Tuesday, April 25, 2017

कर्णाली, हिमचुली सहकारी र नेतृत्व–कला

कर्णाली यात्राः रोमाञ्चक अनुभव

काठमाडौँ र अरु सुविधा सम्पन्न शहरहरुमा बस्नेहरुका लागि कर्णाली
भन्नसाथ आदिम सभ्यता र दुर्गमको बुहार्तनझैँ लाग्ने गर्छ । आवतजावतका लागि सवारी भाडा र खाने खर्चको हिसाब गर्दा ठूलै रकम खर्चका लागि छुट्याएर हवाइ टिकटको लाममा बस्नुपर्ने अवस्था थियो केही वर्षअघिसम्म । अहिले अवस्था केही परिवर्तन भएको छ । कर्णाली र काठमाडौँ सडक आवागमन र संचारले नजिक्याइदिएको छ । हवाइजहाजको मात्रै भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ कर्णाली राजमार्ग सञ्चालनमा आएपछि ।

निकै वर्षअघि हवाइजहाज चढेर जुम्ला पुग्दा कर्णालीप्रतिको मेरो सोचाइ उल्टिएको थियो त्यहाँका अवसर र सुविधाको पहुँच देखेर । जुम्ला बसुन्जेल मैले किन यो ठाउँलाई दन्त्यकथाको कुनै अदृश्य ठाउँझैँ बनाएर कथा र कहानीमा गुँथिएको होला भनेर धेरै पटक गम खाएको थिएँ । जल, जडिबुटी र जमिनको प्राकृतिक सुन्दरताको त्यो स्वर्णभूमि कर्णालीको स्पर्श गर्दा मन विश्मय र रोमाञ्चले भरिएको थियो । मन फुरुङ्ग भएको थियो त्यस ठाउँको जीवन र भूभाग दुवै देख्न, भोग्न र हेर्न पाउँदा । कुनै विदेशी दातृ निकायको विशेषज्ञ बनेर पुगेको थिएँ म जुम्लाकै विकट मानिने पातमारा भन्ने ठाउँमा । 

यस पटक पनि विशेषज्ञको रुपमा राष्ट्रिय योजना आयोगको एक अध्ययनको सिलसिलामा फेरि कर्णाली घुम्ने, बुझ्ने र अध्ययन गर्ने सौभाग्य मिल्यो यही वर्षको शुरुमा । निहुँ थियो सरकारले सहकारी संस्थाहरुलाई बाँडेको अनुदान कार्यक्रमको प्रभावकारिता र उपयोगबारे अध्ययन गर्ने ।

जेठको अन्त्यतिर भएकाले पानी पर्न थालिसकेको थियो । पानी कम पर्ने ठाउँमा थोरै वर्ष भए पनि पहिरोको जाखिम हुने भएकाले हाम्रो टोली काठमाडौँबाट आफ्नै गाडी लिएर कर्णालीसम्मको यात्रामा निस्केको थियो । सुर्खेतबाट मान्म पुग्न सार्वजनिक सवारी साधन मनग्गे नै थिए । साना ठूला सवारी साधन प्रशस्तै चल्दा रहेछन् । सुर्खेतबाट मान्म जाने दुइटा बाटा रहेछन् । निकै वर्षसम्म राजनीतिक खिँचातानीमा अल्झेर बल्लतल्ल सार्थकता पाएको कर्णाली राजमार्ग टुनिबजार पुगेपछि दुवैबाटाहरु एकैभएर अघि बढ्दा रहेछन् । त्यसपछिको बाटो अलि फरक थियो । तल बग्ने कर्णालीको तिरैतिर वारिपारि अग्ला डाँडाले भनिरहेका थिए, दुर्गम नभएको भए सुगमको मजा कहाँ ? दुःखै नदेखे सुखको आनन्द कहाँ ? दुर्लङ्घ्य बनेर उभिएका हामी जस्ता चुचुराले दिने अवसर खोइ चिन्न सकेको तिमीहरुले ? यी खोचहरुमा गहिरा र ठूला ड्याम बनाएर हजारौँ मेगावाट बिजुलीको सम्भावना देखेको भए कर्णालीले यो गरिबी देखिरहनु पथ्र्यो र ? अनुत्तरित प्रश्न गरिरहेका थिए कर्णालीका अग्ला पहाड, निर्जन खोँच र शक्तिशाली नदीहरुले । देशको अपार सम्पदा खेर फालेर गरिबीमा रमाउँदै छौँ हामी गरिबीको भारी बोकेर । कर्णालीको तिरैतिर यात्रा गर्दा यसरी नै घोचिरहे ती अग्ला पहाड, खोँच र नदीहरुले ।
  
हाम्रो टोली जतिजति अघि बढ्दै भयो त्यतित्यति कोमल धरती देखिँदै गयो । भूभागको अवस्था अत्यन्त कमलो । अलिकति पानी परेपनि खुलुलुलु बगेर तलतिर खसिहाल्ने । बाटो बन्द भइहाल्ने पहिरो खसेर । टोपी खस्नेगरी आँखा आकासतिर फर्काएर हेर्दा पनि टुप्पो नदेखिने सुख्खा पहाड चारैतिर । पहाडको फेदीमा सर्पझैँ लमतन्न तेर्सिएको कर्णाली राजमार्ग । सडकको आसपासमा ससाना बस्ती जस्ता लाग्ने गाउँहरु देखिन्थे घरीघरी । यहाँ बस्नेहरुको जीविकोपार्जन चाहिँ के हुँदो हो ? सबैका मनमा जिज्ञाशा थिए । सडकको छेउमा झुप्राहरु देखिन्थे घरीघरी । सानोतिनो होटलको स्वरुप ठान्थ्यौँ हामी त्यसलाई ।  मानिसको बसाइ र जीविकोपार्जनबारे अनेक जिज्ञाशाका पहाड चुलिएका थिए सबैका मनभित्र । 

बेलुकी साँझ पर्नेबेला दैलेखको खोली बजार पुग्दानपुग्दै बसहरु बासबस्ने तरखरमा थिए । सुरक्षाकर्मीहरुले गाडीको ब्लुबुक लिने र बिहानै सवारीधनीलाई फिर्ता गर्ने चलन रहेछ । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको क्षेत्रमा रात परेपछि सवारी चलाउन रोक लगाइएको र त्यसको लागि सवारी अनुमति पत्र लिनुपरेको बताउँदै थिए सुरक्षाकर्मीहरु । सुरक्षाको लागि सतर्कता ठीकै भए पनि उनीहरुको व्यवहार भने अलि बिझाउने खालको थियो । नयाँ यात्रुका लागि यसले दिने प्रभावतर्फ उनीहरुको कुनै वास्ता थिएन ।
हामी बास बस्ने होटलको खोजीमा लाग्यौँ । प्रतिव्यक्ति रु. २०० तिरेपछि बास बस्ने सुविधा थियो सडकछेउका होटलहरुमा । सुविधा र सरसफाइ पैसाको दरभाउअनुसारकै थियो । जेनतेन रात काट्न मिल्ने त्यतिको ठाउँ पाउँदा पनि हामी भने आफूलाई धन्य ठान्दै थियौँ । 

भोलिपल्टको हाम्रो गन्तव्य थियो कालिकोट जिल्लाको मान्म बजार । खोली बजारबाट बिहान छ बजे हाम्रो टोली मान्मका लागि हिँड्यो । अलिपर पुगेपछि कर्णालीको तिरमा अकल्पनीय ढुंगाको पहरो फोरेर बनाइएको ‘ओडारे सडक’ सुरु भयो, हेर्दै आँङ सिरिङ्ग हुने । तल कर्णाली सुसाएर बगेको देखिन्छ करिब २०० मिटरभन्दा बढी गहिरो खोँचमा । सडक बनाउँनका लागि खोपिएको ढुंगो माथिबाट सडक नै ढाकेर बसिरहेकै छ, मानौ त्यो ओडार सडक हो त्यस भेगको । मुस्किलले कहीकहीँ दोहोरो गाडी पास हुने सडक भए पनि अधिकांश भागमा भने दोहोरो सवारी साधन गुड्ने अवस्था छैन ।

यस्तो अनकन्टरमा सडक बनाउने ती परिश्रमी हातहरु नेपाली सेनाका वीर जवानहरुका थिए भन्ने सुन्दा मेरो शिर उनीहरुप्रति असीम श्रद्धाले भरिएको थियो । ती अनकन्टर ठाउँमा कडा पहिरो काटिरहेका परिश्रमी जवानहरुले ‘श्रमको सम्मान गर्छौं’ भनेर नथाक्नेहरुले नै पहरो फोरेर राति सुतिरहेको समयमा करिब आधा सय जवानहरुको हत्या गरेको घटना सम्झँदा क्रान्ति र परिवर्तनको राजनीति गर्नेहरुलाई भन्न मिल्ने शब्दको अभाव खट्केको थियो मलाई । मनमनै घृणा र आक्रोसको ज्वालामा दन्किएको थिएँ म । राजनीतिको नाममा निहत्था मानिसहरुको हत्या गर्नेहरुको क्रान्तिकारिताप्रति बारम्बार प्रश्न गर्न मन लागेको थियो । यस्तो अनकन्टर ठाउँमा बाटो बनाएर जनताको सेवा गर्ने सेनाका जवानहरुको के अपराध थियो र उनीहरुको हत्या गरियो ? एकपटक ती क्रान्तिकारीहरुलाई यस्तो अनकन्टर पहरो फुटाउन लगाउन पाए शायद उनीहरुको मनमा पनि आफ्नो त्यो कायर कार्यप्रति पश्चाताप हुने थियो कि ! हेर्न मन लागेको थियो मलाई । मनै अमिलो बनाउँदै अकालमा अनि अकारण ज्यान गुमाएकाहरु सम्झँदा अश्रुसिक्त भएका थिए मेरा दुवै आँखा ।  
   
हुल्म बजार नाधेपछि हाम्रो जम्काभेट भयो बसहरुसँग । लाम लागेर सडकमा पार्किङ गरिएका बसहरु हेर्दा कुनै बसपार्क झैँ लाग्थ्यो । सडकको भित्तातिर चेपेर होओस् वा एउटा चक्का सडककिनारबाट अलिकति खसालेर होस् गाडी पार्किङ गरेर ढुक्क साथ खाजा खाँदै थिए चालकगण । हाम्रो गाडी नछिर्नेजस्तो लागेर जब चालकले साइडको माग गरे बस चालकले एक फिट जग्गा खालि छ अलि चेप्नुस् भन्दा मेरो आङ सिरिङ्ग नभइरहेन कर्णालीतिर खसिने पो हो कि भन्ने भयले । 

ठाउँठाउँमा मोटरसाइकलका अस्थिपञ्जर सडकछेउमा टाँगेर दुर्घटनाको खतरा औल्याएको दृश्य साँच्चिकै सम्झनलायक थियो । दुर्घटनाको भयानक दृश्य झल्काउने कर्णाली राजमार्ग किनाराको त्यो दृश्यले त्यहाँ हुने दुर्घटनाको भयानकता दर्शाउँथ्यो ।  

तिला र कर्णालीको दोभाननजिकै बनाइएको पुल पार गरेर हाम्रो गाडी ठाडै उकालो लाग्यो डाँडातिर । डाँडाको थुम्कोमा देखियो सानो बजार । हेर्दा नजिकै देखिए पनि घुम्ती र उकालो काट्न निकै समय खर्चनु प¥यो । जसोतसो पुगियो मान्म बजार । कर्णालीको अपेक्षाकृत सुगमझैँ लाग्ने जिल्ला भए पनि सदरमुकामबाट दुई दिनसम्म हिँडेर पुग्नुपर्ने गाउँहरुमा सरकारी सेवा र विकासको अवस्था दुइ सय वर्षअघिकै अवस्थामा थियो । हाम्रो उद्देश्य कर्णाली जस्तो दुर्गममा साना अनुदानबाट सहकारीहरुले के गरिहेका छन् ? तिनको सदुपयोगको अवस्था कस्तो छ भन्नेबारे अध्ययन गर्नु रहेको थियो । हाम्रो अध्ययनको छनोटमा परेको थियो मान्म बजारस्थित हिमचुली कृषि सहकारी संस्था ।

नाम जस्तै काम

गाउँमा ससाना बचत समूहमा संगठित भएर बचत गर्ने बानी परेका अनौपचारिक समूहलाई संगठित गरेर करिब ५ वर्षअघि गठन गरिएको कृषि सहकारी रहेछ हिमचुली । सुरुआतमै १७०० सदस्य लिएर दर्ता भएको हिमचुली हाल आएर कालिकोटका ३० वटै गा.वि.स.मा फैलिएको र ६५०० सदस्यमाझ पुगिसकेको रहेछ । कृषि, पशुपालन, लघुवित्त, दूग्ध व्यवसाय गरी आफ्नो कार्यक्षेत्रलाई व्यापकता दिँदै क्रमिक विस्तारमा अघि बढिरहेको यो संस्थाले छोटै समयमा कर्णालीको एउटा सक्षम संस्थाको रुपमा आफूलाई उभ्याइसकेको छ । हाल १६ वटा गा.वि.स.मा लघुवित्त कार्यक्रम संचालित छ भने ५ वटा सेवा केन्द्र मार्फत् ६५०० सदस्यबीच संस्थाले कार्य सञ्चालन गरिरहेको छ । 

कसरी सम्भव भयो यस्तो दुर्गममा यति व्यापक विस्तार ?

हामीलाई हिमचुलीमा स्वागत गर्ने व्यक्ति हुनुहुन्थ्यो व्यवस्थापक तथा अध्यक्ष श्री भीम प्रसाद बराल । अनुभवले आधा शताब्दी कटाउनै लाग्नुभएका बराल शिक्षक पेशा छोडेर सहकारीतामा प्रवेश गर्नुभएको रहेछ । स्थानीय स्तरमा आफूले दिनसक्ने योगदान समाजलाई दिने उद्देश्यका साथ शिक्षक पेशा छाडेर सहकारीमा पूर्ण समय दिने निर्णय गर्नुभएको रहेछ उहाँले । स्थानीय जनताको जीवनस्तर र बजारको मागलाई ध्यानमा राखेर संस्था स्थापनापछि बढीभन्दा बढी मानिसलाई समेटेर सहकारीताको प्रसार गर्ने योजना बनाएछ नेतृत्वले । त्यसको पहल गर्नुभयो बरालजीले । स्थानीय रुपमा दूधको माग निकै देखेपछि संस्था स्वयम्ले एउटा गाईफार्म सञ्चालन गर्ने, लघुवित्त मार्फत् वित्तीय सेवा प्रदान गर्ने, एउटा डेरी उद्योग सञ्चालन गरी जुम्लासम्म दूध आपूर्ति गर्ने, पशुपालनलाई क्रमशः सुधार गर्दै जाने अनि एक घर एक सदस्य अभियान चलाउने आदिजस्ता महत्वाकांक्षी योजना बनाउनुभयो सञ्चालकहरुले । 

छुवाछुतले जरो गाडेको समाज भएकाले दलितहरुको दूध बिक्री हुँदैनथ्यो स्थानीय बजारमा । त्यसमा पनि गाईको दूध त बिक्री हुन झन् मुस्किल । उहाँहरुले डेरी फर्म पनि सञ्चालन गर्ने र गाई फार्म पनि सुरु गर्ने योनासाथ २०६७ सालमा डेरी सञ्चालनको योजना बनाउनुभयो । पशु विकास कार्यालय र कृषि कार्यालयले भरमग्दुर सहयोग गर्यो । मेशीन मगाइयो, डेरी खोलियो, गाई फार्म सञ्चालनमा ल्याइयो । बराल भन्नुहुन्छ– ‘करिब ६ महिना त सञ्चालकहरु पनि डोको बोकेर घाँस काट्ने र गाइको गोबर सफा गर्ने र हेरचाह गर्ने काम पनि गरियो । स्थानीय मानिसलाई गाई हेरचाहका लागि रोजगारी दिने प्रयास गर्दा पनि कोही गाईपालक कर्मचारी बन्न तयार भएनन् । जग्गा लिजमा लिएर उन्नत घाँस लगाइयो । यति काम गर्दा पनि जर्सी गाईको लागि मान्म बजारको वातावरण त्यति उपयुक्त ठहरिएन । दुई वर्षं पुग्दानपुग्दै गाईहरु रोगाउन थाले । गर्भिणी भएनन् । आखिर गाईफार्म असफल भयो । बिजुली निकाल्ने बाँध बाढीले बगाएपछि डेरी फर्म पनि बन्द भयो । स्थानीय रुपमा संकलित दूधलाई तताएर प्याकिङ गरेर बेच्ने काम भने हालसम्म चलेको भए पनि ठूलो असफलता व्यहोर्नु प¥यो संस्थाले ।’ 

यसरी असफलता बेहोरेपछि हिमचुली आजका दिनमा गाइपालन भन्दा बाख्रा र भेडा पालनमा स्थानीय कृषहरुलाई सहयोग गर्दै छ । लघुवित्त कार्यक्रम अन्तर्गत हाल आएर पशुमा बाख्रा र भेडा अनि दुग्धका लागि भैंसी पालनलाई प्रोत्साहित गरेको छ । हाल संस्थामा पूर्णकालीन करिब २० कर्मचारी छन् । पाँचवटा सेवा केन्द्र छन् अनि करिब ८ करोडभन्दा माथिको आर्थिक कारोवार छ । 

‘नेतृत्वकर्ताले असफलताबाट निराशा होइन शिक्षा लिनुपर्दो रहेछ’ बराल भन्नुहुन्छ– ‘हामीले विकल्प नदेखेर गाईपालन र डेरी असफल भयो भनेर टाउकोमा हात लगाएर बसेको भए अहिले हाम्रा सदस्यहरु ६५०० हुने थिएनन् । नेतृत्वकर्ता भनेको नै विकल्प देख्न सक्ने अनि असफलताबाट सिकेर अघि बढ्ने रहेछ । हामी अहिले त्यही गरिहेका छौँ ।’

हुन पनि बराल सरको कुरा सही नै हो । अहिले मान्मको कृषि सहकारीको नाम लिँदा सबैले हिमचुली सम्झँदा रहेछन् अनि लघुवित्तको अग्रणी संस्था कुन हो भनेर सोध्दा पनि सबैको मुखमा झ्वाट्ट आउने नाम बनेको छ हिमचुली, कालिकोट जिल्लामा । हिमचुली हिमाल जस्तै चुलिइरहोस् हाम्रो पनि शुभकामना ।

  

No comments:

Post a Comment