Thursday, May 26, 2016

सन्तवीरको स्वप्ननगर

सन्तवीर दमाईको आर्थिक अवस्था तीन पुस्तादेखि जस्ताको तस्तै थियो । उसको आर्थिक अवस्थामा तीन पुस्तासम्म पनि कुनै सुधार भएन । साहुकहाँ बनिबुतो गरेरै आजसम्म उसले जीवन धानेको थियो । त्यसैका भरमा उसले विहा गर्यो, बाबुआमालाई पालनपोषण गर्यो । दुईटा छोराछोरी पनि जन्मायो, तर के भएर हो तिनीहरु सानैमा खसे । केही दिन शोक पनि मनायो । तर, जीवन पाल्ने चटारोमा उसले ती छोराछोरी मरेको पनि राम्रो भयो कि नराम्रो भयो खासै विचार गरेन । हुर्के–बढेका भए पनि भार नै हुन्थ्यो कि घरपरिवार गुल्जार हुन्थ्यो उसले त्यसलाई खासै समय दिएर विचार गनुपर्ने ठानेन । 

सम्पत्तीको नाममा खरको एउटा छाप्रो र आफ्ना दुई पाखुरा मात्र थिए सन्तवीरसँग । छाप्रो पनि साहुकै बारीमा हालेको थियो । साहुको दयामायामा थियो उसको बास । साहुले कहिले छोड्न आदेश दिने हुन् कुनै ठेगान थिएन । उसकी श्रीमती पुतलीले एक दिन बेलुका अगेनाको डिलमा बसेर आगो ताप्दै गर्दा गुनासो गरी– ‘हेर बुढा, अब बुढेसकाल लाग्न थाल्यो, यसरी हुँदैन । तीन पुस्ता यही छाप्रोमा बित्यो । यो छाप्रो हालेको घडेरी पनि आफ्नो नाममा छैन । कहिले साहुका छोराले उठिबास लाउने हुन् भन्न सकिँदैन । केही त गर्नैपर्छ नत्र त कुकुरको मरन हुने भो ।’ 

सुन्तलीका कुरा सुनेर सन्तवीर गम्भीर भयो । झ्वाट्टै त के भन्न सक्थ्यो र ! उसले केही सोच्न खोज्यो । आगो तापेर एकोहोरो अगेनातिर हेरिरह्यो । पुतली चाहिँ बुढाले केही भन्ला कि भनेर घोरिएर बसिरही । 

‘देशमा प्रजातन्त्र आ’ को छ ।’ सन्तवीरले निकैबेरपछि मुख खोल्यो– ‘गरिबकै भलाइको कुरा गर्छन् सबै । अब त हाम्रो पनि दिन आउला कि ! अस्ति स्कूलको भाषणमा पनि गरिबकै कुरा धेरै भए । अब गरिबहरुलाई के के कार्यक्रम मिलाउँछौँ, पैसा हात पर्ने व्यवस्था गर्छौ भन्या छन् । सबै नेताले भनेपछि केही न केही त अवश्यै गर्लान् । एउटा छाप्रो हाल्ने घडेरी र कमाएर खाने अलिकति जग्गा र काम भयो भने त अरु के चाहियो र !’ सन्तवीरले भविष्यप्रति आशावादी भएको कुरा गर्यो । नेताको भाषणमा उसको दह्रो भरोसा थियो । 

सन्तवीरको कुराले पुतलीको अनुहार पनि हुनसम्म उज्यालो भयो । अगेनाको आगोको उज्यालोमा उसको अनुहार टिलिक्क टल्किएजस्तो देखियो । अनुहारमा खुशी पोत्दै पुतली बोली– ‘त्यति भए त के नै चाहियो र हामीलाई ?’

सन्तवीर र पुतलीको यो सम्बाद सकिँदानसकिँदै अँगेनाको नजिकै ओछ्याएको परालको गुन्द्रीमा पल्टियो सन्तवीर । दिनभरको कामले थाकेको थियो, फुस्स निदायो । पुतली पनि ऊसँगै टाँस्सिएर ढल्की र निदाई सन्तवीरजस्तै ।
........
राति निद्रामा एक्कासी सन्तवीर बर्बरायो । बर्बराहट सुनेर पुतली ब्युँझी । सन्तवीर निद्रामै बर्बराइरहेको थियो । उसको बर्बराहट रमाइलो लागेर केहीबेर सुनिरही पुतलीले । निकैबेर सुनेपछि हाँस्तै झक्झक्याएर सन्तवीरको बर्बराहट बन्द गराइदिई । सन्तवीर बिउँझियो । बिउँझिँदा खुसीले गद्गद् थियो । उसको अनुहारको खुसी पुतलीले पनि पढी । सन्तवीर विस्तारै उठ्यो र गाग्रोबाट एक अम्खोरा पानी सारेर पिउन थाल्यो । पुतली ऊतिरै हेरिरही । सन्तवीरको अनुहारमा त्यो दिनजस्तो खुसी कहिल्यै देखेकी थिइन पुतलीले ।

‘हेर् बुढी, अब हाम्रा दुःखका दिन सकिए क्यार, साह्रै राम्रो सपना देखेँ मैले ।’ सन्तवीरले पुतलीतिर फर्केर भन्यो । पुतली फुरुङ्ग भई बुढाको कुरा सुनेर । 

‘किन यति धेरै खुसी भयौ बुढा ? के देख्यौ त्यस्तो ?’ पुतलीको खुल्दुली सन्तवीरतिर पोखियो । सन्तवीर भनौँ कि नभनौँ भनेर दोमनमै रह्यो केहीबेर ।

‘राम्रो सपना राति नसुनाउनू भन्छन् । बिहान पो सुनाउँ कि ! धेरै हतार नगर् है । कुखुरो बास्नेबेला भइहाल्यो, धेरैबेर छैन अब उज्यालो हुन । उज्यालो भएपछि सुनाउँला ।’ सपना सुनाउन बिहान पर्खनु पर्ने संकेत गर्यो सन्तवीरले ।

सन्तवीर आफुले देखेको सपना सुल्टो भइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो । राति सपना सुनायो भने उल्टो हुन्छ भन्ने सुनेको थियो उसले, आफ्नी आमाबाट । उसको सपना साँच्चै सत्य हुन्छ भन्ने विश्वासले भित्रभित्रै उसलाई असीम खुसी दिएको थियो, पुतलीलाई चाहिँ गहिरो आशा र रहस्य । दुवैजना उठेर आगो बाले र चुपचाप आगो तापेर उज्यालोनहुन्जेल जाग्रामै बसिरहे । सुतेनन् । 

भुकभुके उज्यालो भएपछि सन्तवीर बाहिर निस्क्यो । एकछिन बाहिर टहलिएर फेरि भित्र पस्यो । टुक्रुक्क पुतलीकै छेउमा बस्यो, टाँस्सिएर ।

छरिएका केशले भरिएको पुतलीको टाउको सुम्सुम्याउँदै सन्तवीर बोल्न थाल्योे– ‘तँलाई बुढाले के के न सपना देख्यो होला भन्ने लागेको होला, सुन् है त अब ।’ सन्तवीरले पुतलीको ध्यान आफूतिर तान्यो । पुतली सुन्न हतारिई । सासै अड्केलाजस्तो भयो उसलाई । 

पुतलीले सन्तवीरका कुरातिर आफ्नो कान सोझ्याई र आफ्नो मनको कुरा खोली– ‘त्यही सुन्न त यति रातिदेखि बसिराकी छु । छिटो नभनेर के बाह्रसत्ताइस कुरा जोडिराको नि !’ भित्रैदेखिको सुन्तलीको उत्कण्ठा बोल्यो ।
सन्तवीरले सपनाको बेलिविस्तार लायोे– ‘म हाम्रो गाउँको दक्षिणतिर सम्मपरेको ठाउँमा पुगेँछु । त्यो ठाउँमा जङ्गल फँडानी गरेर हामीजस्ता थुप्रै गरिबहरु घरबार गरेर बस्ने, खेतीपाती गर्ने काम गरिरहेका थिए । ठूलाठूला रुखहरु फाँडेर बनाएको फाँट आफूआफूले भोगचलन गर्न छुट्याउँदै थिए । मलाई पनि भागमा छुट्याउँदै थिए । पल्ला गाउँको मनवीरे पनि मलाई बोलाउँदै थियो । म पनि खुसी हुँदै धारिलो बञ्चरो लिएर रुख काट्तै थिएँ । निकै जङ्गल फाँडेँछु । त्यही फाँडेको काठले एउटा दुईतले घर पनि बनाएँछु । हलगोरु किनेर खेती कमाइ गदैथिएँ, तैँले बोलाइछस् । झल्याँस्स ब्युझिएँ त्यति नै बेला । अलिबेर नब्युँझाएको भए हुन्थ्यो । अझै कति रमाइलो थियो त्यो सपना । एक छिन नउठाएको भए हुन्थ्यो नि । अब बन्छ क्यार बुढी हाम्रो पनि जिन्दगी ।’ सन्तवीरको सपना सुन्दासुन्दै पुतली पनि सन्तवीरको सपनामा पुगी । 

‘तीन पुस्तादेखिको गरिबी छुट्ने भो त बुढा ? सपना त निकै राम्रो पो देखेछौ त ! तर, सपना कहिलेकाहीँ उल्टो हुन्छ भन्छन् । सुल्टै भयो भने त बन्थ्यो नि जिन्दगी ।’ पुतलीले लामो सुस्केरा हाली र सन्तवीरतिर पुलुक्क हेरी । सन्तवीर केही बोलेन, एक छिन चुपचाप बसिरह्यो । 

‘जेसुकै होस् । यो अभागी थात्रोमा अब चैँ बस्तिनँ । अर्को हप्ता यी २।४ वटा कुखुरा पनि बेचेर लागौँ मधेशतिर । सम्म ठाउँमा गएपछि काम गर्नै परे पनि अलि सुविस्ता त होला । यस्तो उकालोओरालो त गर्नु पर्दैन । यहाँ त अब एक बस्तिनँ, दुई बस्तिनँ ।’ सन्तवीरले आफ्नो निर्णय पुतलीलाई सुनायो ।

पुतलीले आफू निकै सानो हुँदा मानिसहरु मधेशमा जङ्गल फाँडेर ठूलाठूला घर बनाएर खेतिपाती गरेर बसेको, धेरै गाइवस्तु पालेको, धेरै धान र तोरी फलाएर धनी भएको सुनेकी थिई । उसका बाबु पनि मधेशमा निकै वर्ष काम गरेर एउटा घर बनाएर बसेका थिए अरे । आफू अगाडिका दुई जना दाजुहरु औलोले खसेपछि औलो खप्न नसकेर फेरि पहाडैतिर फर्केको कुरा सुनेकी थिई उसले । आज सन्तवीरको कुरा सुन्दा फेरि उसले त्यो बालककालको कुरा सम्झी । सन्तवीरको निर्णय र आफूले सुनेको कुराले पुतली अलि अलमलमा परी । भित्री मनले सन्तवीरको निर्णयमा केही संशोधन गर्नुपर्छ कि भन्ने सोचिरही, मनमनै । 

‘तिम्रो कुरा त ठिकै हो तर मधेशमा धेरै औलो लाग्छ भन्ने मैले सुनेकी छु । हाम्रा दुईजना दाजुहरु त्यही औलाले खसेछन् । त्यसपछि हाम्रा बाआमा पनि मधेश छाडेर फेरि पहाडै फर्कनुभएको थियो रे ।’ आफ्नो मनको कुरा सुनाई पुतलीले । सन्तवीरले चुपचापै सुनिरह्यो पुतलीका कुरा । केही जवाफ दिएन उसले ।

सन्तवीरको आफ्नो सम्पत्तीका नाममा दुइटा भाले र चारवटा पोथी कुखुरा थिए । त्यसलाई गाउँको हटियामा लगेर बेचिदियो । त्यसबाट उसले केही सय रुपैयाँ हात पार्यो । केही दिन बसेर गाउँमा हात लिएका तर सक्न बाँकी कामहरु गरिदियो । ज्योतिषीलाई साइत हेराएर कार्तिक महिनाको पहिलो हप्ताको वीहिबार सन्तवीर र पुतली आफ्नो सपनाको गाउँतिर लाग्ने विचार गरे । उज्यालोमा गाउँ छाड्दा धेरै मान्छेले के कसो भनेर अनेक कुरा सोध्लान् भनेर उनीहरु बिहान भुकभुके उज्यालो हुँदा गाउँ काटी सक्ने गरी हिँड्ने योजना बनाए । पुतली पनि त्यसका लागि तयार भई । दुवैले ठिक्कठिक्कको झोलामा केही खानेकुरा, ओड्ने लुगा र लाउने लुगा पोको पारेर हाले । सानोसानो कुम्लोजस्तो थियो उनीहरुको झोला पनि । राति नै त्यो ठिकठाक पारे र अबेर गरेर दुवैजना झिमिक्क निदाए । एकझप्को निदाएर कुखुरो बास्नेबेलामा उठे । सन्तवीरले पुतलीलाई अघि लगाएर घरबाहिर निस्क्यो । घरको ढोकाको ताल बन्द गरिदियो । घरमा अरु केही थिएन । छोडेर उनीहरु विस्तारै तल बेँसीतिर लागे । फर्केर एक पटक हेर्ने मन पनि लागेन सन्तवीरलाई ।

सन्तवीरले सुनेको थियो— तराइ र खोँचमा औलो लाग्छ, अनेक कीराफट्याङ्ग्राले रोग सार्छन्, बचेर हिँड्नुपर्छ नत्र एक सय रुपैयाँ लिएर गएपछि जीवनभरि खानलाउन र किरिया खर्च पनि पुग्छ भन्ने सुनेको थियो । बाटोभरि उसले यो कुरा पुतलीलाई पनि सुनायो । यस्तै कथा हाल्दै उनीहरु दुवैजनाले गाउँ काटे ।
दुई दिन हिँडेपछि उनीहरु चुरेको जङ्गल पार गरेर फाँटिलो ठाउँमा आइपुगे । सन्तवीरले पुतलीसँग भन्यो– ‘मैले राती सपनामा देखेको गाउँ यस्तै थियो । कहीँ यही गाउँ पो हो कि ! कुनै घरमा पुगेर सोध्नुपर्छ । यहीँ पो फँडानी चलिरहेको छ कि !’

सन्तवीर र पुतलीले एउटा घरमा पसेर सोध्ने विचार गरे । सन्तवीर एउटा घरको आँगनमा पुगेर घरका मानिससँग सोध्ने विचारले उभियो । घरभित्रबाट एउटा युवक निस्केर सोध्यो– ‘कसलाई खोज्नु भएको ? कहाँबाट आउनु भो ?’
‘हामी पहाडबाट आएका । यतातिर गरिबहरुलाई जङ्गल फाँडेर बसाएको छ अरे भनेर हजुर । तपाईंलाई केही थाहा छ कि भनेर सोधेको ।’ सन्तवीरले भन्यो ।

‘यो ठाउँमा त त्यस्तो कुरा थाहा छैन । यो गाउँ निकै पुरानु गाउँ हो । यहाँ त नयाँ ठाउँ फँडानी भएको सुनिएको छैन । बरु तपाईंले भनेको जस्तो यहाँभन्दा अलि दक्षिणतिर सिमानानजिक धेरै जङ्गल फाँडेर बस्ती बसाईंदैछ अरे भन्ने सुनेको छु । यहाँबाट निकै टाडा छ । तपाईंहरु सरासर जानुभयो भने एक दिनमा पुगिन्छ । आज बाटामा बास बस्नुपर्छ । भोलि बिहान भात खानेबेलामा पुग्नुहुन्छ ।’ सन्तवीरको कुरा सुनेपछि युवकले भन्यो ।

युवकको कुरा सुनेपछि सन्तवीर आफ्नो सपना साँचो हुने कुरामा अझ विश्वस्त भयो । पुतली पनि निकै हर्षित भई । युवकले फेरि थप्यो– ‘झोरा फँडानी गर्नसक्नेले जति फाँडे पनि हुन्छ । फाँड्न सकेजति आफ्नै हुन्छ ।’ 

सन्तवीरलाई त्यो युवक ईश्वरको समाचारदाता देवदूतजस्तै लाग्यो । उसको मन खुसीले गद्गद् भयो । पुलुक्क पुतलीका आँखामा हेर्यो । पुतली सन्तवीरभन्दा पनि बढी खुसी देखेर सन्तवीरले आँखा भिमिक्क झिम्क्यायो र भोला लिएर युवकलाई धन्यवाद दिँदै उसको आँगनबाट बाहिरियो । 

दुई दिनदेखिको उसको थकाइ एकाएक गायब भयो । आफू हावामा उडिरहेको र आफ्नो अगाडि ईश्वर वरदान दिन तयार भएर हाँसिरहेकोजस्तो अनुभव गर्यो उसले । एउटा असीम शक्ति र आशाको संसारमा बिलिन भएको थियो सन्तवीर त्यतिबेला । खुसी र उमंगले सन्तवीर र पुतली एकोहोरो दक्षिणतिर बढिरहे । 

सन्तवीरको सपना साँच्चै सही रहेछ भनेर पुतली पनि विश्वस्त भई । कुखुरा बेचेको रुपैयाँ सन्तवीरको खल्तीबाट घटेको थिएन । बाटाको छेउमा समोसा, झिल्ली र कचौडी देखेपछि उसले यसो खल्ती छाम्यो र पुतलीतिर हेर्यो । पेटमा भोकले बास गर्न लागेको आशंका गर्दै उसले पुतलीलाई भन्यो– ‘अब एकछिन बसेर खाजा खानु पर्छ क्यार । जति हतार गरेपनि आज नपुगिने कुरा भइगो । भोलि त कसो नपुग्गेला । अब बसेर एक छिन खाजा खाउँ अनि फेरि हिँडौँला । आज बीच बाटैमा बास हुन्छ ।’ 

सन्तवीर र पुतली खाजा खान होटलमा छिरे । होटलवालाले खानेकुराबारे सोध्यो सन्तवीरलाई । सन्तवीरले निकै भोक लागेकाले झिल्ली, कचरी, मुरई र समोसा अर्डर गर्यो । होटलवालाले  मागेजति खानेकुरा प्लेटभरि ल्याएर उनीहरुका अगाडि राखिदियो । पुतली र सन्तवीरले भोक र हर्षसँगै मिसाएर त्यो एक प्लेट खाजा पेटसम्म पुर्याए । 

खाजाको पैसा सोधेर सन्तवीरले खल्तीबाट पैसा निकाल्यो र चुक्ता गर्यो । एउटा असीम तृप्तताको अनुभव गर्यो सन्तवीरले त्यतिबेला । आफ्नो खल्तिबाट पैसा निकालेर यसरी आफूलाई मन लागेको खानेकुरा किनेर जीवनमै पहिलोपटक खाएको थियो उसले । पुतलीले त सपनामा पनि यसरी होटलमा बसेर खानेकुरा खाने सोचेकी थिइनँ । त्यो काम पूरा गरे आज उनीहरु दुवै जनाले । 

खाजा खाइसकेर फेरि बाटोलागे दक्षिणतिर । एकछिनपछि एउटा जङ्गलभित्र छिरे उनीहरु । जताततै रुखहरु लडेका थिए । पुराना रुख हुन् कि भनेर उसले निरीक्षण गर्यो तर होइन ती रुखहरु भर्खर ढालिएका थिए । रुखहरु नियालिसकेपछि सन्तवीरले आफ्नो सपनाको भूमि यही हुनुपर्छ भन्ने अनुमान गर्यो । 

रात झमक्क परिसकेको थियो । आफूले पहिले सुनेका डाका, चोर, लुटेरा र गुन्डाहरुका कथाकहानी सम्झ्यो । सीमानाको नजिक, रातको बेला, उसलाई मनमनै डर लाग्यो । झोलामा लुकाएर राखेको खुकुरीतिर ध्यान दियो र हात पछाडितिर लगेर छाम्यो एक पटक । खुकुरी ठीक ठाउँमा थियो । मन ढुक्क पार्यो उसले ।
............
सन्तवीर जवानीमा खुब सीपालु थियो खुकुरी नचाउन । चारैतिर खुकुरी नचाएर जस्तोसुकै खुकुरी प्रहारलाई पनि छेल्न सक्थ्यो ऊ । हिम्मत अझै छँदैथियो । निर्जन जङ्गलमा त्यो दिन सन्तवीरले आफ्नो खुकुरी नचाउने कला फेरि सम्झ्यो । झमक्क ठूलो साँझ परेपछि निकैपर एउटा पिलपिल उज्यालो देखियो । बाटो देख्न मुस्किल हुँदै गयो । उज्यालो निकै टाढा भए पनि त्यसले उनीहरुलाई सहाराको काम गर्यो । पिलपिल उज्यालो ठम्याउँदै पुतली र सन्तवीर त्यस घरतिर सोझिए । 

रातको समयमा आएका पाहुनालाई सोधखोजपछि पालीमा गुन्द्री ओछ्याइदिएर बासको व्यवस्था गरिदिए घरवालाले । आफू त्यति टाढाबाट आउनुको कारण घरका सबै मानिसलाई सुनायो सन्तवीरले । घरधनीले जंगल फँडानी गरेर धमाधम बस्ती बसाउने काम भएको कुरा साँचो हो भनेर सन्तवीरलाई सुनाए । सन्तवीर मनमनै गदगद भयो खुशीले । रातभरि सन्तवीर र पुतली भित्रभित्र डराउँदै पालैपालो गरेर सुते । बास बसेको घर पनि सन्तवीरले सपनामा देखेकैजस्तो थियो । 

सबैतिर जङ्गल फाँड्ने र कब्जा गर्ने काम भइरहेका थिए । उसले पनि भोलिपल्टदेखि आफ्नो स्वप्ननगरी बसाउने काम सुरु गर्यो । एक वर्ष पुग्दानपुग्दै ऊसँग एउटा सानो घर र केही खेतबारी भयो । एक हल गोरु पनि किन्यो । स्वप्ननगरीमा सन्तवीर र पुतली रमाएर बस्न थाले ।

एक दिन झोरा नापी भन्दै नापीको एउटा टोली गाउँ पस्यो । 

‘अबदेखि जङ्गल फँडानी गर्नेहरुलाई कारवाही हुन्छ, जतिले फाँडेफाँडे । फाडेर घरवास गरेकाजतिको धनीपुर्जा बन्छ, त्यसपछि बाँकी जङ्गल फँडानी गरेमा कारवाही हुन्छ ।’ वनका कर्मचारीले उर्दी लगाए, रवाफ देखाए । पुलिस, वनपाले र नापीका अमिनहरुको ठूलो डफ्फा गाउँको एउटा किसानको गोठमा खानेबस्ने व्यवस्था गरेर निकै दिन बस्यो । लामालामा फित्ता निकालेर जग्गाको नाप लिए । जङ्गल र आवादी जमिन छुट्याए ।

नापजाँच गर्ने मानिसहरु गाउँबाट गएको केही महिनापछि नचिनेका मानिसहरु गाउँमा देखिन थाले । जग्गा किनबेच गर्ने, बसाइ सर्ने यस्तैयस्तै कुरा गरे उनीहरुले । केहीले त ‘यो जङ्गलक्षेत्र भएकाले बस्ती उठाउँदैछ, सस्तोमस्तोमा बेचेर यहाँबाट हिँड, बेच्ने हो भने हामी लिन्छौँ पनि भने । 

बल्लबल्ल बनाएको घर र पाएको जमीन गुम्ने हो कि भन्ने डरले सन्तवीरको मनमा चिसो पस्यो । सबै गाउँलेहरु जम्मा भएर सरसल्लाह गरे । आ–आफ्नो जग्गाको नापीनक्सा चाँडो कायम गर्नुपर्छ भनेर गाउँ विकास समिति र नजिकका नेताहरुलाई हारगुहार गरे । सबैतिरबाट आश्वासन पाए । ढुक्क भए सबै गाउँलेहरु । पुस्तौँदेखि ठाउँठेगाना नभएका मान्छेहरु आफ्नै जमिन र घर हुने आशामा ढुक्क भए । 

चुनाव हुने समयमा गाउँमा भोट माग्न अनेकथरि नेताहरु आए, विभिन्न पार्टीका । उनीहरुले गाउँको समस्या आफ्नै समस्याजस्तो गरी कुरा गरे । अनेक आश्वासन दिए । ‘तपाईंहरुको जग्गा र घर दर्ता गराउन हाम्रो पार्टीले पहल गर्नेछ । हामीलाई भोट दिनुभयो भने हामी यो काम अवश्य गर्छौ ।’ सबैले प्रतिज्ञा गरे ।  बिजुली, पानी र सडकको लागि आवश्यक बजेट मिलाउने कुरा गरे । केहीले त यो गरिबहरुको पार्टी हो, हामी गरिब, सुकुम्बासीहरु सबैलाई जमिनको मालिक बनाउँछौँ भन्थे । कोही दलित, जनजाति, आप्रवासीको हित गर्छौ भन्थे । सबैले एकएक कुराको आश्वासन दिए, गरिबको वकालत गरिरहे र आश्वासन दिन मिल्ने र सक्नेजति आश्वासन पनि दिइरहे ।

सन्तवीरको गाउँ २० वर्षसम्म त्यस्तैत्यस्तै आश्वासन सुनेर बसिरह्यो । सबै नेता, कर्मचारी, ठूलाठालु, गैरसरकारी संस्थाहरु सबैले गाउँको, जनताको कुरा गरे तर सन्तवीरले जग्गा र घर आफ्नो नाउँमा भएको कुनै प्रमाण पाउन सकेन, न अरु कुनै गाउँलेले नै पाए । 

एक दिन बिहानै गाउँलेहरु चौतारोमा जम्मा भए । जग्गाको प्रमाण खोज्न र दवाव दिन जिल्लाको मुख्य प्रशासक सिडिओकहाँ जाने निर्णय गरे । शायद गाउँलेहरु सिडिओले समस्या समाधान गरिदिन्छन् भन्ने विश्वास गरेका थिए । सन्तवीर पनि त्यो टोलीमा समावेश भयो । टोलका टाठाबाठा भनिएका गयाराम दाहालको नेतृत्वमा १० सदस्यीय टोलीले काम सुरु गर्यो । टोली सिडिओकहाँ जाने भयो । 

गाउँलेहरुले सिडिओकहाँ उजुरी गर्न जाँदा अनेक झन्झट व्यहोर्नुपरेको, भोलिभोलि भनेर अनेकपल्ट एउटै कामका लागि धाउँदा काम नभएर वाक्क भएर त्यसै छोडेर बसेको, न्याय पाउन धाउँदाधाउँदै थाकेर त्यसै छोडेको, न्याय पाउन तारिख धाउँदा र वकीललाई पैसा तिर्दातिर्दा घरखेत नै बेचेर सुकुम्बासी भएको पनि सन्तवीरले पहाड हुँदा नै सुनेको थियो । कतै आफूपनि त्यही हुनेतिर लागेँ कि भनेर झस्क्यो सन्तवीर । 

‘मैले त यस्ता काम गर्न अड्डा धाउनेको निकै अनुभव सुनेको थिएँ । सबैले एउटाले अर्कालाई देखाउँछन् र थकाउँछन् अनि निराश भएर आफैँ छोड्ने अवस्थामा पुर्याउँछन, निर्णय गर्न कोही चाहँदैनन्, कानुन, नियम र कागज खोज्छन्, जिम्मेवार कोही छैनन् भन्थे हो कि क्या हो ?’ सन्तवीरले टोलिनेता गयारामलाई खुसुक्क भन्यो ।
सन्तवीरको कुरा सुनेर गयारामले पनि पुराना मानिसहरुले भनेका कुरा सम्झ्यो । अनुभव एकातिर थियो अर्कातिर कामको जिम्मेवारी । मुन्टो हल्लाउँदै गयारामले सन्तवीरको कुरामा आफ्नो प्रतिक्रिया जनायो– ‘जमाना बदलिइरन्छ, मानिस पनि बदलिन्छन्, नबदलिएकालाई हामीले बदल्नुपर्छ ।’ हिम्मत देखायो गयारामले । 

बिहानको खाना खाइसकेर हिँडेको गयाराम र सन्तवीरको टोली सिडिओकहाँ पुग्यो । टोलीलाई नरम सोफामा बसाउँदै सिडिओले सोधे– ‘के सेवा गरौँ तपाईंहरुको ?’ सिडिओको कुराले सन्तवीर दङ्ग पर्यो । जिल्लाकै यति ठूला हाकिमले पनि यति विनम्र भएर कुरा गरे । के सेवा गरौँ भनेर सोधे । साँच्चै फेरिएछन् क्यार हाकिमहरु । गयारामले भनेका कुरा ठीक रहेछन् । काम हुने सम्भावना छ क्यार । सन्तवीरले पुलुक्क गयारामतिर हेर्यो । गयाराम गमक्क फुलेर मुस्कुरायो । 

‘हामी झोराबाट आएका ।’ सिडिओको प्रश्न सुनेपछि गयारामले वेलिविस्तार लाउन सुरु ग¥यो–  ‘हामीलाई ढालफाँड गरेर बस भन्ने आदेश भएकाले झोरा फाँडेर बस्यौँ । २० वर्ष भइसक्यो । यो थोरै समय होइन । हामी बसेको जमिन हाम्रै हो भनेर केही सरकारी कागज माग गरेका हौँ । नापी टोली गएर नापिसकेको पनि हो तर अहिलेसम्म त्यसको केही खुटखबर भएन । त्यसैले हामी अन्यायमा परेका छौँ हजुर, न्याय गरिदिनुपर्यो । जग्गा दर्ता गराइदिनुपर्यो ।’

गयारामको बेलिबिस्तार सुनिसकेपछि सिडिओले अलि गम्भीर हुँदै भने– ‘हेर्नुस् गयारामजी, तपाईंहरुजस्ता जनताकै सेवा गर्न बसेका हौँ हामी । जनताको काम नै हाम्रो पूजा हो । तपाईंहरुलाई मर्कापरेको पक्कै हो । म यो जिल्लामा आएदेखि नै तपाईंहरुको समस्या सुनिरहेको छु । बुझेको छु तर यो काम मेरो कार्यक्षेत्रमा परेन । यो काम नापी र मालपोत कार्यालयको हो । म उनीहरुलाई फोनमा भनिदिन्छु, तपाईंहरु त्यहीँ गएर कुरा गरे बेश होला । मेरो काम शान्ति, सुरक्षा हेर्ने र प्रशासन चलाउने हो ।’ यति भन्दै सिडिओले नापी र मालपोतका हाकिमलाई फोन गरिदिए र हाम्रा कुरा विचार गरिदिन सिफारिस गरे । 

‘तपाईं जिल्लाको मुख्य प्रशासक हो । एकपटक यो समस्या समाधान गर्न छिटो पहल गरिदिनुस् भनेर सबै हाकिमहरुलाई बोलाएर हजुरले भनिदिए हाम्रो काम बन्थ्यो कि हजुर । त्यसो भए हुनेनहुने के हुने हो टुंगो लाग्नेथियो ।’ गयारामले सिडिओलाई अलि जोड गरे । 

गयारामको कुरा सुनेर सिडिओ अलि चिडचिडाजस्ता भए । उनले गयारामतिर फर्केर भने– ‘तपाईंहरुका लागि तपाईंकै समस्या ठूलो छ । मेरो यहाँ तपाईंकोभन्दा पनि ठूलाठूला समस्या छन् । तपाईंहरु मालपोत र नापीमा जानुस्, मलाई आफ्नो काम गर्न दिनुस् ।’ 

जसको घरबासको नै टुंगो लाग्न सक्या छैन त्योभन्दा ठूलो समस्या त पक्कै छैन होला । गयारामले कुरा सिध्याउँदानसिध्याउँदै सिडिओ उठेर हिँड्न खोजे । निस्किसकेपछि थाहा भयो उनी प्रशासन मन्त्रीलाई भेट्नका लागि मन्त्री बसेको होटलमा जान निस्केका रहेछन् । सन्तवीरले त्यो थाहा पाएपछि गयाराम र साथीलाई भन्यो– ‘यी देश र जनताको पूजा गर्छु भन्छन् तर फेरि मन्त्रीलाई भेट्न हाम्रा समस्या पन्छाएर होटलतिर पो लागे त ! यिनले भनेको ठीक कि गरेको ठिक ? 

गयाराम र सन्तवीरको टोली नापी र मालपोत कार्यालय पुग्यो । त्यहाँ पुग्नासाथ दलालहरु भुम्मिए– ‘के काम छ हजुर ? कुनै काम छ भने हामी मिलाइ दिन्छौँ । नक्सा मिलाउने, दर्ता गर्ने सबै काम हुन्छ हजुर ।’
सन्तवीर दलालहरुको घेराबन्दी देखेर छक्क प¥यो । टोली दलालहरुको चक्रव्युह पार गरेर भित्र पस्यो । महाभारतको युद्धमैदानको चक्रव्युहजस्तै लाग्न थाल्यो सन्तवीरलाई त्यो काम । 

टोलीले मालपोत हाकिमसँग कुराकानी ग¥यो । हाकिमले टोलीको कुरा सुनेर भने– ‘यो काम प्रकृयामा छ । कानूनअनुसार सबै कुरा पु¥्याएर गर्नुपर्नेछ । नापीको हाकिमसँग पनि कुरा गर्र्नुहोला । दर्ता समितिको बैठक बसेको छैन । सिडिओ साबको अध्यक्षतामा एउटा समिति बनेको छ, त्यसले काम गर्दैछ ।’ 

‘अनि कानुन बमोजिम काम गर्न पनि बीशौँ वर्ष लाग्छ त हजुर ?’ यसपटक गयारामको सट्टामा सन्तवीरले प्रश्न गर्यो । 

‘हाकिमहरु फेरिरहन्छन् । हुनेहुने बेलामा कुरा बुझेका मान्छे सरुवा भइदिन्छ । नयाँलाई फेरि कुरा बुझाउन समय लाग्छ । यस्तैयस्तै भएर तपाईंको काम अल्झिरहेको छ । हेर्नुस् न हाम्रो देशको राजनीति ठीक नभई कामै गर्न गाह्रो भयो ।’ गाउँलेहरुको काम गर्नेतिर भन्दा राजनीतिलाई दोष थुपार्न थाले मालपोत हाकिम ।
मालपोत हाकिमका कुरा पनि सिडिओका जस्तै थिए । गयारामको अनुहारमा अलि निराशाको बादल लागेजस्तो देखियो । अरु गाउँलेहरु अझ काला देखिए । सबैको अनुहारमा अन्यौल र निराशाको कालो बादल मडारिन थाल्यो । 

‘हुने–नहुने छिटो टुंगो गर्दिनु पर्यो हाकिम सा’ ब । हामी त त्यो ठाउँ छोड्नु न बस्नुजस्तो दोधारमा पर्यौँ ।’ गयारामले पुरानै अनुरोध दोहोर्यायो । 

‘हामी तपाईंहरुको मर्काप्रति संवेदनशील छौँ । चाँडै निर्णय गराउने प्रयास गर्छौं । एक पटक नापी हाकिमलाई पनि भेट्नुहोला ।’ हाकिमको आश्वासनपछि गयारामको टोली फेरि नापी हाकिमकहाँ पुग्यो । 

नापी हाकिम चिया खाएर घाम तापिरहेका थिए । गयाराम र सन्तवीरको टोलीले हाकिमलाई घेराबन्दी गर्दै आफ्नो मर्का सुनायो । सुनिसकेपछि हाकिम बोले– ‘तपाईंहरुको समस्या प्रशासनिक र प्राविधिक समस्या मात्रै होइन । यो राजनीतिसँग पनि गाँसिएको छ । त्यसैले एकपटक तपाईंहरु राजनीतिक पार्टी र जिल्ला विकास समितिका सभापतिसँग पनि भेटेर कुरा गर्नुहोला । हाम्रो काम नक्शा तयार गर्ने हो, नक्शा तयार छ । नक्शा लागू गर्नका लागि जिल्लाबाट निर्णय गरेर विभाग पठाउनु पर्छ । यसमा वनको पनि सहमति चाहिन्छ । तपाईंहरुले दुःख पाउनु भएको छ । तर के गर्नु, मैले मात्रै केही गर्न सक्तिनँ । एकपटक नेताहरुसँग पनि कुरा गरेर मन्त्रीकहाँ नै पुग्नुपर्छ कि ?’ समस्याको अझ ठूलो पहाड बनाइ दिए नापी हाकिमले । 

‘मन्त्रीकहाँ यति सानो कममा किन पुग्नुपर्ने ? कानुनले सबै अधिकार त तपाईंहरुलाई नै दिएको छ । फेरि हामीलाई किन दुःख दिनुहुन्छ ?’ गयाराम अलि कड्कियो । 

गयारामको कड्काइ सुनेर नापी हाकिमले भने– ‘मैले देखेको र भोगेको कुरा भनेको हो । मेरो पनि जागिरको कुर्सी तपाईंहरुको समस्याजतिकै ठूलो छ । राजनीतिबेगर कसैको हात चल्दैन । मन्त्रीको आदेश ल्याइदिनुस् त्यही दिन काम हुन्छ ।’ 

सिडिओदेखि नापीसम्म धाउँदा सबैका ओठमुख सुकिसकेको थियो । नापी हाकिमको कुरापछि त्यहाँबाट बाहिरियो सन्तवीरको टोली । 

‘अब न आउनु आइहालियो एक पटक जिल्ला विकास समितिका सभापति र वनका हाकिमलाई पनि भेटेरै जाऊँ न त के भन्दारछन् ।’ टोलीका एकजना सदस्यले भने । गयाराम र सन्तवीर थाकिसकेका थिए । टोली जिल्ला विकासका सभापतिकहाँ पुग्यो । 

टोली जग्गा दर्ताको सन्दर्भमा आएको भन्ने थाहा पाएपछि सभापतिले भने– ‘म तपाईंहरुको पक्षमा छु । तर के गर्नु यी सरकारी हाकिमहरु पटक्कै हामीले भनेको सुन्दैनन्  । काजग र कानुन देखाएरै हैरान पार्छन् । म त हरेक पटकको बैठकमा तपाईंहरुको समस्या समाधान गर्र्नुपर्यो भनिरहेकै छु । ती हाकिमहरुलाई भेटेर अलि दवाव दिनु भो भने हामीलाई पनि सजिलो हुन्छ ।’ काम बनाइ दिने छाँट त्यहाँ पनि देखेनन् गाउँलेहरुले ।
सभापतिका कुरा आफ्ना ठाउँमा सही बेसही के थिए थाहा थिएन तर गाउँलेका समस्या सुनाउने जोस र जाँगर भने अन्यौलको खाडलतिर धकेलिँदै थियो । 

‘चाँडो निर्णय गराइ दिनुपर्यो हजुर  । हामी त साह्रै मर्कामा पर्यौँ ।’ सन्तवीरले थप्यो । 

‘तपाईंहरु बसिरहनुभएकै छ । कसैले त्यहाँबाट उठाउन सक्तैन । हामीले सडक र बिजुलीको लागि यसपाली केही बजेट छुट्याइदिएका छौँ । तपाईंहरु ढुक्क हुनुहोस् । एक दिन तपाईंहरुको जग्गा दर्ता नगरी सुख्खै छैन ।’
जिल्ला सभापतिको कुरा सुनिसकेपछि टोली फेरि वन कार्यालयतिर लाग्यो । वनका हाकिम परिचितै थिए । गाउँलेलाई देख्नासाथ भने– ‘अब अर्को महिनासम्म सरकारको तर्फबाट केही निर्णय अवश्य होला । हामीले ढालफाँड भइसकेको जग्गा दर्ता गरिदिन आदेशका लागि मन्त्रालय पठाएका छौँ । त्यतिबेलासम्म धैर्य गर्नुस् । बरु एक पटक मन्त्रीज्यूलाई भन्नुहोला ।’ 

वनका हाकिमसँग कसैको दोहोरो कुरा गर्ने जाँगर देखाएनन् । गयारामले निस्कनेबेलामा भन्यो– ‘चाँडो गर्ने प्रयास गरिदिनुहोला ।’

अर्को महिना निर्णय आइहाल्छ कि भनेर गाउँलेहरु आशावादी देखिए । एक महिनासम्म पनि निर्णय आएन, बरु सीमानाको नजिक भएकाले गाउँ नै सार्ने भन्ने हल्ला चल्न थाल्यो । सबै गाउँलेहरु आत्तिए । त्यतिकैमा जिल्लामा वन र भूमिसुधार मन्त्री आउने हल्ला चल्यो । गाउँलेहरु मन्त्रीलाई भेटेर कुराकानी गर्न पाए हुन्थ्यो कि भन्ने आशा गर्न थाले । सन्तवीरले त्यो खबर गयारामलाई सुनायो । मन्त्री आउने मौका पारेर सबै गाउँलेहरु मन्त्रीकहाँ गए । मन्त्रीले भने– ‘यो निर्णय म एक्लैले गर्न नसक्ने भएकाले मन्त्री परिषद्मा पठाएको छु ।’ 

मन्त्रीका कुरा सुनेपछि वाक्क भइसकेका गाउँलेहरुले भने– ‘कानुनअनुसार आफ्नो देशभित्र गर्नुपर्ने काममा पनि यत्रोविधि जटिलता देखाएर किन दुःख दिनुहुन्छ ? यतिका वर्षदेखि हामी ठाउँ छोड्नु न बस्नुको पीडामा अनेक हल्ला सुनेर बसिरहेका छौँ । जनताका लागि त मन्त्रालय र मन्त्री सर्वेसर्वा नै हुन् जस्तो लाग्छ । निर्णय गर्नै नसक्ने हो भने यस्तो मन्त्रीमा रहनु नै किन पर्यो ?’ 

यति भनिसक्ता सबै गाउँलेहरुका आँखा रोष र दिक्दारीका आँसुले भरिए । मन्त्रीले भने– ‘एक पटक तपाईंहरुले प्रधानमन्त्रीसँग पनि कुरा गर्दिनु भयो भने मलाई पनि निर्णय गराउन अलि सजिलो हुन्छ ।’

पञ्चायतकालमा राजाले जनताका नाममा सन्देश दिँदा अन्तमा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे, अहिले यी सबै एक अर्कालाई देखाउँछन् । जिल्लाको एउटा अड्डाले निर्णय गरे हुने कुरामा अनेक मन्त्रालय र विभाग चाहार्दा पनि हुने काम हुँदैन । एउटा मान्छेले निर्णय गर्दा हुने काम आज दुई दशकसम्म पनि हुँदैन । काम जहाँको तहीँ छ । यिनीहरु सबैले जनताकै कुरा गर्छन् । कहाँ छन् त यिनका जनता ? गयारामले दिक्दार हुँदै आफ्नो स्मृतिका पाना पल्टायो । दिक्दारीले आफूलाई थकाउँछ, हिम्मत घटाउँछ, काम बन्दैन । दिक्दार मानेर ठाउँ पनि त छोड्न सकिन्न नि ! गयारामले फेरि आफूभित्र हिम्मत बढायो र साथीहरुसँग भन्यो– ‘अब यसैउसै दुःख पाइहालियो काठमाडौँ गएर प्रधानमन्त्रीलाई नै भेटौँ । प्रधानमन्त्रीकहाँ गएपछि त कसो नहोला ।’ गाउँलेहरुले फेरि आशाको दिया बाले आफूभित्र । 

२०५६ साल मंसीर महिनाको २५ गते गाउँलेहरुको एक टोली प्रधानमन्त्रीलाई भेटेर जग्गा दर्ताको कुरा गर्न काठमाडौँ जाने भए । एउटा विज्ञप्ति निकालेर सबै पत्रकारहरुलाई बाँडे । भोलिपल्ट समाचार बनाए सबै पत्रिकाहरुले । समाचारमा– गाउँलेहरु अन्तिम प्रयासका लागि काठमाडौँ गएर प्रधानमन्त्रीलाई भेट्ने बिषय पनि उल्लेख थियो । 

त्यो निर्णय भएको दिन बेलुका सन्तवीरले पुतलीसँग भन्यो– ‘देशकै प्रमुखलाई भेटेपछि त कसो नहोला । अब टुंगो लाग्छ ।’ 

सन्तवीर सहितको ५ जनाको टोली काठमाडौँ जाने गरी गाउँबाट हिँड्यो । सन्तवीर काठमाडौँ हिँडेपछि पुतली मात्रै घरमा बसी । 

टोली प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुग्यो । एक छिनपछि सिंहदरवारको कार्यालयमा छिरे प्रधानमन्त्री । गयारामले चिनेका एकजना नेता पनि उनीहरुसँगै थिए । प्रधानमन्त्रीको कुर्सीको अघिल्तिर ठूलाठूला अक्षरमा लेखिएको थियो– नियमसम्मत काम आजको आजै हुन्छ । गयाराम र सन्तवीरले ती ठूला अक्षर प्रधानमन्त्रीसँग कुरा गर्नुअघि राम्ररी पढे । उनीहरुलाई ती अक्षरले गिज्याएजस्तो लाग्यो । 

टेबुलमा छरिएका अनेक अखबारतिर ध्यान मोडे । अखबारको अघिल्लै पृष्ठमा ठूल्ठुला अक्षरले लेखिएको थियो– स्वप्ननगरको जग्गा २० वर्षमा पनि दर्ता भएन । प्रधानमन्त्री त्यही पत्रिका पढिरहेका थिए । सन्तवीर र गयारामले पनि त्यही पढे । पत्रिकाले सबै विवरण साँचो नै लेखेको थियो । तर, अन्तमा लेखेको थियो– ‘शायद यो गाउँको जग्गा दर्ता गर्ने निर्णय सरकारले पनि गर्न सक्ने छैन बरु यो बस्ती नै अन्यत्र सर्ने बलियो सम्भावना छ । त्यसका लागि सरकारले अर्को ठाउँ हेर्न सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । प्राविधिक रुपमा दर्ता गर्न कुनै समस्या नभए पनि अनेक वाह्य कारण यसमा जिम्मेवार रहेको कुरा सम्बद्ध सूत्र बताउँछ ।’ 

यो समाचार हेरेपछि गयाराम र सन्तवीरले मुखामुख गरे । प्रधानमन्त्रीले परिचय गरिसकेपछि त्यही पत्रिका देखाउँदै भने– ‘मैले निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाइसकेको छु । चाँडै तपाईंहरुलाई अन्यत्र सार्ने काम हुनेछ । त्यतिन्जेलसम्मका लागि तपाईंहरु त्यहीँ बसिरहनुहोला ।’ 

(दक्षिणी सीमानाको  करिबकरिब दुई किलोमिटरको दुरीमा रहेको त्यो गाउँको जग्गा सन्तवीरको छोराको पालासम्म पनि दर्ता भएन । बस्ती पनि सरेन । पछि विस्तारै त्यो वस्ती नै अर्को देशको नक्शामा परेको रहेछ भन्ने हल्ला सुनियो । यताकाले उताको र उताकाले यताको भनेर त्यो गाउँलाई देखाइरहे । नक्शामा नपरेको त्यो गाउँलाई आज पनि स्वप्ननगरको नामले चिनाइरहन्छन् मानिसहरु । यो गाउँ बसेदेखि अहिलेसम्म किन जमिन भोगचलन गर्नेहरुका नाममा दर्ता हुन सकेन ? किन अर्को देशको भूमिमा परेको भनेर हल्ला फैलाइयो ? किन सबै काम भइसकेर पनि बस्ती हटाउने वा दर्ता गर्ने दुवै काम हुन सकेन ? आजसम्म न कसैले यस कुराको जवाफ पाए न कसैले यस कुराको जवाफ दिन नै आवश्यक ठाने । आजसम्म पनि यो स्वप्ननगरका बासिन्दा कुन देशका हुन् ठेगान लाग्न सकेको छैन । देशभित्र हुँदाहुँदै देशविहीन छन् यहाँका मानिसहरु ।)