Wednesday, April 1, 2015

अवसर खोज्ने होइन चिन्न सिकौँ

‘हाम्रो देशमा अवसर छैन, अवसर नभएपछि पलायन अनिवार्य छ । त्यसैले विदेश जानेको लर्को यति ठूलो छ’, प्रायःजसो मानिसहरूले यही भनेको सुनिन्छ । यही भनाइ सुन्दा–सुन्दा हामीलाई पनि लागेको हुन सक्छ, वास्तवमा अवसर नै छैन, त्यसैले मानिसहरू विदेश जा
न तँछाडमछाड गरेर लागिरहेका छन् । यसो भन्ने र यस्तो बुझ्ने दुवै थरीलाई म फेरि एक पटक ‘परिवर्तनकारी जीवनदृष्टि’ पुस्तकको तेस्रो अध्यायमा उल्लिखित अदुवा र अम्रिसो लगाउने किसानहरूको कथा पढ्न आग्रह गर्छु । र, बजारमा सेल्सम्यान, एकाउन्टेन्ट, अफिस असिसटेन्टको विज्ञापनमा ध्यान दिन अनुरोध गर्छु ।

हाम्रो देशमा प्रमाणपत्रधारीहरू धेरै भए पनि साँच्चै काम पाउँदा सक्षमताका साथ काम गर्न सक्ने सीप र भावना भएका जनशक्तिको अभाव छ । श्रम बजारमा आउनेभन्दा बढी जनशक्ति विद्यार्थी र कामदारका रूपमा विदेसिएका देखिन्छन् । के अवसर नभएरै हो यसो भएको ? के हमीले साँच्चै यहाँभन्दा बढी कमाइ हुने राम्रा काम पाइरहेका छौँ, विदेशमा ? के यहाँको भन्दा राम्रो शिक्षाका लागि विदेसिएका हुन् विद्यार्थीहरू ? गहिरो गरी सोच्ने हो भने यसको उत्तर सकारात्मक पाउन मुस्किलै होला । एकदुईले पाएका राम्रा अवसर अपवाद हुन्, तिनलाई सामान्यीकरण गरेर हेर्न मिल्दैन ।

विदेसिएको जनशक्तिले कमाएर ल्याएको पैसा घरायसी उपभोगमा खर्च भएको छ । उत्पादनशील क्षेत्रमा २÷४ प्रतिशतभन्दा बढी गएको छैन । घर धान्न सक्ने र घरायसी खर्च चलाउने कमाइका लागि मात्र युवाहरू विदेसिने अनि बुढेसकालमा काम गर्न नसक्ने भएपछि फर्केर आएर घरमा बस्ने भयावह अवस्थातिर देशको भविष्य धकेलिइरहेको छ । त्यसैले आउनुहोस्, यसपटक अलि भिन्न कोणबाट हाम्रो देशभित्र उपलब्ध अवसरहरूबारे चर्चा गरौँ ।

सीपयुक्त जनशक्तिको माग देशभित्रै छ
जो कामदारसँग सीप छ उसले महिनाको २०÷२५ हजार कमाउन कुनै गाह्रो छैन । उदाहरणका लागि सिकर्मी वा डकर्मीलाई लिऊँ । देशभित्र परिवारसँग बसेर उसले १० बजेदेखि ५ बजेसम्म काम गर्दा रु. ७००–८०० प्रतिदिन ज्याला पाउँछ । कामप्रति इमानदार हुने, काम नठग्ने र उत्साही कामदार छ भने जहाँसुकै उसको माग छ । निर्माण व्यवसायको क्षेत्रमा मानिस नभएर देशको विकास निर्माण नै ठप्प हुने अवस्थामा पुगेको छ । विदेशमा जाने सामान्य कामदारले महिनाको १५–२० हजार कमाउन पनि मुस्किल छ, फेरि सुरुमा लाखौँ रूपैयाँ ऋण काढेर म्यानपावर कम्पनीलाई र दलालहरूलाई बुझाएको हिसाब गर्ने हो भने त्यसभन्दा बढी नै कमाइ त देशभित्रै गर्न सकिन्छ ।

उत्पादनका अवसर बग्रेल्ती छन्
मैले अघिल्ला अनुच्छेदमा जागिर खोज्नेहरूका लागि अवसर भएका क्षेत्रको चर्चा गरेँ । उत्पादकहरूको पनि केही क्षेत्रको चर्चा गरियो । यसलाई अझ गहिरोगरी विश्लेषण गरौँ । संसारभर खाद्यवस्तुको र उपभोग्य सामानको भाउ आकासिँदो छ । यो आकासिँदो महँगी उत्पादकका लागि, कृषकका लागि अवसर हो ।
मेरा एक जना मित्र छन् टमाटर खेती गर्ने । राजविराजमा छँदाखाँदाको प्रेस बेचेर काठमाडौँ छिरे । सामान्य परिवारका मान्छे । उनले काठमाडौँमा सामान्य प्रेस चलाएर प्रतिस्पर्धा गर्न सकिने देखेनन् । विकल्प खोज्ने क्रममा काठमाडौँभित्र टमाटर र बेमौसमी तरकारी खेती गरेर राम्रो कमाइ गरिरहेका मानिससँग भेट भएछ । उनीसँग परम्परागत खेतीमा ज्ञान र सीप भए पनि बेमौसमी तरकारी खेती र टमाटर खेतीबारे गहिरो ज्ञान थिएन । सिक्नका लागि एक जना विशेषज्ञको फार्ममा एक सिजन काम गरे । अर्को सिजन लाग्दा उनी टमाटर र बेमौसमी तरकारी खेतीका अनुभवी कृषक बने । हरित गृह खेती गर्नका लागि आवश्यक प्रविधि पनि त्यहीँ सिके ।

खेती गर्नका लागि जमिन चाहियो, त्यो भाडामा लिए । एक्लै नसकिने हो कि भनेर अर्को एक जना साथीसँग सहकार्य गर्ने निर्णय गरे । ५ रोपनी जग्गामा ५ लाख जति लगानी गरेर खेती सुरु गरे । एक बालीमा सम्पूर्ण खर्च उठ्यो । टनेल अझै ३÷४ बालीका लागि काम लाग्ने छँदै छ । बालीपिच्छे एक सिजनमा ६ लाख जति आम्दानी हुन्छ । त्यसमा करिब ३ लाख खर्च हुन्छ, ३ लाख त खुद आम्दानी हुन्छ । एउटा अरबी वा मलेसियन लाहुरले पनि त्योभन्दा बढी कमाउने सम्भावना छैन । त्यहाँ पनि दिनको ८ देखि १० घण्टा काम गर्नैपर्छ । टनेल खेतीमा वर्षको ३ महिना मात्र त्यति धेरै काम गर्नुपर्छ, अरू बेला २–३ घण्टा मात्र काम गरे पुग्छ । यस्ता अनेक अवसर छन् आफ्नै देशमा तर तिनलाई हामीले अवसरको उपयोग गर्ने दृष्टि विकास गर्न सकेका छैनौँ ।
बाख्रा पालन निकै राम्रो आम्दानी दिने व्यवसाय बन्दै छ । गाई पालेर त्यसबाट उत्पादित वस्तुहरू दूध, गहुँत, गोबर बेचेर आम्दानी गर्ने सम्भावना जताततै छ । फलफूल खेती गरेर आम्दानी गर्न सकिने सम्भावनाहरू त्यस्तै छन् । जहाँसुकै जग्गा बाँझै देखिन थालिसक्यो । यातायातको सुविधा बढिरहेको छ । उपयुक्त ठाउँमा राम्रो कृषिफर्म खोलेर विकासको अवसर लिन सकिने सम्भावनाहरू त्यत्तिकै छन् । आखिर श्रम नै गर्ने हो भने किन देशभित्रै स्वभिमानी भएर श्रम नगर्ने ?

केरा खेती, मेवा खेतीमा नवलपरासी, सुनसरी र मोरङ, तरकारी उत्पादनमा धादिङ, काभ्रे, बारा, सर्लाही, सुनसरी, धनकुटा, भुइँकटरमा सर्लाही, माछा पालनमा धनुषा, सप्तरी, नवलपरासी, कुखुरा पालनमा धादिङ, चितवन, भक्तपुर, काभ्रे बिस्तारै नाम कमाउँदै गएका छन् ।

दूध उत्पादनमा काभ्रे, चितवन, मोरङ, इलामले नाम कमाइरहेकै छन् । ती जिल्लाहरूमा पनि सीमित क्षेत्रमा ती उत्पादन भएका छन् । सिन्धुलीको जुनार खेती प्रसिद्ध छ । रामेछाप पनि त्यसमा अगाडि नै छ । यी जिल्लामा त्यसको विस्तारका सम्भावना पनि छन्, तर हामीले त्यसलाई निर्वाहमुखी रूपमा हेरेका छौँ । त्यसलाई उद्यमको रूपमा विकास गर्ने उद्यमशीलताको सीप, बजारीकरणको सीप अनि गुणात्मक दृष्टिले उत्कृष्ट उत्पादन गर्न सकियो भने यसले नै हामीलाई अर्थिक रूपमा समृद्ध, राष्ट्रिय रूपमा स्वाभिमानी र अन्तर्राष्ट्रिय रूपमा सम्मानजनक स्थानमा पु¥याउँछ । यो काम गर्न र त्यसबाट उत्पादन गरेर आर्थिक आर्जन गर्न देशको अवस्थाले कसैलाई रोक्दैन ।

यी क्षेत्रका अतिरिक्त हामीसँग प्रकृतिक वनजङ्गल पनि छन्, आर्थिक रूपमा रोजगारी बढाउने । महाभारत पर्वत श्रृङ्खलाको पूर्वदेखि पश्चिमसम्म फलफूल खेतीको प्रचुर सम्भावना छ । वनजङ्गल विनाश पनि नहुने, मानिसले आर्थिक लाभ पनि लिन सक्ने थुप्रै सम्भावनाहरू छन् । चीन, जापान, नर्बे, डेनमार्क, फिनल्यान्ड, स्विटजरल्यान्ड, न्युजिल्यान्ड जस्ता देशहरूले पहाडी भूभागलाई ठूलो आर्थिक स्रोतको रूपमा उपयोग गर्न सकेका छन् । प्राकृतिक स्रोतको विनाश नगरी त्यसबाट उत्पादन लिनका लागि सामुदायिक वनहरूका सम्भावना भएका ठाउँमा फलफूल खेती लगाउनु अति नै आवश्यक छ । उदाहरणका लागि माहाभारत शृङ्खलामा फल्ने ओखर, कटुस, लालीगुराँस, रुखकटहर, भुइँकटर, हलुवावेद, नास्पाती, आरुबखडा, आरु, जामुनो आदि लगाउन सकिन्छ । यी बिरुवाहरू लगाउँदा ठाउँ हेरेर र आर्थिक सम्भाव्यता हेरेर प्रयोगको योजना बनाएर काम गर्न सकिन्छ । महाभारतको उत्तरतर्फ किवी जस्तो मूल्य धेरै प्राप्त हुने फलफूल लगाउन सकिन्छ । अति कम मिहिनेत पर्ने खेती हो यो । एक पटक हुर्काएपछि कैयौँ वर्षसम्म यसबाट उत्पादन लिन सकिन्छ ।

परम्परागत विचारलाई छोडेर जीवन र जगत् बदल्ने शक्ति, जोस र जाँगर मसँग छ भनेर सोच्ने हो भने हामी अवसरै अवसर देख्न सक्छौँ । त्यसो गर्न सकिएन भने आफूसँग समस्यैसमस्या र अरुसँग अवसरैअवसर देख्छौँ । मसँग काम गर्ने क्षमता, शक्ति र जोस छ, यसबाटै म अघि बढ्छु भनेर कुनै एउटा सानो क्षेत्र छानेर काम गर्न थाल्ने हो भने हरेक मानिसले आफ्नै अगाडि अवसर नै अवसर देख्छ । अवसर देख्न थालेपछि समस्याहरू आफैँ भाग्छन् । परिस्थिति आफैँ अनुकूल बन्दै जान्छ । प्रसंशा, सम्मान र पुरस्कार पनि पछि लाग्दै आउँछन् । समृद्धि त्यसरी नै अगाडि स्वागत गर्न तयार हुन्छ ।  

योग्य व्यक्तिलाई रोजगारीका सम्भावना जहाँसुकै छन् 
अहिले बजारमा ज्ञान, सीप, क्षमता र भावनाको तालमेल मिलेका जनशक्तिको ज्यादै ठूलो अभाव छ । तुरुन्ता–तुरुन्तै फाइदा खोज्ने, तुरुन्तै प्रशस्त पैसा आर्जन हुनुपर्ने, आफ्नो क्षमता, दक्षता र सेवाभावको फिटिक्कै विकास नगर्ने, आफू सक्षम र सीपयुक्त हुन नखोज्ने मानिसहरूको भीड मात्र छ । त्यो भीड मानवस्रोतको रूपमा विकास हुन सकेको छैन । मानिस, मानवस्रोत हुनका लागि उसँग व्यवहारोपयोगी सीप र सेवाको अनुकूल भावना आवश्यक हुन्छ । इमानदार र कर्तव्यनिष्ठ भावना पनि त्यतिकै जरुरी छ । त्यसको खडेरीमा सैद्धान्तिक ज्ञान मात्रले मानिस मानवस्रोतका रूपमा प्रयोग हुन सक्तैन ।

अहिले नेपाली बजारमा कम्प्युटर राम्ररी चलाउन सक्ने, अङ्ग्रेजी र नेपाली भाषामा टाइप गर्ने, त्यसलाई उपयुक्त आकार प्रकारमा डिजाइन गरेर आकर्षक रिपोर्टको रूप दिन सक्ने सीप र कर्तव्यनिष्ठ भावना भएको मानिस कोही बेरोजगार हुँदैन । इन्टरनेटको वेभसाइट डिजाइन गर्न सक्ने व्यक्ति त्यसप्रतिको लगाव र निष्ठा छ भने राम्रो कमाइ गर्न समर्थ छ,  उसले केही समय काम सिकेर विदेशमा समेत राम्रो काम पाउन सक्छ । त्यस्तो जनशक्तिले घरमै बसेर काम गरेर पनि राम्रो कमाइ गर्न सक्छ ।

जनशक्ति माग भएको अर्को क्षेत्र हो लेखाको क्षेत्र । बजारमा लेखापालको काम गर्न सक्ने मध्यमस्तरको जनशक्तिको ठूलो माग छ । शैक्षिक योग्यता र अनुभवले आफ्नो काम स्वतन्त्रतापूर्वक गर्न सक्ने लेखापालको जहाँसुकै माग छ । बजारमा खोज्यो भने शैक्षिक योग्यता भएका व्यवस्थापनका स्नातक त पाउन सकिन्छ, तर कामको सीप र निष्ठाको साह्रै अभाव छ । सिक्ने चाहनाभन्दा बहाना बढी छ । यदि उनीहरूले व्यावहारिक सीपयुक्त बनाउने र केही समय दुःख गर्ने हो भने काम पाउने सम्भावना निकै धेरै छ ।

त्यस्तै अर्को क्षेत्र छ, कृषि र पशुसम्बन्धी प्राविधिकहरूको । यस बिषयमा स्नातक तहको अध्ययन सकिनासाथ रोजगारीमा लाग्न सक्ने बजार छ आजभोलि ।

विकासे कार्यकर्ताहरूको माग पनि त्यत्तिकै छ । सामाजिक परिचालक, समूह उत्प्रेरक, परियोजना सहायक, परियोजना प्रमुख आदिका रूपमा ग्रामीण क्षेत्रमा सामाजिक विकासको काममा गैरसरकारी क्षेत्रमा रोजगारी विस्तारित भएको छ । यहाँ जनशक्तिको माग छ, तर बजारमा त्यसखाले जनशक्ति नै पाउन मुस्किल छ । योग्य व्यक्तिलाई यस क्षेत्रमा प्रशस्त रोजगारीका सम्भावना छन् भविष्यमा पनि । विदेशमा पनि यस्ता काम गर्नेहरुको माग बढ्दो छ ।

उत्पादनको बिक्री गर्ने सेल्सम्यानहरू बन्ने अर्को रोजगारीको क्षेत्र छ । इमानदार विक्रेता, बजार निर्माता, बिक्री प्रवद्र्धकको ठूलो माग छ बजारमा । हाम्रा स्नातकहरू यस्ता काममा कम आकर्षित हुन्छन् । दुःख गर्न, परिश्रम गर्न, ग्रामीण र असजिला ठाउँमा जान गाह्रो मान्छन् । यसरी गाह्रो मान्दा अवसर पनि देखिँदैनन्, त्यसका कठिनाइ मात्रै देखिन्छन् ।

बजारमा बजार प्रवद्र्धकको काम गर्ने जनशक्तिको माग संसारभर नै उच्च रहेको पाइन्छ । सर्वाधिक रोजगारीका क्षेत्रमध्येको एउटा हो बिक्री वा बजारीकरणको क्षेत्र । सामान बिक्रीको क्षमता र आफ्नो सीप बिक्रीको क्षमताको भावनात्मक पक्ष उस्तै नै हो । दुवै बिक्री नै हुन् । एउटा भावनाको बिक्री, अर्कोमा सामानको बिक्री । बिक्रीको योग्यता भएन भने प्रतिभा पनि बेच्न गाह्रो नै हुन्छ । ठाउँ र परिवेश अलि फरक हुन्छ दुवै बिक्रीमा ।

यी त भए रोजगारीका केही क्षेत्रहरू । अरू पनि क्षेत्रहरू हुन सक्छन् । जस्तै, न्याय प्रदान गर्ने वकालत सेवा, अडिटर सेवा, स्वास्थ्य सहायक, जनस्वास्थ्य कार्यकर्ता, होटल तथा रेस्टुरेन्टमा वेटर, कुक, रिसेप्सनिस्ट, हाउस किपर , क्लिनर, पाइप मिस्त्री, बिजुली मिस्त्री, इलेक्ट्रोनिक सामानको मिस्त्री, फर्निचर मिस्त्री, कम्प्युटर रिपेरिङ यस्ता केही क्षेत्रहरू छन् बजारमा । यी क्षेत्रमा काम गर्ने दक्षता भएका मानिसहरूको जहाँसुकै माग छ । यस्ता क्षेत्रमा स्वरोजगारका सम्भावना पनि छन् । कमाइ पनि राम्रो हुन्छ । तर, हामी के यस्ता क्षेत्रमा रोजगारीका समभावना छन् भनेर सोचिरहेका छौँ ? हाम्रो सोचाइ कतातिर गइरहेको छ ? त्यसले नै हामी तिनलाई अवसर वा अभिशापका रूपमा लिइरहेका छौँ ।

विदेश जाने धेरै विद्यार्थीको अवस्था दयनीय छ
एक पटक म जर्मनीको फ्र्याङ्कफर्ट भ्रमणमा गएको थिएँ । त्यहाँ मैले केही दिन बिताएँ । निकैजना नेपाली भाइबहिनीहरू भेटिए । एउटा भाइले फ्र्याङ्कफर्ट मेन रेल्वे स्टेसनको पूर्वपट्टि अलि टाढा एउटा होटल खोलेको रहेछ । हामी पनि नेपालीको होटल छ अरे भनेर बेलुकाको खाना खान त्यहाँ पुग्यौँ । केटाकेटीहरूको सन्ध्याकालीन भेटघाट हुने जमघट स्थल पनि रहेछ त्यो होटल । निकै जना भाइबहिनीहरू भेट भए । कोही विद्यार्थी थिए, कोही रोजगार गरेर बसिरहेका थिए । धेरैजसो चाहिँ काम गर्नेहरू थिए । केही विद्यार्थीहरू पनि कलेज सिध्याएर अवैध रूपमा बसोबास गरिरहेका पनि थिए, अनेक बहाना बनाएर ।
मैले विद्यार्थीहरूलाई सोधेँ, “के फरक छ, नेपाल र यहाँको शिक्षामा ?”

उनीहरूले जवाफ दिए, “यहाँ विद्यार्थी आफैँले अलि बढी मिहिनेत गरेर सिक्नुपर्छ, त्यसैले कलेज छाडेपछि विद्यार्थीहरू कामयोग्य र समर्थ हुन्छन् । यहाँ शिक्षकहरू जानकार हुन्छन्, कम पढाउँछन्, सिक्न प्रेरित गर्र्दछन् । हामीकहाँ शिक्षकले विद्यार्थीलाई सिक्न प्रेरित गर्नुभन्दा आफूले जानेको बताउने काम गर्छन् । त्यसैले विद्यार्थीले सिक्नेभन्दा रट्ने काममा ध्यान दिन्छन् । पढाइने विषय भने एउटै हो । तर, के गर्नु अङ्कल, अहिले त विदेश जाने फेसन नै भइसक्यो । म बाबुआमाकै कारणले करकापले यहाँ आएँ, कमाएर मुस्किलले खान र फी तिर्न पु¥याउँछौँ । पहलो पटक यहाँ आउँदा लागेको पैसा त युरोपियनहरूलाई बुझाउनु मात्रै हो । फिर्ता गर्न सकिँदैन ।”

नेपालीहरूले मिहिनेत गरेर कमाएको त्यति रकम विदेशमा छोराछोरी पढाएको देखाउन खर्च भइरहेको छ । बेलायत, जापान आदि देशमा आफ्ना छोराछोरीहरू गाउँमा ऋण खोजेका पैसाले पढाउने काम भइरहेको छ । के भाषा पढ्न जापान जानु आवश्यक छ, वर्षको १२÷१५ लाख खर्च गरेर ? त्यो पैसा विद्यार्थीहरूले कमाएर फर्काउने सम्भावना त छँदै छैन । तर पनि, परिवारको कुनै न कुनै सदस्य विदेशमा छ भनेर मख्ख परिरहेका छौँ हामी । त्यसले जनशक्तिको उर्वर समय पनि खेर गइरहेको छ, देशको प्रगति पनि अवरुद्ध हुँदै छ । विदेश जाने भनेको केही सिक्न, केही कमाउन अनि केही सिकेर देशमा आएर नयाँ काम गर्न नै हुनुपर्छ । तर, हामी त्यो गर्न सकिरहेका छैनौँ ।

विदेशीको सेवा गरेर देश कहिल्यै सम्पन्न हुँदैन । देश सम्पन्न नभई नागरिक सम्पन्न हुनुको कुनै अर्थ छैन । देश प्रतिष्ठित र समृद्ध भयो भने मात्र नागरिकको पनि सम्मान बढ्छ संसारमा । गरिब देशका धनी नागरिक भएर विदेश छिर्नुहोस्, हैसियत प्रकट भइहाल्छ, एअरपोर्टको पासपोर्ट चेकिङमा नै ।

त्यसैले अवसर देख्न सक्नुपर्छ खोज्न टाढा जानु पर्दैन । आफ्नै देशमा भएका सम्भावना विकास गर्न सकेकाले नै आज स्वीटजरल्याण्ड जस्तो सानो र अत्यन्तै कम स्रोत साधन भएको देश संसार प्रसिद्ध भएको छ । सिंगापुर हाम्रो राजधानी काठमाडौँ जत्रो मात्रै छ तर संसारका ठूला आर्थिक अवस्था भएको देशमा पर्छ । दक्षिण कोरिया त्यति सानो मुलुक र श्रोत साधनमा हाम्रो देशभन्दा कमजोर भएर पनि संसारकै समृद्ध देश बनिसक्यो । के हामी अरुका अवसर देखेर त्यसको पछि लागेर विकसित हुन सक्छौँ त ? अवसर त त्यसै आउँदैन, देख्न सक्ने आँखा र प्रयोग गर्न सक्ने जाँगर विकसित गर्न आवश्यक छ ।