Friday, December 7, 2012

थकाली भान्साः दर्शन, प्रेम र आतिथ्यको अनौठो संगम

थकाली भान्साः दर्शन, प्रेम र आतिथ्यको अनौठो संगम


 “तरकारी तेल र मसलाले होइन, पकाउनेको प्रेमभावले मीठो हुन्छ ।” यो वाक्य मैले कुनै आध्यात्मिक साधना चल्ने आश्रममा कुनै बेला पढ्ने मौका पाएको थिएँ । आज म त्यसलाई फेरि स्मरण गर्दैछु र पोखराका थकाली भान्साका बारेमा केही रहस्य खोतल्ने प्रयास गर्दैछु । यसपटक पोखरा भ्रमणको ४ दिने बसाइमा पनि खानेकुराको लागि मेरो रोजाइमा परे थकाली भान्साघरहरु । चाहे महेन्द्रपुलमा होस् वा पृथ्वीचोकमा होस् वा पातले छाँगोको छेउमा होस् मेरो खानाखाने होटल थिए तिनै थकाली भान्साघरहरु । बसेको होटलमा पनि हुनतः थकाली परिकार नपाएको होइन तर किनकिन त्याहाँ मैँले त्यति रमाएर स्वाद लिनै सकिन । एक छाक खाएपछि थकालीहरुले नै चलाएको होटल खोज्न थालेँ र पुगेँ मुस्ताङ थकाली भान्साघर महेन्द्रपुलमा । मेरो पोखरा अवधिभर त्यही होटलमा खाना खाएँ यसपाली । देशदेसावर घुम्दा स्वदेसी र विदेसी विभिन्न खानाका परिकारहरु खान पाइयो । नाम चलेका अन्तर्राष्ट्रिय ब्रान्डहरु म्यकडोनाल्ड, के.एफ.सी. देखि पिज्जाहट सम्मका परिकारहरु, पूर्वि एशिया, चीन र यूरोपमा चाख्न र त्यसको स्वाद लिन पाइयो । थाइल्यान्डको चाउचाउ र तोमयाङ सुप, चिनीयाँहरुको स्टीम ब्रेड, सुप अनि सादा र बास्नादार जेस्मीन चिया, स्वीसहरुको चीजकेक, उत्तर भारतीयहरुको चपाती, दक्षिण भारतको इडली, साम्बर र डोसा यस्ता केही मौलिक खानेकुराहरु हुँन् ती ठाउँका । एकदुई छाकका लागि यस्ता खानेकुराले केही मात्रामा स्वाद फेर्न काम गरेपनि २।४ दिन बस्ने हो भने नेपालीहरु दालभात खोज्न थालिहाल्दा रहेछौँ । दालभात पायो कि त्यसको मजा छुट्टै । धेरै पटक पोखरा पुगेको र थकाली भान्सामा खाना खाएको भएपनि यसपटक भने मलाई थकाली भान्साको रहस्य र यसको गुणस्तर बारे केही बुझ्न मन लाग्यो । एकदिन बेलुकाको खाना खाएर बील तिरिसकेपछि मैले आफ्नो जिज्ञाशा बढाएँ मुस्ताङ थकाली भान्सा महेन्द्रपुलका होटल मालिक बसन्त गौचन संग । “सबै थकाली होटलहरुमा एकै किसिमको खानेकुराको मेनु, खानाको गुणस्तर, सरसफाइ अनि एक प्रकारको घरेलु प्रकारको आतिथ्य भाव कायम गरी एक प्रकारले थकाली ब्राण्ड जस्तै गर्न कसरी सम्भव भएको हो बसन्तजी ?” मैले प्रश्न तेस्याएँ । बसन्तले मेरो कुरालाई खुब ध्यानपूर्वक सुने र मुस्कुराउँदै भने – “हजुरले भन्नुभएको कुरा सही हो थकालीहरुले चलाएका होटलहरुमा नेपालीपनको खाना, सरसफाइ र घरेलु आतिथ्य जहाँसुकै पनि प्रायः उस्तैउस्तै पाउनु हुनेछ । यसमा केही रहस्य अवस्य छ ।” मैले फेरि उनलाई प्रश्न गरेँ – “यो कला थकालीहरुले कहाँबाट सिके त ?” बसन्त फेरि मुस्कुराए र भने – “जसरी म्याकडोनाल्ड र के.एफ.सी.हरुको एक प्रकारको मेनु र स्वाद हजुरले पाउनु हुन्छ, थकालीहरु पनि नेपाली खानाका लागि त्यस्तै ब्राण्ड हुन् भन्ने मलाई लाग्छ । त्यो गुण थकालीहरुले परम्परागत रुपमै आर्जिन गरेका हुन् ।” उनले फेरि थपे –“हामीले हाम्रा पुर्खाहरुले अरुहरुलाई प्रदान गरेको आतिथ्य सत्कार, सरसफाइ र प्रेमभावबाटै यी कुराहरु सिक्ने मौका पायौँ । यो हाम्रो रगतमा नै सरेर आयो । बाँकी रह्यो खानाको गुणस्तरको कुरा, त्यो चाहिँ हाम्रो भावना संग सम्बन्धित छ भन्ने लाग्छ । थकाली भान्सामा बिशेषतः थकाली महिलाहरुले आफैँ काम गर्दछन् । उनीहरु यो मैँले पकाएको खाना पराईलाई पकाएको भनेर सोचेर होइन आफ्नै परिवार र आफन्तलाई खुवाउन पकाएको हो भने जसरी मेहनत र लगनका साथ पकाउँछन् । त्यसैले हाम्रो खाना मसला, तेल र इन्धनको भरले मात्र होइन त्यसमा मिसिएको प्रेम, आतिथ्य र समर्पणको भावले स्वादिष्ट हुन्छन् । आतिथ्य भाव, प्रेम र समर्पण बिना कहिल्यै पनि होटलले उत्कृष्ट स्वादको परिकार तयार गर्न सक्दैन । छोटकरीमा भन्ने हो भने थकालीहरुले संचालन गरेका थकाली भान्साघरहरुको रहस्य यही हो ।” बसन्तले थकाली भान्साको रहस्य र त्यसमा लुकेको दार्शनिक पक्ष पनि उजागर गर्ने प्रयास गर्दै मेरो प्रश्नको विस्तृत उत्तर दिए । थकालीहरु सामान्यतः धेरै ठूलो व्यवसायिक होटल चलाउने भन्दा पनि मझौला खालका होटलहरु आफ्नै पारिवारिक रोजगारी र आतिथ्य भाव प्रयोग गर्न चलाउने गर्दारहेछन् । थकाली होटलहरुमा प्रायजसो पुरुषहरुले किनमेल गर्ने, वाह्य व्यवस्थापन मिलाइ दिने र महिलाहरुले भान्साको हेरविचार र गुणस्तर अनुगमन गर्दा रहेछन् । बसन्त भन्छन् – “म याहाँ काउन्टरमा बसेर सेवाको ख्याल गर्छु, मेरी श्रीमती भान्सा सम्हाल्छिन् । मेरो होटल त्यति ठूलो छैन, ठीक्कको छ । पुख्यौली रुपमा भन्ने हो भने मैँले आमाले चलाएको सानो पसलबाटै आफनो व्यवसाय शुरु गरेको हुँ । १५ वर्ष त्यसैमा बिताएँ । सानो होस् वा ठूलो आफ्नो व्यवसाय सकेसम्म राम्रो ग्णस्तरमा चलाउने र ग्रहकलाई नठग्ने मेरो व्यवसायिक मान्यता छ । पैसा त समय अनुसार सस्तोमहँगो हुन सक्छ तर गुणस्तर र सेवाकै माध्यमबाट त्यसलाई संचालन गर्छु म ।” बसन्तको यस भनाइले थकालीहरुको होटल व्यवसाय कसरी चलेको रहेछ भन्ने जानकारी मलाई प्राप्त भयो । मैले केही बढी जान्ने हिसाबले फेरि प्रश्न तेस्याएँ – “थकालीहरु सामान्यतः त्यति धेरै पर्यटकहरु आवतजावत गर्ने ठाउँमा बसोबास गरेर यो व्यवसायको संचालनको दक्षता त हासिल गरेका होइनन् होला ? कसरी यस्तो व्यवस्थापन कला र दर्शन कै विकास गर्न सके त ?” बसन्तले फेरि मुस्कुराउँदै भने – “थकाली गाउँमा यदि याहाँ जानु भयो भने स्थान अनुसार केही फरक भए पनि तीन कुरामा समानता पाउनु हुनेछ – घरको सरसफाइ, भाँडाकुँडाको सरसफाइ अनि आतिथ्यको प्रेम भाव । अहिले अनेक थरिका पर्यटकहरु आउने क्रम बढेकाले केही मात्रामा व्यवसायिक भएपनि र पैसाका दृष्टिले केही महँगो भएपनि आतिथ्यभाव भने त्यही पाउनु हुनेछ, त्यसमा एकरति पनि कमी पाउनु हुने छैन । गहुँ, फापर, आलु, जौ जे भएपनि खानेकुरामा प्रेमपूर्ण भावले तयार गर्ने र आएका आगन्तुकहरुलाई पराइ होइन आफन्त ठान्न्ो भावले गर्दा न्यानो स्नेहभाव पाउनु हुनेछ थकालीहरुकाहाँ । त्यसैले म भन्छु नेपाली खाना र नेपाली आतिथ्य भावका दृष्टिले पश्चिमी शैलीका खाने कुरामा म्याडोनाल्ड र के.एफ.सी. जस्तै हुन् नेपाली खानाका लागि थकाली होटलहरु ।” व्यस्तताकै बीच लामो कुराकानी भए पनि बसन्त आफ्नो जाति र जातीय पेशाको गौरव सुनाउन पाउँदा एक किसिमको आनन्द मानिरहेका थिए । म पनि थकाली खानाको मीठास र आतिथ्य भावको रहस्य थोरै भएपनि जान्न पाएकाले एक किसिमले भित्रै देखि खुशी र आनन्दमा मग्न थिएँ । अहिले पनि म उनको भनाइ सम्झिरहेछु – “खाना मीठो ह्नका लागि खानापकाउनेको प्रेमभाव त्यसमा मिसिएकै हुनुपर्छ नत्र त्यसले वास्तविक स्वाद र सन्तुष्टि दुवै दिन सक्दैन ।” मैँले सार्वजनिक बसमा यात्रागर्दा खाना खान दिने भाव भन्दा खानाका नाममा यात्रीका पकेटका पैसा लुट्ने राजमार्ग आसपासका ती दुर्गन्धित, रुखा र प्रेमभाव विहीन होटलहरुलाई सम्झैँ र मनमनै भने – धन्य ती थकाली दाजुभाइ, दिदीबहिनीहरु जसले प्रेम, आतिथ्य र समर्पणका साथ नेपालीपनको खाना र आतिथ्यमा एक किसिमको ब्राण्ड नै स्थापित गर्न सक्षम भएका छन् । देखासिखी गर्नेहरुले बदनाम गर्न नसकुन्, युगयुग चलोस् थकाली भान्सा र थकाली खानाको यो ब्राण्ड, यही मेरो शुभकामना । प्रतिकृयाका लागि ः dhirbhandari@yahoo.com

No comments:

Post a Comment