Sunday, September 8, 2013

सम्झनामा:'आम्बोटे स्कूलका सरहरु'



मैले निम्न माध्यमिक तहसम्म आम्बोटेको विद्यालयमा पढेँ । त्यतिबेला गाउँ विकास समितिभरि एउटा मात्र विद्यालय थियो । अहिलेका जस्ता छ्यासछ्यास्ती विद्यालयहरु थिएनन् । माघको जाडो बिदा पछि स्कूल शुरु भयो । कुरा २०३१ सालतिरको हो । कक्षा ४ को शुरुमा तराइतिरबाट (धनुषा जिल्ला) एक जना नयाँ शिक्षक हाम्रो स्कूलमा पढाउन आए । केही समयपछि थाहा भयो मलाई भर्ना गर्ने हेडसरले स्कूल छोडने र अन्यत्रै जाने इच्छा गरेछन् । त्यसपछि अर्को हेडसरको खोजीस्वरुप उनलाई बोलाएर ल्याइएको रहेछ । त्यतिबेला मलाई शिक्षक भनेको भगवान् नै कि हो जस्तो लाग्थ्यो । 
मेरो मनमा उसले सबैकुरा जानेको हुन्छ भन्ने थियो । विद्यार्र्थीलाई सपार्न र बिगार्न शिक्षककोे ठूलो हात हुन्छ, चाह्यो भने शिक्षकले जस्तो व्यक्तिलाई पनि ठूलो मान्छे बनाउन सक्छ भन्ने विश्वास थियो । शायद त्यतिबेलाका सबै विद्यार्थीहरु त्यस्तै सोच्थे होलान् । त्यसैले विद्यार्थीहरुलाई माया गर्ने, राम्ररी सिकाउने, आफ्नो विषयमा राम्रो दखल भएको शिक्षकतर्फ विद्यार्थीहरु अलि बढी नै नजिक हुने गर्थे ।

कक्षामा  २।४ जना पढ्न जान्ने विद्यार्थीहरुको समूहमा म पनि पर्थें । त्यसै हुनाले प्रायजसो शिक्षकहरु मलाई माया नै गर्दथे । म कुनै शिक्षकसँग नजिक र कुनै शिक्षकसँग टाढा पनि थिइँन । चाकडी र चापलुसीमा म त्यति चाख लिँदैनथेँ । सबै शिक्षकहरुसँग मेरो समदुरीको सम्बन्ध थियो । तर पनि हिसाब पढाउने एक जना सरसँंग भने मेरो अलि बढी भावनात्मक घनिष्टता भएछ । उदयपुरको कटारीतिर घर भएका उनी निकै अग्लो र खाइलाग्दो शरीर भएका आकर्षक व्यक्तित्वका धनी थिए । नाम चाहिँं राम कुमार खड्का । शिक्षकहरु माझ पनि उनी उत्तिकै आत्मीय र हितैषी थिए । विद्यार्र्थीहरु माझ पनि उत्तिकै लोकप्रिय थिए । 
हाम्रो स्कूलमा त्यतिबेला हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । स्कूल भवन नजिकै रहेको कम्पाउण्डभित्रको सानो चउरमा खेलकूद, वादविवाद, नाचगान, वक्तृत्वकला, कविता प्रतियोगिता आदि मध्ये केही न केही कार्यक्रम हरेक शुक्रबार १ बजेपछि हुने गर्दथ्यो । त्यसो भएन भने शारीरिक व्यायाम तथा स्काउटिङका केही गतिविधिहरु हुने गर्दथे । राम कुमार सर यी गतिविधिहरु संचालनको अगुवा थिए । मादल बजाउन होस् वा हार्माेनियम उनी अघि सरिहाल्थे । विद्यार्थीहरुलाई उत्प्रेरित गर्दथे । गीत गाउन त्यति राम्रो स्वर त थिएन तर पनि गाउनु परे नहिच्किचाइकन गाउने गर्थे । नाच्न पनि अलिअलि जान्दथे ।  २ वर्षको गणित शिक्षकका रुपमा काम गरेपछि आफ्नो पढाइ अघि बढाउन जागिर छोडेर कलेज पढ्न जाने भए । हाम्रो कक्षामा १०।१२ जना र माथिल्लो कक्षामा ८।१० जना विद्यार्र्थीहरु उनको साह्रै प्रसंशक थिए । उनले स्कूल छोड्ने बेलामा हामी सबै डाको छोडेर धुरुधुरु रुँदै डाँडाको माथिबाट उनी गएको बाटोतर्फ निकैबेर हेरिरह्यौँ ।

राम कुमार खड्का त्यति धेरै समय त हाम्रो स्कूलमा रहेनन् तर उनले संचालन गर्ने अतिरिक्त क्रियाकलापले भने पछिसम्म निरन्तरता पाइनै रह्यो । हरेक शुक्रबार हुने कुनै न कुनै कार्यक्रमले अतिरिक्त  क्रियाकलापप्रतिको आकर्षण बढाइ दियो । मलाई गायन र नृत्य त्यति राम्रो आउँदैन थियो । हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला, कविता प्रतियोगिता, केही एथलेटिक्स सम्बन्धी खेलकूद, भलिबल मेरो रुचिका विषय थिए । हाजिरीजवाफ, वादविवाद र वक्तृत्वकलाको समूहमा भए समूहमा र एकलमा भए एकलमा प्रायजसो म प्रथम नै हुन्थेँ । प्रथम नभए दोस्रो हुन्थे । सबै कार्यक्रमहरुमा प्रायः भाग लिन्थेँ । 

राम कुमार सरले स्कूल छोडेपछि स्कूलको अतिरिक्त क्रियाकलापमा केही कमी आयो । तर पनि दुर्गा दिदी (भद्राघलेकी दिदी) कोे विषेश अभिरुचि नाचगान र प्रहसनमा भएकाले उनले ती कार्यक्रमहरुलाई निरन्तरता दिइन् । हेडसरले त्यसमा केही सहयोगी भूमिका निर्वाह गरे । पछि राम कुमार सरको सट्टामा आएका चौधरी थरका सर पनि हार्मोनियम बजाउन जान्दथे । उनी स्कूलमा रहेसम्म निकै पछिसम्म पनि स्कूलले सरस्वती पूजा, राजाको जन्मोत्सव आदिमा यस्ता सांस्कृतिक कार्यक्रम गरिनै रह्यो । म चाहिँ अनिवार्य पालो परेका बेला केही झ्याउरे गीत गाए पनि नाच्न भने पटक्कै अघि सर्न सकिनँ । नाचगानको कला मसँग नभएकोमा पछिल्ला दिनमा मलाई अलि खल्लो अनुभव भइनै रह्यो । अरु कुराहरुबाट मैले त्यसको क्ष्तिपूर्ति गर्नुपर्यो । 
कक्षा ४ देखि ६ सम्म मैले आफ्नो प्रथम स्थान सुरक्षित नै गरिरहँे । हेडसर (अश्वेश्र यादव) पढाउनमा त्यति दक्ष थिएनन् । कामचलाउ शिक्षक थिए । पूर्व व्यवसायिक शिक्षा भन्ने बिषय उनले पढाउँथे । हेडसर भएर त्यस्तो कमजोर विषय पढाउने भनेर हामी उनलाई अगाडि नसकेपनि पछाडि आलोचना गथ्र्याै । पछिपछि त्यो पनि छाडियो । स्कूलको हेडसरका रुपमा गर्ने आदर र सम्मन गरिनै रह्यौँ । हामी कक्षा ७ मा पढ्दा उक्त कक्षाको जिल्लास्तरीय बोर्ड परीक्षा हुने व्यवस्था थियो । जिल्लाभरका स्कूलहरुमा एउटै प्रश्नपत्रका साथ एकैपटक जाँच लिइन्थ्यो । पायकपर्ने खासखास ठाँउमा केन्द्र तोकिएको थियो । १० कक्षामा हुने टेस्ट परीक्षा जस्तै पहिले स्कूलको परीक्षा हुन्थ्यो र त्यसपछि जिल्ला स्तरीय परीक्षा हुन्थ्यो । 
हाम्रो स्कूलस्तरीय परीक्षा हुनुभन्दा केही समयअघि हेडसरले बालाई स्कूलमा बोलाएर भनेछन्– “तपाईको छोरा पढ्नमा निकै राम्रो छ । उसले अलिअलि मेहनत गर्यो भने जिल्लाभरि मै राम्रो गर्न सक्छ । म स्कूलबाट हुनसक्ने सहयोग गर्छु । तपाईंले घरमा अलि पढन प्रेरित गरिदिनु होस् । सकेसम्म बिहानबेलुका काम नलगाइदिनु होला ।” 
बाले घरमा फर्केर केही भन्नु भएन । भोलिपल्टदेखि बिहान स्कूल जानुअघि १ भारी घाँस काटेर ल्याउनु पर्ने ड्युटी बन्द भयो । म आश्चर्यमा परेँ । के भएछ भन्ने बुझिन । सुख पाएकोमा खुसी नै भएँ । बेलुका अँध्यारोमा लालटिन वा टुकी बालेर पढ्ने चलन थियो । राति अबेरसम्म लालटिन बालेर पढने काम गरँें । तर मलाई राति अबेरसम्म धेरैबेर पढेर मात्रै पढाइ राम्रो हुन्छ, अङ्क राम्रो ल्याइन्छ भन्ने लाग्दैनथ्यो । एक पटक पढेपछि प्रायः म अर्कोपटक किताव पढदैनथेँ । त्यसलाई बरु चिन्तन गर्ने र गहिरोसँंग त्यसो किन भएको होला भनेर बुझ्ने प्रयत्न गर्दथेँ । प्रश्नोत्तर लेख्न भने मलाई अति नै अल्छि लाग्थ्यो । प्रायः म शिक्षकले भनेको भन्दा बढी प्रश्नोत्तर गर्दैगर्दैनथे । समय पायो भने पाठ्यपुस्तक बाहेका किताबहरु खोजेर पढ्नतिर लाग्दथँें । फुर्सतको समय प्रायःजसो पाठ्यपुस्तक बाहेककै किताबमा बिताउँथें । 
जिल्लास्तरीय जाँचको लागि स्कूलले लिने टेस्ट परीक्षामा मलाई स्कूलको तर्फबाट दिन मिल्नेसम्मको अधिकतम अङ्क हालेर पठाइएछ । जाँच नजिकै आएपछि मलाई हेडसरले बोलाएर भने– “राम्ररी पढ्यौ भने जिल्ला फष्ट हुन सक्छौ । ध्यान दिएर मेहनत गर ।” 
तर मलाई अधिकतम अङ्क दिएर विवरण पठाएको भने बताइएन । बासँंग भएको कुरा पनि परीक्षा अघिसम्म बाले मलाई खोल्नुभएन । शायद सबै कुरा भन्यो भने यसले पढाइमा ध्यान नदेला भनेर होला परीक्षाको रिजल्ट आउनुअघि यो रहस्य गोप्य नै रह्यो । 
परीक्षा केन्द्र नजिकैको  बेलघारी मा. वि. मा परेको रहेछ । त्यतिबेला सात सय पूर्णङ्कको परीक्षा हुन्थ्यो । ंिहडेर जाँदा बेलघारी पुग्न करिव करिब ५।६ घण्टा लाग्थ्यो । पुष्कर खतिवडा भन्ने एकजना सरको साथ लागेर ७ कक्षाका हामी सबैजना बेलघारी केन्द्रमा जाँच दिनका लागि गयाँैं । आफूलाई आवश्यक पर्ने ओड्ने ओछ्याउने कपडा लिएरै जानु पथ्र्यो । खाने चामल, दाल, गुन्द्रुक, घिउ सबै कुराको सानोसानो भारी बोकेर पुष्कर सरको नेतृत्वमा परीक्षा दिन गइयो ।
हामीलाई स्कूलकै एउटा कोठामा बस्नकालागि व्यवस्था मिलाइएको थियो । आफैँले आफ्ना भातभान्सा तयार गरेर खानुपर्ने । परिक्षा अवधिभर परीक्षा केन्द्रमा बसियो । एकहप्तामा  परीक्षा सकियो । परीक्षा निकै राम्रो भयो । आफूले जानेको कुरा राम्ररी लेख्न सकेको र सबै प्रश्नहरु हलगर्न सकेकाले परीक्षाले राम्रै सन्तुष्टी दियो । रिजल्ट आउन भने करिव ३ महिना लाग्यो । अरु विषयहरुमा त राम्रै सँंग परीक्षा दिइयो अंगे्रजीमा भने हामीलाई निकै गाह्रो भयो । बेलघारी र भिमथानका विद्यार्र्थीहरुको अंग्रेजी हाम्रोभन्दा निकै राम्रो थियो । तर अरु बिषयमा भने हामी पनि कम थिएनाँै । नभन्दै त्यही अङ्ग्रेजीमा राम्रो नभएर होला म जिल्लास्तरीय परीक्षामा जिल्लाभरमा दोस्रो भएँछु । रातमाटा स्कूलका अधिकारी थरका विद्यार्र्थी प्रथम र भलुवाहीका बासु तिम्सिना तृतीय भएछन् । 
यो परीक्षाको विस्तृत मार्कसीट निकै समयपछि आयो । स्कूलमा रिजल्ट आएपछि स्कूलले एउटा सानो समारोह आयोजना गर्यो । सरहरुले फूलमाला र अविर लगाएर मलाई सबैका बीचमा हौसला प्रदान गर्नुभयो ।  त्यसदिन म एकप्रकारले पुरै अविरमय भएर घर आएँ । बाटोभरि साथीहरुले मलाई मौरीको रानोलाई घेरे झै घेरिरहे । हुनतः बाहिरी संसारका लागि त्यस सातकक्षाको जिल्ला सेकेण्ड भएको प्रमाणपत्रले मलाई त्यति ठूलो काम त क्यै गरेन । तर भित्रभित्रै भने सफलता कसरी प्राप्त हुन्छ भन्ने बुझ्न र भित्रभित्रै आत्मा गौरव र आत्मासम्मानको अनुभूति बढाई दियो । पछि पढाइमा राम्रो गर्न यस घटनाले अन्य घटनाले भन्दा निकै ठूलो प्रेरणाको काम गर्यो । 
ती हेडसरले मभित्रको प्रतिभा देखाएर नब्युँझाइदिएको भए त्यस परीक्षाको महत्व कसरी थाहा हुन्थ्यो ? कसरी मैले त्यो स्तरको सफलता प्राप्त गर्न सक्थेँ होला ? ती हेडसरले मेरो प्रतिभालाई बुझेर त्यसलाई उजागर गर्न सही मौकामा झक्झक्याइ दिए । मलाई उत्साह र हिम्मत भर्ने काम गरे । उनले त्यसो नगरेको भए शायद मेरो अध्ययन त्यस पछिका दिनमा जुन गतिका साथ अघि बढ्यो त्यही गतिका साथ अघि बढ्ने थिएन । धन्य छन् ती हेडसर जसले मलाई भित्रैदेखि बुझेर मेरो अन्तस्करणलाई जगाइदिने काम गरे । 
ती हेडसरलाइ पछिल्ला दिनमा अत्यन्तै अपमानजनक ढंगले पेन्सन हुन केही दिन मात्र बाँकी हुँदा स्कूलबाट निकाल्ने काम भएछ । त्यो सुनेर मलाई अति नै दुःख लाग्यो । साथीहरुलाई भनेँ– “अन्याय गरेर अरुलाई पीडा दिँदा त्यसले आफैँलाई हानि गर्छ । त्यसै कृतघ्न कामको परिणाम अहिले विद्यार्थीमा अनुशासनहीनता र उच्छृङ्खलता बढिरहेको छ । त्यसलाई मूल्यांकन गर्नुहोस् । हाम्रै व्यवहारबाट सिक्छन् पछि आउने पुस्ताले ।” पछिल्ला दिनमा विद्यालयको गुणस्तर पनि त्यतिबेलाको जस्तो रहेन । संवेदनहीनताले सबैमा हाबी हुँदै गयो ।
शिक्षक विद्यार्थीका त्यति गहिरो सम्बन्ध पछिल्ला दिनमा मैले कहिल्यै देखिन । पैसाका लागि भन्दा पनि विद्यार्थीहरुको भविष्य कसरी राम्रो बनाउने भनेर चिन्ता र चासो राख्ने त्यतिबेलाका शिक्षकहरु सम्झँदा अहिले पनि मलाई आफ्नो शिर निहुर्याउन मन लाग्छ । श्रद्धा, आस्था र त्यागको त्रिवेणी जस्तै थिए त्यतिबेलाका स्कूलहरु । त्यो प्रेमपूर्ण व्यवहार र प्रेरणा पछिल्ला दिनमा स्कूलहरुमा देखिन छाड्यो ।

 शिक्षकहरुलाई राजनीतिले खाइदियो । विद्यार्थीहरुलाई अनुशासनहीनता र उन्मादले अँठ्यायो । दुवै पक्षले आफ्नो भूमिका र धरातल दुवै बिर्से । सञ्चालकहरु अनावश्यक राजनीतिक खिचातानीका शिकार भए । यही छिद्रबाट शिक्षा क्षेत्रमा व्यापारीहरु पसे । व्यापारीहरुले शिक्षालाई ख्वाप्ल्याक्कै निलिदिए । राज्य र यसका सञ्चालकहरु पनि यी शैक्षिक व्यापारीहरुबाट उम्कन सकेनन् । परिणामस्वरुप सरकारी विद्यालयहरु थला परे । निजी विद्यालयहरु फस्टाउँदै गए । शिक्षकहरु आधा राजनीतिकर्मी र आधा मात्र शिक्षक रहे । सञ्चालक र विद्यार्थीको चाकरी गरेर जागिर जोगाउनु पर्ने भएकाले विद्यार्थीहरु पनि शिक्षकलाई शिक्षक देख्न छाडे । यसको बिडम्बना देशको शिक्षा क्षेत्रले भोगिरहेकै छ । नेपाली समाजले यस दलदलबाट पार पाउन अब धेरै समय कुर्नुपर्छ । -dhirbhandari@yahoo.com

No comments:

Post a Comment