Monday, December 22, 2014

जीवन परिवर्तनका लागि योजना

यथास्थितिमा अल्झिरहेको, तनावयुक्त र प्रगतितिर नलागेको जीवन बाँच्न कसैलाई मन लाग्दैन । सबैलाई आफ्नो जीवन उन्नत, विकसित, सम्मानित, सम्पन्न, सन्तुलित र आनन्दित नै होस् भन्ने लाग्छ । त्यतातिर पाइला बढाएको पनि देखिन्छ, तर किन सफल हुँदैनन् ती मानिसहरू ? यसको रहस्य के हो ? कसरी काम गर्ने त सफल हुनका लागि ? आउनुहोस्, अब यसभित्र प्रवेश गरौँ । एउटा कथाबाट चर्चा सुरु गरौँ ।
 
योजनाविहीन व्यक्ति कहिल्यै सफल हुँदैन

केही वर्षअघिको कुरा हो, म एउटा प्रशिक्षण कार्यक्रम चलाउँदै थिएँ, भर्खर स्नातक उतीर्ण गरेका  युवाहरुका लागि । केही जोसिला युवाहरूको एउटा जमात प्रशिक्षण कार्यक्रममा सहभागी हुन भनेर आयो । कार्यक्रममा सामेल हुनुअघि छोटो कुराकानी भयो उनीहरुसँग । म आफैँ कार्यक्रम संचालन गर्ने मुख्य व्यक्ति भएकाले कुराकानी मैले नै सुरु गरेँ ।

मैले उनीहरुलाई सोधेँ— “तपाईँहरु जीवनमा के गर्न चाहनुहुन्छ ?”

थरिथरिका जवाफ दिए उनीहरुले । कोही राम्रो र आकर्षक जागिर खोज्न चाहन्थे, कोही उद्यमी बनेर धेरै पैसा कमाउन चाहन्थे, कोही समाजसेवाको काम गर्न चाहन्थे, कोही राजनीतिमा लागेर नेता बन्न चाहन्थे कोही गाउँको आफ्नै खेतबारीमा आधुनिक तरिकाले खेतीपाती गर्न चाहन्थे । कोही चाहिँ विदेश गएर राम्ररी पढ्ने र त्यहीँ काम गरेर धेरै पैसा कमाउन चाहन्थे ।

मैले सबैजसो सहभागीहरूका उत्तर सुनेपछि फेरि सोधेँँ— “यी कुरा प्राप्त गर्नका लागि काम गर्ने कसरी ? कसले यसमा सहयोग गर्न सक्छ ? पुँजी कति चाहिन्छ ? आफ्नो ज्ञान, सीप र दक्षता पुग्छ कि पुग्दैन ? त्यो सीप विकास कसरी गर्ने ? अप्ठ्यारोसँग जुध्नुप¥यो भने त्यसका लागि कस्तो योजना छ ? यसबिारेमा केही सोच्नुभएको छ ?”

यी सबै कुरा सोध्न थालेपछि उनीहरूको जोस, जाँगर र ऊर्जा सबै ओरालो लाग्न थाल्यो । अन्तर्वार्ता सकिँदा सबैजसो सहभागीहरू खुइय गर्न थाले । एक प्रकारको निराशा थियो उनीहरूको अनुहारमा ।

त्यसपछि हामीले केही दिनको परामर्श सेवा दियौँ उनीहरुलाई । परामर्शपछि केही युवाहरू ऊर्जावान् भएर काममा लाग्न तयार भए । अहिले तीमध्ये केही युवाहरू स्वरोजगार छन् । कोही विदेशमा गएर राम्रो कमाइ र पढाइ दुवै गर्न सफल भएका छन् । कोही उद्यमी बनेर केही मानिसलाई रोजगारी पनि दिइरहेका छन् ।

माथिको कथाबाट बुझिन्छ, सफल हुन र आफूसँगको ज्ञानलाई आर्थिक आर्जनमा परिणत गर्नका लागि जोस, जाँगर, इच्छा र लक्ष्य भएर मात्र पुग्दैन, त्यसलाई सफल पार्नका लागि व्यवस्थित योजना पनि आवश्यक हुन्छ । सबै कुरा कुनै पनि मानिस एक्लैले गर्न सक्तैन । एउटा मानिसको सफलता र उन्नतिमा कैयौँ मानिसहरूको साथ र सहयोग आवश्यक हुन्छ । केवल सपना र इच्छा बताएर सहयोग पाउन सकिँदैन । म सही काममा र सही कार्ययोजनाका साथ लागिरहेछु भनेर विश्वास दिलाउनु आवश्यक हुन्छ । त्यसका लागि चाहिन्छ– व्यवस्थित योजना । योजना नभएको इच्छा जतिसुकै आकर्षक भए पनि त्यसले हामीलाई सफलतामा पु¥याउन सक्तैन । अझ आर्थिक आर्जन गर्ने र भौतिक सम्पन्नता हासिल गर्ने कुरामा त योजना  नभई हुँदैन ।
 
योजनाले विश्वास जगाउँछ

दुईजना व्यापारी वाणिज्य बैंकमा ऋण माग्न गएछन् । एउटा निकै वर्षदेखि कारोबार गरिरहेको मानिस थियो, अर्को चाहिँ नयाँ । नयाँ व्यापारी आफ्नो साथमा व्यवस्थित योजना लिएर सबै आवश्यक कागजातसाथ बैंकमा गएको थियो । ऊ कुनै नयाँ व्यवसाय सुरु गर्न चाहन्थ्यो । त्यसका लागि आवश्यक अनुभव पनि उसले अर्को ठाउँमा काम गरेर आर्जन गरिसकेको थियो । पुरानो जुन व्यापारी थियो ऊसँग अनुभव त थियो तर ऋणका लागि आवश्यक पर्ने कुनै कागपत्र र तयारी गरेको थिएन । योजनामा ऊ कमजोर थियो ।

दुवैले ऋण आवेदनपत्र भरेर पेस गरे । पुरानोले म अनुभवी छु, धेरै वर्षदेखि व्यापार गरिरहेको छु भनेर व्याख्यान दियो, तर निवेदनबाहेक केही पनि कागज–प्रमाणहरू पेस गरेन । आवश्यक प¥यो भने पछि पेस गर्नेछु मात्र भन्यो ।

नयाँ जुन युवक थियो, निवेदनसाथ उसले आफ्नो योग्यता र अनुभव झल्किने बायोडाटा, व्यापार व्यवसायको व्यवस्थित योजना, वित्तीय अवस्था झल्काउने विवरण अनि ऋण तिर्ने योजनासहितको प्रस्ताव पनि पेस गरेको थियो । आफ्नो व्यवसायमा आउन सक्ने जोखिम, यसमा हुने फाइदाको अवस्था, सरकारको नीति, आवश्यक पर्ने पुँजी, त्यसका लागि स्रोतहरू सबै कुरा उसको प्रस्तावमा प्रस्ट थिए ।

बैंकका अधिकृतले दुवैको निवेदन लिए र उनीहरूको व्यवसायस्थलको निरीक्षणमा गए । पुरानो जुन व्यापारी थियो, ऊसँग आफ्नो निजी व्यापार गरिरहेकाले व्यापारको हिसाब राख्ने खातापाता पनि थिएन, दस वर्षदेखि उसले सामान खरिद–बिक्रीको कुनै हरहिसाब राखेको पनि थिएन । बैँक खाता भर्खर मात्रै खोलेको थियो । आफ्नो व्यवसाय बारेको जोखिम र सम्भाव्य प्रतिस्पर्धाका बारेमा पनि सोचाइ बनाएको थिएन ।

अर्को नयाँ व्यवसायी भने कम्प्युटर सफ्टवेयरमा लेखा राख्ने तयारीमा थियो । व्यवसायको भावी स्वरूपको बारेमा उसको स्पष्ट मार्गचित्र थियो । व्यवसाय सञ्चालन र उद्यमशीलताबारे एउटा छोटो अवधिको तालिम पनि लिइसकेको थियो ।

बैंक अधिकृतले दुवैको निरीक्षणपछि उनीहरूको ऋण आवेदनका बारेमा राय पेस गर्नुपर्ने थियो । उनले पुरानोलाई ऋण दिनुभन्दा नयाँलाई ऋण दिनु उपयुक्त हुने प्रतिवेदन पेस गरे । पुरानोले ऋण पाएन, नयाँ व्यवसायीले ऋण पायो ।

अहिले त्यही युवा व्यवसायी नेपालकै प्रसिद्ध आयात–निर्यातकर्ता व्यापारी भएको छ । नेपाल भित्रिने धेरै उपभोग्य सामानहरू विदेशबाट भित्र्याउने काममा संलग्न छ । व्यापारको विविधीकरण गरिरहेको छ । प्रतिस्पर्धात्मक व्यापारको बीचमा पनि अफूलाई निरन्तर अगाडि बढाइरहेको छ ।

त्यसैले जुनसुकै काम गर्न पनि इच्छा मात्र भएर पुग्दैन, लक्ष्य बनाएर मात्र हुँदैन, त्यसलाई सफल बनाउन आवश्यक पर्ने योजना पनि बनाउनुपर्छ । अधिकांश मानिसहरू व्यवस्थित योजना बनाउँदैनन् । बनाइहाले पनि उनीहरूसँग वैकल्पिक योजनाको अभाव हुन्छ । एउटा योजनामा काम गर्दा सानोतिनो बाधा आयो कि हतास–निराश भएर हातपाउ बस्ने अवस्थामा पुग्छन् । त्यसैले योजना मात्र बनाएर पनि पुग्दैन त्यसका अनेकन विकल्पहरूको अध्ययन गरेर वैकल्पिक योजना पनि बनाउनु आवश्यक हुन्छ ।
 
विचारलाई योजनामा बदल्ने कसरी ?

कुनै काम सुरु गर्दा वा व्यवसाय सुरु गर्ने विचार गर्दा तपाईँको कल्पनामा आएका हरेक कुरालाई टिपोट गर्नुहोस् । ती टिपोटहरूमा आएका कुराहरूका आधारमा एउटा मुख्य योजना तयार पार्नुहोस्, त्यसरी तयार पारिएको योजनामा काम गर्न थाल्नासाथ अनेक त्रुटिहरू देखिन थाल्छन् । ती त्रुटिहरूका कारण अनेक बाधा र असफलता पनि आउन सक्छन् । दीर्घकालीन उद्देश्यमा लागेर योजनाबद्ध रूपमा काम गर्दा अल्पकालीन असफलता आउनु स्वाभाविक हो । यसरी आउने असफलताले धैर्य र लगनशीलताको परीक्षा गर्छन्, सिर्जनात्मकता बढाउँछन् र सिक्ने दृष्टि विकास गर्छन् । त्यसैले बनाएको एउटा योजनामा बाधा व्यवधान आए र असफल भए जस्तो देखिए पनि त्यसबाट नआत्तीकन अर्को वैकल्पिक योजना तयार पार्नुहोस् । त्यसलाई नै आरम्भ मानेर फेरि पूर्ण ऊर्जाका साथ सुरु गर्नुहोस् ।

अल्पकालीन पराजय नै दीर्घकालीन असफलता हुन सक्तैन । अव्यावहारिक, अपूर्ण र त्रुटिका कारण त्यो योजना असफल भएको ठान्नुहोस् । योजना दमदार थिएन वा त्रुटियुक्त योजना थियो भन्ने ठानेर नयाँ रूपमा त्यसलाई फेरि अघि बढाउनुहोस् । आवश्यक प¥यो भने त्यसलाई थोरै समय ब्रेक गरेर सुधार र परिमार्जन पनि गर्नुहोस् । योजना नै बिचारलाई शक्ति दिने र सफलतामा पुर्याउने मुख्य तत्व हो । निरन्तर योजनाका साथ लागिरहने मानिस जीवनमा न कहिल्यै निराश हुन्छन् न कहिल्यै हार मानेर बसिरहन्छन् । जीवन बदल्ने सबैभन्दा मुख्य कुरा हो व्यवस्थित योजना । त्यसलाई आत्मसात गरेर बढीभन्दा बढी समय योजना बनाउनमा लगाउनुस् सफलता नजिक ल्याउँछ त्यसैले ।  

जीवनदर्शन अंक ३ मा प्रकाशित