Friday, January 29, 2016

चिहान चिन्तन

मानिसको खोपडी सबैभन्दा रहस्यमय छ । यहाँ के छैन ? सबैथोक छ । धेरैथोक भएकाले यो एकैछिन नचली बस्न सक्तैन । केही न केही उपद्रो गरिहन्छ । कहिले के सोच्छ कहिले के । खालि बस्न यसले जानेकै छैन । आजभोलि मेरो खोपडीमा चिहान चिन्तन चलिरहेको छ । चिहान भन्ने वित्तिकै मानिहरु ओठ लेप्र्याँउछन् । आँखा मोड्छन् । हेर्नु नपरे हुन्थ्यो, देख्नु नपरे हुन्थ्यो भन्ने ठान्छन् । तर के मानिसको मात्र चिहान हुन्छ र त्यसरी घिनाउनू ? मेरो टाउको नराम्ररी रन्थनिएको छ आजकल । चिहान त के के को हुँदो रहेछ के के को । विचार, संस्कृति, व्यवहार, बुद्धि, विवेक यस्ताको पनि चिहान हुँदो रहेछ । मैले त मान्छे गाडेपछि मात्रै चिहान हुन्छ भनेको त अरुको चिहान त झन् पो डरलाग्दो हुँदो रहेछ ।

विचारको चिहान सबैभन्दा डरलाग्दो । देख्दै नदेखिने, घिन पनि नलाग्ने भित्रभित्रै सिध्याइ दिने । संस्कारको चिहान अझ डरलाग्दो । चरित्रको चिहानले त समाजै सखाफ । ए बाबा यो चिहान किन आयो होला मेरो खोपडीमा ? हैरान छु म आजभोलि । हुँदाहुँदा म त चिहानलाई असाध्यै बहुमुल्य कुरा पो देख्न थालेको छु ।  चिहान सधैँ उपेक्षा गर्न लायक भएका भए मिश्रवासीले बनाएको चिहान किन त्यति महत्वपूर्ण हुन्थ्यो ? पिरामिड भनेका चिहानै हैनन् र ? बौद्धमागीहरु सबैभन्दा धेरै चिहानलाई माया गर्छन्, क्रिश्चियन, मुसलमान अरुअरु धर्माबलम्बी पनि छन् जो चिहानलाई असाध्य महत्व दिन्छन् । किन दिए होलान् तिनले चिहानलाई त्यति धेरै महत्व ? मेरो खोपडी हल्लिने गर्छ कहिलेकाहीँ, जस्तो कि अहिले हल्लिँदै छ ।हामीले कैयौँका चिहानहरु नष्ट ग¥यौँ । कैयौका चिहान बनायौँ । कैयौँका चिहान तारवार लगाएर राखेका छौँ । कैयौँ चिहान हेर्न मानिसहरु तछाडमछाड गरेर संसारभरबाट ओइरिरहेका छन् । एउटा चिहान छ ताजमहल जो संसारकै आश्चर्यमध्ये मानिन्छ । म सोच्छु चिहान भारेमुरेको हो भने कामै छैन । चिहानै बनाउनु छ भने अलि काम लाग्ने कुराको बनाउनु, कि त मूल्य नै नभएकाको बनाउनु, ठूलाठालुको बनाउनु । राजामहाराजका चिहान पो चिहान, नेताका चिहान पो चिहान, साहित्यकार, कलाकार, बौद्ध भिक्षु, लामा, सन्यासी यस्तैयस्तैका चिहान पो चिहान । जुन चिहानको कुनै मूल्य नै छैन, कसैलाई चासै छैन, कसैले हेर्दै हेर्दैन, चिन्दैचिन्दैन त्यस्ताको चिहानको के काम ?मलाई आज महान चिहान चिन्तन फुरेको छ । कस्ता चिहानहरु उत्तम चिहान हुन् र कस्ता अधम भन्ने बारेमा आँखि भौँ खुम्च्याएर सोच्दैछु ।कहिलेकाही चिहानहरु डरलाग्दा हुन्छन् । ती चिच्याउँछन दुनियालाई तर्साउन । जस्तो  कि हाम्रो देशका राजा महेन्द्रको चिहान । विचरा महेन्द्र कहाँ पुगिसके उनको चिहानले आजसम्म भएभरका नेताको गिदी खाइरहेका छन् । तर्साइरहेका छन् । जङ्ग बहादुरको चिहान अझ डरलाग्दो छ हाम्रो देशमा ।विदेशमा पनि थुप्रै छन् डरलाग्दा चिहानहरु । माक्र्सको चिहानले दुनियाँलाई निद हराम गरिदिएको छ । लेनिनको चिहान उस्तै डरलाग्दो छ । उनको डेडवडी राखिएको चिहान संसारभर चर्चा भयो । चिहानै हुनु छ भने त्यस्तो चर्चित चिहान हुनु नि !चिहान कहिलेकाहीँ साह्रै लोभलाग्दा पनि हुन्छन् । जस्तो कि युरोपमा भएका कतिपय पादरी र पोपका चिहान । ती चिहान उदेकलाग्दा छन् । यतिका वर्ष बितिसक्ता पनि ती चिहानले मानिसलाई तानेका तान्यै छन् । कुनै कमी छैन मानिसको लर्को ।चीनमा राजाहरुका चिहान त्यस्तै चर्चित छन् । के के न रमाइला ठाँउ होलान् भनेर घुम्न निस्क्यो, कि शरीर गाडेका चिहानमा पुग्नुपर्छ कि मरिसकेका लासहरुलाई ढुंगाको रुप दिएर ठिङ्ग ठड्याएर राखिएका ठाँउमा पुग्नुपर्छ । जमिनमुनि गाडे पनि जमिन माथि ठड्याए पनि मुर्दा जहाँ हुन्छन् त्यहाँ त चिहानै हुन्छ नि ।चिहान बहुमुल्य हुनका लागि त्यहाँ के गाड्ने हो त्यो खुब विचार गर्नुपर्दो रहेछ । त्यो विचार पुर्याउन सकिएन भने त्यस्ता चिहानले कुनै दमदार प्रभाव नै देखाउन सक्ता रहेनछन् । त्यसैले मेरो चिहान चिन्तन कहिले बुद्ध परम्परातिर सोझिन्छ, कहिले ख्रिस्टियनतिर सोझिन्छ, कहिले राजा र महाराजाहरुतिर सोझिन्छ । कहिले यो चिन्तन बौद्ध हुन्छ, कहिले क्रिश्चियन हुन्छ , कहिले किराँत हुन्छ, कहिले राजावादी हन्छ, प्रजातन्त्रवादी, कहिले समाजवादी, कहिले कलावादी, कहिले कलाकारवादी भइदिन्छ । किन यसरी अस्थिर भएको होला यो चिहान चिन्तन पनि ! मलाई दिक्क लाग्छ ।एक जना साहित्यकार छ, ऊ जहिले पनि चिहानमा टहलिन मन पराउँछ । एक दिन मैले उसलाई प्वाक्क सोधे – ‘ए फलाना तँ किन खालि चिहानमा डुल्न मन पराउँछस हँ ?” उसले मलाई साह्रै बेतोड जवाफ दियो ।“तँ चिहान माथि छस, म चिहान माथि छु, राजनीति चिहानमाथि छ, समाज चिहानमाथि छ, मेरो र तेरो देश चिहानमाथि छ । सबै चिहानै माथि त छन् नि ! अनि म कहाँ जाऊँ त ?”उसको जवाफ बेजोड हो कि होइन त्यो छुट्याउन पनि मैले अब चिहान चिन्तन नै गर्नुपर्ने भयो ।चीनको सियान नजिक एउटा पागल कलाकारले ७,००० भन्दा बढी मानिसको सिंगै शरीर बनाएर त्यसलार्य चिहानमा पुरिदिएछ  । त्यो खोतलेर पत्ता लागेको मात्रै के थियो संसारभरका मानिस ओइरिएका छन्, हेर्न, बुझ्न, अध्ययन गर्न । के मात्रै गरेन त्यो चिहानले ? संसारकै उत्तम सम्पदा सूचिमा परेको छ अहिले । त्यसको नजिकै महाराजले रानीलाई माया गरेर भव्य चिहान बनाउनु पर्यो भनेर उर्दी लगाएको ठाउँ समेतले चर्चा पाएको छ । लर्को लागेर मानिस धाइरहेका छन् त्यहाँ ।“कसैले शुक्रकीटलाई खाल्डोमा हालेर चिहान नबनाएको भए तँ जन्मिन्थिस् ? एउटाको मुत्युमा अर्को जन्मिन्छ त्यसैले चिहान भनेर हेला नगर्नु । यसमा रमाउन सिक्नु ।” चिहाने सहित्यकार कुमार नगरकोटीले डरलाग्दो, कालो, धमरधुस पहिरनमा सपनामै आएर झपारे मलाई— “तेरो देश चिहानमा उभिएको थाहा छैन रछ तँलाई । हेर त चारैतिर चिहानै चिहान ।” उसले घिसादै लग्यो मलाई पाटनको कृष्णमन्दिरतिर । उसले  त्यहाँ लगेर भन्यो– “हेर त यहाँ मल्ल राजाहरु गाडेको  । गाड्न जान्नुपर्छ । मरिसकेको माथि त हो नि हामीले खाने, लाउने, पैसा कमाउने, मोज गर्ने ।” धमरधुस कालो अनुहार, ठूलाठूला गेडा भएको माला, थरिथरिका औँठी नै औँठीले सजिएको नगरकोटी दिल खोलेर हाँस्यो कृष्ण मन्दिर अगाडि उभिएर ।“हेर् त यहाँ कृष्णको चिहान कति सुन्दर छ । उसको गीताको चिहान नबनाएको भए यो मन्दिर ठडिन्थ्यो ? यत्रा पुजारी, गुभाजु, श्रद्धालुले खान पाउँथे यो बेचेर ? बडेमाको ढुंगाको मृत्यु वरण गराएर यसलाई मूर्तिमा परिणत नगराएको भए यो मन्दिर यति राम्रो हुन्थ्यो ? मन्दिर बनाउन कतिको चिहान बनाउनु पर्छ थाहा छ तलाई ? ऊ हेर् त्यो थोत्रो घरको डकर्मी न्हुछेमान महर्जानको जिजुबुवाको मसिना र हातको मयलले ठडिएको हो यो मन्दिर । उसको बुद्धि, श्रम र इमानको चिहान नबनेको भए यो ठडिन्थ्यो ?”जब्बर प्रश्न गरेर आच्छुआच्छु पा¥यो नगरकोटीले । कुमार नगरकोटी नभनेर चिहानकोटी जस्तो त्यो मान्छे पनि त आखिर चिहानकै उत्पादन रहेछ नि ! म मनमनै सोच्छु अहिले चिन्तन चलिरहँदा । यथार्थवादको चिहानमाथि नग्नवादको महल ढड्याएको होइन र चिहानकोटीले ?  नभए के हो त ? छँदाखाँदाको राम्रोराम्रो कुरालाई पनि भूत, पिशाच, मृत्यु, चिहान, खप्पर, मसानघाटसँग लगेर जोडेको ? ऊभन्दा अघिल्ला साहित्यलाई चिहान बनाएको होइन उसले ? मिस्टकालाई त्यसरी किन नाङ्गै बनाएको पसलपसलमा लगेर ? त्यो छँदाखाँदाको बाहुनबाजेलाई किन लगेर रुखमा झुन्ड्याइदिएको ? घरहरा फोरेर किन स्याउँस्याँउति काला विरालाहरु निकालेको ? चिहानकोटीको चिन्तननै चिहानबाट निस्केको छ । एउटालाई चिहान नबनाई नयाँ जन्मिँदै जन्मिँदैन ऊभित्र ।मलाई घुमाउन लिएर पाटन पुगेको नगरकोटी त्यहीँ अन्तरध्यान भयो, मल्लकालीन दरवारको  चिहानभित्र । म मल्लकालीन त्यो चिहानबाट फुत्त बाहिर निस्कँदा एउटा ठूलै पार्टीको नेता ठिङ्ग उभिएको थियो, गमक्क फुलेको गलबन्दी घाँटीमा बेरेर । उसले जाडोलाई चिहान बनाएछ गलबन्दीले छोपेर । मैले उसलाई एक धक्का दिएर सडकमा गुडेको कारमुनि पुर्याइ दिएँ । ठूलै नेता हँु भन्थ्यो, गाडीले किचिएर कच्याककुचुक भयो । हुल बाँधेर हिँडेका धेरै गाडिले किचेर किमा बनाइदिएपछि एक हुल पुलिस आए उसलाई बचाउन । छरिएर किचिमिची भएका नेताको शरीरका मासुका टुक्रा लुछ्न कुकुरहरु झुम्मिए ।पुलिसले सबैलाई घेरावन्दी गर्यो र उसको मृत्युलाई बडेमाको चिहान बनाउन सुरसार गर्यो । झण्डा लिएर एक हुल बूढा, अधबैंशे र केटाहरुको मिश्रित जमात त्यहाँँ आइपुग्यो । ठूलोठूलो स्वरमा चिच्याए र अग्लो एउटा चिहानको कल्पना गरे जसले त्यो किच्याउनेलाई पनि चैनसँग बस्न नदोओस, विरोधीहरुलाई पनि तह लगाओस । उनीहरु उसको चिहानमा टेकेर के के के के गर्छौ भनेर मुठी उठाएर चिच्याए ।चिहान नगरकोटी त्यो चिहान उत्सवमा झुलुक्क झुल्कियो फेरि । मलाई आश्चर्य लाग्नु स्वाभाविक थियो । मलाईभन्दा उसैलाई आश्चर्य लागेछ, मैले सोध्न ढिलो गरेकाले उसैले भन्यो– “यो चिहान अब निकै ठूलो हुनेछ, यसलाई हेरेर धेरैका आँसु टिल्पिलाउने छन्, सबयात्रामा धेरै झण्डा फहराइनेछ, झण्डा बनाउन धेरैले दोकानका कपडा किन्नेछन्, धेरै दोकानदारको कपडा बिक्नेछ, धेरै सुचिकारले झण्डा सिलाउने काम पाउने छन् । उनीहरुको आम्दानी बढ्नेछ । काजकिरिया गर्ने बाहुनबाजेको पनि थोरबहुत आम्दानी बढ्नेछ ।  केटाहरुले जिन्दावाद, मुर्दावाद गर्दा दैनिक भत्ता पाउने छन् । तिनको आम्दानी बढ्नेछ । उनीहरुको आम्दानीले वियर पसलेहरु मालामाल हुनेछन् । वियरपसलेहरु मालामाल हुनुको अर्थ उसकी तरुनी स्वास्नी पनि गहना र सारीले ढाकिएर मालामाल हुनेछिन्, सबैका हातमा पैसा भएपछि बैंकमा जम्मा हुनेछ, बैंकहरु मालामाल हुनेछन् । बैंकहरु मालामाल भएपछि ऋणिहरु मालामाल हुनेछन् । यसको लहरो लामो हुनेछ । त्यसैले मिस्टर राइटर चिहान चिन्तन बढिया छ ।”चिहानकोटी लापत्ता भयो यति भनेर । माथिबाट आकासवाणी ग¥यो— “तपाईंको अहिलेको जीवन पनि चिहान माथि नै छ राइटर । यो चिन्तन नछोड ।” त्यसपछि मैले चिहानकोटीको आवाज सुनिनँ । ऊ अन्तध्र्यान भयो कुनै चिहान चिन्तनमा ।मलाई यो चिहान चिन्तनले बिहानविहान सधैँ चिमोट्छ । किनकि रातको चिहानमा नै दिन झुल्किन्छ । रमाउँछ । रात चिहानमा नपुगी कहाँ विहानी हुन्छ ? कहाँ सूर्य उदाउँछ ? मेरो मन यो सम्झेर झस्याङ्ग हुन्छ । साँच्चि एक पटक मात्रै रात चिहानमा नपुगे के हुन्छ होला यो संसार ?मेरी घरवाली भन्छे– “यो घर त चिहान जस्तो छ । न माया, न  प्रेम, न आनन्द, न मस्ती ।” साँच्चिकै गजबको कुरा गरी उसले । मैले प्यारी प्रेमिकाको चिहान बनाएरै त उसलाई पत्नी बनाएको हो नि, नत्र त प्रेमिका छँदै थिई नि ! प्रेमिकालाई चिहान नबनाई कहाँ घरवाली, पत्नी, स्वास्नी हुन सक्छे ऊ ? एउटा जन्मन अर्को त चिहानमा पुग्नै पर्छ ।मेरो चिन्तनको वृत्त अहिले चिहानकै वरपर केन्द्रित छ । मानिसको बुद्धि मुर्खताको चिहानमा अडिएको छ, विकास र उन्नति अविकासको चिहानमा अडिएको छ, भौतिक उन्नति प्राकृतिक श्रोतको चिहानमा अडिएको छ, तपाईको विकास तपार्इंलाई सहयोग गर्नेहरु कति चिहानमा पठाउन सक्नु हुन्छ त्यसमा भरपर्छ, सामान बेच्नुहुन्छ भने कति ग्राहकको भावनालाई चिहानमा पुर्याएर अन्तध्र्यान गराउन सक्नुहुन्छ र खल्ती रित्याउन सक्नुहुन्छ त्यसैमा तपाईको भलो हुन्छ । पद हत्याएर माथि पुग्न चाहनुहुन्छ भने तपार्इंंका अगाडि अहोरात्र खटेर सहयोग गर्नेहरुलाई कसरी चिहानमा थिच्न सक्नुहुन्छ त्यसैमा सफलता हात लाग्छ । चिहानकोटीले त्यसै चिहान चिन्तन भित्र्याएको होइन साहित्यमा । उसको चिन्तन बहुमुल्य छ भन्ने ठम्याइ छ मेरो ।ऊ हाम्रो प्रशासन र राजनीतिका थोत्रा पुराना कुरा चिहानमा नपुर्याएकाले सधैँ दुःख पायौँ भन्छ । राणालाई चिहानमा पुर्याउँदा उसको अस्तु सँगै ल्याएर भण्डार गरेकाले, भएभरका नेता र हाकिम राणाजस्तै भए भन्छ । खै किन हो उसले त्यो भनेको चिन्तन तपार्यंले पनि गर्दा हुन्छ । सबैमा राणाहरुको हैकम, निर्देशन, ठालुपन सबै सरेर आएको छ । तिनलाई चिहानमा नहाली कहाँ बन्छ नयाँ नेपाल ? हेर् त हाम्रा कुन नेता राणाभन्दा कम छन् ? कुन नेता हाम्रा पूर्व राजाहरुभन्दा कम छन् ? ऊ उल्टै मलाई प्रश्न गर्छ ।कहिलेकाहीँ म गम खान्छु, उसले भनेका कुरा सोचेर । मेरा आँखा गुम्वा, मन्दिर, आश्रम, गुरुद्वरातिर पनि तानिन्छन् उसका कुरा सम्झेपछि । म घरको, सडकको मात्र कुरा गर्दिनँ । मलाई ती परमपूज्यहरुले बनाएका चिहान पनि प्यारा लाग्छन् । जति बढी शिष्यलाई चिहान बनाउन सक्यो त्यति ठूलो गुरु हुन्छ । ऊभित्रको तर्क, चिन्तन, उर्जा आदिको चिहान नखनी कोही गुरु गुरु बन्दैन । शंका र तर्क रहुन्जेल उसले रजाई गर्नै सक्दैन शिष्यमाथि । त्यसैले सकेसम्म चाँडो शिष्यलाई चिहानमा पुर्याउने हतारोमा हुन्छ गुरु ।मेरो चिहान चिन्तन प्रकृतिप्रेमी पनि छ । तपार्इंअगाडि उभिएको अजङको रुख आफ्नै वीउको चिहानमा उभिएको होइन र ? अवश्य हो भन्छ मेरो मनले । तपाईको महल ठडिँदा पनि हजारौँ नभए पनि सयौँका पसिना, सिप र बुद्धि चिहानमय भएका छन, कसैका धेरै कसैका कम । एउटा उभिनु भनेको अर्को चिहानमा पुग्नु हो । काम नलाग्ने, असामयिक हानिकारक मात्र चिहानमा पुग्छ भन्ने छैन । कहिलेकाहीँ फाइदामन्द, लाभदायक, उन्नत कुरा चाहिँ चिहानमा पुगेर कामै नलाग्ने असामयिक, हानिकारक चाहिँ राज गरेर हाँसिरहेको हुन्छ । समाजमा होओस् कि व्यक्तिमा सबैतिर देखिन्छ त्यो । ठीक कुरालाई चिहानमा पुर्याउने विवेक मानिसले समयमै आर्जन गरेको भए कसैको पूजा गर्दै गर्दैनथ्यो मानिसले । समयमा होस नपुर्याउँदाको पश्चाताप हो हाम्रो भक्ति र पूजाआजा । त्यो पूजा चाहे व्यक्तिको होओस् वा संस्था वा देशको । सधैँ विवेकवान् भएर देशलाई, गुरुलाई, ज्ञानलाई, विवेकलाई माथि उठाउँछ र त्यसका विरुद्धमा उभिनेलाई चिहानमा पुर्याउँछ भने उसले किन गर्नु पर्यो तिनलाई पूजा ? किन सम्झनु पर्यो ? बिर्सेकाले पो सम्झनुपर्छ ।चिनियाँहरुमा उदेकलाग्दो चिहान चिन्तन रहेछ  । उनीहरु पुरानालाई सरक्क सजाएर राख्छन् र चिहानमा पुर्याइ दिन्छन् । त्यसका ठाउँमा नयाँ चीज बनाइदिन्छन् । कन्फ्युसियस उनीहरुका लागि साह्रै काम लाग्ने चिहान हो भन्ने ठाने । त्यसलाई संसारभर फैलाएर फाइदा लिए । चिनियाँहरुका बुद्ध नै हुन् भन्ने बनाइ दिए । बोधिधर्म, लाओत्सु, च्वांगत्सु सबैलाई त्यसै गरे । उनीहरुका बाल्यकालदेखि बूढो हुँदासम्मका कुराहरु सुरक्षित गरेर सुन्दर चिहान बनाइ दिए । त्यही बेचेर खाँदै छन् ठाउँठाउँमा । हामी मरिमेटेर त्यही हेर्न झुम्मिरहेका छौँ । उनीहरुले माओलाई पनि चिहानमा सजाइ दिए अनि नयाँ माओ आविष्कार गरे उनको चिहानमा देङ बनेर । उनी माओभन्दा अझै अब्बल भए । पहिलोलाई चिहान बनाएर फोटो राखेपछि उसलाई चिनाउन पनि सजिलो हुन्छ कुन जातको हो चिनाउने ट्याग झुण्डयाएजस्तै । त्यही गरिहेका छन् अहिले उनीहरु । हामीले त्यो कला नजानेर चिहान बनाउन डराइरहेका छोँ । मसानघाटबाट अस्तु लिएर दिनदिनै ढोगिरहेका छौँ । चिहान ढोग्नु भनेको आफैँभित्र चिहान बनाउनु हो ।  चिहान चिन्तनमा अर्को उम्दा मानिसहरु युरोपियनहरु देखेँ मैले । उनीहरु सबैलाई चिहान बनाउन प्रेरित गर्छन् । चिहान उनीहरुका लागि साह्रै प्रिय बस्तु हो । गाडिसकेका मुर्दाको पनि थरिथरिका जीवितजस्ता चिहान बनाइ दिन्छन् । थरिथपिरका नाम राखिदिन्छन्, कसैलाई संग्रहालय भनिदिन्छन्, कसैलाई इतिहास भनिदिन्छन्, कसैलाई कलामा उतार्छन् र झुन्ड्याइदिन्छन् । उनीहरुका तरिका साह्रै उम्दा छन् । त्यसैले उनीहरु अरुले पनि त्यही गरुन भन्ने ठान्छन् । पुराना परम्परा नमास है भन्छन् । पुराना सम्हाल्न आफैँ अघि सर्छन् अनि सबलाई मेरोजस्तै गर भन्छन् ।उनीहरुलाई थाहा छ, विचार, सोच, चिन्तनलाई चिहानमा नलगी आफ्ना कुरा ऊभित्र उमार्न सकिँदैन । यो कुरा उनीहरुले साह्रै राम्ररी बुझेका छन् । त्यसैले चिहानमा के गाड्ने र के उमार्ने त्यो हाम्रो आफ्नै गिदिमा फल्नु पर्छ । उमार्ने र गाड्ने नछुट्याई नयाँ कुरा जन्माउन सकिँदैन । उल्टो हुन्छ हाम्रो गति ।मुर्खता चिहानमा हालियो भने विद्वता उम्रन्छ, कुसंस्कार चिहानमा हालियो भने संस्कार जन्मन्छ, अविकास चिहानमा हालियो भने विकास जन्मन्छ, अन्याय चिहानमा हालियो भने न्याय जन्मन्छ, दुराचार चिहानमा हालियो भने सदाचार जन्मन्छ । केलाई चिहानमा गाड्ने ? त्यसको ठीक विवेक विकास गर्न सकेनोँ हामीले । हाम्रो बुद्धि, विकास, उन्नति, आचरण सबै उल्टो भयो गर्दै जाँदा । त्यसैले चिहान चिन्तन सुरु गरौँ । जय चिहान । २०७२।१०।१३

No comments:

Post a Comment