Saturday, January 18, 2014

जागिर होइन काम खोजौँ

थाइल्याण्डमा शान्ति अशोक समूहको कम्युन चलाइरहेका एकजना थाइ मित्रले थाइल्याण्ड घुम्न जाँदा भनेको कुराले सधैँजसो मलाई पिरोलिरहन्छ । घरिघरि म उनलाई सम्झन्छु । उनी भन्थे– समृद्धिका लागि मानसिकता चाहिन्छ, अवसर होइन । समृद्ध मानसिकताले अवसर आफैँ सिर्जना गर्छ । हामीसँग धेरै विकल्प छन्, गर्ने संकल्प र जाँगरको मात्रै खाँचो छ ।  

मेरो घर नजिकै दुइजना छिमेकी छन् । एकजना किसान अर्का चाहिँ सरकारी उच्च ओहदाका जागिरे । जागिरे साथी कृषिका ठूलै अफिसमा काम गर्छन् । फुर्सदमा उनी बारीमै हुन्छन् । भन्छन्– ‘अहिले म काठमाडौँमा बस्छु । काठमाडौँ आउनु अघि त म त्यै किसानको छोरो हुँ । घरमा काम गरिरहेकै थिएँ । जागिर खाँदैमा काम किन छोड्नु ? खालि जग्गा छ चार आना । तरकारी म आफैँ लगाउँछु । घरका सबै मान्छे बेलाबेलामा श्रमको आनन्द पनि लिन्छौँ । अनेक विषदि मिसिएको तरकारी पनि खानु परेन, पैसा पनि जोगियो । वर्षभरि खाने तरकारीको करिब ७० प्रतिशत तरकारी खानपुग्छ त्यही ४ आनाको तरकारी खेतीले । आफ्नो काम गर्दा सानो त हुँइँदैनरछ । म लेखपढ गर्न पनि भ्याएकै छु । काम छोड्नु पनि पर्दैन । तरकारी खान पनि पाइन्छ । पैसा पनि बचत हुन्छ । उत्पादनशील श्रमले आत्मसम्मानमा पनि बृद्धि गर्छ । निकै वर्षदेखि मैले यो काम गरिरहेको छु काठमाडौँमा ।’ 
अर्का एकजना छिमेकी दाइ छन् किसान । उनका छोरा छन् एम. ए. गरेका । हेर्दा हट्टाकट्टा, तन्दुरुस्त जवान ठिटो । बाबु सामान्य खेतीपाती गर्ने किसान हुन् । दिनभरि काम गर्छन् । काम गर्नु, उत्पादन गर्नु, उत्पादन शहरसम्म लगेर बेच्नु अनि आएको आम्दानीले घर धान्नु उनको दिनचर्या हो । छोरो एस.एल.सी.पास गरेदेखि खेतमा काम गर्न लाज हुन्छ भनेर काम गर्न जाँदैनन् । 
हिजो बिहान केही कुराकानी गर्नुपर्ने भएकाले म उनको घरमा छिरेँ । बुढा छिमेकी दाइ काम गर्ने मानिस खोज्न बाहिर गएका थिए । म उनको घरमा पुगेको केही समयपछि आइपुगे । मलाई देखेर मुसुक्क हाँसे । भने– ‘धीरजी ! आजकल मान्छे पाउनै गाह्रो भयो । काम गर्ने मान्छे लाएर अब केही उत्पादन गर्नुपर्यो भने त खेती नगरे पनि हुने भयो । दिनको रु. ४०० ज्याला माग्न थाले । त्यही पनि मान्छे पाउन गाह्रो । अफिसको समय हेरेर काम गर्ने अरे १० देखि ५ बजे सम्म ।’ उनले काम गर्ने मान्छे खोज्दाको कथाव्यथा सुनाए ।

छोरो नजिकै थियो । मैले बसिरहेको छोरोतिर लक्षित गरेर भनेँ– ‘धेरै खेताला चाहिने हो र दाइ ? १।२ जनाले भए त घरमै तीनतीनजना हुनुहुन्छ एकछिन गएर खेत खन्ने काम गरे त मान्छे नै खोज्नु पर्दैन होला नि !’
मेरो कुरा सुनेर छिमेकी दाइ अलि घोरिए । भने– ‘बाबुको कुरा त ठिकै हो । तर भनेर के गर्नु ! बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि भनेजस्तो भैरछ । पढेलेखेपछि काम गर्नै हुँदैन भन्छन् आजकलका केटाकेटीहरु । यो छोरो एस.एल.सी. नहुन्जेल त अलिअलि काम गथ्र्यो त्यसपछि त काम नगरेको कति भो कति । काम गर्दा लाज हुन्छ भन्छ । काम खोजदैछु भन्छ तर कैल्यौ काम चैँ पाको हैन । दिनभरि काम गर्नेले पैसा कमाको कमायै छन् खौज्नेहरु खोज्याखोज्यै छन् । खै अब त खेतबारी बाँझै छोड्नु पर्ला जस्तो छ ।’ बुढाले व्यथा पोखे म उनका सुनेर छक्क परेँ । शिक्षित हुनु भनेको त श्रम गर्नै नहुने नागरिक बनाउनु हो भन्ने पो बुझेछौँ हामीले । 

आज हाम्रो देशका युवा पुस्तामा घरेलु काम र श्रमप्रति विश्वास कम हुँदै गएको छ । पढेलेखेका मानिसहरु अनेक रोजगारी खौज्न बर्षौ शहर धाउँछन् तर घरमा गर्नुपर्ने उत्पादनशील सासाना काम गर्न चाहँदैनन् । विदेशमा गएर अरुका भाँडा माझ्न तयार छन् घरमा आफूले खाएको जुठो थाल पनि श्रीमती र आमाको जिम्मा लगाएर ठालु हुन्छन् । हामीकहाँ उत्पादनशील काम गरेर अलिकति मेहनत गर्नेहरुले राम्रै आर्जन गर्न थालेका छन् । शिक्षितहरु आफ्नो योग्यतामा आधारित काम गर्नेतिर नलागेर सरकारी र गैरसरकारी जागीरको खोजीमा वर्षै भौतान्छिन् । जागिर पनि पाउँदैनन् काम पनि गर्नतिर लाग्दैनन् । निरासा र हीनतामा पुग्छन्, कुलत र अनेक आपराधिक काममा तानिन्छन् । यसरी भौतारिँदै देशबाटै पलायन हुने र विदेशमा गएर भौतारिने खतरामा धकेलिइरहेका छन् । 

जोसुकै मानिस वा नातेदार भेट्यो कि आजकल मलाई मानिसहरु भन्ने गर्छन्– ए बाबु ! लौन मेरो छोरा÷छोरीलाई एउटा जागिर खोजिदे न ।’ यस्तो राजगारी खोज्नेहरुलाई मैले धेरैलाई सडकमा पुस्तकहरु बेच्ने काम, टनेलमा तरकारी फलाउने र बजारमा बेचेर पैसा कमाउने काम दिन्छु भन्ने गरेको छु । त्यसो भनेपछि अधिकांश मानिसहरु मसँग तर्केर कुरा गर्न छाडेका छन् । 
म कहिलेकहीँ गाउँमा जान्छु । धेरै नातेदारहरुका छोराछोरी पढेलेखेका छन् । शहरमा पढे, बढे । अहिले फुर्सतमा घरमा बसेका छन् । घरको बारी बाँझै छ । खेतबारी अरुलाई नै ठेक्कामा बाली लाउन दिएको छ । केही बारी र खेत बाँझै छ । थोरैतिनो बाँकी जग्गामा काम गर्न बुढा भएका बाबु खेतबारीमा काम गर्न खेताला खोज्दैछन् छोराछोरीहरु या त बजार डुल्न गएका छन् या त क्याराम बोर्डमा रमाइरहेका छन् । यस्तो अवस्था देखिँदैछ गाउँमा, शहरमा । हाम्रो देशको विशेषता र रोजगारीप्रतिको हाम्रो धारणबीच कहीँ तालमेल खुस्केको देखिँदैछ । केही कुरामा बेमेल छ । मानसिक हीनता र श्रमप्रतिको अस्पष्टताका कारण हामी रोजगारी दिनसक्ने अवस्थामा हुँदाहुँदै वेराजगारीको समस्याबाट पीडित भएका छौँ । 

आज दिनभरि म एकजना साथीको तमाटर खेती अवलोकन गर्नका लागि भक्तपुरको शिरुटार गएँ । राजविराजबाट प्रेस व्यवसाय छोडेर मधेस आन्दोलनका बेलामा काठमाडौँ छिरेका थिए उनी । राजविराज हुँदा प्रेस चलाएर जिवन धानिरहेका थिए । म उनको टमाटर खेती हेर्न शिरुटार, भक्तपुर पुगेँ । शिरुटारको मिलनचोकमा थियो उनको फार्म । ४ रोपनी जग्गा भाडामा लिएर उनले गत जेष्ठमा टमाटर खेती शुरु गरेका थिए । एकै बालीमा सम्पूर्ण खर्च उठ्यो, अझै टमाटर बेच्न बाँकी छ भन्दै थिए । मैले उनलाई सोधेँ– ‘प्रेस चलाएको अनुभव र टमाटर खेती कसरी तालमेल बनाउनु भो त सुरेश जी ?’

मेरो प्रश्न सुनेर उनी एकछिन घोरिए र भने– ‘धीर जी न गरिखानु न मरिजानुको घिटघिटे सानो प्रेस चलाउनुभन्दा त यसमा पो राम्रो आम्दानी रछ । म बिहानदेखि बेलुकासम्म यहीँ फार्ममै हुन्छु । बिरुवासँग खेल्छु आनन्द पनि, श्रम पनि, आम्दानी पनि । सुरुमा केही प्राविधिक ज्ञान लिनु पर्यो नत्र सामान्य रुपमा नै खेती चल्दैछ । लिने मान्छेहरु यहीँ आएर लैजान्छन् । काठमाडौँको बजार नजिकै छ । बेच्न गाह्रो छैन । प्रति किलोको ३० देखि ६० सम्म भाउमा टमाटर बिक्तोरछ । म त अझै १० रोपनी जग्गामा विस्तार गरेर व्यवसायिक बनाउने सुरसारमा छु । यही टमाटरले ५ जनाको परिवार काठमाडौँ बसिरहेको छ । छोरो इन्जिनियर पढ्दैछ । गर्नेलाई सबैतिर अवसर नै अवसर छ, नगर्ने हेर्याहेर्यै छ ।’ सुरेशजीको कुरा एउटा गतिलो झटारो हो जागीर खोज्ने माथि मैले उल्लेख गरेकाजस्ता शिक्षित युवाहरुका लागि । 

जागिर खोज्नेहरुका लागि शुरेसजीको यो कुरा एउटा अचुक विकल्प हुनसक्छ भन्ने मलाई लाग्यो । आजभोलि कामको सीप र लगनशीलता हुनेहरुका लागि कृषिमा अनन्त संभावनाहरु देखिँदैछन् । तरकारी, फलफूल, दूध, मासुजन्य पशुपंक्षीपालन व्यवसायिक हुँदै गएका छन् । बजार र प्रविधिको सामान्य अध्ययन गरेर यसतर्फ लाग्नेहरुले रोजगारी बृद्धि गर्ने र आम्दानी बढाउने विकल्पहरु दिन थालेका छन् । शहरीया जागीरको खोजीमा वर्षौं बिताउने तर गाउँमा बसेर श्रमलाई हेला गर्नेहरुलाई त उपाय केही छैन तर काम गर्न खोज्ने जाँगर र सीप भएकाहरुलाई भने विकल्पहरु तयार हुँदैछन् । संसारका सबै मानिसलाई खाद्यवस्तु खानै पर्छ । त्यो फलाउने ठाउँ जमिन नै हो । जमिनबाट उत्पादन लिनका लागि धेरथोर मेहनत त गर्नै पर्छ । गाउँका बारी र खेत बाँझो राखेर शहरमा सानोतिनो जागिर खोज्नेहरुलाई अब यस्ता विकल्प हेर्नतिर सजग गरनउन सकियो भने हाम्रो वेरोजगारी धेरै हदमा घटाउन सकिन्छ । सस्तोमा अरबमा र मलेसियामा श्रम बेच्न जानु पर्दैन । स्वाभिमानका साथ देश मै उद्यमको विकास गर्न सकिन्छ ।

आजकल गाउँगाउँमा र शहरमा सहकारीहरु खुलेका छन् । ससाना पूजी बटुलेर बैंक चलाए झैँ गरी सहकारीहरु रियलस्टेट र ठूला परियोजनातिर आकर्षित भएर महत्कांक्षातिर  तानिनाले समस्या भोग्दैछन् । ओरेन्टल, गुण जस्ता महत्वाकांक्षी सहकारीहरु फसेको हामीले भोगिरहेकै छौँ । मैले माथि भनेजस्ता सहकारी मार्फत् सानातिना काममा लाग्नेहरु दिनदिनै विकल्पहरु दिन तयार हुँदैछन् । म आफू हुर्केबढेको गाउँ सिन्धुलीको आम्बोटेका किसानहरु केही वर्षदेखि अदुवा खेती गरिरहेका छन् । २।४ हजारमा पनि बेच्न खोज्दा नबिकेका पाखाहरु अहिले लाखौँ रुपियाँको अदुवा उत्दानयोग्य भएका छन्  । खेतबारीको मूल्यभन्दा बढी त एकैबालीको अदुवाबाट उनीहरुले आम्दानी गरिरहेका छन् । यी कुराहरु हाम्रा शिक्षितहरुले र जागिर खोज्ने युवाहरुले बुझ्न सकेभने हाम्रो देश बन्न धेरै समय लाग्दैन । सहकारी मार्फत् यस्ता नयाँ टनेल खेती तर्फ, व्यवसायिक पशुपंक्षीपालनतर्फ लागौँ र लाग्न प्ररित गरौँ । देशका नागरिक उत्पादनशील भ एभने देश धनी हुन्छ, हामी पनि धनी हुन्छौँ । जागिर होइन काम खोजौँ ।    

Monday, January 6, 2014

नयाँ सोचका प्रखर वक्ता

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली गाउँशहरमा युवा जमातको एउटा पार्टी देखापर्यो । राजनीतिक पहिचान र प्रचारका लागि देशभरि ठूलाठूला भाषणसभाहरु आयोजना गरिए । सबै एक से एक वक्ताहरुको समूह देखियो त्यस पार्टीमा । कोही उखान र टुक्काका पारखी वक्ता थिए, कोही गहिरो राजनीतिक विश्लेषण गर्थे, कोही घर, समाजमा देखापरिरहने संस्कृति र संस्कारका विभिन्न पाटाहरु उघारेर मानिसलाई भाषणले आनन्दित बनाउँथे । त्यो समूह निरन्तर बढ्न थाल्यो । गाउँगाउँमा उनीहरुका कार्यकर्ताहरु संगठनका लागि घुम्न थाले । पार्टीका प्रवक्ता भनेर एउटा प्रखर वक्ता सार्वजनिक भए । हेर्दा सामान्य लाग्ने ती युवा नेताको बोलीमा जुन खालको जादूगरी थियो त्यसले मानिसहरुलाई जादूमय किसिमले तान्न थाल्यो । लाल पार्टीकै एउटा ठूलो समूह थियो त्यो ।  
ती युवा नेताले शहरबजारमा गरेका भाषणका टेप र सी.डी.हरु गाउँगाउँमा बज्न थाले । मानिसहरुमा जिज्ञासा पलाउन थाल्यो– ‘यस्तो राम्रो भाषण गर्ने, यति राम्रो बोल्ने नेता को होला ? हेर्न पाए कस्तो हुँदो हो !’ यस्ता कुरा सुनिन थाले । जुनसुकै पार्टीका मानिसहरु किन नहुन् उनको भाषण छ अरे भनेपछि टाढाटाढाबाट मानिसहरु ओइरिन थाले । मलाई पनि जिज्ञासा भयो वास्तवमा यस्तो खरो र मीठो भाषण गर्ने मानिस कस्तो होला ? छापाहरुमा फोटो हेरेर मेरो चित्त बुझेन । म पनि उनको भाषण सुन्न उत्सुक भएँ । 
२०४७ सालमा नयाँ संविधान जारी भएपछि लाल पार्टीले २७ बुँदामा असहमती जनायो । असहमती भए पनि तत्कालको अवस्था हेरेर त्यसलाई स्वीकारेर अघि बढ्ने निर्णय लियो । आफ्नो असहमती पनि जनाउने अनि अघि पनि बढिरहने । दूरदर्शी निर्णय लिए उनले । संविधानमा सुधार गर्नुपर्ने विषय र कारण बारे देशभरि फेरि भाषणसभाहरु आयोजना हुन थाले । म पनि काठमाडौँको खुल्लामञ्चमा आयोजित भाषणसभामा उनीहरुको भाषण सुन्न गएँ । न धेरै अग्ला, न धेरै होचा मध्यम कदका गहुँगोरो भन्दा अलि कालो वर्णका मोटामोटा ठिक्कका मानिस भाषणसभाका मुख्य अतिथी थिए । शिरमा भादगाउँले कालो टोपी, खैरो रंगको कोट अनि अलि पावरदार बाक्लो मोटो चश्मा लगाएको फोटो मैले संचार माध्यममा देखिरहेको थिएँ । त्यहाँ प्रमुख वक्ता भनिएका मानिस पनि तिनै थिए । नाम थियो– मदन भण्डारी । 
हामी सभामा भाषण सुन्न बस्यौँ । मीठो भाषाशैली, प्रष्ट विचार, खरो र मन छुने मिठासपूर्ण शव्दावलीयुक्त भाषण । धाराप्रवाह अनुप्रासमय भाषणमा सबै श्रोताहरु लठ्ठिए । त्यस्तो भाषण मैले पहिलो पटक सुनिरहेको थिएँ । राजनीतिको तीखो विश्लेषणले भरिएका अनेक उखान र टुक्काहरु मिसिएको ओजपूर्ण, निर्भिक र चोटिलो भाषण थियो उनको । सुन्दै मोहनी लगाउन सक्ने मीठास थियो भाषामा । नेपाली परिवेशका अनेक उदाहरणले भरिएको उनको भाषण सुन्ने जोसुकै मानिस पनि उनीबाट प्रभावित भइहाल्थ्यो । विचार फरक भएका मानिसहरु पनि उनको बोलाइ र विश्लेषणबाट अप्रभावित रहन समभव थिएन । म उनको पार्टीको सदस्य त थिइनँ तर पनि उनको भाषण मन पर्यो मलाई । उनको प्रतिभा नबुझेर हो कि हेपेर हो उमेरले पाकेका मानिसहरु कम भएकाले– दुधे बालकहरुको पार्टी भनेर तारे पार्टीका नेताहरुले भनेको सुनिरहन्थेँ म । त्यस दिनको भाषण सुनेपछि मेरो उनीप्रतिको धारणा बदलियो । कताकता मैले उनलाई देशकै राजनेता जस्तो देख्न थालेँ । 
नयाँ संविधान भर्खर जारी भएको थियो । त्यस बिषयमा उनका केही गम्भीर मतभेदहरु थिए । भाषा, धर्म, जाति, लिङ्ग आदि बारे केही फरक मतहरु थिए । कम्युनिष्टहरु राजा मान्दैनन् भन्ने मैले सुनेको थिएँ । त्यसमा पनि उनको प्रष्ट दृष्टिकोण थियो । उनले आफ्नो भाषणमै भने– ‘ऐलेको शक्ति सन्तुलनलाई हेर्दा राजा एउटा सम्मानित संस्थाको रुपमा रहन्छन् भने हामीलाई टाउको दुखाउनु छैन । आखिर देशमा एउटा प्रमुख चाहिन्छ । राष्ट्रपति चुन्न पनि चुनाव गर्नै पर्छ । यदि चलखेल नगरीकन भत्ता खाएर चुपचाप बसिरहन्छन् भने उनलाई विगत हेरेर खेदो खन्नुपर्ने कुनै कारण छैन । हात नलम्काइकन, आँखा नचम्काइकन बसिरहन्छन् भने राजा मानसम्मान पाएर बसिरहुन् । हामी राजा त मान्दैनौँ तर ऐलेको यो बाध्यता हो शक्तिसन्तुलनको । ऐलेलाई राष्ट्रपतिको साटो परम्परागत रुपमा रहेको भए पनि राजा राख्न हामीलाई कुनै आपत्ती हुने छैन ।’
देशमा भएका लाल पार्टीका विभिन्न स–साना समूहहरुलाई एकीकृत गर्ने र तिनलाई सम्मानजनक व्यवहार गर्ने सोच बनाए मदन भण्डारीले । एकताको प्रस्ताव गरे । नेताहरु धेरै भएको तर संगठन र कार्यकर्ताको समूह निकै कम भएको एउटा समूहका नेता मनमोहन अधिकारीसँग उनको कुरा मिल्ने भयो भन्ने सुनियो । आफू पार्टी सदस्य र संगठनका हिसाबले निकै ठूलो हुँदाहुँदै मनमोहन अधिकारीलाई आदरसाथ अध्यक्ष बनाए । मनमोहनको अभिभावकत्व स्वीकार गरे । उनी आफू महासचिवमा बसे । मनमोहनले संगठनभित्र मदन भण्डारीको नेतृत्वलाई स्वीकार गरे । अभिभावकका रुपमा मनमोहनलाई मदनले स्वीकार गरे । राजनीतिक परिपक्वताको संस्कारतिर बढिरहेजस्ता देखिए उनी ।
दुई पार्टी एकीकरणपछि केही पुराना र इतिहास भएका नेताहरु पार्टीमा भित्रिए । सामन्तहरुलाई हत्या गरेर वर्गशत्रु निर्मूल गर्ने अभियानमा लागेको झापाली युवा समूहबाट सुरु भएको लाल पार्टीको त्यो सानो समूह क्रमशः फैलिँदै गएर मनमोहनको समूहसँग मिलेपछि देशको ठूलो पार्टी बन्ने अवस्था बन्दै गयो । 
पार्टीको महाधिवेशनको लागि छलफलमा ल्याइने दस्तावेजमा मदन भण्डारीले नयाँ कार्यक्रम अघि सारे ।  विश्वको नयाँ परिवेशमा कम्युनिष्टहरुले आफूलाई अब कसरी अगाडि बढाउन सक्छन् भन्ने बिषयमा नयाँ अवधारणा थियो उनको । उनको प्रस्तावले देश र विदेशका कम्युनिष्टहरुलाई नयाँ दिशा दिने संकेत देखियो ।  
उनले सार्वजनिक रुपमा आफ्नो कार्यक्रम बारे बहस चलाउन चाहे । संचारमाध्यम मार्फत् सबैले कुनै पार्टीको दस्तावेजमाथि छलफल भएको संभवतः पहिलो पटक थियो । उनले भन्ने गरेको सुनिन्थ्यो– ‘संसारमा प्रतिस्पर्धाविहीन राजनीतिले धक्का खायो । तानाशाही र एकाधिकारवादी शासन अबको संसारमा चल्न सक्दैन । कम्युनिष्टहरुले पनि अब प्रतिस्पर्धाको राजनीतिलाई नै स्वीकार गर्नुपर्छ । जनताको चेतनास्तर उठाएर पार्टी लोकप्रिय नभई धेरै वर्ष शासन चलाउँदा सबै मानिस अनैतिक, भ्रष्ट र एकोहोरे हुँदारहेछन् । त्यसैले अब नयाँ किसिमले नै कम्युनिष्टहरुले अघि बढ्नु पर्छ । प्रतिस्पर्धा र बहु विचारलाई महत्व दिनैपर्छ ।’ उनले आफ्नो कार्यक्रमको नाम नै बहुविचारमा आधारित भएको संकेत गर्ने गरी राखे– जनताको बहुदलीय जनवाद भनेर । कम्युनिष्ट जगतमा यो एउटा नयाँ प्रयोग थियो । सबैतिरबाट चर्चा पाउन थाले उनले । 
मदन भण्डारीको यो प्रस्ताव संसारका कम्युनिष्टहरुका लागि नयाँ विचार हुन सक्ने देखियो । युरोपीय देशहरुमा प्रचलित समाजवादी विचारधारासँग उनी निकै नजिक देखिए । कम्युनिष्टहरु पनि एकाधिकार होइन बहुदलीय प्रतिस्पर्धाको राजनीति गर्न राजी भए भन्ने सन्देश उनको कार्यक्रमले दियो । विदेशका विभिन्न ठाउँबाट उनलाई आफ्नो विचार प्रस्तुतिका लागि निमन्त्रणा आउन थाल्यो । उनी कतै जान राजी भएनन् । आफ्नै देशमा केही प्रयोग पछि विदेशलाई सुनाउन चाहन्थे उनी । 
+ + + +
नयाँ संविधान जारी भएपछि मदन भण्डारीले प्रस्ताव राखे– ‘जनआन्दोलनमा सहभागी सबै दलका प्रमुख नेताहरु एकअर्काका प्रतिद्वन्द्वी भएर चुनाव नलडौँ । सकेसम्म साझा उम्मेदवारी दिउँ, नसके जो जहाँ बलियो छ त्यहाँ एकअर्कालाई सघाउँ । आन्दोलन सफल भएको केही समयसम्म यस्तो मैत्रीपूर्ण समझदारी आवश्यक हुन्छ । सकेसम्म एक निश्चित अवधिसम्म साझा कार्यक्रम बनाएर मुलुकलाई अगाडि बढाउँ, सकिँदैन भने पनि चुनाव चाहिँ समझदारी गरेर लडौँ । जथाभावी सबै नेताहरु प्रतिस्पर्धामा गएर जनतालाई अप्ठ्यारोमा नपारौँ ।’ 
उनले यसका लागि निकै प्रयत्न गरे । धेरैपटक त्यस बिषयमा तारे पार्टीका उच्च नेताहरुसँग कुराकानी पनि गरे । तर, त्यो सदाशयतापूर्ण राजनीतिक विचारलाई तारे पार्टी र अरु पार्टीले महत्व दिएनन् । तारे पार्टीमा ०१५ सालमा चुनाव जितेको धङधङी अझै बाँकी थियो । कलिलो उमेरका मानिसहरुलाई सजिलै जितिन्छ भन्ने उनीहरुको अनुमान रह्यो । 
अन्तिमसम्म पनि मदन भण्डारी र उनको पार्टीले त्यो प्रयास भने गरि नै रह्यो । तारे पार्टीले त्यसलाई माले, मण्डले र मसाले एकै हुन् भनेर अस्वीकार गरिदियो । यसरी अनेक प्रस्ताव राख्दा पनि सहमती नहुने भएपछि सांकेतिक रुपमा आफू स्वयं तारे पार्टीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईका विरुद्धमा चुनावी प्रतिस्पर्धामा होमिने र उनीहरुको दम्भ तोड्ने निर्णय गरे । 
अन्तरिम कालमा मुलुकलाई सहज निकास दिन सफल भएको देखेर तारे पार्टीका नेताहरु भन्ने गर्थे– ‘हाम्रा हेभिवेट नेतालाई भोट नदिएर कहाँ ती हिजोका बच्चालाई जन्ताले भोट दिन्छन् र !’ मदन भण्डारी वलिको बोको हुने भए । यस्तै आत्मरतिमा तारे पार्टीका नेताहरु भट्टराईले जित्नेमा ढुक्क भए । उनकै पार्टीका अर्का नेता गिरिजा भने भट्टराई तत्कालका पार्टी अध्यक्ष पनि भएकाले उनले चुनाव जिते भने उनै फेरि प्रधानमन्त्री होलान् भन्ने डरले भित्रभित्रै सरकारका कटु आलोचक बन्दै गए । भट्टराईको चुनाव प्रचारप्रसारमा कार्यकर्तापंक्ति निस्कृय बस्यो । 
पुरानो पार्टी भनेर तारे पार्टीका नेताले गरेको दम्भ प्रदर्शनप्रति मदन भण्डारीले सार्वजनिक रुपमै कटाक्ष गरे– ‘उमेर बिताएर र कपाल पकाएर मात्र राजनीतिमा कोही ठूलो मान्छे हुँदैन । नयाँ सोचाइ, नीति, विचार र कार्यक्रमले नै राजनीति चल्नेगर्छ । नीति, विचार र कार्यक्रमले नै कुनै पनि नेतालाई माथि उठाउने हो । उमेर कसले कति कटायो भनेर क्यै हुनेवाला छैन । तपाईंहरु विचार र वेवारले पाक्नुहोस् । बालबच्चाजस्तो अपरिपक्व व्यवहार देखाउनेहरुले कपाल पकाएको टाउको देखाउनुको कुनै अर्थ छैन । टाउको कपाल पाकेको, खुइलिएको, कालो कपाल भएको जस्तोसुकै होस् देश र समाजको लागि तपाईसँग कस्ता विचार छन ? योजना र लक्ष्य कस्ता छन् ? त्यसले नै पाको र काँचो देखिन्छ । अब हिम्मत गरेर यिनै कच्चा दुधे बालकहरुसँग प्रतिस्पर्धा गर्न तयार हुनुभए हुन्छ ।’ उमेरको कुरा गरेर पार्टीलाई आलोचना गर्ने सतही भनाइप्रति कटाक्ष गर्नेहरुलाई उनले सार्वजनिक भाषण मार्फत् नै प्रष्ट रुपले चुनौती दिए । चुनावी वातावरण तात्दै गयो । उनको भाषण गाउँगाउँ पुग्न थाल्यो । 
पार्टीको प्रचारका लागि देशव्यापी चुनावी सभाहरुमा मदन भण्डारी दौडिए । आफ्नो चुनावी क्षेत्रका केही ठाउँमा सभाहरुलाई सम्बोधन गरे । त्यसमा चर्र्चित रह्यो चावहिलको गणेशस्थान नजिक भएको सभामा गरेको उनको भाषण । राजासमर्थक आसेपासेहरु चुनावी कार्यक्रममा सल्बालाइरहेका थिए । दरवार भित्रभित्रै सल्बलाइरहेको थियो । मदन भण्डारीलाई त्यो चित्त बुझेन । सार्वजनिक रुपमा राजा र दरवारप्रति खरो कुरा गर्न र चुनौती दिन त्यतिबेलासम्म कुनै नेताले हिम्मत गरेको सुनिँदैनथ्यो । 
२०४७ चैत्र ५ गते काठमाडौँको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने चावहिलको भाषणमा उनले राष्ट्रियता र प्रजातन्त्रको आ–आफ्नो ठेक्काजस्तो सम्झने राजा र तारे पार्टीको सोचलाई प्रहार गर्दै आफ्नो धारणा राखे । तत्कालीन राजावादीहरु र राजालाई चुनौती दिँदै भने– ‘महाराज हात नलम्काइबक्योस्, आँखा नझिम्क्याइबक्योस्, आफ्ना शण्डमुशण्डहरुलाई पनि नचलाइबक्सियोस् । कि संविधानभित्र र कानूनभित्र बसेर दरवारभित्र भत्ता खाएर चुपचाप बसिबक्स्योस् कि श्रीपेच छोडेर जनता भएर राजनीतिमा सक्रिय रुपमा आइबक्स्योस् ता कि सहज रुपमा प्रतिस्पर्धा गर्न सकियोस् । हामी श्रीपेच खोलेर आएका राजासँग प्रतिस्पर्धा गर्न सधैँ तयार छौँ ।’
राजा र राजालाई मानेर आफ्नो भित्री स्वार्थ पूरा गर्नेहरुलाई खुल्ला चुनौती थियो त्यो । उनको त्यो भाषणको टेप चुनावी प्रचारका लागि मसला जस्तै भयो । के गाउँ के शहर सबैतिर त्यो भाषणको टेप सुनिन थाल्यो । देशभर घुमेर चुनावी सभा गरिसक्ता मानिसहरुले उनका भाषणकला र बोल्ने शैलीबाटै देशको एउटा आसलाग्दो नेताका रुपमा हेर्न र आशा गर्न थाले । युवाहरुलाई त उनको भाषण सुनेपछि उनकोपछि लागौँलागौँ बनाइहाल्ने जादूगरी भाषणकला थियो उनीसँग । 
आखिर काठामाडौँको क्षेत्र नं. १ बाट आफूभन्दा निकै पाका, तारे पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई उनले चुनावमा परास्त गरिदिए । दुई क्षेत्रबाट चुनाव जिते । आफूभन्दा बृद्ध र स्थापित नेतालाई चुनावमा परास्त गरेपछि मदन भण्डारी सर्वाधिक चर्चित नेता बने । एउटा प्रखर सांसद पायो देशले । आफ्नो दलको संसदीय नेताका रुपमा उनले मनमोहनलाई प्रस्ताव गरे । सचेतक र प्रमुख सचेतक पनि अरु नै नेताहरुलाई बनाए । आफू सामान्य सांसद मात्र रहे । जब उनी संसदमा बोल्न उभिन्थे सबैको ध्यान उनीतिरै हुन्थ्यो । संसदलाई बाटो देखाउने अनि बाटो बिराउँदा ठीक ठाउँमा ल्याउन उनका ओजयुक्त भनाइ र अध्ययन र विश्लेषणले खारिएका तर्क सबैका लागि अकाट्य तथ्य जस्तै हुन्थे । 
+ + +
एकदिन सिंहदरवारबाट बाहिरिन लागेको बेला मदन भण्डारीसँग मेरो भेट भयो । मैले उनका भाषणहरुको चर्चासहित चिनजान गर्न खोजेँ । ज्यादै साधारण शैलीमा उनले आफ्नो परिचय दिए । मैले उनीसँग फेरि भेट गर्ने र केही कुराकानी गर्ने मनशाय व्यक्त गरेँ । उनले स्वीकार गरे । 
म भेटघाटका लागि समय मिलाएर उनको पार्टी कार्यालय पुगेँ । कुराकानी चल्दै गयो । नेपालको कम्युनिष्ट राजनीतिमा उनले ल्याएको नयाँ विचारका बारेमा, विश्वमा कम्युनिष्टहरुले व्यहोर्नुपरेको हार र धक्का, नेपालका कम्युनिष्टहरुप्रति बढ्दो आकर्षण र योगदान, नेपालको राष्ट्रियता, तारे पार्टीका कार्यशैली र उसका नीति तथा इतिहास र तत्कालको राजनीतिका बारेमा अनेक जिज्ञासा थिए मभित्र । ती बिषय कोट्याएँ मैले । जान्ने र बुझ्ने जिज्ञाशा राखेँ । 
मेरा कुरा सुनिसकेपछि मदनले भने– ‘हेर्नुस् विवेक जी ! माक्र्सवाद कुनै जड सिद्धान्त हैन । यो ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित सिद्धान्त हो । त्यसैले यो गतिशील सिद्धान्त हो । यो कुरालाई नबुझेर माक्र्सवादलाई पुराण झैँ बुझ्ने र सूत्रहरु रटेर जडसूत्रवादी हुनेहरु धेरै भए । सिर्जनात्मक मान्छेहरुलाई संशोधनवादी भनेर पन्छाइ दिए । यसले कम्युनिज्म बदनाम भयो । हामी सिद्धान्तका कुनै सूत्रहरुसँग सती जाने पक्षमा छैनौँ । कुनै सूत्र र सिद्धान्तको नाममा हामी देश र जनताको प्रगति र उन्नतिको बाटो छेक्न चाहँदैनौँ । सिद्धान्तको रक्सी पिएर लकिरको फकिर भइन्छ भने त्यसलाई हामी छोड्न चाहन्छौँ । सिद्धान्त यदि हाम्रो प्रगतिका लागि बाधक हुन्छ भने हामी ती सूत्रहरुलाई छोडेर अघि बढ्छौँ । नयाँ कुरा थप्छौँ त्यसमा । जुन कुराले देश र जनताको भलो गर्छ त्यसलाई लिन चाहन्छौँ र अरुलाई छाडेर अघि बढ्न चाहन्छौँ । सबै सिद्धान्तहरु जीवनका लागि हुन्, जीवन सिद्धान्तका लागि हैन । त्यसैले हाम्रो यो जनताको बहुदलीय जनवाद (जबज) कार्यक्रम नै हाम्रा लागि आजको माक्र्सवाद हो । अब हामीले प्रतिस्पर्धाबाट भागेर हैन आवधिक जनमत लिएर आफूलाई योग्य सावित गर्दै जनताको मन जित्न सक्नुपर्छ । जनताबाट आफूलाई सामयिक अनुमोदन नगर्ने र आफ्नो विचार राख्न नपाउने गरी एकधिकार लाद्ने काम गरेका कारणले संसारबाट कम्निष्टहरुले धक्का वेहोर्नु पर्यो ।’ उनी यतिभन्दै एकछिन अडिए । मैले मनको खुल्दुली मेट्न एउटा प्रश्न सोधेँ ।
‘यदि बहुदलीय प्रतिस्पर्धामा नै जाने र जनताको अमितबाट शासन गर्ने हो भने किन कम्निष्ट भन्नुपर्यो ? पूर्वी युरोप, जहाँबाट कम्युनिष्टहरु जन्मे त्यहाँ त अब कम्युनिष्ट भन्न पनि चाहँदेनन् मान्छेहरु । तपैँंहरु चैँ किन त्यै नाममा फेरि झुण्डिरहन चाहनु हुन्छ ?’ मैले उनको विचारको भित्री पक्ष खोतल्न चाहेँ । 
मदन भण्डारीले शान्त भावमा ध्यान दिएर मेरो कुरा सुने । विस्तारै मेरो प्रश्नतिर केन्द्रित हुँदै भने– ‘संसारमा माक्र्सवादले दिएको नयाँ धारणा हो समाजलाई हेर्ने द्वन्द्ववादी दृष्टिकोण र समानतामूलक वितरणको अवधारणा । सारमा मैले बुझेको यै हो । अठारौँ शताब्दीको अवस्था र ऐलेको अवस्था आकास र पातालजस्तै फरक छ । यदि माक्र्सवादलाई हामी द्वन्द्वात्मक विश्लेषणका लागि प्रयोग गर्छौं भने फेरिएको परिस्थितिलाई हेरेर हाम्रा नीति र कार्यक्रमलाई पनि परिवर्तन गर्नैपर्छ । सिद्धान्त मानिसका लागि हो मानिस सिद्धान्तका लागि हैन । यै कुरा हामीले उठाउन खोज्या हो । त्यसैले हामीले यसलाई एकाधिकारवादी सोचाइबाट माथि उठेर कम्निष्टहरु पनि दलीय र वैचारिक प्रतिस्पर्धामा पनि जानुपर्छ भन्न खोज्या हौँ । अब हामी यसै आधारमा अघि बढ्न चाहन्छौँ । निरङकूशता र एकाधिकारवादी शासनको सोच फेल भएको हो संसारबाट । कम्युनिज्मको सिद्धान्त फेल भएको छैन । यसको औचित्य अझै छ । जबसम्म समाजमा शोषण, अन्याय र असमानता रै’रन्छ तबसम्म यसको औचित्य रै’रन्छ, सकिँदैन । माक्र्सको समयभन्दा आजको परिवेश फेरिएको छ । यसलाई नयाँ ढंगले विकसित गर्नुपर्ने र नयाँ व्याख्या दिनुपर्ने आवश्यकता भने देखिएको छ । हामी ऐले त्यै प्रयत्नमा छौँ ।’ मदन एकछिन रोकिए । हामी कुराकानीकै मुडमा थियौँ । चियाखाँदै फेरि गफ अगाडि बढ्यो ।
पूर्वी युरोपका कम्युनिष्टहरुले व्यहोर्नुपरेको समस्या बारे विश्लेषण गर्दै उनले फेरि कुरा जोडे– ‘पूर्वी युरोपले संसारलाई कम्युनिज्मको प्रयोगको बाटो देखायो । रुस र चीनले पनि नयाँ बाटो देखाए । अरु कतिपय देश र नेताहरुले त्यसको प्रयोग गरे । त्यो प्रयोग भिन्नभिन्न ढंगको रह्यो । कसैले कुन र कसैले कुन ढाँचा प्रयोग गरे । पूर्वी युरोपमा नक्कल र सिर्जनाहीन प्रयोग देखियो । लेनिनले गरेको प्रयोग अनि माओले गरेको प्रयोग अलिअलि सिर्जनात्मक थियो । अहिले पनि आर्थिक कुरामा परिमार्जन गर्दै चीन अघि बढिरहेको छ । उनीहरुले संसारलाई आर्थिक विकासको गति देखाइरहेका छन् । तर उनीहरुले पनि अझै आवधिक जनमतलाई स्वीकार गर्न सकेका छैनन् । युरोपका कम्निष्टहरुले समयक्रममा आफूलाई परिमार्जन गर्न समर्थ भएनन् । ऐले युरोपका कम्युनिष्टहरु नामै परिवर्तन गरेर समाजवादी बनेका छन् । तर पनि उनीहरुलाई लाग्ने लान्छना र आलोचना कम भए त ! भएनन् । उनीहरुलाई हेर्ने दृष्टिकोण त उस्तैछन् । नाम फेरेर नयाँ हँुदोरैनछ । विरोधीहरुबाट हुने प्रहार पनि कम हुँदोरैनछ ।’
‘साधारण मान्छेले हामीलाई कम्निष्ट भनेर चिनेरै भोट दिया हुन् । उनीहरुलाई अर्को कुनै नाम मन नपरेर मात्रै हामीलाई समर्थन गर्या हैनन् । त्यसैले हामी संसारमा कम्युनिष्ट भएरै बाँच्न र राजनीति गर्न चाहन्छौँ । पलायन भएर नाम र झण्डा फेरेर हाम्रा आलोचकहरुका प्रियपात्र बन्न चाहँदैनौँ । मलाई पनि यस्तो सुझाव कैयौँ शक्तिशाली देशका मानिसहरुले भेटेरै दिने गरेका छन् । म सुनिरहेको छु । राजनीतिमा निर्णायक यै देश र समाजका जन्ता हुन्, हामीलाई आलोचना गर्ने र नाम फेर्न सल्लाह र दवाव दिने कथित विदेशी पूँजीवादी देश र व्यक्तिहरु हैनन् । हामी नाम र झण्डा दुवै हटाएर दुलोभित्र पसेर मुसा झैँ बस्न चाहँदैनौँ । कम्निष्टकै नाममा शेर भएर गर्जन चाहन्छौँ । एक स्वभिमानी, देशभक्त र सिर्जनात्मक प्रयोगकर्ताको रुपमा हामी आफूलाई उभ्याउन चाहन्छौँ ।’ मदन भण्डारीले दह्रो दृढता देखाए । मलाई उनका कुरा आत्मविश्वासले भरिएका एक परिपक्व राजनेताका जस्ता लागे ।
कुरा सकिएका थिएनन् । हामी चियाको चुस्की लिँदै राजनीतिक गफमा रमाइरहेका थियौँ । मैले त्यसअघि भेटेका अनेक नेताहरुमध्ये मदन भण्डारी अलि अनौठा खालका लाग्नथाल्यो । म उनको कुरा ध्यान दिएर सुनिरहेकै थिएँ । फेरि एउटा प्रसङ्ग कोट्याएँ– तपाईंले त चाबहिलको भाषणमा राजाहरुको राष्ट्रवाद, तारे पार्टीको प्रजातन्त्र र समाजवादको त धज्जी उडाउनु भो नि !’
मेरो कुरा सुनेर मदन भण्डारी मुसुक्क हाँसे । म उनीतिर ध्यान दिएकै थिएँ । भने– ‘तपाईले मेरो त्यो भाषण पूरै सुन्नु भो ? यदि सुन्नुभएको छ भने अवश्य सोच्नुभयो होला । हामी अनर्गल आरोप कसैलाई पनि लगाउन चाहँदैनौँ । हामी भ्रमलाई चिर्न मात्रै चाहन्छौँ । भ्रम फारेपछि जनताले आफैँ बुझ्छन् कुराहरु । हामी तारे पार्टीले भन्ने गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटै कुराको नयाँ व्याख्या दिन चाहन्छौँ । विगतलाई हेर्दा हामी मण्डले राष्ट्रवाद र आत्मसमर्पणवादी राष्ट्रवादबाट पीडित भयौँ । राष्ट्रियता राजाले आफ्नो पेवा ठाने अनि प्रजातन्त्र भन्नासाथ तारे पार्टीले पेवा ठान्यो । प्रजातन्त्र तारे पार्टीको मात्रै पेवा हैन । यिनको बुझाइ ठीकसँग भएन भन्ने हामी ठान्दछौँ । विगतमा राष्ट्रिय स्वाधिनताको लडाईंमा कम्युनिष्टहरु सधैँ अगाडि रहे । देशको सीमा मिचिँदा र राष्ट्रिय स्वतन्त्रता हनन गर्दा जैले पनि हामी नै अग्रपंक्तिमा रहेर लड्यौँ । देशको स्रोत विदेशीलाई सुम्पिँदा हामीले नै चर्को आवाज उठायौँ । तारे पार्टीले यसमा कहिल्यै आवाज उठाएन । यस कुरामा उसले चुँ गरेको पनि सुनिएको छैन । बरु उसले आफ्नै स्रोत आफ्नो हित प्रतिकूल हुने गरी सम्झौता गरेर प्रजातन्त्रका नाममा आत्मसमर्पणवादी राष्ट्रवाद प्रदर्शन गर्यो । दरवारले राष्ट्रवादी शक्ति हामी मात्रै हौँ भनेर राष्ट्रवादको नाममा प्रजातन्त्रको घाँटी थिच्यो । त्यसैले हामी यी दुवै अतिवादको विरुद्धमा उभिएका छौँ । मण्डले राष्ट्रवाद र आत्मसमर्पणवादी राष्ट्रवाद दुवैलाई हामी मुर्दावाद भनिरहन्छौँ । अब यी दुवै कुरामा दुवै अतिवादीहरुले आफूलाई त्यसको ठेकेदार नठाने हुन्छ ।’ 
‘प्रजातन्त्रको कुरा पनि त्यस्तै हो । तारे पार्टीले आफूलाई प्रजातन्त्रको ठेकेदार सम्झन्छ । तर कहीँ पनि ऊ बहुमतलाई स्वीकार गरेर अल्पमतको सम्मान गरेर बस्न चाहँदैन । आफूले अरुलाई शासन गर्न पाउँदा र हालिमुहाली गर्न पाउँदा ठीक भन्छ । आफू अर्काको मातहतमा बस्नु पर्यो भने त्यसबाट अलग भएर अनेक वितण्डा मच्चाउन थाल्छ । के हामी यसैलाई प्रजातन्त्र मानिरहने त ? यस खाले प्रजातन्त्रमा नेताहरुले त प्रजातन्त्रको उपभोग गर्लान् तर जनता सधैँ परतन्त्र हुन्छन् । नेताका दास भएरै रहनुपर्छ जनताले । हामी जनताको मत अन्तर्गत, उनीहरुको भावना अन्तर्गत चल्ने प्रजातन्त्र चाहन्छौँ । जिते शासनमा रहन्छौँ हारे प्रतिपक्षमा बस्छौँ र जनताका काम गछौँ । हामी हतियार उठाएर होइन चेतना उठाएर समाजमा परिवर्तन गर्न चाहन्छौँ । साँचो अर्थमा जनतालाई सार्वभौम हौँ भन्ने अनुभूति दिलाउन चाहन्छौँ । कुनै अर्को पक्षले बहुमत ल्यायो भने त्यस संस्थालाई फुटाएर, टुटाएर स–साना झुण्डमा जनतालाई विभाजित गरेर होइन त्यहीँ बसेर सुधार गरेर संस्थाहरुभित्र प्रजातान्त्रिक संस्कार बसाल्न चाहन्छौँ । त्यसैले तारे पार्टीको प्रजातन्त्र ठालुहरुको तन्त्र हो, ठूलालाई चैन सानालाई ऐनको प्रजातन्त्र हामीलाई चाहिँदैन । त्यसको विकल्पमा हामी जनताको प्रजातन्त्र बनाउन चाहन्छौँ । त्यसैले हामीले जनताको बहुदलीय जनबाद भनेका हौँ ।’ 
‘अब बाँकी रह्यो समाजवादको कुरा । घोषणा पत्रमा नै खुल्ला अर्थतन्त्रको वकालत गरेर उसले जनतासँग भोट माग्यो । शोषण र असमानताका विरुद्ध आफ्नो नीति के हुने ? यस बारेमा क्यै भनेन । धनीलाई झन् धनी अनि गरिबलाई झन् गरिब बनाउने कथित खुल्ला अर्थतन्त्रमा देखिने असमान वितरण प्रणालीले समाजवाद ल्याउन खोज्नु दिवास्वप्न हो । यो कुरा कैल्यै यथार्थ हुन सक्दैन ।’ मदन भण्डारी आफ्नो विश्लेषणमा अत्यन्त दृढ देखिए । 
राजनीतिका पेचिला प्रश्नमा उनका तीखा विश्लेषणले म नतमस्तक भएँ । नेपाली धरतीमा एउटा नयाँ र सिर्जनात्मक राजनीतिज्ञ जन्मेकोमा मलाई भित्रैदेखि गर्व पनि लाग्यो । म उनीसँग लामो कुराकानी गरेर बाहिरिएँ । 
म मदन भण्डारीसँग भेट गर्न गएको चर्चाले मेरा साथीहरुको पंक्तिमा अनेक अनुमान चलेछन् । कतिले त विवेक मदन भण्डारीको पछाडि लाग्न थाल्यो भनेर चर्चा पनि गरेछन् । राजनीतिक दरिद्रताको साँघुरो घेरामा बसेर आफूलाई सँघुर्याउने र अरुका कुरा बझ्न नचाहनेहरुलाई मैले केही भन्नु आवश्यक ठानिनँ । त्यसपछि बारम्बार मेरो मदन भण्डारीसँग सम्बाद भइ नै रह्यो ।       
+   + +
राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा मदनको ‘जबज’ को नयाँ दर्शनले प्रशंसा र उचाई पाउँदै थियोे । सर्वत्र चर्चा परिचर्चा र छलफल हुन थाल्योे । अन्तर्राष्ट्रिय मिडियाहरुले चासो राख्नथाले । अन्तर्राष्ट्रिय कम्युनिष्ट जगतमा समेत मदन भण्डारीको अवधारणा नयाँ थियो । ‘जवज’ को बारे निकै चासो र खुल्दुली रह्यो । 
संसारमा कम्युनिष्टहरुको शासन धमाधम ढलिरहेको थियो । कम्युनिष्ट शासन भएका देशहरुबाट उनीहरु सत्ताच्युत हुँदै थिए । यही सन्दर्भ पारेर भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले सन् १९९३ को मे महिनामा कोलकातामा एक सेमिनार आयोजना गर्यो । यो ३ दिने सेमिनारको मुख्य बिषय थियो समकालीन विशेष परिस्थिति र माक्र्सवादको सार्थकता । यस सेमिनारमा मदन भण्डारी आमन्त्रित भए । विश्वका १९ देशका प्रतिनिधिहरुको सहभागिता थियो । उक्त सेमिनारमा मदन भण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गरे । त्यसमा उनको कार्यपत्रको व्यापक स्वागत र समर्थन भयो भनेर पत्रपत्रिकाहरुमा पढ्न पाइयो । 
सेमिनारमा सहभागी सबै देशका कम्युनिष्ट प्रतिनिधिहरुले विश्व कम्युनिष्ट आन्दोलनको प्रसंगमा नौलो चिन्तन र नयाँ मार्गदर्शनका रुपमा मदनको विचारलाई लिए । ठूलो सम्मान पाए उनले । उनको ओजस्वी र कलात्मक शैलीमा नविन विचारको प्रस्तुतिको प्रशंसा सहभागीहरुले गरेको कुरा छापाहरुमा आइरहे । भारतीय छापाहरुमा मदन भण्डारीको चर्चा सर्वत्र भयो । त्यहाँका कम्युनिष्ट नेताहरुले पनि मदन भण्डारीको जबजको खुलेर प्रशंसा गरेको देखियो । मदनको कार्यक्रम अन्तर्राष्ट्रिय चर्चाको बिषय बन्यो । यसले कतिपय विदेशीहरुका कान पनि ठाडा भए ।
प्रसिद्ध अन्तर्राष्ट्रिय अखवार “न्युजविक” ले १९९१ मे २७ को अंकमा उनको अन्र्तवार्ता प्रकाशित गर्यो । त्यसको शीर्षक थियो– नेपाल, जहाँ माक्र्स जीवित छन् ।  यो अन्र्तवार्तामा उनले कम्युनिष्टहरुप्रतिका कतिपय अस्पष्टताहरु हटाउने र आफ्नो नीति प्रष्ट पार्ने काम गरे । अन्तर्राष्ट्रिय आन्दोलनबाट सिक्ने तर उनीहरुको नक्कल नगर्ने कुरा उनको अन्तरवार्ताले प्रष्ट पारिदियो । आफ्नै मौलिक नीति र कार्यक्रमको सोचमा देखिए भण्डारी । त्यस अन्तरवार्तापछि अन्तर्राष्ट्रियस्तरमा मदन भण्डारी अझ चर्चामा आए । हामी पनि एउटा आसलाग्दा युवा नेता देशले पाउने भयो भनेर खुशी भयौँ । 
+ + +
संसदमा मदन भण्डारी सधैँ देखिँदैनथे । पार्टीको जिम्मेवारीका कारण केही जरुरी कुराहरुमा पार्टीको धारणा राख्नुपर्दा मात्रै उनी संसदमा उपस्थित हुन्थे । मदन भण्डारीको बोल्ने पालो परेको दिन संसद भवन खचाखच भीडले भरिन्थ्यो । पुराना, पाका र कपाल फुलेका नेताहरुका अगाडि मदन भण्डारी उभिएर बोल्दा सबै उनीतिरै फर्केर ध्यानपूर्वक कुरा सुनिरहेका हुन्थे । पत्रकारहरुलाई ठूलो लेखन मसला मिल्थ्यो उनका कुराबाट । 
मदन भण्डारी सधैँ कालो भादगाउँले टोपी लगाउँथे । मैले एकदिन संसदको क्यान्टिनमा सँगै खाजा खाँदैगर्दा कुरैकुरामा त्यसको पनि केही रहस्य छ कि भनेर सोधेँ । उनले भने– ‘म अलि सानै उमेरदेखि भारतमा पढ्न बसेँ । टोपी लगाएका नेपालीहरुलाई धेरैजसो भारतीयहरुले हेपेको पाएँ । त्यसैले त्यस्तो हेपाइ प्रतिवाद गर्न मैले सधैँ टोपी लाउन थालेँ । त्यसबेलादेखि मेरो शिरबाट यो टोपी छुटेको छैन । म टोपी लगाएरै नेपालीहुनुको गौरव अभिवृद्धि गर्न चाहन्छु ।’ गम्भीर भावमा उनले मलाई जवाफ दिए ।
हेर्दा जावो टोपी तर गहिराइबाट नियल्दा त्यसले दिने आत्मस्वाभिमान निकै गहिरो रहेछ । म उनको भनाइ र त्यो अठोटप्रति मनमनै झुकेँ । मदन भण्डारीको त्यो भनाइ स्वदेश भक्तिको, स्वपहिचानप्रतिको गौरव र दृढ प्रतिज्ञाको अनुकरणीय नमूना मान्छु म । नेपाल र नेपालीको पहिरनप्रतिको घृणा, हेला, होच्याउने प्रवृत्तिको गम्भीर भएर प्रतिवाद गर्ने अठोट ठान्छु म यसलाई । टोपी लुकाएर होइन, फालेर होइन, शीर निहु¥याएर होइन, हीनताबोधले पनि होइन बरु झनै दृढताकासाथ आत्मसम्मानको ज्वाला जगाएर टोपी लाउन थालेको मदनको उदाहरण अपनत्वको नमूना मान्छु म । राष्ट्रिय पोशाक फ्यालेर अरु राष्ट्रको पहिरन् लाउनमा के गर्व ? देशप्रति हेलाँ, घृणा, अवहेलना, नीचता देखाउनेप्रति अघि बढेर प्रतिवाद गर्ने साहस र गहिरो भावनाले मात्रै वास्तवमा देशभक्तिको पहिचान दिन सक्दछ । मदन भण्डारी यसका लागि, सबै नेपालीका लागि अनुकरणीय, उहाहरणीय पात्र रहेछन् । मनमनै यस्तै सोचेँ मैले मदनको भनाइबाट । म भित्रैबाट उनको स्वदेशप्रेम र स्वाभिमान देखेर छक्क परेँ ।