Thursday, April 27, 2017

प्रकृति, पर्यटन र पत्तीको इलाम

इलाम र सिलाम
म सानो हुँदा अग्रजहरुले भनेको सुन्थेँ, ‘सिलाम खाने भए इलाम जानू ।’ इलाम र सिलामको के सम्बन्ध थियो मलाई त्यतिबेला थाहा भएन । म सोच्थेँ, इलाममा प्रसस्त सिलाम पाइने भएकाले शायद त्यसो भनेका होलान् । 

म सिन्धुलीको पहाडी भागमा जन्मेहुर्केको । गाउँघरका रुखा बारीमा सिलाम फल्थ्यो । पाकेर सुकेका गेडा काँचै खाँदा पनि हुन्थ्यो । भुटेर अमिलो र नून मिलाएर अचारको रुपमा खाने चलन पनि थियो । काँचो चालम र दहीसँगै सिलाम लिाएर खाने चलन पनि थियो नयाँ धानको न्वागीसँगै । अरु फाइदाका बारेमा भने थाहा थिएन । अहिले पनि मलाई हल्का भुटेको सिलाम असाध्यै मन पर्छ ।
............
म २०१० मा थाइल्याण्ड घुम्न जाँदा बौद्ध भिक्षुहरुको एउटा उपचार केन्द्रमा भ्रमण गर्ने र त्यहाँको उपचार विधि बुझ्ने अवसर मिल्यो । त्यहाँको उपचार पद्धती विचित्रको थियो । जुनसुकै रोग भए पनि एउटै उपचार गर्थे उनीहरु । सुरुका तीन दिन उपवास राखेर दिउँसो र बेलुका काँचो नरिवलको पानी खान दिइन्थ्यो । दिउँसो एक पटक सिलामको पातलो झोल र रातो चामलको माड खान दिइन्थ्यो । तेस्रो दिन बेलुका २५० ग्राम ओलिभ आयल अनि पाँचवटा कागतीको रस मिलाएर खान दिइन्थ्यो । चौथो दिन शरीरभित्रको आन्द्रामा लुकेर रहेको सबै मल सफा हुन्थ्यो । उपचारकले सबैलाई एकेकवटा बाल्टिन दिएका हुन्थे । सबैले आफ्नो शरीरबाट निस्केको मलमूत्र बाल्टिनमा लिएर लाम लाग्नुपथ्र्याे । त्यो हेरेपछि उपचारकले कसको के रोग लागेको अनि के औषधि खाने, खानेकुरा के खाने भनेर ठम्याउँथ्यो र उपचार बताउँथ्यो । बैंककको सुविधासम्पन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामी पनि त्यहाँबाट निको भएका प्रशस्त उदाहरण थिए उनीहरुसँग । 

शायद मैले बाल्यकालमा सुनेको सिलामको उपचार विधि ती अग्रजहरुले पनि थाहा पाएका थिए कि ! मलाई इलाम गएर सिलाम खानू भन्ने पाका मानिसले संसार छाडिसके, नत्र म उनीहरुलाई यसबारे सोध्ने थिएँ । यस पटक इलाम पुगेपछि ती पाका मानिसको सम्झना भइरह्यो बारम्बार । आखिर किन इलाम र सिलामलाई दाँजे त उनीहरुले ? प्रश्नले घोचिरह्यो मलाई । अनुमान गरेँ सिलाम सुख्खा र रुखो ठाउँमा हुने बाली हो शायद इलामको रुखा डाँडापाखामा सहजै फल्ने भएकाले प्रशस्त सिलाम फल्दो हो र त्यसबाट शरीरका रोग पनि भाग्ने भएकाले बूढापाकाहरुले सिलाम र इलाम अनुप्रास मिलाएर भनेका होलान् भन्ने लाग्यो ।
.......
२०७४ सालको सुरु, बैशाख ३ गते बिहान, म चर्चित लेखक तथा पत्रकार मित्र आश्विनी कोइरालाको निकैपटकको घच्घच्याइपछि इलाम घुम्न निस्किएँ । निकै वर्षअघि इलाम गएकाले पछिल्ला दिनमा इलाममा आएको परिवर्तन हेर्ने र बुझ्ने अझ चियाको विकाससँग एकाकार हुने चाहनाले मलाई आश्वीनीजीको अनुरोध स्वीकार्न बाध्य पारेको थियो । इलामकै रैथाने मित्र नरेन्द्रकुमार गुरुङको आतिथ्य पाउने भएपछि म फुरुङ्ग हुँदै इलामतिर तानिएको थिएँ । इलाम घुम्ने, इलाम बुझ्ने अनि इलामका सम्भावनासँग एकाकार हुने । मेरो लक्ष्य यही थियो यसपटकको इलाम भ्रमणको ।

हुनतः म यसअघि पनि इलाम त गएको थिएँ तर त्यहाँ घुम्ने, रमाउने, केही बुझ्ने भन्दा पनि एउटा कामको सन्दर्भमा केही दिन बिताएर फर्केको थिएँ । घुमाइ र अध्ययनको चाख पनि थिएन त्यतिबेला । यस पटक भने मेरो चासो थियो इलामको विकास प्रयास, त्यहाँको प्राकृतिक सुन्दरता, पर्यटन अनि चिया ।

दुई वर्षअघि चीनको फुजियान, जियाङ्सी र ग्वाङदोङ प्रान्तको चिया खेती र प्रविधि हेरेर फर्केपछि मलाई इलामको चियाले तानिरहेको थियो । तर मौका नमिली कहाँ पाइन्छ र अवसर ! म आजआज, भोलिभोलि भन्दै रोकिएको थिएँ । तर यसपाली भने नरेन्द्रजी र आश्वीनीको अनुरोध र मेरो इच्छाको त्रिवेणी मिल्यो । 
 ‘क्लिन इलाम, ग्रिन इलाम’
झापा कटेर इलाम लाग्नासाथ सडकछेमा अड्याएर राखिएको बसको पछाडि लेखिएका शब्दले मलाई आकर्षित गरे । बसमा लेखिएको थियो ‘क्लिन इलाम, ग्रिन इलाम’ । मैले सम्झेँ छिमेकी भारतीय राज्य सिक्किमको सिको गरेका होलान् बसवालाहरुले, ‘क्लिन सिक्किम, ग्रिन सिक्किम’ भनेझैँ । तर मेरो मनमा भने अलि अनौठो अनुभूति हुँदै गयो उकालो लागेसँगै । मलाई लाग्न थाल्यो के साँच्चै त्यो बसका शब्द जस्तै हुँदै त छैन इलाम ? हेर्ने दृष्टि जस्तो छ त्यस्तै त हुँदो रहेछ नि दृश्य पनि । यस पटक मेरो दृष्टि खोजमूलक थियो मेरो हेर्ने दृष्टि भिन्न थियो । चारैतिर हरियाली, प्रकृतिको सुन्दर मुहार, पौरखी मानिस अनि प्रकृतिसँग सुहाउने जे उत्पादन हो त्यसैबाट आम्दानी । मैले इलामलाई यस पटक यसैगरी बुझ्ने प्रयास गरेँ । 

व्यक्तिगत आयस्तरको हिसाबले इलाम नेपालको सबैभन्दा धनी जिल्ला । इलामलाई के ले यति धनी बनायो ? अनुभवीहरु यसको उत्तरमा भन्छन्– इलामलाई अम्रिसो, अदुवा, अलैँची, ओलन (दूध), आलु र इस्किुसले धनी बनायो । तर अहिले अलि फरक भएको छ अवस्था । अब इलाममा अलैँची करिबकरिब लोप भएको अवस्थामा छ । अम्रिसो, अदुवा, दूध, आलु र इस्कुस भने अझै आर्थिक आर्जनलाई टेवा पु¥याइरहेका छन् । तर अब इलाम नयाँ श्रोतका साथ अघि बढिरहेको छ, प्रकृति, पर्यटन, पत्ती (चियापत्ती) र पशुका साथ सहकारी ।
प्रकृतिको वरदान
फिक्कलको चिसो हावा माइक्रोबसको झ्यालबाट मेरो गालामा म्वाइँ खान आएसँगै विर्तामोडबाट मसँगै साथ लागेको गर्मी सुइँकुच्चा ठोक्यो । म हल्का र तरोताजा भएँ । भर्खरको उत्ताउलो गर्मी कन्यामको चियावारीसँगै गायव ! कस्तो विविधता इलामको ! करिब एक घण्टाको दूरीमै यति फरक प्रकृति । कहाँ विर्तामोड र चारआलीको त्यो गर्मी कहाँ फिक्कल देख्नासाथ ज्याकेट खोजौँखोजौँ लाग्ने शितलता । काठमाडौँदेखि फिक्कलसम्मको करिब १० घण्टाको यात्राको थकाइ क्षणभरमै गायव भयो अनि म चारैतिरका हरिया डाँडामा हार मिलाएर हाँसिरहेका चियाका बोटका ती कलिला पालुवासँगै मुस्कुराउन थालेँ र भन्न थालेँ, वाह क्या गजव छ ग्रिन इलाम ! 

गर्मीले रापिएर हायलकायल भएका युवा तन्नेरीहरु चिसो हावामा मोटरसाइकलमा हुँइकिएर एक घण्टाभन्दा कम समयमा शितल चियाबारीमा लुकामारी खेल्न पुगेका थिए । हिँड्न सक्नेहरु हिँडेरै दृश्यावलोकन गर्दै थिए्, हिँड्न नसक्नेहरु घोडामा चढेर शयर गर्दै थिए । सुविधाले भरिँदै गएको छ फिक्कलको पर्यटन व्यवसाय । म फिक्कलको कन्याम पुग्दा युवतीहरु फोटो खिच्न चियावारीका बोटमा झुक्दै र अंकमाल गर्दै थिए, कोही भने वरिपरिका हरिया पहाडसँगै अचम्मित भएर आफ्नो सबैभन्दा महँगो चाहिँ क्यामेरा निकालेर जुम गर्दै थिए त्यो दृश्य क्यामेरामा कैद गर्न । वाह प्रकृति ! अनि सँगै जोडिएको त्यो विकास पस्कने इलाम । जति प्रशंसा गरे पनि कमै हुन्छ इलामलाई । म फिक्कल पुगेसँगै दङ्ग हुन्छु ।
फेरिँदै छ परिचय
केही वर्षअघिसम्मको परिचय फेर्न कम्मर कसेर लागेको छ इलाम । प्रशस्त वर्षा, ओसिलो जमिन , ठिक्क उचाइका पहाड, प्रचुर मात्रामा पानीको श्रोत अनि रमाइला पर्यटकीय स्थलले इलामलाई विकासका नयाँ सम्भावनातिर तानिरहेको छ ।  चियाखेतीको विस्तारसँगै यसको प्रविधि फेरेर आम्दानी र ख्याति बढाउन कम्म्र कसेर लागेका छन् किसान र उद्यमी । पर्यटकका लागि नयाँ गन्तव्यहरु विकास गरिँदै छ । सूर्योदयको दृश्यावलोकन गर्न अन्तुपछि सन्दकपुरलाई विकास गरिँदै छ । माइपोखरीलाई पर्यटकीइ आकर्षणसँगै बस्नेखाने सुविधा विस्तार गर्दैछन् व्यवसायीहरु । अबको इलाम प्रकृति, पर्यटन र पत्तीको इलाम बन्ने सम्भावना बोकेर अघि बढ्दै छ । 

प्रविधि, पर्यावरण र पौरखको त्रिवेणी इलामले मलाई घ्वापल्याक्क अँगालो मा¥यो इलाम बजार पुगेपछि । मित्र नरेन्द्रजीको आतिथ्य अनि उहाँका असी काटिसक्नुभएका पिताजीका पुराना विकासे अनुभव । सुन्दासुन्दै तीन दिन हराएँ म । प्रकृतिको काखमा गुन्जने न्याहुलीको मीठो स्वरसँगै, धूपी र चियाको वासनासँगै, पहाडी घाँसको पोषण पाएका इलामे गाईको दूधबाट बनेका छुर्पी, कुराउनी र ललिपपसँगै मेरो इलाम बसाइको घडी घुमिरह्यो उकालीओराली गर्दै । 

बिहानै चियावारी घुम्न निस्कन्छु, इलाम बाहिरबाट घुम्न गएकाहरु कोही चिया पर्यटनमा रमाउँदै डोको बोकेर चिया टिप्तै छन् त कोही माइपोखरी र सन्दकपुरको ट्रेकिङमा ह्याभरस्याकको भारी बोकेर असिनपसिन हुँदै प्राकृतिक सुन्दरता पान गर्दैछन् एकल वा समूहमा । कोही भने ‘भोलि त अन्तु पनि जानुपर्छ है’ भन्दै अन्तुडाँडाबाट बिहानी सूर्योदयको दृश्यपानमा रमाउन योजना बनाउँदै छन् । हेर्दै आनन्द लाग्ने मानिस, पर्यावरण र विकासको त्रिवेणी बन्दै गरेको त्यो इलाम देख्ता । 

माइपोखरीको जैविक र प्राकृतिक विविधता, नेपालटार र रक्सेका चिया बगान, पुवाखोलाको चिसो पानी र इलामेली ललिपप, छुर्पी र अर्थोडक्स चियाको स्वादसँगै मैले इलामको न्यानो आतिथ्यका तीन दिन बिताएँ । ती सबैले मलाई मोहनी लगाए यसपाली । अब मलाई लागिरहेको छ, इलाम यो देशको जीवन्त उदाहरण हो विकासको, प्राकृतिक वातावरण संरक्षण र भूगोल सुहाउँदो विकासको ।
छटपटीमा चिया क्षेत्र
विकासको स्वभाव हो नयाँपनको खोजी । इलाम र चिया पर्यायवाची नै हुन् । चिया भन्नासाथ हाम्रो मनमा आउँछ बिहानै गृहिणीहरुले उमाल्ने दूधसहितको गुलियो पानी अनि अलिकति कालो रंगको अलिअलि वासनादार धूलो मिलाएको पेय पदार्थ । घरमा बिहानै तलतल मेटाउन होओस् वा आतिथ्य सत्कार हामी चियाको नाम लिन्छौँ । त्यो उत्पादन गर्ने नेपालको भूभाग हो, इलाम । 

मेरो यस पटकको चासोको बिषय पनि थियो चिया उत्पादन, त्यसमा प्रयोग भइरहेको प्रविधि अनि किसानको तहमा त्यसको उत्पादन प्रणालीप्रतिको सचेतता । सहकारीमार्फत् चिया उत्पादन सुरु भएको केही वर्ष भइसकेको र त्यसले उद्योगी र किसान दुवैको ध्यान तानिरहेको अवस्थामा मेरो चासो थियो कृषकहरुमा प्रविधिप्रतिको सचेतता । यसै क्रममा भेट भए इलाम बरबोटेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष मोहन आचार्य । करिब सयको हाराहारीमा सदस्य रहेको यस संस्थाका कृषहरुबाट करिब ३ लाख केजी हरियो पत्ती चिया प्रशोधक कारखानालाई बेच्ने गरिँदो रहेछ । गुराँसे चिया उद्योगले हरियो पत्ती खरिद गरेर प्रशोधन गर्दो रहेछ । अब भने उनीहरु आफैँ पनि प्रशोधन कारखाना खोलेर चिया उत्पादन गर्ने सुरमा छन् । आगामी वर्षदेखि प्रशोधित चिया बजारमा ल्याउने योजनामा छन् सहकारीका किसानहरु । 

मैले उनीसँगको भेटमा चिया प्रशोधन प्रविधि, उत्पादनमा रासायनिक पदार्थ र बिषादि प्रयोगबारे जिज्ञाशा राख्ता उनले भने– ‘केही वर्षअघिदेखि माइ खोलायताको भागमा बिषादि र रासायनिक मलको प्रयोग चियामा गर्नु हुन्न भन्ने सचेतता बढ्दै गएको छ । खासगरी अर्थोडक्स चिया उत्पादन हुन थालेपछि यसलाई किसानहरुले ह्वात्तै घटाएका छन् । रासायनिक मल निकै कम भएको छ, बिषदि लगभग शून्यमा पुगेको छ । अबको केही वर्षभित्र इलाममा बिषादिरहित र रासायनिक मलरहित चियाबारी निकै ठूलो आकारमा हुनेछन् । हामी पूर्णतः अर्गानिक उत्पादन गर्छौं । बिषादि बहिष्कार अभिायान चलेको छ गाएभरि ।’

त्यसपछि मेरो थप जिज्ञाशा रह्यो चिया प्रशोधन र चिया संस्कृति विकासको । त्यसका लागि मित्र नरेन्द्र जी र म लाग्यौँ नेपालटार र जसवीरेको चिया बगान र प्रशोधन केन्द्र भ्रमण गर्नेतिर । जसवीरेमा सञ्चालित जसवीरे चिया उद्योगका उद्यमी शरद लिम्बूसँग चिया टेष्टिङ र चिया बगान भ्रमण गरिसकेपछि थाहा भयो अर्थोडक्स चियाको प्रशोधनमा अहिले भारतीय र चिनीयाँ दुवैथरी मेशीन र प्रविधिको प्रयोग भइरहेको छ ।
अर्थोडक्स चिया उत्पादन र उपभोग दुवैमा संसारकै अग्रणी मानिन्छ चीन । चीन संसारकै सबैभन्दा बढी चिया उत्पादन गर्ने देश र सुरुआत गर्ने देश अनि सबैभन्दा बढी चिया खपत गर्ने देश पनि हो । यससँगको सहकार्य प्रविधि हस्तान्तरण र व्यावसायिक सहकार्यबिना नेपालले खासगरी ‘स्पेसियालटी टि’को गुणस्तर विकास गर्न असम्भव नै हुन्छ । 

‘आजका दिनसम्म हाम्रो चियाको बजार भारतरनिर्भर रहेको छ । व्यापार पनि ठूला व्यापारीको हातमा छ । त्यसमा पनि भारतीय मूलकै व्यापारीको कब्जा छ । बजार र मूल्य दुवै ठूला व्यापारीको हातमा छ । हामी टुहुरा छौँ । प्रविधि सिकेको दार्जिलिङबाटै हो । त्यही चियाका व्यापारीहरु हाम्रा पनि व्यापारी हुन् । अब चीनीयाँ चिया प्रविधि नल्याउने हो भने अहिलेकै अवस्थामा कति अघि जान सकिन्छ यसै भन्न सकिन्न ।’ जसवीरे चिया उद्योगका शरद लिम्बू भन्छन् ।  

नेपालमा चियाको खेती गर्न थालेको सय वर्षभन्दा बढी भइसक्यो तर एउटा पेयको रुपमा हेर्नेभन्दा बढी अध्ययन, अनुसन्धान हामीले गर्न सकेका छैनौँ । केही समयअघिसम्म चिया भनेको धूला नै हुनुपर्छ भन्ने मान्यता थियो । जब केही उद्यमीहरुले अर्थोडक्स चिया उत्पादन गर्न थाले अनि बल्ल हामीले थाहा पायौँ चिया त यसरी पनि पो खान मिल्दो रहेछ । चिया पेयपदार्थ मात्र होइन यो एक औषधीय गुण भएको वनस्पती पनि हो भन्ने अझै हामीले बुझिसकेका छैनौँ । त्यसबारे अध्ययन र अनुसन्धान गर्ने कुनै निकाय र संस्था पनि छैनन् हामीकहाँ । हाम्रो चिया संस्कृति पनि चियाको औषधीय गुणको उपयोग गर्नेखालको छँदा पनि छैन । धेरै सुधार गर्नुपर्ने छ हाम्रो चिया सँस्कृतिमा । 

केही वर्षअघिदेखि विदेशी दातृ निकायको सहयोगमा चिया सहकारी बनाउने र उत्पादनका लागि केही मात्रामा पूँजीगत अनुदान र प्रविधि प्रदान गर्नेे काम सुरु भएको छ । सरकारले पनि केही मात्रामा यसमा काम थालेको देखिन्छ । किसानहरु नपकाइकन खाने पदार्थ भएकाले यसमा बिषादिको प्रयोग गर्नुहुँदैन भन्नेमा सचेत हुँदै गएका छन् । तर पनि रासायनिक मल नहाली उत्पादन लिन सकिन्छ भन्नेमा अझै ढुक्क हुन सकेका छैनन् । गुणात्मक भन्दा मात्रात्मक चेतनाले अझै किसानलाई छोडेको छैन । चिया उत्पादन गर्दा त्यसमा रासायनिक पदार्थ र बिषादिको प्रयोग नगर्न सम्झाउँदासम्झाउँदा बल्लतल्ल किसान सचेत त हुन थालेका छन् तर त्यो अनुकूल बजार विस्तार, प्रविधिमा पहुँच र मूल्य निर्धारण हुन सकेको छैन । यसमा सरकार, सहकारीकर्मी, उपभोक्ता, उद्यमी सबैले ध्यान दिन सके हाम्रो चिया संसारकै उत्कृष्ट र मूल्यावान् चिया हुनसक्छ । यसमा सबैले सोचौँ । अब रुखा पखेरामा सिलाम रोप्ने होइन चियाका हरिया बगान बनाएर प्रकृति, पर्यटन र पर्यावरण तीनै पक्ष मिलेको उन्नत इलाम बनाउन सकिन्छ । अन्तमा मेरो सलाम छ त्यो ‘प्रकृति, पर्यटन र पत्ती’ को त्रिवेणी मिलेको इलामलाई अनि ‘क्लिन’ अनि ‘ग्रिन’ इलामलाई, जो सही गन्तव्यतिर अग्रसर भइरहोस् युगीन चेतना र विकाससँगै ।

Tuesday, April 25, 2017

कर्णाली, हिमचुली सहकारी र नेतृत्व–कला

कर्णाली यात्राः रोमाञ्चक अनुभव

काठमाडौँ र अरु सुविधा सम्पन्न शहरहरुमा बस्नेहरुका लागि कर्णाली
भन्नसाथ आदिम सभ्यता र दुर्गमको बुहार्तनझैँ लाग्ने गर्छ । आवतजावतका लागि सवारी भाडा र खाने खर्चको हिसाब गर्दा ठूलै रकम खर्चका लागि छुट्याएर हवाइ टिकटको लाममा बस्नुपर्ने अवस्था थियो केही वर्षअघिसम्म । अहिले अवस्था केही परिवर्तन भएको छ । कर्णाली र काठमाडौँ सडक आवागमन र संचारले नजिक्याइदिएको छ । हवाइजहाजको मात्रै भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ कर्णाली राजमार्ग सञ्चालनमा आएपछि ।

निकै वर्षअघि हवाइजहाज चढेर जुम्ला पुग्दा कर्णालीप्रतिको मेरो सोचाइ उल्टिएको थियो त्यहाँका अवसर र सुविधाको पहुँच देखेर । जुम्ला बसुन्जेल मैले किन यो ठाउँलाई दन्त्यकथाको कुनै अदृश्य ठाउँझैँ बनाएर कथा र कहानीमा गुँथिएको होला भनेर धेरै पटक गम खाएको थिएँ । जल, जडिबुटी र जमिनको प्राकृतिक सुन्दरताको त्यो स्वर्णभूमि कर्णालीको स्पर्श गर्दा मन विश्मय र रोमाञ्चले भरिएको थियो । मन फुरुङ्ग भएको थियो त्यस ठाउँको जीवन र भूभाग दुवै देख्न, भोग्न र हेर्न पाउँदा । कुनै विदेशी दातृ निकायको विशेषज्ञ बनेर पुगेको थिएँ म जुम्लाकै विकट मानिने पातमारा भन्ने ठाउँमा । 

यस पटक पनि विशेषज्ञको रुपमा राष्ट्रिय योजना आयोगको एक अध्ययनको सिलसिलामा फेरि कर्णाली घुम्ने, बुझ्ने र अध्ययन गर्ने सौभाग्य मिल्यो यही वर्षको शुरुमा । निहुँ थियो सरकारले सहकारी संस्थाहरुलाई बाँडेको अनुदान कार्यक्रमको प्रभावकारिता र उपयोगबारे अध्ययन गर्ने ।

जेठको अन्त्यतिर भएकाले पानी पर्न थालिसकेको थियो । पानी कम पर्ने ठाउँमा थोरै वर्ष भए पनि पहिरोको जाखिम हुने भएकाले हाम्रो टोली काठमाडौँबाट आफ्नै गाडी लिएर कर्णालीसम्मको यात्रामा निस्केको थियो । सुर्खेतबाट मान्म पुग्न सार्वजनिक सवारी साधन मनग्गे नै थिए । साना ठूला सवारी साधन प्रशस्तै चल्दा रहेछन् । सुर्खेतबाट मान्म जाने दुइटा बाटा रहेछन् । निकै वर्षसम्म राजनीतिक खिँचातानीमा अल्झेर बल्लतल्ल सार्थकता पाएको कर्णाली राजमार्ग टुनिबजार पुगेपछि दुवैबाटाहरु एकैभएर अघि बढ्दा रहेछन् । त्यसपछिको बाटो अलि फरक थियो । तल बग्ने कर्णालीको तिरैतिर वारिपारि अग्ला डाँडाले भनिरहेका थिए, दुर्गम नभएको भए सुगमको मजा कहाँ ? दुःखै नदेखे सुखको आनन्द कहाँ ? दुर्लङ्घ्य बनेर उभिएका हामी जस्ता चुचुराले दिने अवसर खोइ चिन्न सकेको तिमीहरुले ? यी खोचहरुमा गहिरा र ठूला ड्याम बनाएर हजारौँ मेगावाट बिजुलीको सम्भावना देखेको भए कर्णालीले यो गरिबी देखिरहनु पथ्र्यो र ? अनुत्तरित प्रश्न गरिरहेका थिए कर्णालीका अग्ला पहाड, निर्जन खोँच र शक्तिशाली नदीहरुले । देशको अपार सम्पदा खेर फालेर गरिबीमा रमाउँदै छौँ हामी गरिबीको भारी बोकेर । कर्णालीको तिरैतिर यात्रा गर्दा यसरी नै घोचिरहे ती अग्ला पहाड, खोँच र नदीहरुले ।
  
हाम्रो टोली जतिजति अघि बढ्दै भयो त्यतित्यति कोमल धरती देखिँदै गयो । भूभागको अवस्था अत्यन्त कमलो । अलिकति पानी परेपनि खुलुलुलु बगेर तलतिर खसिहाल्ने । बाटो बन्द भइहाल्ने पहिरो खसेर । टोपी खस्नेगरी आँखा आकासतिर फर्काएर हेर्दा पनि टुप्पो नदेखिने सुख्खा पहाड चारैतिर । पहाडको फेदीमा सर्पझैँ लमतन्न तेर्सिएको कर्णाली राजमार्ग । सडकको आसपासमा ससाना बस्ती जस्ता लाग्ने गाउँहरु देखिन्थे घरीघरी । यहाँ बस्नेहरुको जीविकोपार्जन चाहिँ के हुँदो हो ? सबैका मनमा जिज्ञाशा थिए । सडकको छेउमा झुप्राहरु देखिन्थे घरीघरी । सानोतिनो होटलको स्वरुप ठान्थ्यौँ हामी त्यसलाई ।  मानिसको बसाइ र जीविकोपार्जनबारे अनेक जिज्ञाशाका पहाड चुलिएका थिए सबैका मनभित्र । 

बेलुकी साँझ पर्नेबेला दैलेखको खोली बजार पुग्दानपुग्दै बसहरु बासबस्ने तरखरमा थिए । सुरक्षाकर्मीहरुले गाडीको ब्लुबुक लिने र बिहानै सवारीधनीलाई फिर्ता गर्ने चलन रहेछ । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको क्षेत्रमा रात परेपछि सवारी चलाउन रोक लगाइएको र त्यसको लागि सवारी अनुमति पत्र लिनुपरेको बताउँदै थिए सुरक्षाकर्मीहरु । सुरक्षाको लागि सतर्कता ठीकै भए पनि उनीहरुको व्यवहार भने अलि बिझाउने खालको थियो । नयाँ यात्रुका लागि यसले दिने प्रभावतर्फ उनीहरुको कुनै वास्ता थिएन ।
हामी बास बस्ने होटलको खोजीमा लाग्यौँ । प्रतिव्यक्ति रु. २०० तिरेपछि बास बस्ने सुविधा थियो सडकछेउका होटलहरुमा । सुविधा र सरसफाइ पैसाको दरभाउअनुसारकै थियो । जेनतेन रात काट्न मिल्ने त्यतिको ठाउँ पाउँदा पनि हामी भने आफूलाई धन्य ठान्दै थियौँ । 

भोलिपल्टको हाम्रो गन्तव्य थियो कालिकोट जिल्लाको मान्म बजार । खोली बजारबाट बिहान छ बजे हाम्रो टोली मान्मका लागि हिँड्यो । अलिपर पुगेपछि कर्णालीको तिरमा अकल्पनीय ढुंगाको पहरो फोरेर बनाइएको ‘ओडारे सडक’ सुरु भयो, हेर्दै आँङ सिरिङ्ग हुने । तल कर्णाली सुसाएर बगेको देखिन्छ करिब २०० मिटरभन्दा बढी गहिरो खोँचमा । सडक बनाउँनका लागि खोपिएको ढुंगो माथिबाट सडक नै ढाकेर बसिरहेकै छ, मानौ त्यो ओडार सडक हो त्यस भेगको । मुस्किलले कहीकहीँ दोहोरो गाडी पास हुने सडक भए पनि अधिकांश भागमा भने दोहोरो सवारी साधन गुड्ने अवस्था छैन ।

यस्तो अनकन्टरमा सडक बनाउने ती परिश्रमी हातहरु नेपाली सेनाका वीर जवानहरुका थिए भन्ने सुन्दा मेरो शिर उनीहरुप्रति असीम श्रद्धाले भरिएको थियो । ती अनकन्टर ठाउँमा कडा पहिरो काटिरहेका परिश्रमी जवानहरुले ‘श्रमको सम्मान गर्छौं’ भनेर नथाक्नेहरुले नै पहरो फोरेर राति सुतिरहेको समयमा करिब आधा सय जवानहरुको हत्या गरेको घटना सम्झँदा क्रान्ति र परिवर्तनको राजनीति गर्नेहरुलाई भन्न मिल्ने शब्दको अभाव खट्केको थियो मलाई । मनमनै घृणा र आक्रोसको ज्वालामा दन्किएको थिएँ म । राजनीतिको नाममा निहत्था मानिसहरुको हत्या गर्नेहरुको क्रान्तिकारिताप्रति बारम्बार प्रश्न गर्न मन लागेको थियो । यस्तो अनकन्टर ठाउँमा बाटो बनाएर जनताको सेवा गर्ने सेनाका जवानहरुको के अपराध थियो र उनीहरुको हत्या गरियो ? एकपटक ती क्रान्तिकारीहरुलाई यस्तो अनकन्टर पहरो फुटाउन लगाउन पाए शायद उनीहरुको मनमा पनि आफ्नो त्यो कायर कार्यप्रति पश्चाताप हुने थियो कि ! हेर्न मन लागेको थियो मलाई । मनै अमिलो बनाउँदै अकालमा अनि अकारण ज्यान गुमाएकाहरु सम्झँदा अश्रुसिक्त भएका थिए मेरा दुवै आँखा ।  
   
हुल्म बजार नाधेपछि हाम्रो जम्काभेट भयो बसहरुसँग । लाम लागेर सडकमा पार्किङ गरिएका बसहरु हेर्दा कुनै बसपार्क झैँ लाग्थ्यो । सडकको भित्तातिर चेपेर होओस् वा एउटा चक्का सडककिनारबाट अलिकति खसालेर होस् गाडी पार्किङ गरेर ढुक्क साथ खाजा खाँदै थिए चालकगण । हाम्रो गाडी नछिर्नेजस्तो लागेर जब चालकले साइडको माग गरे बस चालकले एक फिट जग्गा खालि छ अलि चेप्नुस् भन्दा मेरो आङ सिरिङ्ग नभइरहेन कर्णालीतिर खसिने पो हो कि भन्ने भयले । 

ठाउँठाउँमा मोटरसाइकलका अस्थिपञ्जर सडकछेउमा टाँगेर दुर्घटनाको खतरा औल्याएको दृश्य साँच्चिकै सम्झनलायक थियो । दुर्घटनाको भयानक दृश्य झल्काउने कर्णाली राजमार्ग किनाराको त्यो दृश्यले त्यहाँ हुने दुर्घटनाको भयानकता दर्शाउँथ्यो ।  

तिला र कर्णालीको दोभाननजिकै बनाइएको पुल पार गरेर हाम्रो गाडी ठाडै उकालो लाग्यो डाँडातिर । डाँडाको थुम्कोमा देखियो सानो बजार । हेर्दा नजिकै देखिए पनि घुम्ती र उकालो काट्न निकै समय खर्चनु प¥यो । जसोतसो पुगियो मान्म बजार । कर्णालीको अपेक्षाकृत सुगमझैँ लाग्ने जिल्ला भए पनि सदरमुकामबाट दुई दिनसम्म हिँडेर पुग्नुपर्ने गाउँहरुमा सरकारी सेवा र विकासको अवस्था दुइ सय वर्षअघिकै अवस्थामा थियो । हाम्रो उद्देश्य कर्णाली जस्तो दुर्गममा साना अनुदानबाट सहकारीहरुले के गरिहेका छन् ? तिनको सदुपयोगको अवस्था कस्तो छ भन्नेबारे अध्ययन गर्नु रहेको थियो । हाम्रो अध्ययनको छनोटमा परेको थियो मान्म बजारस्थित हिमचुली कृषि सहकारी संस्था ।

नाम जस्तै काम

गाउँमा ससाना बचत समूहमा संगठित भएर बचत गर्ने बानी परेका अनौपचारिक समूहलाई संगठित गरेर करिब ५ वर्षअघि गठन गरिएको कृषि सहकारी रहेछ हिमचुली । सुरुआतमै १७०० सदस्य लिएर दर्ता भएको हिमचुली हाल आएर कालिकोटका ३० वटै गा.वि.स.मा फैलिएको र ६५०० सदस्यमाझ पुगिसकेको रहेछ । कृषि, पशुपालन, लघुवित्त, दूग्ध व्यवसाय गरी आफ्नो कार्यक्षेत्रलाई व्यापकता दिँदै क्रमिक विस्तारमा अघि बढिरहेको यो संस्थाले छोटै समयमा कर्णालीको एउटा सक्षम संस्थाको रुपमा आफूलाई उभ्याइसकेको छ । हाल १६ वटा गा.वि.स.मा लघुवित्त कार्यक्रम संचालित छ भने ५ वटा सेवा केन्द्र मार्फत् ६५०० सदस्यबीच संस्थाले कार्य सञ्चालन गरिरहेको छ । 

कसरी सम्भव भयो यस्तो दुर्गममा यति व्यापक विस्तार ?

हामीलाई हिमचुलीमा स्वागत गर्ने व्यक्ति हुनुहुन्थ्यो व्यवस्थापक तथा अध्यक्ष श्री भीम प्रसाद बराल । अनुभवले आधा शताब्दी कटाउनै लाग्नुभएका बराल शिक्षक पेशा छोडेर सहकारीतामा प्रवेश गर्नुभएको रहेछ । स्थानीय स्तरमा आफूले दिनसक्ने योगदान समाजलाई दिने उद्देश्यका साथ शिक्षक पेशा छाडेर सहकारीमा पूर्ण समय दिने निर्णय गर्नुभएको रहेछ उहाँले । स्थानीय जनताको जीवनस्तर र बजारको मागलाई ध्यानमा राखेर संस्था स्थापनापछि बढीभन्दा बढी मानिसलाई समेटेर सहकारीताको प्रसार गर्ने योजना बनाएछ नेतृत्वले । त्यसको पहल गर्नुभयो बरालजीले । स्थानीय रुपमा दूधको माग निकै देखेपछि संस्था स्वयम्ले एउटा गाईफार्म सञ्चालन गर्ने, लघुवित्त मार्फत् वित्तीय सेवा प्रदान गर्ने, एउटा डेरी उद्योग सञ्चालन गरी जुम्लासम्म दूध आपूर्ति गर्ने, पशुपालनलाई क्रमशः सुधार गर्दै जाने अनि एक घर एक सदस्य अभियान चलाउने आदिजस्ता महत्वाकांक्षी योजना बनाउनुभयो सञ्चालकहरुले । 

छुवाछुतले जरो गाडेको समाज भएकाले दलितहरुको दूध बिक्री हुँदैनथ्यो स्थानीय बजारमा । त्यसमा पनि गाईको दूध त बिक्री हुन झन् मुस्किल । उहाँहरुले डेरी फर्म पनि सञ्चालन गर्ने र गाई फार्म पनि सुरु गर्ने योनासाथ २०६७ सालमा डेरी सञ्चालनको योजना बनाउनुभयो । पशु विकास कार्यालय र कृषि कार्यालयले भरमग्दुर सहयोग गर्यो । मेशीन मगाइयो, डेरी खोलियो, गाई फार्म सञ्चालनमा ल्याइयो । बराल भन्नुहुन्छ– ‘करिब ६ महिना त सञ्चालकहरु पनि डोको बोकेर घाँस काट्ने र गाइको गोबर सफा गर्ने र हेरचाह गर्ने काम पनि गरियो । स्थानीय मानिसलाई गाई हेरचाहका लागि रोजगारी दिने प्रयास गर्दा पनि कोही गाईपालक कर्मचारी बन्न तयार भएनन् । जग्गा लिजमा लिएर उन्नत घाँस लगाइयो । यति काम गर्दा पनि जर्सी गाईको लागि मान्म बजारको वातावरण त्यति उपयुक्त ठहरिएन । दुई वर्षं पुग्दानपुग्दै गाईहरु रोगाउन थाले । गर्भिणी भएनन् । आखिर गाईफार्म असफल भयो । बिजुली निकाल्ने बाँध बाढीले बगाएपछि डेरी फर्म पनि बन्द भयो । स्थानीय रुपमा संकलित दूधलाई तताएर प्याकिङ गरेर बेच्ने काम भने हालसम्म चलेको भए पनि ठूलो असफलता व्यहोर्नु प¥यो संस्थाले ।’ 

यसरी असफलता बेहोरेपछि हिमचुली आजका दिनमा गाइपालन भन्दा बाख्रा र भेडा पालनमा स्थानीय कृषहरुलाई सहयोग गर्दै छ । लघुवित्त कार्यक्रम अन्तर्गत हाल आएर पशुमा बाख्रा र भेडा अनि दुग्धका लागि भैंसी पालनलाई प्रोत्साहित गरेको छ । हाल संस्थामा पूर्णकालीन करिब २० कर्मचारी छन् । पाँचवटा सेवा केन्द्र छन् अनि करिब ८ करोडभन्दा माथिको आर्थिक कारोवार छ । 

‘नेतृत्वकर्ताले असफलताबाट निराशा होइन शिक्षा लिनुपर्दो रहेछ’ बराल भन्नुहुन्छ– ‘हामीले विकल्प नदेखेर गाईपालन र डेरी असफल भयो भनेर टाउकोमा हात लगाएर बसेको भए अहिले हाम्रा सदस्यहरु ६५०० हुने थिएनन् । नेतृत्वकर्ता भनेको नै विकल्प देख्न सक्ने अनि असफलताबाट सिकेर अघि बढ्ने रहेछ । हामी अहिले त्यही गरिहेका छौँ ।’

हुन पनि बराल सरको कुरा सही नै हो । अहिले मान्मको कृषि सहकारीको नाम लिँदा सबैले हिमचुली सम्झँदा रहेछन् अनि लघुवित्तको अग्रणी संस्था कुन हो भनेर सोध्दा पनि सबैको मुखमा झ्वाट्ट आउने नाम बनेको छ हिमचुली, कालिकोट जिल्लामा । हिमचुली हिमाल जस्तै चुलिइरहोस् हाम्रो पनि शुभकामना ।

  

Saturday, April 15, 2017

‘स्वर्गको अर्को पाटो ’ उघार्दा

Other Side of Paradise (स्वर्गको अर्को पाटो) । समुद्रको नीलो पानी, हिमाल अनि अमेरिकी वास्तुकलाको सुन्दर भवन तीनवटाको संयोजन छ बाहिरी भागमा । समुद्रको नीलो पानीभित्र सेता अक्षरमा लेखिएको छ Other Side of Paradise । शीर्षक र चित्र दुवैले आकर्षित गर्छन् मलाई । तल लेखिएको केनी पाण्डेले मलाई द्विविधामा पार्छ । कसको सिर्जना हो यो ? नेपाली नाम अनि अंग्रेजी भाषा । जिज्ञाशा बढ्छ, के होला यसभित्र ? किन स्वर्ग नै राखियो शीर्षकमा ? फेरि स्वर्गका पनि विविध पाटा हुन्छन् र ? जिज्ञाशासँगै अघि बढ्छु म । पाइला चाल्नासाथ भेट हुन्छ शेर्पा युवक पेम्बा जो हिमालमा हुर्केको, शिक्षित, कमाइदार अनि विनम्र, शिष्ट र भद्र छ, युवमा हुनुपर्ने सबै गुणले भरिएको छ ऊ, अनि अमेरिकी युवती लिन्डा छे ऊसँगै । अमेरिकाको प्रसिद्ध स्मिथ ल फर्ममा काम गर्छे, एक्जिक्युटिभ सेक्रेटरीका रुपमा । रुप, स्वभाव, प्रतिभा र आर्थिक सम्पन्नताले झर्झराउँदी छे ऊ । म दुवैसँग सँगसँगै यात्रा गर्न थाल्छु नेपालका पहाड, पर्वत, खोलानाला, कन्दरा, गाउँ र हिमालसँगै । रमाइलो लाग्छ उमेरले नेटो काटे पनि युवाहरुसँगसँगै यात्रा गर्दा । म घरि काठमाडौँ, नाम्चे र फाप्लुमा पुग्छु, घरि अमेरिकाको लसएन्जल्स, मियामी अनि डेनभर हुँदै एमिश समुदायको प्राचीन र सरल गाउँमा पुग्छु जहाँ उनीहरु तपस्या गरिहेका छन् मुक्तिको खोजी गर्ने पूर्वीय ऋषिहरुझैँ ।

पेम्बा र लिन्डासँगै म युरोपका पेरिसको लुभ्रका चित्रहरु नियाल्छु, ग्रिक कला र सँस्कृतिको रहस्य बुझ्छु अनि हेर्न पुग्छु रोमको प्राचीन कला र भव्य स्मारकहरु, पोपको दरवार अनि त्यहाँ कोरिएका प्राचीन चित्रअरुसँग हातेमालो गर्छु । घरी उनीहरुका प्रेमालाप सुन्छु, घरी युवाजोशका प्रणयलीला हेर्छु, सडकदेखि शयनकक्षसम्मका । उनीहरुको जीवनका विछोड र पीडाले घरी व्यथित हुन्छु, फेरि तपस्या गर्दै गरेका अमेरिकाको भव्यता र आधुनिकताबाट टाढा बसेका एमिश समुदायमा खेत जोत्न र गाडा चलाउन पुग्छु, अनि फेरी फर्केर अमेरिकीहरुलाई स्वर्गको अर्को पाटो देखाउने कामलाई व्यवसाय बनाएर प्रसस्त कमाइ गरिहेका व्यावसायी पेम्बा र मोनासँगै खुसी हुँदै हाँस्छु दंग परेर र भन्छु वाह क्या जीवन, यही त हो स्वर्ग । 

युवाजोडीसँग डुलादुल्दै म झस्कन्छु र पल्टाउँछु केनी पाण्डेको स्वर्गको अर्को पाटो (Other Side of Paradise) जसले मलाई स्वर्गका भिन्नभिन्न अझ व्यक्तिव्यक्तिका स्वर्ग देखाउन थाल्छ म रमाउँछु उनीहरुका ती स्वर्गसँगै । २०७३ को अन्त्य र २०७४ को शुरुआतको दोसाँधका करिब चार दिन म यात्रारत हुन्छु केनी पाण्डेसँगै स्वर्गको अर्कोपाटो हेर्न, घुम्न, रमाउन र उघार्न ।  

स्वर्ग के हो र नरक के हो ? यसबारेमा पूर्वीय र पाश्चात्य दुवै जगतमा व्यापक बहस भएका छन्, अनेक ग्रन्थ, दर्शन र साहित्य लेखिएका छन्, लोककथा प्रचलित छन् । तर सामान्य मानिसका लागि स्वर्ग के हो ? प्रश्न सजिलो भए पनि उत्तर त्यति सजिलो छैन । स्वर्गका आआफ्ना परिभाषा छन् मानिसका । खान नपाएकालाई पेटभरि खान पाउनु नै स्वर्ग, दुःखमा बाँचेकालाई दुःखबाट मुक्त हुन पाउनु स्वर्ग । 

सामान्यतः लाईखाई गर्न पुग्ने धन, शान्त र सुखी परिवार, मानसिक रुपमा शान्ति र अमनचयन शायद यही होला सामान्य मानिसका लागि स्वर्ग । जीवनपछि भोगिने कुराको अमूर्ततामा मुक्तिको कामना गर्नेहरुका लागि स्वर्गको काल्पनिक संसार बढी प्रभावकारी छ । तर जीवन छँदै भोग्न नपाएको कुराको अनुभूति कसरी गर्ने ? जीवनमै भोगेर त्यसको मजा लिन चाहनेहरुका लागि भौतिक सुख, सुविधा र मानसिक शान्ति र सन्तुष्टिका पक्ष नै बढी महत्वपूर्ण हुन्छन् स्वर्गको अनुभूतिका लागि । 

स्वर्गको अनुभूति वर्णन गर्नु शायद त्यति सजिलो छैन । त्यसैले मानिसहरु भन्छन् कस्तो स्वर्गीय आनन्द ? कस्तो हुन्छ त्यो आनन्दको अनुभव ? फेरि पनि अमूर्त नै आउँछ त्यसको उत्तर । हरेक मानिसका आआफ्नै परिभाषा छन् स्वर्गका, आआफ्ना अनुभव छन् त्यसका बारेमा । एउटाको लागि स्वर्ग मानिएको त्यही ठाउँ र सुविधा शायद अर्काको लागि नरक हुन्छ अनि फेरि अर्को स्वर्ग खोज्छ ऊ । 

सामान्य नेपालीका लागि अमेरिका स्वर्ग हो । त्यहाँका सुख, सुविधा, भौतिक समृद्धि अनि कमाइले दिने सुखानुभूतिका कारणले नै शायद मानिसहरुले अमेरिकालाई स्वर्ग ठानेका होलान् । त्यहाँ जान पाए कस्तो हुँदो हो भनेर अनेक प्रयत्न गर्छन् मानिसहरु । तर त्यहाँ पुगेपछि उसले भोग्ने कुरा कति सुखद वा दुखद छ ? शायद त्यहाँ पुगेपछि उसको कल्पना र यथार्थबीच ठूलो खाडल पत्ता लगाउँछ । 

काम, पैसा, व्यापार, समयको सीमा आदिमा निरन्तर जेलिएर त्यसकै सीमामा बाँधिएकी अमेरिकी युवती लिन्डाका लागि नेपालको साधारण जीवन, तनावरहित समयतालिका, कम अपेक्षायुक्त जीवनशैली, प्रकृतिसँग सामीप्य रहेको जीवन व्यवहार नै स्वर्ग लाग्छ भने नेपालको हिमाली भागमा सुखदुःख भोगेर जीवन गुजारेको पेम्बालाई लागि प्रशस्त कमाइ, आर्थिक आधार दिने गतिलो व्यवसाय, सुन्दर घरबार अनि आर्थिक सुरक्षा नै स्वर्ग लाग्छ । त्यसैले स्वर्गको परिभाषा नै भिन्न छन् हरेका मानिसैपिच्छे । 

लेखक केनी पाण्डेको करिब ४०० पृष्ठ लामो कृति इतजभच क्ष्मभ या एबचबमष्कभ पढिसकेपछि मैले गरेको अनुभूतिको एउटा पक्ष हो यो । 

उमेर र अनुभवले आधा शताब्दी काटिसकेका पाण्डेको यो कृति नेपालका त्यसमा पनि खासगरी हिमालको नजिक बस्ने शेर्पाहरुका जीवनशैली, सामाजिक व्यवहार, साँस्कृतिक पक्ष आदि समेटेर पेम्बा नामको मध्यम वर्गीय पात्रको चरित्रचित्रणसँगै पुस्तकको शुरुआत हुन्छ । पेम्बा एउटा ट्रेकिङ कम्पनीमा काम गर्छ । ट्रेकिङका लागि आउने यात्रुलाई गाइड र समन्वय गर्ने जिम्मा छ उसको । अमेरिकी समाजमा हुर्केबढेकी किशोरी लिन्डा प्रकृतिको स्वर्ग मानिने देशको रुपमा कल्पना गर्दै एउटा ट्रेकिङ समूहकी सदस्य बनेर नेपाल आउँछे । उसलाई पेम्बाको रुप, बानी र व्यवहार साह्रै मन पर्छ । दुवै एकअर्काको प्रेममा पर्छन् । शेर्पा युवक पेम्बा शिक्षित, सुसंस्कृत र विनयशीलताले भरिएको छ । पश्चिमा व्यक्तिगत जीवनशैलीमा हुकेर्ककी किशोरीको मनमा उसले सहजै स्थान पाउँछ । पेम्बालाई हृदयको राजा बनाउँछे लिन्डाले । 

मन सुम्पेपछि शरीर सुम्पन कठिन छैन अमेरिकी नारीहरुका लागि । लिन्डाले मन र शरीर दुवै सुम्पन्छे पेम्बालाई फाप्लु यात्रामै । पेम्बाको पुरुषत्व पनि काँतर बन्न चाँहदैन लिन्डाको सुन्दर शरीर र रुपमा लठ्ठिन पाउँदा । दुवैको मन र शरीर एकाकार हुन्छ फाप्लुको होटलको कोठाभित्र । स्वर्गीय आनन्दको अनुभव गर्छन् दुवैले एकअर्कालाई पाउँदा । 

पेम्बाका आफ्नै भावना र कल्पना छन् जीवनका बारेमा । नेपालका उच्च हिमाल घुम्दै, ट्रेकिङमा आउने विदेशी पर्यटकहरुलाई हिमाली भेगको यात्रा गराउने संयोजक र कुकको काम गर्दै उसले आफूलाई क्रमशः आर्थिक रुपमा समर्थ र सक्षम बनाउँदै लगेको छ । सबैको  प्यारो छ पेम्बा । स्वदेशी मात्र होइन विदेशी पनि उसको कामबाट खुशी हुन्छन्, इनाम दिन्छन्, बेलाबेला सम्झेर उपहारहरु पठाउँछन् । पेम्बा आफ्नै स्वर्गमा रमाइरहेको छ हिमालको फेदीमा बसेर । उसका केही पारिवारिक दायित्व र जिम्मेवारीहरु छन्, निर्वाह गरिहेको छ आफ्नो बुताले भ्याएसम्म । परिवारलाई सुख र सुविधासँग पाल्ने, बाबुआमालाई राम्ररी हेरचाह गर्ने, बहिनीहरुलाई राम्ररी पढाइलेखाइ गराएर सक्षम बनाउने अनि सकेसम्म एउटा सानो व्यवसाय खोलेर जीवन धान्ने धोको छ उसको । धेरै महत्वाकांक्षा छैनन् उसका । बौद्ध धर्माबलम्बी भएकाले जीवनशैली साधारण छ । बौद्ध दर्शन र संस्कृतिको गहिरो प्रभाव छ उसको जीवनमा । 

लिन्डासँगको भेटपछि पेम्बाको जीवनले नयाँ मोड लिन्छ । लिन्डालाई नेपालीहरुको जीवनशैली, यहाँको प्राकृतिक वातावरण, पारिवारिक माया र प्रेम स्वर्गीय लाग्छ । ऊ पेम्बालाई छोड्नै नसक्ने अवस्थामा पुग्छे । दलाइ लामालाई भेट्न पेम्बालाई सहयोगी बनाएर भारत यात्रा गर्छन् दुवैले । सोच्दै नसोचेको जीवनयात्रा शुरु हुन्छ पेम्बाको । उसभित्र कल्पनाको जीवन फैलिन थाल्छ । संसारभरका मानिसका लागि स्वर्ग मानिएको अमेरिका अब उसको पनि कल्पनाको स्वर्ग बन्छ । त्यहाँ जान पाउने अवसर बनेर आउँछे लिन्डा । लिन्डाको प्रेमीको रुपमा ऊ अमेरिका पुग्छ, लिन्डासँग विवाह गर्छ र सँगसँगै जीवन बिताउन थाल्छ । 

करिब पौने एक वर्षको प्रतिक्षापछि लिन्डा र पेम्बा अमेरिकी जीवनशैली र पारिवारिकतामा एकाकार हुन्छन् । परिवारका लागि भरणपोषणको जिम्मा केही समयका लागि लिन्डाले लिन्छे । लामो हनिमुनका लागि पेम्बा र लिन्डा युरोप पुग्छन् । पेरिस, रोम, ग्रीस घुम्दै हनिमुन सकेर अमेरिका फर्कन्छन् । लिन्डाको किशोर शरीर पेम्बासँग हरदम लुटपुटिन र त्यसको रसपानमा रमाउन चाहन्छ तर काम र समयको तालमेल नमिल्दा उसले जे खोजेको हो त्यो नपाएको रिक्तताको अनुभव गर्छे । विस्तारै उसलाई पेम्बाको विकल्प खोज्ने इच्छा बढ्न थाल्छ, काम पनि परिवर्तन गर्ने चाहना बढ्छ । 

हवाइ यात्राको क्रममा एकाएक भेटिएको एक जना फिल्म अभिनेताले लिन्डाको आँखामा अर्को प्रेमी बनेर प्रकट हुन्छ । पेम्बाभन्दा आफ्नो लागि त्यो मानिस उपयुक्त हुने र नयाँ करियरका लागि सहयोगी बन्न सक्ने निचोडमा पुग्छे । एक दिन एकाएक पेम्बासँग डिभोर्सको प्रस्ताव राख्छे लिन्डाले । समयको गति यति तीव्र हुन्छ, पेम्बाले त्यसलाई पछ्याउन सक्तैन । घर, परिवार, जागिर अनि समाज सबै छोडेर आफ्नो देशभन्दा कहाँ हो कहाँको त्यो अपरिचित भूमिमा एक्लो हुनुपर्ला भन्ने कल्पना पनि नगरेको पेम्बाको जीवनमा आइपरेको बज्रपातले उसको हृदय छियाछिया हुन्छ । सहन गर्ने शक्ति गुमाउँछ । मानसिक आघातका कारण आफूलाई बेसहारा सम्झन थाल्छ । नचिनेको ठाउँ, अपरिचित संसार, अभ्यस्त नभइसकेको जीवनशैलीमा जेलिएर बस्ताबस्तै शहरमा बसेर पनि घनघोर जङ्गलमा हराएझैँ हुन्छ पेम्बा । डिप्रेसनले गाँज्दै लैजान्छ । जीवन बिताउने कुनै उज्यालो बाटो देख्तैन अगाडिको । एकाएक सपनमा देखेको एमिश समुदाय उसको सहारा हुन सक्ने लाग्छ उसलाई । त्यसैको खोजीमा निस्कन्छ । आपूmले कमाएको केही पैसा घरतिर पारिवारिक सहयोगका लागि पठाउने व्यवस्था गरेर ऊ अमेरिकाको एक रहस्यमय एमिश समुदायको शरणार्थी बन्न पुग्छ । करिबकरिब नेपालको दुर्गम गाउँझैँ लाग्ने, आधुनिक सुखसुविधाबाट परै रहेको ग्रामीण जीवन शैलीको झल्को दिने त्यो ठाउँ नै जीवनको एक मात्र सहाराको रुपमा देख्छ पेम्बाले । घर फर्कने र अर्को संसार बसाउने आश मारिसकेकाले आफ्नो पासपोर्ट, ग्रिन कार्ड सबै जलाएर नष्ट गर्छ र करिबकरिब गुप्तबासमा बस्छ ।
निराशाको बीचमा आशाको दियोझैँ बनेर आउँछ एमिश समुदाय पेम्बाको लागि । त्यहाँ बसेको करिब छ महिनामै ऊ त्यहाँको जीवनमा पूर्ण अभ्यस्त हुन्छ र समुदायको माया र प्रेम पाउन सफल हुन्छ । सबैको प्यारो हुन्छ पेम्बा । त्यही बीचमा एक जना शुभचिन्तक अमेरिकी नागरिक जेम्स उसलाई खोज्दै त्यहीँ आइपुग्छ । जेम्स ¥याफ्टिङका लागि नेपाल आएका बेला ठूलो दुर्घटना हुनबाट बचाएको थियो पेम्बाले । त्यसैको गुन सम्झेर जेम्स पेम्बालाई भेट्न पुगेको थियो एमिश समुदायको गाउँमा । 

जतिसुकै घनघोर अँध्यारो भए पनि उज्यालोको अस्तित्व त रहिरहेकै हुन्छ । पेम्बाको जीवनमा प्रकाश बनेर प्रकट हुन्छ जेम्स । उसले एमिश समुदायबाट पेम्बालाई निकालेर फेरि अमेरिकी सम्पन्नताको संसारमा प्रवेश गराउँछ । आफ्नो कम्पनीको शेयरहोल्डर बनाउँछ, काम दिन्छ, सहारा दिन्छ । काममा इमान र मिहिनेत गर्नसक्ने पेम्बा जेम्सको साथ र सहयोगले आर्थिक रुपमा सबल र सक्षम बन्दै जान्छ । कमाइले एउटा घर किन्न र आफ्नै आवासमा बस्न थाल्छ । साथीभाइ र शुभचिन्तकहरु विवाहको कुरा गर्न थाल्छन् । ऊ अब विजातीय संस्कृतिकी महिलासँग होइन आफ्नै संस्कृति र समाजकी महिलासँग जीवनयापनको सम्भावना देख्छ र नेपाल आउँछ विवाहका लागि । 

उसको काकाले सबै व्यवस्था मिलाउँछ । पोखरामा होटल चलाएर व्यवसाय गरिरहेकी सुसंस्कृत केटी मोनासँग उसको सम्बन्ध गाँसिन्छ । करिब दुई वर्षको प्रतिक्षापछि फेरि पेम्बाको दाम्पत्य जीवनको सुखसहित अमेरिकी व्यवसायी बन्छ । मोनाले एउटा होटल चलाउँछे । कमाइ बढ्दै जान्छ । पोखरामा पनि एउटा विदेशी ढाँचाको घर बनाउँछ । अमेरिकामा पनि व्यवसाय, घर र कमाइको पर्याप्त सुरक्षासहितको स्वर्गीय जीवनमा प्रवेश गर्छ पेम्बा । 

उपन्यासको कथावस्तु उतारचढायुक्त छ । पेम्बा र लिन्डा हुर्केबढेको समाज, उनीहरुको सोच्ने र काम गर्ने तरिका अनि जीवनप्रतिको अपेक्षा र आकांक्षाको विपरिततामा कथा अघि बढ्छ । दुवैको समानान्तर चित्रणले उपन्यासलाई गतिमान् बनाएको छ । दुई भिन्न संस्कार, सँस्कृति र जीवनशैलीको मसिनो चित्र प्रस्तुत गर्छ उपन्यासले । शेर्पाहरुको समाजको चित्र प्रस्तुत हुन्छ पेम्बाको माध्यमबाट अनि अमेरिकी समाजको सँस्कृति र व्यवहार अनि जीवनशैली प्रस्तुत हुन्छ लिन्डाको माध्यमबाट लिन्डा स्वच्छन्दता मन पराउँछे । उसका लागि आपूm पहिलो हो अनि मात्र परिवार र समाज । पेम्बाका लागि समाज र परिवार पहिलो प्राथमिताको र त्यसपछि मात्र आफू र आफ्नो स्वतन्त्रता । लिन्डाका लागि पारिवारिकता तोड्नु र जोड्नु बायाँ हातको खेल हो जहाँ आफूलाई कमाइ, करियर र सन्तुष्टी हुन्छ त्यही मानिससँग शरीर र मन समायोजन गरी अवसर र कमाइमा रोमाञ्चित हुन पाउनु नै उसका लागि प्राथमिकताको विषय हो । तर पेम्बाको लागि जीवन आफूले भोग्नु र रोमान्स गर्नु मात्र होइन परिवार, समाज र व्यवसाय अनि आर्थिक कमाइ सँगसँगै लैजानु पर्छ । यसो गर्दा आइपर्ने कतिपय कुरामा सम्झैता र समायोजन पनि गरिरहनु पर्छ । 

लिन्डा समाज र परिवारभन्दा आफ्नो व्यक्तिगत चाहना र आकांक्षालाई मुख्य ठान्छे । आफ्नो जीवन कसरी चलाउने, कसरी बाँच्ने त्यो पूर्णतः आफ्नै हातमा र आफ्नै रोजाइमा हुनुपर्छ भन्ने ठान्छे । बाबु पनि उसको इच्छामा हस्तक्षेप गर्न चाहँदैनन् तर आमा अन्त्यसम्म पनि अमेरिकी र क्रिस्चियन बाहेक अरुकेटासँग विवाह नगरे हुन्थ्यो भनेर लागिरहन्छिन् । केही सीप नलागेपछि मात्र पेम्बालाई स्वीकार्ने अवस्थामा पुग्छिन् । पेम्बाको संस्कृतिको सम्मान गर्छे लिन्डा अनि लिन्डाको संस्कृतिको सम्मान गर्छ पेम्बा । 

उपन्यासकारले दुई भिन्न सँस्कृतिको भिन्नताको चित्र प्रस्तुत गर्न निकै मिहिनेत गरेको देखिन्छ । कहीँ कसर बाँकी राखेका छैनन् उनले । अमेरिकी नारी र नेपाली शेर्पा पुरुष । भिन्न संस्कृति, भिन्न अपेक्षा र जीवनप्रतिको भिन्न दृष्टिकोण । अमेरिकी नारीहरुका लागि जीवन रोमान्स र अमेक्षापूर्तिका लागि हो, पेम्बाका लागि जीवन दायित्व, प्रेम र सहकार्यको त्रिवेणी हो । यसमा कैयौँ कुरा समायोजन, सम्झौता र सहकार्य आवश्यक हुन्छ । तर लिन्डा तत्काल आफ्नो चाहना पूरा हुनुपर्ने ठान्छे, धैर्य र अर्को पक्षको सुविधा र मर्काप्रति उसलाई कुनै सरोकार नै छैन । पैसा र रोमान्स नै उसको लक्ष्य हो । आफ्ना चाहना पूरा नहुने र अहिलेकोभन्दा उन्नत अवसर आयो भने भइरहेको लोग्ने छोड्नु र अर्को खोज्नु उसका लागि सामान्य कुरा हो, खेलजस्तै । तर पेम्बाका लागि वैवाहिक जीवन प्रेम, दायित्व र कर्तव्यले बाँधिएको त्रिवेणी हुनुपर्छ, लिन्डाका लागि वैवाहिक जीवन रसमय, प्रेमिल र रोमान्सले भरिएको हुनुपर्छ । यिनै दुई भिन्न दृष्टिकोणबीचको दूरी बढ्दै जाँदा दुवैबीच पारपाचुके हुन्छ । लिन्डाले डिभोर्स गर्छे अर्को सक्षम पुरुषसँग आफ्नो करियर राम्रो हुने देख्नासाथ । 

पेम्बाले लिन्डासँग डिभोर्स होला भन्ने सोचेको नै हुँदैन, त्यो पनि यति भाँडै । एकल पतिमा जीवन गुजार्ने र अनेक दायित्वबोधको सीमाले बाँधिएर दाम्पत्यको धागो कायम राख्ने समाजको पेम्बा दालभात झैँ एक वा अर्को प्रेमी र पति फेर्न कति पनि संकोच नमान्ने लिन्डा देख्ता लाग्छ अमेरिकी समाजमा पारिवारिकता भन्ने कुरा नारीको इच्छाको वरिपरि तरवारको धारझैँ चलेको हुन्छ । कतिबेला तरवारको धारले जीवन समाप्त पार्छ त्यसको कुनै अन्दाज हुँदैन । अमेरिकी पारिवारिकतामा । 

भौतिक सुख र सुविधामा जीवनको सार्थकता खोज्ने समाजको संस्कार र समाजमा हुर्कीएकी लिन्डाहरुका कारण अमेरिकी समाजले ठूलो पारिवारिक पीडा भोगिरहेको चित्र प्रस्तुत गर्छ उपन्यासले ।
हरेक समाज र भूगोलपिच्छे मानिसका आस्था, विश्वासप्रणाली र साँस्कृतिकता भिन्न छन् । जतिसुकै खराब समाजमा पनि केही असल मानिस फेला पर्नसक्ने म्भिावना भने जहिल्यै रहन्छ । अमेरिकी जापानी मार्लोटे र तनाका, जेम्स वा सुमित्ज यस्तै मानिस हुन् जसलाई उपन्याले असल चरित्रको रुपमा चित्रण गरेको छ । मानिस भएर मानिसप्रति देखाउने सद्भाव अनि दया र प्रेम भने मरिसकेको चाहिँ छैन है भन्ने सन्देश पनि उपन्यासले दिएको छ । संसारभर जहाँसुकै राम्रा र नराम्रा पक्षाले समाज बनेको छ । खराबभन्दा खराब समाजमा पनि कोही न कोही असल मानिस भेटिने सम्भावना भने रहिरहन्छ भन्ने संकेत गर्छन् लेखक तनाका, जेम्सजस्ता मानिस प्रस्तुत गरेर । मानिस भएर भोग्न पाउने उज्यालो संसार तिनै मानिसका कारण बाँचिरहेको कुरा पनि ती असल चरित्रको माध्यमले देखाउन खोजिएको छ । पेम्बाले तिनै असल मानिसको सहारा पाएर जीवनको अर्को स्वर्ग पाउँछ अमेरिकी समाजमा । 

पेम्बाको अमेरिका प्रस्थानको क्रममा थाइल्यान्डमा भेटिएकी उबोनको जीवन र उसको परिवारको शब्दचित्र प्रस्तुत गरेर थाइ पारिवारिकताको चर्चा गर्न चुकेका छैनन् लेखक । थाइ र नेपाली दुवै पूर्वीय सँस्कृति र माजका अंग भएकाले दुवैको सोचाइ र दायित्वबोधको समानता देखाएका छन् लेखकले । थाइल्यान्डको रात्री जीवनमा युवतीहरुको प्रयोग कसरी भइरहेको छ, उनीहरुको कस्तो बाध्यता छ र पारिवारिक दायित्वमा उनीहरु आफूलाई कहाँसम्म बलिदान गर्न तयार छन् भन्ने कारुणिक चित्र उबोनका माध्यमले प्रस्तुत गरिएको छ । 

आफ्नै शरीर, रुप र जवानी बिक्री गरेर भनेपनि परिवारको भरणपोषण र बाबुको उपचार गर्ने बैंकककी उबोन र लिन्डाबीचको तुलना गर्न मन लाग्छ पुस्तक पढिसकेपछि । बैंकको  महँगो जीवनमा बाँचिरहेको एउटा गाउँबाट शहर पसेको थाइ किसान परिवारको त्यो अवस्थालाई माथि उठाउन आफूलाई समर्पित गर्ने त्यो थाइ युवती उबोनको जीवन अनि एउटा पतिबाट आफ्ना इच्छा पूरा हुननसक्ने देख्नासाथ चटक्क छोडेर अर्कैसँग टाँसिने लिन्डको तुलना गरेर कुन समाज चाहिँ स्वर्गीय हो सोच्न बाध्य बनाउँ छ पाठकलाई । परपुरुषसँग हिँडेर केही पैसा आर्जन गर्ने र परिवारको पालनपोषण गर्ने उबोन पुस्तक पढिसक्ता पनि निकैदिन आँखा अगाडि आइरहन्छे, जसलाई पाठकको मनले सहानुभूतिको वर्षा गरिहन्छ । 

ग्रिक र रोमन सँस्कृतिसँग हिन्दू सँस्कृति र देवीदेवताको तुलना गरेर युरोप र एशियाको दूरी टाढा भए पनि मानिसभित्रको विश्वास प्रणालीबीच कुनै न कुनै समाानता रहेको औँल्याएका छन् लेखकले । 

भाषिक सरलता र सरसता अनि प्रवाहमान् लेखनकलाले लेखकको अंग्रेजी भाषाको दख्खल देखाउँछ । आदिदेखि अन्त्यसम्म शायदै कुनै शब्दको अर्थ खोज्न डिक्सनरी पल्टाउनुपर्ला । विमातृभाषी भएर पनि मातृभाषी लेखकझैँ अंग्रेजी भाषामा त्यो स्तरको प्रस्तुतिको र पाण्डेको लेखकीय क्षमताको प्रशंसा गर्नै पर्छ । अंग्रेजी भाषामा त्यो स्तरकोअनि  त्यति ठूलो आकारको कृति लेखिनु आफैँमा गौरवको विषय हो भने त्यो स्तरको भाषिक दख्खल भएका लेखक पाउनु नेपालीका लागि गौरवको विषय हो । 

चाहे प्रकृतिको वर्णनमा होओस् वा कलाको, मानवीव भावनाको होओस् वा दृश्यको सजीव वर्णन सामथ्र्य र तदनुकूल शब्द चयनमा लेखकको दक्षता प्रशंसनीय छ । कार्यालयमा गरिने कुराकानी होओस् वा रात्रीकालीन शयनकक्षाभित्र दम्पत्तीबीच गरिने कृयाकलाप सबैमा जुन सम्बादको प्रयोग लेखकले गरेका छन् त्यसले लेखकको क्षमतालाई उजागर गर्छ । 

यति हुँदाहुँदै पनि पुस्तकमा केही कमजोरी नभएका भने होइनन् । पेम्बा र लिन्डाको चरित्रचित्रण सुरुमा जसरी गरिएको छ त्यसको एक रुपता बीचमा पुगेपछि धरमराउँछ । अत्यन्त शालीन, भद्र र पाको चरित्रका रुपमा शुरुमा प्रक्षेपित हुने दुवै चरित्र जीवनको व्यवस्थापन र दृष्टिकोणमा क्रमशः कच्चा देखिन्छन् पछिल्ला चरणमा । शयनकक्षको क्रियाकलापको वर्णनमा शालीनता प्रशर्दन भएन कि भन्ने लागिरहन्छ । कहीँकहीँ असाध्यै उच्चाटलाग्दो गरी मसिनो वर्णन गरेर लेखकले पाठकको धैर्यता जाँच गरेझैँ लाग्छ । मिहीन वर्णनमा लागिरहँदा मूल कथावस्तु बेलाबेला हराएझैँ लाग्छ । लिन्डाको कार्यालयको व्यवहार, युरोपको हनिमुनताकाको वर्णन, पेरिसको लुभ्र संग्रहालयका चित्र अनि रोमको वर्णनमा अत्यधिक मिहिनताले पाठकलाई वाक्क बनाउँछ । यिनलाई छोटकरीमा प्रस्तुत गर्न सकिन्थ्यो जसले पुस्तकलाई अझ सरस बनाउँथ्यो ।

मोनालाई विवाह गर्न केटी हेर्न जाँदाको पेम्बा र मोनाबीचको सम्बाद र क्रियाकलाले नेपाली होइन अमेरिकी समाजको झल्को दिन्छ । नेपाली समाजका केटीहरु एउटा अपरिचित केटो आफूलाई विवाहका लागि हेर्न आउँदा त्यस्तो व्यवहार गर्न सक्ली र ! भन्ने मनमा लागिरहन्छ । त्यति मात्र होइन शयन कक्षमा सुहागरातको दिन मोनाले गरेको व्यवहार र पेम्बाको प्रस्तुति अमेरिकन दम्पतीको प्रतिस्थापन भएझैँ लाग्छ, स्वाभाविक लाग्दैन । जतिसुकै शिक्षित र खुला व्यवहारका भए पनि नेपाली संस्कृतिको परिवेशले त्यो स्तरको व्यवहार अझै सम्भव छैन । 

यी सानातिना कमजोरी बाहेक समग्रमा लेखक केनी पाण्डेको जुन मिहिनेत, कल्पना सामथ्र्य र आख्यानीकरणको कला छ त्यो निश्चय नै सम्भावना र सामथ्र्यले भरिएको छ । यति बृहदाकार कृति, यति विस्तृत परिवेश अनि दुई भिन्न सँस्कृति, विश्वास प्रणाली, धार्मिकता र पारिवेश समेटेर पुस्तकको रुपमा प्रस्तुत गर्नु निश्चय नै लेखकको सफलता हो । लामो धैर्य, कठिन परिश्रमबिना यो सम्भव छैन । नेपाली र अमेरिकी सँस्कृतिको तुलना गरेर यति बृहदाकार कृति लेखिनु नेपालीको लागि गौरवको बिषय हो । यो स्तुत्य प्रयासमा लेखक बधाइका पात्र छन् । भविष्यमा पनि यस्तै गहकिला कृति सिर्जनाको अपेक्षा गर्न सकिने लेखकको सम्भावना देखिन्छ पाण्डेभित्र ।
२०७४।१।२