Tuesday, April 14, 2020

ती मानिस जो पदविनै नेता बने

पद, नेता र व्यक्ति


प्रसिद्ध प्रेरणादायी वक्ता रवीन शर्माको एउटा खुबै चर्चित पुस्तक छ— ‘द लिडर हु ह्याड नो टाइटल’ अर्थात् ‘त्यो नेता, जोसँग कुनै पद थिएन’ अर्थात् ‘पदविनाको नेता’ ! 


उनी भन्छन्, ‘महान् नेता बन्नका लागि पद आवश्यक छैन । तर, तपाईं आपूm महान् मानिस भने हुनैपर्छ ।’ 

पद खास समयका लागि खास काम गर्नका लागि व्यक्तिलाई प्राप्त हुने अख्तियारी हो । जसले त्यसको योग्यता प्राप्त गर्छ, त्यो स्वतः पाउँछ । समयसीमापछि पद सकिन्छ तर, व्यक्ति रहिरहन्छ । उसले जीवनमा के भन्छ, के काम गर्छ, त्यसले समाजमा पार्ने प्रभाव कति गहिरो हुन्छ त्यसैअनुसार मानिसको मूल्यांकन हुन्छ । त्यसैले नेता हुन पद होइन उसको कामले समाजमा पार्ने प्रभाव महत्वपूर्ण हुन्छ ।

विश्व इतिहासका प्रभावशाली नेता

यदि तपाईंले आधुनिक विश्व इतिहासका १० वा २० प्रभावशाली राजनीतिक नेतृत्वको नाम गुगलमार्फत् खोजी गर्नुभयो भने सबैभन्दा माथि यस्ता मानिसहरु पाउनुहुनेछ जो कहिल्यै पदका लागि मरिमेटेनन्, नैतिकता र चरित्रमा कुनै सम्झौता गरेरनन् र सहज रुपमा पद त्यग्न तयार गए । व्यक्तिका रुपमा ती सधैँ मानिसको हृदयमा सम्मानको बास बनाएर बसिरहे । विपक्षी र प्रतिस्पर्धीले पनि तिनलाई सम्मान गरिरहे र संसारलाई हिँड्ने सही मार्ग देखाएर गए । त्यसपछि अरु केही नाम पाउनुहुनेछ जो पैसा र पदका आधारमा भन्दा पनि उनीहरुको प्रतिभा, धैर्य, कर्मठता अनि संकटपूर्ण अवस्थामा सही निर्णय लिएर आफ्नो देश र जनतालाई बचाउन ठूलो मिहिनेत गरेका थिए । जीवन कालपछि तिनले संसारका मानिसको मन र मस्तिष्कमा ठूलो छाप छोडेर गएका छन्, आज पनि उनीहरुको नाम सम्मानपूर्वक लिने गरिन्छ ।

संसारमा सबैभन्दा बढी सम्मानसाथ लिइने गान्धी कहिल्यै पदका लागि मरिमेटेनन् तर भारत जस्तो विशाल मुलुकका करोडौँ मानिसलाई आफ्ना पछि लगाइरहे र बेलायती साम्राज्यबाट देशलाई मुक्त गराए । दक्षिण अफ्रिकाजस्तो अपरिचित भूमिमा गएर पनि भारतीयहरुको हक र अधिकारका लागि लडे । उनले जीवनमा न पैसा कमाए न पदका लागि कसैसँग प्रतिस्पर्धा गरेर टाँस्सिइरहे । अनेक बाध्यताले गर्दा करिब आधा वर्ष पार्टी अध्यक्ष पद सँभाल्नुबाहेक उनले कुनै पद ग्रहण गरेको देखिँदैन । 

उनको अहिंसा र असहयोगको राजनीतिक आन्दोलनले संसारको ठूलो भूखण्ड र कालखण्डलाई प्रभावित पार्यो, अहिले पनि उनको प्रभाव कम भएको छैन । कुनै न कुनै प्रकारले अहिंसात्मक आन्दोलन संसारमा चलिरहेको छ । उन्नइसौँ र बीसौँ शताब्दीका राजनीतिक आन्दोलनलाई उनको अहिंसात्मक आन्दोलनको विचारले दिशा दिइरहेको छ । लेक वालेसा, मार्सल जोसेफ टिटो, नेल्सन मण्डेला, आन साङ सु की जस्ता नेताहरुले त्यसलाई अगाडि बढाए उनीपछि पनि । दक्षिण अफ्रिकाको रंगभेदविरोधी आन्दोलन, म्यान्मारको सैनिक शासन हटाएर लोकतन्त्र स्थापित गर्ने काम गान्धीकै नेतृत्वमा सफल भयो । गान्धीले मरिसकेर पनि संसारलाई यसरी नेतृत्व गरिरहेकै छन् । किनकि उनकै विचार र प्रयोग हो अहिंसात्मक आन्दोलन । त्यसै अर्थमा गान्धी संसारका सबैभन्दा सम्मानित नाम बनिरहेका छन् इतिहासमा ।   

अर्का त्यस्तै प्रभावशाली व्यक्ति हुन् मार्टिन लुथर किङ जुनियर । मार्टिन लुथर किङले गान्धीबाट प्रेरणा लिएर अमेरिकाबासी काला जातिको अधिकार स्थापित गर्न बृहत् आन्दोलन चलाए । करिब ३८ वर्ष बाँचेका यी युवा नेताले संसारलाई हल्लाउने भाषण ‘मैले देखेको सपना’ मार्फत् करोडौँ मानिसको मन जितेर सडकमा उतार्न सफल भए । त्यति मात्र होइन उनको त्यही संघर्षका कारण संसारकै सम्मानित नोवेल पुस्कार पनि प्रदान गरियो । यिनी कुनै पदाधिकार प्राप्त अधिकारी थिएनन् । थिए त केवल एउटा चर्चाका सामान्य पादरी । यस बाहेक उनी कुनै पदको लालसामा त्यो आन्दोलन चलाएका पनि थिएनन् । उनको उद्देश्य अमेरिकाबासी कालाहरुको अधिकार प्राप्त गर्नु थियो । 

जब व्यक्ति अरुका निम्ति पूर्णतः समर्पित भएर काम गर्न थाल्छ, यसलाई नसोचेको शक्ति प्राप्त हुन्छ । त्यसैले रवीन शर्माले भनेको त्यो भनाई स्मरणीय छ । जब व्यक्ति कर्मका आधारमा अरुबाट विश्वासयोग्य बन्दछ, त्यसले नै उसलाई शक्तिशाली बनाउँछ । उच्च नैतिक बल प्रदान गर्छ । त्यो नैतिक बल आर्जन गर्न सफल भए ।

नेल्सन मन्डेला, जर्ज वाशिङटन, अब्राहम लिंकन, विन्स्टन चर्चिल, नेपोलियन बोनापार्ट, फ्रान्कलिन डि रुजवेल्ट, आङसाङ सु कि अरु यस्तै नाम हुन् जसले संसारलाई पदविनै नेतृत्व दिइरहेका छन् । उनीहरुका विचारले आज पनि विश्वलाई अगुवाइ गरिरहेको छ ।   

नेपालको इतिहासमा सम्मानपूर्वक सम्झिने केही बिरलाकोटी नाम छन् जसलाई जुनसुकै वर्ण, लिंग, जात, भूगोल, सिद्धान्तको मानिसले सम्झने गर्दछ । ती मानिसहरुमा के विशेषता थियो ? त्यही माथि उल्लेख गरिएका विशेषता थिए सायद । 

हाम्रो अवस्था 

हामीलाई सुन्दा नै आश्चर्य लाग्छ, पदै नभई पनि कोही नेता हुन सक्छ ? नेता बन्नका लागि पद आवश्यक छ । खासगरी राजनीति गर्ने मानिसहरुले पदलाई नै नेतृत्वको पर्यायवाची सम्झने गरेको पाइन्छ । त्यसैले होला पद पाउनका लागि मरिहत्ते गर्ने चलन छ । पद प्राप्त गर्नका लागि आफ्नो बुताले भ्याएसम्म तीन एम (मनी, मसल र म्यान) प्रयोग गर्ने र पद हत्याउने अनि पद हत्याएपछि शक्तिको प्रयोग दुरुपयोग गर्ने र अनाचार गर्ने । 

पदमा पुग्नका लागि यही नै उचित र सफल तरिका हो भनेझैँ गरी संसारभर नै यही प्रवृत्ति हाबी छ अहिले । खासगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरु जहाँ राज्यका पदको दुरुपयोग गरेर राज्यश्रोतमा हालीमुहाली गर्ने गरिन्छ ती क्षेत्रका प्रायःजसो राजनीतिक मानिसहरु भ्रष्ट, अनैतिक र पदलोलुप पाइन्छन् । चाहे चुनावबाट भोट जितेर पदमा पुगेका मानिस होउन् वा शक्तिको पछि लागेर चाचुचा (चाकडी, चुक्ली र चापलुसी) गरेको आधारमा हुकिङ गरेर माथि तानिएका मानिसहरु होउन्, उनीहरुमा चरित्र, क्षमता र दक्षताले भन्दा बढी मनी, मसल र म्यानले बढी काम गर्ने गर्दछ । 

यही कारणले गर्दा विकासशील मुलुकका राजनीतिक व्यक्तिहरु सत्ता वा शक्तिमा पुगेपछि धेरैजसो निकम्मा साबित हुन्छन्, दूरदृष्टिरहित देखिन्छन् र आपूmले शक्ति प्राप्त गर्नका लागि गरेको खर्च उठाउन तल्लीन हुन्छन् । राज्यश्रोतको दुरुपयोग गरेर जायज वा नाजायज कार्य गर्नतिर लाग्दछन् । केही समय वाहवाही पनि पाउँछन् त्यसपछि भने इतिहासको कुन कुनामा बिलाउँछन् अत्तोपत्तो हुँदैन । इतिहासले कि कुख्यातीमा नाम कमाएकाहरुलाई चिन्दछ कि असल काम गर्ने र असल चरित्र भएकाहरुलाई चिन्दछ । बाँकी मानिसहरु पानीको फोका बिलाएझैँ इतिहासको पानाबाट बिलाउँछन् । केही वर्षपछि तिनको नामोनिसान हुँदैन ।

के ले आर्जन हुन्छ शक्ति ?

राजनीतिक मानिसले के आधारमा शक्ति आर्जन गर्छन् त त्यसो भए ? केले टिकाउँछ उनीहरुले आर्जन गरेको त्यो शक्ति ? सफल नेतृत्वका यो अति नै महत्वपूर्ण हुन्छ । धेरै मानिसको उत्तर हुनसक्छ पदले, पैसाले अनि राज्यशक्तिभित्रको पहुँचले शक्ति आर्जन हुन्छ । चाहे राजनीति गर्ने होस् वा व्यपार–व्यवसाय वा कुनै कम्पनी वा संस्था सबैमा शक्ति आर्जन नभई नेतृत्वदायी भूमिकामा रहिरहन सकिँदैन । 

समाज अत्यधिक राजनीतिकरण भएको र राजनीतिमा एक निश्चित पदमा पुगेपछि राज्ययन्त्रको प्रयोग गर्ने र शक्ति आर्जन छिटो गर्न सकिने हुनाले हाम्रो जस्तो समाजमा पदविहीन मानिसले आपूmलाई नेतृत्वमा स्थापित गर्न जायज वा नाजायज तरिका अपनाउने गर्दछन् । के त्यसले टिकाउँछ उनीहरुलाई ? केही समय अवश्य टिकाउँछ । तर जब मानिसको मनमा उसप्रतिको विश्वासमा कमी आउँछ, राज्यको संयन्त्रमाथिको पकडले मात्र उसलाई टिकाउन सक्तैन । तिनलाई जनताको मनमा रहेको विश्वास कमजोर हुनासाथ हावाले उडाएझैँ उडाएर फालिन्छ । 

हिटलरले राज्ययन्त्रको दुरुपयोग गरेर शक्ति त आर्जन गर्यो तर विश्वास जित्न सकेन, चाउचेस्कूले रोमानियामा त्यति लामो समय शासन गर्दा पनि विश्वास टिकाउन नसकेर सडकमा घिसारिनु पर्यो बिरामी भएको बेला । रादोभान काराजिक पूर्व युगोस्लाभियाको गृहयुद्धताका निकै शक्तिशाली मानिन्थे तर देशबाटै भागेर बुढेसकालमा अन्तर्राष्टिय अदालत धाउनु पर्यो । यी केही उदाहरण हुन् शक्तिले मात्र नेतृत्व टिकाउन सकिँदैन भन्ने । 

हामीले संसारका तानाशाहलाई हेर्यौँ भने यो कुरा स्पष्ट हुन्छ । मुसोलिनी, हिटलर, पोलपोट, इदिअमिन, चाउचेस्कू, रादोभान काराजिक यस्ता कतिपय नाम छन् जो शक्तिका बलमा शासनमा त पुगे तर मनमा शासन गर्न सकेनन् । डरका बलमा आर्जन गरेको शक्तिले धेरै समय टिकाउन सक्तैन । उनीहरुको उदाहरण त्यसपछिको पुस्ताले स्वीकारेर त्यस बाटोमा हिँडेको पनि पाईंदैन । यसको विपरीत गान्धी, मार्टिन लुथर, मण्डेला, जर्ज वाशिंगटन, लिंकन, चर्चिल, लेनिन, माओ त्से तुङ, तेंग स्याओ पिङ, हो चि मिन्ह आदि यस्ता मानिसहरु हुन् जसले संसारको नेतृत्वको अवधारणालाई नै बदलिदिए ।  संसार छाडेको यतिका समयपछि पनि उनीहरुले अंगीकार गरेको बाटोले संसारलाई मार्गदर्शन गरिरहेको छ । 

सबैभन्दा महत्वपूर्ण कुरा ? 

नेता हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो सपना देखाउन सक्नु र मानिसलाई त्यसमा विश्वासका साथ पछि लगाउन सक्ने विश्वसनीयता आर्जन गर्नु । विश्वसनीयताको लागि सर्वाधिक महत्वपूर्ण हुन्छ– अखण्डता वा इन्टिग्रिटी । भनाइ र गराइमा निरन्तरता नै इन्टिग्रिटी हो । यसले नै मानव मनमा विश्वसनीयता सिर्जना गर्छ । विश्वसनीयताले वास्तविक शक्ति आर्जन हुन्छ । जनताको मनमा शासन गर्न सक्ने मानिस जतिसुकै कानुनी रुपमा कमजोर भए पनि उसले वास्तविक शक्ति कहिल्यै गुमाउँदैन, सधैँ प्रभाव पारिरहन्छ । 

हालका दश प्रभावशाली राजनीतिक नेताहरुको नाम खोज्यो र तिनको विश्वसनीयताको चुरो खोज्यो भने थाहा हुन्छ उनीहरुमा सबैभन्दा महत्वपूर्ण कुरा त्यही विश्वसनीयता पाइन्छ । इतिहासका १० प्रभावशाली र लोकप्रिय १० नेताको नाम खोज्यो भने हामी सबैभन्दा पहिले कसको नाम लिन्छौँ ? सायद हामीले लिने सर्वोच्च नाममा गान्धी, मार्टिन लुथर्, नेल्सन मण्डेला, अब्राहम लिंकन, विन्सटन चर्चिल, जर्ज वाशिङटन, बेन्जामिन फ्रान्कलिन, नेपोलियन बोनापार्ट, लेनिन, माओ त्से तुङ आदि नाम पर्दछन् । 

किन हामी ती मानिसलाई सबैभन्दा माथि राख्छौँ ? संसारमा उनीहरुभन्दा पछि पनि अनेक मानिसले सरकार चलाए । शासन चलाए । पदाधिकारमा रहे । तर, ती नाम दुनियाँको मनमा सधैँ रहिरहन भने असमर्थ भए । केही समय राज गरे, बिलाए । 

क्षमता मुख्य हो कि चरित्र ? 

हामीले कैयौँ यस्ता मानिस देखेका छौँ जो प्राविधिक ज्ञान, सीप र क्षमताका दृष्टिले उत्कृष्ट त छन् तर पनि विश्वसनीय लाग्दैनन् । उसलाई हामी विश्वासको आँखाले हेर्न सक्तैनौँ । विश्वास नभएपछि ऊसँग सम्बन्ध बढाउन र उसलाई गरिने सहयोग गर्न पनि इच्छुक हुँदैनौँ । उसले भनेका कुरामा पनि शङ्का गर्दछौँ । त्यस्ता व्यक्तिहरू क्षमतावान् हुँदाहुँदै पनि विश्वसीयताका दृष्टिले अयोग्य ठहरिन्छन् र अन्ततोगत्वा जीवनमा असफल हुन्छन् ।

हामीकहाँको नेतृत्व र जनता दुवैले भोगेको समस्याको जड यहीँ छ । हामीकहाँ धेरै मासिहरु क्षमतावान् छन् तर चरित्रवान् भने कम छन् । परिणामतः जनताले योग्य देखेर पत्याउँछन् तर जब काममा जान्छन् चरित्रहीन देखिन्छन्, धोका हुन्छ विश्वासमा । नेतृत्व जे भन्छ त्यो गरिरहेको देख्तैन समाजले । अनि जनताले जे सोच्छ र भन्छ त्यो कुरा नेतृत्व गर्नेले थाहा पाउने प्रणाली कमजोर छ, भए पनि त्यो कमजोरी स्वीकार्न पदमा रहेका मानिसहरु तयार छैनन् । त्यसै कारण हाम्रा अधिकांश नेता नेता नभएर पदाधिकारी हुँदै गएका छन् । पदाधिकारी हुनु नै नेतृत्व हो भन्ने भ्रम हाम्रा नेताहरुमा हाबी हुँदै गएको छ । जसले उनीहरुले प्राप्त गरेको पदको विश्वसनीयता धरापमा पारेको छ । 

बारम्बारको परीक्षणबाट विश्वसनीय ठानेको व्यक्ति भनेर हामीले मानेको मानिससँग हामीले गर्ने व्यवहार र त्यसरी परीक्षण नै नगरेको वा विश्वासका दृष्टिले कमजोर मानिससँग गर्ने व्यवहार निश्चय नै फरक हुन्छ । हामीले विश्वासको आँखाले हेर्ने गरेको व्यक्तिले एकाध कमजोरी गरि नै हाल्यो भने पनि सहज रुपमा माफी दिन तयार हुन्छौँ र भन्छौँँ, त्यो मानिस त त्यस्तो हुनै नहुनुपर्ने, त्यो मानिस त्यस्तो होइन, त्यस्तो मानिसले त्यो काम त्यसै गरेको होइन उसले त्यसो गर्नुको पछाडि कुनै गुप्त कारण हुनुपर्छ आदिआदि । त्यस्ता मानिसले कुनै गलत कुरा नै गरेको रहेछ भने पनि हामी सहज रुपमा स्वीकार गछौँ र त्यसमा केही कारण हुनुपर्छ भनेर घोत्लिन थाल्छौँ । 

अहिले छिसिक्क केही हुनासाथ जनताले नेताहरुमाथि प्रश्न उठाउने गर्नुको कारण यही हो, उनीहरु जनताको मन जित्ने काममा खरो उत्रन सकेका छैनन् । विश्वसनीयता आर्जन नगरी जनताको विश्वास आर्जन गर्न सकिँदैन । 

विश्वसनीयताको सबैभन्दा मुख्य आधार हो, उसको चरित्र । आजभोलि चरित्रबारे कुरा गर्नासाथ मानिसहरू यसलाई कुनै आदर्श वा कल्पना वा नीति र धर्मको विषयका रूपमा लिन्छन् र त्यसबाट पन्छिन खोज्छन् । आन्तरिक जीवनमूल्यलाई महत्व दिँदैनन् । यी कुराहरू आजको समाजमा वाहियात हुन्जस्तो सोच्छन् । तर, हामीले मानिसमा सबैभन्दा बढी खोज्ने कुरा के हो ? चरित्र होइन ? जुन कुरालाई हामी महत्व दिँदैनौँ, त्यही कुरा अरूमा किन खोजेको हामीले ?  

यी प्रश्नहरूको उत्तर खोज्न गहिराइमा पस्नासाथ हामीमा भएको द्विविधा प्रस्ट भइहाल्छ । एकातिर हामी जीवनमूल्य र चरित्रलाई कम महत्व दिन्छौँ, अर्कोतिर फेरि अर्को व्यक्तिमा त्यही कुरा खोज्छौँ । हाम्रो समकालीन जीवनको द्विविधा नै यही हो । कैयौँ मानिस योग्यता, आन्तरिक प्रेरणा र बाह्य व्यक्तित्व नै सफलताको कारक ठान्छन् । तर, इतिहासको अध्ययनबाट भने यसभन्दा भिन्न तथ्य फेला पर्छ । सफलताका लागि अरूले हामीलाई कस्तो देख्छन् भन्ने भन्दा पनि हामी आपूmभित्र कस्तो हौँ त्यो नै विश्वसनीयता आर्जनका लागि मूल्यवान् हुन्छ । 
हाम्रा राजनीतिक व्यक्तिहरुलाई यस कसीमा राखेर हेर्यौँ भने हामी असाध्यै द्विविधामा पर्दछौँ । भन्छन् एउटा कुरा अनि गर्छन् अर्कै । भनाइ र गराइमा बेमेल हुनासाथ नेतृत्वले विश्वसनीयता गुमाउँछ । 

शक्तिमा पुगेपछि हाम्रा नेताहरुले आपूmले के बोलेको थिएँ नै बिसिन्छन् । अरुलाई जुन कुराको अर्ति दिन्छन् त्यही कुरा आफ्नो जीवन–व्यवहारमा लागू गर्दैनन् । यसले उनीहरुको भनाइ र गराइको दूरी बढाइदिन्छ र विश्वसनीयता गुमाउँछ ।  

एउटा थप उदाहरणसाथ यो चर्चा अन्त्य गर्न चाहन्छु । तपाईंका सहरमा दुईजना सर्जन छन् । एकजना सर्जन छन्, ज्यादै सक्षम तर बेइमान् र चरित्रहीन । अर्काचाहिँ साह्रै चरित्रवान् छन्, मानिसप्रति करुणा राख्छन्, सकेसम्म सहयोग गर्छन्, तर राम्रो सर्जरी गर्न जान्दैनन् । तपाईंलाई जटिल स्वास्थ्य समस्या आयो, सर्जरी नगरी नहुने भयो भने तपाईं कोसँग उपचार गराउन जानुहोला ?

निश्चय पनि तपाईं पहिले कम सक्षम तर चरित्रवान् सर्जनसँग जानुहुन्छ, सरसल्लाह लिनुहुन्छ र अन्त्यमा सर्जरी गर्न भने सक्षम सर्जनकहाँ जानुहुन्छ । चरित्रवान्ले सही सल्लाह दिन सक्छ भने तपाईंलाई विश्वास हुन सक्छ । तर, सर्जरी राम्रो गर्न सक्दैन कि भन्ने शंका लाग्छ । त्यसैले तपाईं सर्जरी गर्नुपर्दा सक्षम सर्जनकहाँ जान रुचाउनुहुन्छ । चरित्रवान् तर असक्षम सर्जनकहाँ सर्जरी गराउँदा तपाईंको स्वस्थ्य अझ प्रतिकूल हुन सक्छ । त्यसैले हाम्रो जीवन सन्तुलित र सफल बनाउनका लागि दुवै आवश्यक छन् । 

नेतृत्वको प्रश्न पनि ठीक यस्तै हो । गान्धीमा जुन अखण्डता थियो, भनाइ र गराइमा एकता थियो, त्यही कुरा मार्टिन लुथर किङ, मण्डेला, चर्चिल, रुजवेल्ट, बाशिंगटन, लिंकन, माओ, तेङ, हो चि मिन्ह आदिमा पनि पाइन्छ । यही कुरा हामीले मानेका र मानिरहेका नेताहरुमा अभाव छ । त्यसैले भनाइ र गराइमा एकरुपमा नल्याउने मानिस पदाधिकारीमा सीमित हुन्छ, नेताको रुपमा स्थापित हुन सक्तैन । हामीकहाँ पदाधिकारीहरु त धेरै छन् तर नेतृत्वको खडेरी छ । आशा गरौँ यो खडेरीमा एक दिन वर्षात् अवश्य हुनेछ र नेतृत्वको खडेरी हटेर हरियाली छाउनेछ । 

No comments:

Post a Comment