Sunday, October 13, 2013

दशैं र तिहारको आध्यात्मिक पक्ष




बुझेर हो वा नबुझेर हिजोआज दशैंलाई विजया दशमी र तिहारलाई दीपावली भन्ने गरेको देखिन्छ, सुनिन्छ ।

विजया दशमी भन्नु र दशैं भन्नु अनि दीपावली भन्नु र तिहार भन्नुमा आकाश र जमिन जत्तिकै फरक छ ।

विजया दशमी र दीपावली दुवै दिनहरु हुन् । यी तिथी हुन् । तर यी दुवै दिन आध्यात्मिक साधनाको परिपाटीमा खास महत्व राख्दछन् । नेपाली समाजमा सामान्य रुपमा हेर्दा यी दुवै तिथीहरु चाडका रुपमा मात्रै प्रसिद्ध छन् । साधना पक्ष गौण छ । अध्यात्मको साधना नगर्नेहरुका लागि यी दिनहरु केवल एक परम्परा हुन् । नेपाली समाजले यिनलाई परम्पराका रुपमा ग्रहण गर्ने भन्दा पनि पर्वका रुपमा यसलाई मान्ने  गरेको देखिन्छ ।

नवरात्रमा सबैतिर मानिसहरु देवीको आराधनामा लाग्दछन् । आराधनाले ब्रम्हाण्डीय उर्जालाई सकारात्मक रुपमा थप घनिभूत बनाउन मद्दत गर्दछ । त्यसैले यो समय अध्यात्मका विविध साधनाका लागि महत्वपूर्ण मानिन्छ । आध्यात्मिक क्षेत्रमा यो शक्तिशाली उर्जालाई आफ्नो साधनाका माध्यमबाट सिद्ध गर्न चाहने साधकहरुलाई गुरुले विशेष विधिद्वारा साधकका घटमा (हृदयमा) सकारात्मक चेतनाको बीज स्थापना गरिदिन्छन् । घटमा बीज स्थापना गरिने हुनाले यसलाई घटस्थापना भनियो । यो स्थापित घटलाई साधकले नौ दिनसम्म अहोरात्र साधना लागेर आफ्नो सकारात्मक शक्ति परिपाक गर्दछ । अनेक नकारात्मक उर्जा दिने रिपुहरुलाई मर्दन गर्दछ । त्यसैले यो समयलाई रिपुमर्दिनी साधनाको विशेष अवसर पनि मानिन्छ । त्यसपछि आफूभित्र रहेका नकारात्मक चित्तवृत्तिको क्रमिक निरोध गर्दै जान्छन् । पूर्वीय साधना परिपाटीमा यो साधनाको परिपाटी यद्यपि छिटफुट रुपमा कायम रहेको देखिन्छ ।

यसरी गुरुबाट स्थापित घटलाई दश दिनसम्म साधना गरेर त्यसलाई परिपाक गरेपछि साधकले जब दशौ“ दिनमा सकारात्मक शक्ति आर्जन गरी रिपुभावमाथि विजय हासिल गर्दछ तब विजय हासिल गरेको खुशीयालीमा दशौँ दिनमा प्रसाद र टीकाका साथ उत्सव मनाउने आध्यात्मिक परम्परा रहेको देखिन्छ । तर पछि आएर तन्त्रको साधना गर्ने साधकहरुले नकारात्मक उर्जाको साधनामा नवरात्रको प्रयोग गर्न थाले । शिवतन्त्रको साधना पक्ष गौण हुनथाल्यो । अघोरतन्त्रको विकृत साधनाको परिपाटी विकसित भयो । काटमार गरेर पशुहरुको वली दिन थालियो । धामीझाँक्री र बोक्सीहरुको साधना समयका रुपमा यसलाई अत्यन्त विकृत रुपमा ग्रहण गर्न थालियो । आफ्ना चित्तवृत्तिभित्र रहेका नकारात्मक तत्वहरु– काम, क्रोध, लोभ, मोह, इष्र्या, मद, मात्सर्य र अहंकार जस्ता नकारात्मक चित्तवृत्तिहरु नाश गर्ने आध्यात्मिकताको साधनाको परिपाटी गौण हुँदै गयो । यस्तो विशुद्ध आध्यात्मिक परिपाटीमा आधारित नवरात्रको साधना परम्परामा त्यसपछि खिया लाग्दै गयो । भोजभतेर गर्ने र मन्दिरमा गएर पुजाआजा गर्ने कुरामा सीमित हुँदै गयो । सारतत्व विलिन भयो वाह्य पक्ष मात्र बाँकी रह्यो ।

नेपालीहरुले दशैंलाई न साधनाको रुपमा मानेको देखिन्छ न विजयोत्सवका रुपमा । नेपालीहरुका लागि यो अवसर खासगरी एउटा रमाइलो चाड हो । वर्षको दुईपटक दश दिनको दशैं मनाउने र त्यसलाई भेटघाट र सद्भाव साटासाट गर्ने पर्वका रुपमा मनाउने चलन रहेको थियो । चैत्र शुक्ल र आश्विन शुक्ल प्रतिपदा देखि दशमीसम्म मनाइने यो पर्व पछि आएर आश्विनमा मात्र मनाउन थालियो । रामले रावणमाथि विजय गरेको मिथकसँग जोडियो । मिथ्कको सही अर्थ खोजिएन । राम भाव र रावण भाव मानिसभित्रै छन् तिनको उजागर र विनाशको कुरा बुझाउन त्यो मिथकको प्रयोग गरिएको हो भन्ने बुझ्ने प्रयत्न भएन । पण्डितहरुले पनि यसको गहिरो आध्यात्मिक व्याख्याा दिन सकेनन् । राम हामीभित्रको सकारात्मक आत्मिक तत्व हो रावण हामीभित्रको अहंकार, उन्माद र नकारात्मक प्रवृति र भाव हो ।

यो पर्वलाई नेपालीहरुले बडादशैं नाम दिए । संसारमा नै संभवतः यति लामो पर्व मनाउने गरेको कमै देखिन्छ । यो पर्व विशुद्ध रुपमा चाडको रुपमा मनाउने चलन थियो । ठूलाबडाहरुबाट आशिर्वाद लिने र सानाहरुलाई माया र प्रेम दर्शाउने यो पर्वलाई हाल आएर अनेक मिथकहरुसँग जोड्ने गरेको देखिन्छ । नेपालीहरुको दशैं ती मिथकहरुसँग पटक्कै सरोकार राख्दैन । यो विशुद्ध रुपमा चाड मात्रै हो । न यसमा कुनै जाति विशेषलाई होच्याउने उद्देश्य थियो न कसैले गर्व गर्नुपर्ने गरी विजयोन्माद थियो । त्यसैले नेपालीका लागि यो पर्व विजयादशमी होइन दशैं हो । दशैं पर्वभित्र पर्ने विजयादशमी एउटा विशेष दिन मात्रै हो । त्यसैले विजयादशमीभन्दा दशैं बृहत् छ ।

भारतका विभिन्न ठाउँमा दशैंको वेलामा दुर्गा पुजाका रुपमा नौ दिन दुर्गा पूजा गर्ने परिपाटी रहेको देखिन्छ । विशेष गरी यो नौ दिनमा बंगालीहरुले दुर्गाको पुजा र आराधना गर्दछन् र उनीहरु यसलाई दशहरा भन्दछन् । कतिपय ठाउँमा चैते दशैंको अवसरलाई रावण उत्सवका रुपमा पनि मनाउने गरेको पाइन्छ ।

यस्तो गरिमामय साँस्कृतिक र आध्यात्मिक परिपाटीलाई हाल आएर यसलाई विकृत गरी विजया दशमी भनेको देख्ता मलाई अचम्म लाग्छ । हामी नेपालीहरु कस्तो लहैलहैमा वहकिएका ? तथ्यको अत्तोपत्तो छैन । विजय यात्रामै नलागेका व्यक्तिलाई यो दशमी तिथी कसरी विजयादशमी भयो ? विजय मनाउन त युद्धमा होमिनु पर्ने थियो । नकारात्मताको विरुद्धमा सकारात्मकताले विजय गरेको वा गर्ने उद्देश्य राखेर साधनारत भएको भए त्यसको शुभेच्छा साटासाट गर्ने र शुभकामना दिने परिपाटी स्वाभाविक थियो । तर त्यसो त कतै गरिएको पाइँदैन । निर्दोष र अबोध पशुहरुलाई वली दिएर आत्मतुष्टी गर्ने अनि पशुहत्या गरेर उनीहरुको शरीर भक्षण गर्नेहरुले के अरुलाई शुभकामना र शुभेच्छा दिनु ?

साँस्कृतिक रुपमा यदि शुभेच्छा आदानप्रदान गरेको हो भने त्यो ल्याकत आफूले आर्जन गरेको हुनुपर्छ वा आर्जन गर्ने प्रयत्नरत व्यक्ति हुनुपर्छ अनि बल्ल यसको उपलक्ष्यमा शुभकामना दिन सुहाउँछ । परम्पराको महत्व र सार नै नबुझीकन हामी त्यसै रुमल्लिरहेका त छौनौ ? यसतर्फ कसैले सोचेको पाइएन ।

तिहारको कुरा 

नेपाली समाज दीपावली होइन तिहार मनाउने समाज हो । भारतमा लक्ष्मीपूजाको दीन एक दिनलाई दीपावली भनेर मनाउने चलन छ । यमराज र यमुनाका कथासँग यसलाई गाँसेर हेर्ने पनि गरिएको छ । तर नेपालीहरुको चाड तिहार योभन्दा भिन्न छ । दीपावली मनाउनुहो अर्थ पनि आध्यात्मिक दृष्टिले अलि फरक छ । यो पर्व कोजाग्रत पूर्णिमाको ठीक पन्ध्र दिनपछि पर्दछ ।

नवरात्रको घटस्थापनादेखि कोजाग्रत पूर्णीमासम्म साधनामा लागेको आध्यात्मिक साधकले कुनै जागृतिको चेतना परिपाक गरेको अवस्थामा को जाग्यो त ! भनेर गुरुले कोजाग्रत पूर्णिमामा जागृत भएको घोषण गर्ने गर्दथे । कुनै साथी जाग्रत अवस्थामा पुगेको खुशीयाली राति अवेरसम्म मनाउने गरिन्थ्यो । त्यस परिपाटीका आधारमा दशैंको अन्त्य कोजाग्रत पूर्णिमामा गएर हुने गर्दथ्यो । त्यसरी जागृतिको घोषणा भएको साधकको साधना निरन्तर लागि रहन्थ्यो ।

सकारात्मक उर्जाले परिपाक भएको साधक विस्तारै सकारात्मक र नकारात्मकताभन्दा माथि उठेर कृतज्ञता भावतिर बढ्दथ्यो । जब ऊभित्र कृतज्ञता र अहोभावको आधिक्य हुनथाल्थ्यो अनि त्यो निरन्तरता अरु पन्ध्र दिन कायम रहेमा पन्ध्रैँ दिनमा पर्ने औसीको रात्री दीप प्रज्वलन गरी खुशीयाली मनाउने र उसलाई जागृतिको सम्पदाले सम्पन्न गरेको घोषणा हुने गर्दथ्यो । लक्ष्मी पैसाकी देवी मात्र नभई सम्पन्नता र वैभवकी देवी पनि मानिछिन् । सम्पन्नता र सम्पत्ती फरक कुरा हुन् । सम्पन्नता आन्तरिक आध्यात्मिक पक्ष हो भने सम्पत्ती सम्पन्नताले आर्जन गर्ने भौतिक पक्ष हो । यसलाई गहिराईमा बुझ्ने सकेको देखिँदैन । लक्ष्मी वैभव र सम्पन्नतासँग सम्बन्धित देवी हुन् ।

अहिले आएर त्यो पनि विकृत भएर धनको प्रप्तिको आकांक्षावश गरिने आराधनामा सीमित भएको छ । आन्तरिक समृद्धिसँग यसको कुनै साइनो नै छैन । यो टुटिसकेको छ । आकांक्षा राखेर गरिने पूजाआजा र तडकभडकमा त्यो सीमित भएको छ । कहाँ आध्यात्मिक रुपमा आन्तरिक समृद्धिको गरिमामय उत्सवका रुपमा मनाइने दीपावली कहाँ धनको अपेछा गरेर गरेर गरिने पूजाआजा । कुनै छेउटुप्पो फेला पर्दैन यसमा पनि ।

अब कुरा आउँछ हामी दीपावली मनाउने समाजमा छौँ वा तिहार भन्ने प्रश्न ।

नेपालीहरु दीपावली मनाउने समाज होइन । यो समाज तिहार मनाउने समाज हो । तिहार अहोभाव र कृतज्ञता दर्शाउने पर्व हो । आफूलाई चनाखो बन्न प्रेरित गर्ने पन्छी काग, आफूलाई इमान्दारीपूर्वक हर समयमा रक्षा गर्न अपेक्षारहित भावले लागिरहने प्राणी कुकुर, पोषणमय दूध दियर शरीर संरक्षणमा सहयोग गर्ने गाई, उत्पादन कार्यमा सघाउ पुर्याउने (कृषि कार्यमा अति आवश्यक) गोरु अनि नारीको कोमलतालाई संरक्षण गर्न र नारी पुरुषको सहकार्यका शक्ति आर्जन हुन्छ भन्न्ने देखाउनका लागि आफ्ना भाइलाई कृतज्ञता व्यक्त गरेर मनाइने चाड हो तिहार । यही अहोभाव वा कृतज्ञताले नै मानिसलाई अमरत्वतिरको यात्राका लागि प्रेरित गर्दछ । अहोभाव र कृतज्ञताको भाव नभएको मानिस अमरताको यात्रामा लाग्न सक्दैन । त्यसैले तिहार अहोभाव र कृतज्ञताको चाड हो । यो चाडलाई हामीले दीपावलीका रुपमा आयात गरेर विकृत पारेका छौँ । दीपावली आकांक्षा र कामनाको चाड हो यसले भौतिक प्राप्तिका लागि प्रेरित गर्दछ । आध्यात्मिक पक्ष यसमा गौण छ । नेपालीहरुको यो कृतज्ञताको भाव तिहार पर्वले बोकेको थियो । तर अब हामीले त्यसलाई दीपावली भनेर आडम्बर र धनाकांक्षामा सीमित गरिदिएका छौँ । सबैलाई गहिरो चेतना भया ।

No comments:

Post a Comment