Wednesday, November 29, 2017

उम्मेदवारका गलाबाट फूलहरुको चित्कार

अहिले चुनावको मौसम छ । भोट माग्ने र भोट दिने क्रम चलिरहेको छ, गाउँ, शहर, घर, चोक, बजार सबैतिर । कतिपय उम्मेदवारहरु भोट पाउनेमा ढुक्क छन् त कोही भोट पाउनभन्दा मुख देखाउन पाएकोमा मक्ख छन् । यसपालीको चुनाव अलि अनौठो छ । केही नयाँ र साना पार्टीबाहेक सबैजसो ठूला पार्टीका उम्मेदवारहरु बिहानैदेखि गलाभरि माला भिरेर जनताको घरदैलो धाइरहेका छन् । सभा गर्दा मानिस जम्मा गर्न धौधौ भएपछि यो जुक्ति निकालेर लाज ढाक्तै छन् राजनीतिक मनुवाहरु । 

मलाई पनि थोरबहुत चुनाव त लागेकै छ । म पनि यही धरतीको मनुवा न परेँ । हाम्रो जस्तो असीम राजनीतिक चेतले भरिएको राष्ट्रमा राजनीतिक निरपेक्ष मनुवा पाउनु आइसल्याण्डमा सर्प पाउनु जस्तै हो । सके त स्वर्गधाम पुगिसकेका मृतक पितृहरुलाई पनि चुनावका बेला हाम्रा राजनीतिक मनुवाहरुले पार्टी प्रवेश गराउँथे होला तर त्यस्तो प्रविधि आविष्कार गर्न भ्याएका छैनन् वैज्ञानिक मनुवाहरुले । मेरो विश्वास छ, भविष्यमा यो पृथ्वीमा त्यो दृश्य पनि सम्भव हुनेछ । किनभने यो राजनीतिक आवश्यकता हो मेरो देशको । 

यसपालीको राजनीतिक उम्मेदवारी फूलमय छ । उत्सवमय छ । जतततै फूल मालाले ढाकिएका सुन्दर उम्मेदवारहरु देखिन्छन् । यो स्वाभाविक पनि छ किनभने यसपाली दुवैतिर कडा गठबन्धन छ चुनावभरिको लागि जनतामा भ्रम छर्ने । दुवै गठबन्धनमा जित्ने दावी दमदार छ । त्यसको रिहर्सलका लागि माला पहिरिनु अनिवार्य छ । जाबो फूलको के कुरा यत्रो ठूलो मौसम जो आएको छ । सकेसम्म गलामा अटाउन्जेल माला नपहिरिएर किन मौका चुकाउनु ? विजयको ठेगान लाग्नुअघि नै उम्मेदवारहरु विजयको दाबी प्रस्तुत गर्न चाहन्छन् गलाभरि माला भिरेर । ती माला जसरी आएपनि हुन्छ । स्वागत र सम्मानकै माला किन चाहियो र ! कार्याकर्ताको एउटा ससानो झुण्ड त छँदै छ गणेश परिक्रमा गर्ने । उनीहरुलाई नै मालाको ठेक्का पनि लगाइदिएका छन् उम्मेदवारहरुले । आखिर राजनीति पनि ठेक्कामै चलेको छ भने जाबो मालाको ठेक्का दिन किन बाह्रसत्ताइस ! 

बिहानै ठेक्कावाला कार्यकर्ता मालासहित हाजिर हुन्छन् र उम्मेदवारका गला मालाले ढाकिदिन्छन् । माला पहिरेको मनुवा गजक्क पर्छ विजयको रिहर्सलमा । उम्मेदवारको गलामा माला पहिर्याउनु र पछि लाग्नु गणेशरुपि कार्यकर्ताहरुको सामान्य दिनचर्या छ । माला पहिर्याएरपछि त्यसै छाड्नु भएन । अघिपघि नलागे त भोलि फेरि ठेक्का नपाइएला भन्ने डर छँदै छ । त्यसैले विजयपछि पहिरिने माला अघि नै पहिरिएर जनसमक्ष देखापर्ने नयाँ शैली अपनाए यसपालीका उम्मेदवारहरुले । 
 
मेरो नासमझ चेतले भन्छ, यो अभ्यास साह्रै अब्बल अभ्यास हो हाम्रो समाजका लागि । हाम्रा राजनीतिक पण्डितहरु दूरदर्शी छन् । भोलि के ठेगान यो अवसर पाइएला नपाइएला, अहिले त सबै माननीय । आखिर चुनाव जो लड्दै छन् उनीहरु । किन पहिल्यै रिहर्सल गरे तम्तयार नहुनु ! यो अब्बल काममा मेरो कुनै गुनासो छैन । तर विचरा फूलहरु ! यिनको भने साह्रै कन्तबिजोक देखियो यसपाली । जसका गलामा पनि सुन्दरता सजाउन प्रयोग हुनुपर्ने के जुनि पाएका होलान् यी फूलले ! म सोच्तासोच्तै झपक्क निद्रालोकमा विचरण गर्न पुग्छु । त्यहाँको दृश्य निकै फरक छ मेरो विपनालोक भन्दा ।  

सबै उम्मेदवारका गलामा सजिएका फूलहरु मेरो निद्रालोकमा ईश्वरसँग सिकायत गर्न पुगेका छन् । म त्यहाँ साक्षी छु । उनीहरु ईश्वरको सामु अनुशासित रुपमा खडा भएर हात जोड्दै आफ्नो गुनासो पोख्तै छन् । ईश्वर भने आफ्नो सृष्टिको गुनासो गम्भीर भावमा सुनिरहेका छन्, टाउको हल्लाउँदै, ज्ञानेन्द्र शाहले देशदौडाहाका बेला जनताको जयजयकार सुनेर मुन्टो हल्लाएझैँ । फूल आजभोलि मेरो स्वप्न सहचरी बनेका छन् । उनीहरु मलाई सपनामा पनि गुनासो गर्न आउँछन् । उनीहरु मेरै अगाडि ईश्वरसँग पुकार गर्दै भन्छन््– ‘हामी फूल, तपाईंको सृष्टिको सुन्दर रचना । पृथ्वीको सुन्दरताको ओज । हामीलाई देख्ता मात्रै पनि मनमनै खुशी हुन्छन् सामान्य मानिसहरु । निःस्वार्थ हाँसिदिनु, सधैँ मुस्कुराइरहनु, कसैलाई भेदभाव नगर्नु र सृष्टिलाई सुन्दर बनाउन योगदान गर्नु नै हाम्रो एक मात्र धर्म हो । त्यसैले फूल्नुमा नै आनन्दित हुन्छौँ हामी । 

अकारण कल्कलाउँदो जीवन चुँडेर मृत्युलोक पठाउँदा पनि हाम्रो कुनै गुनासो थिएन आजसम्म । पृथ्वीमा सजाए पनि, हावामा उडाए पनि, हेलिकोप्टरबाट खसाले पनि, मन्दिरमा लगेर कोचे पनि कुनै गुनासो थिएन हामीलाई । लासका गलादेखि खुटसम्म लगेर सजाइ दिँदा पनि आजसम्म मक्ख परि नै रहेका थियौँ । तर अब त हद भयो । आखिर हामीले के बिगारेका छौँ र सधैँ यो अन्याय सहनुपर्ने ?  

आफू खुशी हुन हामीलाई चुँडेर हत्या गर्दा त अलिकति संकोच मान्नु नि ! कस्तो निष्ठुरी यो मान्छे ! हामीले के बिगारेका छौँ फुलेर ? हामीले पृथ्वीलाई सुन्दर बनाउन पनि नपाउनु ? हामीले ईश्वरको मुहार हेरेर फुल्न र फक्रन पनि नपाउनु ? मान्छे र हाम्रो जीवनमा के फरक छ ? हामीभित्र भएको जीवन एउटै होइन ? हो भने किन चुँडेको हामीलाई ? हर्षमा हामीले बलिदान हुनुपर्ने गरी हामीलाई किन सृष्टि गर्यौ ईश्वर ! तिमीसँग पनि हाम्रो गुनासो छ । फूल्न दियौ, रमाउन दियौ, यौवन भर्ने स्वतन्त्रता दियौ तर मनलाग्दी बाँच्ने र आयु छउन्जेल बाँच्ने स्वतन्त्रता चाहिँ किन हरण गर्यौ । हामी अदानाहरु न्याय माग्न कहाँ जाऊँ ? हामीलाई हाम्रै सुन्दरता अभिसाप भएको छ । फिर्ता लैजाऊ ईश्वर । बरु हामी कुरुपै भएर बाँच्न चाहन्छौँ हामी । हामीलाई तिमीले दिएको सुन्दरता जोगाउने शक्ति दिन सकेनौ भने तिमीले दिएको सुन्दरता फिर्ता लिएर हाम्रो रक्षा गर भगवान्, हामी अब सुन्दर हुन चाहन्नौँ । 

कहिले मानिसको गला सिँगार्न हामीलाई चुँडिन्छ, कहिले चुल्ढो सिँगार्न चुँडिन्छ, कहिले प्रेम देखाउन प्रयोग हुन्छ, कहिले वियोगको उत्सव मनाउन मेरो मृत्युशैया बनाइन्छ, किन अन्याय गर्यौ हामीलाई मानिसका यी सबै कुरामा हामीले नै मृत्युवरण गर्नुपर्ने गरी ? ईश्वर तिमीसँग हाम्रो ठूलो गुनासो छ । हामीलाई मुर्दाको शोकमा चढाउन किन प्रयोग गर्यौ ? शोकमा प्रयोग गर्ने हो भने खुशीमा किन प्रयोग गरयौ ? कि शोकमा प्रयोग गर कि खुशीमा प्रयोग गर ! के मदिरा हौँ र हामी ? शोकको निहुँमा पनि पिउने अनि खुशीको निहुँमा पनि पिउने ? हामीलाई किन यस्तो विपरित अवस्थामा प्रयोग गर्ने मादक द्रव्य सम्झियो मान्छेले ? हामीलाई अब उत्तर चाहिन्छ । 

उत्सव, खुशी र शोकमा प्रयोग गरेको त ठीकै थियो । त्यसलाई हामीले सहेकै थियौँ तर अब हुँदाहुँदा भ्रष्टाचारीको गला सजाउन पनि हामीलाई नै प्रयोग गर्न थालियो । सम्मान र सत्कार गर्नुपर्ने आदरणीयलाई गुच्छा र माला बनाएर प्रयोग गर्दा त हामीलाई पनि खुशी नै लाग्थ्यो । हुँदाहुँदा अब त विजय र पराजयको ठेगान नै नभएका, न हार न जितको अनिश्चितताको भुमरीमा अन्धाधुन्ध जनता ढाँट्तै हिँड्ने, झुटा कुराको आश्वासन दिँदै हिँड्ने चुनावी उम्मेदवारको अनुहार र गला सजाउन पनि हामीलाई नै प्रयोग गर्न थालेपछि हामीलाई असह्य भएको छ प्रभु, हाम्रो सुनवाई होओस् । परस्पर विरोधी अवस्थामा हामीलाई बली चढाउने मानिसको अधिकार अब फिर्ता लिइयोस् प्रभु । अब त हजुरलाई पनि लाज लाग्नुपर्ने हो । ढाँट, ठग, लुच्चा, देश बेचुवा, अनाचारी, भ्रष्टाचारी, दुराचारी, डन, दादा सबैलाई हामीले नै सजाउनुपर्ने भएपछि यो रीतिका विरुद्ध विद्रोह गर्नैपर्ने अवस्था भयो प्रभु । किन यति तुच्छ विचार आयो मान्छेको दिमागमा ? प्रभुले त हामीलाई र उनीहरु बराबरै अधिकार प्रदान गरिबक्सेको हो, बाँच्ने, रमाउने, सृष्टिमा सुन्दरता भर्ने र शक्तिले धानेसम्म अस्त्विमा रहने अधिकार । के मान्छेलाई बाँच्न मन लाग्दा हामीले मृत्युवरण गर्नुपर्ने हो र प्रभु ? उनीहरुलाई जीवन प्यारो लाग्दा हामीलाई पनि त जीवन त्यत्तिकै प्यारो लाग्छ नि ! कहिल्यै विचार गरेन मानिसले । सृष्टिको आदिकालदेखि चुपचाप सह्यौँ हामीले । तर अब हामीलाई पनि हक चाहिएको छ । 

मानिसलाई प्रकृति नै बिगार्ने हक दिँदा हामीलाई किन सृष्टि सिँगार्ने हकबाट बञ्चित गरियो प्रभु ? आयु रहुन्जेलसम्म बाँच्न पाउने हक अब हामीलाई पनि चाहिएको छ । न्याय चाहिएको छ । हामीलाई दया र अनुग्रह होइन हस्तक्षेपरहित बाँच्ने जीवनको अधिकार चाहिएको छ । त्यसैले अब हामी मानिसको गलाको शोभा बढाउने रहर छैन । दुर्गन्धित र कुरुप अनुहार लुकाउने साधन बनाउने  मानिसहरुलाई सम्झाइदिनुपर्यो प्रभु, अब अति भो । हामीले तिनीहरुको बगैँचा सजाएकै थियौँँ, केही बिगार गरेका थिएनौँ, तर पनि हामीले अकारण बलिदान भइरहनुपरयो प्रभु ? अब हाम्रो सुन्दरता फिर्ता लिइयोस् तर बाँच्ने र फुल्ने अधिकार भने कायम गरियोस्  । हामीलाई जीवन चाहिएको छ अब । 

आँशु बर्बरी झारेर फूलहरुले मेरै अगाडि उभिएर जीवनको भीख मागिरहे । महाकवि देवकोटालाई पनि उनीहरुले सँगै लिएर त्यहाँ पुगेका थिए, उनले आफ्नो कविताको पङ्क्ति नै वचन गरे– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ । न च्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ ।’ 

फूलको यो रोदन, गर्जन र जीवनको चिन्तन सुन्दासुन्दै मेरो घरआँगनमा हात जोडेर उभिएका उम्मेदवारका गलाबाट फूलहरु बर्बरी खस्न थाले । उनीहरुको गला रित्तो भयो । गलाबाट शोभा हराएका उम्मेदवार एकाएक अतालिएर चिच्याउन थाले– ‘खोई मेरो माला ? अब कसरी छोप्ने मैले मेरो यो कुरुप अनुहार !’

माला हराउनासाथ उसको अनुहारका कुरुपता एकएक गर्दै देखिन थाले । कार्यकर्ताहरु त्राहिमाम् भएर फेरि अर्को गला छोप्ने माला खोज्न दौडे । कसैले भ्रष्टाचार छोपिने माला लिएर आए, कसैले अनाचार र अपराध छोप्ने माला लिएर आए, कसैले डन र दादागिरि छोप्ने माला लिएर आए तर ती मालाहरु अघिका जस्ता सुन्दर थिएनन् । तिनमा फूलको सुन्दरता थिएन । कार्यकर्ताको पङ्क्ति उनको अनुहारमा क्रिम र पाउडर पोतेर त्यो कुरुप चेहरामा सजावट गर्न तल्लीन थिए । 

हेर्दाहेर्दै फूल आर्यघाटतिर दौडिए जहाँ लासहरुमा सजाएका मालाहरु भटाभट उठेर गर्जन गर्दै थिए । भन्दै थिए, ‘अबको युग सहअस्तित्वको युग हो हामीले पनि लास छोप्न होइन सुन्दरता सजाउन फूल्ने अधिकार पाउनुपर्छ, उत्सव मनाउन पाउनुपर्छ, सत्यको पक्षमा लाग्नेहरुको गला सजाउन पाउनुपर्छ । कुरुपता र दुराचार छोप्न अब हाम्रो प्रयोग गर्न रोक लगाउनुपर्छ । असामयिक मृत्युवरण गराउने मान्छेले सजाय पाउनुपर्छ, हाम्रो बाँच्ने र हाँस्ने अधिकारको ग्यारेन्टी गरिनुपर्छ ।’ 

म झल्यास्स ब्युँझिएँ । के देखेँ मैले आज यस्तो विचित्रको सपना ! पर्दा खोलेर बाहिर हेर्दा गलाभरि माला धारण गरेका उम्मेदवारको लर्को थियो भोट माग्ने । म सपनाको धङ्धङीमै भए पनि आँखा मिच्तै बाहिर निस्केँ । उम्मेदवार महोदय आफ्नो अनुहारको कुरुपता छोपेर फिस्स हाँसे र नमस्कार भन्दै एक भोट हजुर, म विश्वस्त छु भन्दै भोट मागे । मैले पनि बत्तीसीले उनको स्वागत गर्दै एउटा फूल टिपेँ र उनको हातमा राखिदिँदै बधाइ दिएँ । फूल मेरो सपना सम्झाउँदै मतिर फर्केर गिज्याउँदै उम्मेदवारसँगै बिदा भयो ।



No comments:

Post a Comment