Sunday, March 16, 2014

हराएको विलासपुर

समकामयिक राजनीति र प्रशासनको एउटा विसंगत चित्र, कथामा ।
विलासराज कार्कीका हजुरबा देशमुख कार्कीले श्री ३ चन्द्र समशेरको बक्सिसबाट नेपालभारत सीमाना नजिकै पर्ने विलासपुरमा रहेको २० बिगाहा जग्गा बिर्ता पाएका थिए । कारण थियो चन्द्र समसेरको इमानदार चाकरी । देशमुख कार्कीको चाकडीबाट साह्रै कृतज्ञ भएका चन्द्र समसेर देश दौडाहामा गएकाबेला धनकुटाका बडाहाकीम सरदार ज्योतिराज पाण्डेलाई आदेश दिएका भरमा देशमुखले त्यो सुन्दर धानखेत उनको नाममा भोगचलन गर्ने गरी पञ्जापत्र पाएका हुन् भनेर गाउँका बुढापाकाले भनेको सुनियो । तिनै देशमुखका नाति विलासराज कार्कीका साथी थिए– धर्मनाथ पौडेल । धर्मनाथ पौडेल जिल्लाको सिडिओ भएर आए । विलासराज कार्की सिडिओ साथीसँग भेट गर्न सिडिओ कार्यालय पुगे । धर्मनाथले बडो खातिरदारी गरेर भलाकुसारी सोधे । विलासराज कार्की धर्मनाथको व्यवहारबाट कृतकृत्य भयो । विलासराज सिडिओकहाँबाट फर्केर आएको तीन दिनपछि गोरखापत्र दैनिकमा अग्रपृष्ठमा एउटा ठूलो आकारको सूचना छापियो । सूचनाको व्यहोरा यस्तो थियोः

श्री ३ चन्द समसेरको निगाहले तत्कालीन पूर्व २ नं. र हालको मोरङ जिल्ला अन्तर्गत पर्ने विलासपुरका विलासराज कार्कीको २० बिघा जग्गा र त्यसको वरपरका अरु केही जग्गाहरु समेत अन्दाजी २५ बिघा जग्गा एकाएक नक्शासहित हराएको छ । उक्त जग्गा खोजतलास गरी पत्तालाउन सहयोग गर्ने महानुभावलाई उचित पुरस्कार दिइनेछ । कथम्कदाचित् जग्गा फेला नपरेमा त्यसको जिम्मेवार सरकारका जिल्लास्तरीय प्रतिनिधि सिडिओ धर्मनाथ हुनेछन् । 

यो सूचना कसले निकालेको हो भन्ने संकेतका लागि पुछारमा– विलासराज कार्की, विलासपुर, मोरङ लेखिएको थियो । 

यसभन्दा अघि पनि बेलाबेलामा देशको ठाउँठाउँबाट जग्गा गायब भएका खबरहरु त पढ्न पाइन्थ्यो तर गोरखा पत्रमा सूचना निकालेर खोजतलासको प्रयास भएको भने यो पहिलो थियो । गोरखा पत्रको त्यो सूचना पढेपछि जग्गा पत्तालगाउन आउने मानिसहरुको भीड विलासपुरमा जम्मा हुनथाल्यो । मनौलानौला अनेक मानिसहरु विलासपुरमा फैलिए । सिडिओ धर्मनाथले विलासराजलाई हातेफोनबाट सम्पर्क गर्न खोजे । सम्पर्क गर्दा– अहिले सम्पर्क हुन सकेन कृपया पछि सम्पर्क गर्नुहोला भनेर नेपाल टेलिकमको कम्प्युटरले जानकारी गरायो । सूचना चाहिँ एउटी महिलको मीठो स्वरमा नेपाली र अङ्ग्रेजी भाषामा थियो । सिडिओले जमीन खोजी गरी सत्यतथ्य बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा लेखी पठाए । जिल्ला प्रहरी कार्यालयमा चिठ्ठी पठाउँदा गोरखा पत्रको सूचनाको फोटोकपी पनि सँगै पठाइयो । 

विलासराजको त्यति धेरै जग्गा कसरी गायब भयो ? विलासराज कार्की एकाएक कसरी सम्पर्क बाहिर भए ? सिडिओलाई यो बिषय अत्यन्त गम्भीरजस्तो लाग्यो । चिनजानका साथी पनि भएकाले उनी खोजीकार्यमा निकै सक्रिय भए । अप्रत्यक्ष तथ्यहरु खोज्नका लागि गोप्य रुपमा जासुसी संयन्त्र पनि परिचालित गरे ।  सिडिओको सक्रियता बिशेष थियो यो केशमा । 

नेपाल–भारतको सीमाना नजिक भएका जग्गाजमिन रातारात हराएर कहिलेकाहीँ मानिसहरु राति सुत्दा एउटा देशमा र बिहान उठ्ता अर्कै देशमा हुनेगरेको अनुभव धेरै गाउँले र खोजकर्ताहरुसँग थियो । यो पनि त्यस्तै घटना होला भन्ने अनुमान लगाए खोजकर्ता र रैथाने दुवैथरिले । पूर्वतिर र पश्चिमतिर त्यस्ता निकैवटा घटनाहरु भइसकेका भए पनि मोरङको यो घटना अलि नौलो थियो । किन विर्ता दिएकै जग्गा हरायो ? किन चन्द्र समसेरसँग जोडिएकै जग्गा चाहिँ हराउनु पर्ने ? मानिसहरुका मनमा प्रश्न उम्रिए, उत्तर उम्रन सकेन । रहस्यका झारहरु पलाए । 

करिब ८५ वर्षनाघेका ज्योतिष बिष्णुप्रसाद जैसीकहाँ केही मानिसहरु जमिन पत्ता लाग्छ कि भनेर आर्जे हेराउन पुगे । ज्योतिष विद्या र धामी विद्या दुवैका जानकार बिष्णुप्रसादले आँखीभुईं फुलेर सेतै भइसकेका चिम्रा आँखा एक साथ आकास र जमिनतिर फर्काए । हातका औला गन्दै नसुनिने भाषमा केही बोले । मनमनै निकैथोक भनेकोजस्तो थियो उनको अनुहार । सुन्नेले केही सुनेन् । निकैबेरपछि उनी बोले– यो जमिन दक्षिण दिशामा जाने सम्भावना देखियो । चाँडै खोजी गर्न सकिएन भने नभेटिन सक्छ । चाँडोभन्दा चाँडो भएभरको शक्ति र बुद्धि दुवै लगाएर खोजी गर्नू, नत्र फेला पार्न मुस्किल छ । अर्काको हातमा परेपछि यो जमिन फर्काउन कठिन छ । 

बिष्णुप्रसादको आर्जे हेराइले गाउँमा अझ अन्योल थपियो । सिडिओ धर्मदासको नाम पनि मुछिएर सूचना जारी भएकाले उनी यो जमिन खोजी कार्यमा बिशेष सक्रिय हुन थाले । शान्तिसुरक्षा र देशको भू–भागको बिषय भएकाले सूचना पढेपछि गृहमन्त्रालयले पनि सिडिओ धर्मदासलाई– सत्यतथ्य पत्तालगाई तुरुन्त सरकारसमक्ष प्रतिवेदन पेश गर्नू भन्ने आदेश दियो । 

देशको यति ठूलो भूभाग हराएको सूचना निस्केकाले देशभरका पत्रकारहरु, खोजकर्ताहरु विलासपुरमा जम्मा भए । सूचना निस्केको भोलिपल्टदेखि नेपाल र भारतका सबैजसो मुख्य टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरी घटनालाई विश्वव्यापीकरण गरे । जेसुकै भएको भए पनि विलासपुरको २० बिघा विर्ता र त्यसको आसपासका केही जग्गाको खोजखबर हुन सकेन । विलासराज कार्की पनि गायब भएको भयै भए । खोजी कार्य निरन्तर चलिरह्यो । 

विलासराज कार्कीकी श्रीमतीलाई अनेक सोधखोजवालाहरुले प्रश्न सोधेर वाक्क पारेकाले शान्ति भङ्ग भएकाले मलाई एकान्तबासको व्यवस्था मिलाई पाऊँ भनी जिल्ला प्रशासन र प्रहरीमा उजुरी दिन पुगिन् । हिजोसम्म देशका कुनै नागरिकले नाम पनि नसुनेको विलासपुर एकाएक संसारभरका सञ्चार माध्यमहरुको मसला बन्यो ।  देशभित्र र विदेशका सञ्चार माध्यमहरुका प्रतिनिधि, अनुसन्धानकर्ता, प्रशासक, प्रहरी सबै विलासपुरको त्यो सानो भूभागमा ओइरिए । विश्वकै आकर्षणस्थर भयो विलासपुर । मानव इतिहासमा नक्शा र जमिन दुवै गायब हुनु एक अनौठो घटना भएकाले पनि त्यो आकर्षणको बिषय बन्यो । आखिर विलासपुरको त्यो जमिनको खुटखबर लाग्न सकेन । 

श्रीमान् नापी कार्यालय प्रमुख 
नापी कार्यालय मोरङ ।
बिषयः हराएको जमिन र नक्शा खोजी गरी पाउँ । 
उपरोक्त सम्बन्धमा मेरो घरपरिवारले पैतृक सम्पत्तीका रुपमा सयौँवर्षदेखि भोगचलन गरी आएको २० बिघा जमिन यसै हप्ता एकाएक नक्शासहित हराएकाले साविक नक्शा खोजी उक्त नक्शाअनुसार मेरो जमिन छुट्याई पाऊँ । जग्गा नभेटिएमा सोको जिम्मेवारी यस नापी कार्यालय र नेपाल सरकार हुनेछ । आवश्यक छानबिन गरी जग्गा कायम गरी पाउँ । 
निवेदिक
मृतिका कार्की
मितिः २०७० साल श्रावष १५ गते । 
बोधार्थः सिडिओ धर्मनाथ पौडेल, सिडिओ कार्यालय मोरङ ।

विलासराज कार्कीकी श्रीमती मृतिका कार्कीले नक्शा सहित आफ्नो धनहर खेत गायब भएकोमा खोजी गरी जमीन पत्ता लगाइ दिन विलासराजको नामको जग्गाधनी पुर्जाको छायाप्रति राखेर नापी कार्यालय मोरङमा निवेदन पेश गरिन् । श्रीमती कार्कीको निवेदन यस्तो थियोः

बिषयः जानकारी गराएको । 
श्रीमती मृतिका कार्की
विलासपुर गा.वि.स. वडा नं. २, विलासपुर । 
तपाईंको निवेदन प्राप्त भयो र व्यहोरा अनुसार खोजी कार्य पनि गरियो । नयाँ नक्शामा उक्त जग्गा गायब भएको देखियो । साबिक पुरानु नक्शा खोज्न र के भएको हो छानबिन गर्न समय लाग्ने भएको छ । जग्गा खोजी गर्नका लागि आवश्यक बजेटको अभाव भएकाले नेपाल सरकारसमक्ष लेखी पठाइएको छ । यस बर्षको बजेटबाट स्थलगत अध्ययन गर्न बजेट नपुग्ने देखियो । तपाईंका कानूनी सहयोगीलाई सम्पर्क गरी हेर्दा तपाईंबाट कानूनी कार्य बाहेक जग्गा खोजबिन गर्नका लागि अन्य रकम छोडेको पनि पाइएन । अतिरिक्त भत्ता नभई सर्वसाधारणको काम गर्न कर्मचारीहरुलाई असुविधा हुने हुँदा अतिरिक्त भत्ताको व्यवस्था भएपछि मात्र खोजी कार्य तीव्र पारिनेछ । यस पत्रको व्यहोरा चित्त नबुझेमा माथिल्लो निकायमा सम्पर्क गर्नुहोला । 
परमनाथ झा
कार्यालय प्रमुख 
सन् २०१४ अप्रिल १५

निवेदन परेको केही दिनपछि नापी कार्यालय मोरङका हाकिम परमनाथ झाले मृतिका कार्कीका नाममा एउटा पत्र पठाए । पत्रमा उल्लिखित व्यहोरा यस्तो थियोः

नापी कार्यालय मोरङको पत्र पाएकै दिन विलासपुरको आकाशमा हुलकाहुल चिल र गिद्धहरु देखा परे । ती चिल र गिद्धहरु अत्यन्तै असाधारण थिए, कहिल्यै नदेखिएका । उनीहरुको उड्ने तरिका र खाने चारो पनि बिचित्रको थियो । गिद्धहरु साह्रै शक्तिशाली थिए । चिलहरु चाहिँ उनीहरुका पछौटे थिए । उनीहरु सबै हेलिकोप्टरमा सवार थिए । सैनिक विमानहरुले उनीहरुलाई पहरा दिएर उडिरहेका देखिन्थे । एकाएक गिद्धहरुका आगमनले गर्दा कुनै युद्ध मैदानजस्तो भयो त्यो विलासपुर गाउँ । 

गिद्धहरु अत्यन्त भयानक र डरलाग्दा भए पनि रमिता हेर्नका लागि गाउँलेहरु जम्मा भए । विस्तारै हेलिकोप्टरमा सबार ती गिद्धहरु विलासपुरमा अवतरण भए । हेलिकोप्टरहरुको निकै लामो लाइन लाग्यो खालि चउरमा । गिद्धहरुको अनुहार हेर्दा कोही हाम्रा पौराणिक दैत्यराज महिषासुर, शण्डमुशण्ड अनि रावणजस्ता थिए भने केही चाहिँ ड्राकुला, डाइनोसार, चंगेज खाँ, स्टालिन, हिटलर, मुसोलिनी, रेगन र बुसजस्ता थिए । केही भने हाम्रै नजिकका छिमेकी ‘दादा’ पण्डित नेहरुजस्ता पनि थिए ।

सबै गिद्धहरु अत्यन्त भोकाएका रहेछन् । जमिनमा अवतरण गर्ने बित्तिकै उनीहरुले आ–आफ्नो सिकार भएका पोकाहरु खोले । उनीहरुले ल्याएका सिकारका पोकाहरु खोल्नासाथ ती पोकाका सिकारहरु पनि एकाएक उठे र विस्तारै फैलिँदै गए । गाउँलेहरुको प्रत्यक्ष अनुभव अनुसार ती सिकारहरु कोही मेचीनगरको जमिनका चोक्टाजस्ता थिए भने कोही चाहिँ भद्रदुरको मेचीपुल नजिकको जमिनको आकारका थिए । सुस्ता, महेशपुर र तिंकरजस्ता पनि थिए भन्ने उनीहरुको अडकल थियो । नक्शाको चोक्टाहरु कसरी तिनका सिकार भए भनेर गाउँलेहरुले मुखामुख गरे । पत्तालाउन भने सकेनन्  । कसरी ती गिद्धहरुका सिकार नक्शाको चोक्टाजस्ता देखिएका हुन् भनेर गाउँलेहरु बेलुका भेला भएर छलपल पनि गरे । टुंगो भने केही लाग्न सकेन ।

रातभर गिद्धहरु विलासपुरको गायब भएको जमिनको टुक्रा भएकै टाउँमा त्रिपाल टाँगेर बसे । सिकारहरु जीवित भएर उठेकाले गिद्धहरुका लागि हेलिकोप्टर चालकहरुले शहमा गएर अर्कै चारो ल्याए । त्रिपाल भोज गरे उनीहरुले त्यस रात । भोलिपल्ट बिहान फेरि गाउँलेहरु जम्मा भए गिद्ध निवास नजिकै । गिद्धहरु गाउँलेहरु देखेर खुब नाचे । नेतृत्व लिने केही अगुवा गिद्धहरु उफिउफ्री नाचे अरुले सार मिलाए । गाउँलेहरु गिद्ध नाचमा कृतकृत्य भए । कति रमाइलो नाच नाचेका गिद्धहरुले भने तरुण र तन्नेरीहरुले, महिलाहरु लजाएरै भए पनि अलि पछि बसेर हेरे, बुढाहरुले भने लाज नभएकाहरु भनेर कमेन्ट गरे । 

विलासराजकी पत्नी मृतिका कार्कीले आफ्नो जमिन गायब पार्ने गिद्धहरु यिनै हुनपर्छ भन्ने अनुमान लगाउन अलिकति पनि ढिलो गरिनन् । भर्खरै उनलाई प्राप्त नापी कार्यालयका हाकिम परमनाथ झाको पत्र बाचन गरेर सबैलाई सुनाउन आफ्नै देवर इन्द्र कार्कीलाई अह्राइन् । भाउजूको आदेशले इन्द्रले त्यो वाचन गरे । सिडिओ धर्मनाथ पनि विलासपुरमा विचित्रका गिद्धहरु देखिएका छन् भन्ने सुनेर भीड छिचोल्दै आइपुगे र टुसुक्क छेउमा बसे । 
धर्मनाथको आगमनले गिद्धहरु अलि सशंकित भएजस्ता देखिए । सिडिओको अदबले गर्दा गिद्धका सिकारहरु पनि आ–आफ्नो नक्शाका आकारमा घुसेर साखुल्ले हुन खोजे । गिद्धहरुको प्रमुखजस्तो देखिने एउटा गिद्ध अनायास भाषण गर्नथाल्यो– हेर्नुस् गाउँले दाजुभाइ दिदीबहिनीहरु, तपाईंहरुको जमिन हराउने यो अवस्था आउनु हुने थिएन । यो देशको ठूलो र गम्भीर घटना हो । यसको छानबिन गरी तथ्य पत्तालगाउन हाम्रा सिडिओ धर्मनाथ अहोरात्र लागिरहेका छन् । तपाईंहरुको समस्या हामी काठमाडौं फर्केर गएपछि यथासक्य चाँडो समाधानको प्रयास गर्नेछौँ । केही प्राविधिक कारण रहेछ भने त्यसरी नक्शा गायव गर्नेहरुउपर कडा कारवाही हुनेछ । तपाईंहरु ढुक्क हुनुहोस् । जमिन हराए पनि मानिस सही सलामत हुनुहुन्छ । त्यसमा तपाईंहरु गर्व गर्नुहोस् । ज्यान भएसम्म सम्पत्ती भनेको हातका मैला हुन् । यो जमिन भेटिएन भने हामी त्यसको बदलामा अरु जमिन उपलब्ध गराउने छौँ । यसमा हामीलाई विश्वास गर्नुहोस् ।

यति भनिसकेपछि गाउँलेहरु हँसिला भए । यी गिद्धहरु वास्तवमै दयावान् रहेछन् भन्ने अनुमान गरे । विष्णु भगवान्का वाहन गरुडराज सम्झेर उनीहरुले लामबद्ध भएर चरण स्पर्श गरे । मृतिका कार्कीलाई त्यो कुरा सुनेर खपिनसक्नु भयो । गाउँलेहरुको गिद्धभक्ति देखेर त उनलाई वाक्वाकी नै लागेर आयो । उनले गिद्धहरु चढेर आएका हेलिकोप्टरहरु कब्जा गर्न र ती गिद्धहरुको दलबललाई घेराबन्दी गर्न आदेश दिइन् । गाउँलेहरुले रमाइलो मानेर हेलिकप्टरहरु र गिद्धहरु सबैलाई घेराबन्दी गरे । 

उड्नका लागि तयार पारिएको गिद्धवाहन कब्जामा लिएपछि गिद्धहरु एकापसमा मुखामुख गर्न थाले । आफू बन्धक बन्नु परेकामा एकअर्कालाई दोष लाउन थाले । गिद्धराज जसले एकछिन अघि लामो भाषण गरेको थियो उही घेराबन्दीमा परेपछि गाउँलेहरुले उसलाई छुट्टै ठाउँमा घेराबन्दी गरे । आफैँ घेराबन्दीमा परेपछि उसले सत्य ओकल्ने विचार गर्यो । भन्यो– तपाईंहरुको जमिनको नक्शा गायव गर्ने हाम्रो मनशाय त थिएन तर यो हाम्रो बाध्यता आइपर्यो । साह्रै लोभिएको छिमेकी गिद्धराजको प्रभाव र दबावमा हामीले यसको सिकार गर्न बाध्य भएका हौँ । यसो नगर्दा हामीहरु यो सिकार कार्यमा कावाखान र हेलिकोप्टर चार्टर्ड गरेर देशाटन गर्न नपाउने अवस्था भयो । यसका लागि तपाईहरुको यो सानो चोक्टो उसलाई आहारा बनाइ दिन राजी भएका हौँ । मेरो यसमा जति दोष छ त्यति दण्ड दिनुहोस्, ज्यानबाट चाहिँ हात धुनुपर्ने अवस्था नआओस् । यति मलाई दया राखिदिनुहोस् । 

गिद्धराजको यो अनुनयविनयपछि गाउँलेहरुको मन पग्लियो । तर मृतिका कार्कीको आदेशमा कुनै फेरबदल भएन । उनी एकाएक खड्ग लिएर दुर्गास्वरुपमा प्रकट भइन् । गिद्धहरु आहारा बनाउन पाउनु हाम्रो भाग्य हो अब यिनीहरु सबैलाई हामीले भोजन बनाउनु पर्छ र यिनको पेटमा पुगेको जमिनलाई पनि बन्धक अवस्थाबाट मुक्त गर्नुपर्छ । रक्तकाली रुपमा मृतिका बोल्न थालिन् जिब्रो लपलपाउँदै । गाउँलेहरु डर र त्रासले एकैडल्लोजस्ता भए । गिद्धहरुलाई घेराबन्दीमा नै राखेर उनीहरु देवी दुर्गाको आदेशमा प्रतिक्षातरत भइरहे । 

गिद्धराजलाई पेटभित्र परेको आहारा ओकल्नु न निल्नु भयो । असह्य पीडामा परेको गिद्धराजले अब सत्य ओकल्ने विचार गर्यो । गिद्धहरुको समूह पक्ष र प्रतिपक्षमा विभाजित भयो । गिद्धराजको पक्ष र विपक्षमा गिद्धहरु स्वयम् झगडा गर्न थाले बन्दीगृहमै । गिद्धराजका विपक्षी गिद्धहरु भन्न थाले– यो काम यिनै गिद्धराजले गरेका हुन् । यिनकै निर्णयले यो सब कष्ट तपाईंहरुले व्यहोर्नुपर्यो । यसका कारण यिनै हुन् । मलाई सत्तामा पुर्याइदिनुस् म तपाईहरुलाई पनि आहारा पुर्याउँछु, म पनि पेट भर्छु भने । त्यसैले हामीले सहमती दियौँ । तपाईंहरु यतिका मान्छेहरुलाई असुविधा पुर्याउने काम यिनले गर्ने छैनन् भन्न्े हाम्रो विचार फेल भयो । हामीलाई निर्दोष मानेर छोडिदिनुहोस् । हाम्रो ज्यान नलिनु होस् । बरु हामी यिनको साथ छोड्न र तपाईंहरुको जमिनका लागि सङ्घर्ष गर्न केही समय तपाईंहरुसँगै हुनेछौँ । 

गिद्धहरुको यस्तो आर्तनाद सुनेर गाउँलेहरु पनि धर्मसङ्कटमा परे । दुर्गा उर्फ मृतिकाले गाउँलेहरु पग्लिँदै गएको थाहा पाएर भनिन्– तपाईंहरु फेरि गल्ती गर्नेतिर नलाग्नुस् । यिनीहरु विश्वासयोग्य देखिएनन् । यिनलाई बाहनहरु कब्जामा राखेर छोडिदिउँ वाहन चाहिँ नछोडौँ । उड्न पाएनन् भने हामीले यिनलाई पक्डेर फेरि कारवाही गर्न सक्छौँ । साँचो हाम्रै हातमा राखौँ । सबै साँचो मलाई दिनुहोस् । म यिनको निगरानी गर्छु । 
गिद्धराजको विपक्षमा रहेका गिद्धहरु फेरि बर्बराउन थाले– हामीले त यसअघि नै नक्शा र जमिन खाँदाखाँद र हेराफेरि नगरौँ भनेर पहिल्यै भनेको हो । यही गिद्धराजले गर्दा हामी समेत अप्ठ्यारोमा पर्यौँ । गिद्धहरु यति भन्दै धुरुधुरु रुन थाले । गाउँलेहरु तिनीहरु रोएको देखेर फेरि द्रवित भए । 

गिद्धहरु रोइरहेको समयमा विलासराज कार्की प्रकट भए अनायास । धर्मनाथको अनुहार उनलाई देखेर उज्यालो भयो । धनको पत्ता लाग्न नसके पनि ज्यानको पत्तालाग्न सकेकोमा उनी खुसी भए । धर्मनाथले गिद्धहरुको आगमन, मृतिकाको निर्णय, गाउँले र गिद्धहरुबीचको वादविवाद सबै कुरा विलासराजलाई सुनाए । एक छेउमा बसेर दुवैजनाले गम्भीर छलफल गरे, निकासका बिषयमा । 

गिद्धहरुले जमिन खाएको देखेर उनीहरुका हिजो चुनावमा सहयोग गर्ने भोटहरु पनि जुर्मुराएर आइपुगे । भोटहरु घटनास्थलमा आएको देखेपछि गिद्धहरु कोही हँसिला र कोही निन्याउरा भए । भोटहरुले भने– तिमीहरुलाई हाम्रो जमिन र नक्सा नै गायब गर्न भनेर हामीले साथ र सहयोग गरेका थिएनौँ । भोटहरु कड्किए । भोटहरु कड्किएपछि सबै गिद्धहरु अल्याकलुलुक भए । नौनारी गलेका बिरामीजस्ता भए गिद्धहरु । दुई पक्षमा बाँडिएका गिद्धहरु अन्तिम आशास्वरुप गाउँले र भोटहरुसँग बिन्ती गर्नथाले– यो कुर्सीको लोभ हाम्रो गिद्ध जगत्मा अत्यन्त हाबी भयो । त्यसैले यो गल्ती भयो । जङ्गलमा राज गरुन्जेल र मानिसले फालेको र मरेका जनावरहरु खाउन्जेल हाम्रो बुद्धि ठीकै थियो । हाम्रो बुद्धि बिग्रेको थिएन । नक्शा र त्यसभित्रका जमिनहरु र जमिनमा गरिने कामहरु भोजन गर्न थालेपछि हाम्रो बुद्धि बिग्रियो । अब एकपटक मौका दिनुस्, हामीलाई बचाउनुस् । 

अरु रिसाएर हामीलाई खासै फरक पर्दैन कृपया तपाईं भोटहरु हुनुभएन भने हाम्रो सास नै रहँदैन । हामीलाई मर्नबाट जोगाउनुस् । हामी अरुको कारवाही सहन्छौँ तर तपाईं भोटहरुको कारवाही भने झेल्न सक्दैनाँ । भोटहरुले चाहिँ कृया हामीलाई घेराबन्दी नगरिदिनुहोला । 

यति भनिसकेर गिद्धहरु गाउँले र भोटहरुका अगाडि डाँको छोडेर रुन थाले । गिद्धहरु संकटमा परेको, घेराबन्दी गरिएको कुरा संसारका संचार माध्यमहरुमा फैलियो । त्यो समाचार सुनेपछि र हेरिसकेपछि हिजोे जमिन गायब पार्नका लागि हौस्याउने गिद्धका मालिक बिष्णु पनि हाजिर भए । उनले गाउँलेहरुको कुरा सुने र आफ्नो थुतुनोको अग्रभागले गायव भएको विलासपुरको जमिनको टुक्रा पातालबाट निकाले र फेरि नक्शामा जोडिदिए । 

आफ्नो भूमि फिर्ता भएको देखेपछि भोट र गाउँलेहरु सबै देवी उर्फ मृतिकासमक्ष प्रार्थनाभावमा भन्न थाले– हे देवी, यी अदनाहरुलाई नथुनौँ । जीवनदान भन्दा ठूलो दान छैन । यिनलाई जीवन दान दिऊँ । हाम्रो भूमि अब कहिल्यै नखोस्न र नक्शाबाट गायब पनि नगर्ने कागज गराएर छाडिदिउँ । भोटहरु र गाउँलेहरु सबै यसमा राजी भए । 

अन्त्यमा विलासराज कार्कीको मन्जुरी लिनुपर्छ, पीडित उनी हुन् भनेर गाउँलेहरु गिद्धहरुलाई बन्धक अवस्थामै राखेर निर्णयका लागि विलासराजलाई भन्न पुगे । विलासराजले परिस्थितिको गम्भीतालाई मनन गर्दै निर्णय सुनाए– मलाई गायब गरेर सम्पर्कविहीन बनाउने र मेरो फर्जी नाममा सूचना निकालेर विलासपुरको नक्शा गायब गर्ने काममा संलग्न सबै गिद्धहरु र यिनका मतियारहरुलाई आगामी चुनावमा उठ्न र सत्तामा पुग्न नपाउने गरी प्रतिबन्धित गरेका छौँ । अब आइन्दा कुनै भोट यिनको पछि लागेको थाहा पाइएमा भोटहरुलाई पनि यही सजाय हुनेछ । यो निर्णय हाम्रा सबै नक्शाहरु पुरानो अवस्थामा सुधार नभएसम्म कायम रहनेछ । त्यसपछि हामी फेरि निर्णय गर्नेछौँ । 
facebook.com/dhirbhandari

विलासराजको निर्णय साथसाथै गिद्धहरुका सबै पखेटाहरु एकाएक गायब भए । पखेटाहरु गायब भएकाले उनीहरु सबै पखेटा नभएका चैत्रबैशाखका धमिराहरुजस्ता भए । गिद्धहरु भन्न थाले– अब हाम्रा उड्ने पखेटाहरु गलेर झरे । हामी यो निर्णय नसच्चिएसम्म पखेटायुक्त हुन सक्तैनौ । कृपया निर्णयमा पुनः विचार गरियोस् । 
गाउँलेहरुले गिद्धहरुका भाषा सुनेको नसुन्यै गरे । गिद्धहरुलाई त्यहीँ छाडेर गाउँतिर लागे । धेरैबेरपछि आकाशमा हेलिकोप्टरहरु उडेको देखियो । गाउँलेहरु भन्छन्– त्यसदिन देखि विलासपुरको गाउँमा गिद्धहरु देखिएनन् । नत कुनै नयाँ चिल र गिद्धहरु आउने हिम्मत गरे । गाउँ गिद्धहरुको त्रास र नाटकबाट मुक्त भयो ।   
  

No comments:

Post a Comment