Thursday, November 30, 2017

‘प्रेमालय’को कक्षामा प्रेमका अनुभूति

‘प्रेमालय’। नामैले कुनै विद्यालयजस्तो, कलेजजस्तो, जहाँ पढ्ने र पढाउने काम हुन्छ । जहाँ केही सिक्ने र सिकाउने काम हुन्छ । आख्यान लेखनमा लागेकाले अर्को आख्यानकारको कृति सार्वजनिक हुने सुन्दा फेसबुके निम्तोकै भरमा म महेन्द्र पुलिस क्लबको हलमा पुगेँ । हलको पृष्ठभागमा घरजस्तो आकृतिमा लेखिएको थियो ‘प्रेमालय’ । पुस्तकको शीर्षक । केही नौजवान नारी–पुरुषको उपस्थिति थियो मञ्चमा जो अतिथी थिए पुस्तक सार्वजनिक गर्न बसेका । म पुग्दा पुस्तकको प्रतिकृया दिने पालो सकिनै लागेको थियो । त्यसैले पुस्तकको विषयबारे पढेकाहरुको प्रतिकृया जान्न पाइएन । केहीको सुनेँ ती पनि पुस्तकै नपढेकाले कनिकुथी केही बोल्दै थिए । 


सबैजसो पुस्तक लोकार्पण÷विमोचनको बिडम्बना नै भन्नुपर्छ, पुस्तकै नपढेकालाई अतिथी बनाएर पुस्तक सार्वजनिक हुन्छन् । यस्तालाई किन कृति विमोचनमा उभ्याउनुपरेको होला ! म मनमनै सोच्दै केहीबेर बसेँ र बाहिर निस्केँ, पुस्तक किनेँ र बाहिरिएँ । 

लेखकका रुपमा मैले आश्विनीजीलाई चिनेको चाहिँ उनले फेसबुक वालमा पोष्ट गरिरहने प्रेमका कथा, उद्धरण, नियम र केही टिप्पणीकै आधारमा हो । युवा लेखक भएकाले युवाहरुको लागि प्रिय विषय छान्ने उनको रहर मलाई मन पथ्र्यो । मैले ‘जुकेरबर्ग क्याफे’का केही कथा पढेको छु । कथा लेख्ने ढाँचा मलाई मन परेकै हो उनको ।

प्रेमालयका कक्षाहरुमा प्रेमको पढाइ

मैले तिहार बिदामा ‘प्रेमालय’ पसेर आश्विनीजीलाई गुरु मान्ने विचार गरेँ र पसेँ ‘प्रेमालय’भित्र । दुई दिन लाग्यो प्रेमालयको परिक्रमा गर्न र कक्षा सिध्याउन । सुरुमा केही अल्छी पनि लाग्यो । सम्झेँ, यो त गुराँस र सहजजस्ता किशोरहरुको लागि पो रहेछ । तैपनि गुरु मानिसकेपछि गुरुद्वारभित्र नपसी फर्कनु अनादर हुन्थ्यो । म धकेलिएँ कक्षाभित्र । के पढाउलान् त आश्विनीले यो पे्रमालयमा ? प्रश्न थियो मनमा उत्तर पाउन कक्षाभित्र बस्नै पर्ने भयो । म उत्तर खोज्न पसेँ प्रेमालयका कक्षाभित्र । 

के मैले बुझेको प्रेम र आश्विनीले बुझेको प्रेम फरक छ ? कसरी पढाउँदै छन् आश्विनी यो बिषय युवादेखि पाको उमेरका प्रौढहरुलाई ? गुराँसजस्ती कलिली केटीले के प्रेम पढाउली र ! गुराँस, प्रेमालयकी गाइड, जो सहजलाई लिएर प्रेम पढाउन प्रेमालय जाँदै थिई, मैले उसलाई मन नलागीनलागी पछ्याउन थालेँ । 

मैले झ्वाट्ट हेर्दा गुराँस एउटी कलिली केटी देखेको थिएँ । तर जबजब ऊसँग सङ्गत बढाउँदै गएँ, उसका व्यवहार हेर्दै गएँ, त्यो केटी मभन्दा परिपक्व लाग्दै गई, रहस्यमय लाग्न थाली त्यो केटी । ऊ प्रेमालयकी एउटी अभियन्ता बनिसकेकी रहिछे । बुझ्दै गएँ । उसको आनिबानी, व्यवहार, अरुलाई सम्झाउने र सिकाउने तरिका, प्रेमालयको आचारसंहिताको परिपालना, जीवन र विवाह सबै कुरामा मैले बुझेभन्दा भिन्न पाउँदै गएँ उसको विचार र व्यवहार । केटीले मलाई मोहनी लगाई । शायद आश्विनी यही कलिली केटीको सुन्दरता, व्यवहार र उर्जाका माध्यमबाट प्रेमधारा पिलाउन चाहन्थे प्रेमालयका कक्षाभित्र राखेर । गुराँसको सुन्दरता र परिपक्वताले मलाई तान्दै लग्यो प्रेमालय परिसरभित्र । 

गुराँसको गाइड र सहजको भावनाबीच खेल्दाखेल्दै म प्रेमालयको कक्षाभित्र छिर्छु जहाँ तीन जना गुरुहरु कहिले विद्यार्थी त कहिले गुरु बनेर २३ जना विद्यार्थीहरुलाई प्रेम पढाउन सुरु गर्छन् । प्रेमालयको वातावरण कुनै आध्यात्मिक केन्द्रको झैँ लाग्छ वर्णन हेर्दा, कुनै ध्यान केन्द्रजस्तो पनि देखिन्छ अनुभूत गर्दा । आचार्यको रुपमा पूवीय दर्शन र शास्त्र बुझेका दीपक वत्स र ऋषभ छन् भने पश्चिमको दर्शन र विज्ञान बुझेका राना सर छन् । मजस्ता चाहिँ विद्यार्थी । कोही विद्यार्थी विछोडको पीडाबोकेर त्यहँ प्रेम पढ्न पुगेका छन् त कोही विवाह गरेर पश्चाताप गर्दै नयाँ ढङ्गले जीवन बुझ्न त्यहाँ पुगेका छन् । कोही भने गुराँसजस्ता छन् जो प्रेम गर्दै, सिकाउँदै, पे्रमालयको अभियानलाई फैलाउँदै छन् ।  

पहिलो कक्षा सुरु भयो रामायणमा संकेत गरिएको तर उल्लेख नगरिएको एउटा अपरिचित कथाबाट । रामायण, पूर्वीय संसारमा सर्वाधिक आदरका साथ पढिने राम र सीताको गाथा, जसले मानिसलाई प्रेम, भ्रातृत्व, पितृश्रद्धा, सतीत्वजस्ता सद्गुण सिकाउँदै आएको छ शदीयौँदेखि । त्यसलाई उल्टाउँदै दीपक वत्स सुरु गर्छन् रावण र सीताको प्रेम कथा पढाउन । प्रेम बुझ्न हाम्रो बनिबनाऊ धारणा उल्ट्याउनुपर्छ भन्छन् उनी । 

सीता र रामको कथा सुन्दै आएको म रावण र सीताको कथा सुन्नासाथ आश्चर्यचकित हुन्छु । मेरो बुझाइको सीमितताबोधले म चाउरिँदै जान्छु । कति महान् केटी रहिछे यो गुराँस ! कसरी बुझी यसले यति गहिरो कुरा ! कहाँ मैले बुझेको रामायण कहाँ सीता र रावणको प्रेम कथा ! मलाई प्रेमको अर्को पाटो देखाइ दियो प्रेमालयको पहिलो कक्षाले– रावण र सीताको कथाले ।

रावणले सीतालाई हरण गरेर लङ्का लगेपछि किन सीताको शरीर स्पर्श पनि नगरी बस्न सक्यो ? किन हरण गरयो केही नचाहेको भए ? बाल्यकालदेखि पढ्दै आएको तर गुत्थी फेला पार्न नसकेको त्यो कथालाई एकैछिनमा छर्लङ्ग पारिदिए वत्सले । रावणको सीताप्रतिको प्रेमको अगाडि राम तुच्छ ठहरिए । मेरो मनमा प्रश्न मडारिन थाल्यो, रावण महान् कि राम ? प्रश्नका साथै आँखा डबडबाए अरु विद्यार्थीसँगै मेरा पनि । कति महान् रहेछ रावण ! कति उच्च प्रेम ! आफूले प्रेम गरेकी एउटी अवला नारीलाई स्पर्शसम्म नगरी बस्न सक्ने कत्रो आत्मसंयम रावणको ? प्रेमको पहिलो पाठ थियो त्यो । शरीरप्रतिको आसक्तिभन्दा माथि उठेको रावणको प्रेमकथाले पहिलो झट्का दियो मलाई ।   भावनात्मक प्रेमको उचाइमा पुगेको रावणको प्रेमलाई कसरी बुझ्ने ? मन्थन गर्न स्वयम्लाई नै छाडिदिए शिक्षकले । 

रावणको कथाले हाम्रो बुझाइको सीमितता प्रस्ट्याउँदै गयो । कहाँ रावण कहाँ राम तुलना नै गर्न नसकिने । तर के यो स्वीकार्य हुन्छ र ! शदीयौँदेखि रामलाई आदर्श पुरुष मान्दै आएको समाजमा रावण सही हो भनेर मान्न को तयार होला र ! म मथिङ्ल घुमाउँदै छात्रावासतिर पसेँ प्रेममय रावणसँगै । 

दोस्रो कक्षामा प्रेमको परिभाषा आफैँले खोज्नुपर्ने थियो । सबैका आआफ्ना थिए परिभाषा । हामीले बुझेको प्रेम के साँच्चिकै प्रेम नै हो त ? कि एउटा शरीरको अर्को शरीरप्रतिको आकर्षण ? जिज्ञासा जाग्दै गए तर उत्तर कठिन हुँदै गयो । प्रेम के हो ? आकर्षण, माया र शारीरिक समर्पण नै प्रेम हो ? विपरित लिङ्गका व्यक्तिहरु सँगै बस्न समाजको स्वीकृति नै प्रेम हो ? के हो ? मन्थनबाटै बुझ्नुपर्ने र सिक्नुपर्ने कक्षा थियो दोस्रो कक्षा । प्रेम र विवाहका बारेमा हाम्रा बुझाइ उल्टाइदिन उद्यत थिए स्वनामधन्य प्रेम गुरुहरु । 

एउटा जँड्याहा पतिलाई सधैँ किन प्रेम गरिहन्छे एउटी महिला ? संसार हारेर रक्सी पिएर मात्ने पतिलाई सबैकुरा बुझेर पनि किन प्रेम गरिहन्छे उसकी पत्नी ? पेचिलो प्रश्न गर्दै प्रेम बुझे संसार बुझिनेतर्फ संकेत गर्छन् लेखक यहाँ आइपुग्दा । 

‘गतिशील प्रेमले नै संसार चलेको’ देखाउँछ प्रेमालयले केही अगाडि बढेपछि । ‘परिवर्तनको गति र प्रेमको गतिमा सामञ्जस्य नहुँदा कुनै समयको प्रेम पनि विष बनिदिन्छ’ भन्दै संसारको गतिशीलता भन्नु नै प्रेम हो भन्ने दर्शन अघि सार्छन् अर्को कक्षाका प्रेम गुरु राना सर । उनी पश्चिमी संसार बुझेका गुरु हुन् । प्रश्नोत्तर विधिबाट चलेको यो कक्षामा प्रेमसम्बन्धी हाम्रो बुझाइको चिरफार हुन्छ । प्रेम यौन हो, एउटाले भन्छ । प्रेम आकर्षण हो, अर्कोले थप्छ । प्रेम आफैँमा हाराउनु हो, अर्को भन्छ । यसैगरी कक्षा अघि बढ्छ । प्रेम केमिकल रियाक्सनको मेल हो, विज्ञानको एउटा विद्यार्थी जुरुक्क उठेर प्रतिवाद गर्छ । म हेरेको हेर्यै हुन्छु सबैका कुरा सुनेर । 

अन्तमा राना सरले प्रेमका तीन नियम बताउँछन्– अब्जरभेसन, जजमेन्ट र इन्भल्भमेन्ट । गम्भीर दर्शन र प्रेमका नियम सरल भाषा र उदाहरणबाट सम्झाए राना सरले । सबै सहभागीहरुले आफ्नो जीवनलाई पल्टाएर हेरे यहाँ पुगेपछि । प्रेम गरेका धेरैको अनुभव गाँसेर हेर्न र तौलन एउटा स्वर्णिम मौका दिए राना सरले सबैलाई ।
गुराँसले यो कुरा गहिरोसँग बुझेकी थिई । सहजलाई गाइड गर्ने त्यो युवती उसलाई प्रेम गर्छे कि पढाउँछे म अन्योलमा परेँ उसको बुझाइ र सहजप्रतिको व्यवहार देखेर । 

हाम्रो अनुभव, बुझाइ र ज्ञानको आधार कस्तो छ त्यसको ऐना देखाउने कक्षा थियो– तेस्रो कक्षा । संसारका ठूला विद्रोह, शान्ति र परिवर्तनका महान् घटनाहरुमा प्रेमले कसरी काम गरिहेको थियो ? इतिहासमा प्रेमको कारण नै ठूला युद्ध भए, परिवर्तनमा पनि प्रेमकै भूमिका रह्यो भन्दै विवाहले हामीलाई कसरी प्रेमबाट वञ्चित गरेको छ भन्ने पढाइयो । विवाहले प्रेमलाई कुरुप बनाइदिएको निष्कर्ष पढाउन अनेक कथा र घटना जोडियो यस कक्षामा । दर्शन पढ्दै छौँ कि गुराँस र सहजको प्रेम ? म हराएँ । हाम्रो विवाह पद्धतीका कुरुप पक्ष खोतलेर छरपस्ट पारियो कक्षामा । यौनबाट प्रेम सुरु गर्ने कि प्रेमबाट यौन ? प्रश्नैप्रश्न उठाए गुरुले । विवाहअघिको यौन–आनन्द के घटिया नै हो त ? हो भने यौनको आनन्द लिने बेला चाहिँ कहिले हो ? विवाहपछिको बन्धनमा मानिसले उन्मुक्त यौनको आनन्द लिन सक्छ ? सक्तैन र यो सृष्टिको अभिन्न तत्व हो भने किन सामाजिक रुपमा वर्जित र अपहेलित गरियो ? यस्ता अनेक प्रश्न उठाएर उत्तर आफैँ खोज्न लगाए गुरुहरुले । मैले पनि पछाडि फर्केर अनेक पटक घोत्लिएँ उत्तर खोज्न । 

के विवाह गरेकै मानिससँग प्रेम हुनुपर्छ र ? सामाजिक दायित्व हो भने यसले मानिसलाई सधैँ सन्तुष्टि नै दिन्छ भन्ने के ग्यारेन्टी छ र ? आनन्द र सन्तुष्टि नभएको सम्बन्धमा जीवन विताउँदा कसरी प्रेम गर्न सकिन्छ एकअर्कालाई ? विवाह एउटासँग र प्रेम अर्कोसँग हुन सम्भव छ कि छैन ? प्रश्नैप्रश्न उठे मेरो मनमा यो कक्षा सकेपछि । गुराँसले ऋषभ सरलाई पछ्याएको देख्ता मलाई कताकता शंका लाग्न थाल्यो । कतै यी दुईबीच लसपस त छैन ? छ भने गुरु र शिष्याबीच यस्तो घृणित सम्बन्ध ? मलाई मेरा धारणाले झाँगलझुँगल पारिरहे । खुलदुली भइरह्यो भित्रभित्रै ।
सहजको भावुक प्रेमको अभिव्यक्ति अनि गुराँसको निश्छल र स्थिर भावनाले मलाई चिमोटिरह्यो । सहज आसक्त छ गुराँसलाई पाउन तर गुराँस निरपेक्ष छे सहजप्रति । न उसलाई समाउँदा प्रतिवाद गर्छे न कुनै कुरा गर्दा सही थाप्छे । म उसको व्यवहारले अझै रहस्यमा पर्छु र घरिघरि चोर आँखाले सहज र गुराँसका कृयाकलापप्रति जिज्ञासु भइरहन्छु । ऊ सहजको किस पनि सहन्छे, अँगालोमा कस्सिन्छे, एउटै ओछ्यानमा सुतिदिन्छे तर फेरि भन्छे सहजलाई, ‘यो तिम्रो रोमान्स हो सहज, प्रेम होइन । यो प्रेम तिमीले आफूललाई गरेको कि मलाई ?’ प्रश्न गर्छे सहजलाई । सहज शायद कलिलो छ यसमा ।

कुनै पनि पदार्थ दुई विपरित स्वभावका अणुहरुको गतिशीलताले निर्मित हुन्छ । तिनलाई बन्डले जोड्छ । पदार्थलाई गतिमान् बनाउने यी बन्ड मानवजीवनमा प्रेमको रुपमा गतिशील छ भन्ने बुझाउन कथालयका व्याख्यानले मलाई ठूलो शिक्षा प्रदान गरे । उच्चस्तरको बौद्धिक प्रवचन भए पनि जीवनका व्यावहारिक पाटोबाट व्याख्या गर्ने गुरु भएकाले सरल रुपमा बुझिन्थ्यो । घरी–घरी जीब्रो टोक्ने तथ्य र तर्कहरु प्रस्तुत हुन्थे । त्यहाँ न कसैले कुनै कुरा गर्नु पाप ठान्थ्यो न कुनै बन्धनमा बस्न सिकाइन्थ्यो । सेक्स, कथा, प्रेम अनि बोध सबै स्वच्छन्द, सबै स्वतन्त्र । शरीर नबुझी, भावना बुझिन्न, भावना नबुझी बोध हुन्न । यही अवधारणामा प्रेमालयका कक्षाहरु अघि बढिरहे म विद्यार्थी बनेर ती सबै कक्षाहरुमा सामेल भइरहेँ । 

अनुभव, अनुसन्धान, बोध र प्रयोग । यस्तैयस्तै गरी कक्षा अघि बढिरह्यो । टोली–टोली बनाएर आफ्नै माटोमा प्रेम कथा खोज्ने होमवर्क साँच्चिकै अविस्मरणीय थियो प्रेमालयको । अरुका कथा सुनिन्छ, पढिन्छ तर आफ्नो कथा कहाँ पढ्ने ? कहाँ सुनाउने ? त्यो ठाउँ प्रेमालयले दिएको थियो कथालय खडा गरेर । 

वासन्ती र गजमेरको कथा प्रेमको अर्को अद्भूत पाटो पढाउने कथा थियो । त्यो कथा थियो कि कल्पना थियो ? कि अपवाद थियो ? अहिले सम्झँदा लाग्छ, त्यो कथा हामीले बुझेको प्रेमको बुझाइ बदल्ने कथा थियो । अझ भन्ने हो भने परिकल्पित सम्भावनाको कथा थियो । गजमेरसँग बस्ने, सहवासको स्वीकृति पनि दिने तर प्रेम भने अमेरिका बसेको केटालाई गर्ने त्यो वासन्ती कस्तो पात्र हो ? अहिले पनि मेरो मनमा घुम्दै छे । ऊ गजमेरलाई प्रेमको निशानी दिन गर्भधारण पनि गर्छे तर त्यो गर्भको बच्चा देख्न नपाउँदै अमेरिकी प्रेमीसँग पुगिसक्छे र उहीँ बच्चा जन्माउँछे । 

उसको प्रेमी पनि अचम्मको छ ती सबै कुरा स्वीकार गर्छ र वासन्तीलाई प्रेम गरिहन्छ । के यो सम्भव छ आजको समाजमा ? हाम्रो समाजले यसलाई सहन गर्न सक्छ ? के उनीहरु यही समाजका मानिस होइनन् ? कि कल्पना मात्र हो ? युटोपिया त होइन गजमेर र वासन्तीको ? मेरो मनले पटक्कै स्वीकार गर्दैन तर त्यही पढाइन्छ प्रेमालयमा । शरीरको स्वामीत्व नखोज्नु, इच्छामाथि अङ्कुश नलगाउनु अनि प्रेमीलाई उसको मर्जी अनुरुप कार्य गर्ने स्वतन्त्रता दिनु । प्रेमलाई यसरी नै परिभाषित गर्न चाहन्थे वत्स, ऋषभ र राना सरहरु प्रेमालयभित्रका कक्षाहरुमा । 

‘जब मानिसले प्रेमको प्रमाण माग्न थाल्छ, त्यो प्रेम त्यसै बेलादेखि मर्नथाल्छ ।’ मलाई सबैभन्दा बढी झस्काएको थियो वाक्यले । विवाहका बारेमा गरिएका छलफलभन्दा बढी मलाई यसले किन झस्कायो होला  ? कैयौँ दिन मैले प्रेमालयका कक्षाभित्र आफूलाई घोत्ल्याइरहेँ यस बारेमा निक्र्योल निकाल्न । अनि, निष्कर्ष बनाएँ दुवैको मन्जुरी नभएको शारीरिक सम्बन्धको चाहनाले आखिर कहाँ प्रेम पलाउन दिन्छ र ? प्रेमपछिको शारीरिक समर्पणले प्रेमको आँकुरालाई अझ पुष्ट गरेर झ्याङ बनाइदिन्छ । यही त सिकाउँदै थिई वासन्तीले गजमेरलाई । 

कथालयको एउटा रोचक क्षण मेरो सम्झनामा आजसम्म तरोताजा छ । तीन जोडीले खोजेका तीन प्रेम कथाले प्रेम बाहिरी तत्व, रुप, श्रृङ्गार, जवानीभन्दा पर भावनासँग गाँसिएको हुन्छ भन्ने देखाउन ती कथाहरु सुनाइएका थिए । ती कथाहरु हाम्रो आफ्नै अध्ययनबाट छनोट गरिएका थिए ।

यसरी नै रमाइलोसँग बिते मेरा धेरै दिनहरु । जब म प्रेमालयका अन्तिमतिरका कक्षामा सामेल भएँ तब मलाई अलि नमीठो अनुभूति भयो । प्रेमालयका कक्षाहरु अनायास फिल्मी स्टाइलमा कुद्न थाले । घटनाहरु अलि अनियोजित र बेग्लै धारमा प्रवाहित हुन थाले । जब सहज उठेर गुराँसको कोठामा राति नै पुग्यो र खोज्दै भौतारिन थाल्यो, मैले सोचेँ, यो अनिष्टको सङ्केत हो । कसलाई भन्ने आश्विनीजीलाई वा गुरु दीपक वत्स र ऋषभलाई वा सँगै बसेकी गुराँसलाई ? मलाई छटपटी भयो । 

गुराँसले ऋषभसँग गरेका पुराना पत्राचारको ईकपी सहजलाई पठाइदिई इमेल मार्फत् । प्रेमको भीख माग्दै दान पाउने आशामा गुराँस खोज्दै हिँडेको सहजले जब ऋषभका ती पत्रहरु पढ्न थाल्यो, त्यतिबेला मलाई लाग्यो सहज यो अवस्थामा नपुगी हतारो गरिन् गुराँसले । यसले अनिष्ट निम्त्याउन सक्छ । मनमनै आश्विनीजीलाई गाली गरेँ, हरे यस्तो कच्चा खेल किन खेल्यौँ लेखक ! कि गुराँस रहन्न कि ऋषभ सर रहँदैनन् । म दुवै बाँचेको र संसारलाई प्रेम पढाएर दीक्षित बनाएको हेर्न चाहन्थेँ । तर बिडम्बना ! मेरो इच्छाले थामिएन, ऋषभसँगै सहज पनि मर्यो । कथा हिन्दी फिल्मको फर्मूलातिर बढेकामा दुःखित भएँ म । 

नभन्दै इमेल पढिसकेपछि सहजलाई लाग्यो ऊ अब गुराँसलाई पाउने अवस्थामा छैन । गुराँस ऋषभकी भइसकेकी छे । परम्परागत सोचाइ नढल्दै सहजलाई त्यति गहिरा प्रेमपत्रहरु गुराँसले सुम्पनै नहुने ! मैले मुर्मरिएर गुराँसको कच्चापनलाई गाली गरिरहेँ । म प्रतिकार गर्न खोज्दै थिएँ, सहजले ऋषभ सरलाई खुकुरी प्रहार गरी मरणासन्न बनाइदियो । गुराँसले आफूलाई गाइडमा मात्रै नराखी उसकी गुरु बन्ने जुन कच्चा प्रयास गरी त्यसले त्यो दुर्घटना निम्त्याएको थियो ।

त्यस दिनदेखि मलाई त्यो गुराँस भन्ने केटी पनि अपरिपक्व लागी । त्यहाँका सरहरु पनि लहडी लागे । त्यति रमाइलो भइरहेको प्रेमालय एकाएक सानो कमजोरीले भताभुङ्ग भयो । म निराश भएर घर फर्कें । 

संसारमा नयाँ प्रयोग गर्ने भनेर मात्रै हुँदैन, त्यस अनुसारको तयारी, सतर्कता, टिम र व्यवस्थापन पनि चाहिन्छ । शायद यही कमजोरी भएको थियो प्रेमालयभित्र । उद्देश्य राम्रो थियो, मानिसहरु समर्पित थिए। तर को गुरु बन्ने अनि को गाइड र प्रशिक्षार्थी बन्ने कुरा छुट्याएर उनीहरुको चेतना अनुसारको काम लाउन नसक्ता नै त्यति ठूलो दुर्घटना भएको थियो । यो दुर्घटना रचनाकारको थियो, व्यवस्थापकको थियो वा विद्यार्थीको त्यो खोजी हुँदै जाला तर म यति भन्छु, कमजोरी नभई कुनै पनि दुर्घटना हुँदैनन् संसारमा । आश्विनीजीको उपन्यासबाट मैले सिकेका कुरा हुन् यी र पाठकीय प्रतिकृया पनि । 

कथा, चरित्र र बुनोट

उपान्यासको विषय गम्भीर छ । मूल पात्रहरु युवा समूहबाट चयन गरिएको छ । मूल पात्रको रुपमा गुराँस र सहज छन् । उनीहरुसँगै झिनो कथावस्तु अघि बढ्छ । दुवै कलेजका सहपाठी हुन् । सहज गुराँसलाई एकतर्फी प्रेम गर्छ । गुराँस उसलाई प्रेम गर्छे वा गर्दिन त्यो खुलेको छैन । तर, हाम्रो समाजले भन्ने गरेको प्रेम भने दुवैमा देखिन्छ । लेखकले देखाउन खोजेको प्रेम भने दुवैतर्फ देखिन्न । आसक्तिमा वहकिएको छ सहज । गुराँस अनिर्णयमा छे । निद्र्वन्द्व भइसकेकी छैन । 

गुराँस सहजलाई प्रेमको वास्तविकता पढाउन प्रेमालय लिएर जान्छे, किनकि ऊ त्यस संस्थाकी एक अभियन्ता हो । सहज प्रेमालय पुग्छ, त्यहाँ हुने हरेक क्रियाकलापमा सहभागी हुन्छ । तर उसको ध्यान प्रेमका सिद्धान्तमा भन्दा गुराँसलाई पाउनमा छ । गुराँस सहजका सबै इच्छा पूरा गर्दै जान्छे, कतिसम् मभने सहजको यौन चाहनामा पनि नाइनास्ती गर्दिन । तर गुराँसको एउटै उद्देश्य छ, प्रेमको सिद्धान्त र प्रयोग दुवैमा खरो उत्रने । 

ऊ सहजलाई आफूले प्रेम गरेनगरेको कुरा शब्दमा व्यक्त गर्न चाहन्न । परिवेश तयार पारेर आफैँ बुझोस् भन्ने चाहन्छे । तर सहजमा त्यो धैर्य छैन । गुराँसको मुखबाट म तिमीलाई प्रेम गर्छु भन्ने वाक्य सुन्न लालायित छ । गुराँस भने प्रेमको गहिरो दर्शनमा डुबिसकेकी छे । ऊ प्रेम के हो भन्ने बुझिसकेकीले भन्दैमा प्रेम हुँदैन भन्ने ठान्छे । धेरै दिन यसरी नै बितेपछि सहजको धैर्य टुट्छ । 

एक दिन गुराँसले सहजसँग आफू ऋषभ सरलाई १० वर्षदेखि प्रेम गर्न थालेको र उनको प्रेममा परेको कुरा गर्छे । तैपनि केही मात्रामा प्रेमको गहिराइ थाहा भइसकेकोले सहज ठान्छ, शरीर समर्पण, सँगै बस्ने कुराले मात्रै प्रेम हुँदैन भन्ने ठान्छ र आशा गरिहन्छ गुराँसलाई आफ्नी बनाउन । तर जब गुराँसले एक दिन ऋषभसँगका प्रेमपत्रहरु सहजलाई पढ्न दिन्छे र त्यसैबाट आफू र ऋषभलाई बुझ्न भन्छे, सहजको धैर्य गुम्छ । ऊ सिरानीमा रहेको खुकुरी लिएर ऋषभको कोठामा प्रवेश गर्छ र उसलार्य घाइते बनाउँछ । ऋषभलाई घाइले बनाइसकेपछि आफूलाई पनि प्रहार गर्छ । सहजलाई प्रेम पढाउने गुराँसको धोको पूरा हुँदैन । वियोगान्त अवस्थामा उपन्यास टुङ्गिन्छ । 

उपन्यास पढ्दा सुरुमा किशोर उमेरका युवाको कथा हो कि झैँ भान पर्छ तर जब केही अघि बढिन्छ, कथा गम्भीर दार्शनिक तथ्य र विवेचनामा प्रवेश गर्छ । हामीले बुझेको प्रेमको अवधारणा र वास्तविक प्रेमको पर्दा खोतल्दै उपन्यास गम्भीर दार्शनिक पक्षमा केन्द्रित हुन थाल्छ । मूल कथा छोडेर संसारको सृष्टि प्रकृयासँग प्रेमलाई जोड्दै दार्शनिक व्याख्यातिर मोडिन्छ । विज्ञानका तथ्यबाट संसार प्रेममा अडेको पुस्टि गर्दै अघि बढ्छ । 

प्रेमको अनुसन्धान र खोजपरक तथ्यहरुले उपन्यासलाई बौद्धिक वहस र वैचारिक गहिराइतिर लैजान्छ । प्रेमको नयाँ पक्ष, नयाँ व्याख्या, नयाँ दर्शन दिन लागेझैँ लाग्छ उपन्यासकारले । तर, जब उपन्यासको अन्ततिर पुग्दा गुराँसले सहजलाई ऋषभको प्रेमबारे रहस्योद्घाटन गर्छे, उपन्यासले गहिराइ गुमाउँने हो कि भन्ने लाग्छ । चरित्रको परिपक्वताबिना उसलाई प्रेम दर्शनको भारी बोकाइन्छ, जो उसले थाम्ने सामथ्र्य राख्तैन । दुर्घटनाको आशंका बढाउँछ । 

स्वामीत्वभावको भावनामा बहकिँदै गरेको एउटा भावुक र रोमान्टिक युवकलाई ईष्र्याको ज्वाला जगाउने मसला दिनु भनेको दुर्घटना निम्त्याउनु हो भन्ने लाग्न थाल्छ । उपन्यास अब उपन्यास होइन, सिनेमा र नाटक झैँ लाग्न थाल्छ । एकाएक उपन्यासको गरिमा घट्नेगरी कथावस्तु अघि बढेको देख्ता लेखकप्रति रिस पनि उठ्छ । यति गम्भीर विषयको उठान गरेर अन्त्यचाहिँ के नाटकीय र सिनेमाजस्तो बनाएको होला भन्ने लागिरहन्छ । मैले ‘मलाया एक्सप्रेस’ पढ्दा पनि यस्तै अनुभव गरेको थिएँ । कतै पत्रकार व्यक्तित्वले त काम गरेको होइन भन्ने पनि लाग्यो ।  

उपन्यासको समग्र संरचना सहजको मानसिक परिवर्तनका लागि तयार पारिँदै गरेको अनुभव हुन्छ पढ्दै जाँदा । ऊ प्रशिक्षित पनि बनिरहेको छ । तर असमयमै कथालाई टुंग्याउने उपन्यासकारको उद्देश्यले उपन्यास वियोगान्त बन्छ र जुन उद्देश्य र संरचनामा उपन्यास लेखिएको हो त्यसमा चाहिँ न्याय हुन सकेन कि भन्ने लागिरहन्छ ।
ऋषभको इमेल पढाउनुअघि उसको कथा र बुझाइको पाटो कथालयको व्याख्यामा राखेर उसको बोध परिपक्व भएको देखाएर अनि गुराँसले आफू कसरी बहुव्यक्तिसँग प्रेम गर्न समर्थ भएँ भन्ने देखाउन ऋषभको इमेल वा केही सम्वादहरु प्रयोग गरेको भए यो उपन्यास प्रेमसम्बन्धी दर्शनलाई आख्यानीकरण गर्ने मास्टरपिस बन्नसक्थ्यो भन्ने लागिरहन्छ उपन्यास पढिसक्ता । 

टुङ्ग्याउनी उपन्यासकार स्वयम्ले नै यस्तो बनाउनुभएको हो वा प्रकाशकले मसलेदार बनाउन सम्पादनका क्रममा यसो हुन गएको हो त्यो कुरा मजस्ता पठकले अनुमान गर्न सक्छौँ, किटान गर्न सक्तैनौँ तर यति भन्न सकिन्छ जसबाट भए पनि यसले लेखकीय व्यक्तित्वमाथि प्रहार गरेको छ । सुन्दरतामा कमी ल्याएको छ ।
पुष्कर शाहको ‘संसारलाई साढे पाँच फन्को’ पढ्दा पनि मलाई कतिपय उपशीर्षक र त्यसभित्रका घटना वर्णनको असंगति अनुभव भएको थियो । कुराकानीको सन्दर्भमा उनले मेरो यो प्रतिकृया सहज रुपमा स्वीकर्दै भनेका थिए, ‘मलाई पनि यो चित्त बुझेको छैन, सम्पादन गर्दाका त्रुटीलाई मैले नस्वीकारी धर छैन । तर ममाथि अलि अन्याय चाहिँ भएको छ ।’ 

लेखकले लेखेको कुरालाई बिकाउ बनाउन त्यसो गरिएको हो भने अन्याय हुन्छ स्रष्टालाई । आगामी संस्करणमा यसलाई थोरै परिमार्जन गरेर अन्त चाहिँ सुधार गर्न सके आश्विनीजीमा प्रेमको जुन दार्शनिक र बौद्धिक गहिराइ देखिन्छ त्यो अझ निखारिएर आउँथ्यो र पाठकले पनि त्यही सुगन्ध अनुभव गर्न पाउने थिए । मेरोतर्फबाट आश्विनीजीलाई यही तीतो प्रतिकृया । 

अन्तमा, प्रेम गर्न सक्नु र प्रेम गर्न पाउनु दुवै कुरा ईश्वरसँग नजिक बस्न पाउनुजत्तिकै स्वर्णिम अवसर हो । जसले प्रेम गरे तर प्रेम बुझेनन् अनि जसले पे्रम बुझे तर गर्न पाएनन् दुवैलाई यस कृतिले भिन्नै आनन्द प्रदान गर्नेछ । भविष्यमा पनि यस्तै गहन कृति लेखिरहनुहोस् र हामीजस्ता पाठकले त्यसको स्वाद लिन पाइरहौँ । मेरो यही शुभकामना आश्विनीजीलाई ! अस्तु ।
 
 




No comments:

Post a Comment