Saturday, December 19, 2015

चिनियाँ चियाः सत्कारदेखि सत्यसम्म

चिया भन्नासाथ हाम्रो दिमागमा आउँछ, खास किसिमको वासना भएको कालो वा खैरो रंगको दानादार वा धुलो वस्तु जसलाई दूध, चिनी र पानीको घोलमा मिसाएर उमाल्ने र कप वा गिलासमा हालेर पिउने गरिन्छ । पाहुनालाई तत्काल सत्कार गर्न होओस् वा बिहानबेलुका तरोताजा हुन प्रायजसो घर, अफिस र कार्यालयमा चिया हाम्रो जीवनको एक हिस्सा नै बनिसकिेको छ । कोही आफन्तकहाँ जानुभयो वा कुनै कार्यालयमा भेटघाटका लागि जानुभयो भने स्वागत र सत्कारका लागि प्रयोग गरिने बहुप्रचलित पेयमा पर्दछ चिया । तर हामीले खाने गरेको चिया के मानव स्वास्थ्यका लागि हितकर छ ? के यसमा शरीरलाई चाहिने गुणकारी तत्वहरु हुन्छन् ? यसको प्रयोगबाट हुने फाइदा हामीले लिन सकेका छौँ ? यस्ता प्रश्नमा गहिरिएर हेर्यो भने चाहिँ शायद सकारात्मक जवाफ पाउन गाह्रै होला ।
यसै वर्षको अक्टोवर ८ देखि २८ सम्म चीन सरकारद्वारा फुजियान प्रान्तको झाङझाउ विज्ञान तथा प्रविधि कलेजमा आयोजित कार्यक्रममा नेपालबाट तीन जनाको टोली सहभागी थियो त्यसमा एक जना सदस्य थिएँ म पनि । अन्य दुई जना थिए चिया उद्यममा लागेका साथीहरु । भारतीय नाकाबन्दीले गर्दा चाइना साउदर्नले नेपालमा हुने उडान रद्द गरेपछि हवाइ टिकटको कठिनाइले हामी निर्धारितभन्दा तीन दिन ढिलो कार्याक्रममा सहभागी हुन सक्यौँ । अक्टोवर १० का दिन मध्यरातमा काठमाडौँ, ढाका, हङकङ हुँदै अक्टोवर ११ का दिन बिहन करिब ११ बजे हामी चिनको सियामेन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियौँ । आयोजक संस्थाका स्वयम्सेवकहरु मिस्टर झाङ र एमी हामीलाई लिन सियामेन अन्तर्राष्ट्रि विमानस्थलमा आइसकेका थिए । कार्यक्रमको नाम र नेपालको राष्ट्रिय झण्डा अंकित प्ले कार्ड बोकेर उनीहरु हामीलाई पर्खिरहेका थिए । विमानस्थलको बाहिरपट्टी उभिएर फोटो खिचेपछि हामी सानो कारमा बस्यौँ कार्यक्रम स्थल जानका लागि । करिब दुई घण्टाको सडकयात्रापछि हामी झाङझाउ सिटी अन्तर्गत पर्ने सानो तर सुन्दर काउन्टी याङ्पुमा रहेको झाङझाउ विज्ञान तथा प्रविधि कलेज पुग्यौँ । वरिपरि होचो कदका हरिया पहाडले घेरिएको त्यो काउन्टी देख्ता काठमाडौँ उपत्यकामै पुगेझैँ लाग्यो । ससाना ताल, व्यवस्थित र योजनावद्ध संरचना अनि समयबद्ध र अनुशासित विद्यार्थीका माझमा रहेर छिमेकी देशका सहभागीलाई स्वागत गरे आयोजकहरुले ।
एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ११ देशका २८ जना प्रतिनिधिहरु सहभागी त्यस कार्यक्रममा भारतीय नाकाबन्दीको कारण निर्धारित समयभन्दा तीन दिन ढिलो पुगेका थियोँ हामी तीन जना । हामीभन्दा अघि केही देशका प्रतिनिधि सहभागीहरु आइसकेका थिए भने सानो युरोपियन देश जर्जियाका सहभागीहरु भने हामी गएको भोलिपल्ट मात्र आइपुगेका थिए । चिया खेती, प्रशोधन प्रविधि र व्यापारिकरण बारे करिब तीनहप्ताको अनुभव आदानप्रदान, स्थलगत अवलोकन र प्रस्तुतिकरणबाट नेपालले चियामा गर्न सक्ने काम र सम्भावनाका बारेमा निकै कुरा जान्ने अवसर मिलेको थियो ।
कार्यक्रमको मध्यतिर आइपुग्दा मसँगै सहभागी भएका सहभागी साथी हेमबहादुर लामाको प्रतिकृया थियो– “हामीले खाने चिया त चिनी, पानी र दूधको रंगीन घोल पो रहेछ । हामीले न चिया बुझेका रहेछौँ, न खान जानेका !”
चिया रोप्ने, हुर्काउने, प्रशोधन गर्ने र खाने सबै तरिकाको सिकाइपछि लामाजीले निकालेको यो निष्कर्ष शायद हामी सबैले खाने गरेको चिया र चिनीयाँहरुले खाने चियाको तुलना गरेर बनाइएको निष्कर्ष थियो ।
ताइवानमा स्थापित भएर प्रसिद्धि कमाइसकेपछि अमेरिका हुँदै चिनमा लगानी गर्दै आएको तेन फु टि समूहद्वारा चीन सरकारको सहयोगमा सञ्चालित उक्त कलेजले चिनीयाँ चिया प्रविधि, चिनीयाँ चिया संस्कृतिलाई विश्वव्यापी बनाएर विश्वमा चिनीयाँ चियालाई परिचित गराउने लक्ष्य लिएको रहेछ । चीनियाँ चिया मात्र होइन त्यसको इतिहास र संस्कृति समेत बुझ्ने एउटा सुवर्ण अवसर थियो त्यो कार्यक्रम ।

सरकारको प्राथमिकताः चिनियाँ चियाको विश्वव्यापीकरण    

एक्काइसौँ शताब्दी, चिनीयाँ जागृतिको युग र चिनीयाँ चिया विश्वव्यापीकरणको समय । Tea 21st century is the era for the revival of China and also the time for the globalization of Chinese tea.

आयोजक संस्थाको प्रवेशद्वारामा मार्वलमा कुँदेर टाँगिएको माथि उल्लिखित वाक्यले नै चिनले चियालाई कस्तो प्राथमिकतामा राखेको छ भन्ने प्रस्टयाउँथ्यो । सि जिन पिङ चीनका राष्ट्रपति भएपछि उनले चियालाई बिशेष महत्वका साथ संसारमा फैलाउने प्रयासमा लागिपरेका रहेछन् । प्राचीनकालमा चिनीयाँ चिया सिल्क रोडमार्फत् एक प्रमुख व्यापारिक वस्तुका रुपमा संसारभर छाएको अनुभवलाई एक्काइसौँ शताव्दीमा पुनर्जागृत गर्नका लागि कस्सिएर लागेका छन् हालका राष्ट्रपति सि । आर्थिक सम्बृद्धिका लागि उनको नारा छ– वन बेल्ट, वन रोड । प्राचीन सिल्क रोडले चिनीयाँ चियाको प्रसार भएको र त्यसले संसारमा शान्ति र भ्रातृत्वको प्रसार गरेको थियो भन्ने चिनीयाँहरुको निक्र्योल छ । एक्काइसौँ शताव्दीमा त्यसैलाई नयाँ अवधारणासाथ पुनः जागृत गर्न सकिन्छ भन्ने चिनीयाँहरुको विश्वासलाई राष्ट्रपति सिले संसारमा फैलाउने प्रयास गरिहेका छन् । 

गौरवमय उपहार 


चिनमा बिक्री हुने उपहारजन्य वस्तुहरुमा सर्वाधिक महँगो वस्तु शायद चिया नै हो । फुजियान र युन्नान प्रान्त उच्च गुणस्तरको चिनीयाँ चिया उत्पादक प्रान्त मानिँदा रहेछन् जहाँ आकर्षक प्याकमा १०० ग्राम हरियो वा कालो रंगको चिया चिनीयाँ युआन ९००० सम्ममा बिक्री हुँदो रहेछ । उपहारका लागि छुट्टै आकर्षक प्याकिङ गरिने र ती उपहारहरु विवाहोत्सवमा दुलहादुलहीहरुलाई, विदेशी र स्वदेशी पाहुनालाई दिनु चिनीयाँ चिया संस्कृतिको अभिन्न अङ्ग नै रहेछ । कतिपय चिनीयाँ जातिहरुमा त चिया विवाहोत्सव नै आयोजना गरिने र त्यही उत्सवमा केटाकेटीहरुलाई विवाह गरिदिने चलन समेत रहेछ ।


हामी कार्यक्रममा भाग लिइरहँदा राष्ट्रपति सि बेलायतको भ्रमणमा थिए । उनले बेलायती प्रधानमन्त्रीलाई कोसेलीस्वरुप चिनीयाँ चिया उपहार दिएका थिए । यसैबाट प्रष्ट हुन्छ चियालाई चिनियाँहरु कत्तिको महत्व दिन्छन् र चिनीयाँ संस्कृतिमा चियाको कस्तो स्थान छ ।

इतिहास


चिनीयाँ चियाको इतिहास करिब ५००० वर्ष पुरानो छ । ईशापूर्व २७३७, जुन बेला ताङ राजवंशका महाराज सानयोंग चीनमा शासन गर्थे ।  उनी अन्य कुराका अतिरिक्त सफा र उमालेको तातो पानी पिउने गर्दथे । एक दिन उनी घुम्दै एउटा पहाडको फेदीमा बास बस्न पुगे । बिहान उनका सेवकले पानी उमाल्न लाग्दा रुखबाट झरेको पात उडेर पानीमा परेछ । पानी उमालेर सेवकले महाराजलाई टक्र्याउन खोज्दा पानीमा एउटा पात परेको र पानीको रंग पनि केही परिवर्तन भएको पाए । पानी टक्र्याउन आनाकानी गरिहेका सेवकलाई महाराजले सोधे– “के भयो किन पानी नल्याएको ?”

सेवकले उत्तर दियो– “पानी उमाल्दा कुनै रुखको पात पानीमा परेछ, यसको रंग पनि केही परिवर्तन भएको छ, त्यसैले न टक्र्याएको ।”
सेवकको कुरा सुनेपछि महाराज त्यो पातका बारेमा जिज्ञासु भए । पानी चाखेर हेरे । स्वाद अलि फरक थियो तर तरोताजा बनाउने खालको । त्यसपछि महाराजले सेवकलाई त्यो विरुवा खोज्न र पात पत्ता लगाउन अह्राए । विरुवा पत्ता लागेपछि त्यसको प्रयोग बढ्दै गयो ।
कन्फ्युसियस, बुद्ध र लाओत्सुका अनुयायीहरुले चियालाई औषधीय वनस्पती र स्फुर्तिदायक पेयको रुपमा प्रयोग गर्न थालेपछि विस्तारै त्यसले आध्यात्मिक पक्ष पनि उजागर गर्दै जान थाल्यो । झेन गुरुहरुले चियालाई ध्यानको लागि प्रयोग गरे । परिणामतः चिया पिउनु शरीरका लागि मात्र होइन, उत्सव, ध्यान र आध्यत्मिक साधनाको एक अंग पनि बन्दै गयो । चिया प्रयोगको कला सिकाउने अधिकांश व्यक्तिहरु ध्यान साधनाका गुरुहरु पनि भएकाले चिनीयाँ चिया आध्यात्मिक साधनाको एक अभिन्न अंग पनि बन्यो । त्यसैले चिनीयाँहरुका लागि चिया पिउने पदार्थ मात्र होइन यो संस्कार, संस्कृति र शान्ति प्रबद्र्धक पनि हो भन्ने मान्यता स्थापित भएको छ ।
चिया चिनीयाँहरुका लागि सात आवश्यक वस्तु (दाउरा, चामल, तेल, नून, सोयासस, भिनेगर र चिया) भित्र पर्दछ ।  यसैबाट प्रस्ट हुन्छ उनीहरु चियालाई कति महत्व दिन्छन् ।
सोङ राजवंश कालमा चिनीयाँ चियाले विश्वभर प्रसिद्धि पायो । त्यतिबेला चिनभर २४२ चिया बगान रहेको र ती बगानबाट उत्पादित चिया दक्षिणपूर्व एशिया र अरबी मुलुकहरुमा निर्यात गर्ने गरिन्थ्यो । ताजा चिया टिपेर प्रशोधन गरी च्यापेर केक आकारमा ढाल्ने र त्यसको माथिल्लो भागमा ङ«ागनको चित्र अंकित गर्ने गर्न थालियो । जसलाई ड्रागन टि केक नाम दिइयो ।
आधुनिक युगमा चिनीयाँ चियालाई व्यवस्थित रुप दिने काम भने लु यु ले गरेको देखिन्छ । सन् ७३३ मा हुवेई प्रान्तमा जन्मेका लुले उनका गुरु झाओ फुजीसँग छ वर्ष साधना गर्दा चिया तयार पार्ने र बिहानबिहान गुरुलाई चिया टक्र्याउने काम गरे । यसबाट उनले चियाको औषधीय गुण र विभिन्न शारीरक, आध्यात्मिक र मानसिक फाइदाबारे पनि जान्ने मौका पाए । त्यही अनुभवलाई लिपीबद्ध गरेर उनले ‘क्लासिक अफ टी’ नामक पुस्तक लेखे । त्यसपछि चिनीयाँ चियाले व्यवस्थित विकास गर्ने अवसर पायो ।  यही कारणले होला लु युलाई चिनीयाँहरु अत्यन्तै आदरसाथ सम्झने गर्दछन् र उनलाई ग्रान्ड टी मास्टरको रुपमा सम्मान गरिन्छ ।

चिनियाँ चिया संस्कृति

चिनले चियालाई हरियो, कालो, पहेँलो, सेतो, उलोङ र पुअ(र) गरी छ वर्गमा वर्गिकरण गरेको छ । यसमा मुख्यतः तयार पार्ने तरिकालाई ध्यानमा राखिएको छ । रंगका आधारमा हेर्ने हो भने हरियो, कालो, सेतो र पहेँलो गरी चार वर्गमा विभाजन गर्न सकिन्छ चिनीयाँ चियालाई । चियाको प्रकार अनुसार तयार गर्ने, खाने र टक्र्याउने विधि पनि फरकफरक छन् । त्यसका लागि चिया दिने व्यक्तिको पहिरन, भावना, बसाइको तरिक, हाउभाउ आदि बारे प्रशिक्षित गर्ने कामको थालनी पनि गरिएको छ, जसले प्राचीन चिनीयाँ चिया संस्कृतिलाई जीवन्त राख्न ठूलो योगदान गरेको छ ।

खास किसिमका भाँडाको प्रयोग

झ्वाट्ट हेर्दा केटाकेटीले खेल्ने भाँडाकुटीजस्ता लाग्छन् चिनीयाँ चिया तयार पार्ने र खाने भाँडाहरु । हामीले चिया खान प्रयोग गर्ने साइजको कपमा चिया तयार पार्ने र तातो पानी हालेर पटकपटक छान्दै अर्को भाँडोमा खन्याउँदै ससाना एक घुट्के कपमा चिया टक्र्याउने गरिँदो रहेछ ।
मैले सुरुमा चियाका भाँडाहरु देख्ता सोचेको थिएँ– यी बच्चहरुले खेल्ने भाँडाकुटीहरु किन राखिएका होलान् यति सजाएर ! पछि थाहा भयो तिनै ससाना भाँडाहरु नै चिया तयार पार्न र खानका लागि लागि प्रयोग गरिने भाँडाहरु रहेछन् । खास रंग र गुणस्तरको चियाका लागि फरकफरक खालका भाँडाहरुको प्रयोग हुँदो रहेछ । चियाको रंग र प्रकृति अनुसार खास किसिमका भाँडाहरु प्रयोग गरिने र चिया दिने ट्रे र बसेर खाने टेबुल पनि खास प्रकारको हुनुपर्ने चिनीयाँ चलन रहेछ ।
हरियो चियाको लागि सेतो वा चम्किलो रंगका चिनीयाँ माटोका ससाना भाँडाहरु प्रयोगमा ल्याइँदो रहेछ भने कालो रंगको चियाको लागि माटोको जस्तो देखिने गाढा रंगको भाँडा प्रयोगमा ल्यार्इँदो रहेछ । हरियो र कालो चिया खानका लागि र तयार पार्नका लागि ससाना चिनीयाँ माटोका कपहरु प्रयोग गरिन्छ भने वासनादार चियाको लागि अलि ठूलो र ढक्कनयुक्त कप वा सिसाको गिलास प्रयोग गरिँदो रहेछ । 

आकार, रंग, स्वाद र वासना  

चियामा चिनी र अन्य पदार्थ नमिसाइकन सकेसम्म सग्लो पात नै प्रयोग गर्ने चलन छ चिनमा । प्रशोधन गर्दा पनि चियाको पात नटुक्रियोस् भनेर ध्यान पुर्याइएको हुन्छ भने खाँदा पनि त्यही कुरा विचार गरिन्छ । धुलो बनाइएको वा झुरिएर ढुटिएको पत्ती प्रयोग गर्न त्यति रुचाउँदैनन् चिनीयाँहरु ।
“चियाको गुणस्तर विचार गर्दा तीन मुख्य कुराहरु– आकार, रंग, स्वाद र वासनामा ध्यान दिनुपर्छ । मानव शरीरका लागि उपयोगी हुने खास औषधीय गुण र ताजापनको फाइदा लिनु छ भने चियालाई सकेसम्म सग्लो, ताजापन जोगाएर र अन्य वस्तु वा पदार्थसँग नमिसाइकन र सकेसम्म हरियो र सग्लो पत्ती नै प्रयोग गर्नु बेश हुन्छ” भन्छन् करिब १५ वर्षदेखि चियाको गुणस्तर पहिचान र जाँच गर्दै आएका प्राध्यापक वाङ तोङ्घे । चाहे सेतो, हरियो वा कालो वा वासनदार चिया सबैमा यी गुण हुनुपर्छ भन्ने मान्यता छ चिनीयाँहरुको । त्यसैले चिया तयार पार्ने विधि पनि फरक छ उनीहरुको ।
चिया तयार पार्दा पहिले पानी उमाल्ने र त्यसपछि भाँडामा चिया हालेर माथिबाट तातोपानी खन्याउने र निश्चित समयसम्म पानीमा डुबाएर छोप्ने, त्यसपछि छानेर अर्को भाँडोमा राख्ने अनि खन्याउँदै ससाना कपमा स्वाद लिँदै चुस्की लिने । यसरी तयार पर्दा हरियो पत्ती चिया छ भने एक भाग चियापत्तीमा ५० भाग उम्लेको पानी खन्याएर १ देखि १ मिनेट पन्ध्र सेकेण्डसम्म छोपिराख्ने । त्यसपछि खन्याएर खाने गरिन्छ भने कालो वा अन्य चिया छ भने ८० देखि ९० डिग्री तापमानको उम्लेको पानीमा एक भाग चियापत्तीमा ३५ भाग पानी हालेर ६० देखि ८५ सेकेन्डसम्म भाँडोमा राखेर छोप्ने र त्यसपछि छानेर अर्को भाँडोमा खन्याएर क्रमशः ससाना कपमा हालेर पिउने गरिन्छ ।
चिया तयार पार्न सुरु गर्नुअघि नै वासना लिएर आफूलाई मन पर्छपर्दैन सुँघ्ने र तयार पारिसकेपछि फेरि वासना लिने र तयार पारेको चियाको वासना ठीक छ छैन भनेर निश्चित गर्ने गरिन्छ ।
त्यसपछि आउँछ स्वाद । चिनीयाँहरु तिक्खरभन्दा अलि नरम स्वाद मन पराउँछन् । धेरै तीतो, धेरै टर्रो वा स्वदरहित तीनै खालको स्वाद मन पराउँदैनन् उनीहरु । हरियो चिया छ भने तातोपानीमा तीन मिनेट तीस सेकेन्ड भिजाएर चाख्दा केही तीतो तर मुखभरि फैलाएर लिइसकेपछि गुलियो लाग्नु पर्छ, ताजा फूल वा फलफूलजस्तो वासना हुनुपर्छ र रंग चाहिँ हल्का हरियो हुनुपर्छ । कालो वा गाढा रंगको चियामा टर्रोपन कम अनि वासनादार हुनुपर्छ। हेर्दा हल्का खैरो वा पहेँले रंग हुनुपर्छ । पुअर चिया छ भने गाढा कालो रंग हुनुपर्छ । सेतो चियाको हकमा भने वासनाको ताजापन र स्वाद महत्वपूर्ण हुन्छ भने उलोङ चियामा रंग र वासना महत्वपूर्ण मानिन्छ ।
चिया खाइसकेपछिको पत्ती बाहिर राखेर सुँघ्दा ताजा पत्तीझैँ वासनादार हुनु आवश्यक हुन्छ । हाम्रो चियामा चिनीले सबैलाई गुलियो बनाइ दिने र कुम्याएर रंग कालो बनाएको हुनाले ताजापनको कुनै खास महत्व हुँदैन । खाँदाको स्वादमा भने केही फरक हुनसक्छ । तर चिनीयाँहरु भने यसलाई पनि महत्व दिन्छन् ।  गुणस्तर पहिचानका मापदण्डमा यी चारवटै गुण समावेश छन् चिनीयाँ चियामा ।

चिया दिने तरिका 

चिनीयाँहरु आफूभन्दा अग्रजहरुसँग बोल्दा होस् वा कुनै वस्तु वा सेवा प्रदान गर्दा होओस् वा कुनै कुरा ध्यान दिएर सुन्नुपर्दा, शरीरको आधा भाग झुकाएर निहुरिने र सम्मान व्यक्त गर्ने गर्दा रहेछन् । चिया तयार गरिसकेपछि उठेर शरीर आधा झुकाएर सम्मानभाव प्रदर्शन गर्नु र सजगतापूर्वक हँसिलो मुद्रामा विनम्रतापूर्वक चिया टक्र्याउर्नु उनीहरुको चिया संस्कृतिभित्रै पर्दो रहेछ ।

चिया हाम्रो लागि एउटा पेय र सत्कारको वस्तु मात्रै हो तर चिनियाँहरुका लागि भने चिया टक्र्याउँदा तीन कुरामा ध्यान दिनु आवश्यक छ– पोजिसन, पोस्चर र एटिच्युड । अर्कालाई चिया दिन पाउनु सत्य र सुन्दरता प्राप्त गर्ने बाटो पनि हो । त्यसैले चिनियाँहरु चिया राखिसकेपछि हामीकहाँजस्तो छोडेर अन्यत्र लाग्दैनन् । शान्त भावमा खास आसनमा बसेर पाहुनाको हाउभाउ नियालेर बसिरहन्छन् । आफू पनि चियाको आन्द लिन्छन् र अरुले लिएको आनन्दको अनुभूति पनि गर्छन् ।

करिब ३५ वर्षदेखि चिनीयाँ चिया संस्कृतिबारे प्राध्यपन गरिहेकी प्रा. काइ रोङझाङ भन्छिन्— “खास मानसिक, शारीरिक र भावनात्मक तयारीपछि खास किसिमको आसनमा शान्तभावमा चिया तयार पार्ने गर्नु र विनम्रतापूर्वक टक्र्याउनु चिनीयाँ संस्कृतिको एक अभिन्न परम्परा हो । यसो गर्दा आफूभित्र पनि शान्ति र आनन्दको अनुभव हुदै जान्छ भने चिया खानका लागि अगाडि बसेको मानिस पनि बनाउनेको अनुहारमा छाएको शान्ति र मुस्कानबाट आनन्द प्राप्त गर्दछ । यसबाट दुवै पक्षमा भावनात्मक रुपमा सेवाको भाव बढ्ने र अनुहारमा शान्ति र सुन्दरता प्रकट हुन्छ । त्यसैले टि मास्टर हुनु भनेको होटलमा चिया पस्कने काममा लाग्नु मात्र होइन, आफूभित्रको शान्ति र सुन्दरतामा निखार ल्याउनु पनि हो । यसको अभावमा योग्य टि मास्टर हुन सकिँदैन ।”
चिया तयार पार्ने र खाने दुवैथरि मानिस शान्त भावमा आमने सामने बसेर चियाको नाम, गुण र प्रकृति तथा त्यसका फाइदाका बारेमा बताउँदै तयार पार्ने र खाने गरिँदो रहेछ । यसो गर्दा चिया दिने र खाने दुवै मानिसमा शान्ति, भावनात्मक सामिप्य र भ्रातृत्वको विकास हुने र आतिथ्य भाव प्रकट हुने विश्वास गर्छन् चिनीयाँहरु ।
चिया खाने र ख्वाउने दुवै पक्ष एकै टेबुलमा आमनेसामने बसेर चियाको वासना, स्वाद र संवेदनामा तल्लीन हुँदा दुवैपक्षमा मानसिक शान्ति प्राप्त हुन्छ भन्ने उनीहरुको अनुभव रहेछ । त्यसैले झेन परम्परामा चिया पिउनु तरोताजा हुनु वा सत्कार गर्नु मात्र होइन यो एक किसिमको ध्यान पनि हो । जसको प्रयोगबाट मानिसभित्र आत्मिक शान्ति र सचेततामा क्रमश बृद्धि हुन्छ र ऊभित्र शान्ति प्रकट हुन्छ ।



No comments:

Post a Comment