Tuesday, March 26, 2019

आहा, चितवनको मालभोग केरा !

अहिले तपार्इं चितवनको पदमपुर, पिठुवा, जुटपानी, रत्ननगर पुग्नुभयो भने त्यहाँका खेतबारीमा विगतभन्दा अलि भिन्न दृश्य देख्न पाउनुहुन्छ । जताततै केराको जङ्लैजङ्गल । ठाउँठाउँमा लटरम्म टमाटर फलिरहेका । अलि सिंचित खेतबारी हरिया तरकारीले भरिएका । हेर्दै मनमोहक । जताततै देखिने हरिया तरकारी, टमाटर र केराले त कुनै विकसित देशको व्यावसायिक कृषि गाउँमा पुगेजस्तो । 



केही दिनअघि सहकारीकर्मीहरुसँग अन्तरक्रियाको लागि चितवनको रत्ननगर पुग्दाको मेरो अनुभव हो यो । म त्यहाँ पुग्दा कुनै विकसित देशको कृषि फार्ममा पुगेझैँ आश्चर्यचकित भएको थिएँ । जताततै देख्तै रहर लाग्दा केराका घरी, ठूलाठूला केराका डिही अनि खेती त्यतिकै व्यावसायिक । चिटिक्क परेका केरा फार्म, गोडमेल र छाँटकाँट पनि भनेजस्तै सुन्दर । फार्म हेर्दा लाग्थ्यो यो कुनै प्राविधिकले नियमित हेरचाह गरेर स्याहारसुसार गरेको बगैँचा हो । मेरो मनमा खुलदुली चुलिँदै गयो । कसले ग¥यो होला यो नयाँ शुरुआत ? कसरी फैलियो यो लहर ? मन थाम्न सकिँन र एक जना सहकारीकर्मी केरा किसानसँग जिज्ञासा राखेँ— “तपाईं पनि यस्तो केरा खेती गरिरहनुभएको छ ?” मेरो प्रश्नमा मार्कण्डेय केरा उत्पादक सहकारी संस्थाका अध्यक्ष ध्रुव ढुंगाना भन्छन्— “त्यति धेरै त हैन, करिब बीस विगाहा होला ।”म चकित परेँ उनको उत्तरले । खेत साना आकारमा टुक्रिए भनेर कराइरहेको बेला एउटा किसानको बीस विगाहा केरा खेती ? उनको कुरा सुनेर छक्क पर्दै फेरि प्रश्न गरेँ— “आफ्नै जग्गामा कि भाडामा ?” उनी फिस्स हाँस्छन् र मलाई सच्याउँछन्— “जमिनको हदबन्दी नै दश विगाहा भएपछि कसरी आफ्नै बीस विगाहा जग्गा हुनु ! अरु किसानको जग्गा भाडामा लिएर गरिरहेको छु । मेरो त यहाँ जग्गै छैन ।” उनले यति भनेपछि हाम्रो सम्वाद गहिरिन्छ । हामी लाग्छौँ नजिकैको केरा बगैँचातिर जहाँ उनको केरा खेती थियो । उनी मलाई भन्दै जान्छन्— “यो एउटा हो अरु अलि वरपर छ । कहीँ कति कहीँ कति, सबै गरेर बीस विगाहा छ । हाम्रोमा परम्परागत केरा त थियो नै केही वर्षदेखि अन्न खेतीले किसानले जीवन नै धान्न नसक्ने अवस्था आएपछि यतातिर लाग्दा पो हुन्छ कि भनेर बुझ्दै जाँदा राम्रै आम्दानी हुने देखियो । गरे हुँदो रछ भन्ने ठानेर हामी पनि लाग्यौँ । अहिले अरु किसानहरु पनि व्यावसायिक रुपमा लाग्दै छन् । तपाईंहामी उभिएको यो बगैँचा तीन विघाको हो । मेरो आफ्नो एक विगाहा छ अरु भाडामा लिएको छु । भाडा प्रति विगाहा ८० हजार बुझाउँछु ।” इतिहास कोट्याए उनले । म उनका कुरातिर तानिँदै जान्छु उनी थप्दै जान्छन्— “शुरुमा केरा पनि व्यावसायिक रुपमा खेती गर्न सकिएला र भन्ने थियो । प्राविधिक ज्ञान पनि थिएन । केही पनि अन्न र तोरी छाडेर यो खेती गर्न चाहँदैनथे । तर २०६० सालतिर रजहरका अम्बिका प्रसाद अधिकारीले १२।१३ विगाहामा मालभोग केराका विरुवा ल्याएर खेती शुरु गरे । मानिसहरुले उनलाई गिज्याए, धान फल्ने खेतमा केरा लायो भनेर । उनले हार मानेनन् । हामीले पनि उनको केरा खेती देख्यौँ । केही वर्ष उनले त्यसबाट आम्दानी गरेको देखेपछि अरुले पनि लाउन थाले । हामीले पनि शुरु ग¥यौँ । पहिले अलि थोरैमा गरियो । त्यसबाट अन्नबाट भन्दा अलि बढी आम्दानी हुँदोरछ, दुःख पनि कम हुँदोरछ भन्ने थाहा भयो । त्यसपछि विस्तार गर्नुप¥यो भन्ने सोच बढ्दै गयो । गाउँमै पनि मीठो केरा उत्पादन हुन थालेपछि मानिसहरुले चाख मान्न थाले । त्यसपछि सहकारी बनाइयो । अहिले सहकारीले केही टेवा दिएको छ किसानलाई ।”“अनि मालभोग केरा नै किन ? अरु हरियो केरा त अझ बढी फलेको देखिन्छ ? यसका त घरी पनि साना छन् ।” मेरो जिज्ञाशाको अर्को पाटो थियो । “यो ठाउँको जमिन अलि सुख्खा छ । सिँचाइको सुविधा छैन । हरियो केरालाई सिँचाइ नगरी हुँदैन, सुख्खा सहन सक्तैन त्यसले । मालभोग केरा सुख्खामा पनि हुन्छ । त्यसैले यो केरा यहाँको लागि ठीक ठानेका हौँ । सिँचाइको सुविधा हुन सके त हरियो केराबाट बढी नै आम्दानी हुन्छ योभन्दा ।” मेरो जिज्ञाशा शान्त गरे उनले ।केही वर्ष एक्लाएक्लै केरा खेती गरेर मनग्गे आम्दानी गरिरहेका यस्ता किसानहरुलाई सहकारी किन चाहिएको होला त ? मेरो मनमा कुचकुच लागिरह्यो, सोधेँ– “केरा खेती गर्न सहकारी नै चाहिँदोरछ भन्ने चाहिँ किन लाग्यो तपाईंहरुलाई ?” “ठूला किसानलाई त सहकारी नभए पनि हुन्छ होला भन्ने लागेको थियो शुरुमा तर हाम्रो त्यो सोच ठीक होइन रहेछ । किसानलाई व्यावसायिक बनाउने हो भने सहकारी अनिवार्य छ । सानालाई अझ बढी चाहिँदो रछ । १० कठमा केरा लगाएर कहाँ लगेर बेच्नु ? मल, बिरुवा, उत्पादन बिक्री सबैको तनाव । थोरै भएपछि न व्यापारी यहाँ लिन आउँछ न टाढा लगेर भनेजति दाम लिन सकिन्छ । लगाएको बाली मौसमी प्रतिकूलताले नष्ट हुँदा मर्का पर्ने हुनाले बीमाको पनि समस्या । व्यावसायिक गर्ने हो भने त सहकारी नभइनहुने रछ । वरपरका किसानलाई पनि आपूmसँगै हिँडाउन पनि सहकारी राम्रो कुरा रहेछ ।” अनुभवले सिकाएको थियो उनलाई । त्यसपछि मार्कन्डेयकै अर्का सदस्यले कथा जोडे— “हामी केही किसानले हालको रत्ननगर  नगरपालिका १४, विगतको पिठुवा गा.वि.स. वडा नं. ३ मा केरा खेती शुरु ग¥यौँ । अलि ठूलो परिमाणमा खेती गर्न थालेपछि मल, औषधि, सामग्री अलि बढी नै चाहिने भयो । जुनसुकै कुरा किन्दा पनि उचित मूल्यमा नपाइने । एक पटक मल किन्न नजिकैको अर्को सहकारीमा गएको उसले त केरावालालाई हो भने त प्रतिबोरा रु. ५० बढी तिर्नुपर्छ भन्यो । मलाई नमीठो लाग्यो । त्यसपछि फर्केर आएर आफैँ कृषि सहकारी बनाउनेतिर लागेँ । वि.सं. २०७१ सालको आषाढमा हाम्रो संस्था मार्कन्डेय केरा उत्पादक कृषि सहकारी संस्था दर्ता भयो, द.नं. ११३४ मा । हाल संस्थामा १०२ सदस्य छौँ करिब ३०० विगाहा जग्गामा केरा खेती भइरहेको छ ।”“आम्दानी कस्तो छ नि ?” मेरो प्रश्न अध्यक्षलाई थियो जसले करिब २० विगाहामा केरा खेती गरिरहेको कुरा बताएका थिए । “खर्च कटाएर प्रतिविगाहा एक लाख त बस्छ ।” उनले गौरवसाथ उत्तर दिए । म भने अझ गम्भीर भएँ । सिँचाइको सुविधा नभएको ठाउँमा प्रति विगाहा खर्च कटाएर खूद नाफा नै एक लाख हुन्छ भने यो त राम्रै आम्दानी हो हाम्रो देशको सन्दर्भमा ।मार्कन्डेय सहकारीअन्तर्गतका सदस्यहरुले करिब ३०० विगाहामा खेती गरेर करिब १२ करोड आम्दानी गरिरहेका छन् । “सरदर प्रतिकोसा रु. ३।५० मा बिक्री हुन्छ । सिजनमा त अझ बढी पनि हुन्छ कोसा अलि ठूलो भएकाले । अफ सिजनमा अलि भिन्न हुन्छ । तर पनि करिब २५ प्रतिशत त फाइदा हुन्छहुन्छ ।” उनीहरुको अनुभव बोल्छ, म टिप्तै जान्छु ।अहिले उनीहरु बाह्रै महिना समान रुपले हरियो केरा (सामाज्य भाषामा लामो कोसा हुने जहाजी केरा) उत्पादन गर्ने प्राविधिक ज्ञान हासिल गरिसकेको तर त्यसका लागि सिँचाइ सुविधा हुनुपर्ने माग छ उनीहरुको । “राज्यले सिँचाइ सुविधा दिने हो भने बाह्रै महिना केरा फलाउन सकिन्छ । त्यो ज्ञान हामीले पाइसकेका छौँ । सय विगाहामा केरा खेती गर्ने योजनाका किसानहरु पनि हामीसँग छन् तर जमिन छैन । बारा र रौतहटतिर पनि केरा खेती गर्ने जग्गा खोज्दैछन् साथीहरु ।” यसरी व्यावसायिक केरा खेती हुन थालेपछि यसलाई थप सेवा र टेवा पु¥याउन यस क्षेत्रलाई सरकारले केरा खेतीको सुपरजोन घोषणा गरेको छ । सिँचाइ सुविधाको अभावमा मनसुनमा भर परेर खेती गर्नुपर्ने बाध्यता झेलिरहेका किसानहरुका लागि केरा उनीहरुका लागि बरदान साबित भएको छ । आम्दानी बढेको छ, सामूहिक कार्यमा लाग्ने प्रेरणा दिएको छ । गाउँलेहरुलाई सहकारीको एकसूत्रमा बाँधेको छ । बाली बीमाले यसलाई अझ बल प्रदान गरेको छ । तर यो सधैँ यस्तै हुँदैन कि भन्ने चिन्ता छ  । कैयौँ ठाउँमा यो केरा फैलिँदै–हराउँदै गरेको इतिहास छ भन्ने थाहा पाएका छन् उनीहरुले । अहिले केही वर्ष केरा खेती गरिएको ठाउँमा केराको थाम नै फुट्ने ‘पनामा’ भन्ने रोग लाग्ने गरेको र त्यो लागेपछि खेती फेर्नुपर्ने समस्या उनीहरुले भोगिरहेका छन् । त्यो रोग लागेपछि केरा उगालेर फेरि अर्को खेती गर्नुपर्ने, चारपाँच वर्ष पर्खनुपर्ने अनि बल्ल अर्को पटक केरा लगाउन मिल्ने प्राविधिक सिफारिसपछि उनीहरु झस्केका छन् । राज्यले अनुसन्धान गरी विकल्पको खोजी गरेर अर्को कुनै जात विकास गरिदिए हामीलाई ढुक्क हुन्थ्यो भन्ने आशा व्यक्त गर्छन् अध्यक्ष ध्रुव ढुंगाना । ..........  अहिले नेपाली केरा उत्पादक किसानहरु भारतीय भूमिबाट आयातीत केरासँग प्रतिस्पर्धा गरिरहेका छन् । भारत सरकारले हालैका वर्षहरुमा कृषि उत्पादनका लागि प्रदान गरिहेका विभिन्न सुविधा, सहुलियत र अनुसन्धानका कारण उत्पादन लागतमा ठूलो मात्रामा कमी आएको छ । कम लागतमा बढी उत्पादन भएका भारतीय केरा नेपालमा आइपुग्दासमेत यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न कठिन भइरहेको गुनासो किसानहरुको रहेको छ । कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्री र मजदुर ज्यालामा भएको उच्च वृद्धि, ढुवानी भाडा आदिको कारण उत्पादन र बजारीकरणको लागत बढ्न भई प्रतिस्पर्धा गर्न कठिन भएको उनीहरुको गुनासो छ । तर पनि किसानहरु मिहिनेत गरिहेकै छन् । हालै शुरु भएको कृषि बाली बीमा कार्यक्रमले पनि किसानहरुलाई अप्रत्यासित क्षति हुँदा क्षतिपूर्तिको व्यवस्था गरिएकाले केही राहत मिलेको छ । यसले पनि थप प्रोत्साहन दिएको छ किसानलाई ।अनुभवले पाकेका मार्कन्डेयका ती सहकारीकर्मीका माथि उल्लेखित शब्दले सहकारी र कृषि व्यवसाय दुवैको चरित्र र आवश्यकता बताउँछन् । सही अर्थमा कृषिलाई व्यवसायिक बनाउने हो र किसानको हित वृद्धि गरेर उत्पादनबाट उचित मूल्य लिने हो भने एकातर्फ कृषि सहकारीलाई प्रवद्र्धन गर्ने सरकारी नीति आवश्यक छ भने अर्कोतिर राज्यको लगानी थप अध्ययन र अनुसन्धानमा केन्द्रित गर्न आवश्यक छ । अध्यक्ष ढुंगानासँग सहमती जनाउँदै म थप्छु— “उन्नत जातहरुको विकास, बजारीकरणमा उचित नीति र सुविधा प्रदान नगरी जुनसुकै नाममा जेसुकै कार्यक्रम भने पनि त्यसले कृषिको रुपान्तरण सम्भव हुँदैन ।  व्यावसायिक कृषि उत्पादन प्रणालीमा जान आवश्यक पर्ने आँट, विज्ञता, आवश्यक सामग्रीको जोहो अनि बजार पहुँचमा व्यहोर्नुपर्ने हैरानी अनि दिक्दारी, यी सबैले एक्लो किसानले कसरी व्यावसायिक हुन सक्छ ? त्यसमा पनि हाम्रो जस्तो सानो आकारको जमिन भएका साना किसानहरुले कृषिको व्यावसायिक उत्पादनमा जाने र त्यसबाट लाभ लिने हो भने सहकारी खेतीमा जाने तपाईंहरुको प्रयास सह्राहनीय छ । बजारमा हुने मूल्यको चलखेल, दलाली अनि भुक्तानीमा हुने ठगी, अनावश्यक मूल्य उतारचढाव यी सबैका लागि किसानहरुको सामूहिक शक्ति निर्माण गर्न आवश्यक छ । पूर्वाधार विकासमा काम गर्न आवश्यक छ । यो सबै गर्न न सरकार मात्रले सम्भव छ न किसान एक्लैले । सरकारले आवश्यक नीति, प्रशासन र नियमन अनि सहकारीले भएका पूर्वाधारको व्यवस्थापन, सञ्चालन र किसानहरुलाई सेवा, सुविधा र सचेतता दिन सक्छ । यसो हुन सक्यो भने तपाईंहरुले पिठुवा, रत्ननगर र पदमपुरमा गरिहेको व्यावसायिक केरा खेती अरु ठाउँमा पनि फैलाउन सकिन्छ । तपाईंहरुले  गर्नुभएको प्रयास शब्दमा वर्णन गर्न कठिन छ ।”मेरो भनाइले अध्यक्ष ढुंगाना भावुक हुन्छन् र नजिकै रहेको एउटा फलपूmल पसलतिर मलाई अगुवाइ गर्छन् । एक काइँयो केरा किनेर मतिर बढाउँदै भन्छन्— “यतिका कुरा गरिसकेपछि चितवनको मालभोग केराको स्वाद नै नचखाई तपाईंलाई कसरी बिदा गर्नु ! खाऊँ केरा ।”मेरो मुख रसाउँछ । केराको बोक्रा निकालेर खाँदै भन्छु— “आहा, चितवनको मालभोग केरा !” चितवनका ती मिहिनेती केरा किसान सहकारीकर्मीहरुलाई सलाम ! जसले यति ठूलो रुपान्तरण ल्याए देशमा ।