Monday, November 7, 2016

मण्डेलाको देश जाँदा झण्डै मृत्युलोक

अक्टोबर १ तारिख बिहान करिब ८ बजेतिर दक्षिण अफ्रिकाको जोहानसवर्ग हुँदै डर्बनका लागि उड्नु थियो । नेपालबाट दोहा जाने विमानभन्दा निकै ठूलो विमान हामीलाई उडाउन तम्तयार थियो । करिब ३६० जना यात्रु बोकेर हामी चढेको हवाइजहाज दक्षिण अफ्रिकातिर उड्यो । करिब ८ घण्टा लामो उडान समय आकासमै बिताउनु थियो हामीले । 

अफ्रिका भन्नासाथ हाम्रो मनमा झ्वाट्ट आइहाल्ने बिम्ब हो मरुभूमि अनि कपाल घुंग्रेका काला र मोटा मानिस । म सानो छँदा सोच्थेँ, बालुवैबालुवाको मरुभूमिमा बस्ने अनि असाध्य गर्मी सहने भएरै अफ्रिकीहरु काला भएका होलान् । तर हवाइजहाजबाट जतिजति दक्षिण अफ्रिका नजिकिँदै गयो त्यतित्यति ससाना, नदी, पहाड, हरिया जङ्गल र घाँसे मैदानहरु देखिन थाले । हवाइजहाजबाट देखिने दृश्यहरुमध्ये एउटा अनौठो र अलि भिन्न दृश्य थियो नाङ्लो जस्तो गोलाकार आकारका खेतबारीहरु । कहीँकहीँ भने पूर्णतः आयाताकार खेतहरुका बीचमा ठूलाठूला गोलाकार खेतबारी । त्यस्तो आकारका खेतहरु मैले एसिया र युरोप घुम्दा कहीँ पनि देखेको थिइनँ । त्यसभित्र पानी र जमिन व्यवस्थापनको के कस्तो रहस्य थियो त्यो जान्ने मौका नपाए पनि मलाई ती नाङ्लो आकारका खेतबारीहरुले निरन्तर जिज्ञासु बनाइरहे । हामी जोहानसबर्ग पुग्यौँ करिब सात घण्टाको उडानपछि ।
 
जोहानसबर्गमा करिब एक घन्टा रोकिएर जब हाम्रो विमान डर्बनतर्फ बढ्यो दिन क्रमशः हामीबाट टाढा हुँदै गयो अनि रात हामीतिर तन्किँदै गयो । करिब ३२००० फिटको उचाइमा पनि आकासमा बाक्लो कालो बादल अनि अँध्यारो । हुनतः राडारयुक्त हवाइजहाजका लागि के रात के दिन तर पनि मानिसको मन न हो देखेपछि अनेक आशंका । साथीहरु भन्दै थिए, यस्तो बादलमा त हल्लिन्छ जहाज पनि, साह्रै गाह्रो हुन्छ । लामो यात्रा अनि उचाइको घटबढ । सबैको मुख अँध्यारो थियो । परिचारिकाहरुले खाजा बाँडिसकेका थिए, यात्रुहरु कोही खाने सुरमा थिए त कोही चुपचाप बाहिर नियाल्दै । घरी विमान बादलभित्र पस्थ्यो घरी बाहिरिन्थ्यो । बादलभित्र पस्दा जहाज ढल्पलाउँथ्यो । शरीर सिररिङ्ग हुन्थ्यो । 

जोहानसबर्गबाट उडेको करिब २० मिनेटपछि हामी चढेको हवाइजहाज निकैबेर बादलभित्र उडिरह्यो । ढलपल गरिरह्यो । यात्रु चिच्याउने र सिट बेस्सरी पक्डेर थामिने प्रयास गर्न गाले । सबैको अनुहारमा पनि बादल लागिसकेको थियो । जहाज एक्कासी सयौँ फिट तल झ¥यो, बादलबाट बाहिरिन । सबै चिच्याए । यसरी चिच्याए मानौँ सबै अन्तिम सास लिँदै छन् र सासले शरीर छाड्ने अवस्था छ । सबै यात्रुहरु भयंकर दुर्घटनाको संघारमा छन् अनि अन्तिम पुकार गर्दैछन् भएभरको शक्ति निकालेर । 

कोही चिच्याउँदै थिए, कोही रामराम भन्दै थिए अनि कोही भने अवाक् थिए कालो मुख लगाएर । एक जना अफ्रिकन महिलाले त सिटमै पिसाब फेरिछन् । त्यसको केही समयमै जहाजले पुनः स्थिर गति लियो । सबै सम्हालिए तर अनुहारमा भयको पहाड चुलिएकै थियो ओठमुख सुकेको थियो सबैको । मृत्युको भय कति डरलाग्दो ! आखिर नमर्ने त कुन मानिस छ र संसारमा ? तर पनि मृत्युको कल्पनाले मात्र पनि मानिसको मन हल्लिन्छ नराम्ररी । बाँच्नका लागि भरमग्दुर प्रयास गर्छ मान्छे सबै बल प्रयोग गरेर । त्यस दिन पनि त्यही भएको थियो । मानिसहरु भएभरको शक्ति लगाएर बाँच्न उद्यत थिए । 

करिब बीश मिनेटपछि हामी डर्बनको साका अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यौँ । भयपूर्ण अनुहारमा विमानबाट बाहिरिँदै गरेका यात्रुतिर आँखा लगाएर मुस्कुराउँदै ढोकामा उभिएका थिए क्याप्टेन । यात्रीहरु क्याप्टेनलाई ज्यान बचाएकोमा कृतज्ञता व्यक्त गर्दै थिए । उनी चाहिँ मुस्कुराउँदै भनिरहेका थिए— ‘हावामा उड्ने जहाज कहाँ रेलजस्तो सरर पट्टिमा हिँड्छ र यो त हावामा उड्छ, यो सामान्य घटना हो ।’

उनी पेशेवर थिए सधैँ यस्ता जोखिम मोलेर हावामा उडिरहने । हामी भने आक्कलझुक्क्ल चढ्ने यात्रु । मनोविज्ञान सबैको आआफ्नै थियो, आआफ्नै अनुभव मिसिएको । 

हामी डर्बन एयरपोर्टबाट बाहिरिँदा साँझको करिब सात बजेको थियो । चिसो सिरेटोले ज्याकेट खोज्न बाध्य पा¥यो । सबैले आआफ्ना ब्यागबाट ज्याकेट निकाले, कोट निकाले अनि चिसो सिरेटोबाट शरीर सुरक्षित पार्ने प्रयास गरे । 

‘समुद्री किनारको शहर हो, मौसमको कुनै भर हुँदैन, न्यानो लुगा चाहिँ हालिराख्नुपर्छ ।’ काठमाडौँ छाड्नुअघिको हाम्रो अनुमान सही थियो । त्यस दिन डर्बनमा हावाहुरीयुक्त मौसमले राज गरिहेको थियो । निकै चिसो । छिनछिनमा बदलिइरहने डर्बनको त्यही चिसो सिरोटोसँग पौठाजोरी गर्दै नेल्सन मण्डेलाको मातृभूमि दक्षिण अफ्रिकाको डर्बन नर्थस्थित होटल रिभरसाइडमा बास बस्न पुग्यौँ १६ जनाको नेपाली टोली । (बाँकी  अर्कोमा)  

No comments:

Post a Comment