Friday, December 7, 2012

जीवन परिवर्तनका लागि अवसर कि दृष्टिकोण ?

मानिसको जीवनमा सफलताका लागि परिस्थिति जिम्मेवार हो कि दृष्टिकोण भने बिषयमा प्रशस्त मात्रामा पक्ष र विपक्षमा तर्कहरु हुन सक्लान् । म पनि सरसर्ति सोच्दा परिस्थिति नै जिम्मेवार हो कि भन्ने सोच्छु । सामान्यतः मानिसहरु आफ्नो प्रगतिमा अवसरहीनतालाई नै दोषी देख्छन् । राजनीति स्थिर नभएर पो त नत्र...................., राजनीति मात्र स्थिर भइदिए.........., यो सतिले सरापेको देश केही नै नहुने भो ..........., यहाँका मानिसहरु नै ठीक छैनन्, अवसर नै छैन नत्र त ............., । जब हामी केही काम गर्ने कुराकानी गर्न थाल्छौं यी र यस्ता भनाइहरु हामीमध्ये प्रायजसो मानिसका मनमा आइरहन्छन् ।
कसैले सामाजिक परिस्थिति प्रतिकूल छ भन्छन्, कसैले लगानीको अभाव छ भन्छन्, कसैले काम गर्ने मानिस नै पाईदैन के काम गर्ने भन्छन्, कसैले नेता नै ठीक छैनन् के गर्न सकिन्छ र भन्छन्, कसैले काम गर्न कानून नै ठीक छैन भन्छन्, काम शुरु गर्ने सोच, चिन्तन र आँट भन्दा पनि पहिले परिस्थितिजन्य दोष र अप्ठ्याराहरु हाम्रा दिमागमा आइहाल्छन् । तर के यस्ता समस्या सबै निमिट्यान्न भएको अवस्थामा मात्र व्यक्तिले आफ्ना उन्नति र प्रगतिका कामहरु गर्ने हो ? के यस्ता समस्याहरु हुँदै नभएका देशहरु छन् संसारमा ? विश्वविख्यात कहलिएका मनिसहरु के यी सबै परिस्थिति सहज बनेका बेला मात्र काम गरेर ठूला र प्रसिद्ध मानिस भएका हुन् ? काम गर्ने परिस्थिति ठीकठाक देखेर होइन कामको औचित्य, आवश्यकता र अन्तरइच्छाबस काम गरेकाले नै गान्धी, मन्डेला, मार्टिन लुथर, मदर टेरेसा वास्तवमा संसार प्रसिद्ध भएका हुन् । संसार प्रसिद्ध हुने मानिसहरु त अप्ठ्यारा कै बीच यत्रा काम गर्न सक्दा रहेछन् भने हामी दालभात राम्ररी जुटाउन, छोराछोरी राम्ररी पढाउन, एउटा राम्रो बसोबासयोग्य घर बनाउनका लागि काम गर्न पनि सबै परिस्थिति ठीकठाक, सजिलो र सहज हुनुपर्ने हो त ?
परिवेश र परिस्थिति ठीक भएपछि काम गर्छु र उन्नति गर्छु भनेर बसिरह्यो भने या त आत्महत्या गर्नुपर्ने हुन्छ या त अर्काको पछिलाग्दै निरिह र हीनतापूर्ण जीवन बिताउनुपर्छ । त्यसैले स्टिफेन कोभे भन्छन् –“परिस्थितिलाई हेरेर बस्नेहरु यथास्थितिको शिकार हुन्छन्, किनारामै बसिरहन्छन्, हिम्मतले परिस्थिति बदल्न कम्मर कस्नेहरु विकसित हुन्छन् र आफ्नो लक्ष्यमा पुगेर आनन्दित जीवन बाँच्छन् ।”
म करिब १५ बर्षपछि गत सालको हिउँदमा आफू जन्मेको गाउँ जानुपर्यो भनेर केही दिनको फुर्सत लिएर गाउँतिरको बदलिँदो जीवनको अवस्थाहेर्ने, बुझ्ने उद्देश्यले काठमाडौंबाट निस्केँ । हिउँदको समय गाडी चल्ने भएकाले नजिकैको चकमके बजारसम्म काठमाडौंबाट सिधै रात्रीबसबाट गइयो, त्यहाँबाट बिस्तारै करिब डेढघंटा जति पैदल हिँडेपछि आम्बोटे पुगियो । हुनत आम्बोटे भञ्ज्याङसम्म नै मोटरबाटो नपुगेको त होइन, तर नियमित रुपमा बस नचल्ने, ट्याक्टर मात्र चल्ने भएकाले हाम्रो समूह ट्याक्टरबाट यात्रा गर्नुभन्दा हिँडेरै जान रुचायो । करिब डेढ घण्टाको हिँडाईपछि आम्बोटेको मुटु मानिने बोहारी फाँट पुगियो । जन्मीहुर्की बाल्यकाल देखि निकै ठूलो हुँदाको समयसम्म बिताएको यसठाउँको धैरै वर्षपछिको यात्रामा त्यहाँपुग्दा मेरो हृदय तेसै फरुङ्ग भयो ।
कसैले मेरोमा आइज, कसैले यतै बसौँ आज, कसैले एक रात त म काहाँ पनि है भन्दै निम्ता दिने, बास बस्न अनुरोध गर्ने काम निकै दिनसम्म भइनै रह्यो । हिउँदका ५ दिन बिताइयो आम्बोटेमा । शहरको कोलाहलपूर्ण, व्यस्त र एकांगी जीवनबाट केही दिन भएपनि माया, ममता र सौहाद्र्रताले भरिएको गाउँको यसपटकको बसाई निकै वर्षपछि गएकाले होला अलि भिन्नै र आनन्दमय रह्यो, एक किसिमको नयाँ अनुभूतिमा लिएर फकेँ म ।
शहरमा बस्नेहरुलाई गाउँ अनपढ, बेबुझ र यथास्थितिमा रमाउनेहरुको ठाउँजस्तो लाग्न सक्छ तर यसपटक मलाई शहर भन्दा गाउँको मानिसहरुको सोच, चिन्तन र व्यवहारमा निकै नै नयाँ फड्को मारेर अगाडि बढेको जस्तो अनुभव भयो । विकास र उन्नति भनेको ठूला घर र चिल्ला सडक मात्र होइन मानिसको सोच, चिन्तन र व्यवहारमा आएको परिवर्तनले नै वास्तवमा मानिस कति विकसित छ भन्ने देखिन्छ । त्यसैले एक्काइसौं शताब्दीको विकासको परिभाषामा पनि परिवर्तन गरिएको होला । सोचाइ र चिन्तनको विकास भएपछि केही न केही भौतिक विकास भइहाल्दो रहेछ ।
गाउँमा बस्दाको करिब एकहप्तामा यसपटक मैंले २ थरि मानिसहरु भेटँे । एकथरि मानिसहरु आफूले बुझेको, आफूले जानेको र आफूले भोगेको कुरामा एउटा मापदण्ड बनाउने, गफ लगाउने, सामाजिक, आर्थिक परिस्थितिलाई दोष देखाउने र जे समाजमा चलिरहेको छ र जे गरेर बाँचिरहेको छ त्यसैमा रमाउन खोज्ने अनि आफ्नो तर्फबाट कुनै नयाँ सोचका साथ अघि बढ्न नचाहने, पहल नगर्ने, अरुले कुनै नयाँ कुरा र काम गर्न थाल्यो भने त्यसलाई कामै गर्नै नसक्ने गरी कुरा काट्ने र खोइरो खन्ने । आफ्ना पुर्खा, प्रचलन, संस्कार र बुढीरुढीका आधारमै आफूलाई चलाउन खोज्ने ।
अर्काथरि केही मानिसहरु जो बाहिरी परिस्थिति, राजनीति, परम्परा, संस्कृति, पुख्र्यौली पेशा आदिलाई सम्मान र स्मरण गर्दै केही नयाँ सोचका साथ जोखिम लिन पहल गर्ने, नयाँ काम गर्नखोज्ने, केही जोखिम पनि उठाउने, अरुको कुरा काट्ने र चियोचर्चोमा त्यति नरमाउने, आफ्नो जीवन पनि परिवर्तन गर्ने र अरुलाई पनि प्रदर्शनात्मक प्रभाव दिने ।
यी दुइथरि मानिसमा पहिला थरिका मानिसहरुका वर्गमा अपेक्षकृत बुज्रुक, पढेलेखेका, बाहिरफेरो घुमेर केही देखेका, बाबुबाजेले कमाइदिएको सरसम्पत्ती भएका मानिसहरु बढी थिए भने दोस्रोथरि मानिसमा चाहिँ अपेक्षकृत कम पढेलेखेका, आक्कलझुक्कल मात्र बाहिरफेरो घुम्ने अवसर पाएका, राजनीतिमा त्यतिसारो चासो नराख्ने, आफ्नो मेहनतमा बढी विश्वास गर्ने, अर्काको चियोचर्चो त्यति नगर्ने मानिसहरु बढी थिए । पहिलो कोटीका मानिसहरु बढी नै नाफा खोज्ने, तुरुन्तातुरुन्तै प्रतिफल खोजिहाल्ने, अलि बढी नै अपारदर्शी पाइए भने दोस्राखाले मानिसहरु अपेक्षकृत सिधासाधा, धैर्यवान्, परिणाममुखी र मेहनति देखिए ।
यातायातको अलि सुविधा, नजिक बजार, शिक्षाको सुलभता आदिले होला विस्तारै मानिसहरु कृषिको रुपान्तरण मार्फत् अलि नयाँ सोचका साथ अघि बढ्न लागेको पाएँ मैले । माथि मैले उल्लेख गरेका मानिसहरु मध्ये दोस्रो वर्गका २ जना प्रतिनिधि पात्र र तिनले गरेका कामले आम्बोटेका मानिसको आर्थिक जीवनमा पारेको असरका बारेमा तलका अनुच्छेदमा संक्षिप्तमा चर्चा गर्नेछु । जसले हामी शहरबासीहरुलाई पनि नयाँ ढंगले गाउँका बिषयमा, त्यहाँका अवसरका बिषयमा सोच्न मद्दत गर्नेछ ।


प्रतिनिधि पात्र नं. १ः अदुवा खेतिका अग्रणी तामाङ भाइ
एक दिन बिहान गाउँको विकास, रुपान्तरण र जीवनशैलीका बिषयमा केही सोच्दै बसिरहेको बेला एक्कासी म भन्दा केही कलिलो उमेरको एउटा तामाङ केटो मलाई भेट्न भनेर आएको बताउँदै म नजिक आइपुगे । केहीछिन भलाकुसारी र चिनजानमा बितायौं हामी दुवैजनाले । चिनजान गर्दै जाँदा हाम्रो घरपरिवारमा निकै पहिले देखिको चिनजान भएकै एकजना लेकाली तामाङका छोरा रहेछन् उनी  । महाभारत लेकको उत्तरबाट एकजना बाहुनको खेतबारी किनेर उनीहरु त्यहाँ बसाइ सरेर आएका रहेछन् । बेलाबेलामा मकै, कोदोको बेसाहा लिन उनका बाबु हामीकहाँ पनि आइरहन्थे, भएका बेला लैजान्थे, नभएका बेला अन्यत्रबाट लैजान्थे, पैसा भए नगदै तिरेर लान्थे, नभए कहिले काहीँ नजिक गाउँको जिनजानको मानिस भएकाले उधारो पनि लैजाने गर्दथे । कहिलेकाहीँ घिउ लिएर अन्न लैजाने पनि चलन थियो, त्यसै गर्दथे । पछि छोराहरु बढेपछि अलि कमाइ पनि बढेछ, दुःखसुख गरी केही लाख पैसा कमाएपछि बेँसीमा घरखेत नै किनेर बसाइ सरेका थिए उनीहरु ।
केहीबेरको कुराकानी पछि मैंले उनलाई सोधेँ – “आजभोलि के गर्दैछौ त ?” उसले जवाफ दियो– “केही समय काठमाडौंतिर बसँे, अहिले केही बर्ष देखि घरमै छु, एउटा सानो रेडियो घडी बनाउने पसल र मिल बेँसीमा छ, खेतबारीमा अलि नयाँ ढंगले खेति गर्दैछु, राम्रै छ दाइ, यस्तै त हो नि ।” मैले अलि चासो राख्दै सोधेँ – “कस्तो नयाँढंगको खेति भाइ ?” “के भन्नु र दाइ नयाँ काम गर्दा हौसला दिनेभन्दा आलोचना गर्ने र निरुत्साहित गर्ने नै बढी हुँदा रहेछन्, तर सफल भएपछि भने सबै फेरि पछि लाग्दा रहेछन् । ” आफ्नो निचोड उसले सुनायो । “किन र भाइ ?” मैले सोधेँ । “तपाईलाई थाहा छँदै छ नि हामी लेकबाट अलिकति जग्गा र घर किनेर बसाइ सर्यौ, जहान निकै भएकाले खेतिले मात्रै धन्न गाह्रो थियो, भैसी पाल्ने, खसीबोका पाल्ने काम पनि साथसाथै गरियो, तर यतिले मात्रै हातमा पैसा नपर्ने भो भनेर काठमाडौंतिर पैसा अलि कमाइन्छ कि भनेर गएँ । त्यता पनि हन्डर मात्रै पाइयो । पढेलेखेको भए त अलि हुन्थ्यो होला, तर अनपढलाई अलि गाह्रो रहेछ । केही समय काठमाडौं बसेर सीप पो सिक्नुपर्छ क्यार भनेर रेडियो र घडी बनाउने काम सिकेँ अनि शहरको दुख र हन्डर भन्दा त गाउँमै पो केही गर्न सकिन्छ कि भनेर गउँ फर्केँ । धेरै खान गएको होइन शहर ? फेरि किन फर्केको त भनेर सबैले खिसी पनि गरे । केही दिन त फेरि काठमाडौंतिरै फकुँ कि जस्तो पनि लाग्यो, तर हार खाइँन । एउटा मिल खोल्नु पर्यो भनेर सोच बनाएँ, पैसा थिएन, रिण खोजेर मेशिन ल्याएँ । मेशीन चलाउन आफैंले सामान्य रुपमा सिकेँ । अनि अलिअलि मिलले कमाइ गर्न थाल्यो । नयाँ काम गरे त हुँदो रहेछ भन्ने हौसला भयो । त्यसपछि खेतिपातीबाट कसरी बढी आम्दानी गर्न सकिन्छ भन्ने सोधखोज गरेँ । छिमेकी एकजना दाइले अम्रिसो खेतिबाट निकै राम्रो आम्दानी गरेको देखेँ । तर अम्रिसोका लागि अलि ओसिलो ठाउँ चाहिने, मेरो भने धेरै सुख्खा जमिन भएकाले त्यो अलि सम्भव देखिन ।”
“अनि के गर्यौ त ?” मैले जिज्ञाशा बढाएँ ।
उसले अलि गम्भीर हुँदै भन्यो  –“केही साथीभाइले अदुवा लगाऊ, राम्रो आम्दानी हुन्छ भने । अनि मैले इलाम अदुवाले धनी भएको जिल्ला हो भन्ने सुनेको थिएँ । मेरो मनमा गर्दा हुन्छ कि त भन्ने लाग्यो । परम्परागत रुपमा पनि अदुवा खेति भइरहेको र त्यसको खेति गर्न पनि जानेकाले मलाई त्यसले आकर्षित गर्यो । अदुवाको बीउ ल्याएर धान फल्ने राम्रो चाहिँ खेतमा अदुवा लगाउने निर्णय गरेँ । धान फल्ने खेतमा अदुवा लगाउँने बिचार सुनाउँदा घरपरिवार, आफन्त कसैले पनि अघि बढ्न सल्लाह दिएनन् । छिमेकी र साथीभाइहरुले हाँसोको पात्र बनाए । तैपनि मैंले हिम्मत हारिन । राम्रो बीउ कहाँ पाइन्छ भनेर सोधखोज गरेँ, कसरी खेति गर्यो भने राम्रो उत्पादन हुन्छ भनेर बुझँे । अनि धान फल्ने राम्रो चाहिँ गराहरुमा अदुवा लगाएँ ।  वर्षको १०।१५ मुरी धान फल्ने खेत पूरै अदुवाले ढाकियो, संयोगले रोग पनि लागेन, अदुवा निकै राम्रो फल्यो । यसपाली ७०।७५ क्वीन्टल अदुवा फलाएँ त्यस ठाउँमा । पैसाकै हिसाब गर्ने हो भने कहाँ १०।१५ मुरी धान कहाँ ७०।७५ क्वीन्टल अदुवा । दाइ परिवर्तन भनेको यस्तै त रहेछ नि हैन र ?” हाँसो मिश्रित स्वरमा उसले मलाई हेर्दै भन्यो ।
“निकै नै राम्रो काम पो गरेछौ त भाइ तिमीले । अनि अहिले कति गाउलेहरुले लगाउँदैछन् त अदुवा ?” मैंले सोधेँ । उसले जवाफ दिँदै भन्यो –“दाइ मलाई धानखेतमा अदुवा लगाउँदा शुरुशुरुमा पागल भन्नेहरु अहिले त कसरी यो अदुवा लगाउने हो भनेर म काहाँ धाउँदै छन् । १०।१५ घरले यसपाली लगाउने कुरा गर्दैछन् । अर्को एउटा समूहले सामूहिक रुपमा नै खेति गर्ने भन्ने योजना बनाएको छ । दाइ अब त हाम्रो गाउँ अदुवा गाउँ पो होला जस्तो छ त” हाँस्दै उसले भन्यो ।
मलाई त्यो तामाङ भाइको कुराले एक प्रकारले अति नै हर्षित बनायो । हो त नि गाउँमा अवसर खोज्नु भन्दा विदेशमा गएर, दुख हन्डर खाएर थोरै पैसा कमाएर ल्याएर मक्ख पर्ने हाम्रा अरबेली लाहुरेहरुलाई यो चेतना भए कति हुँदो हो । एउटा गरिब तामाङ केटाले यत्रो गाउँको मुहार फेर्ने प्रविधि र आँट ल्यायो र गाउँकै मुहार फेरिदियो भने अलि धेरै मिलेर गर्न सके त कति हुन्थ्यो होला ? आखिर महिनाको १०।१५ हजार जागिरमा मलेसिया र अरब तिर लाखौँ रिण गरेर जानु भन्दा त यी तामाङ भाइ संग सिकेर आफ्नै देशलाई पूँजी र प्रविधियुक्त बनाउन सके गाउँको मुहार फेरिन कति समय लाग्दो होला र ? तामाङ भाइको सफलताको यो कथा हरेक युवाको लागि प्रेरणा बने हाम्रो देशको मुहार अर्के हुने थियो । मैंले आफ्नो मनको अन्तरकुन्तरबाट यस्तै निष्कर्ष बनाउँदै थिएँ तामाङ भाइ अलि हतारो जस्तै गरी उठे र भने – “दाइ फुर्सत भए मेरो उद्यम यसो नजर गरिदिनु होला ।” “समयले साथ दियो भने आउँछु” भन्ने आश्वासन साथ हास्दै मैंले उनलाई बिदाइ गरेँ ।
प्रतिनिधि पात्र नं. २ः ढड्यान र बारीको कान्लाकोे अम्रिोसोबाट लाखौंको आर्जन गर्ने ती काका
तामाङ भाइ बिदा भएको एकछिन पछि एकजना काका पर्ने म भन्दा केही वर्षमात्र जेठो उमेरका आफन्त मलाई भेटन आइपुगे । नाताले काका भन्नुपर्ने र एक किसिमले दौंतरी उमेरका भैंm हामीहरु बीच निकै बर्षपछि भेटघाट भएकाले मैंले र उनले दुवैका घरपरिवार, काम, बसाई आदिबारे भलाकुसारी गर्यौं । मैेंले एकैछिन अघिको तामाङ भाइले गरेको कुरा उनलाई पनि सुनाएँ । उनले पनि मेरो कुरामा थप्दै भने –“अँ हो त नि त्यसले त यो गाउँको मानिसको जीवन मै परिवर्तन पो ल्याएदियो त, उद्यमी छ, सहयोगी पनि छ केटो । मलाई पनि अदुवा लगाउन हौस्याउँदै छ, विचार गरिरहेको छु”  उनले भने । “मैले पनि उसले जस्तै अलिअलि काम त गरेको छु, मेरो चाहिँ अदुवा भन्दा आफ्नै काम ठीक छ जस्तो लाग्दैछ” अलिकति गम्भीर र आँटिलो आत्मविश्वासका साथ उनले कुरा अघि बढाउन खोजे । “अँ मैले त बारीमा खेति गर्नै छोडिदिएँ नि ” उनले भने । “किन र काका ?” मैले प्रश्न गरेँ । “आ काम गरेको ज्याला पनि नउठ्ने हुन थाल्यो को खेति गरिरहोस् । मैले त बारीमा सबै अम्रिसो रोपिदिएँ । जाउँ हेर्न, खाना पनि उतै खाउँला ” उनले प्रस्ताव गरे । म पनि निकै वर्षमा भेट भएकाले उनको आग्रहलाई स्वीकार गरेँ र उनको पछिपछि लागेँ । हामी अगाडि बढ्दै गयौं, उनले मलाई विस्तार साथ सुनाउँदै गए । “हेर भतिज तिमीहरु बसाइ सरेपछि म पनि तराइ तिर बसाइ सर्नुपर्यो भनेर तराइतिर जग्गा पनि लिएँ , बसाइ सर्ने बिचार गरेँ । तर किन किन मलाई तराइतिर बसाइ सर्न मनै लागेन । ठण्डा हावापानी, शान्त बसोबास, आफन्तहरुको मायाप्रेम र सद्भाव, यत्रो चीज कमाएर नयाँ ठाउँमा रमाउन त मलाई निकै वर्ष लाग्छ नि , किन जाने हँ म बसाइँ ? यस्तो प्रश्न मेरा दिमागमा आयो अनि बसाइँको कुरै मैले छाडिदिएँ । छोराछोरीलाई शहरमा बस्न मन लागे बस्छन्, जान्छन् म चाहिँ जान्न यस्तो बिचार गरेँ । अहिले मलाई लाग्छ मैंले यो सोचेर गरेको निर्णय ठीकै रहेछ । गाउँको बसाइ छ, खानपान राम्रो छ, आफूलाई चलन गर्न नगदको कमि पनि छैन । के नै पाइन्छ र टाढा र नयाँ ठाउँमा गएर पनि ?” यति भन्दैगर्दा हामी उनको खेतको डिलमा पुगिसकेका थियौं । खेतको डिलमा हेरेँ अमिस्रोको घारी फूल फूलेर झपक्कै भएको रहेछ । हामी सानो हुँदा गर्मी याममा जलुकोको तरकारी खान कहिलेकाहीँ जलुको टिप्ने गरेको त्यो ठाउँमा अहिले त पूरै अम्रिसोको खेति पो रहेछ । खेर गइरहेको खोलाको किनार, त्यसै कुनै उपयोगविहीन भएको त्यस ढुंग्यानको उनले राम्ररी उपयोग गरेको देखेर मैंले सोधेँ – “तपाईलाई यस्तो ठाउँमा यो खोति हुनसक्छ भन्ने ज्ञान कसरी आयो र यत्रो परिवर्तन गर्नुभयो काका ?”  
“हेर भतिज मलाई एकपटक इलाम घुम्न जाने मौका मिल्यो । इलाममा अम्रिसो जताततै लगाएको र ओसिलो ठाउँमा बढी सप्रेको देखेर जंगलबाट केही अम्रिसोको बोट ल्याएर ढुंगाका बीच बीचमा रोपेँ । त्यो निकै राम्रोसंग सप्रियो । त्यसपछि त्यसलाई अझै फैलाएँ । हिउँदमा कुच्चो बेच्न पनि हुने, घाँस पनि हुने, दोहोरो फाइदा रहेछ यसको । त्यसैले उब्जाउ कम हुने बारीका कान्लामा पनि त्यही लगाइदिने बिचार गरेँ । अहिले हेर त बारीमा कोदो र मकै भन्दा अम्रिसो नै अम्रिसो देख्छौ तिमिले ।” मैले उनको यो कुरा सुन्दासुन्दै बारितिर नियालेँ । बारी पूरै अम्रिसोले ढाकिएको थियो । “कति रुपैयाँ कमाउनु भयो काका तपाईले यो अम्रिसोबाट ?” मैंले जिज्ञाशा राखेँ । धेरै त होइन गतवर्ष दुईलाख पचास हजारको बेचेको थिएँ । यसपाली अझै बढी छ । मनमनै सोचे एउटा अरब जाने लाहुरेले भन्दा त यिनले पो धेरै पैसा कमाए त । न घर छाड्नुपर्यो न परिवार । न रिण लाग्यो न अरु कमाइ घट्यो, कति राम्रो प्रविधि ल्याएछन् गाउँमा । रुपैयाँ पैसाको मुख देख्न कि त धानमकै कि त खसिबोका र गाइभैंसी बेच्नुपर्ने त्यो ठाउँमा त्यसै खेर गरिएको पाखैले मात्र तीनतीन लाख रुपैयाँ । पैसा कमाउन परिस्थिति होइन सोच र मेहनत पो चाहिँदो रहेछ ।
त्यसपछि मलाई यो अम्रिसो र अदुवा खेति बारे निकै चासो बढ्यो । एक दिन ककसले अम्रिसो र अदुवा खेति गर्दैछन् र ककसले विस्तार गर्दैछन् भन्ने बिषयमा एउटा सहकारी संस्थामा बसेर छलफल गरियो बुझ्दै जाँदा मैले माथि चर्चा गरेका दुईजनाले राम्रो आम्दानी गरेको सुनेर धेरै कृषकले आफ्नो बारीका कान्ला र खेतको किनारामा, खोल्साखाल्सीमा, खोलामा किनारमा अम्रिसो लगाउने र त्यसबाट निकै राम्रो कमाइ गरिरहेको थाहा पाएँ, अनि मलाई हिराको खानी भएको खेत बेचेर हिराको खोजी गर्ने व्यापारीको कथा याद आयो, जसले मेरो खेतमा हिरा छ भन्ने थाहै नपाई बेचेका थिए पछि त्यही खेत किन्ने व्यपारीले हिरा निकाले पछि हर्ट अट्याक भएर मरेका थिए । धन्य छन् आम्बोटेका परिश्रमी ती दाजुभाइहरु जसले आफ्नो मेहनत र इच्छाशक्तिले गाउँमै बसेर जीवनको व्यापक रुपान्तरण गरेका छन्, अरु गाउँले पनि यसबाट प्रेरणा लिन सक्छन्, सबैलाई चेतना भया । अस्तु ।
प्रतिकृयाको लागिः  dhirbhandari@yahoo.com

No comments:

Post a Comment