Monday, October 13, 2014

प्रमाण पत्र नै योग्यता होइन

अहिले अनेक विषयमा स्नातक, स्नातकोत्तर गरेर प्रमाणपत्र लिएका युवाहरुको ठूलो सङ्ख्या बजारमा बेराजगार देखिन्छन् । यसको रोजगारीका अवसर कमजोर हुनु त छँदैछ, यदि अवसर उपलब्ध भयो ने भने पनि त्यसलाई उपयोग गर्न सक्ने क्षमता पनि आजका शिक्षितहरुका कमजोर छ । उनीहरुसँग आफूले सिकेको ज्ञान र सीपलाई व्यावहारिक रूपमा प्रयोग गर्ने कला, त्यसका लागि आवश्यक अनुभव हासिल गर्ने उत्प्रेरणा, मानवीय व्यवहार र सञ्चारसीपको कला पनि निकै कमजोर पाइन्छ  । प्रविधि जानेर र सैद्धान्तिक कुरा जानेर मात्रै आजको बजारमा आफ्नो प्रतिभा बिक्री गरेर जीवनयापन गर्न सकिँदैन । मानवीय व्यवहारको कुशलता काम पाउन र सफल हुन अति नै आवश्यक तत्व हो । यसको अभावमा हामीले न त चाहेको काम पाउन सक्छोँ न त काममा सफल हुन ।

म यहाँ एउटा अनुभवबाट यस कुरालाई अलि विस्तारमा सम्झाउन चाहन्छु । एक समयमा म काठमाडौँ उपत्यकाभित्रका केही सहकारी संस्थाको परामर्शदाताका रूपमा काम गर्थेँ । संस्थाहरूलाई आवश्यक पर्ने जनशक्ति छनोट गर्ने र तिनलाई लेखा र प्रशासन सम्बन्धी तालिम र परामर्श प्रदान गर्नु मेरो जिम्मेवारी थियो । संस्थाले कर्मचारी चाहियो भनेर विज्ञापन निकाल्थ्यो र त्यसमा आवश्यक योग्यताबारे पनि सूचित गरिएको हुन्थ्यो । विज्ञापन हेरेर धेरै दरखास्तहरू हालिएका हुन्थे । दरखास्तसाथ उनीहरूको व्यक्तिगत विवरण (बायोडाटा) र संस्थाले गरेको विज्ञापनको पदमा आफू किन योग्य छु भन्नेबारेमा एक पृष्ठको हस्तलिखित नोट पनि पेस गर्नुपर्ने व्यवस्था गरेका थियौँ ।

त्यसरी आवेदन हाल्नेहरूमध्ये करिब ९० प्रतिशत आवेदकहरूले काम खोज्न कस्तो विवरण (बायोडाटा) बनाउने ? त्यसमा के के उल्लेख गर्ने ? काम दिने संस्थाको मागलाई त्यो बायोडाटाले कसरी योग्य मान्छे छान्न सहयोग पु¥याउला भन्ने कुरा भने ख्याल गरेको पाइँदैनथ्यो । काम खोज्नका लागि आवश्यक पर्ने बायोडाटा तयारीमा उनीहरूको ध्यान पटक्कै पुगेको देखिँदैनथ्यो । त्यसपछिको अर्को हस्तलिखित नोटको अवस्था त झन् दयनीय थियो । अक्षर कस्तो लेख्ने ? कसरी लेख्ने ? भाषाको प्रवाह र कुराको तालमेल कसरी मिलाउने ? सुरु कसरी गर्ने ? लेख्दाखेरि प्रयोग गर्नुपर्ने शब्दावली कसरी ठीकसँग प्रयोग गर्ने ? आफनो क्षमता र दक्षता कसरी प्रस्ट्याउने ? यस्ता कलामा पटक्कै ध्यान दिएको पाइँदैनथ्यो । ज्यादै थोरैसँग मात्र त्यसको ज्ञान भएको पाइन्थ्यो ।

अन्तर्वार्ताको अवस्थामा आइपुग्दा झन् स्थिति दयनीय थियो । बल्लबल्ल  केही सीमित आवेदकहरूलाई छोटो सूचीमा समावेश गरेर बोलायो, न विषयको प्रस्तुतिको ढाँचा जानेको छ, न बोल्ने सीप छ, न संस्थागत कामको जिम्मेवारीबारे प्रस्टता छ । कुनै अध्ययनबिना नै दरखास्त हाल्न पुगेको पाइन्थ्यो  । त्यसरी कुनै पनि ठाउँमा चाहेको काम पाउन र आफूलाई क्षमतावान् साबित गर्न सकिँदैन ।

विश्वविद्यालयमा कुन विषयमा कति प्रतिशत अंक ल्याएको छ भन्ने कुरा कार्यक्षेत्रमा जाँदा त्यति महत्वको हुँदैन, जति ऊसँग सम्बद्ध सेवा प्रदान गर्ने भावना, काम गर्ने सीप र मानिससँग गरिने व्यवहार र संचारसीप । यी कला नभएको उत्कृष्ट अंकधारी स्नातकभन्दा ती कला भएको औसत अङ्कधारी स्नातक नै कम्पनीहरूको, संस्थाहरूको वा व्यस्थापकहरूको प्राथमिकतामा पर्छन् ।

सैद्धान्तिक ज्ञानलाई मानवीय सम्बन्धको सीप र भावनात्मक पक्षसँग जोडेर व्यवहारमा प्रदर्शन गर्न नसक्ने मानिस कहिल्यै पनि आफूले चाहेको क्षेत्रमा सफल हुन सक्तैन । त्यसैले ‘कुनै पनि क्षेत्रमा सफल हुन चाहने व्यक्तिले त्यसमा आवश्यक पर्ने ज्ञान र सीपको विकास गर्नुपर्छ’ भन्छन्, प्रसिद्ध पुस्तक ‘थिङ्क एन्ड ग्रो रिच’ का लेखक नेपोलियन हिल पनि ।