Friday, March 27, 2015

काठको पाटीमा धुलौटे अक्षर

एक कक्षामा धेरै साथीहरु थिएनन् । १५।१६ जना थियौ“ । सबैजना कालोपाटी वा स्लेट अनि खरी (चक) लिएर स्कूल आउँथे । लामो फित्ता भएको पछाडि बोक्न मिल्ने झोला हुन्थ्यो सबैसँग । काँधमा फित्ताभिरेर बोक्ता लत्रक्क तलसम्म झुण्डिने । झोलाको मुख बन्द गर्ने चेन, बटन केही हँुदैनथ्यो । भएका १।२ वटा किताब त्यही खुल्ला मुख भएको झोलामा हालेर बोक्ने गर्थे सबै विद्यार्थीहरु । घुमन्ते पर्यटकहरु पनि बाहिरफेरो हिँड्दा पनि त्यस्तै झोला बोक्थे । बजार गइरहनेहरुले बुट्टा भएको रंगीन झोला किनेर ल्याउँथे । बजारतिर नजानेहरुले गाउँमै पाइने खाँडीका कपडा किनेर स्थानीय दमाइहरुलाई सिलाउन लगाउँथे । अलि ठूला दाइदिदीहरु छड्के पारेर बोक्थे । हामी स–साना चाहिँ पछाडि डोको बोकेजस्तै गरी झोला बोक्थ्यौ“ । त्यस झोलामा प्रायः एउटा कालो पाटी वा सिलोट, अनि १ वा २ वटा किताब हुन्थे । बोक्न सक्नेले पाटी हातमा बोक्थे, नसक्नेले त्यही झोलामा हालेर बोक्थे । मसँंग शुरुमा न झोला थियो न स्लेट । एउटा किताब मात्रै थियो ।

स्कूल जान थालेपछि हजुरबाले आफूले जानेका र चिनेका अक्षर र अंकहरु मलाई लेख्न सिकाउन शुरु गर्नुभयो । फुर्सतको बेला पाउँना साथ दलानमा हजुरबा एउटा गुन्द्री वा पिरामा बस्नुहुन्थ्यो अनि मलाई अलिकति सुख्खा धुलो माटो लिएर आउन अह्राउनु हुन्थ्यो । त्यो धुलो माटोलाई दलानको सम्म मिलेको सतहमा फिँजाइन्थ्यो । कतैपनि भुइँ नदेखिने गरी अलि बाक्लो गरी धुलो बिछ्याएर त्यसैमा अक्षर लेखिन्थ्यो । बिहान बेलुकाको मेरो गृहकार्य त्यसैगरी आरम्भ भयो । स्कूलले कुनै कुरा लेख्नु भनेको होसनहोस् हजुरबा मलाई पढाउन तयार भइहाल्नु हुन्थ्यो । बेलुका चाहिँ सानो भएकाले छिट्टै सुत्न पाइन्थ्यो ।

शुरुशुरुमा मलाई धुलो फिँजाउन पनि आउँदैनथ्यो । हजुरबा आफैँले धुलो फिँजाएर ठिक्क पार्नुहुन्थ्यो । धुलो फिँजाएर ठिक्क पारेपछि मेरो दाहिने हातको चोर औलालाई आफूले समाएर अक्षरको आकार कोर्न सिकाउनुहुन्थ्यो । हातको औ“लो यसरी भुइँमा घोट्ता कहिलेकहीँ त अलिअलि दुख्थ्यो । दुखेपछि म हजुरबासँग कसरी टाढिने भनेर उपाय खोज्थे“ । म थाकेको थाहा पाएपछि हजुरबाले मलाई विदा दिनुहुन्थ्यो । बालकको मनोविज्ञानको यो गहिरो पक्षको ज्ञान हजुरबालाई रहेछ भन्ने अहिले म थाहा पाउँदैछु । कुटेर जबर्जस्ती गरेर कहिल्यै मैले पढाइलेखाइ गर्नु परेन । हाँस्दैखेल्दै हुन्थ्यो पढ्ने काम ।

केही दिनको परिश्रमपछि म आफै“ औंलाले धुलौटे अक्षर बनाउन सक्ने भएँ । औ“लाले लेख्न जानेपछि मलाई फेरि स्तरोन्नति गरियो । अब औलाले होइन काठका अथवा बाँसका छेस्काले कलमजस्तै समाएर लेख्न सिकाइयो । बाँसको ठिक्कको छेस्को बनाउने अनि धुलोमा अक्षर लेख्ने । यो क्रम लगभग ४।५ महिनाजति चल्यो । धुलोमा लेख्न जानेपछि मलाई एउटा काठको टुक्रामा धुलो फिँजाएर लेख्न सिकाइयो । त्यसमा पनि प्रविधि त त्यही थियो तर अब भने छरितो फल्याकरुपि अभ्यास पुस्तिका मैले पाएको थिएँ । त्यसपछि अनुकूल ठाउँमा बसेर लेख्न पाइने भयो । दलानमै जानु पर्ने बाध्यता रहेन ।

त्यतिबेला हाम्रो गाउँमा आराले चिरेका फलेकहरु थिएनन् । बञ्चरो र बसिलाले आकार मात्रै फलेकका जस्ता देखिने फलेकहरु थिए । बाले एक दिन एउटा काठको अलि भद्दा आकारको काठको पाटी बनाइ दिनु भयो । काठको पाटी भएपछि कालो अँगारले मस्याएर कालो बनाउने अनि त्यसमा स्थानीस्तरमा पाइने कमलो रंगीन ढुंगाले लेख्न थालियो । विस्तारै मेरा अभ्यासपुस्तिकाहरु परिवर्तन हुँदै गए ।

अक्षर मिलेन अथवा बिग्रियो भने यस्ता पाटीमा सच्याउने खुब सुविधा हुन्थ्यो तर घरिघरि मेट्ता नाकबाट चुहिने सिँगानसँगै त्यो धुलो र कालो पनि मिसिन्थ्यो । यसरी कालो मिसिएपछि अनुहारपनि लङ्गुर बाँदरको जस्तो हुन्थ्यो । कहिले जुँगा बनिएको हुन्थ्यो त कहिले गाला पनि कालाम्मे हुन्थे । यस्तो विभत्स रुप देखेर कहिलेकहीँ खिसीको पात्र पनि हुन्थेँ । घरमा त त्यसको त्यति वास्ता हुँदैनथ्यो तर स्कूलमा भने विचित्रसँग हाँसोको पात्र हुन्थेँ म ।

स्कूलमा कालो लाग्यो वा धुलो लाग्यो भने धुने सुविधा थिएन । पुछ्ने कुनै चीज हुँदैनथ्यो । दौराको फेर तानेर पुछ्दा कहिलेकाहीँ दौरा पनि हेरिनसक्नुको हुन्थ्यो विरुप भएर । यस्तो दौरा र हात सफा गर्न हिँडेर पुगिने खोलामै पुग्नु पथ्र्यो । आउन जान कम्तिमा १० मिनेट लाग्थ्यो । कुनै पढाइको कक्षामा त्यसरी कालो लाग्यो भने टिफिनसम्म पर्खनु पथ्र्यो । त्यतिबेलासम्म साथीहरुले अनेकचोटी खिज्याएर र खिसी गरेर हैरान पारिसकेका हुन्थे । यस्तो कालो कहिलेकहीँ दौरामा पनि लाग्थ्यो । सेतो रंगको दौरामा कालो लागेपछि त्यो दौरा पनि विचित्रको चित्राकृतिले रंगिएको जस्तो देखिन्थ्यो । यसरी सकियो मेरो प्रारम्भिक अक्षर लेखनको अभ्यास ।

करिब दुइवर्षसम्म मेरो हातमा कपी परेन । यस्तै धुलो र पाटीले नै काम चल्यो । मसँग पढ्ने कति साथीहरुसँग त त्यो पाटी पनि हुँदैनथ्यो । उनीहरु भुइँमा बसेर धुलो फिँजाउँथे अनि त्यहीँ आफूले गर्नुपर्ने अभ्यास गर्थे । शिक्षकहरु घुमिघुमी विदार्थीका अभ्यास धुलोमै नियाल्थे । आजका विद्यार्थीहरुको परिकल्पनाभन्दा निकै टाढा थियो यो दृश्य ।