Sunday, May 14, 2017

सुनिलबाबु श्रेष्ठसँग ‘सम्झना–बगैँचा’ चहार्दा

नयाँ ठाउँ, नयाँ वस्तु, नयाँ कामको चाहना राख्नु त्यस्ता ठाउँ घुम्नु, हेर्नु र त्यसबाट केही सिक्नु, आनन्दित हुनु अनि स्मृतिमा सँगालेर त्यसका कथा सुनाउनु शायद मानिसले आदि कालदेखि नै गर्दै आएको काम हो । हामीमध्ये कैयौँले देश–विदेशका रमाइला ठाउँहरु घुमेका हौँला, नयाँ वस्तु र कामबारे जानकारी हासिल गरेका हौँला तर कतिले ती नयाँ र कामलाग्दा अनुभवलाई लिपीबद्ध गर्ने गरेका छौँ ? शायद प्रतिशतमा आउँदैन त्यो संख्या । संसार घुमेर आनन्दसँगै जानकारी एकठ्ठा गर्ने र त्यसलाई लिपीबद्ध गरेर अरुलाई पनि जानकारी गराउने, अनुभव, सूचना र ज्ञान बाँड्ने काम साह्रै थोरै मानिसले गरेका छन् र अहिले पनि घुमेर देखेका र भोगेका अनुभव लेखेर संसारलाई जानकारी गराउनेहरु अत्यन्त थोरै छन् । 

संसार घुमेर अनुभव गरेका, देखेका र भोगेका कुराहरु लिपीबद्ध गर्ने अनेक तरिका छन् । कसैले डायरी लेख्छन्, कसैले यात्रा–वृतान्त लेख्छन्, कसैले यात्रा–अनुभव लेख्छन् अनि कतिले त्यसलाई भावनासँग जोडेर नियात्रा लेख्ने गर्छन् । यी सबै यात्रा–वृतान्त नै हुन् वास्तवमा । पाश्चात्य क्षेत्रमा यस्तो लेखन शुरु भएको पाइन्छ इशाको दोस्रो शताब्दीतिर । इशाको दोस्रो शताब्दीतिर लेखिएको भनिएको पौसानियाको ‘ग्रीसको वृतान्त’ नै अहिलेसम्मको प्राचीन लेखन हो यात्रासम्बन्धी । त्यसपछिका अरबी साहित्यमा यात्रा–वर्णन गरेर लेखिएका कैयौँ कृतिहरु पाइन्छन् जसले यसको प्रयोग पाश्चात्य र पूर्वीय दुवै साहित्यमा चलेको प्रमाणित गर्छन् ।  

यात्रा साहित्यको लोप्रियताको श्रेय भने चीनियाँ साहित्यलाई जान्छ । मध्ययुगीन चीनको साङ राजवंश काल (ईं.सं.९६० देखि १२७९)मा यसलाई चीनियाँ भाषामा ‘योउजी वेन्स्यु’ अर्थात् ‘यात्रा–अभिलेख साहित्य’ भनिन्थ्यो । त्यस्तो साहित्य व्याख्यात्मक, गद्यात्मक, डायरी वा निबन्धको रुपमा लेखिन्थ्यो । 

जापानमा यस्तो यात्रावृतान्त लेखन आठौँ शताब्दीतिर शुरु भएको मानिन्छ । कुकाइको ‘जोराइ मोलुरोकु’(सन् ८०६), किनो सुराओकीको ‘तोसा डायरी’ (दशौँ शताब्दीतिर) जापानका पुराना यात्रा साहित्य मानिन्छन् ।  
पेट्रार्क (सन् १३०४–१३७४)को सन् १३३६ मा लेखिएको ‘एक्सेन्ट अफ माउन्ट भेन्टक्स’ नै यस्तो कृति हो जो यात्रा वृतान्त लेख्ने अभिप्रायले यात्रा गरेर आपूmले गरेको अनुभूति समेटेर कृति तयार पारेका थिए । हुनतः ईसापूर्व आठौँ शताब्दीतिर लेखिएको मानिएको होमरको ‘ओडेसी’ महाकाव्य पनि एक किसिमको यात्रा–काव्य नै हो जो ट्रायको युद्धपछिको यात्रा वर्णनमा आधारित छ । जे होस् आधुनिक युगमा यात्रावृतान्त एउटा महत्वपूर्ण पाटो बनेको छ साहित्यको । यस्तो लेखनको लोकप्रियता भने मार्कोपोलोको चीन यात्राको अनुभवमा आधारित ‘द मिलियन’ (सन् १२९८)पछि नै हासिल भएको हो । 

इसाको अठारौँ शताब्दीमा यात्रा अनुभवमा आधारित धेरै प्रसिद्ध कृतिहरु लेखिए । जेम्स कुकको डायरी (सन् १७८४) अत्यन्तै लोकप्रिय रह्यो संसारभर नै । जोसेफ कनार्डको ‘हर्ट अफ डार्कनेस’, ड्यानियल डिफोको ‘रोबिन्सन क्रुसा’े, जोनाथम स्विफ्टको ‘गुलिभर्स ट्राभल’, जुलेस भर्नेसको ‘द जर्नी एराउन्ड द वल्र्ड इन एट्टी डेज’ यस्तै प्रसिद्ध कृति हुन् । त्यसपछिका धेरै विख्यात लेखकहरु यसतर्फ तानिएको पाइन्छ । हान्स क्रिस्चियन, चाल्र्स डिकेन्स, मार्क ट्वीनहरुले पनि यात्रा लेखन साहित्यमा कलम चलाएका पाइन्छन् । 

भारतीय साहित्यमा भि एस नयपालको ‘इन्डियाः अवन्डेड सिभिलाइजेसन’ (सन् १९७६) प्रकाशनमा आएपछि यात्रा लेखनले साहित्यमा चर्चा पाएको पाइन्छ । नेपालमा यात्रा साहित्यलेखनमा तानासर्माको नाम यस्तै प्रसिद्ध नाम हो जसले यात्रालाई यात्रावृतान्त मात्रमा सीमित नराखेर अनुभूति थपेर साहित्यसँग जोड्ने काम गरे । ‘बेलायततिर बरालिँदा’ प्रकाशनमा आएपछि नेपाली साहित्यमा यात्रा साहित्यले महत्वपूर्ण स्थान जमाएको पाइन्छ । हुनतः त्यसअघि पनि त्यस्ता साहित्य नलेखिएका होइनन् तर भाव र भावनासँग र अनुभूतिमूलक साहित्यिक अभिव्यक्तिको लेखनको श्रेय भने उनलाई नै जान्छ । 

हाल आएर धेरै नेपाली लेखकहरुले यात्रा साहित्यमा कलम चलाएका छन् । घनश्याम राजकर्णिकार, प्रकाश ए राज, निर्मोही व्यास, कृष्ण बजगाईं, जीवा लामिछाने आदि लेखकहरु यस क्षेत्रमा थपिएका छन् । तिनका यात्रा साहित्यले संसारका धेरै कुरा नेपालीहरुलाई पस्केका छन् स्वादिलो बनाएर । यसै मेसोमा थपिएका छन् डा. सुनिलबाबु श्रेष्ठ ‘सम्झना–बगैँचा’ मार्फत् । 

ठीक्कको स्लीम शरीर, शान्त र हँसमुख अनि विनम्र स्वभाव । सुनिललाई प्रथम पटक भेट्ताको मेरो अनुभव त्यस्तै रह्यो । शायद उनलाई चिन्नेहरुको प्रथम प्रभाव यही हुन्छ होला व्यक्तिका रुपमा । व्यक्तिको रुपमा डा. सुनिल जस्ता छन् त्यस्तै छ उनको ‘सम्झना–बगैँचा’ पनि । थोरै बोल्ने, बढी गफ नगर्ने अनि आपूmलाई लागेको कुरा सटिक शब्दमा सकेसम्म कम शब्दमा व्यक्त गर्ने । उनको स्वभाव र अभिव्यक्तिको प्रथम अनुभव यस्तै रह्यो मेरो ।
‘सम्झना–बगैँचा’को अग्रभागमा हरियो जङ्गलले घेरिएको सुन्दर प्यागोडा शैलीको मन्दिर, तलपट्टि सफा पानीको पोखरी अनि दायाँ भागमा झलक्क हेर्दा जापानी जस्तै लाग्ने झर्झराउँदो युवाको फोटो छ । म त्यो बगैँचा नियाल्न थाल्छु, सोच्छु सझनाको पनि बगैँचा हुन्छ ? बगैँचा त पूmल र बिरुवाको पो हुन्छ । मनले भन्छ, मिलेन यो कुरा । अघि बढ्छु बगैँको प्रस्थान गेटमै गाइडभैmँ भेटिन्छन् प्रा.राजेन्द्र सुवेदी । हुनसम्मको वृतान्त पस्कन्छन् सुवेदीले सुनिलको बगैँचाका बारेमा । बगैँचा भ्रमणका लागि एक कदम मात्र अघि बढ्छु सुनिल अघि सर्छन् केही भन्न हतारिएझैँ । म उनका कुरा सुन्छु धैर्यपूर्वक । 

सुनिल मलाई बताउँदै जान्छन्, पूmलहरु देखाउँदै र व्याख्या गर्छन्– यो बगैँचा कसरी जन्म्यो ? म कसरी यसको जन्मदाता हुन पुगेँ ? आदिआदि । उनी मलाई बगैँचाका एकभन्दा एक राम्रा पूmलतिर तान्दै जान्छन् । कहिले उनी जापानी भू–भागको नेपाली मन्दिरमा पु¥याउँछन्, कहिले जापानी रेल र बसमा सयर गराउँछन् त्यसको सेवा वर्णन गर्दै । बगैँचाभित्रको जापानी बगैँचामा पु¥याउँदै गफिन्छन् सुनिल उनीहरुको तारिफ गर्दै । म उनका कुरा सुन्छु गम खाँदै । किन बनाउन नसकेका हामीले प्रकृतिको नजिक रहेर पनि त्यति रमाइला बगैँचा ? के ले छेक्यो हामीलाई त्यस्ता बगैँचा बनाउन ? प्रश्नसँगै उनी अगुवाइ गरिहेकाले म पछ्याइरहन्छु । उनी मलाई बगैँचाभित्रका कारुणिक कथा सुनाउँछन् टोकियोका पार्कमा नीला पाल टाँगेर बस्ने जापानी सुकुम्बासीहरु देखाउँदै । मेरो मन द्रवित हुन्छ र भन्छ, मानिसको दारिद्र्य नाश हुने मनले हो कि धनले ? राष्ट्र धनी हुँदैमा जनता धनी भइहाल्छन् भन्ने पनि भ्रम नै हो त हाम्रो ? त्यासो हो भने संसारको सबैभन्दा धनी देश जापानका मानिस पनि सुकुम्बासी कसरी बने ? मनमा कुचकुच लागिरहन्छ । उनी मलाई बगैँचाको एउटा सुन्दर घरमा लैजान्छन् जापानी चिया चखाउन । त्यहाँ जापानको चिया घर र संस्कृतिबारे लामै व्यख्यान् दिन्छन् । शायद उनलाई त्यो चिया संस्कृतिको निकै माया लागेको छ । अनि बाहि¥याउँदै अगुवाइ गर्छन् कराइमो होम स्टेतिर । त्यहाँ लगेर जापानी संस्कृति, पाहुनालाई गरिने व्यवहार अनि बोलचालका बारेमा व्याख्या गर्दै जान्छन् । म उनको व्याख्यामा मनमुग्ध हुँदै जान्छु ।
मलाई सुनिलको ‘सम्झना–बगैँचा’ घुमिसक्नु छ उनीसँगै हिँडेर । मेरो मन उनको बगैँले अलि दिक्क मान्छ वर्णनको अलि निरशता देखेर । भाषाको रिपोर्टपरक शैली, अखवारी रिपोर्टिङ जस्तो प्रस्तुतिले मलाई बगैँचा डुल्न अलि दिक्दार बनाउँछ तर पनि उत्सुकता छ बगैँचाको सुन्दरता पिउने र रमाउने । के होला त बगैँचाको अर्को कुनामा ? फेरि जिज्ञाशा उमार्छु र उनीसँगै लाग्छु पछिपछि । उनी मलाई जापानी विवाह उत्सवमा रमाउँदै गरेका युवायुवतीसँग भेटघाट गराउँछन् । उनीहरुको विवाह व्यवस्थापन कलाबारे गाइड गर्छन् । निम्तो कसरी दिन्छन् ? भोज कसरी आयोजना गर्छन् ? उपहार कसरी दिने गर्छन् ? विवाह कसरी सम्पन्न गरिन्छ ? भन्दै जान्छन् उनी, म सुनिरहन्छु । 

मलाई विवाह उत्सवबाट निकालेर अग्लो जापानी टावरमा पु¥याउँछन् सुनिल । धराहरा ढलिसकेपछिको र ढल्नुअघिको कथा गाँस्तै टोकियो टावरको संरचना खोतल्दै सुनाउँछन् । उनका प्राविधिक कुरा म त्यति बुझ्दिन तर मनमा लागिरहन्छ त्यस्तै हल्लिँदा नढल्ने धरहरा बनाउने कहिले होला काठमाडौँको अग्लो ठाउँमा ? त्यो दिन देख्न पाउँला हामीले ? कठै मेरो देश, राजनीतिको धरहरा ठड्याएर बुरुक््बुरुक् जनता उफारेर एक–अर्काको आलोचनाका शब्दशीखर बनाउन नछोडेसम्म कहाँ सम्भव होला र यस्तो टावर ? मेरा आँसु टिल्पिलाउँछन् उनको बगैँचा घुम्दाघुम्दै अनि धिक्काछु आझ्नै बुद्धिलाई र लाग्छु फेरि उनको पछि बगैँचा चाहार्न ।

सुनिल मलाई बगैँचा घुमाउन निकै मिहिनेत गर्छन् । चिल्लो जापानी साइकलमा सवार ‘स्यालरी म्यान’हरुको साइकल चढाएर सुन्दर र चिटिक्क परेका तर पटक्कै गफ गर्न नमिल्ने अफिसको कोठाभित्र पसाउँछन् जहाँ बिहान सबेरै घरबाट निस्केर बिना गफगाफ ‘स्यालरी म्यान’हरु काममा लाग्छन् र आपूmले पाएको जिम्मेवारी कसरी पूरा गर्ने भनेर अबेरसम्म टसमस नभई मिहिनेत गरिहन्छन् । खाना पनि सडकबाटै किनेर खान्छन् । व्यक्तिभन्दा ठूलो त मेरो देश र संस्था हो भन्छन् । म मेरो देशका ‘स्यालरी म्यान’हरु सम्झन्छु, जो शायदै तोकिएको समयमा काममा पुग्छन् । काममा लाग्नुअघि घन्टौँ अखबारमा झुम्मिन्छन, गफमा रम्छन्, सेवाग्राहीलाई काँडाझैँ ठान्छन् अनि सकेसम्म काम नगरी स्यालरी बुझ्न पाएहुन्थ्यो भन्ने सोच्छन् । काम गर्नुपरे टेबलमुनिबाटै नजरनाको आस गर्छन् । मेरो मन कुडिन्छ सुनिलसँग हाँसिरहेका ती स्यालरीम्यानहरु देख्ता । म सन्,न हुन्छु अनि सोच्छु के मेरो देशका स्यालरी म्यानहरु पनि ती जापानी स्यालरी म्यानझैँ हुने दिन आउला ? म कालो अनुहार लाएर सुनिलको बगैँचा चाहार्दै परपर हेर्छु, भविष्यतिर, आँखा डब्डबाउँछन् मेरा र टपक्क आँसु खस्छन् उनको बग्ैँचाका पूmलहरुमा । 

सुनिल मलाई बगैँचा घुमाउन गाइड बनेर अगुवाइ गरिरहेकै छन्, मलाई थकाइ लागे पनि । उनको घुमाउने जाँगरका अगाडि मेरो अल्छीले पनि आराम लिन सक्तैन । म उनको पछि लुरुलुरु हिँडिरहन्छु लुरुलुरु । उनी मलाई सडक किनाराका अबिर, पूmल र अक्षेताले लतपतिएकासडकछेउका हाम्रा देवी–देवता जस्तै लाग्ने रोबोउसी देखाउन थाल्छन् । एक–एक गर्दै रोबोउसीको वर्णनमा एकोहोरिन्छन् सुनिल । म वाक्क हुनै लागेको ठानेर मलाई सडकबाट ओसाका क्यासल चढाउन थाल्छन् र त्यहाँबाट ओसाका शहर नियाल्न भन्छन् । मेरो पहाडको घरभन्दा फरक त छैन त्यो संरचना तर बुद्धि पु¥याएर बनाइएको छ । त्यसैले सिमेन्ट र माटोकै जोडले उभिएर पनि भूकम्पको हल्लाइमा टसमस भएको छैन त्यो ढुंगे घर । कसरी बनाए होलान् यस्तो संरचना ? हामीलाई पनि पो काम लागिहाल्छ कि ? मन जिज्ञासु हुन्छ जान्न तर सुनिल हतारमा छन् । उनको बगैँचा घुमाइसक्नु छ उनलाई । मलाई अगुवाइ गर्छन् फेरि जङ्गलले ढाकिएको व्यस्थित शहरतिर । त्यसबारे उनको आफ्नो सोचाइ जोड्छन् प्रश्न गर्दै । के जङ्गलले खान दिन्छ ? हरियो मात्र भएर हुँदैन खान मिल्ने हरियो रुख रोप्नुपर्छ भन्छन् सुनिल । म उनको कुरा सुनिरहन्छु । उनी मलाई बगैँचाको बाहिरिने गेटनजिकै उभिएर भन्छन्, ‘शहर मात्र बनाएर हुँदैन, बगैँचा मात्र भएर पुग्दैन, आफ्नो लागि खाने कुरा पनि उत्पादन गर्नुपर्छ त्यस शहरमा बस्नेहरुले । के तपाई शहरको एउटा कुनामा खानमिल्ने वस्तु उत्पादन गरिहनुभएको छ ?’ प्रश्न गर्छन् उनी मलाई । कसैले उत्पादन नगर्ने हो भने कसले खुवाउँछ हामी शहरियालाई खाने कुरा ? के पैसा खान मिल्छ ? के यी भव्य महल र चिल्ला सडकले खान दिन्छन् तपाईंलाई ?’ टाउको झन्झनाउने प्रश्न सँगै बिदा गर्छन् सुनिल मलाई । पाइला बढाउन नपाउँदै सोध्छन््– कस्तो लाग्यो मेरो ‘सम्झना–बगैँचा’ तपाईंलाई ? म गम खान्छु केही कुरा अलि राम्रा बनाएको भए त सुन्दर नै थियो तपाईंको बगैँचा । बरु एकपटक मैले माथि उल्लेख गरेको तानासर्माको पुस्तक पो पढ्ने हो कि सजावट मिलाउन । तर म त्यसो भन्दिन र भन्छु, वाह ‘सम्झना–बगैँचा’, धेरै राम्रा पूmल छन् तपाईंको बगैँचामा । सुन्दर छ बगैँचा । धेरै कुरा सिकेको छु मैले यस बगैँचाबाट । फेरि यस्तै रमाइलो बगैँचा घुम्न निम्ता दिनुस् है सुनिल जी !