Sunday, May 10, 2015

राहत र पुनर्निर्माणका लागि तत्काल यी काम गरौँ

दलहरुबीच भुकम्पबाट तहसनहस भएको देशलाई कसरी राहत दिने भन्ने सहमति त भएको छ तर त्यसको खाका बनाउन र काम गर्ने तत्परता चाहिँ देखिएको छैन । नेताहरु भावनात्मक भाषण र लेखमा दिन बिताउँदै छन् । नयाँ सोचमा काम गर्ने प्रतिबद्धता त देखाएका छन् तर त्यसलाई कार्य
रुप दिने आँट र तत्परता देखाउन सकेका छैनन् । सरकारको आलोचना गर्नमै समय बिताइरहेका छन् । त्यसैले तत्काल गर्न सकिने केही कुराहरु यहाँ प्रस्तुत गर्न चाहन्छुः
  •  तत्काल एकजना शीर्ष नेताको संयोजकत्वमा सबै दलको सहमति निर्माण गरी राष्ट्रिय स्वयंसेवक अभियानको सुरुआत गर्ने । सरकारी निकाय र पार्टीका स्थानीय संयन्त्र मार्फत् यसका लागि तत्काल आह्वान गर्ने ।
  •  सिकर्मी, डकर्मी र साधारण श्रमिक गरी तीनथरि मानिस आवश्यक छन् तत्काल पुनर्निर्माणको लागि । सबै पार्टीले आफ्ना कार्यकर्तालाई कम्तिमा दुईहप्ताको स्वयंसेवा गर्न अनुरोध गरी सार्वजनिक आह्वान गर्ने ।
  •  विपद्मा परेका १४ जिल्ला र त्योसँग जोडिएका जिल्लालाई त्यसमा प्राथमिकता दिने ।
  • स्वयंसेवीहरुलाई दुई डकर्मी, दुई सिकर्मी र अरु साधारण श्रम गर्ने १० जनाको समूह बनाई गाउँमा परिचालन गर्ने ।
  • एउटा समूहले एक दिनमा स्थानीय साधनको प्रयोग गरी कम्तिमा एउटा टहरा बनाउन सक्छ । दुईहप्ता काम गरे भने त्यस समूहले कम्तिमा १५ देखि २० ओटा टहरा पुनः निर्माण गर्न सक्छन् । अहिले जे जस्तो र जहाँ छ त्यहीँ पुनर्निर्माण गरौँ । पछि सरकारी योजना बनेछ भने सोही अनुसार गर्ने गरी तात्कालीक व्यवस्थापना यसरी गर्न सकिन्छ ।
  •  एउटा समूहले २० ओटा टहरा बनाए भने कम्तिमा ६ लाख घर बनाउन ३०००० स्वम्सेवक टोली तत्काल आवश्यक पर्छ । त्यो समूह १० जनाको हुने हो भने तीन लाख मानिस आवश्यक हुन्छन् । सबै पार्टीले आह्वान गर्ने हो भने क्षति नभएका बाँकी ६१ जिल्लाबाट यति जनशक्ति जुटाउन कुनै गाह्रो छैन । गर्न चाहने हो भने सबै पार्टीहरु मिलेर तत्काल गर्न सकिन्छ । सुरक्षाकर्मीहरु त्यसमा थप सहयोगी हुन सक्छन् ।
  •  विदेशमा काम गरिरहेका यस्ता सिपालु डकर्मी र सिकर्मी छन् भने आऊ भनेर आह्वान गरौँ । यो देश बनाउने र सबै लाग्ने बेला हो समय खेर फालेर सरकार बदल्ने र भाषण गर्ने बेला होइन ।
  •  सबै नेताहरुले भावनामा ल्याएर आफू प्रधानमन्त्री बन्ने सपना देख्न थालिसके । साँच्चिै गर्ने हो भने सबै राजनीतिक दलहरुलाई एकएक जिल्ला जिम्मा दिएर एकजना बरिष्ठ नेताको मातहतमा यो परिचालनको काम गर्न सकिन्छ । त्रिपाल र खाद्यान्नको हाहाकार पनि यसले व्यवस्थित गर्न सक्नेछ ।
  • ६ लाख घर बनाएर जनताको मुहार फेर्ने सामथ्र्य अहिलेको सरकारसँग छैन । सबै शक्ति लगाएर काम गर्दा पनि वर्षमा एकलाख भन्दा बढी घर बनाउन सक्ने सामथ्र्य कुनै हालतमा छैन । सामग्रीको अभाव त्यतिकै टड्कारो छ । भुकम्प प्रतिरोधी घर बनाउने भनिए पनि न हामीसँग त्यसको उपयुक्त प्रविधि छ न भुगोलको आँकडा र योजना । हावादारी कुरा गरेर निर्माणको काम हुँदैन । नीति बनाउनमै ६ महिना बित्ला । त्यसपछि सामान छैन । निर्माण सामग्रीको भरपर्दो आपुर्ति अर्को समस्या छँदैछ । माँग बढ्नासाथ कार्टेलिङ गरेर भाउ बढाउन तम्सिने कमिशनखोर र बेइमानी हाम्रो संस्कारै बनिसकेको छ । त्यसलाई रोक्न सक्ने सामथ्र्य राज्यसँग छैन । गर्नुपर्छ भन्नासाथ त्यो बनिहाल्ने अवस्था पनि छैन । त्यो शक्ति आर्जन गर्नका लागि धेरै समय लाग्छ ।
  •  निर्णय प्रकृया पारदर्शी र हिम्मतिलो बनाउन अझ कठिन छ । कागजमा खेल्ने र टाउको पन्छाउने कर्मचारी मनोवृत्तिमा आश्चर्यजनक सुधारको अपेक्षा गरिहाल्न सकिने अवस्था छैन ।
  •  त्यसैले साँच्चिकै देश निर्माणमा लाग्ने हो भने एउटाएउटा जिल्ला एउटाएउटा पार्टीलाई दिएर तत्काल स्हयोगी हातहरु खोजी गरी स्वयंसेवामा जनातालाई परिचालनको योजना बनाऊँ । यो बाहेक अर्को विकल्पले हामी जनतालाई राहत पुर्याउृन सक्दैनौँ । यसबाट कुन पार्टीले जनतासँग मिलेर के काम गर्न सक्छ भन्ने पनि देखिनेछ । उनीहरुले आफ्नो सामथ्र्य बुझ्ने मौका पाउनेछन् । 

No comments:

Post a Comment