Wednesday, October 16, 2013

राष्ट्रिय सम्म्पत्ती भन्न लायक सफाइटार सिँचाइ योजना



२०५९ सालमा राजा ज्ञानेन्द्रले शासनसता आफ्नो हातमा लिएपछि एक जना साथी ललित बहादुर थापा पूर्वाञ्चल क्षेत्रको क्षेत्रीय प्रशासक भएर धनकुटा गए । सँगै बसउठ गरेर अन्तरङ्ग चिनजान भएकाले धनकुटाका कार्यालयहरुमा भएका अध्ययन तथा तालीमसँग सम्बद्ध कार्यक्रमहरु केही भएदेखि सम्झनु होला भनेर मैले उनीसंँग सम्बन्ध बनाइरहेँ । उनी गएको १ वर्ष जति पछि २०६० सालको शुरुआतमा– “एउटा अध्ययन कार्यक्रम छ धीरजी तपाई संस्थाका सम्बद्ध कागजात लिएर आउनु पर्यो” भनेर मलाई थापाजीले भन्नु भयो ।

न्यू होराइजनका आवश्यक कागजात सहित म धनकुटा पूगेँ । त्यहाँ गएर बुझ्दा राष्ट्रिय योजना आयोगको क्षेत्रीय कार्यालयले सम्पन्न कुनै २ विकास आयोजनाको अध्ययन गर्ने कार्यक्रम त्यस वर्षको वार्षिक कार्यक्रममा राखेको रहेछ । त्यसका लागि १ लाख रकम बजेट छुट्याइएको रहेछ । न के विषयमा अध्ययन गर्ने भन्ने उल्लेख थियो न त्यसको कुनै ढाँचा वा क्षेत्रगत शर्तहरु (त्इच्) नै थियो । विना कुनै आन्तरिक गृहकार्य त्यो बजेट छुट्याइएको देखेर म आफै“लाई एक किसिमले देशको प्रशासन यन्त्रको काम गर्ने शैलीप्रति दया जागेर आयो । किन यो कार्यक्रम राखिएको हो ? कुन आयोजनाको अध्ययन गर्ने हो ? यसको जवाफ कसैसँग थिएन ।

एकजना जिम्मेवार अधिकृतसँग बसेर अलि नौलो खालको सम्पन्न भइसकेको योजनाबारे विचार विमर्श गरँे । उनले कृषि वा सिंचाइसँग सम्बद्ध योजनाको अध्ययन गर्ने विचार रहेको बताए । कृषि सम्बन्धी योजनाहरुको अध्ययन त मैले गरेको थिएँ तर सिंचाइ मेरा लागि नयाँ र चासोको पनि विषय थियो । त्यसै कारण मैले सिंचाइको अध्ययन गर्ने विचार बनाएँ । सिंचाइ कार्यालयका प्रमुखसँग बसेर सम्पन्न आयोजनाबारे बुझ्ने काम भयो । उनले धनकुटाको छिन्ताङ गा.वि.स.स्थित सफाइटारको सिंचाइ आयोजना र सुनसरीको सुकुमारी खोला सिँचाइ आयोजना अध्ययन गर्न सकिएमा त्यसबाट केही सिक्न सकिने कुरा प्राप्त हुने कुरा गरे“ । मैले पनि त्यस सम्बन्धी अध्ययन गर्न मन्जुर गरेँ ।

दुवै आयोजनाहरु साना आयोजना थिए । प्रमुखको भनाइ अनुसार ती दुवै आयोजना समुदायको चासो जोडिएका र निकै लामो समयसम्म समुदायले स्वयं केही प्रयत्न गरेर पछि सरकारी सहयोगबाट आधुनिक रुप दिएका योजनाहरु थिए । त्यसो भएकाले मलाई पनि केही सिक्ने जिज्ञाशा जाग्यो । तिनै २ वटा आयोजनाको अध्ययनका लागि प्रस्ताव तयार गरेँ । कार्यालयले केही रकम निकासा दियो । ठाँउ देखाउन सिंचाइ कार्यालयले एकजना सहयोगी खटाइदियो । म उनको पछि लागेर छिन्ताङको सफाइटारतर्फ प्रस्थान गरेँ ।
त्यतिबेला माओवादी विद्रोह निकै नै चर्किरहेको अवस्था थियो । केही दिनअघि मात्र धनकुटाको प्रहरी कार्यालय, जिल्ला प्रशासन, वन लगायतका कार्यालयहरुमा आक्रमण भएको थियो । त्यहाँका कार्यालय भवनहरु क्षतिग्रस्त नै थिए । एकातिर सेना अर्कोतिर विद्रोही दुवै पक्षको डर, धाक र धम्कीको चेपुवामा थिए स्थानीय बासिन्दाहरु पनि ।

धनकुटाबाट मूलघाट हुँदै करिव ४ घंटाको पैदल यात्रापछि सुकुमारी बाँध पुगिँदो रहेछ । अरुण नदीको किनारै किनार हिंडनुपर्ने भएकाले त्यतिबेलाको अवस्था हेर्दा एक किसिमले डरलाग्दो नै यात्रा थियो त्यो । बीच बाटोमा केही माओवादी लडाकूहरु भेटिए भने खुलस्त कुराकानी गर्नुहोला । यथार्थ बताएपछि केही गर्दैनन् । सेना भेटियो भने परिचय पत्र देखाउनु होला भनेर साथीहरुले धनकुटामा मलाई अथ्र्याई सकेका थिए । तर सफाइटार जाँदा बाटामा कोही भेटिएनन् ।

सिँचाइ कार्यालय धनकुटाका एकजना राई थरका पियन भाइ मेरा साथी थिए । बडो मिजासिला र गफ गर्न सिपालु थिए उनी । बाटोमा मलाई भने – “सरलाई केही सोधे भने सत्य कुरा बताउनु होला है सर । अरु त म छँदैछु । धेरैलाई म चिन्छु पनि । केही लागेनछ भने एक रात राख्ने त हुन् नि ! डराउनु पर्दैन ।”
कुराकानी गर्दै हामी समयमै सफाइटार पुग्यौ“ । सिँचाइ उपभोक्ता समितिका अध्यक्षको घरमा नै बस्ने व्यवस्था भयो । अध्ययनको लागि सरकारी कार्यालयबाट मानिस आएका छन् भनेपछि सबै उपभोक्ताहरु बिहान सबेरै जम्मा भए । सबैसँग कुराकानी गरियो । आयोजना सम्बन्धी जानकारी लिने र निरीक्षण गर्ने काम भयो ।

अध्ययनको सिलसिलामा स्थलगत भ्रमण गर्दाको त्यो आयोजनाको अनुभव अहिले पनि मेरो मनमा ताजै छ । दूरदृष्टि र सपना देख्ने क्षमता मानिस र ठाउँको विकासका लागि कति आवश्यक हुँदोरहेछ भन्ने त्यहाँ गएपछि मलाई अनुभव भयो । त्यो आयोजना कार्यान्वयनमा पुर्याउन २ पुस्ता बिताउनु परेको तीतो इतिहास गाउँलेहरुले मलाई सुनाए । २०१७ सालभन्दा अघि देखि देखिएको त्यो सिचाइ आयोजनाको सपना २०५७÷०५८ सालमा आएर बल्ल पूरा भएको रहेछ ।

अरुण खोलाको उतरपट्टी सफाइटार, बीचमा अरुण नदीको गल्छी अनि पारिपट्टी खोलाको अविरल बगिरहने छाँगो । हरेकको घरबाट देखिने त्यो पारीपट्टीको पानी अरुण तारेर यस टारमा ल्याउन सके त टार हराभरा हुने थियो भन्ने एक जना बूढा मानिसलाई लागेछ । सूर्यबहादुर थापा प्रथम पटक प्रधानमन्त्री भएपछि उनीहरुले त्यो सपना सूर्य बहादुर थापालाई सुनाएछन् । तर सूर्यबहादुरले पारीको पानी वारी ल्याउनुभन्दा बरु अरुणको पानी तान्नु सजिलो हुन्छ भन्ने राय दिएछन् । आश्वासन पनि पाएछन् गाउँलेहरुले । तर राजनीतिक पहुँच र दवावको अभावमा सपना सपना नै रह्यो । त्यस सपनालाई बूढा मानिस मरेपनि अरु गाउँलेले पछ्याई नै रहे । लगातार प्रयत्न गरिरहे ।

२०५६ सालको निर्वाचनताका भोट माग्न पुगेका राष्ट्रियस्तर र स्थानीयस्तर दुवै तहका नेताहरुलाई उनीहरुले भोट र विकासको सौदाबाजीकै रुपमा शर्त राखेछन् । संयोगले त्यतिबेला साना पुल र साना सिंचाइको कार्यक्रम जिल्लामा रहेछ । श्रमदान गाउँलेले गर्नुपर्ने, अनुगमन जनताले गर्नुपर्ने, सामानहरु चाहिँ आयोजनाले दिने गरी १२० मिटरको झोलुङ्गे पुल स्थानीय पुल कार्यक्रमले दिने भएछ । उक्त पुल हालेर त्यसमाथि पाइप राखेर पानी ल्याउन सकिने कुरा सिँचाइका प्राविधिकहरुले गरेछन् । पानी ल्याउन सकेमा ७० हेक्टरको त्यो टार हराभरा बनाउन सकिने पक्का भएपछि सिंचाइको बाँध बाध्नका लागि आवश्यक सरसामान साना सिँचाइ आयोजनाले दिने भएछ ।

सामान त दिने भयो तर पारीपट्टिको पानी गहिरो गल्छी तारेर ल्याउँदाको पानीको प्रेसर धान्न सक्ने पाइप गाउँलेहरु र सिँचाइ आयोजना दुवैका लागि अर्को समस्या थियो । पाइप कलकत्ताबाट मगाइएपछि बल्ल काम सम्पन्न भएको रहेछ । झोलुङ्गेपुल हल्लिँदा पाइप नफुटोस् भन्नकालागि बीचबीचमा अति लचकदार पाइप लगाइएको थियो ।

पानीको पालो, कुतको असूली, सामान्य मर्मतसंभार, बाँधको हेरचाहमा गाउँलेहरुले एउटा स्पष्ट नीति नियम बनाएका थिए । उनीहरुका अनुसार त्यो आयोजना निर्माण भएपछि सबैजसो टारबासी खानपुग्ने हैसियतको आर्थिक अवस्थामा छन् । त्यति मात्र होइन टारवासी मध्येकै ४ घर खान नपुग्ने अति गरिब भएकाले उपभोक्ता कोषवाटै आर्थिक सहयोग दिएर आय आर्जनका लागि सहयोग समेत गरेका थिए । उनीहरु भन्छन्– “खान पुग्ने र नपुग्नेको खाडल समाजमा नबढोस् भनेर हामीले यो व्यवस्था गरेका हौ“ । हामी उनीहरुलाई पनि माथि उठाउन चाहन्छौ“ ।”

कुनै आइ.एन.जि.ओ. को अनुभव र दर्शनलाई उनीहरुको दान रकमसँगै बोकेर हामी प्रचारबाजी र प्रसंशा गर्छौ तर हाम्रौ गाउँघरमा हाम्रै गाउँलेहरुले स्थानीय आवश्यकताका आधारमा प्रयोग र परीक्षण गरेका अनेकौ“ नौला प्रविधिहरु हाम्रै वरिपरि छरपष्ट देख्दा पनि हाम्रो दृष्टिमा ती दुइकौडीका जस्ता लाग्छन् । हेर्ने दृष्टि र संवेदनशीलता भए सफाइटारका ती गाउँलेको सपनाबाट जन्मेको सिँचाइ आयोजना संसरभर त्यस्तो भौगोलिक अवस्था भएका ठाउँका लागि नमूना आयोजनाको रुपमा स्थापित हुनसक्छ । गाउँलेहरुले आफ्नै दृष्टिबाट गरिबीबाट समुदायलाई माथि उठाउनका लागि गरिएको प्रयत्न र काम पनि नमूना बन्न सक्छ तर त्यसमा हामीले होस्टेमा हैंसे गर्ने र प्रचार गर्ने काम चाहिँ गरिदिनै पर्छ । प्रविधिको प्रसार आविष्कार गर्नेले होइन त्यसलाई प्रयोग गर्ने र चिन्नेले नै गरिदिनु पर्छ । त्यस अर्थमा सफाइटार सिँचाइ योजना नेपालको राष्ट्रिय सम्पत्ती बन्नुपर्ने योजना हो भन्ने मलाइ अहिले पनि लागिरहेको छ ।

Sunday, October 13, 2013

दशैं र तिहारको आध्यात्मिक पक्ष




बुझेर हो वा नबुझेर हिजोआज दशैंलाई विजया दशमी र तिहारलाई दीपावली भन्ने गरेको देखिन्छ, सुनिन्छ ।

विजया दशमी भन्नु र दशैं भन्नु अनि दीपावली भन्नु र तिहार भन्नुमा आकाश र जमिन जत्तिकै फरक छ ।

विजया दशमी र दीपावली दुवै दिनहरु हुन् । यी तिथी हुन् । तर यी दुवै दिन आध्यात्मिक साधनाको परिपाटीमा खास महत्व राख्दछन् । नेपाली समाजमा सामान्य रुपमा हेर्दा यी दुवै तिथीहरु चाडका रुपमा मात्रै प्रसिद्ध छन् । साधना पक्ष गौण छ । अध्यात्मको साधना नगर्नेहरुका लागि यी दिनहरु केवल एक परम्परा हुन् । नेपाली समाजले यिनलाई परम्पराका रुपमा ग्रहण गर्ने भन्दा पनि पर्वका रुपमा यसलाई मान्ने  गरेको देखिन्छ ।

नवरात्रमा सबैतिर मानिसहरु देवीको आराधनामा लाग्दछन् । आराधनाले ब्रम्हाण्डीय उर्जालाई सकारात्मक रुपमा थप घनिभूत बनाउन मद्दत गर्दछ । त्यसैले यो समय अध्यात्मका विविध साधनाका लागि महत्वपूर्ण मानिन्छ । आध्यात्मिक क्षेत्रमा यो शक्तिशाली उर्जालाई आफ्नो साधनाका माध्यमबाट सिद्ध गर्न चाहने साधकहरुलाई गुरुले विशेष विधिद्वारा साधकका घटमा (हृदयमा) सकारात्मक चेतनाको बीज स्थापना गरिदिन्छन् । घटमा बीज स्थापना गरिने हुनाले यसलाई घटस्थापना भनियो । यो स्थापित घटलाई साधकले नौ दिनसम्म अहोरात्र साधना लागेर आफ्नो सकारात्मक शक्ति परिपाक गर्दछ । अनेक नकारात्मक उर्जा दिने रिपुहरुलाई मर्दन गर्दछ । त्यसैले यो समयलाई रिपुमर्दिनी साधनाको विशेष अवसर पनि मानिन्छ । त्यसपछि आफूभित्र रहेका नकारात्मक चित्तवृत्तिको क्रमिक निरोध गर्दै जान्छन् । पूर्वीय साधना परिपाटीमा यो साधनाको परिपाटी यद्यपि छिटफुट रुपमा कायम रहेको देखिन्छ ।

यसरी गुरुबाट स्थापित घटलाई दश दिनसम्म साधना गरेर त्यसलाई परिपाक गरेपछि साधकले जब दशौ“ दिनमा सकारात्मक शक्ति आर्जन गरी रिपुभावमाथि विजय हासिल गर्दछ तब विजय हासिल गरेको खुशीयालीमा दशौँ दिनमा प्रसाद र टीकाका साथ उत्सव मनाउने आध्यात्मिक परम्परा रहेको देखिन्छ । तर पछि आएर तन्त्रको साधना गर्ने साधकहरुले नकारात्मक उर्जाको साधनामा नवरात्रको प्रयोग गर्न थाले । शिवतन्त्रको साधना पक्ष गौण हुनथाल्यो । अघोरतन्त्रको विकृत साधनाको परिपाटी विकसित भयो । काटमार गरेर पशुहरुको वली दिन थालियो । धामीझाँक्री र बोक्सीहरुको साधना समयका रुपमा यसलाई अत्यन्त विकृत रुपमा ग्रहण गर्न थालियो । आफ्ना चित्तवृत्तिभित्र रहेका नकारात्मक तत्वहरु– काम, क्रोध, लोभ, मोह, इष्र्या, मद, मात्सर्य र अहंकार जस्ता नकारात्मक चित्तवृत्तिहरु नाश गर्ने आध्यात्मिकताको साधनाको परिपाटी गौण हुँदै गयो । यस्तो विशुद्ध आध्यात्मिक परिपाटीमा आधारित नवरात्रको साधना परम्परामा त्यसपछि खिया लाग्दै गयो । भोजभतेर गर्ने र मन्दिरमा गएर पुजाआजा गर्ने कुरामा सीमित हुँदै गयो । सारतत्व विलिन भयो वाह्य पक्ष मात्र बाँकी रह्यो ।

नेपालीहरुले दशैंलाई न साधनाको रुपमा मानेको देखिन्छ न विजयोत्सवका रुपमा । नेपालीहरुका लागि यो अवसर खासगरी एउटा रमाइलो चाड हो । वर्षको दुईपटक दश दिनको दशैं मनाउने र त्यसलाई भेटघाट र सद्भाव साटासाट गर्ने पर्वका रुपमा मनाउने चलन रहेको थियो । चैत्र शुक्ल र आश्विन शुक्ल प्रतिपदा देखि दशमीसम्म मनाइने यो पर्व पछि आएर आश्विनमा मात्र मनाउन थालियो । रामले रावणमाथि विजय गरेको मिथकसँग जोडियो । मिथ्कको सही अर्थ खोजिएन । राम भाव र रावण भाव मानिसभित्रै छन् तिनको उजागर र विनाशको कुरा बुझाउन त्यो मिथकको प्रयोग गरिएको हो भन्ने बुझ्ने प्रयत्न भएन । पण्डितहरुले पनि यसको गहिरो आध्यात्मिक व्याख्याा दिन सकेनन् । राम हामीभित्रको सकारात्मक आत्मिक तत्व हो रावण हामीभित्रको अहंकार, उन्माद र नकारात्मक प्रवृति र भाव हो ।

यो पर्वलाई नेपालीहरुले बडादशैं नाम दिए । संसारमा नै संभवतः यति लामो पर्व मनाउने गरेको कमै देखिन्छ । यो पर्व विशुद्ध रुपमा चाडको रुपमा मनाउने चलन थियो । ठूलाबडाहरुबाट आशिर्वाद लिने र सानाहरुलाई माया र प्रेम दर्शाउने यो पर्वलाई हाल आएर अनेक मिथकहरुसँग जोड्ने गरेको देखिन्छ । नेपालीहरुको दशैं ती मिथकहरुसँग पटक्कै सरोकार राख्दैन । यो विशुद्ध रुपमा चाड मात्रै हो । न यसमा कुनै जाति विशेषलाई होच्याउने उद्देश्य थियो न कसैले गर्व गर्नुपर्ने गरी विजयोन्माद थियो । त्यसैले नेपालीका लागि यो पर्व विजयादशमी होइन दशैं हो । दशैं पर्वभित्र पर्ने विजयादशमी एउटा विशेष दिन मात्रै हो । त्यसैले विजयादशमीभन्दा दशैं बृहत् छ ।

भारतका विभिन्न ठाउँमा दशैंको वेलामा दुर्गा पुजाका रुपमा नौ दिन दुर्गा पूजा गर्ने परिपाटी रहेको देखिन्छ । विशेष गरी यो नौ दिनमा बंगालीहरुले दुर्गाको पुजा र आराधना गर्दछन् र उनीहरु यसलाई दशहरा भन्दछन् । कतिपय ठाउँमा चैते दशैंको अवसरलाई रावण उत्सवका रुपमा पनि मनाउने गरेको पाइन्छ ।

यस्तो गरिमामय साँस्कृतिक र आध्यात्मिक परिपाटीलाई हाल आएर यसलाई विकृत गरी विजया दशमी भनेको देख्ता मलाई अचम्म लाग्छ । हामी नेपालीहरु कस्तो लहैलहैमा वहकिएका ? तथ्यको अत्तोपत्तो छैन । विजय यात्रामै नलागेका व्यक्तिलाई यो दशमी तिथी कसरी विजयादशमी भयो ? विजय मनाउन त युद्धमा होमिनु पर्ने थियो । नकारात्मताको विरुद्धमा सकारात्मकताले विजय गरेको वा गर्ने उद्देश्य राखेर साधनारत भएको भए त्यसको शुभेच्छा साटासाट गर्ने र शुभकामना दिने परिपाटी स्वाभाविक थियो । तर त्यसो त कतै गरिएको पाइँदैन । निर्दोष र अबोध पशुहरुलाई वली दिएर आत्मतुष्टी गर्ने अनि पशुहत्या गरेर उनीहरुको शरीर भक्षण गर्नेहरुले के अरुलाई शुभकामना र शुभेच्छा दिनु ?

साँस्कृतिक रुपमा यदि शुभेच्छा आदानप्रदान गरेको हो भने त्यो ल्याकत आफूले आर्जन गरेको हुनुपर्छ वा आर्जन गर्ने प्रयत्नरत व्यक्ति हुनुपर्छ अनि बल्ल यसको उपलक्ष्यमा शुभकामना दिन सुहाउँछ । परम्पराको महत्व र सार नै नबुझीकन हामी त्यसै रुमल्लिरहेका त छौनौ ? यसतर्फ कसैले सोचेको पाइएन ।

तिहारको कुरा 

नेपाली समाज दीपावली होइन तिहार मनाउने समाज हो । भारतमा लक्ष्मीपूजाको दीन एक दिनलाई दीपावली भनेर मनाउने चलन छ । यमराज र यमुनाका कथासँग यसलाई गाँसेर हेर्ने पनि गरिएको छ । तर नेपालीहरुको चाड तिहार योभन्दा भिन्न छ । दीपावली मनाउनुहो अर्थ पनि आध्यात्मिक दृष्टिले अलि फरक छ । यो पर्व कोजाग्रत पूर्णिमाको ठीक पन्ध्र दिनपछि पर्दछ ।

नवरात्रको घटस्थापनादेखि कोजाग्रत पूर्णीमासम्म साधनामा लागेको आध्यात्मिक साधकले कुनै जागृतिको चेतना परिपाक गरेको अवस्थामा को जाग्यो त ! भनेर गुरुले कोजाग्रत पूर्णिमामा जागृत भएको घोषण गर्ने गर्दथे । कुनै साथी जाग्रत अवस्थामा पुगेको खुशीयाली राति अवेरसम्म मनाउने गरिन्थ्यो । त्यस परिपाटीका आधारमा दशैंको अन्त्य कोजाग्रत पूर्णिमामा गएर हुने गर्दथ्यो । त्यसरी जागृतिको घोषणा भएको साधकको साधना निरन्तर लागि रहन्थ्यो ।

सकारात्मक उर्जाले परिपाक भएको साधक विस्तारै सकारात्मक र नकारात्मकताभन्दा माथि उठेर कृतज्ञता भावतिर बढ्दथ्यो । जब ऊभित्र कृतज्ञता र अहोभावको आधिक्य हुनथाल्थ्यो अनि त्यो निरन्तरता अरु पन्ध्र दिन कायम रहेमा पन्ध्रैँ दिनमा पर्ने औसीको रात्री दीप प्रज्वलन गरी खुशीयाली मनाउने र उसलाई जागृतिको सम्पदाले सम्पन्न गरेको घोषणा हुने गर्दथ्यो । लक्ष्मी पैसाकी देवी मात्र नभई सम्पन्नता र वैभवकी देवी पनि मानिछिन् । सम्पन्नता र सम्पत्ती फरक कुरा हुन् । सम्पन्नता आन्तरिक आध्यात्मिक पक्ष हो भने सम्पत्ती सम्पन्नताले आर्जन गर्ने भौतिक पक्ष हो । यसलाई गहिराईमा बुझ्ने सकेको देखिँदैन । लक्ष्मी वैभव र सम्पन्नतासँग सम्बन्धित देवी हुन् ।

अहिले आएर त्यो पनि विकृत भएर धनको प्रप्तिको आकांक्षावश गरिने आराधनामा सीमित भएको छ । आन्तरिक समृद्धिसँग यसको कुनै साइनो नै छैन । यो टुटिसकेको छ । आकांक्षा राखेर गरिने पूजाआजा र तडकभडकमा त्यो सीमित भएको छ । कहाँ आध्यात्मिक रुपमा आन्तरिक समृद्धिको गरिमामय उत्सवका रुपमा मनाइने दीपावली कहाँ धनको अपेछा गरेर गरेर गरिने पूजाआजा । कुनै छेउटुप्पो फेला पर्दैन यसमा पनि ।

अब कुरा आउँछ हामी दीपावली मनाउने समाजमा छौँ वा तिहार भन्ने प्रश्न ।

नेपालीहरु दीपावली मनाउने समाज होइन । यो समाज तिहार मनाउने समाज हो । तिहार अहोभाव र कृतज्ञता दर्शाउने पर्व हो । आफूलाई चनाखो बन्न प्रेरित गर्ने पन्छी काग, आफूलाई इमान्दारीपूर्वक हर समयमा रक्षा गर्न अपेक्षारहित भावले लागिरहने प्राणी कुकुर, पोषणमय दूध दियर शरीर संरक्षणमा सहयोग गर्ने गाई, उत्पादन कार्यमा सघाउ पुर्याउने (कृषि कार्यमा अति आवश्यक) गोरु अनि नारीको कोमलतालाई संरक्षण गर्न र नारी पुरुषको सहकार्यका शक्ति आर्जन हुन्छ भन्न्ने देखाउनका लागि आफ्ना भाइलाई कृतज्ञता व्यक्त गरेर मनाइने चाड हो तिहार । यही अहोभाव वा कृतज्ञताले नै मानिसलाई अमरत्वतिरको यात्राका लागि प्रेरित गर्दछ । अहोभाव र कृतज्ञताको भाव नभएको मानिस अमरताको यात्रामा लाग्न सक्दैन । त्यसैले तिहार अहोभाव र कृतज्ञताको चाड हो । यो चाडलाई हामीले दीपावलीका रुपमा आयात गरेर विकृत पारेका छौँ । दीपावली आकांक्षा र कामनाको चाड हो यसले भौतिक प्राप्तिका लागि प्रेरित गर्दछ । आध्यात्मिक पक्ष यसमा गौण छ । नेपालीहरुको यो कृतज्ञताको भाव तिहार पर्वले बोकेको थियो । तर अब हामीले त्यसलाई दीपावली भनेर आडम्बर र धनाकांक्षामा सीमित गरिदिएका छौँ । सबैलाई गहिरो चेतना भया ।