Saturday, December 8, 2012

बिषय बोधका लागि अनिवार्य कलाः सही सुनाइ, सही बुझाइ

हामी कुनै पुस्तक, लेख, रचना पढ्छौँ । प्रवचन, भाषण, व्याख्यानहरु सुन्छौँ, कुनै दृश्य हेर्छौँ, कुनै घटना वा परिस्थितिमा सामेल हुन्छौँ । त्यसका पाठक, दर्शक, श्रोता, द्रष्टा, अनुभोक्ता बन्दछौँ व्यक्तिगत वा सामूहिक रुपमा । एउटै लेख, रचना, घटना, दृश्यको बुझाइ र प्रभाव भने व्यक्तिपिच्छे फरक फरक हुन्छ । एउटाले एउटा निष्कर्ष निकाल्छ अर्काले अर्कै निष्कर्ष निकाल्छ । कोही साधारण अर्थमै सीमित हुन्छन्, कोही गम्भीर र गहन तहमा त्यसलाई बुझ्दछन्, छुन्छन् र बोध गर्दछन् । आखिर यस्तो किन हुन्छ त ? यसको एउटै कारण छ सही सुनाइ र सही बुझाइको अभाव । सही सुनाइ र बुझाइ कसरी त ? हामी विभिन्न बिषयहरु अध्ययन गर्दा वा सुन्दा त्यसलाई तीन किसिमले सुन्छौँ र बुझ्ने कोशिस गर्दछौँ – मस्तिष्कबाट, हृदयबाट र पूर्ण रुपले श्रद्धबाट । जब हामी मस्तिष्कबाट सुन्ने र बुझ्ने प्रयास गर्दछौँ त्यो सुनाइ बुद्धि वा तर्कजनित हुन्छ, त्यस्तो सुनाइबाट शव्दार्थको तहमा (अभिधा, लक्षणा र व्यञ्जना) हाम्रो बुझाइ केन्द्रित हुन्छ । यस्तो सुनाइमा हामी सामान्यतः संशय वा बुद्धिजनित रुपले यसबाट के भन्न खोजिएको हो भनेर जिज्ञाशा वा संशय राखेर सुन्ने र बुझ्ने प्रयास गर्दछौँ । यस किसिमको सुनाइमा हाम्रो मस्तिष्क सबैभन्दा बढी सकृय हुन्छ । जब श्रवण वा अध्ययन गर्दै हामी तर्क वा बुद्धिजनित ढंगले बुझ्ने कोशिस गर्दछौँ त्यहाँ लेखक, वक्ता र पाठक, श्रोताका बीच एक प्रकारको संशय भाव पैदा हुन्छ र लडाई शुरु हुन्छ अनि केवल सतही अर्थ बोध हुन्छ, त्यसको गहनतामा प्रवेश गर्ने संभावनाको द्वार नै बन्द हुन्छ । परिणामतः हामी सतही अर्थमा झुण्डिरहन बाध्य हुन्छौँ, गहन अर्थ बोधका लागि भावपूर्ण, प्रेमपूर्ण र सहानुभूतिपूर्ण सुनाइ आवश्यक हुन्छ । जबसम्म हामी तर्कपूर्ण वा संशयपूर्ण सुनाइ गर्दछौँ भावपूर्ण र प्रेममय सुनाइ गर्नै सक्दैनौ । तर्कबाट सुन्ने र बुझ्ने प्रयास मस्तिष्क सकृय गराइ बुझ्नुपर्ने बिषयहरु गणित, तर्कशास्त्र तस्ता बुद्धिजनित बिषयका लागि उपयुक्त हुन्छ तर भावपूर्ण लेख, रचना, कविता, कथा, उपन्यास आदिका लागि भने भावपूर्ण सुनाइ र बुझाइ नै आवश्यक छ । दोस्रो प्रकारको सुनाइ हो भावपूर्ण सुनाइ वा बुझाइ । कथा, कविता, कलात्मक रचना, भजन, प्रार्थना आदिको सुनाइ र बुझाइका लागि भावपूर्ण, प्रेमपूर्ण र सहानुभूतिपूर्ण हृदय आवश्यक पर्दछ । मस्तिष्क खेलाएर, बुद्धि लगाएर यस्ता कुराहरुको गहन भाव बोध गर्न सकिन्न । कुनै कविको कविता, कथाकारको कथा, उपन्यासकारको उपन्यास यदि हामी सुन्दैछौँ वा पढ्दैछौँ भने उसको शब्द संगसंगै आफ्नो भावदशालाई द्रवित, पल्लवित, पे्रममय बनाउन सकिएन भने त्यसले दिन खोजेको जुन गहन भाव हो त्यसको बोध गर्न सकिँदै सकिँदैन । त्यसबेला हाम्रो हृदय त्यही लेखकको हृदयका रुपमा परिणत हुन आवश्यक छ । यही कारणले गर्दा सामान्य लेख, पत्रिकाका आलेखहरु भन्दा त्यस्ता भावपूर्ण रचनाका पाठक, श्रोता र दर्शक कम हुन्छन् आम मानिसभन्दा अलि माथिल्लोस्तरको बोधकर्ता हो भावपूर्ण श्रोता । तेस्रो प्रकारको सुनाइ र बुझाइ हो श्रद्धाजनित सुनाइ । यस किसिमको सुनाइमा अब श्रोता, दर्शक, पाठक आफ्ना एक एक अंगबाट होइन समग्र श्रद्धा, आस्थाबाट सुन्दछ, सबै इन्द्रियको अनुभवभन्दा पर इन्द्रियातीत शुन्यावस्थामा आफूलाई पूर्ण रुपले खुल्ला राखेर सुन्दछ । यतिबेला उसमा न संशय हुनछ, न भाव उ स्वयं वक्ता, लेखक, द्रष्टामा परिणत भइसकेको हुन्छ । जव यसरी पूर्ण रुपमा त्यस बिषयलाई श्रद्धाजनित रुपमा सुन्न र बोध गर्न सक्छौँ अनि मात्र त्यसलाई सही रुपमा प्रज्ञाजनित रुपमा बोध गर्न सक्दछौँ । माथि उल्लेखित दुई प्रकारका सुनाइ र बुझाइभन्दा निकै माथिल्लो स्तरको सुनाइ र बुझाइ हो यो । यतिबेला हामी त्यो कुनै कृति, सुक्त वा शास्त्र सुनिरहेको रुपमा होइन स्वयं आफैँले रचना गरेको, अनुभूति गरेको र स्वयंको भोगाइको रुपमा बोध गर्न समर्थ हुन्छौँ । सिद्धान्त, दर्शन, पुराण, उपनिषद्, सन्तहरुका देशना, भजन, सवद यही स्तरको सुनाइ र बुझाइबाट मात्र बोध गर्न सकिन्छ । जब यस्तो सुनाइ र बोध हुन्छ मानिस मानिसबाट क्रमशः माथि उठ्न थाल्छ, आदर्श पुरुषका रुपमा स्थापित हुन थाल्दछ, महापुरुष बन्नपुग्छ, एक किसिमको विराट प्रतिभा हामी भित्र विकसित हुन थाल्दछ, मानिस त्यही हुन्छ तर उसको दृष्टि र अनुभव भने निकै माथिल्लो भइसकेको हुन्छ । यसरी सुन्ने र बोध गर्ने व्क्तिका लागि माथिल्ला दुवै सुनाइ र बुझाइ फिका लाग्दछन् । विद्यार्थी हो भने उ अव असामान्य विद्यार्थ बन्नपुग्छ, श्रोता हो भने माथिल्लोस्तरको श्रोता बन्दछ, पाठक हो भने उ असाध्यै गहन अध्येता बन्दछ उसको तुलना सामान्य श्रोता वा बोधकर्ता संग हुनै सक्दैन ।

No comments:

Post a Comment