Sunday, March 12, 2023

......अनि मैले दक्षिण भारतको यात्रा गर्ने निर्णय गरेँ

फेब्रुअरी ७, २०२३, सिलिगुडी, भारत ।

आज म सिलिगुडी बजारको चम्पासरीमा आराम गरिरहेको छु । शरीर त पल्टिरहेको छ तर मन भने कल्पना लोकको रमाइलोमा डुलिरहेको छ । ऊ कहिले दक्षिण भारत यात्राको परिकल्पना चित्र मस्तिष्कमा खेलाउँदै छ त कहिले विदेशका रंगीन दुनियाँतिर नियालिरहेको छ । मलाई हुटहुटी लगाइरहेको छ निर्णय गर्न । हुनतः दक्षिण भारतको यात्रा गर्ने योजना म र मेरी जीवनसँगिनी दुवैजनाले कोभिड–१९ सुरु हुनुअगाडि नै बनाएका थियौँ । त्यसलगत्तै कोभिड–१९ को महामारी सुरु भयो । हामीले बनाएको योजना मनमै थन्कियो । दक्षिण भारतका प्रसिद्ध तीर्थस्थल र पर्यटकीय आकर्षणका १५ जति सहरहरु घुम्ने, भारतीय इतिहास र सांस्कृतिक विशालताको अनुभूति गर्ने, हिन्दू, बौद्ध, शिख, इस्लाम र द्रविड सभ्यताको अनुभव गर्ने हाम्रो योजना थियो । त्यसले मूर्त रुप लिन सकेन महामारीका कारणले । तीन वर्ष बिते महामारी कहिले सकिएला र योजना साकार बनाउँला भनेर । आज फेरि मेरो मनले मलाई ती योजनातिर घचघच्याउँदै छ ।  

समयको गति हाम्रो योजनासँगै रोकिने कुरै थिएन । यो निरन्तर आफ्नै गतिमा चलिरहन्छ, चलिरहेकै छ । हाम्रो यात्राको योजना अब उसकै गति र लयमा मिलाए मात्र सम्भव छ । करिब ४ वर्षअगाडिको हाम्रो उर्जा, भावना र परिवेश अनि शरीरको शक्तिमा कति ह्रास आयो वा बढोत्तरी भयो त्यो अब जाँच्नेतिर नलागी अनुभव गर्नेतिर लागेँ म । 

मानिसको उमेरसँगै उसको शारीरिक शक्ति, जाँगर, भावना र योजना सबै फरक पर्न थाल्छन् यो स्वभाविक कुरा हो । लाखौँ वर्षदेखि प्रकृति उही र उस्तै गतिमा छ तर जीवको गति, मति र प्रकृति भने धेरै बदलिएको छ । म पनि बदलिएको छु नजानिँदो किसिमले । एउटा नेपाली गीतले भन्छ, चालीस कटेसी रमाउँला । मलाई त लाग्छ चालीस कटेपछि मानिस रमाउने होइन क्रमशः थाक्ने गर्छ । अनुभव र सिकाइले पाकेर परिपक्वता त आउँछ चालीसपछि तर भावनात्मक उमङ्ग भने क्रमशः सेलाउन थाल्छ । 

उसो त नेपोलियन हिलले पनि ४० देखि ६० को मानिस नै सर्वाधिक सिर्जजनशील हुन्छ भनेका छन् तर म सोच्छु, परिस्थिति र अवसरले फरक पार्छ कि ! उनले आफ्नो निष्कर्ष अमेरिकाका बासिन्दाको अनुसन्धान गरेर  लेखे । सायद त्यहाँको समाजमा त्यही अवस्था थियो कि त ? हुनसक्छ मानिसका स्वभाव र भावनामा परिवेश र वातावरणले पनि फरक पो पार्छ कि ! यसै भनिहाल्न सकिँदैन । 

मसँगै आज मेरी श्रीमती कला पनि छिन् यहीँ । आमा बिरामी भएकाले मायाले तानेर ल्यो उनलाई यहाँसम्म । उनलाई पनि दक्षिण भारतको सभ्यता र संस्कृति बुझ्नेजान्ने चाहना छ । करकर गरिरहन्छिन् घुमफिरमा निस्कौँ, कतै जाऊँ भनेर । म आज सोचिरहेको छु, हामीलाई केले रोकेको छ त घुमफिरमा निस्कन ? न व्यवहरको चटारो छ, न त कुनै कामको हतारो, न अभाव र गरिबी ! मानिसले बाहाना त अनेक बनाउन सक्छ तर वास्तवमा उसलाई रोक्ने र छेक्ने मन नै हो । अरु त बाहाना हुन् मनलाई जित्न नसक्ता । त्यसैले अनुभवीहरु भन्छन्, सुख र दुःख मनका उपज हुन् परिस्थितिका होइनन् । 

हुनतः मैले करिब ४०–४५ कै उमेरमा संसारका धेरै ठाउँ घुम्ने मौका पाएको छु । कैयौँ पटक चीन, थाइल्यान्ड, युरोपका निकै देश अनि अफ्रिका । आफू बसेको ठाउँ नछोडी जीवन बिताएका लाखौँ मानिस भएको देशमा यति धेरै पटक, यति धेरै ठाउँ घुम्ने अवसर पाउनु पनि ठूलै अवसर पाएझैँ लाग्छ मलाई । त्यसमा पनि आफ्नै कमाइ खर्च गरेर भ्रमण गर्नुको मजा नै अर्को । 

हाम्रो देशका धेरै मानिसले पदमा रहँदा सरकारी स्रोतबाट कैयौँ देशको भ्रमण गर्ने अवसर पाएका छन् । आफ्नो कमाइ खर्च गरेर जाऊ भनेको भए कति जान्थे होलान ? प्रश्न गम्भीर छ । विदेश भ्रमण गर्न पायो भने पियन गए हुने कार्यक्रममा मन्त्री जान लालायित हुन्छन् भन्ने पनि सुनिन्छ यदाकदा । यो अध्ययनकै विषय छ । राज्ययन्त्र दुरुपयोग र दोहनमा प्रतिस्पर्धा चलेको समयमा के गर्नु र  यस्ता कुरा !

केही समययता विदेश घुमफिर गर्ने नेपालीको संख्या बढेको छ । धेरैलाई चाहिँ छोरा वा छोरीले ‘तेल भिषा’मा बोलाएर घुमाएका छन् कि त राजकीय ओहदाको उपयोग गरेर घुम्नेहरु छन् । मलाई लाग्छ घुम्नुको मजा लिन आफ्नो कमाइले घुम्ने सामथ्र्य बनाउनु पर्छ । यसले दिने आत्मसम्मान र गौरवबोध सायद सरकारी स्रोतको उपयोग र ‘तेल भिषा’ले दिन दिन सक्ला र ? अनुभव गरेपछि थाहा पाइएला । अहिले मलाई थाहा छैन तर स्वआर्जनबाट विदेश घुमाइको मजा भने मलाई थाहा छ ।   

मैले आज बिहानै श्रीमतीजीलाई सोधेँ, ‘जाने त दक्षिणतिर घुम्न ?’

‘जान पाए त राम्रै हुन्थ्यो । धेरै ठाउँ नभए पनि दुईचार ठाउँ चाहिँ घुमेर फर्कौँ न त !’ उनले अनकनाउँदै जबाफ दिइन् । 

मैले उनको विचार बुझ्नु थियो, बुझेँ । योजना बनायौँ करिब १५ दिनको र टिकट बुक गर्नेतिर लाग्यौँ । हाम्रो गन्तव्य बेंगलोर, मैसुर, पुट्टपर्ती, तिरुपति बालाजी, मदुराई र रामेश्वरम् हुने भए । शारीरिक अवस्था र थकान हेरेर अरु केही शहर र स्थानहरु थप्ने हाम्रो योजना बन्यो । फेब्रुअरी ९ तारिखको बागडोग्रा–बेंगलोरको हवाइ टिकट निश्चित गरेर दक्षिण भारतको यात्रामा निस्कने निर्णय गरेँ । 

क्रमशः




No comments:

Post a Comment