Friday, February 27, 2015

यसरी बदले नेपोलियनले आफ्नो भाग्यरेखा



हाम्रो समाजमा धेरै मानिसहरु भाग्यमा विश्वास गर्छन् र यो भावीले लेखेर पठाएको हुन्छ भन्ने ठान्छन् । केही मानिसहरू जीवनको सफलता र असफलतालाई भाग्यसँग गाँसेर हेर्छन् । सफल मानिस देखेपछि हामी पनि भन्छौँ, “भाग्यमानी रहेछ यो मान्छे । यसको भाग्य चम्केको छ ।” यो भाग्यवादी सोचाइले हामीलाई नराम्ररी पछाडि पारिरहेको छ । सफल, समृद्ध र वाहवाही हुने मान्छे असफल, हीनताग्रस्त र दुःखी भएको छ । के काम कसरी गर्ने हो त्यो तरिका नसिकेर, नजानेर बर्बाद भएको छ ।
हामीकहाँ भाग्य बनाइदिने ठेक्का लिनेहरुको पनि कमी छैन । केही रकम र समय लिएर उनीहरुकहाँ पुगेपछि भाग्य बन्ने सजिलो उपाय बताइदिइहाल्छन् । तर उनीहरुको अवस्था हेर्यो भने ........ ? भाग्य बनाउनेहरु आफैँ अभागी भएर भौतारिइरहेका छन् । भाग्य बनाउने नाममा उनीहरुले मानिसलाई ग्रहशान्ति, जाप, पूजाआजा अनेकका तानाबानामा फसाइदिन्छन् र पैसा असुलेर आफ्नो गुजारा चलाउँछन् । मानिसहरु पनि भाग्य बन्ने लालसामा उनीहरुको खानेमेलो बनेको र आफ्नो क्षमता खिइँदै गएको पत्तो पाउँदैनन् । धाउँदाधाउँदा हतास हुन्छन्, समय बित्छ तर ज्योतिषीले भनेका अनेक कुरा गर्दा पनि भाग्य भने बन्दैन । जीवन जहाँकोतहीँ हुन्छ ।
कतिपय मानिसहरू प्रयत्न र लगनशीलताले सफल बन्न सक्ने क्षमता हुँदाहुँदै मिहिनेत नगरी भाग्यको पर्खाइमा बसेको देखिन्छ । के साँच्चै भाग्य भन्ने कुरा हुन्छ ? हुन्छ भने यो कसरी बन्छ ? आउनुहोस्, त्यसबारे अलिकति चर्चा गरौँ ।
प्रसिद्ध आध्यात्मिक गुरु ओशो सिद्धार्थको भनाइमा, “वर्तमानमा जो कर्म हामी गर्छाैँ, त्यही कर्म कालक्रममा भाग्यको रूपमा प्रकट हुन्छ ।” (ओशोधारा–प्रज्ञासूत्र नं. ३) भाग्यको आधार हो कर्म अर्थात् हामीले गर्ने कामहरू । हामी कसरी काम गर्छौँ, के के गर्छौँ, त्यहीअनुसार त्यसको परिणाम आउँछ । काम राम्ररी, ध्यान दिएर ग¥यो भने, सुझबुझ पु¥याएर ग¥यो भने, राम्रो परिणाम आउँछ भने उत्साहहीन, हीनभावनाले ग्रस्त, अर्काको कुभलो चिताएर, आफूले मात्र फाइदा पाऊँ भनेर गरिने कामले राम्रो परिणाम आउँदैन ।
हामीले गर्ने त्यस्ता कतिपय कामहरु तत्काल परिणाम दिइहाल्ने खालका हुन्छन् भने कतिपय चाहिँ परिवेशलाई बिस्तारै अनुकूलतामा बदलेर ढिलो परिणाम दिने खालका हुन्छन् । कुनै कामको परिणाम देखिन्छ, कुनैको परिणाम प्रत्यक्ष रूपमा देखिँदैन, तर आफूलाई र समाजलाई त्यसको अनुभव भने हुन्छ । त्यसरी प्रत्यक्ष रूपमा नदेखिने तर परिवेश र परिस्थितिलाई बिस्तारै प्रभाव पार्ने कामहरूबाट निस्कने परिणाम नै वास्तवमा कालान्तरमा भाग्यका रूपमा देखा पर्छ ।
रुख रोप्ने बृद्ध मानिस
चारैतिरबाट उजाड मरुभूमिले घेरिएको एउटा गाउँमा एक जना बृद्ध मानिस बस्थे । ती बृद्धलाई आफ्नो गाउँमा कसरी हरियालीले हराभरा बनाउने भन्ने चिन्ता लागेछ । निकै दिन सोचविचार गरेर सडकको छेउमा बिरुवा रोप्ने विचार गरेछन् । साथ र सहयोग गर्ने कोही भेटेनछन् तैपनि काम सुरु गरेछन् । बृद्ध मानिस एकोहोरो सुरमा असिनपसिन भएर सडकको किनारामा आँपका रुख रोप्दै थिए, एउटा युवकले देखेछ । बुढाको काम अलि अटपटाजस्तो लागेछ त्यो युवकलाई र नजिकै गएर सोधेछ— “तपाईँ यो उमेरमा आएर आँपको विरुवा रोप्दै हुनुहुन्छ, तपाईँको जीवनकालमा त यो फल्दैन, तपाईँले खान पनि पाउनुहुन्न होला, किन दुःख गर्नुभएको यो बुढेसकालमा ?”
बुढाले युवकतिर फर्केर जवाफ दिएछन्— “अहिले जुन आँपको रुखबाट तिमीले फल टिपेर खाइरहेका छौ, त्यो रोप्ने मानिस सायद यो संसारमा छैन होला । उसले मैले लगाएको रुखको फल मैले नै खानु पर्छ भनेको भए आज तिमीले आँप खान पाउने थिएनौ बाबु ! मैले खान नपाए पनि मेरा छोराछोरी, तिमी र तिमीजस्ता अरु युवाले त खान पाउलान् नि ! आऊ बरु सँगै केही विरुवा रोपौँ । मलाई सघाऊ ।”
बुढाको कुरा सुनेर युवक छक्क प¥यो । बुढाको कुराले चित्त पनि बुझ्यो । रुख रोप्न उसले पनि सहयोग गर्न थाल्यो । निकै धेरै रुख रोपे ती युवा र बृद्ध मिलेर ।
विरुवा हुर्कँदै गए । हरियाली बढ्यो । घाँसपात पलाउन थाले । पानीको मूल फुट्यो । शीतलता बढ्यो । यस्तो परिणाम देखिएपछि मानिसले बिस्तारै वृक्षरोपणको महत्व बुझ्न थाले । कसले यो काम गरेको रहेछ भनेर खोज्न थाले । रुख रोप्नेप्रति सम्मानभाव देखाउन थाले ।
रुख रोपेर हरियाली बढाएकोमा गाउँलेहरु सबै मिलेर बुढालाई पुरस्कृत गरे । प्रत्यक्ष रूपमा कसैले प्रशंसा नगरे पनि मनमनै उसको  भलो चिताउन थाले । त्यसपछि बुढाले गर्ने हरेक काममा, गाउँलेहरुले पत्यार गरेर सहयोग गर्न थाले । साथ र सहयोग पाएपछि असल र उपयोगी काममा बुढा एकपछि अर्को गर्दै सफल हुँदै गए । हिजोसम्म बुढाले व्यहोरिरहेका दुःख र प्रतिकूलता पनि अनुकूलतामा बदलिन थाले ।
त्यसपछि मानिसहरु भन्न थाले– “बुढा भाग्यमानी रहेछन्, गाउँलेबाट यत्रो सम्मान र वाहवाही पाएका छन्, भाग्यमानीहरुले मात्रै यस्तो सफलता र सम्मान पाउँछन् ।”
बुढाको कर्मले नै उनलाई यस्तो अवस्थामा पुर्याएको हो । कर्म राम्रो नगरेका भए गाउँलेले न बुढालाई पुरस्कृत गर्थे न साथ र सहयोग नै । लगातार असल काम गर्दै गएपछि त्यसका अनुकूल परिणामहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा देखिन थाल्छ । गरेको काममा सफलता मिल्न थाल्छ । त्यसभन्दा अघि उसले गरेका दुःख र कष्टको फल पनि अप्रत्यक्ष रूपमा अर्को कामबाट सहज रुपमा मिल्न जान्छ । वरपर, इष्टमित्र सबैमा असल कामको कारणले सकारात्मक भावनाको विकास हुन्छ । चारैतिर राम्रो कुरा सुनिन थालेपछि चाहेको काम गर्न सक्ने सामथ्र्य पनि बढ्छ । त्यसैलाई समाजले भाग्यका रुपमा लिन्छ । आफ्नो चाहिँ भाग्य चम्कन्छ ।
वास्तवमा कर्म र परिस्थितिको सामूहिक स्वरूप नै भाग्य हो । भाग्यको निर्धारक हाम्रो आफ्नै कर्म हो । कर्म सही, उपयोगी र सद्भावपूर्ण भयो भने त्यसले परिवेश र समाजमा सकारात्मक सन्देश दिन्छ, गर्नेका लागि त्यही भाग्य बन्छ । गलत कर्म, गलत मनशायका साथ गरियो भने त्यसले सही परिणमम ल्याउन सक्तैन र सकारात्मक परिवेश पनि बनाउन सहयोग गर्दैन । त्यसले व्यक्तिको जीवनमा सौभाग्य होइन दुर्भाग्य पैदा गर्छ । माथिको प्रज्ञासूत्रमा ओशो सिद्धार्थ अगाडि भन्न्ुहुन्छ– “हामी जुनजुन कर्म गर्दछौँ फल पछिपछि आउँछ, हामीले गर्ने पुरुषार्थ नै कालक्रममा पाकेर अटल प्रारब्ध बन्न जान्छन् । समयक्रममा हामी आफूले गरेको कर्म भुल्दछौँ, आफ्नै हस्तक्षर बिर्सन्छौँ अनि विधाताको खेल भन्दछौँ । त्यसैले आफ्नो हस्ताक्षर सम्झ र कथा बनाएर विधातालाई दोष नदेऊ । तिम्रो भाग्य तिमी आफैँले लेखेका तर कालक्रममा धमिलिएका अक्षरहरु हुन् ।” त्यसैले भाग्य भन्ने कुरा कर्मको अर्को रूप मात्रै हो, कर्मलाई अलग गरेर कोही पनि भाग्यमानी हुन सक्तैन ।
प्रसिद्ध लेखक तथा ‘ह्यापी साइन्स’ का संस्थापक ¥युहो ओकावा भन्छन्, “अरूलाई पनि फाइदा र आफूलाई पनि फाइदा हुने गरी तपाईँले जे उद्देश्य बनाउनुहुन्छ, त्यसलाई ईश्वरले पनि सहयोग गर्न कर लाग्छ ।”
वास्तवमा मानिसको भाग्य यही भावनाले निर्धारण गर्छ । असल नियत राखेर गरिएका कामहरूले भाग्य चम्काउँछन्, खराब नियत र दुर्भावना राखेर गरेको कामले दुर्भाग्य निम्त्याउँछन् । त्यसैले महाभारतमा श्रीकृष्णले कर्ममा जोड दिए । ‘कर्ममा अधिकार छ त्यो राम्ररी गर, फलमा तिम्रो अधिकार छैन, त्यसको परिणामलाई प्रसादका रुपमा ग्रहण गर’ भन्ने उनको भनाइको अर्थ थियो । त्यसलाई गलत व्याख्या गरियो र ‘कर्म गर, फलको आशा नगर’ भनेर व्याख्या गरियो । वास्तवमा मानिसले सही कर्म ग¥यो भने त्यसको परिणाम पनि सही आउन करै लाग्छ । त्यसलाई ग्रहण गर्दा प्रसादस्वरुप ग्रहण गरियो भने त्यसबाट सिक्न सकिन्छ । तनाव पनि बढ्दैन ।
भाग्यरेखा बदलेर सम्राट बनेका नेपोलियन
फ्रान्सका प्रसिद्ध सम्राट नेपोलियन जतिबेला सैनिक सेवामा काम गरिरहेका थिए, एक जना ज्योतिषीकहाँ हात देखाउन पुगेछन् । ज्योतिषीकहाँ गएर उनले सोधेछन्– “ज्योतिषीजी म यो देशको सम्राट बन्न चाहन्छु, मेरो भाग्यमा सम्राट बन्ने कुरा लेखेको छ कि छैन हेरिदिनुस् ।”
नेपोलियनको कुरा सुनेर ज्योतिषीले उनको हस्तरेखा नियालेर हेरेछन् र जवाफमा भनेछन्– “तिम्रो हस्तरेखाले त फ्रान्सको सम्राट बन्ने देखिँदैन ।”
ज्योतिषीको कुरा सुनेपछि नेपोलियनले फेरि ज्योतिषीलाई सोधेछन्– “सम्राट बन्न कस्तो रेखा आवश्यक छ ज्योतिषीजी ?”
ज्योतिषीले सम्राट बन्नेहरुको हस्तरेखाको प्रकृति बताइदिएछन् । नेपोलियनको साथमा धारिलो तरवार छँदैथियो । उनले तरवार निकालेर ज्योतिषीले भनेजस्तै गरी आफ्नो हात चिरेछन् र ज्योतिषीलाई भनेछन्– “तपाईँले भनेजस्तो हस्तरेखा कोर्ने काम मेरो हो । तपाईँलाई जस्तो रेखा चाहिन्छ त्यस्तो रेखा म आफैँ कोर्न सक्छु । के तपार्इं त्यो रेखा हेरेर मलाई सम्राट बनाउन सक्नुहुन्छ ?”
ज्योतिषी अक्कनबक्क परेछन् । नेपोलियन भने त्यस दिनदेखि सम्राट बन्ने धुनमा लागेछन् । सामान्य सैनिकका रुपमा फ्रान्सेली सेनामा प्रवेश गरेका नेपोलियन फ्रान्सेली क्रान्तिपछि प्रसिद्ध सम्राट नै बने ।
निरन्तरको सकारात्मक कर्म, आत्मविश्वासले भरिएको मन र मस्तिष्क अनि आफू मात्र नभई आफूवरपरको समाज, परिवेशलाई सहयोग पुर्याउने सकारात्मक भावनाका साथ कर्ममा लागिरहने मानिसलाई नै परिवार, समाज र देशले सहयोग गर्छ । जसले आफ्ना कर्मका आधारमा सबैलाई प्रभावित पार्न सक्छ त्यसैले आफूले चाहेको काममा सफलता प्राप्त गर्न सक्छ । भाग्य त्यही सकारात्मक र नकारात्मक कर्मका कारणले सिर्जना हुने परिवेश र परिणामको संयुक्त रुप भएकाले कर्म नै सफलताको मुख्य पक्ष हो । भाग्यको आधार पनि त्यही हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– “मैले कहिल्यै म के बन्छु भन्ने बारेमा सोचिनँ, बरु म के गर्न सक्छु भन्ने बारेमा मात्र सोचेँ, किनभने कोही मानिस म के बन्छु भनेर होइन म के गर्न सक्छु भन्ने सोचेर नै महान बन्न सकेका रहेछन् ।”