको खोजीमा वर्षौं बिताउने तर गाउँमा बसेर श्रमलाई हेला गर्नेहरुलाई त उपाय केही छैन तर काम गर्न खोज्ने जाँगर र सीप भएकाहरुलाई भने विकल्पहरु तयार हुँदैछन् । संसारका सबै मानिसलाई खाद्यवस्तु खानै पर्छ । त्यो फलाउने ठाउँ जमिन नै हो । जमिनबाट उत्पादन लिनका लागि धेरथोर मेहनत त गर्नै पर्छ । गाउँका बारी र खेत बाँझो राखेर शहरमा सानोतिनो जागिर खोज्नेहरुलाई अब यस्ता विकल्प हेर्नतिर सजग गरनउन सकियो भने हाम्रो वेरोजगारी धेरै हदमा घटाउन सकिन्छ । सस्तोमा अरबमा र मलेसियामा श्रम बेच्न जानु पर्दैन । स्वाभिमानका साथ देश मै उद्यमको विकास गर्न सकिन्छ ।

आजकल गाउँगाउँमा र शहरमा सहकारीहरु खुलेका छन् । ससाना पूजी बटुलेर बैंक चलाए झैँ गरी सहकारीहरु रियलस्टेट र ठूला परियोजनातिर आकर्षित भएर महत्कांक्षातिर  तानिनाले समस्या भोग्दैछन् । ओरेन्टल, गुण जस्ता महत्वाकांक्षी सहकारीहरु फसेको हामीले भोगिरहेकै छौँ । मैले माथि भनेजस्ता सहकारी मार्फत् सानातिना काममा लाग्नेहरु दिनदिनै विकल्पहरु दिन तयार हुँदैछन् । म आफू हुर्केबढेको गाउँ सिन्धुलीको आम्बोटेका किसानहरु केही वर्षदेखि अदुवा खेती गरिरहेका छन् । २।४ हजारमा पनि बेच्न खोज्दा नबिकेका पाखाहरु अहिले लाखौँ रुपियाँको अदुवा उत्दानयोग्य भएका छन्  । खेतबारीको मूल्यभन्दा बढी त एकैबालीको अदुवाबाट उनीहरुले आम्दानी गरिरहेका छन् । यी कुराहरु हाम्रा शिक्षितहरुले र जागिर खोज्ने युवाहरुले बुझ्न सकेभने हाम्रो देश बन्न धेरै समय लाग्दैन । सहकारी मार्फत् यस्ता नयाँ टनेल खेती तर्फ, व्यवसायिक पशुपंक्षीपालनतर्फ लागौँ र लाग्न प्ररित गरौँ । देशका नागरिक उत्पादनशील भ एभने देश धनी हुन्छ, हामी पनि धनी हुन्छौँ । जागिर होइन काम खोजौँ ।    

No comments:

Post a Comment