Monday, December 21, 2015

योगः शरीर, मन र चेतनाको मिलन

यस वर्षदेखि संयुक्त राष्ट्र संघले विश्व योग दिवस मनाउने निर्णय गरेको छ । संसारभर योगका विविध आयामबारे चर्चा परिचर्चा भइरहेका छन् । शास्त्र, प्रचलन, आध्यात्मिक सबै कोणबाट चर्चा चलिरहेका छन् । संचार माध्यमहरु पनि त्यसबाट अछुतो हुन सक्ने कुरै भएन । रेडियो, टिभी देखि पत्रपत्रिकासम्ममा योगबारेका चर्चा सुन्न, हेर्न र देख्न पाइएको छ । योगको साधना गर्ने र अध्ययन गर्नेहरुका लागि यो एउटा अवसर पनि हो र गौरव पनि । 

संसारभर चाहे शरीर घटाउन होस् वा तरोताजा हुन वा तनाव व्यवस्थापन गर्न योग एउटा उपाय हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । शरीरको मोटाइ घटाउन, रोग हटाउन अनि तनाव व्यवस्थापन गर्नका लागि शरीरलाई  आकार र भाव भंगीमामा तन्काउनु, मोड्नु, बटार्नु र श्वास तान्ने र छाड्ने विभिन्न कलाको प्रयोग गर्नु नै योग हो भन्ने बुझाइ छ आम मानिसमा । संक्षेपमा भन्दा योगासन र प्राणायम नै योग का पर्याय भएका छन् । 

खास गरी भारतमा योग गुरु रामदेवले स्वास्थ्य रक्षाका लागि योग अभियानलाई तीव्र बनाएपछि संसारभर योगले पुनः चर्चा पायो । हाम्रो देशका कुनाकुनामा पनि टेलिभिजन हेरेर वा रामदेवको अभियानमा लागेका अभियन्ताहरुले चलाउने योग शिविरमा गएर योगासन र प्राणयाम सिक्नेहरु ह्वात्तै बढे । तर यहाँनेर एउटा गम्भीर प्रश्न छ के हाम्रो योग सम्बन्धी बुझाइ पूर्ण छ ? के शरीर मर्काउनाले र प्राणयामको अभ्यासले मात्र योगको पूर्णावस्था प्राप्त हुन्छ ? के योगले दिने महत् अर्थ र गरिमा त्यति मात्रै हो त ? यसबारे गम्भीर बहस हुनु जरुरी छ योग दिवसको यो घडीमा । 
........................  
आजभन्दा करिव २००० वर्ष पहिले महर्षि पतञ्जलीले भनि दिए– योगश्चित्तवृत्ति निरोध ः । (चित्तका बृत्तिहरु निरोध भएको अवस्था नै योग हो ।) गीतामा कृष्णका मुखबाट वेदव्यासले भने– योगः कर्मसुकौशलम् (कर्मको कुसलता नै योग हो ।)  आचार्यश्री पथिकका शब्दमा– योग चेतनाको विज्ञान हो । अखण्ड जागरणको अवस्था प्राप्ति नै योगको परम लक्ष्य हो ।

योगलाई विविध आयामबाट अथ्र्याउने काम भएको पाइन्छ विभिन्न समयमा । माथि उल्लिखित तीन मनिषीहरुको योगको शाब्दिक पक्ष पनि विविध किसिमको छ । किन भिन्नभिन्न ढंगले परिभाषा गरियो योगको ? जिज्ञाशा उठ्नु स्वाभाविक छ । प्रस्तुत लेखमा यसैबारे चर्चा गर्ने प्रयास हुनेछ । 

के हो योग ?

योग शारीरिक, मानसिक क्रिया मात्र होइन । यो अभ्यास र साधना मात्र पनि होइन । यो परिणाम हो ती सबै क्रियाकलापहरुको । योगको अन्तिम लक्ष्य हो– शरीर, मन र चेतनाको एकीकृत प्रयत्न मार्फत् परिपूर्ण शान्ति र आनन्दावस्था प्राप्त गर्नु । जुन अवस्थामा पुगेपछि मानिस एउटा व्यक्ति मात्र रहँदैन ऊ स्वयं विराट् अस्तित्वको महासागरमा विलय हुन्छ र परमानन्द प्राप्त गर्दछ । यसैलाई आध्यत्मिक भाषामा परमात्मा प्राप्ति भनियो । कसैले यसैलाई पितापुत्रको मिलन पनि भने । कसैले परमानन्द भनेर काम चलाए । यी सबै प्रयत्न त्यो परम अवस्थामा पुग्दा व्यक्त गरिएका काम चलाउ अभिव्यक्ति मात्र हुन् । समग्रमा अनुभूत गर्न त्यसको अनुभूति गर्नै पर्छ । अरुले व्यक्त गरेका कुरा पढेर मात्रै यसलाई बुझ्न र बुझाउन कठिन छ । त्यसैले योगीहरुले आफूले प्राप्त गरेका कुरालाई ‘त्यो’ भनेर अथ्र्याए । नाम दिन सकेनन् । नाम दिने र व्यख्या गर्ने काम शास्त्रहरुका लेखकले गरे । अनुभोक्ताले त्यसलाई व्यर्थ ठान्यो । त्यसैले योग कसैका लागि शारीरिक क्रिया भयो भने कसैका लागि प्राणको अभ्यास अनि कसैका लागि ध्यानको अवस्थामा अनुभूत हुने शुन्यावस्था । त्यसैले अनुभव व्यक्त गर्दा पनि आफू पुगेको अवस्थाको आधारमा व्यख्या गरियो । अन्तिम प्राप्तिमा पुग्नेहरु भने हाँसिरहे । मुस्कुराए । मौन भए । वास्तवमा योग भन्नु त्यही पूर्ण मौनको अवस्था हो जुन अवस्थामा व्यक्ति अनभिव्यक्त आश्चर्यको अवस्थामा उपलब्ध हुन्छ । अभिव्यक्ति गर्ने बाटो र शब्द नै उसले पाउँदैन । 

दुईओटा बाटाहरु

सत्यको खोजका लागि संसारमा दुईओटा बाटाहरु प्रचलित छन्– जीवन र जगत्को बृहत् अध्ययन, अनुभव र चिन्तनद्वारा आफूलाई उच्चतम जागृतिमा पुर्याउने र आफ्नै निजी अनुभव र अनुभूतिद्वारा आफ्नो चेतनाको विस्तार र विकास गर्दै विराटताको अनुभूति मार्फत् सत्यबोध गर्ने र आनन्दावस्थामा स्थिर रहने । पहिलो पक्ष पाश्चात्य फिलोसोफीले अंगिकार गरेको बाटो हो भने दोस्रो चाहिँ पूर्वीय योगको । फिलोसोफीमा चिन्तनको प्रधानता रहन्छ, बुद्धिको प्रधानता रहन्छ भने योगमा चाहिँ स्वयंको खोजको । आफ्नै अनुभूतिबाट सत्य पत्ता लगाउने काम हुन्छ योगमा । जबसम्म व्यक्तिले आफ्नै साधना र अनुभूति मार्फत् परम सत्यको बोध गर्दैन तबसम्म उसका तर्क, अनुभव र बुद्धिको सीमितता रहिरहन्छ भन्ने योगले मान्दछ । त्यसैले पूर्वीय उपनिषद्हरुले व्यक्ति चरम जागृति वा सत्यबोधको अवस्थामा पुगेपछि आश्चर्यको अवस्थामा पुग्छ र मौन हुन्छ भनिदिए । बृहत् तत्वसँग एकाकार भएर विलय हुने अवस्थामा पुर्याउने बाटो नै वास्तवमा योग हो । यस अर्थमा यो सत्यसम्म पुग्ने र सत्यको अनुभूतिगर्ने एउटा माध्यम हो, आत्मासाक्षत्कारको एउटा विज्ञान हो ।

त्यसो हो भने सत्यबोधको यात्रा कसरी हुन्छ त योगमा ? योगको सुरुआत हुन्छ जिज्ञाशाबाट । जब म जान्दिनँ भन्ने ठानिन्छ तब नै खोज हुन्छ । जब जान्नुपर्छ भन्ने बोध हुन्छ तब नै जान्नु पर्ने चीजको खोजी हुन्छ । खोज्नका लागि आवश्यक हुन्छ जिज्ञाशा । जिज्ञाशा उठेपछि या त आफैँले अनुसन्धान शुरु गर्नु पर्यो या त अरु कसैको निर्देशनमा खोज गर्न थाल्नु पर्यो । त्यसका लागि केही अनुशासित अभ्यास आरम्भ गर्नु पर्दछ चित्तबृत्ति सुधारका लागि । त्यसैले पहिलो खुट्किलो हो आत्मानुशासनको आरम्भ । यसको सुरुआत हुन्छ यम  र नियमबाट । यस चरणमा व्यक्ति के सही हो के गलत हो भन्ने कुरा खोज्दै, जान्दै आफैँभित्रको चेतना विकसित गर्न सुरु गर्दछ । के गर्ने, के नगर्ने, के खाने के नखाने आदि कुराहरु आफ्नै अनुभूति र अनुभवबाट छुट्याउँदै जान्छ । मानसिक रुपमा आफूलाई तयार गर्दै जान्छ । यसो गर्दा प्रथम चरणमा उसलाई आफ्नो शरीरबारे ज्ञान हुन थाल्छ । शरीरलाई कस्तो भोजन, आराम र व्यायाम दियो भने यसले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सहयोग पुर्याउँदो रहेछ भन्ने बुझ्दै जान्छ । त्यसका लागि उसले शुरु गर्नुपर्छ योगासनको अभ्यास ।

शुरुमा शरीरबारे नै आफूलाई थाहा रहेनछ भन्ने ज्ञान पाउँछ साधकले । शारीरिक शुद्धि र स्थिरताका अभ्यासहरु सुरु गर्दछ । यो योगको तेस्रो चरण हो । शरीर धर्म र गुण अनुसार भोजन, आहार र व्यामको व्यवस्थापनको कला मार्फत् ऊ योगको यात्रामा बढ्दै जान्छ । त्यतिबेला उसले गहिरोसँग शरीरको संरचना, भोजन र सोचाइले कसरी सत्यबोधको यात्रामा असर पार्दा रहेछन् भन्ने थाहा पाउन थाल्छ । 

अहिले योग केन्द्रहरुले मानिसलाई शरीर मर्काउन र श्वासको व्यायाम गर्न त सिकाएका छन् तर योगानुशासन कसरी कायम राख्ने, आहारविहार र आत्मचेतनाको विकासको यात्रा कसरी भइरहेको छ भनेर कसरी जान्ने यो कला भने कमैले प्राप्त गरेको देखिन्छ । आत्मानुभूति र आत्मनिरीक्षणको कलाबिनाको शारीरिक व्यायामले योगको यात्रा अघि बढ्न सक्तैन । त्यसका लागि फेरि आवश्यक हुन्छ प्राणशक्तिको विकास । प्राण शक्ति हाम्रो श्वाससँग मिलेर रहेको हुन्छ । त्यसैले योग साधनाको अर्को महत्वपूर्ण पक्ष हो प्राणायाम । 

शारीरिक अभ्यासद्वारा शरीर त शुद्ध भयो तर भाव र भावनामा परिष्कार भएन भने त्यसले हाम्रो चित्तवृत्तिलाई परिष्कार गर्न र निरोध गर्न सघाउ पुर्याउँदैन । मानसिक शान्तिको अवस्थातिर बढ्न सकिँदैन । मानसिक छटपटीको अनुभव साधकमा भइरहन्छ । जबसम्म प्राणशक्ति बलियो हुँदैन तबसम्म हाम्रा तनाव र छटपटी चलि नै रहन्छन् । श्वासको अवस्था र मानसिक अवस्थाको गहिरो सम्बन्ध छ । धिमा श्वासले शान्ति दिन्छ भने तीव्र श्वासले अशान्तिको संकेत गर्छ । त्यसैले मनको स्थिरताको लागि प्राणशक्ति साधनाको आविष्कार गर्यो योग विज्ञानले । 

योगको चौथो चरण हो प्राणयाम । श्वासलाई गहिरोसँग तान्ने, रोक्ने र छोड्ने अभ्यासबाट मनलाई नियन्त्रण गर्न सजिलो हुन्छ । श्वासमा ध्यान केन्द्रित गर्नासाथ मन अन्यत्र भाग्न पाउँदैन । यसले सजगतामा पनि बृद्धि गर्दै लैजान्छ । मन सकारात्मक कुरातिर केन्द्रित हुन थाल्छ, नकारात्मक सोच र चिन्तन घट्तै जान्छ र चित्तवृत्ति स्थिर हुन थाल्छ । प्राणयामको गहिरो अभ्यासबाट शारीरिक रोग र विकारहरु हट्तै जान्छन् । भावनात्मक रुपमा आफू, आफू बसेको समाज र संसारप्रति क्रमशः संवेदनशीलतामा बृद्धि हुनथाल्छ । संवेदनशील हृदयमा दया, प्रेम र करुणा बढ्दै जान्छ । यसपछि आवश्यक हुन्छ आत्मचिन्तन । 

आत्मचिन्तन र आत्मनिरीक्षणबाट जतिजति मानिस सत्यको नजिक पुग्छ त्यतित्यति आवश्यक र साश्वतलाई अँगाल्छ र क्षणिक र अनावश्यक कुरालाई त्याग्ने शक्ति आर्जन गर्छ । निरर्थक र क्षणिक रमाइलोमा उसको ध्यान जान छोड्छ । परम सत्यको नजिक भएकाले साश्वत कुरातर्फ नै ऊ केन्द्रित हुन्छ । यही अवस्थामा घटित हुन्छ प्रत्याहार । प्रत्याहार वास्तवमा त्याग्नु वा त्याग गर्नु होइन । प्रयत्नवश त्याग्नाले व्यक्तिमा पश्चातापको भावना पलाउन सक्छ तर सचेतता बढ्दै जाँदा र निरर्थकतबाोध हुँदा भने केही कुराहरु छुट्छन् । स्वतः अलग हुन्छन् । व्यर्थका कुराहरु स्वतः छुटेको अवस्था नै प्रत्याहार हो । यस अवस्थामा योग साधना गर्ने व्यक्तिमा गहिरो आत्मबोधको प्यास जागृत हुन्छ । यसले व्यक्तिलाई सत्यनिष्ठा धारण गर्न समर्थ बनाउँछ । त्यसपछि साधक उक्लन्छ धारणाको अवस्थामा ।    

आत्मनिरीक्षण र आत्मचिन्तनले व्यक्तिलाई क्रमिक रुपमा सत्यको नजिक लैजान्छ । त्यसका लागि आवश्यक हुन्छ चिन्तन, मनन र निधिध्यासन । यसबाट धारणाशक्तिको विकास हुन्छ । धैर्य बढ्दै जान्छ । सिर्जनात्मकता थपिन्छ । जीवनमा सुन्दरताको खोजी बढ्न थाल्छ । यस चरणको गहिरो अभ्यासबाट मानिस आफैँप्रति र आफूबाँचेको संसारप्रति प्रेममय बन्न थाल्छ । प्रेममय नभई करुणा प्रकट हुँदैन । करुणाले नै मानिस मानिसको श्रेणीमा चढ्न सुरु गर्दछ । त्यसपछि आवश्यक हुन्छ ध्यान । 

ध्यानले मन, शरीर र चेतनालाई एकै ठाउँमा ल्याएर मानसिक र शरीरिक शान्ति र आनन्द प्रदान गर्ने भएकाले यसले चेतना विस्तारमा पनि सहयोग पुर्याउँछ । चिन्तन, मनन र बौद्धिक अभ्यसले मानिसलाई सिर्जनात्मक र बौद्धिक त बनाउँछ साथसाथै अहंकारको अग्नि पनि प्रज्वलित हुँदै जान्छ । अहंकारले व्यक्तिको चेतनामा तगारो हालिदिन्छ । आध्यात्मिक यात्रा अवरुद्ध हुन्छ । ध्यानको गहिरो अभ्यासबाट स्वयं आफू, आफू बाँचेको संसारप्रति अझ बढी होसपूर्ण, सचेत र संवेदनशील हुन मद्दत मिल्छ । भनाइ र गराइमा एकरुपता आउन थाल्छ । एकाग्रता र सकारात्मक चित्तका कारण व्यक्तिको सिर्जनात्मकता उजागर हुन थाल्छ । संगीत, नृत्य, गीत, कविता र साहित्यमा रुचि गहिरिन थाल्छ । आफू जन्मनु, बाँच्नु र संसारमा आउनुको अर्थ खोज्न थाल्छ हृदयले । सार्थक र निरर्थक कार्यको बोध गहिरो हुन थाल्छ । यस्तो अवस्थाको साधक बल्ल ध्यानस्थ हुन सक्दछ । ध्यानको गहन अवस्थामा व्यक्ति सही र गलतबाट टाढा, राग र विरागबाट पर वित्तरागको अवस्थातिर लाग्दछ । त्यसपछि समाधिमा लिन हुन्छ साधनारत व्यक्ति । 

समाधिको अवस्थामा व्यक्ति समष्टिमा विलय हुन्छ । जीवन र मृत्यको बोध गर्दछ । सार्थक र निरर्थक कुराको आत्मबोधबाट चरम जागृतिको अवस्थामा प्रवेश गर्दछ । आफू जन्मनुको अर्थ थाहा पाउँछ र आफूले जीवनमा के गर्नु पर्ने रहेछ त्यो पनि ठम्याउँछ । अब उसमा न भय रहन्छ न असुरक्षा । यही अवस्था हो अखण्ड जागरणको अवस्था । यस अवस्थामा पुगेपछि बल्ल योग घटित हुन्छ । कर्ममा निष्काम भाव आउन थाल्छ, अकर्ता भावमा हुने कर्म निष्काम हुन्छ । चित्तका वृत्तिबाट निरोध भइसकेकाले आकांक्षले यसबेला व्यक्तिलाई निर्देशित गर्न सक्नैन । त्यतिबेला कर्ता लोप हुन्छ, केवल कर्म मात्र रहन्छ स्वचालित रुपमा । यस्तो अवस्थामा नै कर्मको कुसलता प्राप्त हुन्छ ।

वास्तवमा योग गर्ने र गरिने बिषय होइन यो त घटित हुने बिषय हो । क्रमिक साधना र अभ्यासद्वारा आफूलाई आत्म निरीक्षण र योगाभ्यासका विभिन्न विधिहरुबाट आफूलाई खार्दै लैजाँदा प्राप्त हुने चरम जागरणको अवस्था हो योग । शरीर शुद्धि र रोग मुक्तिका लागि गरिने प्रयत्नहरु योगको पूर्वाधार हुन् यसले हामीलाई योगावस्थासम्म पुग्न सहयोग अवश्य गर्दछन् तर तीभन्दा निकै धेरै कुराको अभ्यासपछि बल्ल घटित हुनसक्छ योगको अवस्था । 

No comments:

Post a Comment