Saturday, December 29, 2012

हाइकिङ र रिट्रिटको रमाइलो


“मनोरञ्जनात्मक वस्तुको उपभोगबाट पाइने क्षणिक आनन्द भन्दा प्राकृतिक रमणीयताको आन्तरिक अनुभूतिबाट लिइने आनन्द मानव जीवनका लागि कैयौँ गुणा बढी महत्वपूर्ण छ ।” एक प्रख्यात पर्यटकले संसार घुमेर निकालेको निष्कर्ष हो यो । फान्सको पेरिसको एक पुस्तक पसलमा पाएको सानो यात्रा विवरण जस्तो लाग्ने किताबको शुरु पृष्ठमा मैँले यो वाक्य पढ्न पाएको थिएँ । सारै मन परेकाले यात्रा डायरीको एउटा पन्नमा टिपिएको यो वाक्य र  एफेल टावर घुम्दै गर्दा पेरिसका मेरा एक जना नेपाली मित्रले भनेको मार्मिक वाक्यले चन्द्रगिरी पहाड चढ्दा र त्यहाँबाट देखिने काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्दा मलाई आज फेरि झस्कायो । उनले भनेका थिए – “धीर जी हामी नेपालीहरु जीवनमा रमाइलो गर्न त जान्दै जान्दा रहेनछौँ । रमाइलोका लागि कि त हामी तास खेलेर दिन बिताउँछौँ कि त रक्सी पिएर मात्ने गर्छौ । यसले त हाम्रो मानसिकता खुम्चँदो रहेछ अनि स्वास्थ्य पनि बिग्रँदो रहेछ । थाहै नपाई रमाइलोका नाममा हामी आफ्नो जीवन धरापमा पो पार्दारहेछौँ ।” उनको यो भनाइले मलाई त्यसबेला त त्यति छोएन तर जब मैँले स्वीटजरल्याण्डको पहाडमा कुद्ने पहाडी रेलबाट देख्दै लठ्ठ परिने मनोरम दृश्य हेर्दै पहाडको चुचुरोमा पुग्ने मौका पाएँँ, चीनको माउन्ट ताई पहाडका ३००० वटा भन्दा बढी खुटिकलाको सिँढी चढेर असिन पसिन हुँदै रमाइरहेका तन्नेरी देखि बुढाबुढीहरुको लस्कर देखँे अनि भारतको दार्जिलिङ र नैनितालको प्राकृतिक सुन्दरतामा मदमस्त हुन हतारिएर ओइरिएका दक्षिण भारतका पर्यटकहरु देखेँ, अनि बल्ल मलाई ती मित्रको मार्मिक भनाइले गहिरोसंग घोच्नथाल्यो । उनको भनाइमा केही अनुभूतिगत गहनता पाएँ मैले ।
संसारमा घुम्न निस्कने पर्यटकहरु मध्ये करिब दुईतिहाइ पर्यटकहरु साहसिक पर्यटनका लागि निस्कने गर्दछन् । उनीहरुको गन्तव्यमा प्राकृतिक दृश्यावलोकन, हाइकिङ, साहसिक खेल, पर्वतारोहण आदि हुने गर्दछन् । यसका लागि धेरथोर सुविधायुक्त शहरका वपिरि अवस्थित पहाड, चुचुराहरु र स–साना समुद्री टापूहरु उनीहरुका गन्तव्य हुने गर्दछन् । प्राकृतिक रमाइलोमा रमाउनु र त्यसबाट प्राप्त हुने आन्तरिक आनन्द लिनु उनीहरुको उद्देश्य हुन्छ । माथि उल्लेखित चीनको शान्दोङ पान्तमा पर्ने यान्ताई शहरमा वार्षिक रुपमा कम्तिमा ४० देखि ५० लाख आन्तरिक र वाह्य पर्यटकहरुले भ्रमण गर्दारहेछन् । यान्ताई शहरका दुईतिहाइ घरहरुमा होेटल छन् । ४।५ स्तरका हजारौँ गाइडहरुले पर्यटकहरु घुमाउने रोजगारी पाएका छन् । त्यस शहरको मानिसहरुको रोजगारी नै त्यही एउटा पहाडको पर्यटनले धानेको छ । स्वीटजरल्याण्डका पहाडका चुचुराहरु नै त्यस देशका लागि आन्तरिक आम्दानीका स्रोतहरु हुन् । पहाडको टुप्पासम्म पुग्ने रेल र केबलकारहरुबाट गरिने दृश्यावलोकन स्वीटजरल्याण्डका मुख्य आकर्षण हुन् । प्राकृतिक वातावरणको अवलोकन र घुमफिरको आनन्द कै लागि प्रसिद्ध छन् त्यहाँका पहाडहरु । पथिक फाउन्डेशन मातातीर्ण रिट्रिट सेन्टरका अध्यक्ष ज्ञान प्रकाश राई भन्छन्  – काठमाडौँका वरिपरि र अन्यत्र पनि सुविधाजनक शहर संगै अनेकौँ त्यस्ता मनोरम डाँडाहरु छन्, तिनलाई हाइकिङ र रिट्रिट गन्तव्यका रुपमा चिन्ने र प्राकृतिकताको मनोरञ्जन लिने आँखा हामीले विकास गर्न जरुरी छ । उनको संस्थाले काठमाडौँ आसपासमा १ देखि ३ दिनसम्मका स्वदेशी र विदेशी दुवै थरि पर्यटकलाई रिट्रिट र हाइकिङ कार्यक्रमहरु संचालन गर्दैै आइरहेको छ । उनका विचारमा चन्द्रागिरी, लाँकुरी भञ्ज्याङ, शिवपुरी प्राकृतिक हाइकिङका लागि निकै मनोरम गन्तव्यहरु हुन् । यी ठाउँहरुमा हाइकिङ जान कुनै खास खर्च लाग्दैन तर भरपुर मनोरञ्जन भने प्राप्त हुन्छ । रिट्रिटका लागि भने शरीर र मन दुवैलाई एकसाथ आनन्द दिने केही कार्यक्रमहरु पनि आवश्यक हुन्छन्, खालि पहाड घुम्ने र खाने मात्रैले मानिसलाई रमाइलो नलाग्न सक्दछ । त्यसैले हामी खानपान, हिँडाइ र मनोरञ्जनात्मक र ज्ञानबर्धक कार्यक्रमको रुपमा हाइकिङको आयोजना गर्न बढी मन पराउँछौँ भन्छन् राईजी । सकेसम्म त्यस दिनलाई मनोरञ्जनात्मक, ज्ञानबर्धक र आनन्दमय तीनै कुराको त्रिवेणी बनाउन चाहन्छौँ जसबाट हाम्रो मन र शरीर दुवैलाई तरोताजा र स्फुर्तिदायक बनाउन सकियोस् । कार्यक्रमको रुपरेखा बारे प्रष्ट पार्छन् राई ।
चन्द्रागिरी हाइकिङ तथा नेचर वाचमा चौथोपटक रमाउँदै गरेकी  अष्ट्रलियन नागरिक रचेल योङ्ग भन्छिन् – काठमाडौँका वरिपरि यतिका रमाइला ठाउँहरु छन्, अहिले त डाँडाको टुप्पोसम्म पनि कतिपय ठाउँमा सडक पुर्याइएको रहेछ, तर खै नेपालीहरुलाई प्राकृतिक सुन्दरताको चाख नै नभएर हो वा महत्व नै थाहा नभएर हो मैले त हाइकिङमा नेपालीहरु बिरलै भेटेँ । हामीकाहाँ त यस्ता ठाउँहरु बिरलै छन् भएका स–साना अग्ला पहाडहरुमा  खुट्टाहाल्ने ठाउँ नै हुँदैन बिदाको दिनमा– प्राकृतिक सुन्दरताको क्रेज दर्शाउँदै भन्छिन् उनी ।
बिहानै २।३ घंटा हाइकिङमा रमायो, खाना खायो अनि प्राकृतिकस्थलमान नाचगान, मनोरञ्जन वा ध्यान गर्यो अनि बिस्तारै बेलुका ओरालो लाग्यो र फेदिमा बस्यो भोलिपल्ट तरोताजा हुदै घर वा अफिसतिर लाग्यो गर्ने नेपालीहरु आजभोलि काठमाडौँ वरपरका हाइकिङ रुटमा फाट्टफुट्ट भेटिन थालेका छन् । तर शहरको जनसंख्याको अनुपातमा यो नगन्य नै छ ।
दिनभर हाइकिङले शरीरमा केही थकाइ भए पनि प्रकृतिको ताजा र शान्तपनको आनन्द लिएर फर्कदाको मस्ति अकैहुन्छ भन्छन् चन्द्रागिरी हाइकिङमा भेटिएका स्वामी विश्वदीप । उनी धेरैजसो शनिवार कहिले चन्द्रागिरी, कहिले लाँकुरी त कहिले शिवपुरी पुगेर शारीरिक र मानसिक उर्जा बढाउन केही समय हाइकिङ र केही समय प्रकृतिको शान्ति र सुन्दरतामा ध्यानको आनन्द लिने गर्दछन् । आफ्नो इच्छा अनुसार जतासुकै घुम्दा पनि हुन्छ तर सकभर शान्त प्राकृतिक जंगल भ्रमण मानसिक र शरीरिक स्वास्थ्यका लागि उपयुक्त हुने भनाइ छ उनको । धेरै थोरै खर्चमा वा खर्चै नगरी आफूसंग केही खाने कुरा र बसभाडा लिएर दिनभर प्राकृतिक शान्ति र मनोरमताको आनन्द लिन ठूला शहरको वरिपरि प्रकृतिले सितैमा दिएका ती सम्पदाहरु बुझ्नेहरुका लागि श्रीखण्ड र नबुझ्नेहरुका लागि खुर्पाका बीँड हुन् उनका बिचारमा । एकपटक लिने कि त काठमाडौँ वरिपरिका डाँडाहरुमा हाइकिङको मजा ? dhirbhandari@yahoo.com     

No comments:

Post a Comment