Friday, November 1, 2013

राष्ट्रियताको प्रश्न


बाको कवक्तव्य सकिएपछि पालो थियो लिला दाइको । लिला दाइको बिषय थियो– नेपाली  राजानीतिमा राष्ट्रियता । 
आफ्नो भनाइ शुरु गर्दै लिला दाइले राट्रियताको बारेमा हाम्रा धारणाहरु बारे चर्चा गर्न शुरु गर्नु भयो । उहाँको बक्तव्यका सार यस्ता थिए । 
“राष्ट्रियता कुनै भू–भाग, पहिरन, भाषा आदि कुराले निर्धारण गर्ने अनि कसैलाई गाली र सत्तोसराप गरेर आर्जन हुने कुरा होइन । नेपालको राष्ट्रियता भन्नासाथ भारतलाई तथानाम गाली गर्ने र उसको संवेदनशीलता नहेरी आफ्नो स्वार्थका कुरा मात्र गर्ने प्रवृत्ति देखिन्छ । यसले छिमेकीलाई चिढ्याउने र सशंकित पार्ने काम लामो समयदेखि भएको छ ।  एउटै खाटमा सुत्दा खुट्टा लाग्छ भने झैं सीमा जोडिएको र त्यसमा पनि खुल्ला सीमाना रहेकाले दुवै देससँग अनेक किसिमका संवेदनशील विषयहरु छन् । भारतसँग केही हाम्रा संवेदनशील पक्ष छन् केही उसका संवेदनशील पक्ष छन् ।” 
सीमापार आतंकका विषयमा र आर्थिक गतिविधि खल्बल्याउने नक्कली नोट प्रकरणमा भारतको चासो गहिरो छ । नेपाल हुँदै बग्ने हिमाली नदीहरु नेपालको समथर भू–भाग र भारतका लागि पनि महत्वपूर्ण स्रोत हुन् । यिनले स्रोतको मात्र नभई नेपाल र भारतमा बाढीको प्रकोप बढाउने महत्वपूर्ण कारकको रुपमा पनि काम गरेका छन । त्यस अर्थमा सहमतिका आधारहरु पहिल्याएर आफ्नो र छिमेकी दुबैको हित कसरी हुनसक्छ भनेर गम्भीर प्राविधिक अनुसन्धान गर्ने र खुल्ला छलफलका माध्यमबाट एउटा राजनीतिक सहमति निर्माण गर्ने काम कहिल्यै भएन । नेपालका सत्ताधारी हुन् वा त्रिपक्षी दुबैले यसमा गम्भीर गृहकार्य गरेनन् । जब स्रोतको उपयोगको कुरा उठाएर केही काम हुन खोज्छ त्यसपछि अनेक नकारात्मक टिप्पणी गर्ने र भारतको हेपाहा प्रवृत्ति देख्ने गरिएका कारण सहमती भइसकेका विषयमा पनि कार्यान्वयन हुने कुरामा बाधा ब्यवधान भइरहे । त्यही कारण अनेक सहमती भएपनि त्यसको कार्यान्वयनमा समस्या देखिंदै आए । 
विस्तृत रुपमा आफ्नो श्रोतको अध्ययन गर्न र छिमेकीको संवेदनशील चासोका कुरालाई सम्बोधन गर्ने गरी प्राविधिक र राजनीतिक दुबै तहमा एउटा राष्ट्रिय सहमतिको निर्णय मार्फत साझा नीति तय गर्न कोही पनि अग्रसर भएनन् । यसो नहुँदा कोही कसैले केही कुरामा सम्झौता गरेर फर्कनासाथ त्यसको अनेकन कोणबाट राजनीतिक वृत्तबाटै आलोचना र विरोध गर्ने कामहरु हुन्छन् । यो दृष्टि भ्रमले हाम्रो राष्ट्रियताको प्रश्न बलियो होइन आजका दिनमा झनझन कमजोर बन्दै गइरहेको छ ।” लिला दाइले आफ्नो भनाइ एकैछिनका लागि रोके । 
दर्शकहरुबाट प्रश्न आयो– “दक्षिणी र उत्तरी दुबै छिमेकीहरु नेपालमा राजनीतिक अस्थिरता देखापर्नासाथ सल्बल्याउँछन् । यसको कारण के ? किन यसो हुन्छ ?” 
लिला दाइले उत्तर दिँदै भने– “यसमा दुईटा कारण छन्– आर्थिक कारण र सुरक्षा । आर्थिक रुपमा दक्षिणे छिमेकीको ठूलो लगानी नेपालको औद्योगिक र ब्यापारिक क्षेत्रमा छ । आफ्ना नागरिकको लगानी कुनै देशमा असुरक्षित हुन लाग्यो भने संरक्षणको चासो राख्नु हरेक राष्ट्रको दायित्वभित्रै पर्दछ । त्यसका लागि ऊ सत्तारुढ र विद्रोही दुबै पक्षसँग चासो राख्ने गर्दछ । दोस्रो कुरा रह्यो सुरक्षा । दुबैतिर खुल्ला सीमा छ । दक्षिणतिर आवतजावत गर्न सांस्कृतिक र आर्थिक कारणले पूर्णतः खुल्ला रहेको छ । उत्तरतिर सीमित र नियन्त्रित छ । तर दुबैतिर आ–आफ्ना संवेदनशीलता छन् । 
तिब्बतका घुसपैठ गरेर शान्तिसुरक्षा विगार्न अनेक शक्तिहरुले नेपाल र भारतीय भूमिको प्रयोग गरेको इतिहास छ । दक्षिणसँग सीमापार आतंकवादको ठूलो खतरा छ । खासगरी मुस्लिम आतंकवादीबाट उनीहरु त्रसित छन् । नेपालको कमजोर सुरक्षा संयन्त्र, कमजोर र द्वन्द्वग्रस्त  सरकार, द्वन्द्वग्रस्त राजनीतिक पार्टीहरु, आन्तरिक सुरक्षा अब्यवस्था अनि मुस्लिम आतंवादीहरु लुकेर बस्ने र सिमा प्रवेस गरेर भारतविरोधी गतिविधि गर्न सजिलो भएकाले त्यसको डर दक्षिणी छिमेकीलाई सधै“ रहँदै आएको छ । यसले गर्दा उसले सधैं हामीलाई सुरक्षा बलियो होओस् र त्यसमा नेपाल संवेदनशील होओस् भन्ने देख्न चाहन्छ । नेपाली राजनीतिक  नेतृत्व र सुरक्षा  संयन्त्रले त्यसको संवेदनशीलता बुझ्न सधैं कमजोरी गरेको देखिन्छ । सधंै ‘आफ्नो आँगको भैंसी नदेख्ने अर्काको आँगको जुम्रो देख्ने’ प्रवृत्ति हावी छ । उचित विकल्प र राष्ट्रिय रुपमा आर्जित सहमति नभई यी दुबै समस्याहरु आलोचना र बिरोधबाट हल हुँदैनन् । यसका लागि गम्भीर राजनीतिक संवाद जरुरी छ । 
सुरक्षा चासोको समानुभूतिपूर्ण समझदारीमा आधारित निकास नै नेपाली राष्ट्रियता बलियो बनाउने मुख्य आधार हो । प्रदर्शन, जुलुस र नाराबाजी यसको समाधान होइन । यिनले प्रमुख मुद्दा निक्र्यौल गर्ने आधार दिन सक्छन्, पृष्ठभूमि बनाउन सक्छन् तर समाधान निकाल्न सक्दैनन्  ।”
यति भन्दै फेरि लिला दाइले दर्शकहरुतिर आँखा डुलाए । एक जना पत्रकारले सोधे – “केही ऐतिहासिक उदाहरण छन् यसका ?”
लिला दाइले उदाहरुण पेश गदर्लै भने– “एउटा अत्यन्त सटिक ऐतिहासिक उदाहरण छ । जंगबहादुरलाई तत्कालीन ब्रिटिश भारतीय सरकारको आशिर्वाद थियो । त्यही आशाले होला प्रशिद्ध बेलायति अखबारले कोतपर्व लगत्तै हाम्रा शुभचिन्तक युवाले नेपालको राजनीति हत्याए । अब हाम्रो शासन हिमालसम्म फैलाउन सजिलो हुनेभयो भनेर लेख्यो । त्यही जंगबहादुर बेलायत जाँदा बेलायतकी महारानीलाई २ घण्टा कुराएर भनेपनि राजकीय सम्मान हासिल गरे । देशको प्रतिष्ठामा अडिग रहे । नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली र कन्चनपुर फिर्ता ल्याए । 
छिमेकी देशको राजनीतिमा सीमा जोडिएको छिमेकीलाई जहिले पनि चासो हुन्छ । त्यो पहिले पनि थियो, अहिले पनि छ, भोली पनि रहन्छ । यसैगरी हजारतिर फर्केर हजारथरि कुरा गर्ने अनि आफ्नो देशको् सुरक्षा संवेदनशीलता आर्थिक स्वार्थ, स्रोतको उपयोग, नागरिक हित जस्ता कुरामा विदेशीसँग कुरा गर्दा र सहमति गर्दा के गर्ने भन्ने राष्ट्रिय साझा दृष्टिकोण निर्माण गर्नैपर्छ । यसो नगर्ने हो भने हामी जतिसुकै चर्का कुरा गरेपनि राष्ट्रवादी भएर टिक्न र बाँच्न सक्दैनौं ।” 
लिला दाइले आफ्नो भनाइ यति भन्दै अन्त्य गरे । लिला दाइको बक्तव्य त्यो दिनको अन्तिम थियो । अर्को दिन अर्को बिषयको घोषणा गर्दै सभापतिले सभा अन्त्य गरे । सबै सहभागीलाई जलपानका लागि अनुरोध गरे । हामी जलपानमा सरिक भयौँ । जलपानका समयमा अनेक राजनीतिक मानिसहरु बाका वरिपरि झुम्मिए । बाको नाम र ठेगााना अनि बसाइ सोधे । बाले मतिर देखाउँदै आफूलाई चिनाउनु भयो । हामी सबैजना कार्यक्रम सकेर घरमा आयौँ । रवि दाइ आप्नै निकास तिर लागे ।

No comments:

Post a Comment