Monday, March 27, 2023

तिरुमलाको सुन्दरता र बासस्थानको चिन्ता

फेब्रुअरी १३, २०२३, तिरुमला ।


प्रशान्ति निलयमको अनुशासन, समयतालिका र जीवनशैलीमा अभ्यस्त हुँदै दुई दिन, तीन रात हामीले पुट्टपर्तीमा बितायौँ । आध्यात्मिक यात्राको हाम्रो भावना पुट्टपर्तीले अझ बढाइदियो अनि हामीले योजना बनायौँ सर्वाधिक श्रद्धालुहरुले यात्रा गर्ने अर्को तीर्थस्थल तिरुपति जाने र तिरुमलाको प्राकृतिक रमणीयतामा अवस्थित बेंकटेश्वरको बैकुण्ठभूमि स्पर्श गर्ने ।

‘बिहान ठीक ४.४५ मा आउनुहोला बस यहीँबाट जान्छ, करिब १२ बजे तपाईंहरु तिरुपति पुग्नसक्नुहुनेछ ।’ प्रशान्ति निलयम बस अड्डाको सोधपुछ कक्षका कर्मचारीले हामीलाई जानकारी दिए । हामी बिहान (फेब्रुअरी १२, २०२३) करिब ४.३० बजे नै बस अड्डा पुग्यौँ । अन्यत्र जाने बसहरु तयार थिए तर हाम्रो बसको भने अत्तोपत्तो थिएन ।  हामीलाई शंका लागेर फेरि सोधपुछ गर्दा त्यहाँका कर्मचारीले भने– ‘तपाईंहरु यहीँ बसिरहनुहोला बस ठीक समयमा आइपुग्छ ।’ नभन्दै ठीक समयमा आन्ध्र प्रदेश सडक परिवहन सेवाको बस आइपुग्यो ठीक ४.४५ मा । भएको के रहेछ भने त्यो बस अड्डा मूलतः कर्नाटक राज्य सडक परिवहन सेवाको बस अड्डा रहेछ । आन्ध्र प्रदेश सडक परिवहन सेवाको बस त्यहाँ राख्न नपाइने हुनाले अन्यत्रबाट त्यहाँ आएर यात्रु संकलन गरेर गन्तव्यतिर लाग्दोरहेछ ।  

बिहानको समय अलि चिसो नै थियो । हामीले हल्का ज्याकेट लगायौँ ।  बस बीचबीचमा रोक्तै यात्रुहरु चढाउँदै गर्दा भरिँदै गयो । करिब ३ घण्टाजति कुदेपछि एउटा सानो बस अड्डामा रोकियो । त्यस ठाउँको नाम कादिरी थियो । त्यहाँ केही यात्रु थपिए, केही घटे । मलाई पिसाबले निकै चापेको थियो । बस केहीबेर रोकिएला भन्ने ठानेर पिसाब घरतिर लागेँ । पिसाब गर्न मात्र के लागेको थिएँ गाडी सडकतिर सोझिइहाल्यो । परेन त फसात् ! हुनतः मैले कलालाई भनेरै गएको थिएँ तर के भर ! हाम्रो भाषा राम्ररी बुझ्दैनथे बसका कर्मचारीहरु । उनीहरुलाई पर्खने अनुमति पनि नहुन सक्थ्यो । अब पिसाब रोकेर बसतिर कुद्ने कि पिसाब गरिसक्ने ? म आपत्मा परेँ । करिबकरिब सकेर हतारहतार बसतिर दगुरेँ । म बसनेर आइपुग्दानपुग्दै बस त गुड्न थालिसकेको । धन्न छुटेन, हतारहतार सिटमा बसेँ, बसले गति लियो । करिब ९ बजेतिर हामी मदनपल्ली भन्ने सानो शहरमा पुग्यौँ जहाँ करिब १० मिनेट बसले विश्राम लियो । त्यसपछि भने बस तीव्र गतिमा पूर्वतिर हान्नियो । सडक पनि निकै फराकिलो । दुवैतिर तीनतीन लाइन बस कुदाउन मिल्ने ।    

हाम्रो बस सिधा पूर्व मोहडा गरेर तीव्र गतिमा हुइँकिइरहेको थियो तिरुपतितिर । दक्षिणतिर भने मध्यम कदका ढुङ्गे पहाडैपहाड देखिन्थे आँखाले भ्याउन्जेल । गोलाकार पारेर कुँदिएका ती ढुङ्गा यति चिल्ला देखिन्थे कि कुनै कालिगढले वर्षौं मिहिनेत गरेर कुँदेजस्ता । ढुङ्गामाथि ढुङ्गा खापिएर चुलिएका पहाड हेर्दा लाग्थ्यो ती पहाड प्रकृतिले होइन कुनै कालिगढले बर्षौं मिहिनेत गरेर बनाएको हो । हामी हेर्दाहेर्दै शेषाचलम् पर्वतश्रृङ्खलाभित्र पस्यौँ । सुन्दर हरियालीयुक्त यो मनोरम वनको बीचैबीच सानो गल्छिँडो पार गरेर हाम्रो बस ओरालो लाग्यो । करिब एक घण्टाको जङ्गलयात्रापछि  हाम्रो बस फेरि समथर भूभागको बीचोबीच गुड्न थाल्यो । बैंकटेश्वरका आकृति र त्रिपुण्डधारी प्रवेशद्वारहरु देखिन थाले । मलाई लाग्यो, अब तिरुपति आउन लागेछ क्यार ! के हुन्थ्यो, वरपर कुनै शहर त के गाउँसम्म देखिएका थिएनन् । समय अझै बाँकी थियो हाम्रो यात्राको । 

तिरुपति शहर पस्न लागेपछि भने बेंकटेश्वर प्राणी उद्यान्नको विशाल सूचनापाटी देखियो । उत्तरतिर थियो हरियो घना जङ्गल । बाटामा देखिएका पहाडभन्दा यो ठाउँका पहाड पूरै हरियालीयुक्त थिए । अलिबेरमा देखियो बैंकटेश्वरकै नाममा एउटा ठूलो क्षेत्रमा फैलिएको उच्चशिक्षालय । अब हामी तिरुपति शहर प्रवेश ग¥यौँ, दायाँबायाँ त्रिपुण्डधारी प्रवेशद्वारहरु, होटलहरु जताततै बैष्णव सम्प्रदायको प्रतीकस्वरुप लगाइने त्रिपुण्डका सङ्केतहरु हेर्दा पुरै शहरनै श्रीबैष्णवहरुको शहरझैँ अनुभव हुन्थ्यो । सडकका खम्बाहरु समेत त्रिपुण्डधारी थिए । यस्तो लाग्थ्यो त्यो शहर पूरै बैष्णवमय छ, बैंकटेशमय छ र तिरुपतिमय छ । एउटा साँच्चिकै धार्मिक आस्थाले भरिएको शहर, एक पवित्र तीर्थस्थल । 

हामी करिब १२ बजे दिउँसो तिरुपति बस अड्डा पुग्यौँ । त्यहाँ एकै ठाउँमा तीनवटा बस अड्डा थिए । आन्ध्र प्रदेश सडक परिवहनको बस अड्डामा हाम्रो बस रोकियो । अब हामीलाई तिरुमला जानु थियो । मैले बसकै कर्मचारीलाई सोधेँ । उनले तिरुमला जाने बस लाग्ने ठाउँ हामीलाई देखाइदिए र उनी आफ्नो काममा लागे । हामी बिहानै पुट्टपर्तीबाट हिँडेको र केही खान नपाएकाले भोकले छटपटाइसकेका थियौँ । बस अड्डाकै छेउछाउमा जताततै शाकाहारी रेष्टुराँ देखिन्थे । हामी खानका लागि एउटा रेष्टुराँमा पस्यौँ । बस अड्डाको नजिक भए पनि रेष्टुराँ निकै सफा थियो । खानाको दर प्रतिव्यक्ति भारु. १२० । शाकाहारी भोजनमा हुनुपर्ने सबै परिकारयुक्त भोजन हाम्रो अगाडि आइपुग्यो । 

भोजनपछि फेरि चासो भयो यात्राको । तिरुमला जाने बस पहिले नै सोधेर हामी तयार भएर बस लाग्ने स्थनमा पुग्यौँ । बस भरिएको त थिएन तर उसको समय तालिकामा हिँड्न तयार थियो । रु. ९० को टिकट लिएर हामी बसमा चढ्यौँ तिरुमला जान । 

तिरुपतिको अलपिरी बन्ने ठाउँबाट  तिरुमला जाने बस घुमाउरो बाटो हुँदै उकालो लाग्दोरहेछ । हुनतः अलपिरीबाटै तिरुमला जाने बस पनि पाइँदो रहेछ । तिरुपति जाने अधिकांश तीर्थालुहरु तिरुमला जाने भएकाले तीर्थायात्रीलाई कुनै असुविधा र अलमल नहोस् भनेर त्यसको व्यवस्थापन असाध्यै चुस्त र सुविधाजनक बनाइएको थियो । अलपिरीमै सबै सरसामान जिम्मा दिएर हिँडेर तिरुमला जान पाउने सुविधा पनि थियो । आफूले साधन लिएर जाने वा बसमा जाने अर्को सुविधा त छँदै थियो । पैदल यात्रा गरेर बेंकटेश्वरको दर्शनका लागि उकालो चढ्नेहरु सामान फेदीमै बुझाएर तिरुमलामा लिने गरी पनि जान सकिने सुविधा देख्ता तिरुपति बालाजीको व्यवस्थापनको चुस्तता सहजै अनुमान लाउन सकिन्थ्यो । गोऽऽविन्दा, गोओओओविन्दा भन्दै करिब ४ घण्टा उकालो चढेर जाने मानिसहरु पनि प्रशस्तै थिए । उनीहरुलाई कुनै असुविधा नहोस् भनेर ठाउँठाउँमा खाने सुविधा, पानी, सर्बत, मोही पिउने सुविधा अनि ठाउँठाउँमा अन्न प्रसाद सितैँमा खान पाइने सुविधा थिए । हामीले चाहिँ बसबाटै पहाडको चुचुरोमा पुग्ने निर्णय गरिसकेका थियौँ । शेषाचलम् पर्वतका सात चुचुरामध्ये बेङ्कटाद्रीको चुचुरोमा बेंकटेश्वर भगवानको भव्य मन्दिर रहेको र श्रीवैष्णहरुका लागि सबैभन्दा पवित्र र ठूलो तीर्थस्थल मानिएकाले यो तीर्थस्थल भारतका तीर्थस्थलमध्ये सबैभन्दा बढी तीर्थयात्रीहरु जाने तीर्थस्थल रहेछ । अनेक मनोकांक्षा पूरा गर्ने शक्तिका लागि प्रर्थना गर्न, पूरा भइसकेपछि कृतज्ञतास्वरुप दर्शन गर्न वा तीर्थस्थलको सुन्दरता अवलोकन गर्न जाने थरीथरीका तीर्थालुहरु तिरुमला जाने समूहमा सामेल हुन्थे र त्यहाँ पुग्थे । 

मैले पनि तिरुपति बालाजीको बारेमा प्रसस्त सुनेको तर पुग्न अनुकूल नपरेकाले यस पटक समय मिलाएर त्यहाँ जाँदै थिएँ । म बेंकटेश्वरसँग केही माग्न वा दर्शन गर्नभन्दा पनि त्यसको अनुभव गर्न जाँदै थिएँ । त्यसैले मलाई यसबारे जिज्ञाशा स्वभाविक रुपमा अटसमटस भएको थियो । 

अलपिरीमा सबै सरसामान मेशीनमा हालेर चेक गर्ने र त्यसपछि सामान राख्ने ठाउँमा जिम्मा दिने वा आफैँले लैजाने दुवै सुविधा थियो । संरक्षित वनक्षेत्र (बेंकटेश्वर राष्ट्रिय निकुञ्ज)भित्र पर्ने हुनाले सरसामानको कडा चेकजाँचको व्यवस्था थियो उकालो चढ्नुअगि । 

हाम्रो बस यात्रुका सरसामान चेकजाँचको लागि अलपिरी गेटमा रोकियो । हामी सबैले आआफ्ना सामान हातमा लिएर मेशीनभित्र हाल्यौँ । पालैपालो सामान जाँच गर्दै बाहिर फुत्तफुत्त फाल्ने अनि यात्रुहरु सामान टिपेर हतारहतार बसतिर दगुर्ने दृश्य देख्ता माओवादी द्वन्द्वकालमा सैनिकहरुले सडकमा उभिएर यात्रुका सरसामान निगरानी गरेको दृश्य मेरो मनमा झलझली आइरह्यो । 

हामी चढेको बस घुम्तीमा घुम्दै उकालो चढ्न थाल्यो । करिब ४५ मिनेटको हरियो वनभित्रको स्वच्छ हावामा कावा खाँदै ती घुम्ती पारगर्दै र हामीलाई शेषाचलम् वन क्षेत्रको रमणीय दृश्यपान गराउँदै तिरुमलाको चुचुरो टेक्यो । आन्ध्र प्रदेश सडक परिवहन सेवाको बस अड्डामा पु¥याएर हामीलाई विदा ग¥यो बसले ।

चारैतिर हरियो जङ्गल, बीचमा मन्दिर, यात्री निवास, फराकिला सहक, प्रसस्त सवारी साधनको ओहोरदोहोर अनि सलहझैँ मानिसहरुका सानाठूला समूह । त्यो सुन्दर पर्वतमालाको मुटुमा रहेको सफा र सुन्दर बैंकटेशभूमिका हामीले पाइला टेक्यौँ ।

......... 

शेषचलम् पर्वतालाअन्तर्गत पर्ने सातवटा चुचुराहरु (शेषाद्री, नीलाद्री, गरुडाद्री, अन्जनाद्री, वृक्षभाद्री, नारायणाद्री र बेंकटाद्री) मिलेर बनेको छ तिरुमाला । त्यसैले यसलाई सप्तगिरि पर्वत पनि भनिँदोरहेछ ।   । बेंकटेश्वर मन्दिर यही सप्तगिरि पर्वतको एक चुचुरो बेंकटाद्रीमा अवस्थित छ । समुद्र सतहबाट करिब ९८० मिटरको उचाइमा रहेको यो चुचुरो करिब २७ वर्ग किलोमिटरमा फैलिएको रहेछ ।  अन्य चुचुराहरु यसका वरिपरि छन् र ती सबैमा एक न एक देवस्थल अवस्थित छ । अर्को चाखलाग्दो कुरा के छ भने यी सात चुचुराहरुलाई शेष नागका सात शिरको रुपमा पनि लिने गरिँदोरहेछ । शेष नाग भगवान विष्णुका मुख्य रक्षक पनि हुन् ।

चारैतिर हेरेर केहीबेर त मनै पुलकित भयो । रमाइलो त देखियो तर अब फेरि अर्को चिन्ता त छँदैथियो बासको । यतिका मानिसको हुल ओहोरदोहोर गरिरहेको यति सानो ठाउँमा अब बास कहाँ बस्ने होला ? सोधखोज गर्दा थाहा भयो, बेंकटेश्वर दर्शनको टिकट र बासस्थानको लागि नाम दर्ता त तिरुपतिमै गर्ने व्यवस्था रहेछ जुन हामीले गरेका थिएनौँ ।

 ‘यहाँ बास बस्नको लागि त दर्शननार्थीको टिकट पनि पेश गर्नुपर्छ ।’  हामीसँगै गएका चेन्नईका एक जना तीर्थालुले झनै हामीलाई डर देखाए । अब प¥यो फसात् । अब फेरि तिरुपति ओरालो लाग्नु कि बासको खोजी गर्नु ? हाम्रो सूचनाको कमजोरीले एकछिन त रनभुल्लमै पा¥यो । 

हिम्मत हारिएन भने समस्या समाधानका अनेक उपाय भेटिन्छन् भनेझैँ हामी बसपार्कबाट माथितिर उक्लेर मुख्य सडकमा आयौँ र चौतारामा आरामसाथ बस्यौँ । सँगै अन्नप्रसाद वितरण भइरहेको थियो, तिरुपतिको खिचडी । सबैले पातको ठूलो बोहोतामा लिएर खाँदै थिए । मैले तिरुपतिमा पाइने लड्डू र जगन्नाथमा वितरण गरिने खिचडी महाप्रसादको बारेमा सुनेको थिएँ तर तिरुपतिको खिचडीबारे सुनेको थिइँन । मैले दुई जनाको लागि प्रसाद लिएर आउन कलालाई भनेँ र म चाहिँ बासको सोधपुछमा लागिरहेँ । खिचडी निकै थियो हातभरिको बोहोतामा । भर्खरै खाना खाएर बसयात्रामा गएकाले भोक लागिसकेको पनि थिएन । हामी प्रसाद खाइसकेर आरामसाथ बसिरहेका थियौँ, बासस्थन दर्ता गर्ने काउन्टर खुला भयो । हाम्रो हर्षको सीमा रहेन । कुनै अन्धविश्वासी तीर्थयात्री भएको भए बेंकटेश्वर भगवानको प्रसादको कृपा पनि भन्थ्यो होला । हामीले पनि बेंकटेश्वर तीर्थस्थल व्यवस्थापनलाई धन्यवाद दिँदै हतारहतार लाइन लाग्यौँ । बासस्थानको लागि प्रमाणसहित नाम दर्ता ग¥यौँ । हामीसँग परिचय खुल्ने कागज र फोन नं.ं दर्ता गर्ने कर्मचारीले मागे, हामीले टिपाएको फोनमा एउटा म्यासेज आयो दर्ताभएको नम्बरसहितको । उनले भने– ‘तपाईंहरुको नाम दर्ता भयो अब केही घण्टा समय लाग्छ, खबर आउनासाथ पैसा तिर्न तोकिएको ठाउँमा जानुहोला । अहिले प्रतीक्षा गरेर केही घण्टा बस्नुहोस् । सरसामान राख्नुपर्ने छ भने अलि अगाडि गएर सरसामान राख्ने ठाउँमा सबै सामान राख्नुहोला, सामान सित्तैँमा राख्न पाइने सुविधा छ ।’

यति जानकारी पाएपछि अब तिरुमलामा बास बस्न पाइने सम्भावना त भयो तर अर्को कुराले फेरि चिन्ता थपियो । कुरा के भने कहिलेकाहीँ तिरुमलामा बासस्थान सकियो भने तिरुपतिमा उपलब्ध गराउने व्यवस्था रहेछ । तिरुपति जान फेरि बसमा चढेर फर्कनुपथ्र्यो जुन हाम्रालागि सुविधाभन्दा सजायजस्तो हुन्थ्यो । हामी केही घण्टा त त्यसै बस्यौँ । हेर्नेघुम्ने ठाउँ पालैपालो वरपर घुम्दैहेर्दै करिब ५ बजेसम्म बितायौँ । ५ बजेपछि भने धैर्य डगमगाउन थाल्यो । मलाई लाग्यो, कतै खबर नै पो नआउने हो कि ? के भरोसा होला र आउँछ नै भन्ने ? प्रविधि त हो कहिलेकाहीँ धोका पनि त हुनसक्छ । 

मैले फेरि नजिकै उभिएका एक जना युवालाई सोधेँ– खबर त पक्का आउँछ हैन दर्ता गरेपछि ?’ उनले मेरो दर्ता नै मोवाइलको म्यासेजबक्समा हेर्दै भने– ‘दर्ता गरिसकेपछि बास त अवश्य पाइन्छ तर यहीँ पाउँछ कि तल पाउँछ त्यो चाहिँ भन्न सकिन्न ।’ 

परेन त आपत् ! फेरि तलै फर्कनुप¥यो भने ? यस्तै सोच्तै करिब आधाघण्टा सझै कटायौँ । त्यसपछि भने रात पर्न लाग्यो । विकल्पतिर लागेन भने अर्को आपत् आउला भन्ने ठानेर नजिकैको अर्को अतिथी गृहमा पुग्यौँ । हामीलाई लागेको थियो त्यो अतिथीगृह छुट्टै होला । त्यहाँ काउन्टरमा बसेका सज्जनले हाम्रो दर्ता नम्बर मागे । हामीले दर्ता नम्बरसहितको मेसेज मोवाइलमै देखाइदियौँ । उनले आफूअगाडिको कम्प्युटरमा केही खोजेजस्तो गरे र भन,े ‘तपाईंहरु बस वा ट्याक्सी चढेर जिएनसी जानुहोस्, अलि टाढै छ, अगाडी बस वा ट्याक्सी पाउँछ, एक सय भाडा लिन्छ होला । चाँडो जानुस्, कोठा त्यहीँ पाउनुहुनेछ ।’

हामी सामान बोकेर फेरि त्यहाँबाट फक्र्याैँ र ट्याक्सी खोज्न थाल्यौँ । नभन्दै अलि अगाडि पुग्नासाथ एक जना अर्का सज्जन पनि त्यतै जाँदै थिए । हामीले दुईजनाको एक सय दियौँ र जिएनसीको सोधखोज काउन्टरमा पुग्यौँ । काउन्टर पुगेपछि फेरि अर्को फसाद आइलाग्यो । झ्यालबाहिरै सूचना टाँसिएको थियो– शुल्क भुक्नातीको लागि कृपया मोवाइल वालेट वा कार्डको प्रयोग गर्नुहोला, नगद लिइने छैन ।’ भारत गैरनगद कारोबारमा यति तीव्र गतिमा अगाडि बढिरहेको होला भन्ने मैले अनुमान गरेको थिइनँ । साथमा पैसा हुँदाहुँदै त्यो कागजको खोस्टो भइसकेको होला भन्न्े मलाई के थाहा !  

‘अभागी ... बस्यो, तीन बित्ताको काठ पस्यो’ भन्ने उखानजस्तो भयो । बल्लबल्ल पाएको कोठा फेरि अर्को तगारो । मेरो निधारमा चिटचिट पसिना आयो । सोच्नै केही नसकेर केहीबेर त अरुले कोठा बुक गरेको हेरेर ट्वाल्ल परिरहेँ । उनीहरु धमाधम कोठाको शुल्क तिर्थे र सामान लिएर कोठातिर लाग्थे आफू भने हे¥यो, बस्यो । मैले भएभरका एटिएम् कार्ड र पिन नम्बर काउन्टरको कर्मचारीलाई जिम्मा लगाएँ । जतिपटक कार्ड घुसारेर पिन नम्बर हाले पनि कार्ड अस्वीकार भइरह्यो । म अब तिरुमला बस्न नपाइने भएँ भन्ने निचोडमा पुगेँ । केही युवाहरु जोसँग पेटिएम वालेट थियो, भारतीय कार्ड थियो अनुरोध गरेँ– ‘म तपाईंलाई नगद दिन्छु, मेरो पैसा तिरिदिनुस् न’ भनेर । यसै पनि हिन्दी र अंग्रेजी कम बुझ्ने त्यहाँ जाने तीर्थालु त्यसमा पनि पैसाको कुरा, कुनै उपाय लागेन । म हैरान भएर कुर्सीमा थचक्क बसेँ । मेरो दिमागले काम गरेन, पूरै खालिखालिजस्तो भयो । केही मिनेट त्यसरी नै बित्यो । 

त्यो सबै हेरिरहेको अर्को झ्यालको कर्मचारीले मेरो मर्का बुझ्यो र मलाई पैसा दिन इसारा ग¥यो । मैले रु. ५०० धरौटी र कोठा वापतको रु. ५० हत्तापत्त निकालेर उसको हातमा दिएँ । कोठा शु्ल्क, कोठा नं. र धरौटी लेखिएको सानो कागजको चिर्कटो मेरो हात प¥यो । साँचो कोठा भएको भवननजिकै स्वयम्सेवकहरुलाई भेटेर लिन सकिने जानकारी प्राप्त भयो । 

हाम्रो खुसीको सीमा रहेन । अनुहारमा चन्द्रमा उदाए । हामी कागजको चिर्कटो हातमा लिएर सामान सँभाल्दै बासस्थानको गन्तव्यतिर लम्कियौँ । गरुडाद्री नगर कटेज नम्बर २५६ खोज्दै । 

केहीबेरको हिँडाइपछि एउटा दुइतले कटेजमा हाम्रो कागजमा अङ्कित नम्बर देखियो । त्यसको ठीक अगाडि एक जना स्वयम् सेवक कुर्सी र टेबल राखेर बसिरहेका थिए । हामीलाई देख्नासाथ कागज मागे । त्यो कागज हेरिसकेपछि उनले साँचो हाम्रो हातमा दिँदै एउटा नम्बर हाम्रो कागजमा लेखिदिए । त्यो नम्बर भोलिपल्ट धरौटी फिर्ता लिन आवश्यक पर्ने नम्बर रहेछ ।  उनले हामीलाई अथ्याउँदै भने, ‘यो कागज नहराउनुहोला, भोलि साँचो यहीँ बुझाएर यो कागज लिएर आज पैसा बुझाएको ठाउँमा गएर धरौटी राखेको पैसा फिर्ता लिनुहोला ।, 

हामी कोठा पाएकोमा दङ्ग त छँदैथियौँ, त्यहाँको व्यवस्थापन, सेवाभाव र प्राकृतिक सुन्दरता बचाएर गरिएको भौतिक विकासबाट पनि चकित भयौँ । बास्थान फराकिलो थियो । जसमा एक सुत्ने कोठा, अर्को खालि कोठा र दुई स्नानागार थिए, त्यस्तो बास्थानको शुल्क भने २४ घण्टाको लागि जम्माजम्मी भारु. ५० । हामी त्यो सेवा र आतिथ्यका लागि बेंकटेश्वरप्रति कृतज्ञ हुँदै साँचो खोलेर भित्र पस्यौँ । गोविन्द, गोओओओे........विन्द, गो..........विन्दको ध्वनि चारैतिर गुन्जिरहेको त्यो प्राकृतिक पावन भूमिमा गोविन्दप्रति श्रद्धावनत हुँदै विश्राममा लीन भयौँ । 


No comments:

Post a Comment