Tuesday, June 2, 2015

अन्तर्विज्ञानसँग नजोडिएको आजको शिक्षा


यो महिनाको चर्चित दुइटा अपराधका घटनाले मलाई साह्रै मर्माहत बनाए । एउटा केटाले ट्युसन पढ्न जाँदै गरेका दुई जना केटीहरुलाई एसिड छ्याप्यो र सख्त घाइते बनायो, अर्को एउटा केटाले छ वर्षकी कलिली बच्चीलाई बलात्कार गरेर मरणासन्न बनाएर एकान्तमा छोडेर भाग्यो । उपचारका क्रममा बच्चीको मृत्यु 
भयो ।

यी दुवै घटनामा संलग्न अपराधीहरु पढेलेखेका, शिक्षित नै थिए । ती अपराधी अनपढ, सीधासादा मानिस थिएनन् । गाउँका पनि थिएनन् । ती दुवै केटाहरु सहरकै थिए । हामी शिक्षा, संचार, चेतना सबै दृष्टिले सहर र शिक्षितहरुलाई अगाडि देख्छौँ, ठान्छौँ । 

पढेलेखेका, शिक्षित, जान्नेबुझ्नेहरु नै किन समाजमा अनाचार, अपराध र भ्रष्टाचारका बाहक बन्दै गइरहेका छन् ? किन हाम्रा शिक्षितहरुले यस्ता कुरामा चासो दिए ? किन अपराध कर्म खराब हो भन्ने बुझेर पनि आफूलाई सम्हाल्न सकेनन् ? यी प्रश्नहरु पेचिला बन्दैछन् आजको समाजमा । शिक्षा क्षेत्रमा लागेकाहरुका लागि र सरकारका लागि पनि यो सोचनीय बिषय हो ।

देशलाई अधोगतितिर लैजाने भ्रष्टाचारमा संलग्न भएकाहरुको रेकर्ड पल्टाउने हो भने हावाले उडाउने पुल बनाउनेदेखि पीच गरेको दुई दिनमै उप्केर खाल्डाखुल्डी हुने गरी सडक बनाउने प्राविधिक हुन् वा बिरामीलाई अनावश्यक औषधि र अपरेशनको भारी लादेर अनुचित पैसा असुल्ने डाक्टरहरु हुन् सबै शिक्षित नै हुन् हाम्रो बुझाइमा, तर के उनीहरुले आफूले जानेको र बुझेको कुराको सदुपयोग गरे त ? आजको पुस्ता सूचना, संचार र प्रविधिले जति सम्पन्न हुँदै गएको छ नकारात्मकता, कुलत र दुव्र्यसनले पनि त्यतिकै घेरिँदै गएको छ । 

आखिर किन यस्ता काम गर्न उद्दत त शिक्षितहरु ?

जीवन र शिक्षाको सम्बन्ध

हरेक मानिस सजिलोस“ग बा“च्न चाहन्छ, सम्बन्ध विस्तार गर्न चाहन्छ । केही सिकेर आफनो बौद्धिक क्षमता बढाउन चाहन्छ अनि जीवनपर्यन्त अरmले सम्झने छाप छोडेर मर्न चाहन्छ । हाम्रो जीवन सामान्यतः यिनै चार आयामहरुको संयुक्त रुप हो । यी चार आयामहरु जीवनका आर्थिक, सामाजिक, बौद्धिक र आध्यात्मिक पक्षस“ग सम्बन्धित छन् । यिनले हाम्रा चार आवश्यकताहरु– ब“चाइ, सिकाइ, प्रेमपूर्ण सम्बन्ध र सार्थक योगदानस“ग सम्बन्ध राख्दछन् । यी चारवटै पक्षले हाम्रा चार क्षमता भौतिक, बौद्धिक, भावनात्मक र आध्यात्मिक क्षमता विकासमा सहयोग गर्दछन् । त्यसबाट अनुशासन, अन्तर्दृष्टि, भावनात्मक शक्ति र अन्तश्चेतना उजागर हुन्छन् । 

भौतिक र सामाजिक पक्ष जीवनका बाह्य पक्ष हुन् भने मानसिक र आध्यात्मिक पक्ष जीवनका आन्तरिक पक्ष हुन् । बाह्य रुपमा देखिने जीवनका विविध पक्षलाई ऊर्जा दिने, व्यवस्थित गर्ने, निर्देशित गर्ने, सञ्चालन गर्ने काम जीवनका यिनै आन्तरिक पक्षले गर्दछन् । आन्तरिक पक्ष जति परिष्कृत र उन्नत हुन्छ व्यक्ति त्यति नै उदार, शान्त, आनन्दित र प्रेममय हुन सक्छ । यसको अभावमा आवेग, तनाव र कुण्ठाले घर गर्दछ ।
वर्तमान शिक्षा चाहे हाम्रो देशको होओस् वा अमेरिका वा बेलायत वा अन्य कुनै देशको सम्पूर्ण रुपमा मानिसको वाह्य पक्ष (भौतिक पक्ष) लाई सुविधायुक्त र सुखी बनाउने कुरामा केन्द्रित छ । यसले कमाइ खानका लागि आवश्यक पर्ने बौद्धिक खुराक प्रदान गर्न अत्यधिक जोड दिन्छ, केही मात्रामा सीप दिन्छ र्र  भौतिक रुपले सुविधाजनक बनाउनका लागि त्यसको प्रयोग गर्न जोड दिन्छ । 

यसैको परिणामस्वरुप मानिसले भौतिक उन्नति, प्रविधिको विकास तीव्रगतिमा गरिरहेको पनि छ । तर मानिसको जीवन त्यतिले मात्रै समृद्ध हुँदैन भन्ने कुरालाई भने वर्तमान शिक्षाको समग्र प्रणालीले वेवास्ता गरेको छ । जीवनका वाह्य पक्षमा मात्र केन्द्रित भएर भौतिक सम्पन्नता हासिल गर्ने दौडमा आफूभित्रका भाव र भावनाको निरीक्षण गर्ने, आनन्दित र खुसी हुने कलाको ज्ञान आर्जन गर्ने अन्तर्विज्ञानको शिक्षा पूरै ओझेलमा परेको छ । परिणामतः शिक्षितहरुमा जीवनका आन्तरिक पक्षहरु जति उन्नत र विकसित हुनुपर्ने हो त्यति हुन सकेको छैन । तनाव, प्रतिशोध र इष्र्या आजका शिक्षितहरुमा अत्यधिक रुपले बढिरहेको छ । आन्तरिक चरित्र निर्माणभन्दा वाह्य व्यक्तित्वलाई जोड दिनाले मानिसमा हुनुपर्ने सहज मानवीय भावना हराउँदै गएको छ । 

‘विद्या ददाति विनय, विनय ददाति पात्रतात्, पात्रतात् धनमाप्नोति, धनात् धर्म तत् सुखम्’ भन्ने युगाँैदेखिको अनुभवलाई आजको शिक्षाले पूरै वेवास्ता गरेको छ । मानिसमा मानवीय भावना र जिम्मेवारीबोधको स्खलन भइरहेको छ । त्यसैले हाम्रा शिक्षितहरुले जीवनका दुवै पक्षलाई जोड्ने र एकाकार गर्ने कार्य गर्न सकेनन् । त्यसो गर्न नसकेपछि जीवनलाई उन्नत, सफल र आनन्दित बनाउन पनि सकेका छैनन् । माथि उल्ल्खिित चारवटै आयामहरु जीवनको सफलता र सन्तुष्टीका लागि उत्तिकै महत्वपूर्ण आयाम हुन् । यी सबै आयामहरुको पूर्ण सन्तुलनमा मात्र हाम्रो जीवन सन्तुलित रुपले चल्न सक्दछ । यसलाई सन्तुलनमा ल्याउने विज्ञान पनि छ । तर हाम्रो शिक्षामा त्यो विज्ञानलाई पटक्कै महत्व दिइएको छैन । त्यो विज्ञानको आवश्यकताबोध पनि आजका शिक्षितहरुमा विकास गर्न सकिएको छैन । फलतः जीवनका एक वा दुई पक्षको अपाङ्ग जीवन लिएर हिँड्न खोज्दा कुनै न कुनै रुपमा असन्तुलनको शिकार भएका छन् आजका शिक्षितहरु । 

यस्तो अवस्था किन आयो त ? 

अपूरो शिक्षा

शिक्षा ग्रहण गर्ने हाम्रो प्रमुख अंग हो हाम्रो मस्तिष्क । हाम्रा तीन मस्तिष्क छन् । तीनै मस्तिष्क मार्फत् हामी शिक्षा ग्रहण गर्दछौँ । हामीले सिकेका कुराहरु त्यहीँ रेकर्ड हुन्छन् । ती मध्ये देबे्र मस्तिष्क हो तर्क, बुद्धि, गणितको मस्तिष्क, दोस्रो हो दायाँ अर्थात् सिर्जना, कल्पना, उत्प्रेरणा, भावनाको मस्तिष्क । तेस्रो हो मेडुलाअब्लाङ्गटा अर्थात् चेतनासंग सम्बद्ध मस्तिष्क । हाम्रो शिक्षाले देब्रे मस्तिष्कबाट मात्रै शिक्षा ग्रहण गर्न हाम्रा नागरिकहरुलाई सक्षम बनायो जसलाई ग्रहण गर्न तर्क र सूचना भए पुग्छ । त्यसैले हाम्रा शिक्षितहरुको मूल उद्देश्य भयो सूचना संग्रह र त्यसबाट उत्प्रेरणा आयो – जागिर कसरी खाने, धन कसरी कमाउने, जीवीकोपार्जन कसरी गर्ने । जसरी पनि पैसा कमाउने, धनी हुने, प्रतिष्ठित हुने, ठूलो पद पाउने । त्यहाँभन्दा माथिल्ला कुराहरू हाम्रा शिक्षितहरुले जानेनन् । त्यहाँभन्दा माथिल्ला अन्य मानवीय कुराहरू सबै लोप भए । उच्चतम मानवीय भाव र भावनाको विकास गर्ने पद्धती शिक्षामा सामेल गरिएन ।

भनाइ र गराइको बेमेलका शिक्षकहरु

शिक्षा दिने जो व्यक्तिहरू छन्, तिनीहरूको आचरणमा द्वैधता देखिन्छ । यो द्वैधताले गर्दा विद्यार्थीहरु अन्यौलमा छन् । कक्षामा एक कुरा बताइन्छ, शिक्षकको चरित्र ठीक उल्टो देखिन्छ । कुन पत्याउने विद्यार्थीले ? भनेको कुरा पत्याउने कि गरेको ? अलमल हुन्छ । शिक्षकले कक्षामा पढाउँदा चुरोट खान हुँदैन, रक्सी खानु हुँदैन भनेर पढाउँछन् । विद्यार्थीहरू त्यसलाई पत्याइरहेकै हुन्छन् तर जब आफ्नै टोलमा बस्ने सरले कक्षाबाट बाहिर जानसाथ बाथरुमा गएर सट्ट चुरोट सल्काएर सुईंय, सुईंय गर्दै गरेको देख्छ । यो देखेर सानो विद्यार्थी अलमलिन्छ । भनेको कुरा ठीक कि यो देखेको ठीक ? यो व्यवहारबाट विद्यार्थीले बुझ्छ चुरोट खान हुँदैन भनेर पढाउने मात्रै रहेछ । यो खाएपछि ठूलो मान्छे भइन्छ । अनि सरको जस्तै बानी बनाउँछ । चुरोट खानथाल्छ । रक्सी खानु हुँदैन भनेर जो शिक्षकले पढाइरहेका हुन्छन् उनीहरु नै होटलमा बसेर बोतलभरि रक्सी लिएर तनतनी तानिरहेको देखेपछि फेरि विद्यार्थीले सोच्छ खानुपर्ने कुरा चाहिँ यही रहेछ तर भन्न चैँ नखानु है भन्नुपर्ने रहेछ ।   

अब कसरी सुधार ल्याउने ? 

व्यवहारबाट र आचरणबाट विद्यार्थीहरूले जति सिक्छन्, त्यति किताबमा लेखेको कुराबाट सिक्दैनन् । त्यसैले पढाउने शिक्षकको आचरण र व्यवहारले शिक्षामा ज्यादै धेरै महत्व राख्दछ । जुनकुरा अहिलेको समयमा अत्यन्तै दुषित अवस्थामा छ । अहिलेको शिक्षकको पनि रुपान्तरण हुनु आवश्यक छ । उनीहरूलाई शिक्षकबाट गुरु बन्नेतिर प्रेरित गर्न सकिएको छैन । यस्ता व्यक्तिलाई तालीम र साधनामा लगेर सक्षम बनाउन सकिन्छ । घरमा दिइने शिक्षालाई अभिभावकीय शिक्षा मार्फत् रुपान्तरण गर्नु आवश्यक छ । घर सुधार नगरी स्कूल मात्र सुधारेर शिक्षा अपांग हुन्छ । घर नै बच्चाको प्रथम विद्यालय हो त्यसमा कसैको ध्यान पुगेको छैन अहिले । अभिभावकहरु सुनका अण्डा दिने कुखुरी जस्ता मात्र छन् । त्यसलाई परिवर्तन गरेर अभिभावकलाई पनि रुपान्तरण गर्ने शिक्षा दिनु आवश्यक छ । घरमा, समाजमा प्रचलित सामाजिक–साँस्कृतिक शिक्षा र विद्यालय र कलेजमा दिइने सूचनामुलक शिक्षालाई मिलाएर, सुधार गरेर मानवीय शिक्षा बनाउन आवश्यक छ । 
  
हाम्रा तीनवटा मस्तिष्कहरू छन् । देब्रे मस्तिष्कले सूचना ग्रहण गर्ने र त्यसलाई तर्क र अनुभवसँग अबद्ध गरेर सुसूचित हुने काम गर्दछ भने दाहिने पट्टीको मस्तिष्कले चित्रात्मक रुपमा भावनालाई ग्रहण गर्ने, मानवीय संवेदना विकास गर्ने, भावनात्मक रुपमा संवेदनशील बनाउने, आफूभित्र भइरहेका उतारचढाव निरीक्षण गर्ने सूक्ष्मतम क्षमता विकास गर्ने र व्यक्तिलाई सिर्जनात्मकतातिर प्रेरित गर्ने काम गर्दछ । मस्तिष्कको त्यो भाग विकसित गर्ने शिक्षा अहिलेको शिक्षाले दिँदैन । हाम्रो विद्यमान शिक्षाले बाह्य गतिविधिबाट सूचना ग्रहण गर्ने र तर्क र अनुभवमा आधारित काम गर्न आवश्यक पर्ने सूचनाको भारी त हामीलाई बोकाएको छ तर सिर्जनात्मकता, भावना र अन्तर्निरीक्षणबाट आफूभित्र नियाल्ने कला भने प्रदान गर्न सकेको छैन ।  दायाँ मस्तिष्कको उत्खनन गर्ने, त्यसलाई प्रयोग गर्ने कला सिकाउन नसकेकाले हाम्रा शिक्षितहरु बौद्धिक त भए तर अन्तर्विज्ञानको कला नजान्नाले आफूलाई विवेकी, शीलवान्, सिर्जनात्मक, सदाचारी र भावनात्मक रुपमा समृद्ध बनाउन भने सकेनन् । 

परिणामतः शिक्षितहरु जानकार भए शिक्षित हुन सकेनन् । प्रमाणपत्रधारी त भए तर योग्य हुन सकेनन् । विवेक, प्रज्ञा र शिलजस्ता कुराहरु भुल्दै गए । जति बढी शिक्षित त्यति बढी अहंकारी, दुराचारी र अनाचारी पनि हुँदै गए । आफू र आफ्नो भावनालाई निरीक्षण गर्ने त्यस आँखाबाट संसार, समाज र व्यक्तिलाई नियाल्ने कला नजान्नाले कुलत, कुसंस्कार र अनाचारबाट जोगिने आत्मबल सिर्जना गर्न सकेनन् । शिक्षित भएपछि समाजका लागि उपयोगी र उदारणीय बनेर बाटो देखाउने कुरामा शिक्षितहरु नै पछि परे । असन्तुलन, असन्तुष्टी र अपूर्णता रहिरह्यो उनीहरुमा ।  

अबको शिक्षाले अवचेतनको रुपमा रहेको मानिसको दायाँ मस्तिष्कलाई प्रशिक्षित गर्ने शिक्षा समावेश गर्नु जरुरी छ । यसो हुनसक्यो भने व्यक्तिभित्र रहेको कल्पना, भावना, सिर्जनात्मकता, मानवीयपन बढ्नेछ । यतिले मात्रै पनि केही सुधार हुनेछ तर पनि पूर्णता भने हुने छैन । त्यसपछि विशुद्ध आध्यात्मिकताको शिक्षा आवश्यक पर्नेछ जसका माध्यमबाट शिक्षितहरुले आफ्नो अथाह क्षमतालाई उत्खनन गर्न सक्नेछन् । यस्तो शिक्षा योग र ध्यानका विभिन्न विधिहरुमार्फत् दिन सकिन्छ । त्यसका लागि उसले कुनै वाद, धर्म वा सम्प्रदायमा बाँधिनु पर्ने छैन । विशुद्ध मानवीय चेतनाको यात्रामा लाग्ने तत्परता भए पुग्छ । यसो हुन सक्यो भने बल्ल हामी पूर्ण शिक्षित मानिस तयार गर्न सक्नेछौँ । त्यसरी शिक्षित गरिएको व्यक्तिले हिंसा, हत्या त्याग्नेछ, भ्रष्टाचार गर्न डराउनेछ र शिक्षित हुनुको सुगन्ध दिन सक्नेछ । 

2 comments:

  1. Dear Dirji,
    I found this article will be good for our U3A study material. We can use such educational reference materials for short term discussion forum. I will study all the materials of your blogs and make an idea how to manage such U3A class.

    ReplyDelete
  2. Dear Dirji,
    I found this article will be good for our U3A study material. We can use such educational reference materials for short term discussion forum. I will study all the materials of your blogs and make an idea how to manage such U3A class.

    ReplyDelete