Sunday, July 1, 2018

कुटनीति र राजनीतिः एउटा ‘किङमेकर’को आत्मकथा

कोही मानिस आफ्नो निम्ति काम गर्छन भने कोही चाहिँ अर्काको निम्ति काम गर्नमा औधि रुचि लिन्छन् र सन्तोष मान्छन् । शक्तिमा पुग्न चाहने र शक्तिमा रहेकाहरुसँग घुलमिल भएर विश्वास जित्ने र आपूmले चाहेको काम गराउने शक्ति भएकाहरुलाई नै शायद ‘किङमेकर’ भनिन्छ । भारतीय भूखण्डमा मौर्य वंशको शासनकालका चाणक्य असाध्यै कुसल ‘किङमेकर’ मानिन्छन् । आपूm ब्राह्मण भएकाले युद्धकलामा होमिएर मौर्य वंशको गौरव रक्षा गर्न उपयुक्त नहुने भए पनि त्यसका लागि उपयुक्त पात्र समुद्र गुप्त मार्फत् आपूmले चाहेको काम गर्ने कुसल रणनीति र कुटनीति अपनाएर तत्कालीन भारतको गौरव जोगाउन सफल भएकाले अहिले पनि कुटनीति, राज्य र जातीय गौरवको उच्च आदर्श मानिन्छ चाणक्यलाई । उनले लागू गरेका कतिपय राजनीतिक समाधान र कुटनीतिका प्रयासहरु अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छन् । 

इतिहासका कालखण्डमा अनेक ठाउँमा यस्ता मानिसहरु जन्मे र कैयौँ मानिसलाई आफ्नो ज्ञान र क्षमता प्रयोग गरेर अरु मार्फत् आपूmले चाहेको काम गराउन सफल भए । तिनका अनुभवले अहिले पनि मानव जाति लाभान्वित भइरहेको छ । भारतका लाल बहादुर शास्त्री र इन्दिरा गान्धीलाई त्यो ओहदामा पुर्याउनमा के कामराजको ठूलो भूमिका रहेको मानिन्छ । अहिलेको भारतीय राजनीतिमा अमित शाह यस्तै प्रभावशाली व्यक्ति मानिन्छन् जो भाजपाका अध्यक्ष र मोदीका प्रमुख रणनीतिक योजनाकार हुन् । 

नेपालमा यस्तै उचाइ र प्रभावका व्यक्तित्व नदेखिए पनि नेपालको कुटनीति र परराष्ट्र मामिलामा रमेशनाथ पाण्डे पनि ‘नेपालका चाणक्य’ मानिन्छन् । उनको आत्मकथा ‘कूटनीति र राजनीति’ पढिसकेपछि यो निष्कर्ष अझै प्रबल हुन्छ । १४ वर्षको उमेरमै पत्रकारितामा प्रवेश गरेका पाण्डे १६ वर्ष पुग्दानपुग्दै विदेशी सरकार प्रमुखहरुसँग अन्तर्वार्ता लिने र प्रश्न गर्ने हैसियत बनाइसकेको बुझिन्छ । विश्वेश्वर प्रसाद कोइराला सुन्दरीजल जेलमा भएको बेलामा दरवार र विपिको सम्पर्क सूत्र र पुस्तक आपूर्तिकर्ता बनेका पाण्डे त्यसपछिको करिब ५० वर्षको नेपाली राजनीति र वैदेशिक मामिलामा गहिरो अभिरुचि राख्ने, चिन्तन गर्ने र विदेशी विशेष दूतको रुपमा काम गर्ने अवसर पाएका व्यक्तित्व हुन् । धेरैले दरवार नजिकका पत्रकार र दरवारका विश्वास पात्र व्यक्तिका रुपमा चिन्ने गरे पनि वि.पि. कोइरालाको आत्मवृतान्त प्रकाशमा आएपछि भने पाण्डेको पहिचान दरवार र राजासँग मात्र सीमित रहेन । चाहे प्रजातन्त्रवादी होउन् वा वामपन्थी सबैलाई राष्ट्रिय स्वार्थ र देशको स्वाभिमान र विकासका लागि उपयुक्त रणनीतिक सरसल्लाह दिने र अन्तर्राष्ट्रिय समुदायसँग त्यसका लागि उचित भूमिका निर्वाह गर्न सक्ने पात्रको रुपमा पनि उनलाई ग्रहण गर्न थालियो । 

केही वर्षअघि प्रकाशनमा आएको ‘कूटनीति र राजनीति’ रमेश नाथ पाण्डेको अनुभवको सँगालो हो । सकेसम्म वस्तुनिष्ठ बनेर लेखिएको यो आत्मकथा आकारमा जति ठूलो छ यसले समेटेको विषय, परिवेश र व्यक्तिहरुको समूह र शासन प्रणालीको चित्रणको दायरा पनि  त्यतिकै फराकिलो छ । नेपालका छिमेकीहरुको सम्बन्धमा आउने गरेका समस्या, उतारचढाव, छिमेकीहरुको आन्तरिक राजनीति र विदेश नीति, उनीहरुको शासन सञ्चान कला आदि बारे पुस्तकले राम्रैसँग उजागर गरेको छ । यसबाहेक नेपालका राजनीतिक व्यक्तित्वहरुको शासन शैली, राष्ट्र र राष्ट्रियताप्रतिको दृष्टिकोण, उनीहरुका कुसलता र अकुसलताको मसिनो र भित्री चित्रण पनि पुस्तकमा गरिएको छ । 

सानै उमेरमा जेल परेर आमरण अनसनसमेतको अनुभव गरिसकेका पाण्डेमा त्यसपछिका दिनमा आफ्नो जीवन, आफ्नै भिजनमा कसरी हिँडाउने भन्ने दृढता र लक्ष्यउन्मुख रुपमा आपूmलाई अगि बढाउने दृढता कसरी विकास हुनसक्यो त्यसको उजागर पुस्तकले राम्ररी गरेको छ भने सम्बन्ध कलाका कतिपय रमाइला आयामहरुको प्रस्तुति गरेर पाण्डेले भावी पुस्तालाई वैदेशिक सम्बन्धको कला सिक्ने उपयुक्त अवसर पनि प्रदान गरेका छन् । 

अहिले रेलको चर्चा उनी विदेश मन्त्री हुँदाताका नै उठेको र नेपालले चीनबाट पनि पारवहन सुविधा लिनुपर्छ भन्नेमा मध्य एसियाका केही नेताहरुले सुझाव दिएको कुरा पनि पाण्डेले उल्ल्ेख गरेका छन् । यी बाहेक म्यान्मारबाट बंगलादेश हुँदै भारतले ल्याउने ग्यास पाइप एउटा शाखा नेपालतर्फ पनि ल्याउने भनेर बिम्स्टेक बैठकमा सहमती भइसकेको कुरा उल्लेख गरेर केही दूरगामी महत्वका कुराहरुले निरन्तरता नपाउँदा देशले लाभ पाउन नसकेको कुरा पनि पाण्डेले उल्लेख गरेका छन् ।

आत्मकथामा नायक स्वयं हुने र ऊ नै सबै अवस्थाको हिरो हो भन्नेजस्तो कहीँ कहीँ देखिनु स्वाभाविक भए पनि करिब ७२५ पृष्ठ लामो पुस्तकमा उल्लिखित प्रसङ्गहरुले नेपालको राजनीति र कूटनीतिको अवस्था र दिशा भने राम्रैसँग देखाउँछन् । तेस्रो पटक संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न उनले शुरु गरेको प्रयास पछिल्ला विदेश मन्त्रीले निरन्तरता नदिएको र आपूmले गरेका प्रयास बताउन समय माग्दा पनि नपाएको प्रसङ्ग उठाएर पाण्डेले हाम्रो देशमा अरुका अनुभव सुन्ने र निरन्तरताको एक कडीका रुपमा आपूmलाई लिने परम्परा हराउँदै गएको प्रसङ्ग उक्काएका छन् । यसले देशको परराष्ट्र मामिलामा कूटनीतिक निरन्तरताको अनुभूति हुन सकेन भन्ने मार्मिक अनुभव पाण्डेको पुस्तक पढेपछि अनुभव हुन्छ । विदेशीहरुसँगको सम्बन्धमा कुराकानीको रेकर्ड राख्ने प्रचलन नहुँदा कतिपय सन्दर्भमा संस्थागत स्मृति नै नरहने अवस्थाको मार्मिक चित्र उनले प्रस्तुत गरेका छन् भने सार्क गठनका सन्दर्भमा भारतीय प्रधानमन्त्रीसँग भएको संस्थागत कुराकानीको टिपोटले कसरी सार्क गठन सम्भव भएको थियो भन्ने उल्लेख गरेर यसको महत्वका बारेमा पाण्डेले दृष्टान्त प्रस्तुत गरेका छन् । 
मानिसको लेखन सर्वाङ्ग पूर्ण हुँदैन, कमीकमजोरी केही मात्रमा हुन्छन् नै । पाठकका केही जिज्ञासा पुस्तक पढिसक्ता ज्युँदै रहन्छन् । जस्तो उनको दरवारसँग सम्पर्क कसरी भयो ? विपिसँग कसरी भेट भयो ? विपिसँग कसरी सम्बन्ध गहिरियो ? यस्ता कुराको थोरै संकेत भए पनि खासै चर्चा गरेको पाईंदैन । आगामी संस्करणमा ती कुराहरु थपिएमा पाठकको जिज्ञाशा शान्त हुने थियो । 

७०० पृष्ठभन्दा लामो आकारको पुस्तक लेख्नु र पढ्नु दुवै कष्टकर छन् । लामो धैर्यले मात्र यसलाई छिचोल्न सकिन्छ । राजनीति र कूटनीतिको जानकारी लिन चाहनेहरु, अध्येता र अनुसन्धाताहरुका लागि त छँदै छ यसबारेमा काम गर्न चाहने नेता, कार्यकर्ता, बौद्धिक व्यक्तित्व सबैका लागि यो पुस्तक एउटा उपयोगी पुस्तक हो । भावी पुस्तको लागि अर्को राजनीतिक दर्पण हो । कूटनीतिक क्षेत्रमा काम गर्नेहरुका लागि तालीम–पुस्तिका हो ।