Friday, April 3, 2020

कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ?

अहिले हामी मानव इतिहासकै अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ । कोरोना महामारीले विश्वभरका मानिसलाई त्राहिमाम बनाएको छ । घरभित्र बसेर जीवन रक्षाको प्रयास गरिहेका छौँ । एकातिर यस्तो अवस्था छ अर्कोतिर यस्तो महामारीबाट पनि नाजायज फाइदा लिन दौडधूप गरिरहेका ‘द्रव्यपिसाचहरु’ सल्बलाएको र सरकारका नेतृत्व गरेका मानिसहरुलाई पनि त्यसको चक्रव्यूहमा तान्न सफल भएको आशंका बलियो बन्दै गएको छ । सामाजिक सञ्जालमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई समेत यसमा आँखा चिम्लेको आरोप लागिरहेको छ । 

यस्तो अवस्था आउनमा हाम्रो नेतृत्वको कार्यशैली कति जिम्मेवार छ ? आत्मचिन्तनको समय हो यो । कहाँ चुक्छन् नेतृत्वकर्ताहरु र यस्तो अवस्था आउँछ उनीहरुको जीवनमा ? प्रस्तुत छ यसै सन्दर्भमा यो ब्लग ।

कस्तो समूह बनाउने ? 

बृहत् लक्ष्य साकार पार्नका लागि होस् वा सामान्य लक्ष्य हासिल गर्नका लागि कोही न कोही शुभचिन्तक आपूmसँग जोड्नु आवश्यक हुन्छ । लक्ष्य जति बृहत् हुन्छ त्यति नै बलियो समूह चाहिन्छ त्यसलाई हासिल गर्नका लागि । त्यस्तो समूहमा कोही गहिरो व्यवस्थापकीय कुशलता भएका व्यक्तिहरू आवश्यक हुन्छन्, जसले विचारलाई योजना र प्रणालीमा रूपान्तरण गरेर आर्थिक आर्जन गर्न सक्छन् । अरू केही व्यक्तिहरू त्यस्ता व्यक्ति आवश्यक हुन्छन्, जो अत्यन्त कठिन घडीमा पनि आफ्नो हृदयबाट पूर्ण सद्भावका साथ लागिरहन्छन् र लक्ष्य प्राप्तिका लागि सकारात्मक सोचका साथ काम गरिरहन्छन् । यस्ता व्यक्तिहरू आर्थिक र व्यवस्थापकीय पक्षभन्दा नाजुक घडीमा अदृश्य र अमूर्त शक्तिको सम्पर्कमा रहेर सहज र सरल निकास खोज्न समर्थ हुन्छन् । 
हामी व्यक्तिको क्षमतालाई आर्थिक आर्जनको आँखाले मात्र हेर्दछौँ, आध्यात्मिक वा चेतनागत आँखाले हेर्दैनौँ ।

 समूहमा त्यस्ता मानिस भएनन् भने सङ्कटका बेला समस्याको निकास निकाल्न ज्यादै कठिन हुन्छ । दुई वा सोभन्दा बढी व्यक्तिलाई एउटै लक्ष्यमा हिँडाउन उनीहरूलाई सञ्चालन गर्ने तेस्रो शक्ति आवश्यक हुन्छ, जसलाई हामी तेस्रो विकल्प भन्दछौँ । मानिसको मस्तिष्क यही अदृश्य सामूहिक चेतनाको शक्तिसँग हरबखत जोडिएको हुन्छ । जसले सामूहिक सद्भावका माध्यमबाट एकता भएको समूहलाई लक्ष्य प्राप्तिमा हरबखत सहयोग पु¥याइरहेको हुन्छ । 

त्यसैले आफ्नो लक्ष्यमा सहयोगी हुने समूह निर्माण गर्दा आपूmले इच्छाएको लक्ष्यमा भावनात्मक रुपमा समर्पित हुने समूह छान्न ध्यान पु¥याउनुपर्छ । यस्तो समूहबाट हरबखत घेरिइरहनु, त्यस समूहको सद्भाव र सहयोग प्राप्त भइरहनु सफलताका लागि अति नै आवश्यक छ । लक्ष्यप्रति शङ्का गर्ने, सद्भावपूर्वक सहयोग नगर्ने व्यक्तिलाई आन्तरिक शक्तिसमूहमा सामेल गराइयो भने बारम्बार अवरोध आइरहन्छन् । भावनात्मक सामूहिक ऊर्जा सफलताका लागि अति नै जरुरी हुन्छ । 

शक्तिको स्रोतसँग कसरी गाँसिने ?

सफल व्यक्तिको जीवनी अध्ययन ग¥यो भने सामूहिक शक्तिको महत्व सहजै बुझ्न सकिन्छ । ठूला उद्योगपति, व्यापारी, राजनेता तथा विचारवान् व्यक्तिहरू जहिले पनि शुभचिन्तक र ऊप्रतिको सकारात्मक उपलब्धिको आशा राख्ने मानिसबाट घेरिएका हुन्छन् । त्यस्ता शुभचिन्तक मानिसहरूबाट घेरिँदा सामूहिक चेतनाशक्तिको विकास हुन्छ । त्यसले कार्यसफलताको शक्ति सिर्जना गर्छ । 

मानिसको मस्तिष्क विराट ब्रह्माण्डीय ऊर्जाको एउटा सानो अंश हो । यसलाई जति बढी सामूहिक भावना भएका आत्मविश्वासी र सकारात्मक ऊर्जा भएका मानिससँग जोड्न सक्छौँ त्यतिनै ऊर्जावान् ढङ्गले काम गर्छ । 
हामी घरमा बाल्ने बिजुली वा टर्चलाइटसँग यसलाई तुलना गरेर हेर्न सक्छौँ । रष्ट्रिय प्रसारणलाइनमा जति बढी स–साना क्षमताका प्रसारण लाइनहरू जोडिन्छन्, त्यति नै बढी मात्रामा विद्युत्शक्ति प्रवाह गर्छ राष्ट्रिय प्रसारण लाइनले । हामीले बाल्ने टर्चलाइट एउटा मात्रै ब्याट्रीबाट बल्न सक्तैन, त्यसका लागि कम्तीमा दुई वा सोभन्दा बढी ब्याट्रीहरू चाहिन्छन् । हामीलाई जति बढी शक्तिशाली उज्यालो आवश्यक पर्छ, त्यति नै बढी ऊर्जाको ब्याट्री त्यसमा जोड्नुपर्छ । 

मानिसलाई सफल हुन, निरन्तर अघि बढिरहन पनि यही कुरा लागू हुन्छ । एउटा योजनाबद्ध मस्तिष्कसँग अर्को मस्तिष्कलाई जोडेर काम गर्न थाल्दा उसमा भएको क्षमता कैयाँै गुणा बढाउन सकिन्छ । एउटा असल उद्देश्यका लागि जब धेरै मस्तिष्कले एकसाथ काम गर्न सुरु गर्छन्, तब त्यो काम तीव्र गतिले सफलतातिर अग्रसर हुन्छ । यसले मानिसको कार्यक्षमतालाई सोच्दै नसोचेको अवस्थामा पुर्याइदिन्छ । 

शक्तिशाली इच्छाशक्ति भएको मानिसका साथ जब ऊभन्दा कमजोर इच्छाशक्ति भएका मानिसहरू जब सकारात्मक भावका साथ एउटा लक्ष्यप्राप्तिका लागि जोडिन्छन्, तब ती कमजोर मानिसहरूमा पनि असीमित शक्ति विकास हुन थाल्छ । शक्तिशाली राजनेताहरू यही सामूहिक मस्तिष्क शक्तिलाई उपयोग गर्ने गर्छन् र शक्ति आर्जन गर्छन् । 

उदाहरणबाट सिकौँ

प्रसिद्ध अमेरिकी उद्योगपति हेनरी फोर्डले आफ्नो व्यापारिक योजना, गरिबी, अशिक्षा तथा अनेकन अन्य बाधाहरूकै बीच सुरु गरेका थिए, तर जब उनी थोमस एल्वा एडिसन, हार्वे फयरस्टोन, जोन बरोज, लुथर बारवेकजस्ता मानिसहरूसँग जोडिए त्यसपछि करिब २५ वर्षको अवधिमा अमेरिकाका सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल भए । 

महात्मा गान्धी जब दक्षिण अफ्रिकाबाट फर्केर भारत आए, करिब बीस करोड भारतीयलाई आफ्नो लक्ष्यमा सामञ्जस्यको भावनाका साथ एकाकार गर्न सफल भए, तब मात्र भारतमा चमत्कारिक राजनीतिक परिवर्तन गर्ने कार्यमा सफलता प्राप्त हुन सक्यो । मानिसलाई कुनै बाध्यता सिर्जना गरेरभन्दा सहयोगी भावनाको वृद्धिद्वारा सामूहिक लक्ष्यतर्फ प्रेरित गरेर यो शक्ति आर्जन गर्न सकिन्छ । त्यसरी सामन्जस्यको भावना वृद्धि नगरी गरिएको समूह निर्माणले दीर्घकालसम्म काम गर्न सक्तैन । जबसम्म सामूहिक शक्ति भावनात्मक ऊर्जाका साथ एक–अर्कालाई सघाउन दिल र दिमागले लाग्दैन, तबसम्म व्यक्तिमा असाधारण सामथ्र्य उपलब्ध हुँदैन । किनकि, ब्रह्माण्डीय सामूहिक चेतनाको शाश्वत स्रोत एउटै छ । त्यो जति शक्तिशाली भावनात्मक सामञ्जस्यद्वारा जोडिन्छ, त्यति नै शक्तिशाली रूपले कार्य गर्छ । 

एउटा सामान्य व्यक्तिभन्दा एउटा सफल उद्यमी, सफल राजनेता वा सफल आध्यात्मिक गुरुमा के फरक हुन्छ ? यही सामूहिक भावनाको शक्ति । सफलता चाहे असाधारण होस् वा सामान्य । औसत व्यक्तिभन्दा केही माथिल्लो जीवन भोगिरहेको व्यक्तिलाई यदि हामीले गहिरो गरी विश्लेषण गरी हे¥यौँ भने थाहा पाउँछौँ ऊ आपूmले लिएको लक्ष्यमा तन, मनले सहयोग गर्ने भावनाले ओतप्रोत भएका धेरै व्यक्तिहरूको समूहसँग जोडिएको छ, जसलाई हामी सङ्गठन भन्ने गर्छौं । सङ्गठन जति बलियो हुन्छ, त्यति धेरै शक्ति आर्जन गर्न सक्छ नेताले । यही कुरा लागू हुन्छ, धन आर्जन गर्न, पद वा प्रतिष्ठा आर्जन गर्न, सम्मान आर्जन गर्न पनि । अनन्त रूपमा ब्रह्माण्डमा फैलिएको यो ऊर्जासँग जब हामी भावनात्मक रूपले जोडिन्छौँ, तब हामीभित्र असीमित सामथ्र्य बिस्तारै विकसित हुन थाल्छ । 

यति कुरा थाहा पाएपछि तपाईं आफ्नो चिनजानका, देखेका, सुनेका, पढेका व्यक्तिहरूको जीवनसँग गाँसिएका व्यक्तिहरूका बारेमा विश्लेषण गरेर हेर्नुहोस् । गहिरोसँग अध्ययन गर्नुभयो भने उनीहरू अवश्य पनि सामान्य मानिसको भन्दा धेरै मानिसको मन जितेर आफ्नो सङ्कल्पप्रति एकोहो¥याउन सकेको पाउनुहुनेछ । त्यसभन्दा अझ रहस्यपूर्ण कुरा, उनीहरू अनेक बुद्धि, बल र आस्थाबाट बलिष्ठ व्यक्तित्वले घेरिएर बस्ने गरेको पनि थाहा पाउनुहुनेछ । त्यही समूह हो उनीहरूको शक्ति आर्जनको रहस्य ।

संसार विजयको लक्ष्य लिएको हिटलरसँग पाँचजना व्यक्तिको समूह थियो, जो सधैँ हिटलरको सफलताका बारेमा सोचिरहन्थे । नेपोलियनसँग त्यस्तै दुई–चारजना व्यक्तिहरू थिए र दुइटी पे्रमिकाहरू थिए । उनको सफलता हरदम चिताइरहने, प्रार्थना गरिरहने । 

गौतम बुद्धका पाँचजना शक्तिशाली शिष्य उनको साथमा थिए, जो बुद्धलाई हर किसिमले सहयोग पु¥याउन तत्पर रहन्थे ।

समूह सानो होस् वा ठूलो, व्यक्तिलाई माथि उठाउनका लागि शक्तिशाली भावनात्मक सामथ्र्य दिने असीम प्रज्ञासँग निरन्तर गाँसिइरहेको समूह छ भने त्यसले नेतृत्वकर्तालाई अनन्त ऊर्जासँग एकाकार गर्न र सामूहिक चेतना विकास गर्न शक्ति प्रदान गरिरहन्छ । त्यही शक्तिले व्यक्तिलाई सफलतामा पु¥याउँछ । 

संसारप्रसिद्ध दार्शनिक तथा आध्यात्मिक व्यक्तित्व विवेकानन्दले आफ्नो लक्ष्यप्राप्तिका लागि करिब नौ वर्ष काम गरेको देखिन्छ । उनीसँग न कुनै चेलाहरूको समूह थियो, न धन र पद । उनी केही शुभचिन्तकसँग गहिरोसँग गाँसिएका थिए । उनीहरू विवेकानन्दको सफलता चाहन्थे र मौन रूपमा उनीप्रति भावनात्मक ऐक्यबद्धताको भाव प्रवाह गरिरहन्थे । गुरु रामकृष्ण परमहंसप्रति उनको असीम श्रद्धा र आस्था थियो । एउटा निष्कलङ्क र निरपेक्ष व्यक्तिप्रतिको आस्था र श्रद्धाले नै विवेकानन्द ब्रह्माण्डको असीम शक्ति र प्रज्ञासँग जोडिएका थिए । यही गुरुश्रद्धाका कारण उनी रामकृष्ण र अन्य केही व्यक्तिको भावनात्मक शक्ति एकत्रित गर्न समर्थ भएका थिए । उनी जहाँ जान्थे, त्यही शक्तिको सामञ्जस्यमा आउँथे, नजिक हुन चाहने मानिसहरू । त्यही शक्तिका कारणले नै विवेकानन्दले त्यति थोरै समयमा संसारप्रसिद्ध दार्शनिक र आध्यात्मिक व्यक्तित्वका रूपमा आपूmलाई स्थापित गर्न सके । सबै मानिसभित्र श्रद्धा आस्था र सामञ्जस्यद्वारा प्राप्त हुने त्यो शक्ति आर्जन गर्ने सामथ्र्य छ, तर त्यसलाई विकसित गर्ने तौरतरिका भने कमैलाई मात्र थाहा छ । यही कारण हामीलाई सफलता हात लाग्दैन, सफल हुने शक्ति प्राप्त हुँदैन ।

हाम्रो बिडम्बना

माथिको विश्लेषणका आधारमा हेर्दा हाम्रा पार्टीहरु र सरकारको नेतृत्व सधैँ पदलोलुप, लोभी, व्यापारिक लाभहानिको लेखाजोखा मात्र खोज्ने दलाल व्यक्तिहरुबाट घेरिएका देखिन्छन् । यस्ता व्यक्तिहरुको नकारात्मक उर्जाले नेतृत्वलाई पनि सही निर्णयमा पुग्न सजिलो बनाउन सक्तैन । परिणामतः उनीहरु विवादमा आउँछन् । आध्यात्मिक शक्ति भएका व्यक्तिहरु उनीहरुको निर्णय प्रकृयामा कहिल्यै सामेल गराएको पाइँदैन । यसो गर्दा समस्याकै तहबाट समाधान खोज्ने उपायहरु अबलम्बन गरिन्छन् । सहज र दूरगामी समाधान निकाल्नको लागि समस्यालाई उचाइबाट हेर्न सक्ने चेतना भएको मानिस आवश्यक हुन्छ त्यो हाम्रा नेतृत्वकर्ताहरुले कहिल्यै आफूनजिक पर्न दिने गरेको पाइँदैन । 

कहीँकतै आध्यात्मिक व्यक्तित्वहरुसँग पुगिहाले भने भने तिनलाई पनि आफ्नै स्वार्थमा उपयोग गर्ने गरेको पाइन्छ । उनीहरुका सल्लाह लिने र निर्णयमा स्थान दिने गरेको पाइँदैन । यो प्रकृया समग्र आर्यावर्तमा मध्यकालपछि टुटेको पाइन्छ । मध्यकालीन इतिहासमा चाणक्य जस्ता शक्तिशाली आध्यात्मिक व्यक्तिहरुले सामान्य मानिसलाई शासकीय विद्या सिकाएर शक्तिशाली बनाएको र अदृश्य शक्तिसँग गाँसिएर सकारात्मक सल्लाहमार्फत् आफ्ना लक्ष्य प्राप्त गरेको पाइन्छ । 

समूह निर्माण गर्दाका कमजोरीले गर्दा अहिलेका हाम्रो देशका नेतृत्वकर्ता राजनीतिक, सामाजिक, व्यावसायिक व्यक्तिहरु स्खलित हुँदै गएका छन् । समूह निर्माण सही हुनसक्यो भने त्यही समूहले क्रमशः धुमिल छवी सुधार गर्न र नेतृत्वलाई सही दिशा दिन सक्छ । त्यसो हुन सकेन भने उनीहरुको असफलताको बाढीले हामीलाई पनि लतारेर लैजाँदैन भन्न सकिन्न । समयमै चेत खुलोस् ।  

No comments:

Post a Comment