Saturday, March 18, 2023

‘समृद्धिको शालिक’अगाडि

फेब्रुअरी ९, २०२३, पुट्टपर्ती ।


‘बिहान ७ बजे नै एयरपोर्ट पुग्नू, सानो एयरपोर्ट छ, चेकिङमै धेरै समय लाग्छ । चाँडो जानु है, ढिलो नगर्नू ।’ छोरी आकृतिले १० बजे उड्ने प्लेनको लागि बिहान ७ बजे नै एयरपोर्ट पुग्न अगिल्लो दिन नै उर्दी जारी गरी । आफ्नो अनुभव बोलेको थियो उसको । सैनिक प्रयोजनका लागि बनाइएको बागडोगरा विमानस्थलले यतिका वर्ष बितिसक्ता पनि मुहार बदल्न सकेको थिएन । नागरिक उडानको हब बनिसक्ता समेत टर्मिलन चाहिँ उही । यात्रीका पीडा धानेर साँघुरिएझैँ लाग्थ्यो बागडोगरा । हुनतः नेपाल र भारत दुवै देशका सार्वजनिक संरचनामा यो रोग समान छ । तत्काल काम चलाऊ, पछि विस्तारै विचार गर । नयाँ बनेका संरचना देखेर केही समय नबित्दै सेवाग्राही मुर्मुरिन थाल्छन् । यसको लेखाजोखा गरेर बनाउँदा पनि त हुन्थ्यो होला ! काग कराउँदै गर्छ पिना सुक्तै गर्छ । अहिलेसम्म यसैगरी चलिरहेको छ । 

भुइँ कुहिरोको घुम्टोले विमानस्थललाई छपक्कै छोपेको थियो । मनमा डर पस्यो कहीँ यो कुहिरोले बेङ्गलोरलाई पनि छोपिदियो भने ? शंकालु मनले कावा खाँदै गरेको केहीबेरमा क्रमशः कुहिरो देवीले घुम्टो खोलिदिइन् । वरपरको धरतीमा कोमल रश्मिसहित सूर्य पदार्पण भए, दर्शनको अवसर मिल्यो । हामी पङ्तिबद्ध भयौँ, बेङ्गलोर लैजाने स्पाइस जेटलाई सरसामान जिम्मा दिन र हवाइजहाज प्रवेश पास लिन । 

सामान त जिम्मा लगाइयो त्यसपछि फेरि उही साँघुरो ठाउँमा लाम, जहाँ सयौँ यात्री सुरक्षा जाँचमा छिर्दै दुवै हात उठाएर आफूलाई निर्दोष र व्यवधानरहित साबित गर्दै थिए । एउटा सानो हातेयन्त्रसहित सुरक्षाकर्मी जाँचपडतालमा तल्लीन थिए । यो साबित गर्न हामीलाई करिब एक घण्टा समय लाग्यो । अब बाँकी थियो करिब एक घण्टा समय । मानिसहरुको भीडमा हामी पनि सामेल भयौँ । धावन मार्गतिर आँखा डुलाउनु, घरिघरि घडीतिर फर्कनु अनि कुहिरो देवीको दर्शन गर्नु हाम्रो समय काट्ने साधन भए करिब एक घण्टाको लागि । 

बिहान करिब १० बजे हामीलाई हवाइजहाजभित्र बन्द गरेपछि बेङ्गलोरका लागि उड्न तयार भयो स्पाइस जेट । केहीबेर बाक्लो कुहिरोसँग लुकामारी गरिरह्यो । हवाइजहाजका चालकदलले हामीलाई सिटको पेटी बाँध्न र हल्लिएमा नआत्तिन ढाढस दिइरहे । हवाइजहाजले कहिले ठूलो आवाजमा चेतावनी दिन्थ्यो त कहिले आफ्नै लयमा फर्कन्थ्यो । कहीँ बेङ्गलोलोरलाई पनि.....! मान्छेको शंकालु मन न हो घरिघरि त शंका गरिहाल्थ्यो । तर, हामी बाध्य थियौँ प्रविधि र प्राविधिकलाई त्यो शंका जिम्मा दिन । आफ्नो सामथ्र्य नपुग्ने कुरामा चिन्ता लिनुभन्दा अर्कालाई सुम्पियो भने ठन्टै साफ । हामीले पनि सबै शंका तिनै दुईलाई जिम्मा दियौँ ।

हवाइजहाज पश्चिम बंगाल र उडिसाको आकास पारगर्दै पहाडी श्रृंखलालाई पछ्याउँदै दक्षिणतिर बढ्दै गयो । होचो कदका विन्ध्याचल पर्वतमालाका ससाना फुस्रे डाँडाहरुलाई दायाँपारेर हाम्रो हवाइजहाज भारतीय पूर्वीघाटलाई क्रमशः छोड्दै डेक्कन पठारमाथि उड्न थाल्यो । जमिनलाई ढाकेर ठुस्स परेर घुम्टो फैलाइरहेको कुहिरोले घुम्टो उघारिसकेको थियो । अब डेक्कन पठारको रातो माटो र सुख्खा फाँटको बीचबीचमा सानाठूला तालहरु देखिन थाले । ती तालहरु कहीँ ठूलो भूभागमा फिँजारिएका देखिन्थे त कहीँबाट ससाना धर्सा निस्केर टाढाटाढासम्म फैलिएका देखिन्थे । कहीँ त बाँध बाँधेर नियन्त्रित रुपमा लामालामा नहर डो¥याएर जमिनलाई हरियालीमा परिणत गरेको देखिन्थ्यो ।    

‘उडान परी’हरु विमान कम्पनीले अह्राएअनुसार सामान बेच्न ओहोरदोहोर गर्न थाले । कोही चिया अर्डर गरिरहेका थिए त कोही कफी अनि कोही भने केही खानेकुरा किनिरहेका थिए । सस्तोमा टिकट बेच्ने विमान कम्पनीहरुले प्रायः यसरी खानेकुरा बिक्री गर्ने प्रचलन रहेछ । मैले पहिलो पटक दिल्लीबाट काठमाडौँ यात्रा गर्दा यो दृश्य देखेको थिएँ । प्रायःजसो हवाइजहाज कम्पनीहरुले यति लामो उडानमा केही न केही खाने कुरा दिने गर्छन् तर स्पाइस जेटको यो तरिका गजबको थियो । उसको व्यवहारले भन्थ्यो, पैसा तिर्न कन्जुस्याईं गर्ने अनि सेवा र सुविधा पनि उच्चस्तरको खोज्न कहाँ मिल्छ र ! जे होस्, भोक राक्षसले सताइएका मनुवाहरु महँगो नै भए पनि पैसामा साटेर भोक परास्त गर्न पाएकोमा आनन्दित थिए । भोकको व्यापार गर्नेस्पाइसको यो तरिका विशेष लाग्यो मलाई ।

उडान समूहले सूचना जारी ग¥यो, अब चाँडै हामी बेङ्गलोर अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गदँैछौँ । मैले घडीतिर आँखा लगाएँ, समय करिब एक घण्टा बाँकी नै थियो । हवाइजहाजले धरती टेक्ने कुनै सङ्केत थिएन । आकास र जमिनबीचको दूरी जस्ताको तस्तै थियो । झ्यालबाट जमिनतिर आँखा लगाएँ कतै बुट्यान भएका पहाडहरु लमतन्न परेर पसारिएका थिए त कतै फुस्रा टार र खेतहरु । कहीँ त हरियो भन्ने पटक्कै थिएन खालि ढुङ्गैढुङ्गा मात्र । एउटामाथि अर्को ढुंगा खापिएर चुलिएका ती पहाड पृथ्वीको प्राचीनताका साक्षी बनेर ठिङ्ग उभिइरहेका थिए । 

डेक्कन पठार अस्तित्वमा आउनुअगाडि सायद त्यहाँ कुनै ठूलो नदी बग्थ्यो होला वा नदीको उर्वर घाँटी थियो होला । गोन्डवाना र अङ्गाराल्याण्डको रुपमा धरती विभाजित भएपछि अहिलेको डेक्कन पठार र ती ढुङ्गे पहाडहरुले उचाइ लिएका थिए । दुई शक्तिशाली भूभाग एकआपसमा टक्कराउँदा चेपमा परेर उठ्दै जाँदा यी पहाड बनेका पो हुन् कि ! इतिहास र भूगोलका साक्ष्यले प्रमाणित नगरेसम्म यो मेरो परिकल्पना थियो । मैले कल्पनाको उडान लाइरहेँ स्नातकमा करिब ३५ वर्षअगि भूगोल विषयको अध्ययन गर्दा पढेका जानकारीका आधारमा । पूर्वपश्चिम लमतन्न परेर पसारिएका ती पहाडका बीचबीचमा ससाना उपत्यका, खोला र खोल्साहरु थिए अनि केही चाहिँ ठूलाठूला हुँदै नदी बनेर समुद्र भेट्न दौडिरहेका थिए, अनवरत यात्रामा । पहाड टुङ्गिएपछि पूर्वतिर भने समतल भाग देखिन्थ्यो हाम्रो तराइजस्तै । म रमाइरहेँ आकासबाट देखिने दृश्य हेर्दै । 

विमानले क्रमशः बेङ्गलोरलाई नजिक्याउँदै गयो । ससाना धर्काजस्ता देखिने रेखाहरु पश्मिबाट पूर्वतिर क्रमशः ठूला हुँदै गएका थिए । तिनका आसपासमा थोरै हरियाली देखिन्थ्यो अनि फेरि उही उराठलाग्दा ढुङ्गे पहाड र पठारका दृश्य । बेङ्गलोरतिर जतिजति हामी नजिकिँदै गयौँ, त्यतित्यति तीव्र गतिमा दृश्य बदलिन थाले । ठूलाठूला तलाउ, ठूलो भूभागमा फैलिएका हरिया रुख लामबद्ध भएका खेत, कहीँकहीँ बस्ती र ससाना शहर । पङ्तिबद्ध बिरुवा छातिमा टाँसेर हरियालीको सुन्दर दृश्य पस्किरहेका खेत देख्ता विकसित संसारका कृषि फार्महरुको झल्को आउँथ्यो । जहाजहाँ खुला जमिन थियो ती ठाउँ त्यसरी नै चिरिच्याँट्ट पारेर लामबद्ध रुपमा लगाइएका वृक्षहरुले भरिएका थिए, हेर्दै लोभलाग्दो । मन रमाइरह्यो ती खेत, त्यो मैदान अनि ती विशालकाय पोखरी हेर्दै । हेर्दाहेर्दै तल सुलुलुलु बगिरहेका लामबद्ध सवारीसाधनहरुले भरिएका विस्तारित सडकहरु देखिन थाले जो बीचमा हरियाली साक्षी राखेर गन्तव्यतिर  घस्रिरहेझैँ लाग्थे । न त्यहाँ तँछाडमछाड आवश्यक थियो न अर्कोलाई छेक्न र रोक्न । सबै आआफ्नो गतिमा निरन्तर बढिरहेका । जतिजति हाम्रो विमान र जमिनको दूरी छोटिँदै गयो ती तमतन्न परेर पसारिएका सडकहरुको जालो अझ विस्तारित, अझ फराकिलो, अझ गाढा र अझ बाक्लो हुँदै हाम्रो आँखानजिक आउन थाल्यो । उडान दलले फेरि जानकारी गराए, अब हामी बेङ्गलोरको केम्पेगौडा विमानस्थलमा अवतरण गर्दैछौँ, कम्मरको पेटी बाँधिराख्नुहोला । 

बेङ्गलोर शहरको करिब ३५ किलोमिटर उत्तरमा रहेको यो विमानस्थलमा घच्याक्क आवाजका साथ हाम्रो विमानले भुइँ छोयो र फाराकिलो धावनमार्ग छिचोल्दै केहीबेरमा टक्क अडियो । हामी आकासबाट सकुशल धरतीमा अवतरण गर्न पाएकोमा कृतज्ञ भयौँ । उडान कर्मचारीले मुस्कुराएर हामीलाई विदाइ गरे ।

विमानबाट निस्केर सामान लिने ठाउँमा पुग्दा हाम्रा सामानहरु फनफनी घुमेर मालिक खोज्दै थिए । विमानस्थलमा सामान लिन घण्टौँ कुरेर बस्नुपर्ने दिक्दारीको अवस्था त्यहाँ थिएन । यात्रुहरु सामान लिने कक्षमा पुग्दा सामान आएर मालिक कुर्दै थिए । सेवाको चुस्ततामा उत्तर भारतभन्दा दक्षिण भारतले निकै ठूलो फड्को मारेको पहिलो अनुभव गरेँ मैले । चाहे शासन प्रणालीमा होस्, राज्यले दिने सेवा र सुविधामा होस् दक्षिण भारत भारतभित्रको अर्को भारतझैँ लाग्छ, आज मलाई बेङ्गलोर पुग्दा त्यही अनुभव भयो । 

करिब ३ घण्टा उडानपछि हामी बेङ्गलोर पुगेका थियौँ । तर हामी हिँडेको ठाउँ र पुगेको ठाउँमा आकास र जमिनजत्तिकै फरक थियो । त्यहाँ सिलिगुडीको जस्तो साँघुरो र भीडभाडयुक्त होइन, सफा, विशाल र व्यवस्थित सेवा, सुविधा र संरचनाले भरिएको भारतमा पुगेका थियौँ जहाँ विकासको माथिल्लो तहमा पुगेको अनुभव हुन्थ्यो । 

दक्षिण भारत इतिहासदेखि नै छुट्टै सभ्यता, छुट्टै संस्कृति अनि छुट्टै पहिचान लिएर बाँचेको छ, बढेको छ र विकासको पथमा अगि बढिरहेको छ । विज्ञानमा, प्रविधिमा, सुशासनमा, सेवालाई जनमैत्री बनाउनमा, परम्पराको संरक्षण र संस्कृति बचाइराख्नमा दक्षिण भारत उत्तरभन्दा सधैँ विशिष्ठ रहेको छ । चाहे मन्दिरहरुको भव्यता होस्, चाहे सूचना प्रविधिको आधार निर्माण र प्रयोगमा होस्, चाहे विज्ञानको विकासमा नयाँनयाँ आविष्कारमा होस् दक्षिण भारतले सधैँ अग्रणी रहने गरेको छ । केही समययता प्रविधि, संरचना र सेवामा भारतले आश्चर्यजनक फड्को मारेको छ । त्यसको श्रेय दक्षिणलाई जान्छ । मेरो मन फुरुङ्ग थियो, अबका केही हप्ता म यही दक्षिणको भव्यताको अनुभव गर्नेछु र यसलाई अनुभूत गर्नेछु । यसको गौरवशाली विगतका धरोहरुहरुको अवलोकनमा समय उपयोग गर्नेछु अनि त्यसलाई स्वअनुभवबाट तिखार्ने अवसर पाउनेछु ।  

बेङ्गलोर अन्तर्राष्ट्रिय विमानस्थल विशाल क्षेत्रमा दुईटा धावनमार्गका साथमा दुई विशाल विमान अड्डा लिएर शोभायमान थियो । हामी अड्डा नम्बर एकबाट बाहिरियौँ । बाहिर निस्कनासाथ हाम्रो साक्षात्कार भयो परम्परागत भारतीय पहिरनमा ठिङ्ग उभिएर कसैलाई ललकारिइरहेझैँ लाग्ने एक योद्धासँग । योद्धाको अनुहार हेर्दा लाग्थ्यो, ऊ हामीसँग बोल्दैछ, संवाद गर्दैछ र हामीलाई सजग र सचेत गराउँदै छ हातमा तरवार लिएर । इतिहासको गौरवगाथा हामीलाई बताउन, हामीलाई सजग गराउन, हामीलाई चेतावनी दिन उभिएको त्यो योद्धा थियो आजको आधुनिक, व्यवस्थित र योजनाबद्ध बेङ्गलोरको ताज पहि¥याउने योजनाकार, जो सबैलाई समृद्धिको बाटो देखाउन, समृद्धिको महामार्ग पहिल्याउन र त्यसको लागि योद्धाझैँ सशक्त ऊर्जा लिएर हाम्रो अगाडि उभिएको थियो । हाम्राअगाडि गौरवसाथ उभिइरहेको त्यो योद्धाको शालिक शालिक मात्र थिएन त्यो त विकसित बेङ्गलोरको गौरवगाथाको जीवन्त प्रतिमूर्ति थियो । त्यसैले त्यो भव्य शालिकलाई नाम दिइएको थियो, ‘समृद्धिको शालिक’ । मैले उभिएरै गुगल देवीलाई सोधेँ– यो शालिकको बारेमा बताउन सक्नुहुन्छ ? गुगल देवी किन चुक्थिन् र ! मुस्कुराउँदै उनले मलाई भएभरका सूचना आँखाअगाडि ल्याइदिइन् । 

बडेमाको त्यो शालिक बेङ्गलोर शहरका संस्थापक तथा योजनाकार नादप्रभु केम्पेगौडाको रहेछ । एउटा हातले तरवार उठाएको र अर्को हातले तरवार राख्ने म्यान समातेको त्यो योद्धाको जीवन्त चेहराले सबैलाई समृद्धिको निडर र निर्भिक यात्राको लागि आह्वान गरेझैँ लाग्थ्यो । त्यो शालिक सडकको छेउमा उभिने हाम्रा शासकहरुको जस्तो निरिह र धुलोले ढाकिएको होइन करिब २३ एकड भूमिमा फैलिएको सुन्दर बगैँचामा शोभायमान र सम्मानित भएर उभिएको थियो । मलाई लाग्छ दक्षिण भारतीयहरुले सम्मान गर्ने इतिहास पुरुषमध्ये क्याम्पेगौडा एक थिए जसले भविष्यको एक सुन्दर नमूना शहर दिएर संसारबाट विदा भए । त्यही योगदानको कदरस्वरुप उनलाई त्यहाँ सजाइएको थियो । 

केम्पेगौडा सन् १५१० मा बेङ्गलोर शहरको यलहाङ्का नामको सानो गाउँमा जन्मेर विजयनगर साम्राज्यका मुख्य सैनिक अधिकारी बने । तत्कालीन अवस्थामा घना जङ्गलको बेङ्गलोर पठारलाई ताल, बगँैचा, बस्ती र कृषि भूमिमा परिणत गरेर वैदिक ढाँचाको एक व्यवस्थित शहर बनाउने कार्यको नेतृत्व गरे । यही योगदानको सम्मानमा विमानस्थलको नाम र शहरको मुख्य बस अड्डाको नाम उनकै नाममा राखिएको रहेछ । अनि, विमानस्थलकै अगाडि उनको भव्य शालिक स्थापना गरेर उनको कदर गरिएको रहेछ ।

विमानस्थलबाट बाहिरिनासाथ देखिने केम्पेगौडाको १०८ फिट अग्लो त्यो शालिक २० फिट अग्लो कङ्क्रिटको स्तम्भमाथि २३ एकडमा फैलिएको सुन्दर बगैँचाको बीचमा शोभायमान छ । १२० टन फलाम र ९८ टन तामाको प्रयोग गरेर बनाइएको यस शालिकको तरवार मात्रै ४ टनको रहेको छ । केही महिनाअगि मात्र (११ नोभेम्बर २०२२ मा) प्रधानमन्त्री नरेन्द्र मोदीले अनावरण गरेका रहेछन् । सहरका संस्थापकहरुमध्ये विश्वकै सबैभन्दा अग्लो धातुको यो शालिक गिनिज बुकको विश्व रेकर्डमा समेत समावेश गरिएको छ । 

गुगल देवीको यो सूचनाले म धन्य भएँ र लागेँ शहर जाने सवारी साधनको खोजीमा । मेरो मन भने अझै केम्पेगौडा, शासन र शासकका बारेमा मथिङ्गल घुमाउँदै थियो । पन्ध्रौँ शताब्दीमा एउटा गतिलो परिकल्पनाकार भेटेकैले बेङ्गलोर आज भारतको सूचना प्रविधिको सुन्दर राजधानी बन्न सकेको छ, फराकिलो र व्यवस्थित शहरको रुपमा गौरव गरिरहेको छ, विश्वस्तरका हरियालीयुक्त शहरमा आफूलाई उभ्याउन सकेको छ, के बूढाबूढी, के बालबालिका, के तरुणतन्नेरी सबैलाई रमाउन पुग्ने बगैँचाहरु सजाएर सुन्दरताको मानक सिकाइरहेको छ । हामीकहाँ पनि त थिए नि यस्ता ठाउँ जसलाई भविष्यदृष्टि राखेर यस्तै राम्रो शहर बनाउन किन नसकिएको होला ? बेङ्गलोरले केम्पेगौडाजस्ता दूरदर्शी नेतृत्व पायो हामीलाई इतिहासले शासक मात्र दियो, केम्पेगौडा जस्ता नेता दिएन । शासक र नेतामा यही फरक छ । शासकको सोच फराकिलो र बृहत् नभई न शहर फराकिला बन्दारहेछन् न विकासले उचाइ छुँदोरहेछ । मेरो मन एक तमासको भइरह्यो निकैबेरसम्म । सोच्तासोच्तै म विमान अड्डाबाट बाहिरिएँ र शहर पुग्ने सवारी साधनतिर आँखा दौडाएँ ।   

उत्तर भारत र हाम्रो देशका विमानस्थलबाहिर सामानको भारी अड्याएर सवारी साधनतिर आँखा लगाउने मजस्ता यात्रुले दलालहरुसँग ससानो युद्ध नै लड्नुपर्छ भाडा र गन्तव्यको निश्चितताको लागि । तर, त्यहाँ त न कुनै ट्याक्सिवाला हाम्रोअगाडि दलाली गर्न आए न टेम्पोवाला । चुपचाप उभिएर शहर जाने सटलबस पाइन्छ कि भनेर हेदै थियौँ, सेतो पहिरनमा सजिएका एकजना भद्र मानिस हाम्रो अगाडि देखा परे । मैले क्याम्पेगौडा बसअड्डा जाने बस कहाँ लाग्छ ? भनेर सोधेको मात्रै के थिएँ, उनले मेरो दायाँतिर लहरै अड्याइराखेका टिलिक्क टल्कने नीला बसतिर देखाउँदै केआइए ७ नम्बर लेखिएको बसमा जान सङ्केत गरे । बसको बाहिर लेखिएको थियो ‘वायु बज्र, बिएमटिसीद्वारा सञ्चालित सिटी बस’ ।  

मैले भारतका शहरमा पनि वातानुकुलित बसको त्यस्तो सेवा पनि महानगरले दिएको होला भन्ने परिकल्पना पनि गरेको थिइनँ । हुनतः म त्यही देशमा थिएँ तर सेवा, सुविधा र व्यवस्थापनको हिसाबले भने कुनै अर्कै विकसित देशमा पुगेझैँ अनुभव गरिरहेको थिएँ । अब म ढुक्क थिएँ, मेरो दक्षिण भारत भ्रमण सुखद र सहज हुनेछ । 

हामी वायुबज्र सेवाका वातानुकुलित बस चढेर करिब ४५ मिनेटमा शहरको केन्द्रमा रहेको केम्पेगौडा बस अड्डामा पाइला टेक्यौँ । आँखाले हेर्दा सीमाना भेट्न नसकिने बडेमाको त्यस बस अड्डामा अड्याइएका राज्य परिवहन सेवाका राता, हरिया बस यात्रुको प्रतीक्षामा पालो पर्खेर अनुशासनबद्ध थिए । न त्यहाँ कुनै बसको सहचालक झोला तान्न आउँथ्यो न हल्ला र कोचाकोच । यात्रु भरिए पनि नभरिए पनि समय हुनासाथ ती बसहरु गन्तव्यतिर लाग्थे र समयको परिपालना गर्थे । 

हामी भ¥याङबाट माथि उक्लेर त्यो बस अड्डाको दृश्य सकेसम्म पियौँ । धन्य ती बेङ्गलोरका जनता जसले यात्रा गर्दा कोचाकोच, ढिलासुस्ती, रुखोपन र ठगाइको भतभती पोल्ने नरकबाट छुटकारा पाए । राज्य उपस्थितिको चर्को खडेरी भोगिरहेका हामीले यो यात्राको शीतलता, यो छहारी अनि यो अभिभावक कहिले पाउने ? के यिनीहरुले पनि यही भोगे होलान् ? ती बस अड्डाको दृश्य हेरिरहँदा मलाई हाम्रो यातायातको दृश्यले हुनसम्म पिरल्यो, गिज्यायो, मन अमिलो पा¥यो र शासकका ती नग्न नृत्यको अश्लिलता सम्झन बाध्य गराइरह्यो । विजयनगर साम्राज्यको भव्यता, पाण्ड्या, चोल र नायकरहरुको राज्य व्यवस्थाको त्यो गौरवमय विगत अनि आधुनिक सभ्यता र सुविधा दक्षिण भारतले अहिले दुनियाँसामु सिकाइरहेझैँ लाग्यो । 

हामी बसबाट ओर्लेर पेट पुजा गर्ने स्थानको खोजीमा लाग्यौँ । बिहान पनि खान नपाएकाले होला, भोकले आँखा तिरमिराउन थालिसकेका थिए । ‘बस अड्डानजिक त नखाऊँ ।’ श्रीमतीजीको अनुभव बोल्यो । म चुपै रहेँ, सबैले सिक्ने त अनुभव बाटै त हो भनेर । खाने ठाउँ खोजी गर्दै हामी पस्यौँ एउटा सानो तर सफा होटलभित्र । झिँगा भन्किरहेका र पस्तै ठुस्स गन्हाउने हाम्रा बस अड्डानजिकका होटलसँग त के  दाँज्नु र हामीकहाँका राम्रा भनिएका रेष्टुराँसँग कुम जोड्न सुहाउने होटल थियो त्यो । हामीलाई छक्क पा¥यो त्यो होटलले । हाम्रो निष्कर्ष बदलियो । होटलको सरसफाइले लोभ्याएको मन होटलमा पनि आफैँले खानेकुरा लिनुपर्ने (सेल्फ सर्भिस) देख्ता अझ अचम्मित भयो । पैसा तिरेर कुपन लिने अनि खानेकुरा आफैँ लिएर खाने । दक्षिणका धेरै होटलहरुमा यही थियो सेवाको तरिका । खाइसकेपछिको सरसफाइ भने होटलका कर्मचारीले नै गर्थे । हामीकहाँभन्दा नितान्त फरक थियो त्यहाँका होटलको शैली । साकाहारीहरु र दक्षिण भारतीय खाना मन पराउनेहरुका लागि दक्षिण भारतका होटल र रेष्टुराँहरु सामान्य भए पनि साँच्चिकै स्तरीय थिए ।   

भोक मेटिएपछि मैले श्रीमतीजीलाई सोधेँ– ‘पहिलो गन्तव्य पुट्टपर्तीलाई बनाउने कि बेङ्गलोरलाई ?’ उनको रोजाइ पुट्टपर्तीतर्फ ढल्कियो । समय दिउँसोको करिब साँढे तीन बजिसकेको थियो । ‘यतिबेला पुट्टपर्तीको बस पाइएला र ?’ आशंकासाथ नजिकै रहेको सोधपुछ कक्षमा गएर पुट्टपर्ती जाने बस बारे जानकारी लिएँ । दिउँसो ४.३० मा प्रशान्ति निलयम र ३.३० को चाहिँ अलि पर पुग्ने र त्यहाँबाट अर्को बस समात्नुपर्ने । हामी समय खेर नफाली चाँडो जाने बसमा चढ्यौँ । 

कर्नाटका राज्य सडक परिवहन निगमका बसका कर्मचारीले हामीलाई स्वागत गरे । बस कर्मचारीको अलग्गै पहिरन थियो, खैरो सर्ट र पाइन्ट अनि हातमा टिकट मेशीन ।  हामी ठीक ३.३० बजे पुट्टपर्तीतर्फ प्रस्थान ग¥यौँ । स्थानीय नगरका बस पार्कमा यात्रु ओराल्दै र चढाउँदै हाम्रो बस गन्तव्यतिर बढिरह्यो । करिब ८ बजे राति हामी पुट्टपर्ती पुग्यौँ । प्रशान्ति निलयम जाने साधनको फेरि प्रतीक्षा गर्दै थियौँ अर्को बस आइपुग्यो । बेङ्गलोरबाट भारु. २४६ र अर्को बसलाई भारु. १० तिरेर हामी रातको ८.३० मा प्रशान्ति निलयम पुग्यौँ जहाँ समृद्धिको अर्को धरोहरले हामीलाई रात्रीकालीन स्वागत अभिवादन ग¥यो ‘साइराम’ शब्दले । 


No comments:

Post a Comment