Monday, September 23, 2013

माइला दाइको दशैँ


माइला दाइ काठमाडौँ छिरेको आठ वर्ष भएछ । आठ वर्षमा एक पटक पनि दशैँमा घर जान पाएका छैनन् । आज बिहान उनलाई यस पाली दशैँमा घर जाऊ कि जस्तो लाग्यो । आफूसँगै कोठामा बस्ने साथी बलेलाई भने–  “मलाई यस पाली दशैँमा गाउँ जान मन लाग्यो । तँ के गर्छस् ?”

बले आङ तन्काउँदै उठ्यो । “गइस्,  कौडी न सौडी उसै दौडी । के को खर्चले जान्छस् ? घर पुगेर आउन बस भाडा मात्रै तीन हजार लाग्छ । बाटामा खान अर्को पाँच सय । छोराछोरीलाई केही सरसामान लगिदिनु परो कम्तिमा दुई हजार । श्रीमतीलाई यौटा सारीचोलो लिदिनु पर्यो त्यल्लाई तीन हजार । बाउआमालाई क्यै लग्नु परो अर्को दुईतीन हजार । काँबट ल्याउँछस् यतिका पैसा ? कि चोर्न जान्छस् ? यैँ बसेर एक्लो ज्यान पाल्न त गारो भैसको चाडमा घर गएर रमाउने कुरा गर्छ । गै हालिस् भने पनि मन दुःखाउनु मात्रै हो ।” खाटमा पल्टिँदै बर्बरायो बले ।

माइला दाइ सुनिरहे । “अनि पैसा नकमाउनेले चैँ दशैँमा घरै नजानु त ?”

“जानू ।”

“अनि के यत्रोविधि बजेटको लिष्ट बना त तैँले ? यो त हरछेरुवा कुरा भैगो नि !”

“शहराँ काम गर्ने मान्छे घर जाँदा क्यै नली जान्छस् त ? तेरा छोराछोरी, स्वास्नी सबैले थुक्छन् तँलाई । बाउआमाले पनि चित्त दुखाउँछन् । सम्झि न आफैँ । मलाई के भन्छस् !” बलेका कुरा यथार्थ थिए । माइला दाइ एक तमासले बलेतिर हेरिरहे । केही बोलेनन् ।

“मलाई पनि घर जान त मान छ नि तर सुको कमाइ छैन । के ले जानु घर ? भो होस् । यैँ बस्छु ।” बलेले फेरि थप्यो ।

बले र माइला दाइ काठमाडौँ छिरेर एक वर्ष बसपार्कमा भारी बोके । त्यसपछि घर बनाउने ठेकदारकहाँ गएर ज्यामी काम गर्न थाले । यो काम गर्न थालेको पनि सात वर्ष भयो । पहिलेपहिले अलिअलि बचाउँथे । घरमा कहिलेकहीँ २।४ हजार पैसा पठाउँथे पनि । अहिले महँगीले आकाश छोएको छ । मजदुरीको कमाइले जीवन धन्नै गाह्रो हुन थाल्यो । खाद्यान्न, तरकारी, घरभाडा सबै बढ्यो । त्यसमाथि बन्द, हडताल, के के के के । यस्ता बेलामा बिना काम बस्नुपर्छ । फुर्सतको दिन तास खेलेर बित्छ ।
......................................... 
“आज नेपाल बन्द । गाडी पनि चल्या छैनन् । जुलुस छ सडकभरि । काममा जान नसकिने भो ।” माइला दाइसँगै काम गर्ने अर्को साथी सन्ते आइपुग्यो । ऊ माइला दाइसँगै ज्यामी काम गथ्र्यो ।

“अब यस्तो तालले भएन । विदेश हानिनु पर्छ जस्तो छ । कैल्यै शान्ति हुने भएन देशमा । घर पनि बन्न छाडे । अलिअलि पाइने काममा पनि भनेको बेलामा ठेकदारले पैसा दिँदैन । महँगी चुलिएर सगरमाथाको टुप्पोमा पुग्न लागिसक्यो । गरिब त भोकभोकै मर्ने भए अब ।” सन्तेले भएभरका विकृति र मनका योजना भट्यायो । 
“जाने भइस् विदेश ! के को पैसाले जान्छस् ? ऐले त विदेश जान पनि एक लाख लाग्छ । डलरको भाउ बढेर दलालले भाउ बढाका बढायै छन् । अस्ति हाम्रा गाउँको भीमेले कतार जान्छु भन्यो र सोध्न गाको मेनपावरको मान्छेले त एकलाख लाग्छ पो भन्दैथ्यो । यस्तो बेलाँ के गरी जानु विदेश ? एकलाख भा त म त गाउँमा गर यौटा काम पो थाल्थेँ । याँ ज्यामी काम गरेर बस्थेँ ? गाउँमा दिनभरि तीन चोटी खाएर पनि पाँच सय ज्याला पाइन्छ । याँ निदभरि सुक्खा काम गर्दा पनि त्यै पाँच सय । माइला दाइले आँखीभुइ खुम्च्याउँदै योजना बताए ।

“जे भए पनि यसपाली चैँ दशैँमा घर जान्छु जान्छु ।” माइला दाइले निर्णय लिए ।

“जा न त जा किन कराको ऐलेदेखि ? छोरा पाउनु कैले कैले कन्दनी बाट्नु ऐले । हिँड् बरु तास खेल्न जाउँ । आज काम हुँदैन । खानेकुरा अलि ढिलो खाउँला ।” बलेले तास खेल्न जाने सुरसार गर्यो ।

माइला दाइ टसमस भएनन् । बले बाहिरियो । सन्ते पनि बलेसँगै बाहिर निस्क्यो ।

“काँबाट ल्याउने त दशैँ खर्च ? खर्च नजुटाइ त घर जान सकिँदैन । घरमा पनि सबैले शहरबट आ’को भन्छन् । चेलीबेटीलाई यसो दुईचार पैसा दक्षिणा दिनै परो ।  आउनेजाने मान्छे शहरबाटले पनि धेरै वर्षपछि आ’को भनेर आस गर्छन् । तिनलाई पनि क्यै गर्नै परो । साथीभाइसँग रमाइलो गर्न पनि पैसै चाइन्छ । गाउँ भन्नु मात्रै । आजभोलि त शहरभन्दा खर्चिलो छ । त्याँ क्यै पाइँदैन । काम गर्ने मान्छे सबै विदेश दगुरेपछि गाउँ सुनसान छ । भएका बारी बाँझैछन् । आइमाइ, केटाकेटी र बुढाबुढी मात्रै गाउँमा बसेपछि गाउँमा त दशा नै लाग्या छ । यसरी गाउँ के बन्ला र खै !  सबैजना किनेर खाने भैसके गाउँमा पनि । विदेश गाकाले पठाको पैसा खाने, लाउने र केटाकेटी पढौने काम गर्या छन् । भोलि विदेशबाट खेदिए भने के गर्लान् ?” माइला दाइले आफू, गाउँ र देश सबै सोचे । आफ्नो घुँडा फाट्न लागेको पाइन्टतिर यसो नजर दौडाए ।

“यो पनि फाट्न लागेछ । कति छिटो फाट्छन् आजकालका लुगा ? टिक्नै पो छाडे त ! किनेको एकवर्ष पनि भा’छैन । फाट्न लाग्यो । सट पनि फेर्ने बेला भा’छ । यो चाड पनि नआए भा हुन्थ्यो नि ! किन आ’को होला ? मन मात्रै तुलबुल्याउँछ ।” माइला दाइ आफ्नो अवस्था सोचेर मनमनै भुटभुटिए ।

“आजदेखि टिकट खुल्ने भन्या छ । टिकट लिन्छु । टिकट लिएपछि ढुक्क हुन्छ । यस्पाली घर त जान्छुजान्छु । जे सुकै होस् । आफ्नै घर त हो नि ! सके यो मैना अलिबढी पैसा कमाइ होला नभा भाडा भो भने जान्छु । बालबच्चा नदेखेको पनि दुई वर्षभन्दा बढी भैसको । परारसाल माया आउँदा लिएर आ’की त्यति हो । तिनेरु पनि बाउ चिन्न छाडिसके होलान् । माइला दाइ मनमनै घरतिर तानिए ।

“खल्तिमा सुको छैन । के ले किन्न्ो टिकट ? भोलि ब्यान काममा गएर ठेकदारसँग पैसा माग्नु पर्ला । आज टिकट लिन नपाइने नै भो । भोलिसम्म सकिने पो हो कि ! हिजै सकियो टिकट भन्न बेर छैन । टिकट लुकाउँछन् अनि सकियो भन्छन् । सत्तमीसम्म बेच्छन् लुकार । धम्क्याउन सक्नेलाई दिन्छन् । लाटा सिधालाई छैन भन्छन् । मनपरि छ नितको । कल्लाइ भन्नु यस्ता कुरा ? कल्ले सुन्छन् सोझासिधाका कुरा ? उजुरी गर्ने भन्ने सबै ठाउँ हराइ हाले । झन् ऐले त सर्कार, कर्मचारी, वेपारी, लट्टे, मुन्द्रे, डन सबै यौटै जस्ता छन् । पुसिलसमा उजुरी गर्न गयो भने उजुरी गर्नेलाई नै उल्टै पैसा माग्छन् । डनको नाम लेखेको रछ भने पैले उसैलाई फोन गरेर उजुरी ल्युँ कि नल्युँ भन्छन् । खै कैले बन्ला हाम्रो देश ? गयो अब हाम्रो दिन । नेता, डन, वेपारी, पुलिस, प्रसाशन सबै उस्तै भए । निर्धालाई कानून बडा नै जानुन् जस्तो छ । के भन्नु र खै ।” मनमनै अनेक कुरा खेलाए माइला दाइले ।

“कतै पैसा सापटी पाइयो भने टिकट त आजै किन्छु । भोलि टिकट पाउन गाह्रो छ ।” मनैमन सोच्दै माइला दाइ सापटी खोज्न ठेकदारको डेरातिर दौडिए । ठेकदार भर्खर उठेर चिया पिउँदै थिए ।

“माइला दाइ कता त ?” ठेकदारले माइला दाइलाई देख्नासाथ सोधे ।

“दशँ नजिक आयो । यसपाली घर जाउँ भनेको टिकट लिने पैसा भएन । अलिकति पेश्की पाउँछु कि भनेर ठेक्दार साब ।”

“अब दशैअघि काम होला जस्तो छैन । तपैँहरुको कामको पैसा दि सकेँ । अब कामको पैसा काँकी छैन । अरुलाई पनि पैसा दिनु पर्ने छ । म आफैँ पैसा खोज्न जान लागिरा’छु । तपैँलाई पैसा दिन सक्ने अवस्था नै छैन माइला दाइ ।” ठेकदारले माइला दाइलाई पैसा दिने छाँट देखाएनन् । माइला दाइको आशा खरानी भयो । दशैँमा घर जाने टिकट काट्ने काउन्टर र टिकटले उनको आँखा अगाडि आएर गिज्याए जस्तो लाग्यो । माइली, छोराछोरी र बूढा बाबुआमाको अनुहार पनि अगाडि आएर नाच्न थाले ।

ठेकदारले फनक्क फर्केर मोटर साइकल स्टार्ट गरे । जाँदाजाँदै भने– “पैसा भयो भने दिन क्यै गारो थेन माइला दाइ । तपैँको आपत् म बुझ्छु ।” यति भन्दै ठेकदार मोटरसाइकल लिएर बाटा लागे । माइला दाइका पैताला गह्रौँ भए । हातगोडा भुइमा टाँस्सिए जस्तो लाग्यो उनलाई । पाइला सार्न खोजे । मनले शक्ति हराइसकेको संकेत गर्यो । अलिकति पर सरेर फेरि टोलाए ।

तास खेल्न गाका सन्ते र बले त्यही बाटो कोठा फर्कंदै थिए । माइला दाइलाई देखे । । सन्तेले भन्यो– “माइला दाइ कोठातिर लाग्ने हैन ?” माइला दाइलाई बोल्ने जाँगर चलेन । आँखा यस्सो घुमाएर हेरे । सन्ते र बले अगाडि बढिसकेका थिए । हातमा चामल र तरकारीको झोला लिएर फटाफट कोठातिर लागेका दुवैलाई उनले टोलाएर हेरिरहे ।

माइला दाइले डम्बरे, हर्के, वीरे अनि पल्ला गाउँका सहुबाका छोरा झलक कार्कीलाई सम्झे । झलक कार्की उनको गाउँका साहुका छोरा । कपनमा घर किनेर बसेका थिए । मजदुर सम्बन्धी हक, अधिकार संरक्षण गर्ने एउटा अन्तर्राष्ट्रिय संस्थामा काम गर्थे । पोहोर साल मजदुरी गर्नेहरुलाई के के के के गर्छौँ भनेर उनले भनेको सुनेका थिए माइला दाइले । संगठन बनाउ, संस्था बनाऊ भनेर भेला गरेर लामो भाषण गरेका थिए । उनीसँग व्यक्तिगत रुपमा पनि निकैबेर गफ गरेर गएका थिए । ‘क्यै सयोग चाइयो भने सम्झनु है माइला दाइ’ पनि भनेका थिए । माइल दाइले ठाने तिनले अवश्य सहयोग गर्लान् । यति जाबो टिकटको पैसा त एक छाक खाजा खाँदैमा सकिन्छ उनको । त्यतिका वर्षदेखि मैले गाउँमा उनीहरुलाई सघाकै हो । शहर पसेपछि मात्रै त हो नि उनीकहाँ काम गर्न नगएको । नत्र हिउँद वर्षा उनैको हलो जोतेको हुँ । खेतीपाती लगाइ दिने काम मैले नै गर्थें । माग्नै गएपछि त कसो नदेलान् ? बाटामा जाँदाजाँदै अनेक कुरा सोचे उनले ।

कपन जाने बस अगाडि आएर रोकियो । बस चढेर झलकको घर पुगे । झलकले माइला दाइलाई देखेर परैबाट भने– “ए माइला दाइ आज कताबाट बाटो बिराउन भो ? बसौँ माइला दाइ भित्रै ।” झलकले  माइला दाइलाई आफ्नो सजिसजाउ बैठक कोठामा बसाए ।

माइला दाइले कोठा वरिपरि आँखा दौडाए । थरिथरिका विदेशी ह्वीस्कीका बोतलले सजिएको सिसाको सो केश अगाडि थियो । थरिथरिका रिपोर्टहरुले भरिएको दराज कुनामा थियो । अनेक थरिका गरिबी झल्कने गाउँलेहरुका तस्वीरहरु, पोष्टरहरु, विदेशीहरुसँग बसेर खिचेका अनेकथरि कार्यक्रमका फोटाहरु पर्खालमा टाँगिएका थिए । माइला दाइले ती सबैलाई राम्ररी हेरे । भित्रभित्रै आशाले भरिए माइला दाइ ।

झलकले ‘चिया कि कफी माइला दाइ’ भन्दै सोधे । माइला दाइले चिया नै खाउँ भने । हुनत त्यतिबेला खाना खाने बेला भैसकेको थियो । तर झलकले खाना खाने कुरा गरेनन् । झलकको दृष्टिमा माइला दाइ चियाका लागि योग्य ठहरिए । एउटी भर्खर १०।१२ वर्ष जतिकी हेर्दा चेप्टो अनुहारकी केटी चिया लिएर कोठामा आइ । 
“अलिकति बिस्कुट लिएर आइज । माइला दाइलाई भोक लागेको होला । खाजा खान भ्याउनु भा’छ कि छैन ?” खातिरदारी गरे जस्तो गरे झलकले ।

केटी माथि तलामा गई । माइला दाइले चियातिर नियाले । झलकले चिया खान हातले इसारा गरे । माइला दाइले चिया सुरुप्प ताने । केटीले बिस्कुट अगाडि ल्याएर राखिदिई । सानो हुँदा माइला दाइलाई बिस्कुट खुब मन पथ्र्यो । खल्तीमा पैसा भयो कि त्यो गुलियो बिस्कुट किनेर नखाइ छोड्दैनथे । बिस्कुट हातमा लिएर बिस्तारै तलमाथिका दाँतले किटिक्क टोके । किनकिन आज उनलाई त्यो बिस्कुटको स्वाद तीतोतितो लाग्यो । कस्तो स्वाद नभा’को आज ? बिस्कुट त राम्रौ होला ! हेर्दा त रामै्र छ । किन स्वाद चैँ नमिठो ? चिया पनि हिजोअस्ति खा’को जस्तो मीठो छैन । आज मेरो मुख बिग्रेछ क्यार ! बिरामी हुन पो आँटेँ कि क्या हो ? माइला दाइले चियाको सुर्को तान्दै मनभित्रका कुरा पनि चियासँगै निले ।

“माइला दाइ तपैँ हत्तपती नआउने मान्छे आज कति कामले आउनु भो त ?” झलक चुपचापै थिए । चियाको कप राखेको बेला पारेर माइला दाइलाई सोधे । माइला दाइ अलि अन्कनाए । भनौँ कि नभनौँ उनी दोधारमा परे ।

“किन अक्मकिनु भा ? भनिहाल्नुस् न माइला दाइ । तपैँ त आफ्नै घरको मान्छे पो त !” झलकले माइला दाइको मन हल्का बनाउने प्रयास गरे ।

माइला दाइका ओठ फाट्टिन मानेनन् । एकछिन पछि बल गरेर ओठ फट्याए । जिब्रो चलाए । आवाज भित्रै दबिए जस्तो लाग्यो उनलाई । सुस्तरी आवाज निकाल्दै भने– “खै के भनौ र बाबु यसपाली घर जाउँ भनेको । टिकट आजदेखि खुलेछ । टिकट काट्ने पैसा पनि खल्तीमा रैनछ । आज बन्दको हल्लाले काम पनि गैयन । ठेकदारलाई भनेको पनि छैन भने । टिकट किन्न पन्ध्र सय जति सापटी दिनुहुन्छ कि भनेर आको । अप्ठेरो परो । त्यति गुन गर्नुभए दशैपछि आर तिर्थें ।”

झलकले माइला दाइको अनुहारबाट आँखा हटाए । अलि परतिर हेर्दै भने–  “माइला दाइ तपैँलाई निकै गाह्रो परेको रछ । के गर्नु हिजो मात्रै छोरीलाई अमेरिकामा पढ्न दश लाख रुपियाँ पठाइ दिएँ । आफूसँग १०।२० हजार खर्च होला । तपैँलाई दिन त नपुग्ने पो भो त ! अलि २।४ दिन पैले भा क्यै गर्न सकिन्थ्यो । के गर्नु माइला दाइ माफ गर्नुस् ।”

“ए हजुर भुजा खान आइस्योस् । आज किनमेल गर्न जानु पर्छ । ढिला हुन्छ । बन्दको हल्ला मात्रै रछ । सबै खुला छ रे । मैले साथीहरुलाई फोन गरेर सोधिसकेँ । भाटभटेनी अगाडि भेट्ने भन्या छ । गाडी आउँछ कि आउँदैन डाइभरलाई फोन गरिस्यो । छिटो भुजा ज्युनार गरिस्यो है । म त बसेँ ।” माथिल्लो तलाबाट आएको नारी स्वर माइला दाइको कानमा बज्रिए । माइला दाइको मन अमिलो भयो । झलक अलि अँध्यारो अनुहार लगाउँदै उठ्न खोजे । माइला दाइको पैसा सापट पाउने आशा निराशाको बाढीले हुत्याएर पल्लो किनारामा लगेर पछारिदियो ।

उठेर ढोका खोल्दै झलकले भने– “तपैँहरुले संगठन बनाको भा म अफिसमा भनेर कुनै योजनाको नाममा अलिकति दशैँखर्च पठाइ दिन सक्थेँ । त्यतातिर सोच्नु भएनछ । के गर्नु माइला दाइ सयोग गर्न सकिएन तपैँलाई ।” झलक औपचारिक हुन खोजे । त्यसपछि झलकका शब्द बन्द भए । ढोका ड्याम्म लाग्यो । दुवैहात जोडेर हवस् त भन्दै माइला दाइ ढोकाबाट बाहिर निस्किए ।

टिकटको आश अझै मरेन । माइला दाइका गोडा कोठातिर बढ्न मानेनन् । उनले फेरि गाउँको बिर्खे भन्ने साथीलाई सम्झे । बिर्खे उनको समूहको नाइके जस्तै थियो । कहिलेकहीँ सरसापट चाहिँदा उसैसँग लिने गर्थे । केही अप्ठ्यारो परो भने हाट्टहुट्ट पनि गथ्र्यो बिर्खे । अलि टाढा बस्थ्यो ऊ । माइला दाइका पैताला एकएक गरी बिर्खेको कोठातिर बढे ।

“बिर्खे घरमा छ कि छैन !” उनको मनमा चसक्क लाग्यो । “रैनछ भने फर्किन्छु । जानु चै परो । तै काम भो भने टिकट लिन्छु आजै ।” माइला दाइको आशा फेरि सगरमाथाको आधार शिविरबाट चुचुरोतिर लाग्यो ।  
सरासर माइला दाइ बिर्खेको कोठामा पुगे । बिर्खेको ढोकामा टक्टक् आवाज दिए । छिमेकी कोठाका एकजना मान्छे बाहिर निस्किए ।

“बिर्खे त आज बिहानै बाहिर निस्केको देख्या थेँ । कोठाँ छैनन् दाइ । मोबाइल गर्नुस् न ।”

माइला दाइले आफ्नो खल्तीमा भएको मोवाइल छामे । मोवाइल निकाल्दै नम्बर हेर्न खोजे ।

“मलाई पढ्न आउँदैन, बिर्खेको नाम छ कि हेर्दिनु त !”  माइला दाइको मोबाइलमा बिर्खेको नम्बर देखियो ।

“लगाइ दिउँ ?” उसले सोध्यो । “ल कुरा गर्नुस् ।” घण्टी टिन्न गरेपछि उसले फेरि माइला दाइको हातमा मोबाइल दियो । बिर्खे फोनमा बोल्यो । माइला दाइले सोधे– “काँ हो बिर्खे तिमी ? जरुरी थियो । कोठाँ आथेँ ।” 
“म नजिकै छु, आइहालेँ ।” बिर्खे मोटरसाइकल लिएर आइपुग्यो ।

“किन माइला दाइ आज अलि अँध्यारो छ त अन्वार ? क्यै दुःख परो कि क्या हो ?” मोटर साइकल रोकेर माइला दाइको अनुहार नियाल्दै बिर्खेले भन्यो ।

“क्यै छैन ।”

“नलुकाउ न दाइ । लिम्लाइ म पाँच वर्षदेखि चिन्छु । तिमी आज निकै गाह्रोमा छौ । अन्वारले भन्छ ।” बिर्खेले जोड गर्यो ।

माइला दाइले मुख खोले । “घर जान टिकट लिउँ भनेको । आजदेखि टिकट खुलेछ । खल्तीमा सुको पैसा छैन । दुई ठाउँमा गएँ, पत्यानन् । गरिब हुनु पनि क्यै रैनछ बिर्खे ! पर्या बेला कसैले सयोग गर्दा रैनछन् । मुखले सयोग गर्ने धेरै हुँदा रछन् कामले गर्ने मान्छे पाइँदो रैनछ ।” माइला दाइको मुटुमा परेको गाँठो खुस्कियो । आँखाबाट बरर्र आँसुका भल बगे । घाँटीको भित्रबाट हिक्कहिक्क आवाज आयो । थचक्क भुइँमा बसे । माइला दाइलाई देखेर बिर्खे पनि भक्कानियो ।

“माइला दाइ बिर्खे जिउँदै छ, नरुनुस् । मर्दले आँसु झार्ने हैन पराक्रम गर्नुपर्छ । पसिना बगाउन सकुन्जेल र नारीमा मासी हुन्जेल हिम्मत नहार्नुस् । कति चाइयो तपैँलाई टिकट किन्न ? अइले भर्खर मैले एक जना ठेकदारसँग साथीहरुलाई दिन पेश्की लिएर आ’को छु । मेरो भागमा पनि अलिकति पर्छ । ल लिनुस् । दुई हजार भा’ पुग्छ ?” बिर्खेले हातमा पैसा लिँदै माइला दाइको पाखुरामा समाएर उठायो । माइला दाइले डाको छोडे । आफूलाई सम्हाल्न सकेनन् ।

बिर्खेले माइला दाइलाई कोठाभित्र लिएर गयो । निकैबेर माइला दाइ र बिर्खे मुखामुख गरिरहे । माइला दाइले आफ्नो सटको छेउले आँखाका आँसु प्ुछ्तै भने– “गरिबको मर्म गरिबले नै बुझ्दोरछ बिर्खे । तँ त मेरो साथी मात्रै होइन बाउ रछस् । म यो गुन कैल्यै भुल्दिनँ । मलाई ऐले पन्ध्र सय रुपियाँ भा पुग्छ । त्यति जाबो पैसामा पनि पत्यार भइनँ म आज । तँ सँग धन त धेरै छैन मन रछ । सयोगका लागि धन हैन मन चाइँदो रछ बिर्खे । मैले आज बल्ल बुझेँ ।” माइला दाइका आँखा अझै रसिला थिए । बिर्खेका आँखाले पनि भित्रको बाढी रोक्न सकेनन् । टिलपिलाए । बिर्खेले पनि अकाँतिर फर्केर रुमालले आँखा छोप्यो ।

“भैगो दाइ अब नरोऊ । यो पैसा मेरो हातमा भा’को बेला मेरो तपैँका हातमा हुँदा तपैँको हो । काम चलाउनुस् । अझै केइ चाइयो भने भन्नु ।” बिर्खे अलि हतारमा थियो । माइला दाइलाई बाहिर छोडेर ऊ बिदा भयो । 
.........................................................
माइला दाइ टिकट लिन चावेल गए । काउन्टर वरिपरि दलालहरु झुम्मिरहेका थिए । दलालहरु हल्ला गर्दै थिए– “नयाँ बस,  सस्तो टिकट । चाँडै गर्नुस् । एउटा टिकटको पन्ध्र सय । थोत्रा बसमा फसाउलान् । बिचार गर्नुस् ।”
 माइला दाइ सोझा मान्छे । काउन्टर नजिकै गए । काउन्टरवालालाई सोधे– “टिकट छ ?”

“छैन । बिहानै सकियो । खुल्नासाथ दुइघंटामा टिकट साफ । ऊ ती बाहिरतिरकालाई सोध्नोस्  । तै पाइहाल्छ कि !” काउन्टरवालाले जवाफ दियो ।

माइला दाइ अक्मकाए । “ती त दलाल होइनन्  र ? तिनेरुसँग त टिकट नै नक्कली हुन्छ भन्छन् !” माइला दाइ फेरि संकटमा परे  । भोकले पेट मडारिन थाल्यो । आन्द्रा बटारिए जस्तो गर्न थाले । घडी घुमाएर हेरे दिउँसोको दुई बजेछ । ओठमुख सुकेर टाँस्सिन थाले । नजिकैको होटलमा पसेर पानी पिए । अलि सास आयो ।

फेरि काउन्टरतिर गए । काउन्टर बन्द गरेर मानिस हिँडिसकेका थिए । दलाल झुम्मिए ।

“सस्तोमा टिकट, नयाँ बस ।” माइला दाइले मनमनै सोचे– “यो पनि भोलि फेरि नपाइएला । टिकट त लिनै परो ।”

उनले खल्तमिा हात घुसारे । कच्याककुचुक पारेर खल्तीमा हालेको एक हजार र पाँचसयका नोट हातमा लिए । “नक्कली टिकट परो भने बिर्खेसँग ऋण काढेर ल्याको पैसा त्यसै भुस हुन्छ । घर जान पनि पाइँदैन ।” मनमनै सोच्दै अन्कनाए । दलालको नाइके अघि सर्यो ।

“के हेर्या बाजे ? छिटो गर्नुस्, नत्र यै पनि सक्केला । भोलिदेखि टिकट छैन । लि हाल्नुस् ।” माइला दाइले हातमा पैसा लिएर दुवै हातले समाते मानौँ ती नोट खोलामा पक्रेका चिप्ला माछा हुन् । चिप्ले भने फेरि त्यत्रो मेहनतले पक्रेका माछा पानीमा हराउँछन् ।

पैसा दलालको हातमा दिए । टिकटको सानो चिर्कटो उनकोे हातमा पर्यो । माइला दाइको अनुहार खुसीले उज्यालो देखियो ।

“नक्कली त हैन ? नक्कली रछ भने त फेरि ठीक हुँदैन नि !” दलालतिर फर्केर माइला दाइले फुर्ति देखाए । 
“नक्कली त सबै नक्कली, तपैँ नक्कली, म नक्कली, बस नक्कली । सबै नक्कली भएछि टिकट नि नक्कली हुन के बेर ?” एउटाले खितितित्त हाँस्दै भन्यो । माइला दाइ टिकट खल्तमिा हालेर कोठातिर लम्के । 
“भोलिदेखि काम गरेको पैसा सबै जोगाउन सकियो भने दश हजार जति त हुन्छहुन्छ । अझै एक महिना बाँकी छ । बरु रातीको पनि काम पाइयो भने गर्र्छ ।” माइला दाइ टिकट पाएको खुसीयालीमा योजना बनाउँदा बनाउँदै कोठा पुगे ।

भोलिपल्ट सडक बनाउने एक जना ठेकेदारकहाँ गए । ठेकेदारसँग रातिको काम मिलाइ दियो । ठेकेदारले भन्यो– “राती काममा आयौ भने डेढा पैसा हुन्छ । दिनमा साबिक हुन्छ ।”

माइला दाइ नयाँ ठेकदारकहाँ काम गर्न गए । रातदिन काम गरेर महिनाभरिमा बीश हजार कमाए । खानपिनमा साँघुरो गरी खर्च गरेर दशैँ खर्च बचाए । छोरालाई पाइन्ट, छोरीलाई फ्रक, श्रीमतीलाई साडी किने । बूढा बाबुआमालाई पनि एकसरो लुगा किनिदिए । खल्तीमा बस्यो पाँच हजार । माइला दाइले सोचे–  “यो पाँच हजारले दशैँ धान्छु । फर्कंदा सकिए सापटी मागेर आउँछु । याँ आर पठौँछु ।” 
.........................................................
“आज नौरथाको सत्तमी । घर जाने टिकट आजैको छ । म भरे घर लाग्छु । कोठामा छिटो आइज नि !” बिहानै माइला दाइले कोठामा बस्ने साथी बलेलाई भने ।

“हैन आजै जाने र ! टिकट किनिसक्या छौ ? नत्र त टिकट पाउन त गाह्रो पो छ त ! टिकट पनि सक्कली चैँ ल्यायौ के ? नक्कली परेछ भने त छतमा परौला । दलालको फेला पर्यौ कि !” बलेले भएभरको शंका गर्यो । 
माइला दाइले टिकट झिकेर बलेलाई देखाए । काला अक्षर भैँसी बराबर नै हो उसलाई पनि । तर पनि बलेले टिकट हातमा लिएर खेलायो । मानौँ माइला दाइलाई घर पुर्याउने यही टिकट हो ।

“ठीक छ, राम्रै गर्यौ । तिमी जाऊ । म चैँ यीँ बस्छु । १।२ बोतल खोया बिर्के ल्याउँछु । एक किलो मासु किन्छु । यैँ दशैँ मान्छु । यत्रो खर्च गरेर घर जानुभन्दा यैँ मस्ती गरिन्छ । यो खर्चले वाँ जान्छोर्छोरीहरु मासुभात खान्छन् ।” बलेले उसको दशँै कसरी बित्छ, बतायो ।

माइला दाइ टिकट हातमा लिएर २ बजे कोठाबाट निस्के । वीरे विदा गर्न बस चढ्ने ठाउँसम्म गयो । 
“लौ जाउ है दाइ राम्ररी । भाउजूलाई पनि सम्झ्या छ भन्देऊ । खल्ती अलि सम्हालेर राख नि ! पाकेट मार्लान् ।” बिरेले माइला दाइलाई सजग गराउँन पनि भ्यायो ।

माइला दाइ बसमा उक्ले । उनलाई भनेको सीट नम्बरमा एक जना महिला गजधम्म बसिरहेकी थिइन् । टिकट हातमा लिएर माइला दाइ कराए– “यो त मेरो सिट हो । उठ्नुस् ।”

“एक मैना अघि टिकट काटेको हो मैले । मेरो टिकट हेर्नुस् ।” महिलाले टिकट निकालेरै प्रतिवाद गरिन् । माइला दाइ छक्क परे । दलालहरुको झुण्ड सम्झे । उनीहरुले भनेका शब्दहरु सम्झे । एकाएक गर्दै दलालहरुको अनुहार उनका आँखा अगाडि सिनेमामा नाचे जस्तै गरी नाच्न थाले ।

कन्डक्टरतिर बढ्दै माइला दाइ कड्किए– “एक मैना अघि टिकट काट्ता पनि नक्कली र दोहोरो टिकट दिने ? म आफ्नो सिट छोड्दििनँ ।”

कण्डक्टरले माइला दाइको टिकट हातमा लिएर राम्ररी हेर्यो । ऊ गज्र्यो– “दलालले काटेको टिकट रछ । काउन्टरको टिकट हैन यो । जे भा पनि म लग्दिन्छु तपैँलाई । तर सिट चैँ छैन । तपैँले काटेकै सिटमा बस्नुस् । तपैँहरु काँकाँ टिकट लिनुन्छ अनि याँ झगडा गर्नुन्छ । तपाईंको टिकटमा त छत लेख्या छ । छतमा चढ्न अलि पर पुग्नु पर्छ । नागढुंगा कटेसी बस्नू । एैले भित्रै बस्नुस् । ”

माइला दाइलाई भाउन्न होला जस्तो भो । त्यत्रो दुःखहण्डर खपेर काटेको टिकट त्यै पनि छतमा परियो । उपाय केही देखेनन् उनले । कोच्चिएर उभिइरहे । गागढुंगा कटेपछि कन्डक्टरले भन्यो– “छतका टिकट भाका जति छतमा जानुस् ।” माइला दाइ लुरुलुरु कालो अनुहार लाएर छतमा चढे । छतभरि पनि टन्नै मान्छे थिए । मोड र उकालीओरालीमा चिउचिउ गर्दागर्दै बस मुग्लिन पुग्यो । सम्म बाटो आयो । बस हल्लिन अलि कम भयो । अलि राहतको सास फेरे । हावाले शरीरभरि कावा खाएकै थियो ।

“सामान राख्ने ठाउँमा मान्छे । सामानकै दर्जामा पो राखे त ! माइला दाइको स्वाभिमान भित्रभित्रै मुर्मुरायो । हावाले सातो लियो । बर्को निकालेर शरीर छोप्ने प्रयास गरे । बिहान सबेरै गाडीले भीमान बजारमा ओरालिदियो । दुईघण्टा पैदल हिँड्नै बाँकी थियो । रात्री बसको धङ्धङीमा माइला दाइ कमलाको बगरतिर लागे ।  
.......... .......... .......... 
दिउँसो करिब १ बजेतिर माइला दाइ घर पुगे । आठ वर्षपछि घर आएको छोरो देखेर बुढी आमाले आँखा तन्काउँदै भनिन्– “यत्रो वर्ष सुन्ने पारिस् यस्पाली दशैँ रमाइलो हुने भो ! पोहार साल पनि आउँछस् कि भनेर आँखा टट्टाउन्जेल हेरेँ, आइनस् । कस्तो नरमाइलो भो दशैँ । आघौँ बाँचिरन्छु कि रन्न यस्पाली चैँ दशै आयो अब ।”

माइली भाउजू पनि गाइवस्तु र बाख्राको हेरचाह गरेर घरमा आइन् । माइला दाइलाई देखेर माइली भाउजूको अनुहार उज्यालो र चम्किलो देखियो । दशैँ आए जस्तो लाग्यो उनलाई । एक छिनमा छोरो र छोरी पनि आइपुगे । माइला दाइलाई देखेर को छिटो बासँग पुग्ने भने जसरी दौडिँदै आएर अँगालो मारे ।  एकातिर छोरो, अर्कातिर छोरी बसी । माइला दाइले झोलाबाट एकेक ओटा बिस्कुट, चकलेट र चाउचाउका प्याकेट निकाले । छोरा, छोरी र माइली भाउजूलाई हातमा राखिदिए । छोराछोरीहरु बिस्कुट र चकलेट लिएर कृतकृत्य भए । मानौँ ती प्याकेटहरु काठमाडौँको ऐश्वर्य नै हुन् । बाआमालाई एउटाएउटा मिस्रीको पोको हातमा दिएर ढोगिदिए । आमाले भनिन्– “भाग्यमानी भएस् ।” माइला दाइ घिच्च हाँसे । मानौँ मिस्रीको पोकाको सट्टामा उनलाई ईश्वरीय वरदान नै प्राप्त भएको छ ।

“दशँैमा तिमी नआर कस्तो खल्लो हुन्थ्यो । यस्पाली बल्ल दशैँ आयो । कैलेकाइँ त घर आउने पनि गर्नु नि ! कस्तो निष्ठुरी ?” माइली भाउजूले बेलुका माइला दाइसँग गुनासो गरिन् ।

माइला दाइले भाmेला खोलेर भाउजूलाई ल्याको सारी देखाए । भाउजू सारी देखेर फुरुङ्ग भइन् । बाबुआमालाई ल्याएका कपडा पनि प्याकेटै जिम्मा दिए । छोरालाई बोलाएर पाइन्ट ठीक हुन्छ कि हुँदैन भनेर जाँचे । छोरो पाइन्ट लाउन पाएर आकासमा उडे झैँ गरी उफ्र्यो । छोरी फ्रक लाएर नर्तकी जस्तै गरेर फनफनी घुमी । सबैलाई माइला दाइले दशैँ ल्याइदिए । 
...............................................
घर पुगेको अर्को दिन । दशैँको नवमी । 
सबैतिर खसी काट्ने, सुँगुर मार हान्ने, राँगा ढाल्ने, पिङ हाल्ने काम हुन थाले । छोराले भन्यो– “बाबा हाम्रो घरमा खसी नढाल्ने ?” छोरीले भनी – “मसिना चामलको भात नखाको पनि धेरै भयो । आमाले दशैँमा ल्याउँला भन्नु भाथ्यो कतिखेर लिन जाने ?” माइला दाइले खल्तीमा भएको पाँच हजारका नोट झल्झली सम्झे । उनको मन एक तमासको भयो ।

“घरको छानाको खर मक्काको छ । गाइवस्तु खिइँदै गएका छन् । खेतवारीमा बाली राम्ररी लाउन सकिएको छैन । दशैँमा खाने राम्रो चामल छैन । खसी काटेर घरमा रमाइलो नगरेको पनि एक युगा भैसक्यो । छोरालाई अर्को वर्षदेखि बाहिर पढाउन पठाउनु पर्ने । बाबुआमा बूढा भए । केही भयो र औषधिमुलो गर्नु पर्यो भने खल्तीमा सुको छैन । कसरी चलाउने हो व्यवहार ?” माइली भाउजूले घरव्यवहारका अनुहार एकएक गर्दै माइला दाइका अगाडि उघारिन् । माइला दाइ केही नबोली बसिरहे । खल्तीमा भएका हजारहजारका पाँचवटा नोट झिकेर माइली भाउजूका हातमा राखिदिए ।

“यस्पाली धेरै कमाइ भएन । महँगी साह्रै बढेको छ । गारोसारो गरेर चलाऊ । दशैँ सिध्याउँ अनि अरु सल्ला गरौँला । भोलि चेलीबेटी, इष्टमित्र पनि टिको लाउन आउलान् । कतै पाइए ससाना खुद्रा साटी राख ।” 
माइली भाउजूले दाइले दिएका नोट वल्टाइपल्टाइ गरिन् । छोराछोरीका कुरा सम्झिइन् । आँखा उठाएर माइला दाइतिर हेरिन् । माइला दाइ निन्याउरो अनुहार लाएर माइलीलाई हेरिरहेका थिए । 
“साह्रै थोर भो हगि । पुर्याउन गाह्रो हुन्छ होला तिम्लाई । कतै थोरै तिनो रिन पाइने भा खोज । म फेरि वाँ गएपछि पठौँला ।”

माइली भाउजूका आँखामा आँसु टिल्पिलाए । “पर्दैन यल्यै पुर्याउँछु । दुःखसुख गरी टार्नुपर्छ । दुःखैदुःखमा बित्ने भो जिन्दगी । कैल्यै खुकुलो गरी वेवार गर्न नपाइने भो ।” निराशाको लामो सुस्केरा हालिन् माइली भाउजूले ।  
................
माइला दाइका एक जना छिमेकी नयाँ पटीमा लागेका थिए । दशैँ र तिहारको संस्कृति क्षेत्रीबाहुन्का हुन् भन्दै फलाकेर भाषण गर्दै हिँड्थे । आफ्नो चाहिँ के हो भन्ने बताउन पनि सक्दैनथे ।

“तामाङहरुले दशैँमा सेता टीका लाउने निर्णय गर्या छौँ । यसपालीदेखि हामीले सेता टीका लाउनु पर्छ । रातो रंग नहाल्नू टिका लाउँदा ।” टीकाको दिन बिहानै माइला दाइकहाँ आएर सुनाए । माइला दाइलाई यो सुनेर कन्सिरी तातेर आयो ।

“यिनले जेजे भन्छन् त्यै हामीले मान्दै हिँड्नु पर्ने ? पुरानो संस्कृति, सबै नेपालीको चाड भनेर कत्रो गरेर दशैँ मान्न आ’को त के के र के के भन्ने यिनेरु ?” मनमनै रन्का छुट्यो माइला दाइलाई ।

“टीका लाउने नै हो भने किन रातो र सेतो भनिरनू ? कि लाउनू कि नलाउनू । भइरा’को चलन बिगार्न खोज्नेहरु ! रातो र सेतोमा छुट्याएर समाज भाँड्नु पर्या छैन । तिमेर्का कुरा तिमेरुसँगै राख । म रातै लाउँछु । कहीँ नभाको जात्रा हाँडी गाउँमा ?” माइला दाइले छिमेकीको सातो लिए ।

“तिमेरु जे गर्छौ गर । अनेक बखेडा झिकेर चलन बिगार्नेहरु ।” मुर्मुराउँदै माइला दाइ उठे । समाचार भन्न आएका छिमेकी कालोनीलो हुँदै केही नबोली उठेर आफ्नो घरतिर लागे ।

बूढी आमाले भनिन्– “किन नानी यत्रो वर्ष चैँ ‘रातो टीका निधार्मा टिलिक्क टल्कियो’ भन्दै गीत गाउँदै लगार हिँडे । आज चैँ किन यस्ता कुरा गर्या होलान् ? आखिरी चलन त हो विवाद गरेर के पाउँछन् र बाबु यिन्ले ? युगौँदेखिको चलन यसो र उसो भनेर बिथोलेर बिगार्ने भए यी ठेउकाले । यस्तै भोडाहर्ले हो ठाउँ बिगार्ने । म त रातै टीका लाइदिन्छु बाबु । भन्नेले जेसुकै भनुन् ।”

बेलुकाखेरि राता टीका र जमराले निधार सजिएका माइला दाइ घरबाट निस्कन खोजे । छोरीले भनी– “बा म पनि सँगै जान्छु नि !” माइला दाइले केही नबोली छोरीको टाउको सुम्सुम्याए । छोरो नजिकै बसेर हेरिरहेको थियो । “म एकैछिनमा आउँछु है छोरी  ।” माइला दाइले छोरीलाई भने ।

छोरी बाबु गएतिर हेरेर आँटमा बसिरही । रात निकै बितेपछि भित्र पसी । दिन बिते, महिना बिते, वर्ष बिते माइला दाइ फर्केर आउने आशामा बसेका माइला दाइका बाबुआमा, छोराछोरी र माइली भाउजूले त्यसपछि माइला दाइलाई कहिल्यै देख्न पाएनन् । 

समाप्त 







No comments:

Post a Comment