Sunday, September 8, 2013

नग्न मूर्ति, पेरिस र यथार्थ


आकर्षक पहिरन र ऋङ्गारले झरझुट्ट भएर सजिएकी कुनै महिला सडकमा देखापरिन् भने हरेकको आँखा एक पटक उनीतिर सोझिन्छ नै । युवाहरुको त कुरै छाडौँ बृद्धहरु नै पनि एक पटक उनलाई नहेरीकन रहन सक्दैनन् । सुन्दरी कन्याहरुका पासोमा परेर कैयौँ ऋषिहरुको तप भंग भएका कथा हामीले पढेका र सुनेका छौँ ।

साधारण, अनाकर्षक र झुत्रे पहिरन भएका मान्छेलाई भने त्यसरी हेरिँदैन । मान्छे त त्यै हो नि किन नहेरेको होला त्यस्ता मान्छेलाई ? आकर्षक पहिरनमा लोभिन्र्छौँ हामी । आखिर के हुन्छ त पहिरनमा ? उनीहरुलाई के ले तान्छ ? के ती पहिरनमा सजिएकी महिला नाङ्गै देखिइन् भने पनि त्यतिकै अकर्षक लाग्छिन् हामीलाई ? यथार्थ चाहिँ पहिरनमा सजिएर सुन्दर देखिने मानिस हो कि नग्न आकृति ? मेरो मथिङ्गल पेरिस सहरको मुटु मानिने राष्ट्रपति भवन र केन्द्रीय सरकारी मुख्यालय नजिकै रहेको विशाल पार्कमा थरिथरिका नग्न मूर्ति देखेपछि एकाएक छचल्कियो । मैले सत्यता र नग्नता बारे सुनेका र पढेका केही कुराहरु सम्झेँ ।

मलाई आई. ए. मा नेपाली पढाउने एक जना सरले नग्नता र सुन्दरताको बारेमा बताउँदा भन्नु भएको एउटा वाक्य यस्तो थियो– “तिमी नाङ्गै ऐना अगाडि उभिँदा लाज र घिनबाट परै रह्यौ भने सुन्दरताको रहस्य जान्न सक्छौ । पहिरनमा सजिएको मान्छेलाई राम्रो मानुन्जेल सुन्दरता केहो बुझ्न सकिँदैन ।”

पेरिसका मूर्तिकला र नग्नमूर्तिहरु बारे निकै वर्षअघि केही लेखहरु पढेको थिएँ । उक्त लेखमा भनिएको थियो– नुड इज रियालिटी, ड्रेसअप इज इल्युजन ।

२०१० को जुन महिनामा अन्तर्राष्ट्रिय श्रम संगठनको महासभामा पर्यवेक्षकका रुपमा भागलिने अवसर पाइयो । हामी सरकारी भ्रमण टोलिसँगै जेनेभा पुग्यौँ । करिब एक हप्ताको जेनेभा बसाइपछि सबै साथीहरु युरोपका अरु देश घुम्ने चाहना राख्न थाले । मोहन खड्का, गणेश सिंखडा, जय कार्की र म चार जना फान्स, जर्मनी र नेदरल्याण्ड घुम्न जाने भयौँ । पेरिसमा बस्ने एक जना नेपाली मूलका फ्रान्सेली साथी विनय रिजालले पेरिस घुम्ने व्यवस्था मिलाउनु भयो । हामी उहाँका पाहुना भएर बस्यौँ । पेरिस पुगेको दोस्रो दिन हामी शहरका मुख्य भागहरु घुम्न निस्कियौँ ।

पेरिस पुगेका सबैको एउटा गन्तव्य हुन्छ एफेल टावर । हामी त्यतैतिर सोझियौँ । प्रसिद्ध इंगलिस च्यानल छिर्ने बाटो, सेइन नदी अवलोकन गर्दै हामी एफेल टावरतिर सोझियौँ । बाटामा केन्द्रीय सरकारी मुख्यालय र फ्रान्सेली राष्ट्रपति भवन पर्दोरहेछ । त्यसको अगाडि एउटा विशाल पार्क । थरिथरिका मूर्तिहरु, कृत्रिम फोहरा र मनोरञ्जनस्थलले भरिएको उक्त पार्कका ठाउँठाउँमा विभिन्न किसिमका नग्न मूर्तिहरु सजाइएका थिए । त्यो देखेर मैले विनयजीलाई सोधेँ – यतिका नग्नमूर्तिहरु सार्वजनिक ठाउँमा सजाइनुको के अर्थ होला ? उनले भने – “अर्थ त मलाई पनि थाहा छैन तर तपार्इं यस्ता मूर्तिहरु यूरोपका सबैजसो सहरहरुमा पाउनु हुनेछ । फ्रान्समा चाहिँ अलि बढी नै छन् ।

उनको यो भनाइ सुनेपछि २००६ मा मैले बेइजिङ भ्रमणका बेला बसेको एक पाँचतारे होटल परिसरमा रहेका थरिथरिका नग्न आकृतिहरु सम्झेँ । त्यो होटल कुनै फ्रान्सेली लगानीकर्ताले खोलेको थियो । होटल परिसरभरि नग्न मूर्तिहरु सजाइएका थिए । अति नै मन पराउँदा रहेछन् फ्रान्सेलीहरु नग्न मूर्तिलाई । त्यहाँ त होटलको कम्पाउन्डभित्र मात्रै त्यस्ता आकृति देखेको थिएँ । पेरिसमा त छ्यास्छ्यास्ती रहेछन् । जहाँ पायो त्यहीँ । कपडाले ढाकिएका आकृतिभन्दा नग्न आकृतिकै बाहुल्य । कहीँ महिला, कहीँ पुरुष, कहीँ बालबालिकाका नग्न मूर्तिहरु यत्रतत्र सजिएका छन् । किन यस्तो ? के रहस्य छ यसमा ? ठाउँमा आएका बेला बुझ्दा राम्रो । मैले मनको जिज्ञाशा मेटाउन खोजेँ ।

साथीहरु एफेल टावर घुम्नतिर लागे । एफेल टावर चढ्न मलाई पनि मन थियो । कोशिस गरियो तर २ दिनमा पनि नभ्याइने लाइन देखेर दर्शनमै चित्त बुझायौँ । साथीहरु थरिथरि फोटो खिच्नतिर लागे । मभने ती नग्न मूर्तिको रहस्य जान्नतिर तानिएँ । साथीहरुसँग समय मिलाएर एउटा आर्ट ग्यालरीतिर लागेँ । नजिकै उभिएकी एक जना फ्रेन्च महिलालाई सोधेँ । नाम थियो सेलिना । मैले सेलिनालाई ती नग्न आकृतिबारे सोधेँ । उनलाई पनि त्यसको के अर्थ हो थाहा रैनछ । उनले भनिन्– “म यसको विज्ञ होइन, तर युरोपमा कैयौँ शताब्दीदेखि यस्ता मूर्तिहरु प्रचलनमा छन् ।” मेरो जिज्ञाशा त्यतिले शान्त भएन । म सन्तुष्ट नभएको थाहा पाएर उनले मलाई आश्वस्त गराउँदै भनिन्– “म तपाईंलाई एउटा कला पसलमा सोधेर बताउँला ।”

अलिकति अगाडि पुगेपछि उनले एउटा विशाल भवनभित्र हामीलाई लिएर गइन् । अनेक खाले कलाकृति बेच्ने पसल भएको त्यो विशाल भवनको पाँचौँ तलामा हामी उक्लियौँ । एक जना अधबँैसे कलाकार तैलरङमा नारी आकृतिको नग्न चित्र कोर्नमा व्यस्त थिए । मैले चारैतिर हेरेँ । मेरो जिज्ञाशाको जवाफ यहाँ मिल्न सक्ला । म आश्वस्त भएँ । मेरी साथीले ती चित्रकारसँग परिचय गराइन् । उनले हाँसेर हामीलाई स्वागत गरे । म नेपालबाट आएको पर्यटक भएको कुरा उनले ती कलाकारलाई बताइ दिइन् । ऊ फ्रेन्च बोल्ने, म फ्रेन्च नबुझ्ने । निकै अप्ठ्यारो भयो । सेलिनालाई अलिकति समय दिन अनुरोध गरेँ । उनले मलाई समय दिने भइन् । दोभाषेका सहायताले मैले उनीसँग कुरा गरेँ ।

सेलिनाले मेरो जिज्ञाशा उनी समक्ष राखिन् । कलाकारले फ्रेन्च भाषामा निकैबेर लगाएर उत्तर दिए । उनको उत्तरको अनुवाद गर्दै सेलिनाले भनिन्– “धीरजी उनको भनाइ अनुसार कलाले यथार्थको, सत्यको अभिव्यक्ति दिन्छ । चित्र र मूर्ति कलाकारका अन्तस्करण हुन् । साहित्य जस्तो होइन कला । साहित्यमा व्याख्या हुन्छ । व्याख्या गर्दा यथार्थ हराउन पनि सक्छ । तर कलामा दर्शकले आफैँ यथार्थ खोज्छ र बुझ्छ । यसले नाङ्गो यथार्थ देखाइ दिन्छ । त्यसैले कलाले मान्छेलाई जिज्ञाशा जगाउने काम मात्र गर्छ, बुझ्ने काम दर्शकको हो । नग्नता ढाकिएका आकृतिहरु यथार्थ होइनन् । ती यथार्थ छोपिएका र मानिसले इच्छाइएका प्रतिरुप हुन् । सच्चा मानिस कस्तो हुन्छ त्यसको यथार्थ चित्र तिनले दिन सक्दैनन् ।”

उनले फेरि थप व्याख्या गर्दै भने– “नग्नता अश्लिलता होइन, तथ्य र सत्य हो । मान्छेको वास्तविक रुप नग्नतामै देखिन्छ । पहिरनले छोपिएपछि तथ्य र यथार्थ रुप पनि छोपिन्छ । पहिरनमा सजिएको मानिस आँखालाई रमाइलो र सुन्दर लाग्न सक्छ तर त्यो मान्छे न प्राकृतिक हुन्छ न सत्य । त्यो मानिस जस्तो आकृति मात्रै हो, सत्य मान्छे होइन । सत्य थाहा पाएपछि त्यसमा रहस्य मान्नु पर्ने, लुकाउनु पर्ने केही रहँदैन । त्यसैले मानिस सत्य उत्खनन गर्न डराउँछ ।”

नग्नमूर्तिका इतिहास जोड्दै उनले फेरि भने– “पश्चिममा ई. पू. १४ औँ शताब्दीभन्दा अघिदेखि नै नग्न मूर्तिहरु बनाउने गरियो । इ.पू. १४०० देखि नै चित्रकलामा त्यसलाई कोर्न थालियो । ती चित्र र आकृतिले मानिसको यथार्थ रुप देखाउन चाहे । यथार्थ प्रकट भएपछि सत्य स्वतः बुझिन्छ भन्ने उनीहरुको बुझाइ थियो । युरोपियन पुनर्जागरण कालको कलाकारितामा यसले अझ बृहत् रुप लियो । मान्छेको चेतनालाई झक्झक्याउने बेला थियो यो । माइकेल एन्जेलो जस्ता प्रसिद्ध मूर्तिकारले पनि पूर्ण कदका नग्न मूर्तिहरु बनाए ।” उनी एक छिन रोकिए ।

उनले प्रकृति र पशुहरुको उदाहरण दिँदै थपे– “पशुहरु नग्न नै हुन्छन् त्यसैले ती प्राकृतिक स्वभावमा हुन्छन् । नग्नता प्रकृतिको रुप हो । पहिरन र सजावट कृत्रिमता र आडम्बर हो । कृत्रिमताले मानिसलाई सन्तुष्टि दिन सक्दैन । त्यसैले सधैँ प्राकृतिक र नाङ्नो सत्य हेर भन्ने यी नग्न चित्र र आकृतिहरुको सार अर्थ हो ।” ती कलाकारको सत्यता र नग्नताको सम्बन्ध बारेको गहिरो व्यख्या सुनेर मेरो मन हल्का भयो । हामी कृत्रिमतामा सुन्दरता खोज्दा रहेछौँ । उनीहरु प्राकृतिकतामा सुन्दरता देख्दा रहेछन् । फरक यही रहेछ । दुवैले खोजेको भने एउटै कुरा रहेछ ।

उनले फ्रेन्च भाषमा हामीतिर फर्कंदै फेरि केही कुरा भने । म ट्वाल्ल परेर हेरिरहेँ, सुनिरहेँ । मेरी साथीले अनुवाद गर्दै भनिन्– “नग्न हुन नसक्नाले र सत्य बोध गर्न नसक्नाले हामी सहज व्यवहारमा रमाउन सकेनौँ । मानिसको कामुकतामा यही पहिरन मुख्य छ । पश्चिमले निकै पहिले पहिरनलाई भन्दा नग्नतालाई स्वीकार गर्यो । त्यसले यौनमा स्वाभाविकता ल्यायो । पूर्वमा त्यसलाई स्वीकार गरिएन दमनमा जोड दिइयो । संयममा रहन भनियो । नग्नताको अनुभव नगरीकन दमन गरिएको काम वासनाले कैयौँ योगी र महर्षिहरुलाई दुःख दिइरह्यो । त्यसैले पश्चिममा गिर्जाघरको बाहिर ढोका र टुँडालमै नग्न चित्र र मूर्तिहरु स्थापना गरिए । जसले त्यो नग्नताबाट आफू भित्र पसिसकेको र अप्रभावी भएको अनुभव गर्छ त्यसले मात्र सत्य थाहा पाउन सक्छ । यसको सांकेतिक अर्थ यही हो । त्यही कुरालाई बुझेर पाश्चात्य देशमा यौनको वर्जना गरिएन त्यसलाई स्वीकार गरियो ।” नग्नताको लामो दार्शनिक पक्ष प्रष्ट पारे उनले । उनको उत्तरले मलाई पेरिसमा किन नग्न मूर्तिहरु बनाइए भन्ने यथार्थको जानकारी दियो । यसका साथै मलाई हाम्रो ब्रह्मचर्यको धारणालाई पश्चिमले कसरी हेर्दोरहेछ भन्ने पनि थाहा भयो । हामी दमन खोज्दा रहेछौँ उनीहरु त्यसको उपयोग खोज्दा रहेछन् । त्यही बुझेर ओशोले सहज निकास र उर्जा जागृतिका लागि यौनको प्रयोग बारे प्रष्ट्याउन खोज्नु भयो । त्यसलाई पश्चिमाहरुले अलिअलि बुझ्न खोजे हामीले अझै पचाउन सकेका छैनौँ ।
हुनतः हाम्रो पूर्वीय परम्परामा पनि कामसूत्र, कामदेव आदिका कथा र व्याख्याहरु नभएका होइनन् । तर तिनलाई सहज वहसमा ल्याइएन । बर्जित बिषय ठानियो । पूर्वीय देशहरुमा नग्न मूर्तिहरु धेरै पछि मात्रै आएर बनाउन थालियो । भारतको खजुराहोको मन्दिरका नग्नमूर्तिहरु ई.सं. १०५० तिर बनाइएको मानिन्छ । हाम्रो देशका टुँडालहरुमा नग्न आकृतिहरु पनि त्यही अर्थमा कँुदिएका हुन् । ती मल्लकालीन मात्रै भेटिन्छन् । साँचो अर्थमा मानिसलाई, सत्यलाई बोध गर्न आफूलाई नग्न रुपमा उभ्याउने, नग्न देखिने हिम्मत गर्नैपर्छ । सुन्दरताको वास्तविक रुप सृङ्गारमा हुँदैन । अध्यात्ममा सत्य बोधका लागि अनेक व्यक्तित्व लिएर बाँचेको मानिसलाई व्यक्तित्वरहित सामान्य मानिसमा परिणत गर्ने प्रयास गरिन्छ । आफूभित्र अनेक भ्रम र पर्दाहरु पालेर र धारणाका पहिरनमा बेरिएर सत्यबोध गर्न सकिँदैन भन्ने योगको मान्यता छ । त्यसैले योगले मानिसलाई अहंकाररहिततामा ल्याउने प्रयत्न गर्दछ ।

पाश्चात्य गिर्जाघरका ढोका बाहिर होस् वा टुँडाल सबैतिर मान्छेका नग्न मूर्तिहरु राखेको देखिन्छ । नग्न हुँदा मानिसको आकर्षण शरीरप्रति कम हुन्छ । त्यसैले बर्टेन्ड रसेल भन्छन्– “जतिजति हामी पहिरनले हाम्रो आकृतिलाई ढाक्छौँ त्यतित्यति त्यो रहस्यमय बन्छ र उत्तेजना सिर्जना गर्छ । ढाकिएको देखेपछि मानिस नग्न हेर्न लालायित हुन्छ । नग्न नै देखिएपछि त्यहाँ अकर्षण नै हुँदैन । आकर्षण हराएको नग्नतामा पुनः आकर्षण भर्नका लागि फेरि छोप्नु, ढाक्नु पर्छ । ढाकिएपछि फेरि त्यसले मानिसलाई आकर्षित गर्छ ।” यस्तो छ मान्छेको मनोविज्ञान ।

पेरिसका नग्न मूर्तिहरुले यही मानिसको आत्यन्तिक सत्य बताइरहेका छन् । आत्यन्तिक सत्य जहिले पनि नाङ्गो नै हुन्छ । नाङ्गो हुन सक्नु भनेको सत्यसँग नजिक हुनु हो । तथ्य बोध गर्नु हो । शताब्दीयौँदेखि मानिसको सुन्दरताको यथार्थ बुझाउने र रहस्यका भ्रम र पर्दा खोल्न नग्न हुने सामथ्र्य भएका ती पाश्चात्य कलाकारहरुको समृद्ध चेतनालाई श्रद्धासुमन । dhirbhandari@yahoo.com


No comments:

Post a Comment