Thursday, April 27, 2017

प्रकृति, पर्यटन र पत्तीको इलाम

इलाम र सिलाम
म सानो हुँदा अग्रजहरुले भनेको सुन्थेँ, ‘सिलाम खाने भए इलाम जानू ।’ इलाम र सिलामको के सम्बन्ध थियो मलाई त्यतिबेला थाहा भएन । म सोच्थेँ, इलाममा प्रसस्त सिलाम पाइने भएकाले शायद त्यसो भनेका होलान् । 

म सिन्धुलीको पहाडी भागमा जन्मेहुर्केको । गाउँघरका रुखा बारीमा सिलाम फल्थ्यो । पाकेर सुकेका गेडा काँचै खाँदा पनि हुन्थ्यो । भुटेर अमिलो र नून मिलाएर अचारको रुपमा खाने चलन पनि थियो । काँचो चालम र दहीसँगै सिलाम लिाएर खाने चलन पनि थियो नयाँ धानको न्वागीसँगै । अरु फाइदाका बारेमा भने थाहा थिएन । अहिले पनि मलाई हल्का भुटेको सिलाम असाध्यै मन पर्छ ।
............
म २०१० मा थाइल्याण्ड घुम्न जाँदा बौद्ध भिक्षुहरुको एउटा उपचार केन्द्रमा भ्रमण गर्ने र त्यहाँको उपचार विधि बुझ्ने अवसर मिल्यो । त्यहाँको उपचार पद्धती विचित्रको थियो । जुनसुकै रोग भए पनि एउटै उपचार गर्थे उनीहरु । सुरुका तीन दिन उपवास राखेर दिउँसो र बेलुका काँचो नरिवलको पानी खान दिइन्थ्यो । दिउँसो एक पटक सिलामको पातलो झोल र रातो चामलको माड खान दिइन्थ्यो । तेस्रो दिन बेलुका २५० ग्राम ओलिभ आयल अनि पाँचवटा कागतीको रस मिलाएर खान दिइन्थ्यो । चौथो दिन शरीरभित्रको आन्द्रामा लुकेर रहेको सबै मल सफा हुन्थ्यो । उपचारकले सबैलाई एकेकवटा बाल्टिन दिएका हुन्थे । सबैले आफ्नो शरीरबाट निस्केको मलमूत्र बाल्टिनमा लिएर लाम लाग्नुपथ्र्याे । त्यो हेरेपछि उपचारकले कसको के रोग लागेको अनि के औषधि खाने, खानेकुरा के खाने भनेर ठम्याउँथ्यो र उपचार बताउँथ्यो । बैंककको सुविधासम्पन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामी पनि त्यहाँबाट निको भएका प्रशस्त उदाहरण थिए उनीहरुसँग । 

शायद मैले बाल्यकालमा सुनेको सिलामको उपचार विधि ती अग्रजहरुले पनि थाहा पाएका थिए कि ! मलाई इलाम गएर सिलाम खानू भन्ने पाका मानिसले संसार छाडिसके, नत्र म उनीहरुलाई यसबारे सोध्ने थिएँ । यस पटक इलाम पुगेपछि ती पाका मानिसको सम्झना भइरह्यो बारम्बार । आखिर किन इलाम र सिलामलाई दाँजे त उनीहरुले ? प्रश्नले घोचिरह्यो मलाई । अनुमान गरेँ सिलाम सुख्खा र रुखो ठाउँमा हुने बाली हो शायद इलामको रुखा डाँडापाखामा सहजै फल्ने भएकाले प्रशस्त सिलाम फल्दो हो र त्यसबाट शरीरका रोग पनि भाग्ने भएकाले बूढापाकाहरुले सिलाम र इलाम अनुप्रास मिलाएर भनेका होलान् भन्ने लाग्यो ।
.......
२०७४ सालको सुरु, बैशाख ३ गते बिहान, म चर्चित लेखक तथा पत्रकार मित्र आश्विनी कोइरालाको निकैपटकको घच्घच्याइपछि इलाम घुम्न निस्किएँ । निकै वर्षअघि इलाम गएकाले पछिल्ला दिनमा इलाममा आएको परिवर्तन हेर्ने र बुझ्ने अझ चियाको विकाससँग एकाकार हुने चाहनाले मलाई आश्वीनीजीको अनुरोध स्वीकार्न बाध्य पारेको थियो । इलामकै रैथाने मित्र नरेन्द्रकुमार गुरुङको आतिथ्य पाउने भएपछि म फुरुङ्ग हुँदै इलामतिर तानिएको थिएँ । इलाम घुम्ने, इलाम बुझ्ने अनि इलामका सम्भावनासँग एकाकार हुने । मेरो लक्ष्य यही थियो यसपटकको इलाम भ्रमणको ।

हुनतः म यसअघि पनि इलाम त गएको थिएँ तर त्यहाँ घुम्ने, रमाउने, केही बुझ्ने भन्दा पनि एउटा कामको सन्दर्भमा केही दिन बिताएर फर्केको थिएँ । घुमाइ र अध्ययनको चाख पनि थिएन त्यतिबेला । यस पटक भने मेरो चासो थियो इलामको विकास प्रयास, त्यहाँको प्राकृतिक सुन्दरता, पर्यटन अनि चिया ।

दुई वर्षअघि चीनको फुजियान, जियाङ्सी र ग्वाङदोङ प्रान्तको चिया खेती र प्रविधि हेरेर फर्केपछि मलाई इलामको चियाले तानिरहेको थियो । तर मौका नमिली कहाँ पाइन्छ र अवसर ! म आजआज, भोलिभोलि भन्दै रोकिएको थिएँ । तर यसपाली भने नरेन्द्रजी र आश्वीनीको अनुरोध र मेरो इच्छाको त्रिवेणी मिल्यो । 
 ‘क्लिन इलाम, ग्रिन इलाम’
झापा कटेर इलाम लाग्नासाथ सडकछेमा अड्याएर राखिएको बसको पछाडि लेखिएका शब्दले मलाई आकर्षित गरे । बसमा लेखिएको थियो ‘क्लिन इलाम, ग्रिन इलाम’ । मैले सम्झेँ छिमेकी भारतीय राज्य सिक्किमको सिको गरेका होलान् बसवालाहरुले, ‘क्लिन सिक्किम, ग्रिन सिक्किम’ भनेझैँ । तर मेरो मनमा भने अलि अनौठो अनुभूति हुँदै गयो उकालो लागेसँगै । मलाई लाग्न थाल्यो के साँच्चै त्यो बसका शब्द जस्तै हुँदै त छैन इलाम ? हेर्ने दृष्टि जस्तो छ त्यस्तै त हुँदो रहेछ नि दृश्य पनि । यस पटक मेरो दृष्टि खोजमूलक थियो मेरो हेर्ने दृष्टि भिन्न थियो । चारैतिर हरियाली, प्रकृतिको सुन्दर मुहार, पौरखी मानिस अनि प्रकृतिसँग सुहाउने जे उत्पादन हो त्यसैबाट आम्दानी । मैले इलामलाई यस पटक यसैगरी बुझ्ने प्रयास गरेँ । 

व्यक्तिगत आयस्तरको हिसाबले इलाम नेपालको सबैभन्दा धनी जिल्ला । इलामलाई के ले यति धनी बनायो ? अनुभवीहरु यसको उत्तरमा भन्छन्– इलामलाई अम्रिसो, अदुवा, अलैँची, ओलन (दूध), आलु र इस्किुसले धनी बनायो । तर अहिले अलि फरक भएको छ अवस्था । अब इलाममा अलैँची करिबकरिब लोप भएको अवस्थामा छ । अम्रिसो, अदुवा, दूध, आलु र इस्कुस भने अझै आर्थिक आर्जनलाई टेवा पु¥याइरहेका छन् । तर अब इलाम नयाँ श्रोतका साथ अघि बढिरहेको छ, प्रकृति, पर्यटन, पत्ती (चियापत्ती) र पशुका साथ सहकारी ।
प्रकृतिको वरदान
फिक्कलको चिसो हावा माइक्रोबसको झ्यालबाट मेरो गालामा म्वाइँ खान आएसँगै विर्तामोडबाट मसँगै साथ लागेको गर्मी सुइँकुच्चा ठोक्यो । म हल्का र तरोताजा भएँ । भर्खरको उत्ताउलो गर्मी कन्यामको चियावारीसँगै गायव ! कस्तो विविधता इलामको ! करिब एक घण्टाको दूरीमै यति फरक प्रकृति । कहाँ विर्तामोड र चारआलीको त्यो गर्मी कहाँ फिक्कल देख्नासाथ ज्याकेट खोजौँखोजौँ लाग्ने शितलता । काठमाडौँदेखि फिक्कलसम्मको करिब १० घण्टाको यात्राको थकाइ क्षणभरमै गायव भयो अनि म चारैतिरका हरिया डाँडामा हार मिलाएर हाँसिरहेका चियाका बोटका ती कलिला पालुवासँगै मुस्कुराउन थालेँ र भन्न थालेँ, वाह क्या गजव छ ग्रिन इलाम ! 

गर्मीले रापिएर हायलकायल भएका युवा तन्नेरीहरु चिसो हावामा मोटरसाइकलमा हुँइकिएर एक घण्टाभन्दा कम समयमा शितल चियाबारीमा लुकामारी खेल्न पुगेका थिए । हिँड्न सक्नेहरु हिँडेरै दृश्यावलोकन गर्दै थिए्, हिँड्न नसक्नेहरु घोडामा चढेर शयर गर्दै थिए । सुविधाले भरिँदै गएको छ फिक्कलको पर्यटन व्यवसाय । म फिक्कलको कन्याम पुग्दा युवतीहरु फोटो खिच्न चियावारीका बोटमा झुक्दै र अंकमाल गर्दै थिए, कोही भने वरिपरिका हरिया पहाडसँगै अचम्मित भएर आफ्नो सबैभन्दा महँगो चाहिँ क्यामेरा निकालेर जुम गर्दै थिए त्यो दृश्य क्यामेरामा कैद गर्न । वाह प्रकृति ! अनि सँगै जोडिएको त्यो विकास पस्कने इलाम । जति प्रशंसा गरे पनि कमै हुन्छ इलामलाई । म फिक्कल पुगेसँगै दङ्ग हुन्छु ।
फेरिँदै छ परिचय
केही वर्षअघिसम्मको परिचय फेर्न कम्मर कसेर लागेको छ इलाम । प्रशस्त वर्षा, ओसिलो जमिन , ठिक्क उचाइका पहाड, प्रचुर मात्रामा पानीको श्रोत अनि रमाइला पर्यटकीय स्थलले इलामलाई विकासका नयाँ सम्भावनातिर तानिरहेको छ ।  चियाखेतीको विस्तारसँगै यसको प्रविधि फेरेर आम्दानी र ख्याति बढाउन कम्म्र कसेर लागेका छन् किसान र उद्यमी । पर्यटकका लागि नयाँ गन्तव्यहरु विकास गरिँदै छ । सूर्योदयको दृश्यावलोकन गर्न अन्तुपछि सन्दकपुरलाई विकास गरिँदै छ । माइपोखरीलाई पर्यटकीइ आकर्षणसँगै बस्नेखाने सुविधा विस्तार गर्दैछन् व्यवसायीहरु । अबको इलाम प्रकृति, पर्यटन र पत्तीको इलाम बन्ने सम्भावना बोकेर अघि बढ्दै छ । 

प्रविधि, पर्यावरण र पौरखको त्रिवेणी इलामले मलाई घ्वापल्याक्क अँगालो मा¥यो इलाम बजार पुगेपछि । मित्र नरेन्द्रजीको आतिथ्य अनि उहाँका असी काटिसक्नुभएका पिताजीका पुराना विकासे अनुभव । सुन्दासुन्दै तीन दिन हराएँ म । प्रकृतिको काखमा गुन्जने न्याहुलीको मीठो स्वरसँगै, धूपी र चियाको वासनासँगै, पहाडी घाँसको पोषण पाएका इलामे गाईको दूधबाट बनेका छुर्पी, कुराउनी र ललिपपसँगै मेरो इलाम बसाइको घडी घुमिरह्यो उकालीओराली गर्दै । 

बिहानै चियावारी घुम्न निस्कन्छु, इलाम बाहिरबाट घुम्न गएकाहरु कोही चिया पर्यटनमा रमाउँदै डोको बोकेर चिया टिप्तै छन् त कोही माइपोखरी र सन्दकपुरको ट्रेकिङमा ह्याभरस्याकको भारी बोकेर असिनपसिन हुँदै प्राकृतिक सुन्दरता पान गर्दैछन् एकल वा समूहमा । कोही भने ‘भोलि त अन्तु पनि जानुपर्छ है’ भन्दै अन्तुडाँडाबाट बिहानी सूर्योदयको दृश्यपानमा रमाउन योजना बनाउँदै छन् । हेर्दै आनन्द लाग्ने मानिस, पर्यावरण र विकासको त्रिवेणी बन्दै गरेको त्यो इलाम देख्ता । 

माइपोखरीको जैविक र प्राकृतिक विविधता, नेपालटार र रक्सेका चिया बगान, पुवाखोलाको चिसो पानी र इलामेली ललिपप, छुर्पी र अर्थोडक्स चियाको स्वादसँगै मैले इलामको न्यानो आतिथ्यका तीन दिन बिताएँ । ती सबैले मलाई मोहनी लगाए यसपाली । अब मलाई लागिरहेको छ, इलाम यो देशको जीवन्त उदाहरण हो विकासको, प्राकृतिक वातावरण संरक्षण र भूगोल सुहाउँदो विकासको ।
छटपटीमा चिया क्षेत्र
विकासको स्वभाव हो नयाँपनको खोजी । इलाम र चिया पर्यायवाची नै हुन् । चिया भन्नासाथ हाम्रो मनमा आउँछ बिहानै गृहिणीहरुले उमाल्ने दूधसहितको गुलियो पानी अनि अलिकति कालो रंगको अलिअलि वासनादार धूलो मिलाएको पेय पदार्थ । घरमा बिहानै तलतल मेटाउन होओस् वा आतिथ्य सत्कार हामी चियाको नाम लिन्छौँ । त्यो उत्पादन गर्ने नेपालको भूभाग हो, इलाम । 

मेरो यस पटकको चासोको बिषय पनि थियो चिया उत्पादन, त्यसमा प्रयोग भइरहेको प्रविधि अनि किसानको तहमा त्यसको उत्पादन प्रणालीप्रतिको सचेतता । सहकारीमार्फत् चिया उत्पादन सुरु भएको केही वर्ष भइसकेको र त्यसले उद्योगी र किसान दुवैको ध्यान तानिरहेको अवस्थामा मेरो चासो थियो कृषकहरुमा प्रविधिप्रतिको सचेतता । यसै क्रममा भेट भए इलाम बरबोटेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष मोहन आचार्य । करिब सयको हाराहारीमा सदस्य रहेको यस संस्थाका कृषहरुबाट करिब ३ लाख केजी हरियो पत्ती चिया प्रशोधक कारखानालाई बेच्ने गरिँदो रहेछ । गुराँसे चिया उद्योगले हरियो पत्ती खरिद गरेर प्रशोधन गर्दो रहेछ । अब भने उनीहरु आफैँ पनि प्रशोधन कारखाना खोलेर चिया उत्पादन गर्ने सुरमा छन् । आगामी वर्षदेखि प्रशोधित चिया बजारमा ल्याउने योजनामा छन् सहकारीका किसानहरु । 

मैले उनीसँगको भेटमा चिया प्रशोधन प्रविधि, उत्पादनमा रासायनिक पदार्थ र बिषादि प्रयोगबारे जिज्ञाशा राख्ता उनले भने– ‘केही वर्षअघिदेखि माइ खोलायताको भागमा बिषादि र रासायनिक मलको प्रयोग चियामा गर्नु हुन्न भन्ने सचेतता बढ्दै गएको छ । खासगरी अर्थोडक्स चिया उत्पादन हुन थालेपछि यसलाई किसानहरुले ह्वात्तै घटाएका छन् । रासायनिक मल निकै कम भएको छ, बिषदि लगभग शून्यमा पुगेको छ । अबको केही वर्षभित्र इलाममा बिषादिरहित र रासायनिक मलरहित चियाबारी निकै ठूलो आकारमा हुनेछन् । हामी पूर्णतः अर्गानिक उत्पादन गर्छौं । बिषादि बहिष्कार अभिायान चलेको छ गाएभरि ।’

त्यसपछि मेरो थप जिज्ञाशा रह्यो चिया प्रशोधन र चिया संस्कृति विकासको । त्यसका लागि मित्र नरेन्द्र जी र म लाग्यौँ नेपालटार र जसवीरेको चिया बगान र प्रशोधन केन्द्र भ्रमण गर्नेतिर । जसवीरेमा सञ्चालित जसवीरे चिया उद्योगका उद्यमी शरद लिम्बूसँग चिया टेष्टिङ र चिया बगान भ्रमण गरिसकेपछि थाहा भयो अर्थोडक्स चियाको प्रशोधनमा अहिले भारतीय र चिनीयाँ दुवैथरी मेशीन र प्रविधिको प्रयोग भइरहेको छ ।
अर्थोडक्स चिया उत्पादन र उपभोग दुवैमा संसारकै अग्रणी मानिन्छ चीन । चीन संसारकै सबैभन्दा बढी चिया उत्पादन गर्ने देश र सुरुआत गर्ने देश अनि सबैभन्दा बढी चिया खपत गर्ने देश पनि हो । यससँगको सहकार्य प्रविधि हस्तान्तरण र व्यावसायिक सहकार्यबिना नेपालले खासगरी ‘स्पेसियालटी टि’को गुणस्तर विकास गर्न असम्भव नै हुन्छ । 

‘आजका दिनसम्म हाम्रो चियाको बजार भारतरनिर्भर रहेको छ । व्यापार पनि ठूला व्यापारीको हातमा छ । त्यसमा पनि भारतीय मूलकै व्यापारीको कब्जा छ । बजार र मूल्य दुवै ठूला व्यापारीको हातमा छ । हामी टुहुरा छौँ । प्रविधि सिकेको दार्जिलिङबाटै हो । त्यही चियाका व्यापारीहरु हाम्रा पनि व्यापारी हुन् । अब चीनीयाँ चिया प्रविधि नल्याउने हो भने अहिलेकै अवस्थामा कति अघि जान सकिन्छ यसै भन्न सकिन्न ।’ जसवीरे चिया उद्योगका शरद लिम्बू भन्छन् ।  

नेपालमा चियाको खेती गर्न थालेको सय वर्षभन्दा बढी भइसक्यो तर एउटा पेयको रुपमा हेर्नेभन्दा बढी अध्ययन, अनुसन्धान हामीले गर्न सकेका छैनौँ । केही समयअघिसम्म चिया भनेको धूला नै हुनुपर्छ भन्ने मान्यता थियो । जब केही उद्यमीहरुले अर्थोडक्स चिया उत्पादन गर्न थाले अनि बल्ल हामीले थाहा पायौँ चिया त यसरी पनि पो खान मिल्दो रहेछ । चिया पेयपदार्थ मात्र होइन यो एक औषधीय गुण भएको वनस्पती पनि हो भन्ने अझै हामीले बुझिसकेका छैनौँ । त्यसबारे अध्ययन र अनुसन्धान गर्ने कुनै निकाय र संस्था पनि छैनन् हामीकहाँ । हाम्रो चिया संस्कृति पनि चियाको औषधीय गुणको उपयोग गर्नेखालको छँदा पनि छैन । धेरै सुधार गर्नुपर्ने छ हाम्रो चिया सँस्कृतिमा । 

केही वर्षअघिदेखि विदेशी दातृ निकायको सहयोगमा चिया सहकारी बनाउने र उत्पादनका लागि केही मात्रामा पूँजीगत अनुदान र प्रविधि प्रदान गर्नेे काम सुरु भएको छ । सरकारले पनि केही मात्रामा यसमा काम थालेको देखिन्छ । किसानहरु नपकाइकन खाने पदार्थ भएकाले यसमा बिषादिको प्रयोग गर्नुहुँदैन भन्नेमा सचेत हुँदै गएका छन् । तर पनि रासायनिक मल नहाली उत्पादन लिन सकिन्छ भन्नेमा अझै ढुक्क हुन सकेका छैनन् । गुणात्मक भन्दा मात्रात्मक चेतनाले अझै किसानलाई छोडेको छैन । चिया उत्पादन गर्दा त्यसमा रासायनिक पदार्थ र बिषादिको प्रयोग नगर्न सम्झाउँदासम्झाउँदा बल्लतल्ल किसान सचेत त हुन थालेका छन् तर त्यो अनुकूल बजार विस्तार, प्रविधिमा पहुँच र मूल्य निर्धारण हुन सकेको छैन । यसमा सरकार, सहकारीकर्मी, उपभोक्ता, उद्यमी सबैले ध्यान दिन सके हाम्रो चिया संसारकै उत्कृष्ट र मूल्यावान् चिया हुनसक्छ । यसमा सबैले सोचौँ । अब रुखा पखेरामा सिलाम रोप्ने होइन चियाका हरिया बगान बनाएर प्रकृति, पर्यटन र पर्यावरण तीनै पक्ष मिलेको उन्नत इलाम बनाउन सकिन्छ । अन्तमा मेरो सलाम छ त्यो ‘प्रकृति, पर्यटन र पत्ती’ को त्रिवेणी मिलेको इलामलाई अनि ‘क्लिन’ अनि ‘ग्रिन’ इलामलाई, जो सही गन्तव्यतिर अग्रसर भइरहोस् युगीन चेतना र विकाससँगै ।

No comments:

Post a Comment