Monday, March 20, 2023

श्रद्धा, सेवा र पराक्रमको सङ्गम पुट्टपर्ती

फेब्रुअरी ११, २०२३, पुट्टपर्ती ।


सन् २००६ को अगस्त महिनामा मैले यो पवित्र स्थलमा पहिलो पटक पाइला टेकेको थिएँ । माइग्रेनले धेरै च्यापेपछि एक जना मित्रको सल्लाहमा स्वास्थ्य उपचारका लागि बेङ्गलोर पुग्दा लामो समय बस्नुपरेकाले बीचबीचमा हुने फुर्सतको उपयोग र केही पवित्र तीर्थस्थलको अनुभव गर्ने मनशायले सत्य साइ बाबाको यो आश्रम मेरो गन्तव्य बनेको थियो । 

मलाई साइ बाबाको बारेमा जानकारी दिने र उनका कर्महरुबारे बताएर उनीप्रति आकर्षित गर्ने एक जना सगोत्री दाइ थिए । नाम सायद विष्णु थियो । ती दाइले करिब ३५ वर्षअगि विराटनगर बस्दाताका मलाई सत्य साइ बाबाको बारेमा अनेक आश्चर्यजनक घटना बताएका थिए । म त्यतिबेला खूब पुस्तक पढ्थेँ । उनले मलाई ‘सत्यम्, शिवम्, सुन्दरम्’ भन्ने एउटा पुस्तक पढ्न दिएका थिए । त्यसमा साइ बाबाका चमत्कारिक घटनाहरुको चर्चा थियो । त्यो पुस्तक पढेपछि र उनका कुरा सुनेपछि मलाई त्यतातिर गएमा एक पटक पुट्टपर्ती पुग्ने इच्छा पलाएको थियो । धेरै समयसम्म त्यो इच्छा अनेक कुराको बाहाना र अभावले त्यसै धुमिल बनिरह्यो । 

समयले सबै कुरा मिलाउँछ भनेझैँ सन् २००६ मा पहिलो पटक र सन् २०२३ मा दोस्रो पटक म सत्य साइ बाबाको यस पुग्य कर्मभूमिमा आइपुगेको छु । यो अवसर मेरी पत्नी कलाको चाहनाले पनि जुराएको छ ।

सन् २०२३ फेब्रुअरी महिनाको ९ तारिख बेङ्लोरको केम्पेगौडा बस अड्डाबाट दिउँसो करिब ३.३० बजे कर्नाटक सडक परिवहन सेवाको बस चढ्यौँ । हुनतः बेङ्गलोर विमानस्थलबाट सिधै पुट्टपर्ती जाने हो भने बेङ्गलोर जान आवश्यक रहेनछ । विमानस्थलबाट मुख्य राजमार्ग जोडिने ठाउँ देवानहल्लीमै ओर्लेर त्यहीँ बस कुर्दा पनि हुने रहेछ तर हामीलाई त्यो जानकारी भएन । जानकारीको अभावमा करिब एक घण्टाको समय र र भारु.१००० बढी भाडा खर्च भयो । जेहोस् बेङ्गलोर पुगेपछि भने सहजै रुपमा बस पायौँ, अलमलमा परिएन । बस कर्मचारीले हामीलाई स्वागत गरे । राज्य परिवहन सेवाका कर्मचारी झलक्क हेर्दै चिनिउन् भनेर उनीहरुको अलग्गै पहिरन निर्धारण गरिएको रहेछ खैरो सर्ट र पाइन्ट । सबै सहचालकको घाँटीमा झुण्डिएको हुन्थ्यो टिकट मेशीन ।  ५२ सीट क्षमताको बस झ्वाट्ट हेर्दा निकै लामो लाग्यो । समतल भूभागमा चल्ने भएकाले पनि होला त्यहाँका बस हामीकहाँभन्दा निकै लामा थिए । सायद समतल भूभाग, स्तरीय सडक भएकाले एउटैले धेरै यात्रु बोक्न सकून् भनेर बसको आकार अलि लामो बनाइएको होला भन्ने अनुमान हामीले ग¥यौँ । बसहरु झट्ट हेर्दा त्यति आकर्षक र चिटिक्क परेका चाहिँ थिएनन् तर तिनको कुदाइको गति र सेवा चाहिँ स्तरीय थियो । बेङ्गलोरबाट पुट्टपर्तीका लागि भारु. २४६ भाडा तिरेपछि सहचालकले तुरुन्त टिकट प्रिन्ट गरेर हामीलाई दिए । टिकटमा भाडा रकम, चढेको ठाउँ र ओर्लने ठाउँ, टिकट लिएको समय र बस नं. उल्लेख थियो । यो अलि नौलो थियो हाम्रा लागि । मैले टिकट लिएँ र खल्तीमा राखेँ ।  

बेङ्गलोर र पुट्टपर्तीका बीचमा पर्ने सानाठूला शहरहरुमा केही मिनेट रोक्ने यात्रु ओराल्ने, चढाउने गर्दै हाम्रो बस गन्तव्यतिर लगातार बढिरह्यो । करिब ८ बजे राति हामी पुट्टपर्तीनजिकैको पेनुकोण्डा पुग्यौँ । बसका सहचालकले हामीलाई ओर्लन इसारा गरे र सडक पार गरेर अर्को बसको प्रतीक्षा गर्न सल्लाह दिए । हामी ओर्लेर प्रशान्ति निलयम जाने साधनको प्रतीक्षा गर्न सडक पार गरेर उभियौँ । रातको बेला, बस पाइने हो कि होइन भनेर सोच्दानसोच्दै प्रशान्ति निलयम जाने बस आइपुग्यो । बसलाई फेरि भारु. १० तिरेर हामी रातको ८ बजे प्रशान्ति निलयम पुग्यौँ । 

हामी पुग्दा आश्रमको प्रवेशद्वार बन्द हुनै लागेको थियो । प्रवेशद्वार वरपर प्रशस्तै अतिथी गृहहरु र होटलहरु देखिन्थे । प्रवेशद्वारनजिकै भेटिएका एक अतिथी गृहका सज्जनले हामीनजिकै आएर भने– ‘भित्र आवास सुविधा प्रदान गर्ने काउन्टर बन्द हुने समय भयो । सायद अब तपाईंहरु भ्याउनुहुन्न होला । हामी भित्रकै दरमा तपाईंलाई आवास सुंिंंंंवधा दिन्छौँ । दुई जना बस्न मिल्ने, तातोचिसो पानी आउने स्नानागार भएको कोठाको मात्र चार सय भारतीय रुपैयाँ ।’

हामीलाई लाग्यो यिनको कुरा सही हुन सक्छ तर एक पटक किन प्रयास नगर्नू ! यस्ता अतिथी गृहमा त जहाँसुकै र जहिले पनि बस्न पाइहालिन्छ, यहाँ नै आइसकेपछि आश्रमको परिसरभित्र बस्नुको आनन्द किन नलिनू ! 

‘हामी एक पटक भित्र जान्छौँ, पाइयो भने त्यहीँ बस्छौँ, पाइएन भने तपाईंकहाँ अवश्य आउँछौँ, नरिसाउनुस् है ।’ मैले उनलाई आश्वस्त पारेँ र प्रवेशद्वारतिर लम्केँ । नभन्दै भित्र पुग्दा भोजनको समय अन्त हुनै लागेको थियो, आवास सुविधा दिने काउन्टर सुनसान भइसकेको थियो । हामी हस्याङफस्याङ गर्दै आवास सुविधा प्रदान गर्ने झ्यालअगाडि उभियौँ । सबै स्वयम्सेवक दिनभरिको हरहिसाबमा व्यस्त थिए । लाग्यो, अब यहाँ बस्न पाउने सम्भावना कम छ । हामीले प्रयास गर्दा के बिग्रेला र भन्दै सोध्यौँ, ‘हामी दुई जना छौँ, यदि आवास उपलब्ध हुनसक्ने सम्भावना छ भने मिलाइदिनुहुन्छ कि !’ 

हाम्रो आग्रहपछि स्वयम्सेवकले कम्प्युटरमा केही खोजेजस्तो गरे । सायद उनले कोठा खाली छ–छैन एकिन गरेका होलान् । हामी भने त्यतिका झिटीगुन्टा बोकेर फेरि बाहिरिनुपर्ने हो कि भन्ने चिन्तामा मुटुको धडकनै रोकिएलाजस्तो गरी उसैतिर आँखा लगाएर उभिइरह्यौँ । हाम्रो प्रार्थना खेर गएन । तुरुन्तै हामीतिर फर्केर उनले सोधे– ‘तपाईंहरु तातोचिसो पानी आउने स्नानागार भएको कोठा रोज्नुहुन्छ कि चिसो पानी मात्र आउने ?’ 

‘तातो पानी आउने कोठा ।’ हामीले बिजुलीको गतिमा उत्तर दियौँ । किनकि मौसम अलि चिसै थियो । 

उनले हाम्रो परिचय खुल्ने कागज र आवास सुविधावापतको रकम प्रतिरातको भारु.४०० मागे । कलाको मुखमण्डलमा खुसीको आभा दौडियो । उनले हत्तपत्त पैसा निकालेर झ्यालबाट छिराइन् र लामो श्वास तानिन् । केहीबेरमा एउटा सानो कागजको चिर्कटो र कोठाको नम्बरसहितको साँचो हाम्रो हात लाग्यो । हामी अप्राप्य कुरा प्राप्त गरेझैँ हर्षले धपक्क बल्यौँ । हुन पनि म २००६ मा त्यहाँ पुग्दा बिनाखाटको भुइँ बल्लतल्ल पाएका थियौँ । त्यही भुइँमा कागजको कार्टुन च्यातेर डसना बनाएर गुडुल्किने झोलमा बेरिएर रात काटेको अनुभव थियो । अहिले कोठा त्यति सजिलै पाउँदा किन फुरुङ्ग नहुनु ! त्यसमा पनि यो सुन्दर मौसमको बेला । हामीले कृतज्ञता दर्शायौँ र गदगद हुँदै कोठा जान बाहिरियौँ । कोठा पाएको हर्षले होला झेलाको तौल पनि आधा घटेझैँ लाग्यो । 

हाम्रो आवास भवन नं. ९ को भुइँ तलाको कोठा नंं ६ मा परेको थियो । भवन खोज्न र कोठा पत्ता लाउन बाहिर उभिएर सेवा दिइरहेका स्वयम्सेवकले सहयोग गरे । वषौँदेखिको उनको चाहना पूरा हुन पाएकोले कलाको हर्षले सगरमाथा चुम्यो । हामी कोठामा सामान राखेर बाहिरिँदा करिब ९ बजिसकेको थियो । भोजनगृहहरु बन्द हुने सुरसारमा थिए । हामी हतारोसँग फटाफट् भोजनगृहतिर बढ्यौँ ।

.....

प्रशान्ति निलयमभित्र स्त्री र पुरुषका लागि छुट्टाछुट्टै भोजन कक्षको व्यवस्था छ । पश्चिमा, उत्तर भारतीय र दक्षिण भारतीय भोजनगृह गरी तीनथरि भोजनगृह छन् । तिनमा सयौँ स्वयम् सेवकहरु सेवा दिइरहेका हुन्छन् । हजारौँ श्रद्धालुहरुले ती भोजनगृहमा प्रसाद ग्रहण गर्छन् । दक्षिण भारतीय भोजनगृहमा सबैभन्दा बढी अनि क्रमशः उत्तर भारतीय र पाश्चात्य भोजनगृहमा मानिसहरुको जमघट देखिन्छ । हाम्रा लागि उत्तर भारतीय भोजनगृहका परिकारहरु रोजाइमा परे । दुवैजना छुट्टियौँ र महिलापुरुषका लागि निर्धारित बेग्लाबेग्लै भोजनगृहतिर बढ्यौँ । 

भोजनको अन्तिम समय भइसकेकाले थोरै परिकार मात्र बाँकी थिए । केही पुरी, दहीको कडी अनि अचार हाम्रो उदरपूर्तिका साधन बने । थालमा भोजन लिइसकेपछि काउन्टरमा गएर त्यसको मूल्य भुक्तानी गर्ने अनि निर्धारित स्थानमा बसेर शान्त भावमा भोजन गर्ने । भोजनपछि जुठा थाल–कचौरा आफैँले उठाएर सफाइमा तैनाथ स्वयम्सेवकलाई जिम्मा दिने त्यहाँको परिपाटी थियो । हामी दुवैजना प्रायःजसो यस्ता आश्रममा आध्यात्मिक साधना गर्न गइरहने हुनाले यो नौलो थिएन । 

शान्त वातावरणमा भावमय भएर त्यति धेरै मानिसलाई सेवा दिइरहेका स्वयम्सेवक–सेविकाहरु यत्रतत्र भेटिन्थे । त्यो दृश्य देख्ता त्यसैत्यसै मानिसमा सेवाको भावना उर्लेर आउँदोरहेछ । सुनेरभन्दा देखेर जान्नुको महत्व सायद यही हो । कसैले भनेको सुन्नु र आफूले स्वयम् गएर अनुभव गर्नुमा यही त फरक छ । सुनाइले अस्थायी प्रभाव पार्छ, भोगाइले स्थायी अनुभव दिन्छ । घुमफिरले दिने अनुभव त्यही कारण महत्वको हुन्छ । यात्रा त्यसै कारण मूल्यवान् छ । कुवामा बस्ने भ्यागुतोलाई के थाहा संसार कति ठूलो, फराकिलो, सुन्दर र रमणीय छ । मैले प्रशान्ति निलयमको सेवादल र त्यहाँको व्यवस्थापन र सेवा कर्मबाट यही प्रेरणा ग्रहण गरेँ । जसले जे खोज्छ त्यही त पाउने हो यस्ता ठाउँमा पुगेर । 

........

प्रशान्ति निलयम बसाइको दोस्रो दिन शनिवार परेको थियो । बिहान सबेरैदेखि भक्तजनहरुको चहलपहल बाक्लियो । बिहानैदेखि प्रशान्ति निलयमका हरेक कुनामा सेतो पहिरनमा देखिने स्त्रीपुरुषहरु यत्रतत्र देख्ता प्रशान्ति निलयम परिसर असीम श्रद्धाले भरिएझैँ अनुभव हुन्थ्यो । 

प्रशान्ति निलयम प्रवेश गर्ने पुरुष होस् वा महिला सबैले सम्पूर्ण शरीर ढाक्ने गरी सकेसम्म सेतो पहिरन लगाउने चलन रहेछ । खाना खाने, आराम गर्ने, किनमेल गर्ने सबैको एक निश्चित समय तालिका थियो  । राती ९ बजेपछि स्वयम् सेवकबाहेक अरुलाई प्रशान्ति निलयमभित्र घुम्नेडुल्ने क्रियाकलापको छुट रहेनछ । बिहान भने ४.३० बजेपछि प्रातःकालीन नित्यकर्म र पूजामा सरिक हुन पाइने । मुख्य प्रवेशद्वार ‘गणेश गेट’ पनि सबेरै ४.३० खुलिसक्ने । बिहान चाँडो उठ्ने अनि बेलुका चाँडो सुत्ने पूर्वीय जीवनशैलीलाई अवलम्बन गर्ने आश्रमको प्रयास रहेको देखियो । यसले मानिसलाई एकातिर रात्रीको समय विश्रामको समय हो भन्ने सांस्कृतिक र प्राकृतिक चेतना प्रदान गरेको थियो भने बिहान सबेरै उठ्ता प्राप्त हुने ब्रह्माण्डीय ऊर्जाको पवित्रताको लाभ लिन पनि सम्झाएको अनुभव हुन्थ्यो । पूर्वीय ऋषिमहर्षिहरु किन ब्रह्ममूहुर्तमा उठ्थे ? त्यसको महत्वबोधको प्रयास समयतालिकामा आबद्ध गरेर दिन खोजेझैँ लाग्थ्यो । 

......

थकाइले लखतरान परेकाले भोलिपल्ट बिहान कला र म केही ढिलो उठ्यौँ । बिहान करिब ५ बजे उठेर नित्यकर्म सक्ता गणेश मन्दिरको पुजाआराधनामा मानिसहरुको भीड लागिसकेको थियो । सुमधुर सांगीतिक धूनमा साइ भजनहरु गुन्जिरहेका थिए । मानिसहरुको संख्या निकै भए पनि अनुशासनबद्ध भएकाले होहल्ला निकै कम थियो । 

बिहानको पुजा र आरतीपछि प्रातःकालीन खाजाको समय हुन्थ्यो करिब ९ बजेसम्म । निर्धारित भोजगृहमा प्रातःकालीन खाजाको समय सकिएपछि बाहिर अन्य ससाना भोजनगृहहरुमा भोजनको सुविधा हालैका दिनान थपिएका थिए । तिनले धेरैजसो पाश्चात्य शैलीका भोजन प्रदान गर्थे थोरै बढी मूल्यमा । यसले मानिसलाई अतिरिक्त सुविधा मिलेझैँ लाग्थ्यो ।

सधैँ बिहान आठ बजेपछि प्रातःकालीन भजनको समय सुरु हुन्थ्यो । प्रसिद्ध कुलवन्त हलमा हुने भजन कार्यक्रममा कडा सुरक्षा जाँच गरेपछि मात्र प्रवेश पाइन्थ्यो । घडी, मोवाइल र अन्य सामानहरु लकरमा राख्ने सुविधा हलबाहिर प्रवेशद्वारनजिकै थियो । सबै सामान त्यहाँ थन्क्याएपछि मात्र भित्र पस्न पाइँदोरहेछ । श्रद्धालुहरु महिला र पुरुष समूहमा छुट्टाछुट्टै बस्नुपर्ने व्यवस्था थियो । केही अब्बल भजन गायकगायिकाहरुले मात्र त्यहाँ प्रत्यक्ष रुपमा साइ बाबाको समाधिस्थल अगाडि पलेँटी कसेर भजनमा सरिक हुन पाउँथे अरुले स्वर मिलाएर दोहो¥याउँथे । लयबद्ध भजनको गन्जनले परिसर नै गुन्जायमान हुन्थ्यो । त्यस दिन पालो परेको थियो हैदरावादबाट आएका श्रद्धालु भजन गायकगायिकाको । उनीहरुले करिब एक घण्टा तीस मिनेटसम्म विभिन्न भजनमा आफूलाई लीन गराए, श्रद्धा र भक्तिको स्वर गुन्जाए, भक्तहरुलाई द्रवित र भावुक बनाए । करिब ११ बजेतिर भजन सत्रको समापन गरियो । गायक समूहलाई सत्य साइ केन्द्रीय ट्रष्टको तर्फबाट उपहारले सम्मान गरियो । 

भजनपछिको पालो थियो किनमेलको । बिहानको १०.३० देखि  १२ बजेसम्म महिलाहरु किनमेलमा जान पाउने र बेलुका ३.३० देखि ५ बजेसम्म पुरुषहरुले किनमेल गर्ने गरी किनमेलको समय निर्धारित थियो । मैले साइ बाबाको जीवनकालमा जस्तो रौनक किनमेल केन्द्रको यस पटकको भ्रमणमा देखिनँ । बढी चाहिँ दक्षिण भारतीय पहिरनमा प्रयोग गरिने कपडाहरु र अन्य घरायसी उपयोगका सीमित सामानहरु त्यहाँ उपलब्ध थिए । आश्रमले सुरु गरेका केही उत्पादनहरु पनि त्यहाँ राखिएको थियो । उसो त पुट्टपर्तीको बजारमा सबैतिर करिबकरिब भित्रकै मूल्यमा सरसामान किन्न सकिन्थ्यो । मूल्यमा भित्रको किनमेल केन्द्र र बाहिर खासै फरक थिएन । बजारमा धेरै दलाली गर्नुपर्ने पनि देखिएन । 

किनमेलको समय र भोजनको समय खापिएको थियो । करिब १ बजेसम्म भोजनगृहहरु खुला हुन्थे । त्यसपछि भने तिनै बाहिरका लघुभोजन गृहहरुमा जानुपथ्र्यो । भोजनपछिको समय हुन्थ्यो आरामको । करिब २.३० बजे त मुख्य प्रवेशद्वार पनि बन्द गरिन्थ्यो र ४.३० मा मात्र खुला हुन्थ्यो । त्यतिबेला ओहोरदोहोर गर्न अलि टाढाको द्वार प्रयोग गर्नुपथ्र्यो, आकस्मिक कार्यका लागि पश्चिमीद्वार भने चौबीसै घण्टा खुला रहन्थ्यो । 

यसरी आध्यात्मिक शान्तिको लागि जेजस्तो दिनचर्या आवश्यक हुन्छ त्यही अनुसारको समयतालिका प्रशान्ति निलयममा थियो । खुकुलो, आरामदायक र अनुशासनबद्ध समयतालिकाको अभ्यासमार्फत्  व्यावहारिक सांस्कृतिक शिक्षा प्रदान गर्ने आश्रमको यो प्रयासले पूर्वीय प्राचीन जीवनशैलीलाई आधुनिक समयमा कसरी लागू गर्न सकिन्छ भन्ने सिकाइरहेझैँ लाग्थ्यो । 

............

हाम्रो दुईदिने बसाइको पछिल्लो दिन त्यहाँका हेर्ने, घुम्ने ठाउँको जानकारी लिन गणेशद्वारनजिकै रहेको सत्य साइ ट्राभल एजेन्सीमा पस्यौँ । त्यहाँ भेटिए पुट्टपर्तीका पर्यटन व्यवसायी उमेश राजु । हामी बाहिरी पर्यटक हौँ भन्ने ठम्याइहाले उनले । उनले विस्तारमा वरपरका घुम्नलायक ठाउँ बारे हुनसम्म फूलबुट्टा भरेर सुनाउँदै गए । उनको हिन्दी दक्षिण भारतीय उच्चारणमा सुन्दा अलि अनौठो लाग्थ्यो । घरिघरि अङ्ग्रेजी र तेलगू पनि मिसाउँथे हिन्दी भाषाका सिकारुले जस्तै । 

‘तपाईंहरुले आज जुन भव्य शहर पुट्पर्तीमा देखिरहनुभएको छ यसको इतिहास त्यति लामो छैन । साइ बाबाले यो सब गर्नुअगाडि त यो ठाउँ एकदम्मै सुख्खा थियो । कुनै उब्जनी हुँदैनथ्यो । सबैतिर घाँसैघााँस । कहाँबाट सन् १९२६ नोभेम्बर २३ मा रत्नाकरम सत्यनारायण राजु यहाँ जन्मनुभयो त्यसपछि बल्ल यसको भाग्य खुल्यो ।’ उनको भन्ने शैली चाखलाग्दो थियो । सायद धेरै पर्यटकसँग कुरा गर्दागर्दा उनी पारङ्गत भइसकेका थिए ।  

‘कसरी ?’ मेरो प्रश्न थियो । 

‘जब सत्यनारायण राजु १४ वर्षका भए उनले आफूलाई शिरडीका साइबाको पुनर्जन्म भएर यस धरतीमा मानव सेवाको लागि आएको घोषणा गरे । त्यसपछि उनलाई सत्य साइ बाबा भन्न थालियो । अनि त यो ठाउँ कहाँबाट कहाँ पुग्यो । अहिले त यहाँ रेल अड्डा, बस अड्डा, नगरपालिका, ठूलाठूला राजमार्ग सबै छन् । ठूला शहरसँग जोडिएको छ । सानो एयरपोर्ट पनि छ । स्कूल, कलेज, खेलकुद मैदान, विश्वविद्यालय, प्लानिटोरियन, सङ्ग्राहालय, अस्पताल के के छ के के, हजुरहरु आउनुभएको छ सबै हेर्नुहोला । एक दिनमा त सबै सकिहालिन्छ । आवश्यक परे अटो लिँदा पनि हुन्छ घुमफिर गर्न सुविधा हुन्छ ।’ उनले छोटकरीमा बताए र कसरी घुम्ने त्यसको सुझाव पनि दिए । केही टाढाका तीर्थस्थल जाने यातायात र त्यहाँ बस्ने र घुम्ने सुविधाबारे थप जानकारी लिएर हामी बाहिरियौँ । 

सत्य साइ ट्राभल्सबाट बाहिरिएका मात्र के थियौँ अर्का एक सज्जन भेटिए नेपालबाट त्यहाँ गएर दशकौँदेखि त्यहीँ बसिरहेका । गजब के भएछ भने उनी साइ बाबाको दर्शनका लागि करिब १५ वर्षअगि त्यहाँ पुगेका रहेछन् । त्यहाँको वातावरणले उनलाई त्यहीँ बसौँबसौँ लागेछ, त्यहीँ स्वयम् सेवक भएर बसेछन् । अहिले सत्य साइ सेवा ट्रष्टका ट्रष्टी भइसकेका रहेछन् । त्यति टाढा एउटा नेपाली अर्को नेपालीसँग भेट हुँदा के चाहियो र ! हामी गफियौँ केही बेर । उनले पुट्टपर्ती कसरी यस नाममा प्रचलित भयो भन्ने लामो कथा सुनाए ।  

‘स्थानीयको भनाइअनुसार त्यो क्षेत्रलाई  पहिले गोलापल्ली  भनिन्थ्यो रे । स्थानीय भाषामा यसको अर्थ हुन्छ, गाईले भरिएको गाउँ । घाँसे मैदानमा गाई चराउन जाने गोठालाले एक दिन अचम्मको दृश्य देखेछ । एउटा गाई एक ठाउँमा जान्थ्यो र आफ्नो कल्चौँडाको सबै दूध रित्याएर फर्कन्थ्यो । गोठालोले एक दिन चियो गर्दै जाँदा त्यस ठाउँमा एउटा गोमन सर्प दुलाबाट निस्केको देख्यो । उसले त्यो सर्पलाई ढुङ्गाले हिर्काएर मारिदिएछ । सर्प मारेदेखि त्यस ठाउँमा कमिलाका असङ्ख्य गोलाहरु देखिन थालेछन् । कमिलाका गोलालाई स्थानीय भाषामा ‘पुट्ट बर्धिनी’ भनिँदोरहेछ । पछि क्रमशः उच्चारण अपभ्रंश हुँदै जाँदा ‘पुट्बर्धिनी’बाट ‘पुट्टपर्ती’ भएको हो भनिन्छ । कमिलाको गोला सामान्यतः सुख्खा र बलौटे माटो भएको ठाउँमा नै बढी पाइन्छ । नजिकै चित्रावती नदी बग्ने भए पनि यो ठाउँ पठारजस्तै अलि अग्लो छ । जमिन बलौटे र सुख्खा छ । पानीको अभाव शदीयाँैदेखि यस ठाउँले भोगिरहेको थियो । मानिसहरु नदीबाट भाँडामा पानी ल्याएर काम चलाउन बाध्य थिए । अहिले अवस्था बदलिएको छ । शहर विस्तार हुँदैछ । अब त कसले भन्छ र यसलाई कमिलाको गोला !’ उनी पुट्टपर्तीको यो कथा भनेर मुसुक्क मुस्कुराउँदै सेवामा जुटे, भरे भेटौँला है भन्दै । हामी लाग्यौँ फेरि घुमफिरतिर । 

.......  

पानी, शिक्षा र स्वास्थ्योपचारको अभाव, अनुर्बर भूमि अनि विकासका भौतिक पूर्वाधारको अभाव रहेको यो ठाउँ अत्यन्त पिछडिएको थियो भन्ने कुरा सत्य साइ बाबाका बारेमा लेखिएका अनेक पुस्तकहरुमा पनि उल्लेख छ । अहिले जहाँ प्रशान्ति निलयम छ त्यसको केही पर सानो गाउँमा एक निम्नमध्यम वर्गको परिवारमा जन्मेका सत्य साइ बाबाको बाल्यकाल त्यति सुखद नरहेको बुझिन्छ । शिक्षाको लागि अनेक दुःख भोग्नुपरेको, समयमा उपचार नपाउनाले आफन्त र छिमेकीहरुले दुःख भोग्नुपरेको जस्ता कुराले कलिलो बाल मस्तिष्कमा गहिरो चोट पु¥याएकोले साइ बाबाले जब आफूभित्र दिव्य शक्तिको अनुभव गरे तब उनी यिनै अभाव र दुःख हटाउनकै लागि कर्मभूमिमा समर्पित भए । सबै धर्मको महत्व समान छ भनेर उनले सर्वधर्म समभावको सन्देश दिन थाले । सबै धर्मका राम्रा कुरा सिक्न प्रेरित गरे । आफ्ना श्रद्धालुहरुलाई सबै धर्मको सम्मान गर्न र कसैलाई पनि हेलाँ र अपमान नगर्न आग्रह गर्न थाले । प्रशान्ति  निलयममा कृष्ण, शिव, हनुमान, बुद्ध, जिसस, जरथ्रुष्ट्र आदिका पूर्ण कदका मूर्तिहरु देख्ता लाग्छ उनी साँच्चिकै सर्वधर्म समानताका पक्षधर थिए । यो सन्देश आजका विभाजित मानिसका लागि चह¥याइरहेको घाउमा मल्हमजस्तै भयो । यिनै र यस्तै भावना, सन्देश र कर्मले संसारभरका मानिसहरु सत्य साइ बाबाका अनुयायी बनेर उनको सन्देश फैलाउन थाले, उनको चर्चा चुलिँदै गयो ।

मातापिताको इच्छा छोराले यस ठाउँको दुःख र अभाव हटाउन केही पुण्यकर्म गरोस् भन्ने चाहना भएकाले साइबाबालाई त्यसले उत्प्रेरणा प्रदान ग¥यो । दिव्य शक्तिको अनुभवले मानिसहरु उनीतिर आकर्षित हुँदै गए । ‘सबैलाई प्रेम गर, सबैलाई सेवा गर’ भन्ने उनको मुख्य उपदेशले देशभित्र र बाहिरबाट मानिसहरु उनीप्रति चुम्बकले फलाम तानेझैँ तानिन थाले । 

सबैभन्दा पहिले खानेपानीको अभाव झेलिरहेका स्थानीय बासीको दुःख हटाउन, स्वाथ्य सेवा प्रदान गर्न र शिक्षालाई सहज र सुलभ बनाउन उनको ध्यान गयो । श्रद्धालु भक्तहरुको भक्ति भावको सम्मान गर्दै भव्य सत्सङ्ग सभागृह बन्यो । आउने श्रद्धालुहरुको सुविधाका लागि आवास गृहहरु बने । पवित्र स्थलको नजिक बस्न चाहना राख्नेहरुका लागि आवासीय क्षेत्रहरु विकसित हुन थाले । हेर्दाहेर्दै उजाड मरुभूमि हराभरा र गुल्जार हुँदै गयो । सहयोगी हातहरु फैलिँदै गए, पवित्र कार्यहरु अगाडि बढ्दै गए । संसारभर उनको शिक्षा फैलिँदै गयो । सत्य साइ केन्द्रहरु अनेक देशमा स्थापित भए । स्वस्फुर्त रुपमा अनेक सेवा कार्यमा श्रद्धालुहरु जोडिन थाले ।  अहिले हजारौँ विद्यार्थीले वर्षेनी सत्य साइ स्कुल र कलेजबाट शिक्षा आर्जन गर्छन्, हजारौँ मानिसले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउँछन् । पुट्टपर्तीको मुटु प्रत्यारोपण अस्पताल र ह्वाइटफिल्डमा रहेको बहुविज्ञता अस्पतालबाट लाखौँ मानिसले वर्षेनी स्वास्थ्य सेवा पाइरहेका छन् । लाखौँ मानिस खाने पानीको सेवा पाएर लाभान्वित भएका छन् । यी सबै कार्य हेर्दा लाग्छ एउटा व्यक्तिले निस्वार्थ भएर लोककल्याणमा लाग्यो भने र दिव्य कर्ममा आफूलाई समर्पित गर्न सक्यो भने नहुने के रहेछ र !   

पुट्टपर्तीको हावापानी त्यति सुन्दर र रमणीय छैन वर्षका धेरै महिना यहाँको तापक्रम उच्च रहन्छ । सुख्खा हावा चल्छ, वर्षा निकै कम हुन्छ । सायद साइ बाबाको पराक्रम र उनीप्रतिका श्रद्धावान् व्यक्तिको भावनाले सिञ्चित नगरेको हुन्थ्यो भने यो ठाउँ त्यही सुख्खा मरुभूमिजस्तै बनेर संसारको नक्सामा लुकेर बसिरहेको हुन्थ्यो होला । नजिकै नदी भए पनि पर्याप्त पानी नभएको यो ठाउँ कुनै मरुभूमिको सुख्खा क्षेत्र जस्तै लाग्छ । अहिले त्यो इतिहास भइसकेको छ । आन्ध्र प्रदेशअन्तर्गत पर्ने यस क्षेत्रलाई अहिले सत्य साइ बाबा जिल्ला र पुट्टपर्ती नगरपालिकाको चिनारी प्राप्त छ । रेल अड्डाको नाम प्रशान्ति निलयम राखिएको छ । बस अड्डाको नाम पनि त्यही छ । उच्चस्तरको मौन शान्तिको अर्थ दिने प्रशान्ति निलयम त्यहाँका स्थानीयले त स्वीकारेका छन् नै सरकारले समेत स्वीकारेको रहेछ । यहाँका सरकारी कार्यसमेत धेरैजसो यही नामबाट सञ्चालित छन् । पसलमा पस्यो साइराम, बस अड्डामा गयो साइराम, मानिसले अभिवादन गर्नुप¥यो साइराम जताततै साइरामको पवित्र ध्वनि सुन्दा लाग्छ, पुट्टपर्तीको भूमि साइरामको ध्वनिले गुन्जायमान छ, श्रद्धावनत छ र यसलाई समाज र सरकार दुवैले पचाएर जनजनको हृदयमा बसाइसकेका छन् ।     

शिक्षा, स्वास्थ्य, खानेपानी, बजार र आवासका सुविधा, सुपथ मूल्यमा वस्तुको आपूर्ति अनि श्रद्धा, भक्ति र सेवाको भावनात्मक सन्देश पुट्टपर्तीले प्रवाह गरिरहेको छ । बालबालिकालाई पुर्खाको विरासतबाट प्राप्त संस्कारसहितको शिक्षाले आउने पुस्तालाई ती गौरवपूर्ण परम्परा बचाउन र तिनका असल पक्षलाई जोगाइराख्न प्रेरित गरेको छ । त्यसको संस्थागत आधारको जग बसालिएको छ । संस्कृत, विज्ञान र प्रविधि, खेदकुद, सेवा, संगीत र नृत्यलाई शिक्षासँगै गाँसेर कलिलै उमेरदेखि विद्या र जीवनका अभिन्न अङ्ग बनाउने सन्देश मात्र होइन त्यसको आधार समेत पुट्पर्तीले प्रदान गरेको छ । खेलकुद, मनोरञ्जन, विज्ञान, प्रविधि र संस्कृतिलाई एकसाथ गाँसेर शिक्षामा समावेश गर्ने साइ बाबाको प्रयास र त्यसका लागि आवश्यक पूर्वाधारको निर्माणले संसारलाई शिक्षाको नयाँ अवधारणा सिकाइरहेझैँ लाग्छ । 

यी सबै विधाका अध्ययन गर्न र तिनलाई प्रयोग गर्न पाउने गरी शिक्षाको आधारभूत तहदेखि उच्च तहसम्मको संस्थागत व्यवस्था प्रशान्ति निलयमभित्रै गरिएको छ । आफ्नै छुट्टै विश्वविद्यालयस्तरको संस्था (सत्य साइ इन्स्टिच्युट अफ हायर लर्निङ) खडा गरेर ती सबै विषयको व्यवस्थापन कुशलतापूर्वक गरिएको छ । यो पुट्टपर्तीको मात्र होइन शिक्षाको मौलिक प्रारुप खोजी गर्न चाहनेहरुका लागि गौरवको विषय पनि हो । त्यहाँ हरेक बालबालिकाले आफ्नो रुचि र क्षमताअनुसार कोही खेलकुदमा लाग्न सक्छन्, कोही नृत्य, गायन र सङ्गीतमा लाग्न सक्छन्, कोही चिकित्सा सेवातिर अकर्षित हुन सक्छन्, कोही संस्कृत भाषको अध्ययन गर्न सक्छन् । ती सबैका लागि एकै ठाउँमा अवसर दिन सक्नु चानचुनै विचार, चानचुने योजनाले पक्कै सम्भव हुँदैन । पुट्टपर्तीमा साइ बाबाले यो चुनौतीका पर्खाल कसरी नाघ्न सके होलान् ? आलोचना र टिप्पणी गर्न, खोट देखाउन त सकिएला तर यो मानव जातिका लागि मौन चुनौती हो, ठूलो सन्देश हो । जतिजति मैले प्रशान्ति निलयमलाई नियाल्दै गएँ, बुझ्दै गएँ, हेर्दै र आत्मसात गर्दै गएँ, मेरो मनले उनलाई प्रणाम गर्दै गयो, श्रद्धाले शिर निहुरिँदै गयो, भावनाको पत्थर पग्लिएर आँखा डबडबाए, आँङ सिरिङ्ग भयो, रौँ ठाडा भए । श्रद्धा, आश्चर्य र सम्मानभावको त्रिवेणी मेरो मनभित्र उर्लियो, म मौन भएँ प्रशान्ति निलयमको काखमा ।

सत्य साइ बाबा महाप्रस्थान गरेको (२०११ अप्रिल ११) पनि आज करिब १२ वर्ष भइसकेको छ । तर पनि पुट्टपर्ती संसारभरका श्रद्धालुहरुको पवित्र तीर्थस्थल मानिएकै छ । यस ठाउँमा जीवनमा एक पटक पुग्ने, अनुभव गर्ने, त्यहाँ केही समय बसेर सेवामा लीन हुने श्रद्धालुहरु सत्य साइ बाबाको पवित्र ऊर्जाको अनुभव गरिरहेको सुनाउँछन् । यहाँ पुग्दा र त्यो विशाल संरचनाहरु हेर्दा लाग्छ मानिसमा आध्यात्मिक शक्ति जागृत भयो भने एउटै मानिसबाट संसारमा आश्चर्य लाग्ने धेरै काम हुन सक्छन् । मरुभूमि हराभरा हुन सक्छ, उजाड ठाउँ पवित्र तीर्थस्थल बन्न सक्छ अनि कहिल्यै कसैले नसोचेको कामले त्यो धरती धन्यधन्य हुनसक्छ । लाखौँ मानिसले त्यसबाट प्रेरणा लिन सक्छन्, आफूलाई नयाँ मार्गमा हिँडाउन चाहनेले उज्यालो पाउन सक्छन्, अलमलमा परेकाहरुले गन्तव्य भेट्न सक्छन् । पुट्टपर्ती पुगेर यहाँको प्रशान्ति निलयमको आवास क्षेत्रमा बस्ता मलाई यस्तै अनुभूति भएको छ । 

हुनतः अनेक धार्मिक गुरुहरुजस्तै साइ बाबाको जीवन पनि विवाद र शंकाको घेरामा नपरेको होइन । उनलाई जादूगर, अवैज्ञानिक कुरा गरेर छक्याउने व्यक्ति, मानिसको भावनासँग खेलवाड गरेर भ्रममा पार्ने पाखण्डी आदि आरोपहरु नलागेका होइनन् । तिनको अनुसन्धानका लागि भनेर अनेक प्रयत्न पनि भए, राज्यको तहबाट पनि अनुसन्धान भयो तर उनका सेवामूलक र परोपकारी कार्यले ती सबै विवादलाई पर पन्छाइदियो । 

उनका ती कार्यमा जोडिएका श्रद्धालुहरुको असीम श्रद्धा र भावनाले सत्य साइ सेवा ट्रष्टले अनेक उपकारी कार्य गरिरह्यो । हेर्दाहेर्दै एउटा व्यक्तिको जीवनमा सोच्नै नसकिने स्वास्थ्य, शिक्षा, सङ्गीत, कला, विज्ञान, सूचना प्रविधि र अध्यात्मका धरोहरहरु निर्माण हुँदै गए । सरल र सुलभ स्वास्थ्य सेवाले उनलाई जनजनमा फैलाइदियो । महँगो चिकित्सा शिक्षा सित्तैँमा दिएर उनले चकित पारिदिए । यही सेवा र सत्कर्मले वास्तवमा रत्नाकरम सत्यनारायण राजुलाई सत्य साइ बाबा बनाइदियो, बञ्जर पुट्टपर्तीलाई एक प्रमुख आध्यात्मिक तीर्थस्थलको रुपमा स्थापित गरिदियो । यो ठाउँ हेर्दा लाग्छ यसको कणकणमा भावनाका आँसुले सिञ्चन गरिएको छ, पराक्रमीहरुका पराक्रमले महिमामण्डित छ, श्रद्धावान्हरुको कोमल हृदयले स्पर्श गरेको छ अनि गुन्जिरहेको छ साइराम, साइराम, साइराम .... जो युगयुगसम्म यसरी नै गुन्जिरहनेछ शिरडीका साइ बाबाको पवित्र भूमि शिरडीजस्तै यसले पनि संसारभर सेवा र प्रेमको पवित्र सन्देश प्रवाह गरिरहनेछ, सर्वधर्म समभावको ध्वनि प्रसार गरिरहनेछ । ॐ साइराम !  


No comments:

Post a Comment